समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री
चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् ।
‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए ।
“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन् ।”
दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६ दशमलव ९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताए ।
“भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तिको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैंडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराईचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यहरूको प्रवर्द्धन गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ ।”
विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूआत टाइगर टपले मेघौली नजिक चितवनबाट भएको भएको उल्लेख गरे । उनले यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे ।
भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था सम्मिलित यस बृहत अभियान भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए ।
“गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘‘सी–बीच’’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्नेछ । यसका निम्ति तपाईँ भरतपुरबासी जनसमुदाय बधाइका पात्र हुनुहुन्छ ।”
निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारी भैरहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् । उनले अगाडि भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारीमा छौँ ।’
जिम्मेवारी पन्छाउँदा राज्यलाई हुने क्षति सोही व्यक्तिबाट भराउने प्रणाली आवश्यक : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन्। चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए । “पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारवाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ ।” सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियम बमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिए । “मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन, पर्दैन,” प्रधानमन्त्रीले भने, “कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु । तसर्थ सोही बमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला ।” तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधार कार्य अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्नुपर्ने बताए । उनले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह गर्न निर्देशन दिए । किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्त बुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री प्रचण्डले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनि प्रश्न गरे। “नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रबृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।” मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पुँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर हुनुले पुँजी निर्माणको स्थिति कमजोर देखाएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रगति समीक्षाबाट देखिएको नतिजाले गम्भीर बनाएको र यसले परम्परागत कार्यशैलीमा परिवर्तन गर्नैपर्ने अनिवार्य भएको बताए । आफैँले तय गरेका लक्ष्य कार्यान्वयन नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले चाहेको परिणाम प्राप्तिका लागि प्रक्षेपण क्षमता, प्राथमिकता निर्धारण, स्रोत परिचालन र खर्च प्रशोचन क्षमता सधैँ नै कमजोर रहने हो त भन्ने आशङ्का पैदा भएको बताए। “यी लक्ष्यहरू सबै मन्त्रालय र निकायले आफैँ तय गरिएका हुन् । लक्ष्य हामी आफैँले निर्धारण गर्ने तर कार्यान्वयनमा हामीले लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारण के हुन् ? प्रधानमन्त्रीले प्रश्न गरे, “ हामीले तयार गर्ने योजना, कार्यक्रम, बजेट विन्यास र सोको कार्यान्वयनका विषयमा गम्भीर समीक्षा गर्नैपर्छ । यसो नगरी हाम्रो समीक्षा पनि परम्पराभन्दा माथि उठ्न सक्दैन ।” पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्त रूपमा थप प्रयास गर्न आवश्यक रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले मातहतका आयोजनाको प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश निर्देशन दिए । आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैंठकमा प्रचण्डकाे मन्तव्यकाे पूर्णपाठ माननीय उपप्रधानमन्त्रीज्यूहरू, माननीय मन्त्रीज्यूहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षज्यू मुख्य सचिव तथा सचिवज्यूहरू, उपस्थित अन्य पदाधिकारी र राष्ट्रसेवकहरू, 1. आज हामी चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तथा मन्त्रालयका अन्य कार्यक्रमहरु समेटी लक्ष्य निर्धारण र हासिल गर्नुपर्ने नतिजासूचकसहित गत साउन २५ गते प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता भएबमोजिम कार्यान्वयन प्रगतिको तेस्रो मन्त्रालगत समीक्षा गरिरहेका छौं। 2. चालु आर्थिक वर्षको माघ मसान्तसम्मको सबै मन्त्रालय तथा अन्य निकायहरूको कार्यसम्पादन स्थितिबारे भर्खरै भएको प्रस्तुतिकरणमा यहाँहरूको निकायबाट सम्पादित कार्यहरू यहाँहरूकै मन्त्रालय तथा निकायबाट पेश भएको रिपोर्टलार्इ समेटी माइलस्टोनको समग्र अवस्था प्रस्तुत भएको छ। माइलस्टोनहरूको प्रगति यसपटकको समीक्षामा समेत हाम्रो कार्यसम्पादनस्तरको स्थितिबाट सन्तोष लिने अवस्था छैन। यस अवधिमा केही उल्लेख्य काम त भएका छन्, तर निर्धारित लक्ष्यअनुसार कार्य प्रगति भएको देखिएन। 3. जस्तो कि माघसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ७७ माइलस्टोनमध्ये ३६% सम्पन्न, ५१% चालु अवस्थामा र १४% त सुरु नै नभएको देखिएको छ। बिडम्वना, चालु आर्थिक बर्षका कुल ३ हजार ४ सय २१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६ सय ३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २ सय ४५ अझै सुरू हुन नसक्नुले हाम्रो कार्यक्षमतामा नै प्रश्न उठेको छ। 4. अर्थतन्त्रमा समष्टिगत मागको सिर्जना गर्दै चलायमान बनाउन सरकारी खर्च बढ्नु जरूरी भएपनि चालू आर्थिक वर्षको ७ महिना समय व्यतीत भइसक्दा पनि सार्वजनिक खर्च भने ४२ प्रतिशत मात्र भएको छ। 5. माघसम्म कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा ३९.९% र माघसम्मको लक्ष्यको तुलनामा ७४% मात्र सङ्कलन भएको देखिन्छ। अझ पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको छ। पुँजी निर्माण नभर्इ विकासले गति लिदैन र अर्थतन्त्र पनि चलायमान हुँदैन। 6. प्रस्तुतिकरणमा तोकिएको लक्ष्य प्राप्त हुन नसक्नुका मुख्य कारणमा कार्यान्वयनका लागि तयारी पूरा हुन नसकेको देखिन्छ। यस्तैं बजेट, जनशक्तिको अभाव, कानून कार्यविधि समयमै तयार नहुनु, समन्वय नहुनु जस्ता सामान्य देखिने कारणहरू यसपटक पनि पुन: दोहरिएका देखिन्छन्। 7. मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पुँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर हुनुले हाम्रो पुँजी निर्माणको स्थिति कमजोर देखाउँछ। प्रगति समीक्षाबाट देखिएको नतिजाले गम्भीर बनाएको छ। यसले हाम्रा परम्परागत कार्यशैलीमा परिवर्तन गर्नैपर्ने अनिवार्य भएको छ। यसतर्फ गम्भीर हुनुहोला। 8. हामीले चाहेको परिणाम प्राप्तिका लागि प्रक्षेपण क्षमता, प्राथमिकता निर्धारण, स्रोत परिचालन र खर्च प्रशोचन क्षमता सधै नै कमजोर रहने हो त भन्ने आशंका पैदा भएको छ। किनभने यी लक्ष्यहरू सबै मन्त्रालय र निकायले आफैले तय गरेका हौं । लक्ष्य हामी आफैले निर्धारण गर्ने तर कार्यान्वयनमा हामीले लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारण के हुन् ? हामी हामीले तयार गर्ने योजना, कार्यक्रम, बजेट विन्यास र सोको कार्यान्वयनका विषयमा गम्भीर समीक्षा गर्नैपर्छ। यसो नगरी हाम्रो समीक्षा पनि परम्पराभन्दा माथि उठ्न सक्दैन । 9. आफैले किटान गरेको लक्ष्यअनुसार उपलव्धि किन हासिल हुन सकिरहेको छैंन भन्ने हामीसँग अहिलेसम्म पनि चित्त बुझ्दो जवाफ छैन। बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधै नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो ? यसको जवाफ हामी आफैले दिनुपर्दछ। 10. हाम्रा नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन। मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पुरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रबृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन। 11. अहिले हाम्रो सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति हो। मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन, पर्दैन। कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु। तसर्थ सोही बमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला। 12. पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारवाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ। सार्वजनिक अधिकारीले कुनै निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलार्इ कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्यांकन गर्ने प्रणाली स्थापित हुन जरूरी छ। अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ। यसको गम्भीर असर अन्तत हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ । 13. तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधार कार्य अघि बढाउन म सबैलाई आग्रह गर्दछु। समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढार्इ अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्ने र राज्यले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटो छरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह हुने व्यवस्था मिलाउन म निर्देशन गर्दछु। 14. पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्त रूपमा थप प्रयास गर्न आवश्यक देखिन्छ। 15. आफू मातहतका आयोजनाको प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश गर्दछु। मन्त्रालय स्तरबाट समाधान गर्न नसकिएका समस्या समस्या समाधान गर्न म सदैव तयार छु। 16. यसपटकदेखि बजेट प्रणालीमा ऐतिहासिक ब्रेक थ्रू गरिएको छ । तीनवटै तहबीच कार्यविस्तृतिकरणलाई आधार मान्दै योजना वर्गीकरणमा तीन करोडभन्दा साना योजना संघले नगर्ने घोषणा गरिसकेका छौँ।त्यसैले आगामी वर्षको वार्षिक बजेट तथा कार्यक्रम तयार गर्दा आयोजना बैङ्कमा समावेश नभएका आयोजनामा रकम विनियोजन गर्ने प्रथालाई अन्त गरी सीमित स्रोतको महत्तम उपयोगबाट नतिजामूलक कार्यतर्फ पुँजीगत खर्च केन्द्रित गर्न आवश्यक छ, यसतर्फ ध्यान दिनुहोला। 17. यसका साथै सङ्घ र प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने आयोजनामा दोहोरोपना हुन नदिन र विभिन्न तहबीच आवश्यक समन्वय गरी आयोजना तर्जुमा तथा कार्यान्वयन गर्ने पद्धति अवलम्बन गर्न समेत म सबैलाई निर्देश गर्दछु। 18. संघीयता कार्यान्वयनको अनुभवबाट प्राप्त पृष्ठपोषणलाई समेत आधार बनाई तीन तहका सरकारबीचको समन्वय, पारस्परिक सहयोग र अन्तर्निर्भरता तथा अन्तर-सम्बद्धतालाई थप सुदृढ तुल्याउने गरी तथा संघ, प्रदेश र स्थानीय तहहरूबीचको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई उचित सम्बोधन गर्नेगरी कार्यविस्तृतीकरणको परिमार्जन कार्यलाई यथाशीघ्र टुङ्ग्याउन म निर्देश गर्दछु। 19. सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलन समेतलाई मध्यनजर गरी विभिन्न कानुनहरूमा संशोधन गर्ने कार्य अगाडि बढाइएको छ। यसमा अन्य विषयका अतिरिक्त पूर्वाधार सम्बद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या हल गर्नेगरि कानुन परिमार्जनलाई प्राथमिकतामा राखेर कार्य गर्नुहोला। 20. हामीलाई यस प्रकारका नतिजामा सन्तोष गरेर बस्ने सुविधा छैन। हामी वृहत दृष्टिकोण, योजना, उत्कृष्ट कार्यसम्पादनका साथ सकारात्मक प्रभाव पार्ने नतिजा हासिल गर्ने गरी दृढताका साथ अगाडि बढ्नै पर्दछ। यही परम्परामा रमाउने परिपाटीले हामी मुलुकलार्इ विश्व मानचित्रको विकाशिल मुलुकमा उभ्याउन कठिन छ। यसमा मन्त्रालयको नेतृत्व गर्ने सबै मन्त्रीहरु र सचिवहरूले आफ्नो कामको जिम्मेवारी लिनु पर्छ र उत्तरदायित्व, जवाफदेहिता वहन गर्नुपर्दछ। मैले पहिले पनि भनेको छु कि एकले अर्कालाई दोष दिएर बस्ने छुट हामीलाई छैन। 21. सरकारले प्रत्येक मन्त्रालयसम्वद्ध राष्ट्रिय गौरवका आयोजना लगायत विकास निर्माण र सेवा प्रवाहका विषयहरूमा तत्काल सुधार गरी आम जनतामा सकरात्मक सन्देश प्रवाह गर्ने सम्बन्धमा मैले दिएका निर्देशनको कार्यान्वयनमा तदारूकता देखाउनुहोला। 22. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बद्ध सचिवहरूले सोको कार्य प्रगति अनुगमन गरी मलाई नियमित प्रतिवेदन दिनुहोला। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको अध्यक्षतामा रहेको आयोजना सहजीकरण समितिमार्फत राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएका समस्या समाधान गर्न पहल गर्नुहोला। 23. चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरू, रूपान्तरणकारी तथा प्राथमिकताप्राप्त आयोजनाहरूको प्रभावकारी रूपमा अनुगमन गरी आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने व्यवस्था मिलाउन सबैको ध्यान आकृष्ट गर्न चाहन्छु। म स्वयंले पनि स्थलगत रूपमा वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रूमबाट राष्ट्रिय गौरव, रूपान्तरणकारी र राष्ट्रिय महत्त्वका आयोजनाहरूको अनुगमन गर्ने प्रणाली सुरू गरिसकेको छु। यो हामी आफैले निर्धारण गरेका लक्ष्य तथा माइलस्टोन हासिल गर्ने दायित्व हो। 24. अन्तमा, यहाँहरूको कार्यसम्पादनको मूल्याङ्कन मैले गरिरहेको छु। कार्य मूल्याङ्कनको नतिजाको आधारमा दण्ड पुरस्कृत गर्ने प्रणाली स्थापित हुने नै छ। आफूलाई तोकिएको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राखेर लक्षित नतिजा हासिल गर्न आजैबाट तत्परता देखाउनुहुनेछ। मुलुकले तय गरेको सुशासन, सामाजिक न्याय र समृद्विको गन्तव्य यात्रा नयाँ सोच, जाँगर र उत्साहका साथ अगाडि बढ्न म सबैमा अनुरोध गर्दछु।धन्यवाद।
तीन वटा सम्पन्न, चार वटाको प्रगति ८० प्रतिशत माथि
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताएका छन्। बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये तीन वटा सम्पन्न भइसकेको जानकारी दिएका छन्। उनले चार वटाको प्रगति ८० प्रतिशत माथि, छ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र छ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए। यसैगरी, पाँच वटाको प्रगति १० प्रतिशत मुनी रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुनकोशी-मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताए। यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ
संसद् र संसदीय समितिको निर्देशन प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएका छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको बताएका छन्। बुधबार सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले समितिका सांसदहरूले उचित रूपले उठाएका प्रश्नहरूलाई सरकारले गम्भीर रूपमा लिने पनि बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिदै आएको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सरकारले सङ्घीयता कार्यान्वयनका लागि बाँकी कानुनहरूको निर्माण कार्यलाई अघि बढाएको बताए । ‘‘संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको ब्यहोरा पनि जानकारी गराउन चाहन्छु । समितिमा माननीय सदस्यहरूले व्यक्त गरेका जिज्ञासाहरूमा पनि सरकारको धारणा तपाईँहरूले उचित रूपले उठाएका प्रश्नहरूलाई सरकारले गम्भीर रूपले लिने नै छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सङ्घीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा रहेको छ । यस सन्दर्भमा विगत चार वर्षदेखि नसकेको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषद्को बैठक यसै पटक दुई पटक बसी सङ्घीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरू कार्यान्वयन भइरहेका छन् ।’’ प्रधानमन्त्री प्रचण्डले सरकार सङ्घीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरू कार्यान्वयन गर्न लागिपरेकोमा समेत जोड दिए ।
चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको बताएका छन्। ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको बताए । “प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्छ, नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कलाकारिताकाको माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।” नेपालको प्राकृतिकरूपमा सुन्दर र मौलिक प्रकृतिको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।” उनले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान भएको बताए। प्रधानमन्त्री प्रचण्डले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पार्नुभएको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्पारा चित्रमार्फत देखाइएको आफूले पाएको बताए । काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको आयोजकले जनाएको छ ।
एमाले ‘मिसन ८४’ मा छः अध्यक्ष ओली
विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ । बुधबार विराटनगर पुगेका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको आरोप लगाए । फरक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।
राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने
बुधबार सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।
यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्य, यस्ता छन् विषेशता
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरपतुर हो । महानगरपालिका विविध सम्पदाहरूले भरिपूर्ण छ । भ्रमण वर्षमा करिब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा महानगरले लिएको छ । साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भूबनोट आदिको आधारमा महानगरअन्तर्गत पर्ने प्रमुख गन्तव्यहरू यस प्रकार छन् । १. मेघौली चितवन राष्ट्रिय निकुञ्ज र दुई ठुला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको सुन्दर पर्यटकीय नगरी मेघौली नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरुवात गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार हो । भरतपुर चौबीसकोठीदेखि २५ कि.मी. पश्चिमतर्फ वडा नं. २७ मा पर्ने मेघौली पर्यापर्यटन विकासको महत्वपूर्ण गन्तव्य हो । चार वटा सामुदायिक वनमा पाइने दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ्ग, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्तीसयर, डुङ्गा सयर, मचान स्टे, जङ्गलवाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् । हवाइमार्ग, स्थलमार्ग तथा जलमार्गबाट सजिलै पुग्न सकिने मनोरम पर्यटकीय स्थल मेघौली सर्वप्रथम हात्तीपोलो खेलिने स्थानको रूपमा संसारभरि नै परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज, गोलाघाट, भोजबाबा आदि नजिकैका महत्वपूर्ण गन्तव्यहरू हुन् । समुद्री सतहदेखि २२५ मी. उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टेदेखि सुविधा सम्पन्न आरामदायी होटलको व्यवस्था छ । २. पटिहानी भरतपुर-कसरा मार्गमा वडा नं २२ स्थित कमलपोखरीमा तैरिएका विभिन्न प्रजातिका मनमोहक कमलका फूलहरूले पर्यटकलाई भरपूर आनन्द प्रदान गर्दछन् । गोही प्रजनन केन्द्र कसरा, विक्रमबाबा, निकुञ्ज, सामुदायिक वनहरू यसका नजिकै रहेका आकर्षण हुन् । सुविधासम्पन्न होटल स्थापना भएको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक तथा सांस्कृतिक आनन्द प्राप्त गर्न सक्दछन् । नेपाल सरकारद्वारा १०० औँ गन्तव्यमा सूचीकृत पटिहानी पर्यटन क्षेत्रमा निर्मित अम्ब्रेला टावर मानवनिर्मित थप आकर्षण भएको छ । निर्माणाधीन अम्ब्रेला स्ट्रिट अन्तर्गत करिब ४५० ओटा फाइवरका छातामुनिबाट १२० मिटर पैदल यात्रा गर्दा पर्यटकहरूले फरक अनुभूति प्राप्त गर्दछन् । भ्युपोइन्ट, सेल्फीगेट, रेस्टुरेण्ट, शौचालय, पार्किङ्ग, आवास लगायतका सेवाहरू उपलब्ध यस गन्तव्यमा पर्यटकहरूले प्राकृतिक वातावरणमा मनोरम आनन्द प्राप्त गर्दछन् । ३. देवघाटधाम भरतपुरदेखि ६ कि.मी. उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम धार्मिक महिमा बोकेको पवित्र स्थल हो । समुद्री सतहबाट २०० मी. देखि ५७५ मी. सम्मको उचाइमा अवस्थित देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहूँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू छन् । वशिष्ठ ऋषि, राजा मणि मुकुन्द सेन, प्रताप शाह, लेखनाथ पौड्याल, सिद्ध गलेश्वरबाबा जस्ता हस्तीहरूले जपतप गरी सिद्धि प्राप्त गरेको यस पुण्यभूमिको बारेमा हिमवत्खण्ड नेपाल माहात्म्यमा महादेव शङ्कर आफ्ना गणहरूका साथ यसै क्षेत्र बसेको कुरा उल्लेख छ । ४. ज्ञानेश्वर ब्लक ज्ञानेश्वर, सेतीदेवी, मझुवा र सिद्धिगणेश गरी ४ वटा सामुदायिक वन रहेको ज्ञानेश्वर ब्लक भरतपुरदेखि १० कि.मी. पश्चिममा अवस्थित छ । नारायणगढबाट १ घण्टामा डुङ्गा सयर गरेर पुग्न सकिने रमणीय क्षेत्र ज्ञानेश्वर ब्लक नारायणी नदीको किनारमा स्वच्छ एवम् शान्त रूपमा पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै बसेको छ । ¥याफ्टिङ्ग, जङ्गल वाक, जिप ड्राइभ, मचान स्टे, पिकनिक स्पोट, वन्यजन्तु उद्धार केन्द्रमा संरक्षित मृग, अजिङ्गर, दुम्सी, बाँदर, गिनिपिग, अस्ट्रिज, लाटोकोसेरोसहितको सानो चिडियाखाना तथा स्थानीय संस्कृति अवलोकन यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् । दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मयुर, गिद्ध आदि विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिने यो क्षेत्र खुला चिडियाखानाको रूपमा विकास भैरहेको छ । यसै गरी निकटमै रहेको तीर्थस्थल शिवघाटमा रहेको शिव मन्दिर पाल्पाली राजा मुकुन्दसेन प्रथमले स्थापना गरेका थिए जहाँ पशुपतिनाथ, महादेव, सीताराम आदि मन्दिर रहेका छन् । यहाँ महाशिवरात्रीमा भक्तजनको विशेष घुइँचो लाग्दछ । ५. बीसहजार ताल भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै ९ कि.मी. पूर्वदक्षिणमा अवस्थित बीसहजार ताल पूर्वी चितवनबाट ल्याएको नहरको कारण निर्माण भएको हो । बाँधबाट बीसहजार फुट टाढा धेरैवटा तालहरू बनेकोले यसको बीसहजार ताल नामकरण गरिएको हो । विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ । सौराहाको टिकौली सामुदायिक वनबाट जिप सफारी होस् वा वरण्डाभार मध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैँडा, मृग, गोही र घुमन्ते चराहरू अवलोकन गर्न बीसहजार ताल क्षेत्र आकर्षण गन्तव्यको रूपमा परिचित छ । वन्यजन्तु कोरीडोर अन्तर्गत बरण्डाभार क्षेत्रमा पर्ने बीसहजार ताल क्षेत्र साल प्रजातिका विशाल वृक्षहरूका लागि प्रख्यात छ । चारभाइ साल, बेतघारी फरक फरक आकृतिका तालहरू, विभिन्न प्रजातिका वनस्पति, पुतली तथा माछाहरू, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् । पर्यटक विश्राम स्थल, टावर, खानेपानी, शौचालय, सूचना केन्द्र निर्माण भैसकेको यस क्षेत्रमा सत्रहजार तालदेखि वाइसहजार ताल, रातमाटेताल, अठ्ठाइसहजारताल, मयुरताल, किङ्गफिसर ताल, दक्षिणकाली ताल, लक्ष्मीताल, बाटुली पोखरीसम्मको लेकसाइड सर्किट अवलोकन, जङ्गल वाक, बोटिङ्ग, जिप सफारी, गाउँ भ्रमण तथा जातीय संस्कृति अवलोकन गर्न सकिन्छ । ६. नारायणी बिच क्षेत्र नारायणी पुलदेखि गौरेश्वर मन्दिरसम्मको धार्मिक क्षेत्र, जोर कुसुम, नारायणी नदी तथा बालुवामा हुने समुद्री खेलहरू, दियालो बङ्गाला, महोत्सव स्थल यहाँका थप आकर्षण हुन् । महानगरद्वारा प्रस्तावित Water Park River Safari सहितको नारायणी बिच मोडलले मनोरञ्जनतर्फ उन्मुख पर्यटनका पारखीहरूलाई भरपूर आनन्द प्रदान गर्दछ । भरतपुर महानगरपालिका वडा नं. ३ कार्यालय नजिक निर्माण गरिएको सस्पेन्सन ब्रिज, आइलैण्ड, पिकनिक स्पोट, गैंडा, हरिणलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, बोटिङ्ग यहाँका प्रमुख आर्कषण हुन् । काठमाण्डौ–पोखरादेखि हवाइमार्ग, मुग्लिङ वा त्रिवेणीधामदेखि जलमार्ग तथा सडकमार्गबाट सहजै पहुँच भएको यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई बसोवासका लागि भरतपुर तथा नारायणगढ बजारमा पर्याप्त आरामदायी होटलहरू रहेका छन् । ७. चौकीडाँडा/कविलासगढी भरतपुर महानगरपालिकाको नारायणगढ बजारबाट १८ किलोमिटर पूर्वमा रहको भोर्लेबाट करिब आधा घण्टा उकालोको पैदल यात्रापछि समुद्री सतहबाट ११०० मिटरको उचाइमा रहेको चौकीडाँडा पुग्न सकिन्छ । साथै पात्लेबास हुँदै पदमार्गको मध्मबाट चौकीडाँडा पुग्न सकिन्छ । यो मार्गबाट ६ किलोमिटर छ । यो महानगरपालिकाको २९ औँ वडा हो । भरतपुर महानगरको २९ वडा यस्तो ठाँउ हो जहाँ लालीगुँरास, सुनाखरी, सुनगाभा फुल्ने गर्दछन्। महानरपालिकाले चौकी डाँडालाई हिल स्टेशनको रुपमा प्रर्वधन गर्दैछ । राजसी हिमाली श्रंखलाका मनोरम चुचुराहरु, नारायणी नदीको घुमाउरो नागबेली र समथल मैदान हेर्ने स्थलको रुपमा चौकीडाँडा विकास भएको छ । यसै वर्षदेखि चौकी डाँडामा साहसी खेल प्यारा ग्लाइडिङको सुरुवात पनि गरिएको छ । यस साहासिक खेलको माध्यमले पनि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । भरतपुर महानगरपालिकाको ऐतिहासिक स्थल कविलासगढी चौकीडाँडाबाट पश्चिमतर्फ २ दशमलव ५ किलोमिटर दूरीमा पर्छ । कविलासगढीबाट सुन्दर र मनोरम स्थल दृश्यको रुपमा भरतपुर बजार क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । यो ठाँउ गुरुङ जातिको घाटु नाँचको लागि प्रख्यात छ । लोप उन्मुख चेपाङ जातिको बासस्थन रहेको यस ठाँउमा चेपाङ संस्कृति पनि हेर्न सकिन्छ । यस्तै, महानगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यसँगै अन्य गन्तव्यहरु जगतपुर, राइनोकुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन् । त्यस्तै महानगरले भरतपुर ११ को गणेशधाम, बी.पी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र रहेको छ ।
लक्ष्यको ४१.९१ प्रतिशत उठ्यो राजस्व
काठमाडौं । सरकार यो वर्ष निर्धारण गरेको राजस्व संकलनको ४१.९१ प्रतिशत संकलन गर्न सफल भएको छ । चालु आ.ब.मा १४ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले आजको मिति सम्म ६ खर्व १७ अर्ब ११ करोड रुपैंया संकलन गरी सकेको छ । आर्थिक संकटको हल्ला चलाइएको यस अवधिमा संकलन भएको राजस्वको अवस्था हेर्दा समग्र अवस्था राम्रो रहेको मान्न सकिने आर्थिक मामलाका जानकार बताउछन् । महालेखा कार्यालयको अनुसार आज मात्रै २ अर्व राजस्व संकलन भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
काठमाडौं । सरकारले गत फागुन १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकका निर्णय सार्वजनिक गरेकी हुन्। यी हुन् निर्णय
माओवादीमा राष्ट्रियसभा अध्यक्ष नछोड्न दबाब, निर्णय भोलि
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् । माओवादी स्थायी कमिटीका नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यसैगरी, बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए । प्रवक्ता सापकोटाले भने, 'हामीले प्रस्तुत सबै एजेन्डाहरूको बारेमा वृहत छलफल गर्यौं । तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन । निर्णय भइसकेको छैन । छलफलको विषय तिनै हुन्, जो मैले पहिलेनै प्रस्तुत गरिसकेको छु । सबभन्दा मुख्य चाहिँ कार्य विभाजनको विषय थियो । पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलिबढी छलफल भयो । यसमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो ।' माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधबार) पनि बोलाइएको छ ।
वरिष्ठ गायक आचार्यप्रति राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री प्रचण्डद्धारा अन्तिम श्रद्धाञ्जली व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनलाई श्रद्धान्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसर पुगेका हुन् । प्रधानमन्त्रीले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् । प्रधानमन्त्रीसँगै नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू श्रद्धाञ्जली दिन प्रतिष्ठान पुगेका थिए । सोमबार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि राजनीतिकर्मी, गीतसङ्गीत क्षेत्रका हस्ती, कलाकर्मी लगायतको उपस्थिति रहेको छ । आचार्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ । उनको हिजो दिउँसो ८१ वर्षाको उमेरमा निधन भएको थियो । साढे चार सयभन्दा धेरै गीत गाएका भक्तराजका दर्जनौँ गीत लोकप्रिय छन् ।
नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा संगीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जली
जन्म : वि.स.२००० माघ १२ मंगलबार, निधन : वि.स. २०८० फागुन १४ सोमबार
माओवादी स्थायी समिति बैठक जारी
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
भक्तराज आचार्यको निधन, श्रद्धाञ्जलीका लागि मंगलबार नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने
जन्म : वि.स.२००० माघ १२ मंगलबार, निधन : वि.स. २०८० फागुन १४ सोमबार