प्रजातन्त्र भन्दै उचाल्न सक्छन्, एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नभएको बताएका छन् ।

नेकपा एमालेले आयोजना गरेको केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“पार्टीमा गुटबन्दी स्वीकार्य छैन,” उनले भने, “प्रजातन्त्रका नाममा जब गुटबन्दी सुरु गरिन्छ अनि पार्टी उभोँ लाग्दैन । संसारमा कुनै पनि पार्टी गुटबन्दीले उभो लाग्या छैन। कतिपयले प्रजातन्त्र भन्दै उचाल्न सक्छन् ।”

घट्यो सुनको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (२४ क्यारेट) सुनको मूल्य घटेर कारोबार भएको छ।  आज एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको थियो । यसदिन २२ क्यारेट सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।  

काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। यसअघि शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि नेपालले ऐतिहासिक जित निकालेको थियो ।

इरानमा हमास प्रमुखको हत्यापछि मध्यपूर्वमा संकट, आफ्ना नागरिकलाई देश फर्किन अमेरिकाको आग्रह

काठमाडौं । गत बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको हत्या पछि मध्यपूर्व क्षेत्रले संकटको सामना गर्नुपर्ने संकेत देखा परेको छ । सो घटनापछि इरानले  इजरायलको विरुद्धमा कठोर बदला लिने चेतावनी दिएपछि मध्यपूर्वमा थप युद्धको खतरा बढेको हो। इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख इस्माइलको हत्या भएको थियो । इरानले उक्त हत्यामा अमेरिकाको हात रहेको आरोप लगाएको छ । सोही कारण अब हुने घटनामा अमेरिकी नागरिक तार्गेटमा पर्ने भयका कारण अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ।  बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा बढ्दो  बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो। त्यसैगरी, जोर्डनले पनि आफ्ना देशका नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन गरेको छ । जोर्डनको विदेश मन्त्रालयले एक सूचना जारी गर्दै आफ्ना नागरिकलाई देश फर्किन र लेबनानको भ्रमणमा नजान भनेको छ । उत्ता क्यानाडाले पनि आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न चेतावनी दिएको छ ।इरानको सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आज (आइतबार)सार्वजनिक बिदा दिएको छ।आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। “२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८१ साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” गृहले जारी गरेको सूचनामा भनिएको छ ।

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

काठमाडौं । नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत हासिल गरेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३(२ को सेटमा पराजित गरेको हो । भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे । नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुने

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् । डा.सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई ध्यानमा राखेर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिलगंगा आँखा अस्पताललाई नेत्र विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । अहिले सभामुख घिमिरेले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उनको भनाई थियो । ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताए। उनले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि उल्लेख गरे । सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताए ।

रास्वपाको निर्णय : यो वर्ष राष्ट्रिय भेला, अर्को वर्ष महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशालाले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ। शुक्रवारदेखि आजसम्म चलेको बन्द कार्यशालाले २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। बन्द कार्यशालाले केन्द्रीय समितिलाई १५ बुँदामा सुझाव दिएको छ। विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेश गर्ने‚ जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने सुझाव दिइएको छ। साथै ‘जन आवाज अभियान’ समिति गठन गरी देशभरका जनगुनासा तथा मुद्दा संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने सुझाव दिइएको छ। पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिलर्सुको अवधारणा लागू गर्नुका साथै स्वदेशका गाउँदेखि विदेशका शहरसम्मका नेपालीसँग भेटघाट गर्ने उल्लेख छ। ​

आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ ।   कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। “धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उनले भने ।  घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।

ओली सरकार बिचौलियाले बनाएको पुष्टि भयो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् ।   पार्टी सम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरुले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरुले पुष्टि गर्दै लगेको बताए ।  बिचौलियाहरुले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरुको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको उनले बताए।  ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको त्यही हो । प्रधानमन्त्री र मैले बिचौलियाले भनेअनुसार नियुक्ति सरुवा र बढुवा गर्न नमानेका कारण हामीलाई सरकारबाट हटाइयो’, उनले भने, ‘हामीले बिचौलियाको हित हुने गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न इन्कार गरेकै हौं । भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट निकालिएका छौं। यो जनताले बुझेका छन् ।’   देशमा बिचौलियाले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्री भएका कारण भ्रष्टाचार, अनियमितता र राज्य दोहनको प्रक्रिया तीव्र रुपमा बढेर जाने दाबी पुनले गरे। त्यस्ता प्रवृत्तिविरुद्ध प्रतिपक्षमा बसेर संघर्ष गर्ने नीतिमा आफूहरु रहेको पुनले बताए।  ‘हाम्रो अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरुले भनिरहेका छन्’, उनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन । थप एक दिन सरकारमा बस्न दिँदा पनि आफ्नो बर्बाद हुने भयो भनेर काँग्रेस र एमालेलाई मिलाउने काम उनीहरुले गरे ।’  सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल नतिर्ने व्यवसायीहरुलाई सरकारले संरक्षण गरिरहेबाटै भएको तर्क उनले गरे ।  लाल आयोगले न्यायोचित ढंगले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले तिर्नुपर्दैन भनेर हिंड्नुले उनीहरुको असली चरित्र उदाँगो भएको आरोप पुनले लगाए ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत महसुल तिर्दिन भन्ने उद्योगीलाई बोलाएर छलफल गर्नु गम्भीर विषय भन्दै उनले त्यसप्रति आपत्ति जनाए। ‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरुले महसुल तिर्दिन भनेर च्यालेन्ज गरिरहेका छन् ।  ठूूला दल,  प्रधानमन्त्री र मन्त्रीहरु तिर्नुपर्दैन भन्दै हिंडेका छन् । यसैले पुष्टि हुन्छ कि यो कसले कुन स्वार्थले बनाएको गठबन्धन रहेछ र सरकार कसको रहेछ?’, पुनले भने, ‘संसदको लेखा समितिलाई तिनीहरुलाई ल्याएर बैठक बसाइएको छ । यो गम्भीर कुरा हो ।’  सरकारमा रहेका दलहरु जनताको नभई बिचौलिया र दलाल पुँजीपतिहरुको हित संरक्षणमा लागेको आरोप उनले लगाए ।  सांसद पुनले बिचौलिया वर्गको हित संरक्षण गर्न नसकेका दिन वर्तमान केपी ओली नेतृत्वको सरकार बनाउनेहरुले नै ढाल्ने ठोकुवा गरे । पुनले काँग्रेस र एमालेले आफ्ना नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउँछु भन्दै पैसामा बेच्ने, बुटवलसहित विभिन्न ठाउँमा सुकुम्बासीका नाममा सरकारी जमिन ओगटेर बेच्ने, बालुवाटारको सरकारी जमिन किर्ते गर्ने तथा ठूला भ्रष्टाचारका काण्ड घटाएकामा जनता स्पष्ट रहेको दाबी गरे ।   उनले दुई ठूला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोज्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने बताए । माओवादी र प्रचण्डका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको भन्ने दुई दलको दाबी सही नभएको भन्दै पुनले दुई तिहाई बहुमतको संसद विघटन गर्ने केपी ओली र उनलाई बोक्ने काँग्रेसले अरुमाथि त्यस्तो आरोप लगाउन नसुहाउने तर्क गरे ।  सरकारबाट बाहिरिनुपर्दा पनि आफ्नो पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्म कुनै चिन्तामा नरहेको भन्दै पुनले सुशासनको मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि सहकार्य गरिने स्पष्ट गरे ।  फरक प्रसंगमा उनले पृथ्वीनारायण शाहपछिको युगनायक आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । पुनले प्रचण्ड नेतृत्वमा भएको १० वर्षे सशस्त्र माओवादी जनयुद्धले समाज परिवर्तनमा अतुलनीय भूमिका निर्वाह गरेको बताए ।   जनयुद्धका महिला, मजदुर, मधेसी, दलित, जनजाती, धार्मिक अल्पसंख्यक र किसानका पक्षमा गरिएको संघर्ष भएको चर्चा गर्दै उनले जनयुद्धले दबाएर राखिएका बोल्न नसक्नेलाई बोल्न सक्ने बनाएको तर्क गरे। जनताको अधिकारका लागि भएको संघर्षको नेतृत्व गरेका कारण कुनै दिन चोकचोकमा प्रचण्डको शालीक बनाउने अवस्था आउने दाबी उनको थियो ।

मिस नेपाल २०२४ को उपाधि आश्माकुमारीलाई

काठमाडौँ । आश्माकुमारी केसी मिस नेपाल २०२४ को उपाधि जितेकी छिन्।  आज गोदवरीको सनराइज हलमा सम्पन्न फाइनल प्रतियोगितामा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी उपाधी जित्न सफल भएकी हुन्।  मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् भने मिस नेपाल अर्थ भने सुमना केसीले जितेकी छिन् । 

विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटी बैठकमा के हुँदैछ छलफल ?

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक हिजोदेखि जारी छ। पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी बैठकमा हिजो ६ महिने आवधिक योजनाबारे समीक्षा भएको थियो। बैठकको सुरुवातमा महासचिव विप्लवले बैठकका एजेण्डाहरु प्रस्तुत गर्दै समसामयिक राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरे। बैठक वैचारिक राजनीतिक कार्य, संगठनात्मक कार्य, संघर्ष, आर्थिक, सांस्कृतिक काम, निर्माण तथा नमुना कार्य, प्रकाशन तथा प्रचार प्रसार, विविधसहित १० वटा एजेण्डामा छलफल केन्द्रित छ। बैठकमा स्थायी समिति सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राख्दै कार्यक्षेत्रको रिपोटिङ गर्ने क्रम जारी रहेको जनाइएको छ।

बालेनले महानगर प्रमुखको हैसियतअनुसार काम गर्न नसकेको पूर्व प्रमुख शाक्यको आरोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले मेयर बालेन शाहले महानगरको हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको आरोप लगाएका छन् ।  आज नेपाल खेलकुद महासङ्घ काठमाडौँले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए। उनले अरूलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए।  उनले आफू काठमाडौँ महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरू गरेको उल्लेख गरे। उनले आफू मेयर रहँदासम्म काठमाडौँ महानगरपालिकाको हैसियत सरकारले ९ औँ स्थानमा राखेको भएपनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औँ स्थानमा पुगेको जिकिर गरे ।  उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरू बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरूलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनु पर्दैन । हामी काठमाडौँ महानगरको मेयरको रुपमा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो । त्यसबेलामा काठमाडौँ महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औँ स्थानमा राखेको थियो । अहिले झारेर १७ औँ स्थानमा पुगेको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौँ महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ।’ पूर्व मेयर शाक्यले स्थानीयको इच्छा विपरीत कामनपाले काम गरिरहेको बताए। उनले न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए । नगर प्रहरीको बल प्रयोग र गुण्डागर्दी सह्य नहुने पनि उनले बताए ।  पछिल्लो समय नेकपा एमालेका नेताहरु मेयर बालेन साहविरुद्ध सामाजिक संञ्जाल र सार्वजनिक कार्यक्रममा योजनाबद्ध रुपमा विरोधमा उत्रेका छन् । बालेनले काठमाडौंको बागमति नदि किनारका सुकुम्बासी बस्ति हटाउने, न्युरोडमा फुटपात विस्तार गर्ने लगायतका कामका थालनि गरेपछि एमाले र त्यस पार्टीका नेताहरु मेयर बालेनको गतिविधिविरुद्ध खुलेर लाग्नुका साथै टिकाटिप्पणी गर्दै आएका छन् ।

तलब बढाऊ भनेर फैसला आए कार्यान्वयन गर्न सकिंदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक क्षमतालगायतको अवस्था हेरेर न्यायालयले फैसला गर्नु पर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिमण्डलसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताएका हुन्। छलफलका क्रममा एक उदाहरण दिंदै उनले अर्थतन्त्रको स्थिति तनखा बढाउन सक्ने खालको छैन भने यतियति तलब बढाऊ भनेर तिथिमिति तोकेर फैसला आएमा कार्यान्वयन गर्न व्यवहारिकरुपमा समस्या हुने टिप्पणी गरे । उनले न्यायालयको पुनर्संरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि पुनर्संरचना गर्नुपर्ने बताए।अर्को प्रशंगमा उनले सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह गरे। जनताको आवश्यकता अनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वस्त रहन उनले आग्रह गरे। भेटमा महान्यायाधिवक्ता रमेश बडाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, पूर्व सांसद् रामनारायण विडारीलगायत सहभागी थिए ।

राजदूत नियुक्ति समावेशी नभएपछि उपेन्द्रको असन्तुष्टि, भने–शासकले लोकतन्त्र धरापमा पारे

काठमाडौँ ।सत्ता गठनबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजदूत नियुक्तिमा असन्तुष्टि जनाएका छन्। सरकारले हालै १८ जना राजदूत सिफारिस गर्दा मधेसी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।  पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संवैधानिक परिषदबाट हुने सिफारिस नै समावेशी नहुनुले राज्यको चरित्र माथि नै प्रश्न उठेको उल्लेख गरेका छन् ।  सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– संवैधानिक परिषदबाट हुने नियुक्ति सिफारिस समावेशी भएन, १८ जना राजदूतमा देखिएको अनुहार एउटा उदाहरण मात्रै हो । न्यायाधीश नियुक्ति समावेशी हुन्न, संवैधानिक निकायहरूको नियुक्तिमा समावेशिता ख्याल गरिन्न। मन्त्रिपरिषद् आफैँमा समावेशी छैन। राज्यको चरित्र यस्तो छ कि त्यसले केवल खसआर्य एकल समुदायको प्रभुत्वलाई नै अगाडि बढाएको देखिन्छ। शासकहरूको जातिवादी, श्वेत नीति वा नसलवादी विचारले समावेशी लोकतन्त्र नै धरापमा पारेको उनको आरोप छ।