चीन: छुरा प्रहारबाट सात विद्यार्थीको मृत्यु
बेईजिंग । उत्तरी चीनको एउटा स्कुल बाहिर एक जना आक्रमणकारीको छुरा प्रहरबाट कम्तिमा पनि सात जना विद्यार्थीको ज्यान गएको छ ।
सिन्हुआ समाचार एजेन्सीले लेखेको समाचारमा चीनको शांक्शी प्रान्तको मिझी काउन्टीको एउटा माध्यमिक विद्यालय नजिकै भएको उक्त आक्रमणमा अन्य १२ विद्यार्थी घाइते भएका छन् ।
आक्रमणको समय विद्यालयको कक्षा सिध्याएर विद्यार्थीहरू घर गइरहेका थियो । बिबिसीले उक्त आक्रमणकारीको नाम झाओ रहेको र निज उक्त विद्यालयको पूर्व विद्यार्थी रहेको जनाइएको छ ।
निज अक्रमणकारीले आफूलाई उक्त विद्यालयमा पढ्दा आफूलाई सताइएकाले बदलास्वरूप त्यसो गरेको बताए । उनलाई प्रहरीले हिरासतमा लिइसकेको जनाइएको छ ।
सामाजिक संजालहरूमा सार्वजनिक गरिएका तस्बिरहरूमा कैयन् विद्यार्थीहरू भुइँमा लडिरहेका र भयभीत मान्छेहरूले तिनीहरूलाई घेरेर राखेको बताइएको छ ।
स्थानीय प्रशासनले उक्त घटना स्थानीय समय अनुसार साँझ ६ बजेर १० मिनेटमा भएको जनाएको छ ।
उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता
काठमाडौं, बैशाख १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ । दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन् । दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्ता शिशा र कंक्रिटले बनाइएको शान्तिगृहमा भइरहेको हो । किमले शिखर सम्मेलनका लागि मिलिटरी डिमार्केशन लाइन पार गर्दै आइपुगेका हुने । किमको सम्मानमा दक्षिण कोरियाली सैनिकले सलामी अर्पण गरेको छ । सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन । उत्तर कोरियाले आणविक हतियार छोड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता केन्द्रित रहेको बताइएको छ । वर्षौंदेखिको तनाबलाई रोक्ने सन्दर्भमा वार्ता महत्वपूर्ण हुने अपेक्षा छ । उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेपछि कोरियाली प्रायद्विपमा शान्तिको सम्भावना बढ्दै गएको छ । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच पनि शिखर सम्मेलनको तयारी भैरहेको छ ।(एजेन्सी)
किम जोङ उन भोलि दक्षिण कोरिया जाने, ६८ वर्षपछि पहिलो भ्रमण
सोल, वैशाख १३ । उत्तर र दक्षिण कोरियाका प्रमुखबीच शुक्रबार शिखर वार्ता हुने भएको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच भोलि सीमा क्षेत्रमा शिखर वार्ता तय भएको छ। सन् २००७ पछि दुई कोरियाका राष्ट्रप्रमुख पहिलो पटक भेट हुन लागेका हो। सन् १९५०–५३ को कोरिया युद्दपछि दक्षिण कोरिया जाने किम पहिलो उत्तर कोरियाली शासक हुन्। भेटका लागि किम शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ९ बजे सीमा क्षेत्रमा पुग्नेछन्। उनलाई दक्षिण कोरियाली सीमामा राष्ट्रपति इनले स्वागत गर्नेछन्। दुबै नेता हिँडेरै नजिकै रहेको शान्तिभवनमा जानेछन्। उनकी श्रीमती री सोल जु पनि किमसँगै बैठकमा सहभागी हुनेछन्। दुई नेताबीच साढे १० बजेदेखि सोही भवनमा वार्ता शुरू हुनेछ। दिउँसोको खाना खान किम उत्तर कोरियाली सीमामा जानेछन्। खानापछि दुई नेताले सल्लाको बिरूवा रोप्नेछन्। त्यो बिरूवामा दुबै देशका पहाडको माटो राखिनेछ। फेरि दुई नेताबीच वार्ता हुनेछ। साँझ उनीहरूले संयुक्त वक्तव्य जारी गर्नेछन्। साँझ साढे ६ बजेपछि दुबै नेता र प्रतिनिधि मण्डल रात्रीभोजमा सहभागी हुने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ। छिटै हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच हुने शिखर वार्ताका लागि यो भेट महत्वपूर्ण हुने बताइएको छ।
कोरियाली नेता किमलाई ‘गार्ड अफ अनर’
काठमाडौं । ६५ वर्षपछि उत्तर कोरियाबाट हुन लागेको उच्चस्तरीय भ्रमणको तयारीमा दक्षिण कोरियाले कुनै कसर बाँकी नराख्ने गरी तयारी गरेको छ । उत्तरका नेता किम जोङ उनलाई दक्षिणमा सैनिकले सलामी अर्पण गर्नेछन् । शुक्रबार ‘गार्ड अफ अनर’ दिइने छ । त्यसपछि उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच शुक्रबार भेटवार्ता हुनेछ । अन्तर कोरियाली शिखर सम्मेलन अगावै दुई देशबीच ‘मिलिटरी डिमार्केशन लाइनुमा भेट हुने एएफपीले जनाएको छ । कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने सीमारेखा नजिक दुई नेताबीच भेट हुने भएको हो । निःशस्त्रीकरण गरिएको गाउँ पानमुनजोमको दक्षिणतर्फको भू–भागमा बनाइएको भवनमा दुई नेताबीच शिखर सम्मेलन हुँदैछ । ‘किमले सम्मेलनको बिहानीसत्र शुरु हुनु अगावै भवनमा प्रवेश गरेर अतिथि पुस्तिकामा हस्ताक्षर गर्नुहुने छ,’ दक्षिण कोरियाली राष्ट्रपतिका सचिव सचिव इम जोङ सियोकले जानकारी दिए । ६५ वर्ष अगाडि कोरियन युद्धपछि दक्षिणमा पाइला टेक्ने उनी पहिलो उत्तरका नेता हुनेछन् । तनावपूर्ण अवस्थामा रहेको दुई देशबीचको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको छ । शुक्रबार साँझ किमको बिदाइमा मुनले भोजको आयोजना गर्नेछन् । प्योङ्याङबाट आउने प्रतिनिधि मण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी हुने छिन् । उनी किमकी नजिककी सल्लाहकार हुन्। गत फेब्रुअरीमा उनले दक्षिणको भ्रमण गरेकी थिइन् । यो सम्मेलनलाई उत्तर–दक्षिणको मात्र सम्मेलको रूपमा मात्र हेरेका छैनौँ यो सम्मेलन अमेरिका र उत्तर कोरियाबीचको सम्मेलनको रूपमा पनि हेरिएको छ । एजेन्सीको सहयोगबाट
प्रेमविवाह गरेको पाँच महिना नबित्दै अदालतभित्रै श्रीमतीको हत्या
भारतको ओडिशास्थित संबलपुरमा एक व्यक्तिले अदालतको प्रतिक्षालयमा आफ्नी श्रीमतीमाथि तरबार प्रहार गरी हत्या गरेका छन् । स्रोतका अनुसार श्रीमती आमा बुवासहित श्रीमानसँगको झगडा मिलाउन फ्यामिली कोर्ट पुगेकी थिइन् । अदालत पुगेको केही समय पछि नै श्रीमान् तरबार लिएर पुगेको र उनीमाथि हमला गरेको बताइएको छ । आरोपीले सासु र भतिजीलाई पनि घाइते बनाएको बताइएको छ । दुवैले गरेका थिए प्रेम विवाह भारतीय संचारमाध्यमका अनुसार मृतक संजिता र आरोपी रमेश दुबै एक अर्कालाई प्रेम गर्दथे । परिवारको मर्जीबिना विवाह पनि गरे । तर पाँच महिना सँगै बसेपछि दुबैको झगडा सुरु हुन थाल्यो । जसका कारण संजिता माइती फर्किइन् । मिडिया रिपोर्टका अनुसार संजिता धेरैसम्म एक्लै बसेकाले उनका आमाबुवाले उनको विवाह अन्तैतिर निश्चित गरे । यसबारे उनका श्रीमान रमेशलाई थाहा भएपछि श्रीमतीलाई फिर्ता ल्याउनका लागि उनले फ्यामिली कोर्टमा मुद्दा दर्ता गरे । संजिता आमा–बुवासँगै फ्यामिली कोर्ट पुगिन् । उनी प्रतिक्षालयमा रमेशलाई कुर्दै थिइन् । केहीबेरमा रमेश तरबारसहित पुगे र अचानक उनीमाथि हमला गर्न थाले । प्रत्यक्षदर्शीका अनुसार संजिताले आफूलाई बचाउन निकै कोसिस गरिन् । उनी बच्नका लागि अदालतको भवन पछाडि पनि लुकिन् तर रमेशले उनको पिछा छोडेनन् । उनले संजितालाई त्यहाँबाट घिसारेर बाहिर ल्याए र तरबार प्रहार गर्न थाले । त्यसपछि उनले आफ्ना ससुरामाथि पनि हमला गरे तर उनी भने बच्न सफल भए । त्यसैबेला त्यहाँका मानिसहरुले रमेशलाई पक्राउ गरेर कुट्न थाले । पछि उनलाई पुलिसले पक्राउ गर्यो । एजेन्सी
अमेरिकी संसदमा फ्रान्सका राष्ट्रपतिको सम्बोधनः उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो हुँदैन
काठमाडौं, बैशाख १३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् । अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादको चिन्तनले विश्व समृद्धिको चाहनामा ठेस पुर्याउने बताए । उहाँको यो भनाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका पहिलो नीतिमाथिको टिप्पणीको रुपमा व्याख्या गरिएको छ । यद्यपी यी दुई नेताबीचको सम्बन्ध भने मजबुद नै छ । तर म्याक्रोनको यो भाषणले पर्यावरण र इरानसँग भएको आणविक सम्झौताका विषयमा अमेरिकी धारणाप्रति फ्रान्सको असहमति रहेको देखिएको छ ।
किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने
सोल, वैशाख १२ । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्नुहुने भएको छ । ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने यकिन भइसकेको छैन । मे महिनाको मध्यतिर हुनसक्ने भ्रमणका बारेमा केही दिनमा मिति तय हुने ती अधिकारीले बताएका छन् । उत्तर कोरियाका नेता किमसँग भने मुनले आउदो शुक्रबार उत्तरसँगको सिमानामा पर्ने दक्षिणकै भू–भागमा पर्ने गाउँ पान्मुन्जोममा भेट्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै किमसँग ट्रम्पले पनि भेट्ने संभावना रहेको यसअघि नै ट्रम्पले बताइसक्नु भएको थियो । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको सुरुतिर हुनसक्ने बताइएको छ । अव यी दुई शिर्ष भेटवार्ताको बीचमा अर्को भेटवार्ता ट्रम्प र मुनको हुन लागेको हो । ट्रम्प र किमको भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लाग्नु भएको दक्षिण कोरियाली पक्षको भनाइ छ । दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्वन्ध तय हुने जानकार बताउछन् । ट्रम्पसँग मुनको भेटवार्ता तय गर्न मुनका मूख्य सुरक्षा सल्लाहकार चुङ इयोङले अमेरिकी आफना समकक्षी जोन बोल्टोनसँग वासिङटनमा भेतवार्ता गर्नुभएको छ । उहाँहरुकाबीचमा सकारात्मक र उत्साहजनक छलफल भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘बाबा’ आशारामलाई आजीवन कैद सजाय, रोदै भने– भगवानको इच्छा
जोधपुर, वैशाख १२ । नाबालिग शिष्यालाई यौनशोषण गरेको कसुरमा ७७ वर्षीया ‘बाबा’ आशारामलाई जन्मकैदको सजाय सुनाइएको छ । उनले बाँकी जीवन कारागारमा विताउनु पर्ने छ । उनका दुई सहयोगीलाई पनि २०–२० वर्ष सजाय सुनाइएको छ । अदालतको सजाय सुनेपछि पहिला त आशाराम रोय । र सम्भालिदै भने, ‘भगवानको जो इच्छा । म यही (जेलमा) बस्छु ।’’ त्यसभन्दा अघि विशेष एससी–एसटी अदालतका न्यायाधिश मधुसूदन शर्माले बुधवार बिहान केन्द्रीय जेलमा इजलास बसालेर उनलाई दोषी ठहर गरे । इंदिरा गांधीका हत्यारा, आतंकारी अजमल आमिर कसाब र डेरासच्चा प्रमुख गुरमीत राम रहीमपछि यो भारतीयको चौथों यस्तै खाले ठूलो मुद्दा हो आशारामको । जेलमा इजलास बस्यो र फैसला सुनायो आशारामलाई दोषी ठहर गर्दै फैसालाई सुनायो । पाक्सो एक्ट (प्रोटेक्शन आफ चिल्ड्रेन फ्राम सेक्सुअल अफेंसेस एक्ट २०१२, संशोधन २०१८ ) अन्तर्गत यो पहिलो ठूलो फैसला हो ।
उत्तर कोरियामा बस दुर्घटना, ३२ चिनियाँ सहित ३६ जनाको मृत्यु
बेजिंग । उत्तर कोरियामा भएको एउटा बस दुर्घटनामा कम्तिमा पनि ३६ जनाको ज्यान गएको छ । मारिनेहरूमा ३२ जना चिनियाँ पर्यटक र ४ उत्तर कोरियाली नागरिक रहेको चिनियाँ विदेश मंत्रालयले जनाएको छ । एउटा पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै मंत्रलयका प्रवक्ता लू कांगले आइतबार दक्षिणी प्योङयाङमा भएको उक्त दुर्घटनामा परी अन्य दुई चिनियाँ नागरिक घाइते समेत भएका छन् । प्रवक्ता लूले घटनाको कारणबारे जाँच भइरहेको जनाएका छन् । यस अघि चीनको सरकारी प्रसारक संस्था ‘सीजीटीएन’ले एउटा ट्वीट मार्फत उत्तर कोरियामा पर्यटक बस दुर्घटनामा ३० भन्दा बढीको मृत्यु भएको जनाएको भए पनि पछि उक्त ट्वीट हटाएको थियो । चिनियाँ सरकारी प्रसारक संस्था ‘सिसिटीभी’ले दुर्घटनाग्रस्त वाहनको तस्बिर सार्वजनिक गरेको छ जसमा झरीको बीच पल्टिएको बस र उपचाररत डाक्टरहरूलाई देखाइएको छ ।
कारभित्र जलेर ४ जनाको मृत्यु, ४ घाइते
भोपाल, वैशाख १० । भारत मध्यप्रदेशको विदिशा जिल्लामा दुईवटा कार एकआपसमा ठोक्किदाँ चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । आइतबार राति दुईवटा कार ठोक्किएर आगलागी हुँदा एउटा कारमा सवार चार जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा कारबाट घटनापछि चार जना बाहिर निस्किए तर भोपालबाट सागर जादै गरेको अर्को कारको ढोका लक हुँदा सो कारमा सवार सबैको जलेर मृत्यु भएको बताइएको छ । दुघटनामा अर्को कारमा सवार चार जना नै घाइते भएका छन् । उनीको सागरमा उपचार भइरहेको बताइएको छ । मृत्यु हुनेमा दुई पुरुष, एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।
अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु
काठमाडौं, वैशाख १० । अमेरिकाको टेनेसीमा नग्न अवस्थामा आएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको ज्यान गएको छ । टेनेसीको नेशविल्लाको एनटिओचमा रहेको वाफेल हाउस रेस्टुरेन्टमा नाङ्गै आएका बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार बिहान तीन बजेर २५ मिनेट जाँदा बन्दुकधारीले सेमी अटोमेटीक बन्दुक चलाएका हुन् । घटनामा अरु दुईजना घाइते भएका छन् । घाइते मध्ये एकजनाले आक्रमणकारीबाट बन्दुक घोसेका थिए । त्यहि क्रममा आक्रमणकारी भागेको प्रहरीले जनाएको छ । आक्रमणकारी २९ वर्षको ट्रेविस रेनकिङ्ग रहेको प्रहरीले जनाएको छ । आक्रमणकारी रेनकिङ्गको खोजी भइरहेको प्रहरीको भनाई छ । रेनकिङ्ग इलिनोइसको बासिन्दा रहेको पनि प्रहरीले पुष्टि गरेको छ । रेनकिङ्ग गएको वर्ष ह्वाइट हाउसको निशेधित क्षेत्रमा प्रवेश गरेका कारण पक्राउ परेका थिए । घटनामा आक्रमणकारीबाट बन्दुक घोसेर सर्वसाधारणको ज्यान जोगाएका जेम्स शाव जुनियरलाई अमेरिकी सञ्चार माध्यमले भने हिरो नभई सेल्फिस रहेको बताएका छन् । आक्रमणकारी पिकअप ट्रक चढेर रेस्टुरेन्टमा आएको र रेस्टुरेन्ट बाहिर दुईजनालाई गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि रेस्टुरेन्ट भित्र छिरेर अन्धाधुन्ध गोल चलाएका थिए । तीनजनाको घटनास्थलमै तथा एकजनाको उपचारको क्रममा ज्यान गएको हो । आक्रमणकारी नाङ्गै आएको प्रहरीले उल्लेख गरेको छ ।
संकट समाधान गर्न कतार तयार
कतार, वैशाख ९ । अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्ट र कतारबीच केही समयदेखि जारी कुटनीतिक सङ्कटको समाधान गर्ने बिषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्लाह अल–खतेरले साउदी अरबमा भएको ‘गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१’ मा सहभागी हुने क्रममा यही जमघट नै खाडी मुलुकबीचको समस्या समाधान गर्ने नयाँ मौका बन्ने बताउनुभएको कतारको एआई–शार्क नामक समाचारपत्रले जनाएको छ । अल हतेरलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले लेखेको छ, अहिलेसम्म चाहिने तहसम्मको कुनै समाधान देखेका छैनौँ तर रक्षा मन्त्रालयले कतारी सैन्य वार्ता समूहको साउदी अरबमा उपस्थित टोलीले संयुक्त अभ्यासमा सहभागिता हुने घोषणा गरेको छ । अल खतेरले भन्नुभयो, “आगामी दिनमा खाडी मुलुकहरूले कस्तो प्रतिक्रिया जनाउने छन् अहिल्यै अनुमान गर्न सकिन्न ।” गत बिहीबार कतारको सैनाले गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१ मा आफ्नो सेना गत मार्च २१ गतेदेखि अप्रिल १६ सम्म सहभागिता जनाएको घोषणा गरेको थियो । सन् २०१७ को जुनमा साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगको कुटनीतिक सम्बन्ध, हवाई, सामुद्रिक तथा स्थल सम्पर्क तोडेको घोषणा गरेका थिए । कतारले आतङ्कवादलाई सघाएको तथा अरब समुदायको हित विपरित इरानसँग निकट बनेको लगायतका आरोप लगाउँदै उक्त निर्णय गरेका थिए । तर अरबमुलुकहरूले लगाएको उक्त आरोपको कतारले निरन्तर खण्डन गर्दै आएको छ ।
सीताराम यचुरी फेरि भाकपाको महासचिवमा निर्वाचित
भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको २२ औँ महाधिवेसनले सीताराम यचुरीलाई महासचिवमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ। हैदरावादमा भएको सो पार्टीको महाधिवेसनबाट नवनिर्वाचित ९५ सदस्यीय केन्द्रीय समितिले उनलाई महासचिवमा निर्वाचित गरेको हो। पछिल्लो समय यचुरी र पूर्वमहासचिव प्रकाश करातबीच विवाद देखिएको थियो। गत जनवरीमा प्रमुख विपक्षी दल कांग्रेससँग गठबन्धन गर्ने यचुरीको प्रस्तावलाई पार्टीले खारेज गरिदिएको थियो। सो विषयमा यचुरीले असन्तुष्टि जनाउँदै आएका थिए। उनले पार्टीमा देखिएको विवाद आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन्। सन् २०१५ मा भएको २१ औँ महाधिवेसनमा यचुरी पहिलो पटक पार्टी महासचिव बनेका थिए। १९६४ मा सो पार्टी स्थापना भएयता मात्र ५ जना महासचिव फेरिएका छन्। एजेन्सी
विश्वका चर्चित नेता भ्रष्टाचारको दलदलमा, को कति भ्रष्ट ?
काठमाडौं, वैशाख ८ । विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो । विश्व वैंकको एक तथ्यांकअनुसार हरेक वर्ष एक खर्ब अमेरिकी डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । अझ जर्मनीको पसाओ विश्वविद्यालयको तथ्यांकले यस अवस्थालाई थप भयावह रहेको देखाएको छ । सो विश्वविद्यालयका अनुसार हरेक वर्ष संसारको कुल ग्राहस्र्थ उत्पादनको १२ प्रतिशत अर्थात चार खर्ब डलर भ्रष्टाचारको कारण अपचलन भइरहेको छ । त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार संसारका सरकारको सार्वजनिक खरिदको प्रक्रियामा हरेक वर्ष चार सय विलियन अमेरिकी डलर भ्रष्टाचार भइरहेको छ । यसरी भ्रष्टाचार बढ्दै जानुको पछि परिवार तथा नातेदार र आफ्नो व्यवसायको प्रभाव, देशको राज्य संयन्त्रको अवस्था, राजनीतिक प्रतिशोध र सामाजिक मूल्य मान्यताका कारण शक्तिशाली हुने गरेको पाइएको छ । दण्ड सजाय भोगेका अधिकांश विशिष्ट वास्तबमै दोषी होलान् भने केही व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको पनि हुनसक्ने देखिन्छ । भ्रष्टाचारका कारण राष्ट्रपति र प्रधानमन्त्री अपदस्थ हुनेमा अधिकांश अल्पविकसित तथा विकासशील देश रहेका छन् । भ्रष्टाचारी मानिएका विश्वका सबै शक्तिशाली व्यक्तिको विवरण पेश गर्न सम्भव नभएपनि पछिल्ला केही वर्षमा भ्रष्टाचारको अभियोगमा जेलजीवन बिताउन वा पदत्याग्न बाध्य केही शक्तिशाली पात्रको यहाँ चर्चा गरिएको छ । पहिलो महिला राष्ट्रपतिलाई २४ वर्ष जेल, अर्का पनि अभियुक्त दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतले दोषी ठहर गर्दै २४ वर्षको जेल सजाय भएको छ । केही दिन अगाडिदेखि उहाँको अहिले २४ वर्षे जेल जीवन सुरु भएको छ । ६५ वर्षीया पार्कलाई अदालतले दोषी ठहर गरेपछि गत सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो । अदालतले पार्कमाथि लागेका १८ मध्ये घुषखोरी, शक्तिको दुरुपयोग, राज्यको गोप्य सुचना चुहावटलगायत १६ वटा अभियोगमा दोषी ठहर गरेको छ । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ । तर उहाँले भने अदालत पूव्राग्राही भएको भन्दै सुनुवाई बहिस्कार गर्दै आफूमाथि लागेका सवै आरोप अस्विकार गर्दै आउनुभएको छ । दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भएपनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उहाँ तेस्रो राष्ट्रपति हुनुहुन्छ । उहाँपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ । यस विषयमा अनुुसन्धान सुरु भएको छ । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिद्वारा पदत्याग सन् २००९ देखि भ्रष्टाचारको आरोप खेपिरहनु भएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले अन्तः सन् २०१८ मा पद त्याग गर्नुपरेको छ । छ जनासँगको विवाह गरी २१ छोराछोरीका पितासमेत रहेका जुमाले १४ फेब्रुअरी २०१८ मा राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो । आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेस (एनएसी)ले भ्रष्टाचारको आरोप लागेपछि पद छाड्न वा अविश्वासको प्रस्ताव सामना गर्न दवाव दिएपछि उहाँले पद त्याग्नुपरेको थियो । आफ्नै कार्यकालका उपराष्ट्रपति सिरिल रामाफोसालाई राष्ट्रपति बनाउन आफ्नै दलका नेताहरुले आफूलाई भ्रष्टाचारको आरोप लगाएर पद त्याग्न बाध्य पारेको जुमाले बताउदै आउनुभएको छ । ७५ वर्षीय जुमाले आफू भ्रष्टाचारी नभएको दावी भने गरिरहनुभएको छ । भ्रष्टाचार विरोधी भनिएका सरिफ नै अभियोग खेप्दै झण्डै चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका नवाज सरिफ आफै भ्रष्टाचारको आरोपमा निकालिनुभएको छ । आर्थिकरूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरागर्न ‘भ्रष्टाचार’मुख्य बाधक रहेको बताउने सरिफ आफै भ्रष्टाचारको महाअभियोगमा पर्नुभयो । पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोग गर्दै आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो । पानामा पेपर्स् नामक एक विश्वचर्चित भ्रष्टाचारसम्वन्धी खोजीले उहाँलाई पनि दोषी देखाएको थियो । पछि अदालतले नै उहाँलाई दोषी ठहर्याएपछि उहाँले सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिनुभयो । ६७ वर्षीय सरिफलाई पाकिस्तानको सर्वोच्च अदालतले केहीदिन अगाडी मात्रै आजिवन निर्वाचन लड्न नपाउने फैसला सुनाएको छ । बङलादेशमा जियालाई पाँच वर्ष काराबास बंगलादेशमा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । ७२ वर्षिया जियाले अनाथ बच्चाका लागि विश्वभरबाट उठेको रकम मध्ये झन्डै साढे दुई करोड रूपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ । उहाँले आफूविरुद्धका आरोपहरु राजनीतिकरुपमा प्रेरित रहेको दाबी गर्नुभएको छ । उहाँलाई यहीवर्ष हुने संसदीय चुनावमा लड्न प्रतिबन्ध लागेको छ । प्रधानमन्त्री शेख हसिना वाजेदसँग दशकौंदेखि राजनीतिक प्रतिद्वन्द्वीका रुपमा रहनु भएकी जिया सन् १९९१ देखि १९९६ र २००१देखि २००६ सम्म गरी दश वर्ष बंगलादेशको प्रधानमन्त्री बन्नुभएको थियो । अहिले बंगलादेशको प्रतिपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी जियालाई अदालतको फैसलालगत्तै पक्राउ गरी जेल चलान गरिएको छ । ब्राजिलका लोकप्रिय नेता नै जेलमा ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइन इनासियो लुला दा सिल्भालाई भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैँद सजाय फैसला सुनाएको छ । लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमा नबस्ने दलिल पेस गर्नुभएको छ । अदालतको फैसलाले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई नै प्रभावित पारेको छ । चुनावबाट बञ्चित गर्न आफूविरुद्ध राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको ७२ वर्षीय लुलाले दाबी गर्दै आउनुभएको छ । ब्राजिलमा उहाँको सहभागीता वा सहमति विना निर्वाचन असंभव जस्तै रहेको बताउने गरिएको छ । पेरुका पूर्वराष्ट्रपतिलाई देश छोड्न बन्देज पेरुका पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा १८ महिना देश छोड्न प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको हो । ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोपमा उहाँमाथि अनुसन्धान भइरहेको छ । पूर्वराष्ट्रपति पेड्रोलाई लिमामा रहेको उहाँको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै नजरबन्द गरिएको छ । पेरुको संसद्मा आफूविरुद्धको महाअभियोग प्रस्तावमा मतदान हुन लागेपछि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिनुभएको थियो । अरु कैयौँ नेता पनि भ्रष्टाचारी ठहर अरु धेरै देशमा पनि शक्तिशाली पात्र भ्रष्टाचारको आरोप लगेर राजनीतिक जीवनबाट हात धुनुपरेको छ । क्रोएसियामा सन् २००३ देखि २००९ सम्म प्रधानमन्त्री बन्नुभएका इभो सानाडर सन् २०१० मा भ्रष्टाचारको आरोपमा गिरफ्तार हुनुभयो । सन् २००५ देखि २०११ सम्म प्रधानमन्त्री बन्नुभएका पोर्चुगलका समाजवादी नेता जोसे सोक्रेट पनि जीवनको अन्तिम समयमा आएर भ्रष्टाचारी कहलिनुप¥यो । लामो समयको अनुसन्धानपछि सन् २०१७ को अक्टोबरमा उहाँविरुद्ध अपराध, सम्पत्तिको अपचलन, कर छली, कागजपत्रहरुको दुरुपयोगलगायतका ३१ ओटा मुद्दा लगाइयो । रोमानियाका पूर्वप्रधानमन्त्री अड्रिन नास्तासलाई सन् २०१२ मा साढे चार वर्षको जेल सजाय तोकिएको थियो । उहाँ सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री बन्नुभएको थियो । त्यसैगरी पेरुका अल्बेरर्टो फुजिमोरी र ओल्लान्ता हुमाला, इजरायलका इहुड अल्मर्टले पनि भ्रष्टाचारको अभियोगमा सजाय भोग्नु भएको छ । सर्बिया, मन्टेनेग्रो, मोल्डोभा, ग्वाटेमाला लगायतका देशका पूर्वप्रधानमन्त्री वा राष्ट्रपति पनि भ्रष्टाचारको सजायमा छन् । रासस
फेरियो यस देशको नाम
अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले आफ्नो देशको नाम बफलेर ‘द किङडम अफ् इस्वातिनी’ राखेका छन् । देश स्वतन्त्र भएको ५०औं वार्षिकोत्सवको उपलक्षमा उनले यसो घोषणा गरेका हुन् । नयाँ नाम इस्वातिनीको अर्थ ‘स्वाजीहरूको भूमि’ भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मंचमै यस घोषणालाई अस्वाभाविक मनी पनि राजा मस्वातीले आफ्नो देशलाई ‘इस्वातिनी’ नै भन्दै आइरहेका थिए । उनले २०१७ मा संयुक्त राष्ट्र संघमा सम्बोधनको क्रममा समेत यहि नाम प्रयोग गरेका थिए ।
जापानमा ज्वालामुखी विष्फोट
टोकियो, वैशाख ६ । जापानको दक्षिणी पर्वतीय क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामुखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ । जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ । साइतोले टेलिभिजनमार्फत गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामूखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ । उक्त निकायले ज्वालामुखी बिस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कारण उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ । ज्वालामूखीका कारण ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय समाचारमाध्यमले जनाएको छ । स्थानीय सञ्चारमाध्ययमले ज्वालामूखीको समय खिचिएका दृष्यचित्रहरूलाई प्रशारण गरेका थिए । जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामूखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो । जापानका हिमाली क्षेत्रलाई ज्वालामुखी विष्फोटका हिसावले अतिसम्वेदनशील क्षेत्र मानिन्छ ।

