युक्रेनको उर्जा केन्द्रमा रुसी हवाई आक्रमण

एजेन्सी ।  युक्रेनको राजधानी किएभनजिकै अवस्थित एउटा ठूलो ऊर्जा केन्द्रमा रुसी सेनाले गरेको हवाई आक्रमण गरेका छन् । आक्रमणबाट उक्त उर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार ट्रिपील्या पावर प्लान्टबाट किएभसहित तीनवटा क्षेत्रमा विद्युत् आपूर्ति गर्दथ्यो ।रुसले युद्ध सुरु भएयता सुनियोजित रूपमा युक्रेनी ऊर्जा प्रणालीलाई निसाना बनाउँदै आएको छ।

आक्रमणबाट ऊर्जा केन्द्रका ट्रान्सफर्मर, टर्बाइन र जेनरेटरहरूमा पूर्ण रुपमा क्षति पुगेको छ । आक्रमणको क्रममा ८० वटाभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरीएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार युक्रेनले रुसी उर्जा केन्द्रहरूमा आक्रमण गरेपछि त्यसको जवाफ दिन बाध्य भएको बताएका छन्।

लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।  सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरु र कार्यकारी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।  भेटमा प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए । उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरे । यसैबीच अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए । उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवद्र्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिए ।  त्यसैगरी, उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताए । यसैबीच, महासंघका अध्यक्ष ढकालले महासंघमा रहेको हेल्प डेस्क मार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । उनले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ।दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गरिसकेका छन् ।

माथिल्लो अरुण र दूधकोशीको काम छिटो थाल्ने सहमति

काठमाडौं । सरकार र दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ।  अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, ऊर्जासचिव सुशीलचन्द्र तिवारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस ९भर्चुअल रुपमा० तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै आयोजनाको वित्तिय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो।  छलफलमा आयोजनाको वित्तीय व्यवस्थापन र आयोजना कार्यान्वयनको क्षमता अभिवृद्धबारे विस्तृतमा छलफल भएको थियो। छलफलमा दुवै आयोजनाको पूर्वतयारीका लागि सम्पन्न गरिएका कामबारे प्रस्तुति गरिएको थियो।  संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुणको विश्व बैंक र खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट निर्माण हुने ६ सय ३५ मेगावाटको जलासययुक्त दूधकोशी जलविद्युत आयोजनाको एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ।  बैठकमा आयोजनास्थलमा जारी निर्माण पूर्वका तयारी कार्यबारे अवगत गराइएको थियो। आयोजना प्रवर्द्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रो(इलेक्ट्रिक लिमिटेडले आगामी सन् २०२६ को सुरुबाटै आयोजना निर्माण थालिने बताएको छ। आयोजना निर्माणका लागि अनुमानित पाँच वर्षको समयसीमा तोकिएको छ। माथिल्लो अरुणको पूर्वतयारीस्वरुप २ किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ। जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ।   विद्युतको उच्च माग हुने हिउँदको ६ महिना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण नेपालकै गेमचेन्जर आयोजना हो। सो आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ। उत्पादित विद्युत ६ किलोमिटर ४ सय केभीको प्रसारण लाइनमार्फत् संखुवासभाको हाइटारमा नयाँ बन्ने सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।  रभुँवाघाटमा निर्माण हुने ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा सामावेश गरेको छ। आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ डिजाइन, वातवारणीय प्रभाव अध्ययन मूल्याङ्कनलायतका काम यसअघि नै सकिएका छन्। पहुँच मार्ग निर्माण र मुआब्जा वितरणको काम अन्तिम चरणमा छ। दुवै आयोजनाको अनुमानित लागतबारे प्राविधिक तहमा छलफल गर्ने बताइएको छ। 

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ सालदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् । दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने व्यवसायीको भनाई छ । अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएका छन् ।  त्यसैगरी, प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका छन् ।

आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउँछौं : प्रधानमन्त्री

विराटनगर (मोरङ)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताएका हुन् । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने प्रधानमन्त्रीको भनाई थियो । सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए। आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।” माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे। उनले सङ्घीय निजामति ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

मारिए ईद मनाउन हिडेका हमास प्रमुखका तीनजना छोरा

ऐजेन्सी । हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिएको बताएका छन्। हमास सम्बन्धित सञ्चार माध्यमका अनुसार उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक हवाइ अक्रमण हुँदा कारमा सवार सबैजना मारिएका हुन् । हानियाले यो घटनाका कारण इजरेलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन्। इजरेलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ।उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ। हानियाले आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको सञ्चार माध्यमहरुलाई बताएका छन् ।सो घटना पछि हमासले वक्तव्य जारी गर्दै हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएको बताएको छ। हमासले उक्त आक्रमणलाई “विश्वासघाती र कायर” भनेको छ।

प्रतिनिधिसभाको अवरोध अन्त्य चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सहकारीसँग सम्बन्धित समग्र विषय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने प्रधानमन्त्रीको विश्वास

सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ देखि विद्यार्थी भर्ना अभियान

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौवटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको बताए । केन्द्रले प्रकाशन गरेको कार्यतालिका अनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्‍याएको थियो । प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सै घण्टा पुस्तक छापेको थियो । ‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, प्रबन्ध सञ्चालक झाले भने, ‘राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नु पर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’ कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत ९अनुमति प्राप्त० प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्र अगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका छन् । यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी थिइन् ।  भर्ना अभियान सुरु हुँदै नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।  अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ ।  वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाए ।  सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ । अभियानकै क्रममा  वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक ९धारा ३१० कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत  छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन ।

प्रधानमन्त्रीबाट इद पर्वको शुभकामना

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र)को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत लिएका छन् । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्’, प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ । उनले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएको बताए । नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्री प्रचण्डको सन्देशमा उल्लेख छ । यस्तो छ शुभकामना सन्देश

मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीले इद अथात् इद उल फित्र पर्व मनाउँदै छन् । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् । अरबी पात्रो हिजरी सम्वत् अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गरिन्छ । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने प्रचलन रहेको छ ।आज आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने गरिन्छ । खुसीपूर्वक दान गरेर दीन–दुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर विशेष नमाज पाठ गरेपछि मात्रे ठूलाबडाबाट आशीर्वाद लिने क्रम सुरु हुन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्र बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ। यसरी दान गरिएको नगद वा जिन्सी दिन दुःखी एवं गरिबलाई बाँडिन्छ।इद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

राप्रपालाई कारवाही गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी

काठमाडौं ।आन्दोलनको क्रममा जथाभावी फोहोर गरेपछि काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कारवाही गर्ने चेतावनी दिएको छ । राजा फर्काउने आन्दोलनमा उत्रिएको राप्रपाले हिजो मंगलबार पुताली सडक भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा सौन्दर्यका लागि बनाइएका बाटीका भत्काउने र सडकभरी फोहोर गरेकाले उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न आग्रह सहितको पत्र महानगरपालिकाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्वोधन गरेर पत्र पठाइएको छ । तीनदिन भित्र महानगरपालिकाले दिएको निर्देशन पालना नगरे स्थानीय शासन ऐन अनुसार कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।आन्दोलनमा सहभागी भएका राप्रपाका कार्यकर्ताले जथाभावी फोहोर गरेर सडकलाई कुरुप बनाउने काम गरेका थिए ।

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेशकाठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो । सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि अर्को पेसी तोकिएको छ ।

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । तत्कालीन सरकारले २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।  चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याको समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन गरिनेछ । राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो । शिक्षा मन्त्रालयले आयोगको सुझावअनुसार कार्यान्वयन प्रक्रिया सुरु हुने जनाएको छ । यस्तो छ प्रतिवेदन  

यस्तो छ राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेको राजनीतिक यात्रा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी निर्वाचित भएकी हुन् । उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्‍यो । विपक्षमा १६ मत खसेको थियो । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए ।  यस्तो छ राजनीतिक यात्रा  घिमिरेले ०४७ देखि राजनीतिक यात्रा आरम्भ गरेकी हुन् । अखिल नेपाल महिला संघमा आबद्ध हुँदै ०५९ सालमा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य भएकी थिइन् । ०७५ मा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भइ बनेको नेकपाको केन्द्रीय सदस्य थिइन् । ०७८ मा भएको एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । उनी ०७६ मा लुम्बिनी प्रदेशबाट महिलातर्फ राष्ट्रियसभाको सदस्य निर्वाचित भएकी थिइन् । सभामा दुई वर्ष कार्यकाल बाँकी रहँदा उनी राष्ट्रियसभाको उपाध्यक्ष बनेकी हुन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।उनलाई सत्ता गठबन्धनको समर्थन छ ।

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छिन्  सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी विमला घिमिरे प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसबाट उम्मेवार बनेकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित भएकी हुन् । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेको पक्षमा ३९ मत पर्यो भने विपक्षमा १६ मत पर्यो । राष्ट्रियसभामा उपस्थित संख्या ५५ थियो । घिमिरे राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट निर्वाचित भएकी हुन् ।