आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न ट्वीटरकाे सुझाव

वासिंटन, वैशाख २१ । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् ।

डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ ।

सो कम्पनीले आफ्नो आधिकारिक ह्यान्डलबाट ट्वीट गर्दै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।

हालै विद्यमान पासवर्डमा ‘बग’को समस्या देखिएको र त्यो समाधान भइसकेको जानकारी दिदैं उसले एकपटक पासवर्ड परिवर्तन गर्न प्रयोगकर्तालाई सुझाव दिएको हो ।

प्रयोगकर्ताको डाटा सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो सुझाव दिइएको पनि ट्वीटरले प्रष्ट पारेको छ ।

भ्याटिकनका कार्डिनललाई यौन दुर्व्यवहारका दुई मुद्दा

काठमाडौं, बैशाख १९ । यौन दुर्व्यवहारको आरोप खेप्ने सबै भन्दा उच्च रोमन क्याथोलिक कार्डिनल जर्ज पेलले अष्ट्रेलियामा दुई वटा अलग अलग मुद्दा लगाइने भएको छ। मेलबर्नमा भएको संक्षिप्त सुनवाइपछि वादी र प्रतिवादी दुवै पक्षले ७६ वर्षिय पेलले सन् १९७० को दशकमा उनी पादरी हुँदा बलाराटमा भएको भनिएको एउटा घटना र त्यसको २० वर्षपछि मेलबर्नमा आर्कविसप रहँदाको समयमा लगाइएको अर्को आरोपलाई लिएर मुद्दाको सामना गर्नुपर्नेमा सहमति जनाएका हुन्। हालसम्म कुनै पनि मुद्दाको पुर्पक्षको समय भने तय भएको छैन्। भ्याटिकनका आर्थिक मामिला व्यवस्थापक रहेका पेलले आफू निर्दोष रहेको बताएका छन्। तर कार्डिनलको कानुनी टोलीले ती मुद्दाहरूको कारबाही तुरून्तै अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले भनेका छन्, “हाम्रो पक्ष ७६ वर्ष पुगिसक्नुभएको छ र सबै जनाले आफ्नो जिवन अघि बढाउन पाउनुपर्छ।” बयान अर्को सुनवाई मे १६ का लागि तोकिएको छ जसले मुद्दाहरूमा कारबाही अघि बढाउन मितिको निर्क्यौल गर्नसक्ने ठानिएको छ। कार्डिनल विरुद्ध यौन दुर्व्यवहारका आरोप गएको जुन महिनामा भिक्टोरियाका प्रहरीहरूले पुराना घटनाहरूसँग सम्बन्धित एक भन्दा बढी उजुरी परेको भन्दै कार्डिनल पेल विरुद्ध अभियोग दायर गरेका थिए। ‘कमिटल’ भनिने प्रारम्भिक अदालती सुनवाइका क्रममा ३० जना भन्दा बढीले बयान दिएका थिए। मार्चदेखी ४ हप्तासम्म चलेको उक्त यौन दुर्व्यवहारको आरोपबारेको सुनवाइको कारबाही प्रचलनमा रहे जस्तै सर्वसाधारणका लागि निषेध गरिएको थियो।

चर्चमा अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु, ९९ घाईते

काठमाडौं, बैशाख १९ । मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ । राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । मारिनेमा चर्चका पादरीसमेत छन् । घटनामा ९९ जना घाइते भएका छन् । अघिल्लो महिना पनि सोही स्थान नजिकै भएको हिंसात्मक घटनामा २८ जनाको मृत्यु भएको थियो । मध्य अफ्रिकी गणतन्त्रमा केही वर्षदेखि जातीय र धार्मिक हिंसाका घटना भइरहेका छन् ।

नाइजेरिया : मस्जिदमा आत्मघाती बम आक्रमण, २७ जनाको मृत्यु

काठमाडौं, वैशाख १९ । नाइजेरियाको एक मस्जिदमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको ज्यान गएको छ । घटनामा अरु धेरै घाइते भएका छन् । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमण भएको हो । दिउँसोको नमाज प्राथनका लागि मानिस जम्मा भएका बेला मस्जिदको भित्र तथा बाहिर विस्फोट भएको हो । एडामावा राज्यको प्रहरीले आक्रमणमा इस्लामिक बिद्रोही समूह बोको हरामको संलग्नता रहेको आशंका गरेको छ । तर अहिलेसम्म उसले त्यसको जिम्मेवारी लिएको छैन । बोको हरामले नाइजेरियाको उत्तरी क्षेत्रमा इस्लामिक राज्यको माग गर्दै हिंसात्मक गतिविधि गर्दै आएको छ । हिंसाका कारण अहिलेसम्म २० हजारको हाराहारीमा मानिसको ज्यान गएको छ भने २० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

बलात्कारको आरोप सेना प्रमुखद्वारा अस्वीकार

याङ्गुन, वैशाख १८ । म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कार लयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको अस्विकार गर्नुभएको छ । राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको सम्बोधनमा सेना प्रमुख मिन आङ हानिङले सो आरोपको अस्वीकार गर्नुभएको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरु हाल बंगलादेश र म्यानमारको भ्रमणमा रहेका छन् । राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अभैm सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै फर्काउन सकिने हो होइन भन्ने अनुसन्धानको लागि ती प्रतिनिधिहरु त्यहाँ पुगेका बताइएको छ । ती प्रतिनिधिहरुसँगको अन्तरक्रियामा उहाँले उक्त आरोपको खण्डन गर्नुभएको समाचारमा जनाइएको छ । यसअघि संयुक्त राष्ट्रसंघकै एक अनुसन्धानबाट रोहिंग्यामाथि बलात्कार गर्ने गरेको आरोप लागेको थियो । रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले गत शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमणमा रहेका छन् । म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल म्यानमारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ । तर यो अनुमानित तथ्यांकमात्र भएको बताइएको छ । करिब सात लाख रोहिंग्या मुसलमान त म्यानमारको राखिन राज्यबाट गएको अगष्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए । त्यस्तै पछिल्लो समयमा पनि उनीहरु देश छोडेर भाग्ने क्रम जारी रहेकोले त्यहाँ पुग्ने शरणार्थीहरुको संख्या बढेको हो । हालै सार्र्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो । यस विषयलाई सम्बोधन गर्दै सेना प्रमुख मिनले बलात्कार र यौनजन्य अपराध नभएको बताउनुभएको हो । सोही कारण पनि रोहिंग्या शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन् । म्यानमारको सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाई छ ।

भारतीय प्रधानमन्त्री मोदीले आजबाट चुनावी अभियान शुरु गर्दै

नयाँ दिल्ली, वैशाख १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको शुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । विधान सभाको निर्वाचन यही मे महिनाको १२ मा हुने बताइएको छ । भारतीय जनता पार्टी (बिजेपी) का अधिकारहरुका अनुसार मोदीले मङ्गलबार सो राज्यमा मङ्गलबार आयोजना गरिएका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नहुने भएको छ । राज्य सभाको लागि हुन गइरहेको सो निर्वाचनमा २१९ जना महिलासहित २ हजार ६५५ उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् । सो निर्वाचनबाट २२४ जना राज्य सभाका सांसदहरु निर्वाचित हुने बताइएको छ । मोदीले कर्नाटकमा मे ८ सम्ममा एक दर्जन भन्दा बढी चुनावी सभालाई सम्बोधन गर्नुहुने पनि बताइएको प्रापत समाचारमा उल्लेख छ । प्रधानमन्त्री मोदीले पनि कर्नाटकको आफ्नो भ्रमणअघि गर्नुभएको ट्वीटमा कर्नाटकमा मङ्गलबार गरिने तीन वटा चुनावी सभाको सम्बोधन आफूलाई प्रतिक्षाको विषय रहेको लेख्नुभएको छ । ती सभाहरुलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि सो राज्यमा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्न लाग्नुभएको उक्त समाचारमा जनाइएको छ ।

पाकिस्तानी बस ड्राइभरको छोरा भए ब्रिटेनका गृहमन्त्री

ब्रिटेनको गृहमन्त्रीमा पाकिस्तानी मूलका साजिद जावेद नियुक्त भएका छन् । गृहमन्त्री अम्बर रडको राजिनामापछि समुदाय, स्थानीय सरकार एवम् बसोबास मन्त्रालयको कार्यभार सम्हालिरहेका जावेदको नियुक्ति भएको हो । सन् १९६०  को दशकमा ब्रिटेन आएका जावेदको परिवार निम्न मध्यम वर्गीय थियो । उनका पिता एउटा बस चालक रहेका थिए । ४८ वर्षीय जावेदले यस अघि व्यापार एवम् संस्कृति मन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छन् । जावेद काला, एसियाली र अल्पसंख्यक समुदाय (बिएएमइ) बाट यो पदमा पुग्ने पहिलो व्यक्ति हुन् । उनी सन् २०१० देखि संसद रहेका छन् । जावेद ब्रिटेनले युरोपियन युनियनको सदस्या नछोड्नुपर्ने मत राख्ने ब्रिटिश राजनेताहरूमा एक हुन् । यस अर्थमा उनको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बिबिसी  

डोमिनिकन रिपब्लिकले ताइवानसँगको सम्बन्ध तोड्दै चीनसँग सम्बन्ध गाँसेपछि

काठमाडौं, वैशाख १८ । डोमिनिकन रिपब्लिकले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै चीनसँग सम्बन्ध गाँसेको छ। डोमिनिकन रिपब्लिक ताइवानको सबैभन्दा ठूलो कूटनीतिक साझेदारमध्ये एक थियो। ७७ वर्षदेखि ताइवानसँग कूटनीतिक सम्बन्ध राख्दै आएको डोमिनिकन रिपब्लिकका विदेशमन्त्री मंगलबार बेइजिङमा हस्ताक्षर गरेको घोषणामा सो राष्ट्रले ‘आजकै दिनबाट ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको’ बताइएको छ। अब ताइवानसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रहरुको संख्या मात्र १९ रहेको छ, जसमध्ये धेरैजसो मध्यअफ्रिकी साना तथा कमजोर राष्ट्रहरु पर्दछन्। आगामी दिनमा भ्याटिकनले पनि ताइवानलाई छोडेर चीनसँग सम्बन्ध गाँस्ने अनुमान गरिँदै आएको छ। गत वर्ष पानामाले चीनसँग यसरी नै सम्बन्ध गाँसेको थियो। ताइवानले भने ३ अर्ब डलरको लगानीको आशा देखाएर डोमिनिकन रिपब्लिकलाई चीनले आफूतिर तानेको आरोप लगाएको छ। एजेन्सी

अफगानिस्तानमा बम आक्रमण, सञ्चारकर्मीसहित ३६ मारिए

काबुल, वैशाख १८ । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि छन् । अधिकारीका अनुसार मोटरसाईकलमा आएका आक्रमणकारीले सोमबार बिहान पहिलो बम आक्रमण गरेका थिए । लगत्तै विस्फोटस्थलमा पुगेका स्थानीय र सञ्चारकर्मीलाई लक्षित गरी पहिलो आक्रमणको करिव १५ मिनेटपछि दोस्रो आक्रमण गरिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मागे दुई कोरियाली वार्ताको जानकारी

काठमाडौं, बैशाख १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली र उत्तर कोरियाकोबीचमा भएको वार्ताको जानकारी मागेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी मागेका हुन् । ट्रम्पले टेलिफोन गरेर आफूले उनीहरुको वार्ता बारे जानकारी लिएको बताएका छन् । कोरियाली वर्ताको विषयमा थाहा पाएपछि उनले भने, ‘दक्षिण कोरियाली नेता मुनसँग लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भैरहेको छ ।’ जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको ट्रम्पले बताएका छन् । मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा सहमति भएको थियो । दुई कोरियाली मुलुकमा सन् १९५० मा सुरू भएको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुन सकेको छैन ।

म्यानमारको काचिनमा सेना र आदिवासी विद्रोहीबीच तनाव, हजारौं मानिस पलायन

काठमाडौं, बैशाख १६ । म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन भएका हुन् । सरकारी सेना र विद्रोहीबीच झडप भएपछि सयौं आदिवासी युद्धग्रस्त क्षेत्रमा फसिरहेका छन् । चीनसँग सीमा जोडिएको काचिनका दशौं हजार स्थानीयबासिन्दाले घरवार छाडेर भागेको संयुक्त राष्ट्र संघले जनाएको छ । त्यहाँ काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ । पछिल्लो पटक सरकारी फौजले हवाई र तोप हमला गरेपछि काचिनमा हिंसा भड्किएको हो । संयुक्त राष्ट्रसंघले गत अप्रिलदेखि शुरु भएको दुई समूहबीचको युद्धको चपेटामा परेकाहरुका लागि मानविय सहायताको खाँचो रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ । म्यानमारको पश्चिमी क्षेत्रमा रहेको रोहिंग्या मुस्लिमहरुको संकटबाहेक उत्तरी क्षेत्रमा पनि जातीय अल्पसंख्यक र सरकारी सेनाबीच झडप हुने गरेको बीबीसीले जनाएको छ । सन् २०११ मा सरकारी पक्ष र विद्रोहीबीच युद्ध विराम भंग भएपछि म्यानमारको उत्तरी राज्यमा युद्ध शुरु भएको हो । यसैबीच सर्वसाधारणमाथिको सरकारी दमन र अन्तर्राष्ट्रिय सहायता कोषका प्रतिनिधीलाई म्यानमार प्रवेश गर्न नदिएको भन्दै म्यानमारकी नेतृ आङसाङ सुचीको पनि व्यापक विरोध भइरहेको छ ।(एजेन्सी)

पेरुमा भेटिए ५ सय वर्ष पुराना ३४० बच्चाका कंकाल

लिमा, पेरु । मानव इतिहासका कैयन् घटनाहरु समयक्रमसँगै सार्वजनिक हुने गर्दछन् । यस्तै नयाँ कुरा पेरुमा पत्ता लागेको छ । यो नयाँ कुरा हो मानव नरसंहारको । नेशनल जिओग्राफिकको एउटा सनसनीपूर्ण रिपोर्टमा तीनसय बढी बालबालिकाका कंकाल भेटिएका हुन । यो मानव इतिहासमा बच्चाहरुको सबैभन्दा ठूलो बलिदान भएको रिपोर्टमा टिप्पणी गरिएको छ । पेरुको उत्तरी प्रायद्विपमा भेटिएका यी कंकालहरुमा १ सय चालिस जना बालबालिका र २ सय शिशुहरुका रहेका छन् । शिशु र बालकहरुको यो बलिदान ५ सय पचास वर्ष कोलम्बियन साम्राज्यभन्दा अगाडिको चिमु साम्राज्यमा भएको हुनसक्ने अनुमान गरिएको छ । कंकालहरुमा ५ देखि १४ वर्षसम्मका १४० बालबालिका र १८ वर्ष मुनिका शिशुहरु छन् । यतिका शिशुहरु एकै स्थानमा राखेर किन हत्या गरियो भन्ने कुरा इतिहासका पानामा बन्द रहेको छ । This May 10, 2011 handout photo provided by National Geographic shows how the face of this child was painted with a red cinnabar-based pigment, at the Huanchaquito-Las Llamas site near Trujillo, Peru. Archaeologists hypothesize that the chest was cut open to remove the heart as part the sacrificial ceremony. “Skeletal evidence clearly indicates that the children and camelids were sacrificed by cutting open the thoracic cavity,” the researchers reported. (Gabriel Prieto/National Geographic via AP) अचम्म त के छ भने यसरी मारिएका बालबालिकाहरु पुरै धार्मिक संस्कार पुरा गरेर हत्या गरिएका छन् । कंकालको अवस्थिति र उनीहरुको अवस्था हेर्दा पुरै धार्मिक विधि विधान गरेर हत्या गरिएको देखिन्छ । बच्चाको अनुहारमा लेप लगाइएको रिपोर्टमा उल्लेख छ । यो लेप उनीहरुको छाती काट्नु अघिको संस्कारको बेला लगाइएको हुनसक्ने बताइएको छ । बच्चासँगै तीनजना वयस्कहरुका कंकाल पनि भेटिएका छन । तस्वीरः सिएनएनबाट

ट्रकमा जीप ठोक्किदाँ १२ जनाको मृत्यु, ५ घाइते

नयाँदिल्ली, वैशाख १५ । भारत उत्तर प्रदेशको लखीमपुरको राष्ट्रिय राजमार्ग अन्तर्गग २४ सड्कखण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भने घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार खचाखच भरिएको जीप सड्कमा रोकिराखेको ट्रकमा ठोक्किदाँ सो घटना भएको हो । घटनामा परि दुई वर्षकी शिशु बचेकी छन् तर उनकी आमाको भने मृत्यु भएको छ । जीप यात्रुहरु लिएर शाहजहांपुरबाट सीतापुर जादै थियो । लखीमपुरको थाना पस गाउँमा भएको घटना विहान ९ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घाइते ८ जनालाई शाहजहांपुर जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको थियो । तीमध्ये तीन जनाको अस्पतालमा मृत्यु भएको हो । बाँकीको उपचार भइरहेको छ बताइएको छ । के कारणले घटना भयो एकन नभएपनि ड्राइभर निदाउँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

कोरियाली शिखर वार्ताः ट्रम्पले उच्च प्रंशसा गर्दै भने मेरो असल साथी राष्ट्रपति सीलाई कसैले नविर्सौं

काठमाडौं, वैशाख १५ । कोरियाली प्रायदीपमा सन् १९५० को जुन २५ देखि सन् १९५३ जुलाई २७ सम्म चलेको युद्धले लामो समयसम्म कोरियाली जनतालाई दुःख, त्रास र अन्यौलमा बाँच्न बाध्य पा¥यो । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुनसकेको छैन । शुक्रबार भएको दुई कोरियाली उच्च नेताहरूको भेटले कोरियाली जनतालाई त राहतको अनुभव भएको छ । त्यसबाहेक जवानीको जोससँगै उत्तर कोरियाको नेतृत्व सम्हाल्ने मौका पाएका नेता किम जोङ–उनको हतियारप्रतिको मोहले त्रस्त बनाएको दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि राहत हुने सङ्केत देखिएको छ । गत वर्षको भदौ असौजतिर अमेरिका र उत्तर कोरियाली उच्च नेतृत्वबीच चलेको वाकयुद्धले यति छिट्टै उत्तर कोरिया यो हदमा नरम बन्नेछ भन्ने विश्वले कल्पना पनि गरेको थिएन । नत अमेरिकाले उत्तर कोरियासँग वार्ताका लागि तयार हुन्छ जस्तो नै लाग्थ्यो । उत्तर कोरियाली नेता किमका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा केही महिना पहिले भन्नुभएको थियो, “‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा हुनुहुन्छ ।” यसको अर्थ थियो अमेरिकाले उत्तर कोरियाविरूद्ध कुनै पनि वेला आक्रमण गर्नसक्छ । संयुक्त राष्ट्रसंघको महासभालाई सन् २०१७ मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पार्ने’ चेतावनी दिनुभएको थियो । उत्तर कोरियाली विदेशमन्त्री रिले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददातासँग यसको प्रतिक्रियामा भन्नुभएको थियो, “एउटा भनाइ छ नि कुकुर भुक्दै गर्दा पनि ‘परेड’ चलिरहन्छ । यदि ट्रम्पले हामीलाई कुकुरको भुकाइमार्फत अचम्मित पार्न खोजेका भए सपना देख्दैहुनुहुन्छ ।” विज्ञहरुले उत्तर कोरियाले अचम्म लाग्दो तरिकाले लामो दुरीको मिसाइल र आणविक कार्यक्रममा प्रगति गरेको भन्दै समस्याको समाधान शान्तिपूर्ण गर्नुपर्ने बताएका थिए । उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौँं ठूलो आणविक परीक्षण गरेको थियो । विश्वलाई तरङ्गित पारेको कोरियाली विवादले दक्षिण कोरियामा आयोजना गरेको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले आफ्नो टोली पठाउने घोषणासँगै घटनाक्रमलाई नयाँ मोड दिन सफल देखियो । हुनत अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध नयाँ तथा थप कडा आर्थिक नाकावन्दी लगाउने घोषणाले पनि उत्तरलाई यो अवस्थामा ल्याएको हो भन्न सकिने आधार प्रशस्तै छन् । राष्ट्रसंघले उत्तर कोरियालाई हतियार मोह त्याग्न निरन्तर गरेको पहलका बाबजुद पनि एक पछि अर्को गर्दै उत्तर कोरियाले शक्तिशाली हतियार परीक्षण गर्नथाले पछि यसले चीन तथा रूसलाई पनि त्रसित बनाएको थियो । लामो समयदेखि प्योङयाङको प्रमुख सहयोगी रहँदै आएको चीन र अर्को सहयोगी मुलुक रूस राष्ट्रसंघद्वारा घोषणा गरेको नाकावन्दीप्रति ऐक्यवद्धता देखाउनुले पनि कोरियाली नेता किमलाई गलाएको विश्वास पनि गरिन्छ । उत्तर कोरिया, दक्षिण कोरिया, चीन र अमेरिकाको प्रयासमा कोरियाली प्रायदीपमा देखिएको शान्तिको सम्भावनाले विश्वलाई हर्षित तुल्याएको छ । शुक्रबार दुई कोरियाली नेताबीचको वार्ताले कोरियाली प्रायदीपलाई आणविक निशस्त्रीकरणका लागि भावनात्मक एकता दर्शाएको छ । वार्ताले यो वर्षको अन्त्यसम्ममा कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने उद्देश्यले अमेरिका र चीनसमेत समावेश चार पक्षीय बैठक गर्ने, एक अर्कालाई चिड्याउने खालका सबै कार्यहरु बन्द गर्ने र गैरसैनिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’को रुपमा विकास गर्ने, कोरियाली युद्धले विभाजित गरेका परिवारको पुनर्मिलन कार्यक्रम यो वर्षको अगष्ट १५ बाट शुरु गर्ने पनि सहमति गरेको छ । त्यसैगरी, कोरियाको सिमाना नजिक रहेको किसोङ्ग साझा आर्थिक क्षेत्रमा संयुक्त सम्पर्क कार्यालय खोल्न, दुई देशको सबै सरकारी तहबीच नजिकको कुटनैतिक सम्बन्ध कायम गन र अन्तर्राष्ट्रिय समारोहहरुमा सयुक्त टिम पठाउने र यसको शुरुवात सन् २०१८ को एसियाली गेमबाट गर्ने लगायतका विषयमा ऐक्यवद्धता जाहेर गर्न सफल भएको छ । वार्तापश्चात् बोल्दै नेता किमले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाउनुभएको छ । उहाँले कुनै दिन दुई कोरियाको एकीकरणसमेत हुनसक्ने भन्ने भावनात्मक निकटतालाई दर्शाउनुभएको थियो । सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया जानु भएको हो । स्थानीय समयानुसार शुक्रबार विहान ९ः३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुग्नु भएको थियो । बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उहाँले “शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ” भनेर लेख्नु भएको थियो । समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच पनि आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने सम्भावना छ । यद्यपि बैठक कहाँ र कुन मितिमा गर्ने निश्चित भने भएको छैन । अमेरिकी राष्ट्रपतिले दुई दिन पहिले गरेको ट्वीटमा वार्ता निकट समयमा हुनसक्ने कुरालाई सङ्केत गर्नुभएको थियो । यसैबीच उत्तर कोरियाले गत वर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रसंशा गर्नुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको कोरियाली प्रायदीपमा शान्ति स्थापनार्थ खेलेको पहलको खुलेर प्रसंशा गर्दै आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “मेरो असल साथी तथा चीनका राष्ट्रपति सीले खासगरी कोरियाली सीमा विवाद समाधानका लागि गरेको प्रयासलाई हामी कसैले नविर्सौं । उहाँविना वार्ता प्रयास लामो र कठीन हुने थियो ।” चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी हो तर प्योङ्याङको आणविक हतियार परीक्षणका सन्दर्भमा संयुक्त राष्ट्रसंघले लगाएको नाकावन्दीमा चीनले समर्थन जनाएको थियो । यस बिषयमा चीनले उत्तर कोरियामा नाकावन्दीको घोषणा नगरेको भए कोरियाली प्रायदीपको समस्या समाधान उन्मुख हुने सम्भावना थिएन । पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा भएको प्रत्यक्ष तथा औपचारिक वार्ताले विश्वलाई शान्तिका लागि सकारात्मक सन्देश दिएको छ । औपचारिक वार्ता अगाडि किमलाई मुनले सैन्य प्रदर्शनी अगाडि अभिवादनसहित भव्य स्वागत गर्नु भएको थियो । उहाँहरुको ऐतिहासिक शिखर बैठक सकारात्मक भएका दुवै देशका अधिकारीले जनाएका छन् । यद्यपी कतिपय विश्लेषकले भने वार्तामा नेता किमले व्यक्त गरेका धारणाप्रति धेरै नै आशावादी भइहाल्ने स्थिति नभएको भनेका छन् । कूटनीतिज्ञ भन्छन्, यस पहिले पनि प्योङयाङ र सोलबीचको समाधानका लागि पहल नभएका थिएनन् तर पछि प्योङयाङको कारण ती वार्ताले मुहुर्तरूप लिन सकेका थिएनन् । वार्ता सकेर नेता किम स्वदेश फर्किनुभएको छ । वार्तालाई विश्वका विभिन्न मुलुकका नेताहरूले सकारात्मक भनेका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको पूर्व तयारीमा कोरियाली नेताबीचको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गर्नुभएको छ । उहाँले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिएको दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको बताइसक्नु भएको छ । दुई कोरियाका शीर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन् । अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको शुक्रबारको भेटवार्तालाई “ऐतिहासिक र सुखद्” भनेको छ । दुई देशको शिखर बैठकले जनताको शान्ति र संवृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ । ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ । त्यसैगरी अष्ट्रेलियाले पनि दुई कोरियाको भेटावार्तालाई निकै सकारात्मक सन्देशका रुपमा लिइएको बताएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडि बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गर्नुभएको छ । आउने हप्ताहरूमा उत्तर कोरियाली नेता किमसँगको आफ्नो भेटवार्तामा सम्भव भए एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको ट्रम्पले बताए । स्थिति अहिलेकै अवस्थामा अघि बढेमा कोरियाली प्रायदीपको विवादका कारण विश्वभर फैलिएको सन्त्रास छिट्टै स्थायीरूपमा समाधान हुनेछ । विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

दुई कोरियाली नेताको शिखर वार्ता : ‘नयाँ युगको शुरुवात’

काठमाडौं, वैशाख १५ । उत्तर कोरियाली सञ्चारमाध्यमले दुई कोरियाका नेताहरूबीचको शुक्रवारको शिखर बैठक ‘ऐतिहासिक’ भएको र त्यसले एउटा नयाँ युगका लागि मार्ग प्रशस्त गरेको जनाएको छ। उत्तर कोरियाली नेता किम जङ(अन र दक्षिण कोरियाली राष्ट्रपति मून जे(इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रबाट मुक्त पार्न मिलेर काम गर्ने सहमति गरेका थिए। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले शिखर वार्ताको प्रशंसा गर्दै समृद्धि हासिल गर्ने दिशामा एउटा ुनयाँ कोसेढुङ्गाु भएको जनाएको छ। उसले शिखर बैठकपछि गरिएको घोषणाको पूर्णपाठलाई समाचारमा समेटेको छ। चीन र अमेरिका दुवैले सहमतिको स्वागत गरेका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहने बताएका छन्। ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग जुन महिनाको शुरूतिर भेटवार्ता गर्ने बताइएको छ। उनले भने, ‘हामी आफूलाई झुक्याउने दिनेछैनौँ। आशा छ हामीले एउटा सम्झौता गर्नेछौँ।’ शिखर बैठकमा दुई कोरियाली नेताहरू सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने पनि सहमति गरेका थिए। केही महिनाअघिको वाक्‌युद्धको स्थितिपछि दुई कोरियाबीच शिखर बैठक भएको थियो। दुई कोरियाबीच विगतमा भएका सहमतिहरूमा त्यस्तै प्रतिबद्धता जनाइए पनि उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरू गरेर त्यसको उल्लंघन गरेको थियो भने दक्षिणले अझ बढी अनुदारवादी राष्ट्रपतिहरू चयन गरेको थियो। शुक्रवारको सहमतिपछि किमले भने, ‘कडा प्रतिक्रिया आउन सक्छ, कठिनाइ र निराशा देखिन सक्छ। विना पीडा विजय हासिल गर्न सकिँदैन।

चीनमा चक्कू प्रहारबाट सातको मृत्यु, १२ जना घाइते

बेइजिङ, वैशाख १४ । चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ । एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा एक जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते सवै बालबालिकाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । स्थानीय सुरक्षा प्रशासनले घटनामा पाँच बालिका र दुई बालकको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेहरूमा नौजना छात्रा र दुई छात्र रहेका छन् । मृतक तथा घाइते सवैजना १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरू रहेका बताइएको छ । झाओ थर भएका मिझी ‘काउन्टी’ झाओजिआसान गाउँका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको थाहा भएको प्रहरीले बताएको छ ।