काँग्रेसमा छलफल भएको साढे पाँच महिनाअघिको दस्ताबेज आज पारित

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठक भएको साढे पाँच महिनापछि उक्त बैठकमा प्रस्तुत दस्ताबेजहरू आज पारित गरेको छ । 

महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अलगअलग प्रतिवेदनहरू पेस गरेका थिए। 

महासमिति बैठकमा ती प्रतिवेदनमाथि छलफल र सुझावहरू संकलन भएपनि सुझावहरू प्रतिवेदनमा समेटिएको थिएन।सो महासमिति बैठकका प्रतिवेदनहरू केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको हो।
 

बागलुङ बडिगाड पहिरो  उद्धारका लागि घटनास्थल पुग्यो हेलिकोप्टर

बागलुङ। मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ। मङ्गलबार बिहान पहिरोमा परेर वडा नम्बर १० मा ६ र ९ मा दुईजनाको मृत्यु भएको थियो। दुईजना चिकित्सक र केही प्रहरीसहित नेपाली सेनाको हेलिकोप्टर बडिगाडतर्फ गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । मङ्गलबार खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्किएको थियो । पहिरोका कारण सडक अवरुद्ध हुँदा घाइतेहरुलाई अस्पतालसम्म लैजान कठिन भएको थियो । बुधबार बिहान हेलिकोप्टर ९ नम्बर वडाको जनता आधारभूत विद्यालय नजिक अवतरण भएको वडाध्यक्ष विरेन्द्रकुमार बुढामगरले जानकारी दिए। उनले भने, ‘‘हेलीकप्टर ९ नम्बर वडामा अवतरण भएको छ । हेलिकोप्टरबाट गम्भीर घाइतेहरुलाई काठमाडौँ लैजाने तयारी छ।’’ स्थानीयवासीहरुले उपचारका लागि घाइतेहरुलाई बुर्तिबाङस्थित अस्पतालमा पु¥याइसकेको उनले जानकारी दिए। पहिरोमा परेर बेपत्ता भएका चारजनाको खोजी कार्य विहानैदेखि थालिएको वडाध्यक्ष बुढामगरले बताए । उनका अनुसार १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ । पहिरोमा परेर गम्भिर घाइते भएका आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढाको समयमै उपचार नपाउँदा मङ्गलबार साँझ मृत्यु भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए। पहिरोमा परेर बेपत्ता भएकाहरुको प्रहरी र स्थानीयवासीहरुले बिहानैदेखि खोजी कार्य थालेका छन् ।  सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बिहान ११ः३० बजेको समयमा मृतक जोगबहादुरको घरमाथिको पाखोबाट खसेको पहिरोले घर र गोठ पुरिएको थियो । पहिरोका कारण करिब ५० घरधुरी विस्थापित भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए। उनले भने, ‘‘पहिरोका कारण वडामा करिब ५० घरधुरी विस्थापित भएका छन् । विस्थापितहरुलाई बस्ने, खाने र पानीको समेत अभाव भएको छ।’’गोरखापत्रबाट ।

जम्बो मन्त्रिपरिषद् बनाएपछि जनमतका अध्यक्ष राउतले भने-'हामीले मात्रै चाहेर हुँदैन'

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश सरकारको मन्त्रिपरिषद् विस्तार आफ्नो पार्टीको बसममा नरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मङ्गलबार १५ सदस्यीय रहेको मन्त्रिपरिषदलाई  विस्तार गरि २० सदस्यीय बनाएकोमा सर्वत्र आलोचना हुन थालेपछि जनमत पार्टीका अध्यक्ष राउत उक्त विषय आफ्नो वसमा नरहेको बताएका हुन् । डा. राउतले आज सामाजिक सञ्जालमार्फत मधेशमा गठबन्धनको सरकार रहेको र आफूहरूले चाहेर पनि केही गर्न नसक्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्– बुझ्नुपर्छ, यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन।’ उनले लेखेका छन् बुझ्नुपर्छ  यो मधेश सरकार  गठबन्धनको हो, जनमतको होइन गठबन्धन र खासगरी दुई ठुला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुन कुन मन्त्रालय कसले राख्ने्र यसमा हाम्रो केही चल्दैन किनकि जनमत पार्टीको सीट संख्या मधेश प्रदेशमा पनि निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ्र त्यसैले हामीले चाहेर मात्र हुँदैन्र

एसईईको पूरक परीक्षा आजदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा २ लाख ८ हजार ९०३ जना सहभागी हुँदैछन् । यही साउन ३१ गतेसम्म चल्ने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन्। सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) भएका विद्यार्थीलाई पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको संगठन सुदृढिकरण लगायतका बारेमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्।

मुग्लिन–मलेखुबीचमा पहिरो, सडक अवरुद्ध

चितवन । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।  सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने उनले बताए । रासस

उपाधिका लागि नेपाल र भारतको भिडन्त

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् । नेपाल इरानलाई हराउँदै र भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

आज यी प्रदेशमा हुनेछ अति ठूलो वर्षा, सतर्क रहन अनुरोध

काठमाडौं ।जल तथा मौसम विज्ञान विभागका अनुुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।यो समाचार तयार पार्दा सातवटै प्रदेशमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।  देशभर साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र  सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।  सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।    २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई अति भारी वर्षा भनिन्छ । १० मिलिमिटरसम्मको वर्षालाई सामान्य वर्षा, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ ।  ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र त्यसमाथिको वर्षालाई अति भारी वर्षा भन्ने गरिएको विभागले जनाएको छ । केही समयअगाडि कञ्चनपुरमा रेकर्ड ब्रेक वर्षा भएको थियो ।   काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने बताएका छ ।काठमाडौंमा आज दिनभर वर्षा नभए पनि पानी पर्ने र रहनेक्रम चलिरहने छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  अति भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सचेत रहन विभागले आग्रह गरेको छ ।  दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ छ । न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा नेपालमा र दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा हुन्छ । 

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा.मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले गएराति अन्तरिम सरकार प्रमुखमा नियुक्तिको घोषणा गरेका हुन् । गएराति राष्ट्रपति, सेना प्रमुख र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ । यस अघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गरेका थिए । विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई जोड दिएका थिए। ८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भाग्दै भारतको शरणमा पुगेपछि बंगलादेशमा नयाँ राजनीतिक कोर्स सुरु भएको हो ।  

यस्तो छ समानुपातिक कोटाबारे सर्वोच्चको निर्देशनात्मक आदेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले वि.सं.२०८४ मा हुने आम चुनावअघि निर्वाचनसम्बन्धी कानूनहरू पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने समेतले हाल समानुपातिक निर्वाचनबाट संसद्‌मा पुगेका ११० सांसदहरूको नियुक्ति बदर माग गर्दै दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो । अधिवक्ता न्यौपानेले रिटमा हालका ११० जना समानुपातिक सांसदहरू आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका नभई आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटकपटक सांसद मन्त्री भएका, उच्च सामाजिक अवस्था भएका व्यक्तिहरू रहेकाले उनीहरूको नियुक्ति बदर गर्न गरेका थिए। सर्वोच्चले पछि परेको वर्गलाई निर्वाचित पदमा पुर्‍याउनेगरी सबै तहका निर्वाचन सम्बन्धी कानून पुनरावलोकन गर्न निर्देशनात्मक आदेश जारी गरेको हो। यस्तो छ आदेशको पूर्णपाठ 

बेलायतमा आप्रवासी विरोधी हिंसाको डर, संयमता अपनाउन नेपालीलाई आग्रह

काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई सुरक्षा संयमता अपनाउन आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।मंगलबार एक सूचनामार्फत दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा पछिल्लो समय दङ्गा फैलिएका छन् । यस हप्ता बढी आप्रवासी विरोधी हिंसाका घटनाहरू हुने डर रहेको छ । सोमबार राति दक्षिणपश्चिम इङ्गल्याण्डको तटीय शहरमा भएको हिंसामा प्लायमाउथमा प्रहरी अधिकारीहरू घाइते भएका छन् ।  पछिल्लो समय बेलायतका दुई शहरहरूमा सप्ताहन्तमा फारराइट उत्तेजकहरूले शरणार्थीहरूलाई आवास दिइरहेका होटेलहरूमा आगो लगाए ।जुन घटनाले भित्र रहेका व्यक्तिहरू भयभित भएका थिए । यद्यपी अन्य शहरहरूमा दङ्गाकारहरू सार्वजनिक भवनहरूलाई क्षति पुर्‍याउँदै र प्रहरीसँग भिड्दै, अधिकारीहरूमा वस्तुहरू फ्याँक्दै र उनीहरूको सवारीसाधनहरू तोड्दै थिए। गत महिना उत्तर इङ्ल्यान्डको साउथपोर्टमा तीन बालबालिकाको मृत्यु हुने गरी भएको छुरा प्रहारको आक्रमणले बेलायतिहरुलाई आप्रवासीविरुद्ध क्रोधित र उत्तेजित बनाएको छ । यी हिंसाका घटनापश्चात बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ । आपत्‌कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

टीआरसीसम्बन्धी प्रतिवेदन बुधबार तीन शिर्ष नेतालाई बुझाइने

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सहमतिसहित तयार पारिएको प्रतिवेदन बुधबार तीन जना शिर्ष नेतालाई बुझाइने भएको छ। उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यादलले बुझाउने भएको छ । सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् ।

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले नेपाल न्याय सेवा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ, परासर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ढुंगानालाई नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरोमा, श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा, किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा सरुवा गरेको छ ।

इरानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। ने‍पालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । अन्तिम सेट नेपालले २५–२० ले जितेको हो । फाइनलमा बुधबार नेपालले भारतसँग खेल्ने छ । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

माओवादी र समाजवादी धारलाई एकताबद्ध गर्दै भ्रष्टाचारविरुद्ध आन्दोलन छेड्ने होः प्रचण्ड

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पूर्ण माओवादी र समाजवादी धारलाई एकताबद्ध गरेर भ्रष्टाचार र व्यथितिविरुद्ध अभियान छेड्ने बताएका छन् । माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलवार सम्पन्न सातौँ पूर्ण बैठकमा मन्तव्य दिँदै उनले माओवादी र समाजवादी धारलाई एकताबद्ध गर्ने बताए । ‘विप्लवसँग पनि एकता गर्ने हो, किरणजीसँग पनि एकता गर्ने हो । कुरा भएको छ । अब फेरि सम्पूर्ण माओवादीधारहरु केन्द्रीकृत हुनुको विकल्प छैन । अब पार्टी एकता तिर जानु पर्छ । केही पार्टीहरूले त सैद्धान्तिक हिसाबले मिल्ने भनेर निर्णय नै गरिसकेका छन् । सकिन्छ भने समाजवादी मोर्चालाई नै पार्टी एकता संयोजन समिति बनाउने कोसिस हुन्छ । नभए समाजवादी मोर्चा बनाएर एमालेभित्र भूकम्प ल्याउनु पर्छ,’ प्रचण्डले भने, ‘एमालेलाई ठुलो धक्का दिन जरुरी छ ।’ उनले माओवादीलाई सहयोग गर्नेहरू विस्मृति तिर र विरोधीहरू स्मृतिमा आउन थालेका कारण पार्टी प्रदूषित भएको बताए ।  ‘हामी चिन्तित र पीडित हुने । तर, नेतृत्वमा रूपान्तरण नआउने स्थिति बन्यो । त्यसकारण आफूले नै विद्रोहको सुरुवात गर्नुपर्छ भन्ने निष्कर्ष म पुगेको हो,’ प्रचण्डले भने ।  प्रचण्डले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा देशमा उभार आएको बताउँदै माओवादी र समाजवादी धारको एकता गरेर भ्रष्टाचारको विरुद्ध आन्दोलन छेड्ने बताए । प्रधानमन्त्री हुँदा चलाएको नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएको र सरकार ढालेको उनको भनाई थियो ।सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उनले बताए । ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि ?,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो।’  अर्को कारण बताउँदै उनले थपे, ‘धितो पत्र बोर्डमा अर्बौँको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा उनले पनि नामै तोकेर फलानो नियुक्ति गरे भन्थे । पछि केपीसँगको गठबन्धनपछि उनले पनि यही भन्ने । केपीले त यो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौती दिएका थिए । त्यो नाम शेरबहादुर र केपी दुवै जनाले लिएको एउटै नाम थियो । तर, ती मान्छे अनियमितता र लुटपाट मच्चाउने खालका थिए । त्यसकारण मैले नियुक्ति प्रक्रिया नै रद्द गरिदिएँ ।’ त्यसपछि जुन जुन घरमा मिटिङ भयो र सरकार ढाल्ने विषयमा कसको घरमा हस्ताक्षर भयो भनेर सबै सार्वजनिक भएको उनले बताए ।  आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले दाबी गरे । ‘अब कुलमानलाई जसरी पनि हटाउने गरी सरकार लागेको छ । दलालसँग बसेर माइरेको कुराले पनि प्रस्ट कुरा भयो,’ उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै भने ।  उनले अब सदनमार्फत पार्टीले पाउने हकको विषयमा जमेर लड्ने बताए । ‘हामीले पाउने हक पनि दिएनन् भने हामी जमेर सङ्घर्ष गर्छौँ । भ्रष्टाचारविरुद्ध लागेका प्रहरी अधिकृतहरूलाई जथाभाबी सरुवा गरिएको छ । त्यसका विरुद्ध पनि हामी सङ्घर्ष गर्छौँ,’ पार्टी बैठकमा उनले भने, ‘हाम्रा पार्टीले जितेका १२२ वटा स्थानीय सरकारले नमुना काम गरेर जनतालाई देखाउँछौँ।’

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

ढाका। बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गरेका छन् । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले जानकारी दिए । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा.मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ