रास्वपा सांसद चौधरीले सरकारको आलोचना गरेपछि सभामुख भने-'खास विषयमा धारणा राख्नस्'
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सरकारको आलोचना गर्न थालेपछि रुलिङ गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका चौधरीले कुनै खास विषयमा आफ्नो भनाई नराखी सरकारका कामहरूको आलोचना गरेपछि सभामुख घिमिरेले विषय केन्द्रित भएर बोल्न निर्देशन दिए।
सांसद चौधरीले सरकारको आलोचना गर्दै भने, ‘सरकार रेमिट्यान्सको लोभमा फसेको छ, कन्सल्टेन्सीहरुलाई पैसा कमाउनु परेको छ । ३० जना श्रमिक मजदुरहरू साउदी अरबमा बन्दी भएर बस्नुपरेको छ, ती नेपालीलाई नेपाल फिर्ता ल्याउन र दोषीलाई कारबाही गर्न माग गर्दछु । यो सरकार संविधान विरोधी सरकार बन्न पुगेको छ । यसको सुरुवात मन्त्रीपरिषद् गठनदेखि सुरु भएको थियो । अहिले मन्त्रीपरिषद् गठनपछि पछिल्लो निर्णय गर्दा १८ देशमा राजदूत सिफारिस गर्दा र ३ वटा प्रदेशमा प्रदेश प्रमुख फेरिँदा र मन्त्रालयमा २२ सचिवको सरुवा हुँदा एउटा पनि मधेसी, थारु, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका नहुनु दुर्भाग्यपूर्ण छ ।’
सांसद चौधरीले यति बोलेपछि सभामुख घिमिरेले आकस्मिक समयमा के बोल्न चाहेको हो विषयमा केन्द्रित रहन गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको बताए।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै
काठमाडौं । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक आज अपरान्ह साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ। समिति सभापतिका लागि नेपाली काँग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गरेका छन्। यसअघिकी सभापति डा.आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो। सोमवार उम्मेदवारी दर्ता गराउनुभएकी थापा मगरको प्रश्तावक काँग्रेस सांसद वीरबहँदुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक हुन्।
आज साउन १५ : खिर खाने नेपाली संस्कृति
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसला हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा। डा। देवमणि भट्टराई बताउँछन्। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो। साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन्। चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ। सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ। खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास छ। नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ। नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ। दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ। रासस
कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा सिग्देल
काठमाडौं । नेपाली सेनाका बलाध्यक्ष रथी अशोकराज सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्राप्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउने भएपछि सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो ।
माओवादी र समाजवादीका प्रदेश प्रमुख हटाएर कांग्रेस-एमालेका नियुक्त
काठमाडौं । सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार बागमतीमा दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ । कञ्चनपुरका जोशी कांग्रेसका केन्द्रीय सदस्य हुन् । भने कैलालीका देवकोटा एमाले, रोल्पाका घर्ती कांग्रेस नेता हुन् । यसअघि माओवादी अध्यक्षत पुष्प कमल दाहाल नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको थियो ।
एकैपटक २२ जना सचिवको सरूवा, अर्थमा रामप्रसाद घिमिरे
काठमाडौं । सरकारले २२ जना सचिवहरुको एकैपटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । अर्थ सचिवको रुपमा कार्यरत मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यलयमा सरुवा गरिएको छ । स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ । यता श्रम मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।
पाँच देशका राजदूत फिर्ता, १८ देशमा सिफारिस
काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार (आज) सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पाँच देशका राजदूत फिर्ता बोलाउने र १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकबाट सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाइएको हो । यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ।भारतमा शंकरदास बैरागीलाई राजदुत बनाउने चर्चाका बीच भारतीय पक्षले शंकर शर्मालाई नै निरन्तरता दिन आग्रह गरेका कारण नचलाइएको स्रोतले बतायो ।अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन्। दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे, मलेसियामा नेत्र तिमल्सिना र चीनमा कृष्णप्रसाद ओली सिफारिस भएको एक मन्त्रीले बताए। त्यस्तै पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सिफारिस भएका छन्।इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल सिफारिस भएका छन्।
साउन १० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक, यी हुन् ११ निर्णय
काठमाडौँ। सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध १३ अर्ब ३३ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्पीसुब्बा गुरुङले उक्त कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडिआर आर्थत् १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड नेपाली रुपियाँ)बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। यसैगरी, राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा प्रा.डा. शिवराज अधिकारी, सदस्यहरु प्रा.डा. रामपदारथ विच्छा, डा.रमेशप्रसाद सिंह, डा.प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौड्याल अधिकारी, डा.जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। यी हुन् निर्णय
यौन यौनप्रकरण चर्किएपछि कृष्णमान प्रधानले लिए निर्वाचन आयुक्तको उम्मेदरवारी फर्ता
काठमाडौँ। निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार संसदीय सुनुवाइ समितिलाई पत्र लेख्दै प्रधानले सो पदमा काम गर्ने इच्छा नभएकाले उम्मेदवार कायम नराख्न आग्रह गरेका हुन् ।संसदीय सुनुवाइ समितिले आजै अपराह्न ५ बजे उनको प्रस्तावित उम्मेदवारीको बारे निर्णय गर्ने तयारी गरेको थियो । निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नौतिक चरित्र (यौनप्रकरण)को विषयमा शृङ्खलाबद्ध समाचारहरु आएपछि उनलाई सत्तारुढ दल कांग्रेस एमाले उम्मेवारस्ी फिर्ता लिन लगाएका हुन् । उनले निवेदनमा लेखेका छन्, ‘‘संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्न हौसला र इच्छा बाँकी नरहेकाले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्राप्त निष्ठावान रहने वचनबद्धतासहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समितिसमक्ष जानकारीका लागि अनुरोध गर्दछु ।’’
डिआईजी मनोज केसीको सरूवा लगत्तै बेचन झाले दिए यस्तो बयान
काठमाडौं । हिजो मात्रै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अनुसन्धानको भूमिका खेलेका बेचन झा पक्राउ गर्ने प्रहरी डिआईजी मनोज केसीको सरुवा गर्यो । अनुसन्धान नसकिँदै झालाई पक्राउ गर्ने भूमिकासमेत खेलेका केसीलाई सरुवा गरेपछि गृहमन्त्री रमेश लेखकको हिजोदेखि नै आलोचना सुरु भईसकेको थियो । नेपालीलाई विदेशी बनाउने जस्तो अपराधिक काम गरेका झाले केसीसँग बयान दिन नमानेको चर्चासमेत चलेको थियो। अपराधि भनिएका झाकै रुची अनुसार सो काण्डमा मुछिएकाहरुको चाहानामा केसीलाई सरुवा गरिएपछि आज झाले बयान दिएका छन् । उनको बयानसमेत शंकाको घेरामा छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी गरेको कसुरमा पक्राउ परेका बेचन झाको पहिलो चरणको बयान सकिएको प्रहरीले जनाएको छ । असार १३ गते पक्राउ परेका झामाथि ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ। झाले आफूमाथि लागेका सबै आरोपको इन्कार गर्दै बयान दिएका छन्। उनका दुई वटा मोबाइल प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट आउन बाँकी रहेको एसएसपी रजौरेले बताए। ल्याबबाट यस विषयमा कुनै प्रमाण खुलेमा त्यसको आधारमा थप बयान गराउने प्रहरीको तयारी छ। उनले मन्त्रिपरिषदसम्म मिलाउने भनेको यसअघिका प्रतिवादीहरुले बयान दिएकाले अनुसन्धान उच्च तहसम्म पुग्ने अनुमान प्रहरीको थियो। यसअघि पक्राउ परेका रामशरण केसीलाई सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरु गराउँछन् भनेको बयान दिएका थिए। उक्त निर्णयहरुको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी पठाउन सजिलो हुन्छ भन्दै बेचन झालाई चेक मार्फत २ करोड रुपैयाँ दिएको बयान रामशरण केसीले दिएका थिए। यस्तै पूर्वगृहसचिव समेत रहेका प्रतिवादी टेकनारायण पाण्डेले बयान गर्दा मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ भन्दै झालाई मुछेका थिए।तर बेचन झाले भने उनीहरु दुवै जनालाई नचिनेको बयान दिएका छन्। ‘टेकनारायण पाण्डेसँग त्यस्तो कुनै संवाद गरेको छैन। मैले नेपालीहरुलाई भुटानी नागरिक बनाई अमेरिका पठाउने कार्यका लागि कसैलाई पनि आश्वासन दिएको छैन। रामशरण केसीबाट मैले चेक लिएको छैन। निजहरुले मलाई किन यसरी पोल गरी बयान गरेका हुन्, सो बारेमा मलाई कुनै थाहा जानकारी छैन। टेकनारायण पाण्डे र रामशरण केसीसँग कुनै संवाद समेत नगरेको अवस्थामा समेत के कसरी अनुसन्धानमा मेरो नाम उल्लेख गरी बयान गरेका रहेछन्, सो बारेमा म अनभिज्ञ छु,’ झाले बयानमा भनेका छन्।
नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गर्ने खतिवडा पक्राउ
काठमाडौं। सामाजिक सञ्जालमा आफूलाई धार्मिक अभियान्ता तथा ज्योतिषी भनेर चिनाउँदै आएका पुष्कर खतिवडा पक्राउ परेका छन्। नेताहरूको अशुभ (मृत्यु) कामनासहित अनुष्ठान गरेर सामाजिक सञ्जालमार्फत् लाइभ गरेका उनलाई धुम्बाराहीस्थित मण्डिखाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो। पक्राउ परेपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफू पक्राउ परेको सूचना दिएका छन्। ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन् ।प्रहरीले आपत्तिजनक तरिकाले पूजापाठ गरिरहेको भेटाएपछि पक्राउ गरेको जनाएको छ। चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संसदीय सुनुवाइ समितिको बैठक ५ बजेका लागि सर्यो
काठमाडौँ । नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्नेरनगर्ने विषयमा निर्णयमा पुग्नका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि सारिएको छ । सोमबार बिहान साढे ११ बजेका लागि निर्धारित बैठक संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको विषयमा निर्णय लिन कांग्रेस एमाले छलफलमा रहेका कारण समितिको बैठक सारिएको हो ।
पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु
काठमाडौँ । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको छन् । यसअघि २२ जना घाइते भएको जनाइएको थियो । घाइतेको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुनेछ। विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल गर्ने कार्यसूची छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । बैठक बिहान ११ः३० मा सुरु हुनेछ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यतालिका
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। यस्तै, सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यक्रम छ । यसैगरी, सभामुखले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। सांसद डा। तोसिमा कार्कीले ‘विपद व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
सङ्क्रमणकालीन न्यायलाई अन्तिम रुप दिने तयारी
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बस्दैछ।बैठक बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन्। सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रूप दिन बैठक बस्न लागेको स्रोतले बतायो ।

