इलाम र बझाङमा क्रमश: २० र १२ जनाको उम्मेदवारी दर्ता(सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएको छ । आगामी बैशाख १५ मा हुने इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिबार(आज) क्रमशः २० र १२ जनाको मनोनयन दर्ता भएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले दिएको जानकारी अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । त्यसैगरी बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । 

इलाम २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राई, जनमतका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेसनल रिपब्लिकका धनराज रानामगर रहेका छन् । त्यस्तै, प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेहरूमा अर्जुनबहादुर शाही, केशबकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।

बझाङको प्रदेश सभा निर्वाचनमा कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिकका किशोरकुमार खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, माओवादी केन्द्रका जनकबहादुर बुढा, एमालेका दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार बनेकी छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ भने २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्न २७ गतेको समय निर्धारण गरिएको छ ।

नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको भएको बताएका छन्।  “मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसूस गरेको छु, म यो भूमीबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु ।”  नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो रूपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दीगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने आफ्नो विश्वास रहेको स्पष्ट पारे।  “प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्रलाई अवधारणगत र संरचनागत सुधार गरी नेपाललाई विश्व अध्यात्मको राजधानी, आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।  उनले देशको अन्तराष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदाय माझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिनका लागि सबैको सामुहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको उल्लेख गरे ।  उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वलाई नेपाल एउटा योगभूमि र तपोभूमि हो, नेपालीहरू योगी र ध्यानी छन् भन्ने सन्देश दिँदै योग तथा आध्यात्मिक पर्यटनको हबको रूपमा नेपाललाई विकास गर्न यस्ता कार्यक्रमबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

माओवादीसँग एकता गर्ने सहमतिबाट बाबुराम पछाडि हट्नुभयो : गंगानारायण श्रेष्ठ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले गत चुनावका बेला नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले कुरा फेरेको बताएका छन्।   शनिबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले एकीकृत पार्टीको नाममा समेत सहमति भइसकेको कुरामा डा.भट्टराईले अहिले आएर एकाएक हुँदैन भनेको बताए।  ‘त्यतिखेर पार्टी एकताको निम्ति पार्टीको नामको बारेमा समेत छलफल गरेर एउटा सहमति भएको अवस्था थियो। त्यो भनेको नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी राख्ने भन्ने त्यतिखेर हामीबीच अन्डरस्ट्यान्डिङ थियो दुई पक्षका बीचमा’, उनले भने, ‘अहिले डा. साबले होइन भन्नुहुन्छ  यहाँहरूले भेट्दा सोध्नुभए हुन्छ– हो कि होइन भनेर।’  उनले थपे-' निर्णय गर्ने अधिकार भएको निकाय भनेको निर्वाचन आयोग मात्रै हो। चैत्रको ५ गते बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठक आह्वान गर्नु भो। उहाँले एउटा नेसापको केन्द्रीय समितिको बैठक गर्नु भो। हामीले ६ गते नेसपाको अर्को केन्द्रीय समितिको बैठक गर्‍यौँ। पार्टी विधिवत् रूपमा दुइटा त भए नि। र, यो दुइटा पार्टीको अहिलेसम्म सर्सती हेर्दाखेरि निर्वाचन आयोगमा कोही पनि गएन अर्थात् दुवै पक्ष गएर मसँग बहुमत छ, म आधिकारिक नेसपा हुँ भनेर दाबी गरेको छैन। हामीले पनि गरेका छैनौँ, डा.सापले पनि गर्नुभा छैन। अहिलेसम्म हामी पनि नेसपा नै हौँ, डा. साबले पनि आफूलाई नेसपै भनिराख्नुभएको छ।' 'भोलि आवश्यकता पर्दाखेरि हामी निर्वाचन आयोगमा जान पनि सक्छौँ। दोस्रो कुरा–पार्टी दुइटा किन भएको  यसमा हाम्रो कुराचाहिँ के हो भने पार्टी एकातिर जाऊँ भन्ने हाम्रो कुरा हो। लाइनमा फरक कहाँ पर्‍यो भने, पार्टी खण्डित हुन त लाइनले गर्छ। यसमा निर्वाचनभन्दा अगाडि पार्टी एकता गरेर निर्वाचनमा जाने भन्ने थियो। तर त्यो बेला हाम्रो प्राविधिक, समय चापका कारण पनि रहे। सँगसँगै हामीबीच बुझाइमै एकरूपता हुन सकेन।' श्रेष्ठले भने -'जसले गर्दा त्यतिबेला पार्टी एकता सम्पन्न गर्न सकेनौँ। प्रचण्डजी तयार हुनुहुन्थ्यो, बाबुरामजी तयार हुनुहुन्थ्यो। हामी सबै तयार थियौँ। पार्टी एकताको प्रस्ताव राख्ने मान्छे नै म हुँ। त्यो प्रस्ताव एक्सेप्ट गरेको अवस्था पनि हो। तर हाम्रा अहिलेका अध्यक्ष महीन्द्र राय यादवजीले अहिले पार्टी एकता नगरौँ, पछि गरौँ भनेपछि हामी एकल चुनाव चिह्नमा गएको। त्यतिखेर पार्टी एकताको निम्ति पार्टीको नामको बारेमा समेत छलफल गरेर एउटा सहमति भएको अवस्था थियो। त्यो भनेको नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी राख्ने भन्ने त्यतिखेर हामीबीच अन्डरस्ट्यान्डिङ थियो दुई पक्षका बीचमा। र, अहिले डा.साबले होइन भन्नुहुन्छ  यहाँहरूले भेट्दा सोध्नुभए हुन्छ– हो कि होइन भनेर। अर्थात् भेरिभाई गर्नु छ भने, हामी त दुइटा झगडिया भयौँ। तेस्रो पक्ष पनि छ नि त। उहाँहरूलाई सोध्दा पनि हुन्छ। नेकपा समाजवादी केन्द्र या नेकपा समाजवादी नाम राखेर जाने भन्ने कुरामा सहमति भएकै हो। हामी एउटै चुनाव चिह्नमा चुनाव लड्यौँ। डा. साबले निसर्त गोरखामा गएर उहाँले आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डजीलाई चुनाव जिताउनका निम्ति महत्त्वपूर्ण भूमिका र निर्णय पनि उहाँले निर्वाह गर्नुभो। तर बिस्तारै बिस्तारै यहाँसम्म आइपुग्दाखेरि प्रचण्डजी र बाबुरामजी व्यक्तिगत सम्बन्ध त नराम्रो छ भनेर त भन्दिनँ। तर घटनाहरूलाई हेर्ने दृष्टिकोणमा चाहिँ उहाँहरूको आनका तानचाहिँ फरक परेको देख्छु। अस्तिको दिन मात्रै गोरखामा लगेर उहाँले प्रचण्डजीले त राजीनामा दिनुपर्छ, यो अनैतिक भो भन्नु भो। उहाँले यो बीचमा तपाईं कस्तो गलत बाटोमा हिँड्नुभयो प्रचण्डजी, कांग्रेसलाई साथमा लिएर कहीँ हुन्छरु यो त उल्टो बाटो भो। एमालेसहितलाई गठबन्धन त्यता बनाएर पो जानुपर्छ। त्यो पो सुल्टो बाटो हो त भन्दै उहाँ आफैँ पहल गर्दै हिँड्नुभाथ्यो। ओलीजीलाई उहाँले पटकपटक भेट्नु पनि भा हो। प्रचण्डजीले पनि ओलीलाई सकारात्मक बनाउने काम तपाईंको भनेर उहाँलाई भन्नु पनि भको हो। अनि जब उहाँले भनेको जस्तै भयो, नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँगको नयाँ समीकरण बन्यो, अनि फेरि उहाँले के भन्नुभयो भने यो गठबन्धनले अब संघीय लोकतान्त्रिक गठबन्धनलाई नै धरापमा पार्छ।...यो प्रतिगामी खालको भयो, यहाँलाई समर्थन गर्न सकिन्न।' 'उहाँले एउटा भाष्य निर्माण गरेर जबर्जस्ती एक ढंगले हाम्रो व्यक्तिगत जीवनमै आक्षेप लगाउनुभएको कुरा पदको लागि भन्ने छ के। पदको लागि होइन भन्ने कुरा म तथ्यसहित भन्न सक्छु। हामीले एकल चुनाव चिह्न जुन बेलामा लियौँ। एकल चुनाव लिँदाखेरि बाबुराम भट्टराईलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को प्रावधान के छ भन्ने कुरा थाहा थिएन र ? राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ४९ को ३ मा प्रस्ट के लेखेको छ भने दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू एकल चुनाव चिह्नमा चुनाव लड्दा जुन दलले बढी सिट प्राप्त गर्दछ, त्यो दलको एक मात्र संसदीय दल हुनेछ भन्ने छ। र, त्यो चुनाव चिह्नबाट जितको अरु पार्टीका सांसदहरू पनि सोही संसदीय दलको सदस्य हुनेछ र उनीहरूलाई ह्विप लाग्ने भनेर लेखेको छ। हामी चार जना जो जित्यौँ, पार्टीगत हिसाबले नेपाल समाजवादी पार्टीका भयौँ, संसदीय दलको सदस्यको हिसाबले चाहिँ नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य भयौँ। त्यही ह्विप उल्लंघन गर्नेलाई कारबाही हुने कि नहुने ?,'  श्रेष्ठले भने ।

जुगल हिमाल आरोही नेपाल–कोरिया संयुक्त टिमलाई प्रधानमन्त्रीद्धारा झण्डा हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–कोरिया ५० बर्षको कुटनैतिक सम्बन्धको सन्दर्भमा जुगल हिमाल आरोही नेपाल–कोरिया संयुक्त टिमलाई बिदाई तथा झण्डा हस्तान्तरण गरेका छन् । नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमाल (६५९१ मिटर)को पहिलो आरोहण गर्ने छ । उक्त प्रयोजनका लागि तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम शनिबा (आज) त्यसतर्फ जान लागेको हो । हिमाल आरोहणको लागि प्रस्तान अघि प्रधानमन्त्रीले उनीहरुलाई बालुवाटारबाट बिदाई गरेका हुन् । सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल समेत हो ।

इलाममा सुहाङ्गलाई निर्वाचित गराउन एमाले-माओवादीको संयुक्त अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिनुका साथै साझा उम्मेदवार सुहाङ्ग नेम्बाङ्गलाई निर्वाचित गराउन अपिल गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ– 'आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार  सुहाङ्ग नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम २ का आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।' विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेका छन् । 

१६ प्रहरी उपरीक्षककाे सरुवा, फेरिए सात जिल्लाका प्रमुख

काठमाडौं । गृहमन्त्रालयले  १६ जना उपरीक्षक(SP)को काज सरुवा गरेको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीका १६ जना उपरीक्षकलाई सरुवा गरेको हो ।   दुई महिना नपुग्दै चार जिल्लाका प्रहरी प्रमुख फेरिए भने अन्यको पनि सरुवा भएको छ । उनीहरूको गएको १ फागुनमा सरुवा गरिएको थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनीहरूको सरुवा भएको थियो ।अहिले रबि लामिछाने गृहमन्त्री भएपछि पुनः सरुवा गरिएको हो । उनीहरुको कार्यसम्पादका विषयमा उजुरी बढेपछि हटाएर नयाँलाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले स्रोतले बतायो ।

अभिलेखमा क्षति पुर्‍याए तीन वर्ष कैद र एक लाखसम्म जरिवाना

काठमाडौं। अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्‍याए तीन वर्ष कैद र एक लाख रुपियाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको हो । शुक्रबारबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुरु भएको छलफलका क्रममा समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले उनले विद्युतीय रेकर्डलाई पनि अभिलेखको रुपमा राख्ने विधेयकको उद्देश्य रहेको बताए। अभिलेखहरुको क्षति पुर्‍याउँदा पाँच हजारसम्मको जरिबाना र तीन वर्षसम्मको कैद सजाय हुने गरेकोमा प्रस्तावित विधेयकमा कैदलाई तीन वर्ष नै कायम गरिएको र जरिबानालाई एक लाखसम्म पु¥याउने प्रस्ताव गरिएको बताए। अभिलेख संरक्षण ऐन, २०४६ पुरानो ऐन भएकाले समयानुकूल बनाउन परिमार्जन गर्न लागिएको बताए। उनले सरकार सङ्घीयतामा गएपछि तीन तहकै सरकारले गरेका कामहरुलाई अभिलेखको रुपमा व्यवस्थित गर्ने प्रयोजनका लागि कानुनी व्यवस्था गर्न परिमार्जन गर्न लागिएको बताए। उनले संघ, प्रदेश र स्थानीय तहका अभिलेखहरु संरक्षण गर्ने कानुनी व्यवस्था गर्न यो ऐनलाई संशोधनको प्रस्ताव ल्याइएको बताए। उनले यो ऐनले तत्काली प्रदेश र स्थानीय सरकारले गरेका कामहरु र अभिलेखलाई संरक्षण गर्ने कानूनी व्यवस्था गर्न लागिएको बताए। बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभाले पारित गरेको विधेयकमाथि समितिले छलफलको आवश्यकता महशुस गरेर परिमार्जन गर्नुपर्ने हिसावले छलफल हुनु सकारात्मक भएको जानकारी दिए। उनले स्पष्ट नभएका विषयवस्तुहरुलाई स्पष्ट पार्ने काम पनि छलफलमा भएको जिकिर गरे। उनले राष्ट्रिय सभाको संशोधनले र प्रतिवेदनमा उल्लेख भएका कुराहरुले अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन की भन्ने भावका साथ विषयवस्तुले प्रवेश पाउनु स्वागतयोग्य भएको बताए। उनले भने ‘‘राष्ट्रिय सभाले पारित गरेको विधेयकमाथि पनि हाम्रो यो समितिले छलफलको आवश्यकता महशुस गरेर यसलाई अझै परिमार्जन गर्नुपर्ने हुन्छ की ? भन्ने हिसावले जुन किसिमले छलफल भइरहेको छ, त्यो धेरै सान्दर्भिक, महत्त्वपूर्ण छ । छलफल पनि शानदार ढङ्गले चलिरहेको छ। स्पष्ट नभएका विषयवस्तुहरुलाई स्पष्ट पार्नुपर्छ भन्ने भावका साथ चलेको छ । कतिपय कुराहरु राष्ट्रिय सभाको संशोधनले पनि र त्यसको प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन की भन्ने भावका साथ जुन खालले विषयवस्तु प्रवेश भएका छन् । त्यो राम्रो छ ।’’ बैठकमा बोल्दै सांसद प्रेम सुवालले राष्ट्रिय अभिलेखालयलाई सल्लाह दिने सल्लाहकार समितिमा सबै सचिव, सहसचिव मात्रै हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सल्लाहकार समितिमा समानुपातिक, समावेशीका लागि बाहिरको सल्लाहकार समिति बनाउन आवश्यक रहेको बताए। सल्लाहकार समितिको संरचना नै परिवर्तन गर्न जरुरी रहेको बताए। उनले सबै समुदायका विशेषज्ञहरुको सल्लाहकार समिति बनाइनुपर्ने माग गरे । समितिको बैठकमा सांसदहरुले सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अभिलेखहरु पनि संरक्षण र व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

सन्दीप लामिछानेको मुद्दा : प्रत्यर्थी झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदनमा गएका थिए । सरकारी वकिल पनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिग नभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमा गएको थियो। सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात् १३ वर्ष कैदको माग दाबी गरेको छ। शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा दुवै पुनरावेदनमाथि सुनुवाइ भएको थियो । संयुक्त इजलासले दुवै पुनरावेदनमा एउटै ‘प्रत्यर्थी झिकाउन’ आदेश गरेको हो । पुनरावेदनमा सरकारी वकिलले सन्दीपलाई विपक्षी बनाएको छ । सन्दीप पक्षले गौशाला–२६ लाई विपक्षी बानाएको छ । अब उच्च अदालतमा दुवैजना उपस्थित हुनपर्नेछ ।

पार्टीमा अझै २० वर्षजति अरू कसैले आस नगर्नू : केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका छन् ।एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् । सम्बोधनका क्रममा उनले भने ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’ उनले एमाले र देशलाई ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने बताए ।‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ,’ उनले भने, ‘अहिले हामीलाई समय छैन । हामी व्यस्त छौँ ।’

आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ ।  गोरखा जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न निर्देशन दिए। जिल्लामा रहेका सङ्घीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा जोड दिए ।  प्रधानमन्त्री प्रचण्डले भने, “केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला ।” स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा कर लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायबीच पनि आवश्यक समन्वय हुनुपर्ने बताए ।  कार्यालयमा भेटेर आफ्ना गुनासो सुनाउने जनताको अधिकार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासा सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्नुपर्छ भने ।  शान्ति सुरक्षाका कामलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिँदै उनले सुरक्षा संवदेशनशीलताका आधारमा सम्भावित परिस्थितीको आंकलन गरी काम गर्न निर्देशन दिए ।

लुम्बिनीमा बने माओवादीका महरा मुख्यमन्त्री

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ । उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् । जिल्लाका स्थानीय पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिएका हुन्।  जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताए।  “गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले यसबीचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पारे।  “आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”

परिवर्तनको महसुस हुनेगरी बजेट ल्याउँछौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताए।  आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्ट पारे। आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे।  “गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” “आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।” माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटरब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आयभएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराइएको बताए। गोरखा जिल्ला जनयुद्धको समयमा पनि अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले विकास निर्माण र सामाजिक न्यायको विषयमा जनताले गरेको अपेक्षालाई सम्बोधन गर्ने विश्वास दिलाए।  गत वर्ष बजेट तथा नीति तथा कार्यक्रममा जनताको चाहनाअनुसार गर्न नसकिएको उल्लेख गर्दै प्रधानन्त्री प्रचण्डले गत आवमा परम्परागत बजेट निर्माण भयो र त्यसले अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको बताए। 

एक दिवसीय क्रिकेटमा नेपालको लज्जास्पद हार

काठमाडौँ। तीन एक दिवसीय शृंखलाअन्तर्गतको आज भएको तेस्रो खेलमा नेपालको लज्जास्पद हार भएको छ । म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल एविरुद्धको तीन एक दिवसीय शृंखला २–० ले आफ्नो पक्षमा बनाएको छ। शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको हो। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको १७५ रन पछ्याएको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्रै बनायो। नेपालका भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ६ विकेट लिए। ४.५ ओभर बलिङ गरेका उनले १ मेडनसहित ८ रन खर्चिए। यस्तै,फिओन ह्यान्ड र थोमस मेयसले २२ विकेट लिए।  

प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे। गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने  बताए। गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।  

समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।” विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए । उनले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिए । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।  संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र  सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्‍याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।