नयाँ शैक्षिकसत्र सुरू हुँदै, विद्यार्थी भर्ना अभियान आजदेखि
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि आजदेखि देशभर विद्यार्थी भर्ना अभियान भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आह्वान गरेको छ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान अगाडि बढाएको हो ।
अभियान सुरु हुने दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायलाई विद्यार्थी भर्ना अभियानमा सरिक हुन आह्वान गरेका छन् ।
त्यसैगरी स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिया गर्न लागेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ।
विद्यार्थी भर्नाका लागि आह्वान गर्दै वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ ।
अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ। वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ। निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन्।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कुल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ। विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन।
२०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ घटना
काठमाडौं । विसं २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासंघले जनाएको छ। विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौती देखिएका उल्लेख गर्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा वृद्धि भएको जनाएको छ। महासंघका अनुसार गत वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन्। पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुर्व्यवहार गर्ने, आक्रमण गर्ने, गिरफ्तारी गर्ने, सूचना संकलनमा अवरोध गर्ने जस्ता घटना अभिलेख गरिएका महासंघले जनाएको छ। महासंघका अनुसार दुर्व्यवहार र धम्कीका घटना सबैभन्दा धेरै अभिलेख गरिएको छ। यस्ता ३० घटना हुँदा आक्रमणका १५ तथा पेशागत असुरक्षाका १२ घटना भएका छन्। यसैगरी, पक्राउ तीन, कब्जा तथा अवरोध तीन र लैंगिक हिंसाका एक घटना भएका महासंघले प्रेस विज्ञप्तीमार्फत् जनाएको छ। यसअघि विसं २०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने विसं २०७८ मा ७४ घटना भएका थिए। विसं २०८० मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको उल्ल्ख गर्दै महासंघले पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनलगायतका कानुन कार्यान्वयनको प्रत्याभूति, नागरिकको संवैधानिक अधिकार, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
आजदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला
काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय एंव व्यापारिक गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र अब आजदेखि २४ सै घण्टा खुला हुने भएको छ। यस अघि पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर सरकारले २४ सै घण्टा खुलाउने निर्णय गरेका थियो । अब राजधानीका दुई क्षेत्र पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आजदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ । ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरिएको छ । बजार २४ घण्टा खुला गर्न व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया‘आचारसंहिता तथा मापदण्ड–२०८०मा उल्लेख गरिएको छ । ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ । रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ । भगवानबहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको छ। ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारी साधनको व्यवस्थापनमा लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ । ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको व्यवसायीले बताएका छन्। व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख उनीहरुले बताएका छन् ।२४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने उनीहरुको भनाई छ ।
सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन आह्वान गरेका छन् । 'नयाँ वर्षको सुरूआतसँगै हामी सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु।' शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्- 'यस सुखद अवसरमा विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन हार्दिक आह्वान गर्दछु।' सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धी, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याहरूको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्राप्त सफलता विसं २०८० का हाम्रा आशालाग्दा राष्ट्रिय उपलब्धी भएको प्रधानमन्त्रीले बताएका छन् । 'सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं.२०८१ का मूल जिम्मेवारी हुन् । यी प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ भन्ने मैले विश्वास लिएको छु,' प्रधानमन्त्रीद्धारा शुभकामना सन्देशमा भनिएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वोपरि लक्ष्य भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धी र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् ।
देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए । “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।” राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह समेत गरेका छन्। विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।“जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु” उनले भनेका छन् । यस्तै राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना दिएका छन्। “द्वन्द मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस् । यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । राष्ट्रपति पौडेलले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ–सफा पृथ्वी बनाउन आह्वान गरेका छन्। “नयाँ वर्षमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।
नयाँ भूमि आयोग गठन नगर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा निरन्तरता
काठमाडौं। सर्वोच्च अदालतले नयाँ भूमि आयोग गठन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त अइजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चद्वारा आदेशमा भनिएको छ, ‘‘तसर्थ, अर्को भूमि आयोग वा जिल्ला समिति गठन नगर्नु नगराउनु र आयोग र समितिका स्रोत साधन, भौतिक सम्पत्ति र कागजातहरू सुरक्षित रूपमा यथास्थितिमा राख्नु राख्न लगाउनु भनी यस अदालतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्च अदालत नियमावलीको नियम ४९ (२) (क) बमोजिम निरन्तरता प्रदान गरिएको छ ।’’ सर्वोच्चको एकल इजलासले आयोग खारेज गर्नुको कारण माग्दै नयाँ आयोग बनाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। यही चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्दै अर्को बनाउने निर्णय गरेको थियो । यस्तो छ आदेश
त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा.खड्क केसी र रजिस्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई नियुक्त गरेका हुन् ।
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रस्ताव पारित
काठमाडौै । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो । संकल्प प्रश्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट पारित सो संकल्प प्रश्ताव तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारलाई निर्देशन दिए।त्यसैगरी उनले सरकारले सो प्रश्ताव कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्न सभा अन्तर्गतको विषयगत समितिलाई सचेत पनि गराए। बैठकमा सो संकल्प प्रस्ताव सांसद कमला पन्तले पेश गरे भने सांसद पन्त प्रस्तावक रहनुभएको सां संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादवले समर्थन गरे ।
काँग्रेसका कारण संसद् अधिवेशन अन्त्य गर्नुपर्यो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद् सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताएका छन्। शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् अधिवेशन अन्त्य र सुरु हुने क्रम जारी रहने बताएका हुन्। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो।“अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” सरकारले विजनेश नै नपाएर अधिवेशन गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “कांग्रेसले चल्न नदिएर ।” आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २ गते राति १२ बजेबाट संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
पक्षमा ४८ मत पाएका महराको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिए भने राप्रपा ४ र लोसपाका ३ सांसद अनुपस्थित भए ।
यस्ता छन् चैत ३० गतेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संवत् २०८० चैत ३० गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय लिएको छ । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बैठक पछि आज पाँच वटा निर्णय सार्वजनिक गरेकी छिन् । यस्ता छन् २०८० चैत ३० गतेको मन्त्रीपरिषद बैठकका निर्णयहरू १. कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्ने : क. सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र - अध्यक्ष ख. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य- सदस्य ग. मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि बिज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरु - सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री जगदीशप्रसाद शर्मा पौडेल - सदस्य डा. अर्जुनकुमार कार्की - सदस्य श्री स्टेला तामाङ - सदस्य २. कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने । ३. परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गर्ने । ४. संसदको चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने । ५. राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।
वैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । २०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको शर्माले बताइन् ।
सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन
काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्नका लागि सिफारिस समिति गठन गरेको हो । समितिको सदस्य राष्ट्रिय मानव अधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीश शर्मा पौडेल, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् ।
धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्न गृहको सर्कुलर
काठमाडौँ । धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका सीडीओलाई पत्र पठाएर कतिपय विदेशी नागरिक विनाप्रवेशाज्ञा हिँड्डुल गर्ने गरेको भन्दै विदेशी नागरिकको कानूनविपरीतका गतिविधिको सुक्ष्म निगरानी गरेर आवश्यक काराबाही गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्रीसँगको भेटपछि ओलीलाई प्रश्न -सरकारले हिउँदे अधिवेशन अन्त्य गर्न लागेको हो?
काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि आन्तरिक तयारी भई रहेको संसद् सचिवालय स्रोतले जनाएको छ। एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउन नसक्दा अधिवेशन अन्त्यको तयारी भएको हो । वैशाखको पहिलो सातासम्ममा हिउँदे अधिवेशन अन्त्य हुने सम्भावना छ । सहकारीको बचत अपचलनमा मुछिएको आरोप लगाउँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन माग गर्दै काँग्रेसले सदन निरन्तर अवरोध गर्दै आइरहेको छ । आज सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्नु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता पछि एमाले अध्यक्ष केपी ओलीले सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको संकेत गरेका छन् । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको संचारकर्मिहरुलाई बताएका छन् । “अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” सरकारले विजनेश नै नपाएर अधिवेशन गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “कांग्रेसले चल्न नदिएर ।” आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले सदन अधिवेशनको अन्त्यबारे निर्णय लिन सक्ने बताइएको छ ।
एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक आउँदो वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको गौतमले बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ । उक्त बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ ।

