इरानी राष्ट्रपति रौहानीसँग विनाशर्त वार्ता गर्न तयार छू : ट्रम्प

वासिङ्टन, साउन १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार भएका छन् ।

सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न तयार रहेको कुरा सोमबार जानकारी दिएका छन् ।

हाल अमेरिका भ्रमणमा रहनुभएका इटालीका प्रधानमन्त्री गुसेप कोन्तेसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले तपाइँ इरानका नेतासँग भेट्न चाहनुहुन्न भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पको जवाफ थियो— म जोसुकैसँग पनि भेट गर्न तयार छु किनभने मलाई भेटघाटमा विश्वास छ ।

उनले उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र नेटोका नेताहरुसँगका उच्चस्तरीय बैठकको स्मरण गर्दै भने— यी केही महत्वपूर्ण बैठकहरुले राम्रो परिणाम निकालेको थियो ।

पक्कै पनि म इरानका नेताहरुसँग भेट्ने छु यदि तिनीहरु भेटघाट गर्न इच्छुक छन् भने, तर मलाई लाग्छ उनीहरु भेटघाट गर्न अहिले नै तयार भने छैनन्— राष्ट्रपति ट्रम्पले भने ।

उनको भनाई थियो— मैले इरानसँगको आणविक सम्झौता खारेज गरिदिएको थिएँ जुन अत्यन्तै हास्यास्पद सम्झौता थियो । त्यहीकारण मलाई लाग्छ सायद उनीहरु हामीसँग अहिल्यै वार्ताका लागि त्यति इच्छुक छैनन् र यदि छन् भने पनि म कुनै पनि समय भेटघाट गर्न तयार छु ।

यदि उनीहरु मसँग भेटवार्ता गर्न चाहान्छन् भने म उनीहरुको लागि, देशको लागि तथा हामी सबैको राम्रोको लागि भेटवार्ता गर्न चाहेको छु, राष्ट्रपति ट्रम्पले भने ।

सन् २०१५ मा भएको इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट गत मे महिनामा ट्रम्प प्रशासन पछि हटेको थियो । सन् २०१५ मा जर्मनी सहित संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रहरु संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस एवं इरानबीच आणविक सम्झौतामा भियनामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा इरानले आणविक कृयाकलापहरुलाई सीमित गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई इरान भ्रमण गराउने भनिएको थियो । यो सम्झौता अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग विश्वका शक्ति राष्ट्रहरुसमेत राखी यो सम्झौता गराए ।

ट्रम्प प्रशासनले सम्झौताबाट बाहिरिने घोषणा गरेयता इरान र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ । इरानले अमेरिकाको उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिकाले स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएको छ ।

मोदीले भाषण गर्दै गर्दा टेन्ट खसेपछि दुर्घटना, घाइतेलार्इ भेट्न मोदी पुगे अस्पताल

मिदनापुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको एउटा -यालीमा टेन्ट खसेपछि २५ जना घाइते भएका छन् । टेन्टको एउटा भाग खसेपछि भाषण गर्दै गरेका मोदीले तत्कालै सम्बोधन रोकेर सुरक्षाकर्मीहरुलाई मद्दतका लागि निर्देशन दिएको पिटीआइले जनाएको छ । सुरक्षाकर्मीका अनुसार, गीलो माटोमा टेन्टका खम्बा गाडेको कारण दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै अस्पताल लगिएको छ । अस्पताल पुगेर मोदीले घाइतेहरुलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेको छन् । पश्चिम बंगालमा निकै तामझामका साथ शुरु भएको मोदीको आजको ¥याली ममता बनर्जी नेतृत्वदेखि अन्यलाई ठूलो झटका थियो । तृणमूल कांग्रेसले मोदीको बिरोध गर्दै ममता बनर्जीका पोष्टरहरु सहरभरि छ्याप्छ्याप्ती लगाएको थियो । सम्बोधनमा मोदीले तृणमूल कांग्रेसको निकै आलोचना गरेका थिए । २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी पश्चिम बंगालमा १६.८० प्रतिशत भोट ल्याउन सफल एको थियो । यसपछि उपचुनावमा २३.२९ प्रंशित भोट पाइएको थियो । मोदीको सभामा टेण्ट खसेको घटनालाई केहीले भने अपशकुनको संज्ञा दिँदै मोदी र भाजपाको आलोचना गरेका छन् ।

पाकिस्तानमा चुनावी र्यालीलाई लक्षित गरी विष्फोट, ४ जनाको मृत्यु, केही घाइते

पाकिस्तानमा शुक्रबार बिहान चुनावी र्यालीलाई लक्षित गरी गराइएको बम विष्फोटमा परि चार जनाको मृत्यु भएको छ । भने केही गम्भीर घाइते भएको बताइएको छ । बन्नूमा जमियत–ए–उलेमा इस्लाम (एफ) का अक्रम खान दुर्रानीको चुनाबी र्याली नजिक भएको विष्फोटमा चार जनाको मृत्यु भएको छ । भने अन्य केही गम्भीर घाइते भएका छन् । दुर्रानी भने सकुशल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको बुधबार पूर्वी पाकिस्तानको पेशावर शहरमा चुनावी बैठकमा भएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेशनल पार्टी (एएनपी) का नेता हारून बिल्लौरसहित केही मानिसको मृत्यु भएको थियो । बन्नूमा मुत्ताहिदा मजलिस–ए–अमल (एमएमए) ले चुनावी र्यालीको आयोजना गरेको थियो । बिहीबार चुनावी र्यालीमा भएको विस्फोटमा चार जना मारिएका थिए । अन्य १४ घाइते भएका थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यो आक्रमणमा जमीयत–ए–उलेमा इस्लाम–फजलका अक्रम खान दुर्रानीलाई लक्षित गरी विष्फोट गराइएको थियो । दुर्रानी बन्नूमा चुनावी मैदानमा छन् । प्रारम्भिक जानकारी अनुसार विष्फोटमा परि १४ जना घाइते भएका छन् । घाइतेहरुलाई एम्बुलेन्स र प्रहरीका भेनमा अस्पताल पुर्याइएको जनाइएको छ ।

चीनको औद्योगिक क्षेत्रमा विष्फोट, १९ जनाको मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । यिविन हिन्ग्दा प्रविधिको रसायनिक कारखानामा विष्फोट भएको हो । विष्फोटको कारणबारे अनुसन्धान भैरहेको स्थानिय अधिकारीले उल्लेख गरेका छन् । सन् २०१५ मा तियान्जिन शहरमा रसायनिक कारखानामा विष्फोट हुँदा १ सय ७३ जनाको मृत्यु भएको थियो ।

ट्रम्पले सार्वजनिक गरे किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी !

अमेरिका, असार २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी सार्वजनिक गरेका छन् । उनले किमले लेखेको चिट्ठी ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेको चिट्ठी ट्रम्पले सार्वजनिक गरेका छन् । ट्रम्पले यो चिट्ठीलाई निकै उत्कृष्ट भनेका छन् । तर यो चिट्ठीमा उत्तर कोरियाले परमाणु हतियार निशस्त्रिकरणका लागि गरिरहेको वा गर्ने कामका बारेमा केही उल्लेख गरिएको छैन । गएको महिना अर्थात जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक ट्रम्प किम वार्ताको मुख्य मुद्दा नै उत्तर कोरियाको परमाणु कार्यक्रम र त्यसको निशस्त्रिकरण रहेको थियो । उत्तर कोरियामाथि अमेरिकाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले चिट्ठी सार्वजनिक गरेका हुन् । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले विभिन्न देशबाट तेल ल्याउने गरेको आरोप अमेरिकाको छ । गएको डिसेम्बरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि वर्षको पाँख ब्यारेल तेल मात्रै निर्यात गर्न पाउने गरी प्रतिबन्ध लगाएको थियो । किमले पठाएको चिट्ठीको अंग्रेजी अनुवाद गरी ट्रम्पले ट्वीट गरेका हुन् । चार पेजको चिट्ठी ट्वीट गरिएको हो । चिट्ठीमा किमले सम्बन्ध सुधारका लागि ट्रम्पले गरेको प्रयासको प्रशंसा गरेका छन् । यस्तै उनले अमेरिका र उत्तर कोरियाबिचको विश्वासको वातावरण थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।  दुई देशबिचको सम्बन्ध हुँदै गएको महत्वपूर्ण सुधारले आफूहरुबिचको आउँदो बैठक थप प्रभावकारी हुने अपेक्षा किमले व्यक्त गरेका छन् । चिट्ठी सार्वजनिक गर्दै ट्रम्पले ठूलो प्रगति भएको उल्लेख गरेका छन् तर त्यसबारे विस्तृतमा केही खुलाइएको छैन । -एजेन्सी 

अमेरिका नाटोबाट अलग नहुने- ट्रम्प

लण्डन, असार २८।  ब्रिटेनको चार दिने यात्रामा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज एउटा आकस्मिक पत्रकार सम्मेलन गरेर अमेरिका उत्तर एटलान्टिक सन्धि संगठन- नाटोबाट अलग्गिने सबै अनुमानहरूलाई खारेज गरिदिएका छन्। अक्सर चौतर्फी आलोचनाहरूले घेरिइरहने ट्रंपले पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै आफू चाहेको खण्डमा नाटोबाट अलग्गिन सक्ने भएपनि त्यसो गर्नु आवश्यक नरहेको प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाको नाटोप्रतिको जवाफदेहिता रहेको आफू त्यसमा अडिग रहने बताए। आफ्नो चार दिने ब्रिटेन यात्रामा ट्रंप ले प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्ने छन् भने महारानी एलिजाबेथ-द्वितीयसँग चियापानमा सरिक हुनेछन्। यसका साथै उनले स्कटल्यान्द्मा छुट्टी मनाउने छन्। ब्रिटेन र अमेरिकाबीच अनेक कूटनैतिक मतभेद हुँदाहुँदै पनि ब्रिटेनले इयूको सदस्यता त्याग गरिसकेपछि अमेरिकासँग व्यापार-सम्झौता हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री मेले ट्रंपको यात्रा अगाडि एउटा सक्षत्कार्का क्रममा भनेकी थिइन्,”हामीले युरोपेली संघको सदस्यता त्याग गरिसकेपछि ब्रिटेनका लागि नयाँ बाटो पहिल्याउने छौँ। यस दौरान अन्य देशहरूसँग हाम्रो सम्बन्ध अझ राम्रो हुनेछ।” प्रधानमन्त्रीले भनेकी थिइन्,”हाम्रो सबैभन्दा विश्वस्त साझेदार अमेरिका हो र आउँदा दिनहरूमा यो सम्बन्ध अझै बलियो हुनेछ।” राष्ट्रपति ट्रंप नाटो सम्मेलनमा सहभागी भइसकेर ब्रिटेन आएका हुन्। उनी यहाँ आइतबारसम्म बस्नेछन्। उक्त पत्रकार सम्मेलनमा ट्रंपले नाटोका अतिरिक्त इरान, उत्तर कोरिया र रुसका बारेमा आफ्नो मत राखे। राष्ट्रपति ट्रंपले इरान भविष्यमा वार्ताको टेबुलमा बस्ने आशा व्यक्त गरे भने उत्तर कोरियासँग भइरहेका कूटनैतिक प्रयासहरूप्रति आफू आश्वस्त रहेको प्रतिक्रिया दिए। उता २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली संलग्नताबारे आफूलोए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा राख्ने पनि बताए।  

सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

ब्रसेल्स, असार २८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गर्नुभएको छ । उहाँले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा बृद्धि गर्न आग्रह गर्नुभएको हो । ब्रसेल्समा मङ्गलबारदेखि नेटो गठबन्धन राष्ट्रहरुको बैठक जारी रहेको छ । सोही क्रममा उहाँले अहिले रकममा भारी मात्रामा बृद्धि गरेर यो रकम छुट्याउन आह्वान गरेको ब्रसेल्सबाट प्राप्त भएको समाचारमा जनाइएको छ । हाल हरेक देशले आफ्नो देशको कुल ग्राहस्थ्य उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन् । यसमा अहिलेको लक्षित बजेटको दोब्बर बनाउन राष्ट्रपति ट्रम्पले आह्वान गर्नुभएको प्राप्त सो समाचारमा जनाइएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरु देशहरुको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै जर्मनीको आलोचना पनि गर्नुभएको बताइएको छ । नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए । त्यसैगरी नेटोका महासचिव जेन्स स्टोलटनबर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको सो समाचारमा जनाइएको छ । नेटो बैठकमा उठेको रक्षा क्षेत्रको बजेट रकम बृद्धिसम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफमा उहाँले दुई प्रतिशतको लक्ष्य नै भेट्न नसकिएको अवस्थामा हालका लागि सो दिशातर्फ केन्द्रित हुनु नै राम्रो हो भन्नुभएको थियो । सम्मेलनमा अफगानिस्तान र सिरियाबारे छफफल यसैबीच ब्रसेल्समा जारी रहेको नेटो सम्मेलनस्थलबाट प्राप्त समाचारअनुसार उक्त सम्मेलनमा सबैभन्दा धेरै अफगानिस्तानको विषयमा छफफल भएको बताइएको छ । सो सम्मेलनमा अफगानिस्तानमा नेटो सैनिकहरु रहेका तर तालिबानको हत्या हिंसाको अन्त्य नभएकोमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पसहित नेटोका सबै साझेदार राष्ट्रहरुबीच कुराकानी भएको थियो । त्यसैगरी सो सम्मेलनका क्रममा साझेदार राष्ट्रहरुबीच सिरियाका बारेमा पनि कुराकानी भएको थियो । उहाँहरुले शुरुमा सिरियामा नेटो सेनाको प्रवेशको बारेमा व्यापक छलफल गर्नुभएको थियो । लिबियामाजस्तै सिरियामा पनि नेटो सेनाको प्रवेशको कुरा भएर पनि सेना प्रवेश गर्न नसकेको विषयमा त्यहाँ कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । उक्त सम्मेलनमा विश्वका शक्तिशाली राष्ट्रहरु साझेदार रहेको नेटो राष्ट्रका राज्य तथा सरकार प्रमुखहरुको सहभागिता रहेको छ ।

१३ जनाको सकुशल उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक, असार २७ । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको बुधबारका विश्वका अखबारमा पनि प्रमुख समाचार बनेको छ । तीन दिन लगाएर १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा निकै ठूलो खुशी साटेका छन् । फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक व्यापक वर्षापछि आएको बाढीका कारण अठार दिनदेखि गुफामा फसेका थिए । थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मङ्गलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीहरुले खुशियाली साटासाट गरेका थिए । उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो । आइतबार गोताखोरहरुले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए । त्यस्तै सोमबार चार र मङ्गलबार पाँचजनाको उद्धार गरिएको हो । मङ्गलबार निकै ठूलो वर्षा भएको थियो । वर्षाका कारण उक्त गुफामा पसेको बाढीको बहाव झनै बढेको थियो । जसका कारण गुफामा बाँकी रहेका पाँच जनालाई बाहिर निकाल्न नसकिने त होइन भन्ने त्रास पनि बढेको थियो । तर पनि अपरान्ह्सम्ममा उद्धारको काम सम्भव भएपछि भने देशैभरि हर्ष छाएको थियो । ती सबैजना अर्थात् १२ जना बालक र उनीहरुका एकजना प्रशिक्षकलाई अस्पतालमा राखिएको छ । लामो समयदेखि गुफामा रहदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन् । उनीहरुलाई हेर्न आफन्तहरु अस्पताल पुगेका थिए । त्यस्तै थाइल्याण्डका प्रधानमन्त्रीले पनि अस्पतालमै पुगेर सबै १३ जनालाई भेट्नुभएको बताइएको छ । यसैबीच बुधबार प्राप्त समाचारमा उनीहरुको उद्धारका कारण देशैभरि खुशियाली छाएको छ । ती बालकहरुको विद्यालयमा बुधबार शिक्षक र विद्यार्थीहरुले एक कार्यक्रम गरेर खुशी मनाएका बताइएको छ । त्यसैगरी उनीहरुका गाउँमा आफन्तहरुले पनि खुशियाली मनाएका बताइएको छ । सामाजिक सञ्जालहरुमा देशैभरिका नागरिकले उद्धारमा खट्ने थाइ सैनिक तथा विदेशी विज्ञ र गोताखोरहरुलाई विशेष धन्यवाद दिएका छन् । थाइल्याण्ड सरकारले पनि उद्धारको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने सबैजना सदस्यलाई विशेष धन्यवाद ज्ञापन गरेको बताइएको छ । रासस÷एएफपी

राष्ट्रपति ट्रम्प र पुटिन फिनल्याण्डमा भेट्ने

मस्को, असार २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । उहाँहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् । लामो समयदेखि प्रतिक्षा गरिएको उहाँहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ । राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उहाँहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लाग्नुभएको क्रेमलिनले जानकारी दिएको हो ।

१० दिनपछि पायो गुफाभित्रको फुटबल टोलीले खाना र औषधि

थाइल्याण्ड । थाइल्याण्को एक गुफामा ९ दिनपछि सकुशल भेटिएको फुटबल टोलीले १० दिनमा बल्ल खाना र औषधि पाएको छ । उनीहरुलाई सोमबार साँझ गुफामा जीवितै भेटिएका थिए । अहिले उनीहरुको उद्धार गर्ने प्रयास भइरहेको छ । बाढीको पानी गुफामा पसेकाले उनीरुको उद्धारमा कठिनाइ भएको छ । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए । चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निकस्ने बाटो बन्द हुँदा फसेका थिए । डाक्टर तथा नर्ससहित खोजी अभियानका सात सदस्य गुफामा पुगेका छन् । उनीहरुले फसेका बालक तथा उनीहरुका प्रशिक्षकलाई १० औँ दिनमा खाना तथा औषधि दिन सफल भएका छन् । उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि उद्धारकर्मीले सम्भावित विकल्प बारे छलफल गरिरहेका छन् । गुफामा बाढीको पानी नपुग्ने ठाउँ खोजेर उनीहरु बच्न सफल भएको उद्धारकर्मीले बताएका छन् । गुफा भित्र रहेको पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ । फसेका व्यक्तिसम्म खाना तथा औषधि लैजान निकै समस्या भएको थियो । गुफामा टेलिफोनको व्यवस्था गरिएको छ । फसेका बालकले आफ्नो परिवारका सदस्यसँग कुरा गरेका छन् । यसअघि थाइल्याण्डको सेनाले बालकहरुलाई बाहिर निकाल्नका लागि पौडिन जान्नु पर्ने वा बाढीको पानी सकिने बेलासम्म पर्खिनु पर्ने बताएको थियो । गुफामा गएको बाढीको पानी सकिन लगभग तीन चार महिना लाग्छ । उद्धारकर्मीले उनीहरुलाई सुरक्षित निकाल्नका लागि विभिन्न उपायको खोजी गरिरहेका छन् । त्यो असफल भएमा उनीहरुका लागि गुफामा चार महिनाको खाना पठाइने सेनाले जनाएको छ । -एजेन्सी

नौ दिनसम्म गुफाभित्र हराएका १२ जना किशोर फेला परे

बैंकक , असार १९ । बाढीका कारण गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र तिनका प्रशिशक ९ दिनपछि फेला परेका छन् । थाईल्याण्डमा आएको बाढीका कारण तिनीहरू गुफाभित्र फसेर हराइरहेका थिए । उनीहरु पानीमा फसेर रहेको दृश्य यहाँका टेलिभिजनहरुले देखाएका थिए । उनीहरुलाई बाहिर निकाल्ने प्रयास जारी रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् । सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गत नौ दिनदेखि हराइरहेका थिए । उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए । गुफाभित्रै पानीले घेरिएको र एउटा सानो टापूजस्तो स्थानमा उनीहरु फेला परेका थिए । उनीहरुको उद्धारका लागि राष्ट्रिय सेनाको एक विशेष समूह लागिपरेको छ । ती बालक भेटिएको खबरले देशमा खुशियाली छाएको छ । ती बालकका आफन्तहरुले निकै खुशी भएको बताएका छन् । उद्धारकर्ताहरुले यो कार्य निकै कठिन भएको जनाएका छन् । तर सेनाको विशेष समूहले ती बालकलाई सकुशल उद्धारका लागि विशेष योजनाका साथ काम गरिरहेको बताइएको छ ।  

दुई कोरियाबीच ‘बास्केटबल डिप्लोमेसी’

सोल, असार १९ दक्षिण कोरियाबाट बास्केटबल खेलाडीहरूको समुह सहित एउटा उच्चस्तरीय प्रतिनिधिमंडल उत्तर कोरिया प्रस्थान गरेको छ । उक्त प्रतिनिधिमण्डलमा दक्षिण कोरियाका उच्च अधिकारी हरू साथै दर्जनौं बास्केटबल खेलाडीहरू समेत रहने बताइएको छ । राजधानी सोलबाट प्राप्त सूचनाका आधारमा उक्त प्रतिनिधिमंडल मंगलबारबिहानै प्योङयाङतर्फ प्रस्थान गरेको एएफपीले जनाएको छ बास्केटबल उत्तर कोरियाली नेता किम जोङ-उनको मनपर्ने खेल हो र यसलाई सञ्चारमाध्यमहरूले ‘बास्केटबल डिप्लोमेसी’को रूपमा व्याख्या गरेका छन् । दुई देशबीच पछिल्लो समय विकसित सम्बन्धलाई यस कदमले थप सुधार गर्ने अपेक्षा गरिएको छ । दुई कोरियाबीच बास्केटबल खेल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उत्तरका शक्तिशाली नेता किमको बास्केटबलप्रेम र दुई देशको यस कदमले दुई देशबीच लामो समयसम्म चिसिएर रहेको सम्बन्धमा उल्लेखनीय सुधार आउने आकलन गरिएको छ । पूर्व अमेरिकी बास्केटबल खेलाडी रोडम्यानसँग किम । उक्त प्रतिनिधिमंडल दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा  प्रस्थान गरेको छ र उनको साथमा ५० जना बास्केटबल खेलाडी रहेका छन् । उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा यही जुन १२ मा सिङ्गापुरमा भएको वार्तापछि पहिलो पटक यी दुई देशका यति उच्च अधिकारीले भ्रमण गर्न लागेका हुन् । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । पुन्मुन्जोनमा अँगालो हाल्दै दुई कोरियाली नेता। यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा हाल उत्तर कोरियाले काम गरिरहेको जानकारी गराइएको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताएका छन् । गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिएको समाचार आएको थियो । उत्तर कोरियामा दुवै देशका खेलाडीहरूले चार बास्केटबल म्याच खेल्ने जनाइएको छ । आगामी एसियाली खेलहरूमा दुवै कोरियाले महिला बास्केटबल लगायतका चार खेलमा संयुक्त सहभागिता जनाउने कुरामा यस अघि नै सहमति भइसकेको छ । एएफपी  

बस दुर्घटनामा ४७ जनाको मृत्यु

नयाँदिल्ली, असार १७ । भारतको उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । धूमाकोट तहसीलको नैनीडांडा क्षेत्रमा पर्ने पिपली भौन राजमार्गमा अन्तर्गत ग्वीन पुल नजिक आइतबार विहान गढवाल मोटर यूजर्सको बस दुर्घटना भएको हो । धूमाकोट के नायब तहसीलदार तीरथ सिंह नेगीका अनुसार बसमा ४५ यात्रीका घटनास्थलमै मृत्यु भएको हो । दुर्इ जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । यता उत्तराखंडका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् बसमा ५० भन्दा बढी यात्रु रहेका बताइएको छ । अन्य केही घाइते भएका छन् ।

अवैधानिक अप्रवासी विरुद्ध धरपकड थाल्दै मलेसिया

क्वालालम्पुर, असार १६ । मलेसिया सरकारले आफ्ना देशमा लुकेर काम गर्दै आएका अवैधानिक विदेशी कामदारलाई आइतबारदेखि धरपकड सुरु गर्ने भएको छ। मलेसियाली गृहमन्त्रालयले अवैधानिक कामदारहरूलाई वैधानिक प्रक्रिया पुऱ्याउन या स्वदेश फर्किन दिएको समयसीमा शनिवार सकिएपछि प्रशासनले आइतबारदेखि कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्थानीय संचार माध्यमले जानकारी दिएका छन्। अघिल्लो वर्ष मलेसिया सरकारले अगस्ट देखि डिसेम्बर सम्म अवैधानिक आप्रवासी कामदारलाई वैधानिक बन्न वा स्वदेश फर्कन समयसीमा तोके पनि यो वर्ष भने सो सीमा जनवरी देखि जुन ३० सम्म तोकेको थियो । आइतबार देखि सुरु गरिने अभियानमा पक्राउ परेका कामदारलाई अब वैधानिक बनेर बस्न नदिने र यसरी काम लगाउने कम्पनीलाई समेत कारबाही गरिने गृहमन्त्रालय ले जनाएको छ। सुचनालाई बेवास्ता गरी मलेसियामै अवैध रूपमा काम गरिरहेको अवस्थामा पक्राउ परेका व्यक्ति लाई ५० हजार रिंगट जरिवाना र ५ बर्ष सम्मको कैद सजाय हुन सक्ने व्यवस्था रहेको संचारमाध्यमले जनाएका छन्। यता मलेसियास्थित नेपाली दूतावासले पटक पटक विज्ञप्ति जारी गर्दै अवैधानिक रूपमा रहेका आफ्ना नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्कन अनुरोध गर्दै आएको छ।

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

सोल, असार १४ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुग्नुभएको छ । उहाँ बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजै राति अबेरतिर उहाँ जापानको राजधानी टोकियोका लागि उड्नुहुने समाचरमा जनाइएको छ । प्राप्त समाचारअनुसार उहाँले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नुहुने छ । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तापछि उहाँ पहिलो पटक यी दुई देशको भ्रमणका लागि नस्किनुभएको हो । दक्षिण कोरिया र जापान अमेरिकाका एसियाली साझेदार हुन् । यी दुई देशले अमेरिकासँग निकै नजिकको सम्बन्ध राखेर काम गर्ने गरेका छन् । उता दक्षिण कोरिया र जापान उत्तर कोरियाका पनि छिमेकी हुन् । यी देश उत्तर कोरियाले आणविक परीक्षण गर्दा बढी र प्रत्यक्ष प्रभावित हुने देशमा पर्दछन् । उहाँ यसअघि चीनको भ्रमणमा जानुभएको थियो । चीनको दुई दिने भ्रमण सकेर बिहीबारै रक्षामन्त्री म्याटिस दक्षिण कोरियाको राजधानी सोल अवतरण गर्नुभएको हो । उहाँ चीनमा रहँदा उत्तर कोरियाली नेता किमको निकै प्रसंशा गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक प्रतिभाशाली व्यक्ति भन्नुभएको थियो । रक्षामन्त्री म्याटिसले कोरिया र जापानका उच्च अधिकारीहरुसँग सिङ्गापुर वार्ता, त्यसपछिको कोरियाको प्रायद्वीपको अवस्थाका बारेमा छलफल गर्नुहुने छ । त्यसैगरी उहाँले उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणको लागि गरेका प्रयासहरुको बारेमा जानकारी गराउँदै उत्तर कोरियालाई निशस्त्रीकरणका लागि तयार गर्नुअघि उसले के गर्छ भन्ने बारेमा चनाखो रहन पनि छिमेकीहरुलाई आग्रह गर्नुहुने बुझिएको छ । तर भ्रमणका एजेण्डाहरु के हुन् भन्ने बारेमा भने अमेरिका, चीन, दक्षिण कोरिया तथा जापानको तर्फबाट पनि औपचारिक रुपमा भने केही सार्वजनिक भएको छैन ।

मेजरकी श्रीमतिलाई मेजरले नै हत्या गरेपछि भारतमा हंगामा

नयाँदिल्ली, असार १० । सैन्य अधिकृतकी श्रीमति हत्या गरेको आरोपमा दिल्ली प्रहरीले आइतबार मेजर निखिल हाडालाई पक्राउ गरेको छ । मेजर अमित द्विवेदीकी श्रीमति शैलजालाई हत्या गरेको आरोपमा दिल्ली प्रहरीले हाडालाई मेरठको दारौलाबाट पक्राउ गरेको बताइएको छ । हाडा भारतीय सेनाको नगालैंडको दीमापुरमा तैनात थिए । शनिवार बिहान हाडा होण्डा सिटी कारमा शैलजालाई भेट्न दिल्ली कैन्ट आएका थिए । त्यसपछि दिउँसो १.३० बजे कैण्ट मेट्रो स्टेशन नजिक ३५ वर्षीया शैलाजाको शव भेटिएको थियो । शैलाजाको घाँटी रेटेर हत्या गरिएको अबस्थामा उनको शव भेटिएको थियो । शवलाई कैयौं पटक आरोपीले कारले कुल्चिएको पुष्टी भएको छ । सीसीटीभी फुटेज र शैलजाको मोबाइलमा भेटिएको महत्वपूर्ण सूचनाका आधारमा प्रहरी आरोपी मेजरलाई पक्राउ गर्न सफल भएको बताइएको छ । डीसीपी विजय कुमारका अनुसार, शैलजा मेजर अमित द्विवेदीकी श्रमिति हुन । घटना भएको करीब ४ घण्टापछि जव मेजर अमित श्रीमति हराएको सूचना दिन प्रहरी चौकीमा पुगे । तव उनले श्रीमतिको हत्या भएको थाहा पाए । अमित द्विवेदीले प्रहरीलाई दिएको जानकारी अनुसार शैलजा विहान १० बजे फिजियोथेरापी गर्नका लागि सैनिक अस्पताल गएकी थिइन । चालकले सरकारी गाडीमा शैलजालाई अस्पतालमा पुर्याएर फर्किए र पछि ल्याउन जाँदा शैलजा अस्पतालमा थिइनन् । पछि थाहा भयो उनी फिजियोथेरापी गर्न गइनन् । स्रोतका अनुसार, मेजर हाडा र शैलजाबीच पहिलो पटक करीब ६ वर्ष अघि दीमापुरमा भेट भएको थियो । त्यतिवेला शैलजाका श्रीमान मेजर अमित पनि दीमापुरमै कार्यरत थिए । तर दूई महिना अघिमात्रै मेजर अमितको दिल्ली सरुवा भएको थियो । उनको ६ वर्षको छोरो छ । भने उनीहरुको विवाह ९ वर्ष अगाडि भएको थियो । प्रहरीले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । साथै घटनालाई लिएर सर्वत्र चासो व्यक्त गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हत्या जस्तो जघन्य घटना पूर्वसहकर्मीबाट किन भयो भनि प्रश्न खण्डा गरिएको छ । तर केहिले भने उनीहरुबीच अनैतिक सम्बन्ध त थिइन भनी अशंका गरेका छन् ।