विश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ सँग सिरिज खेल्ने

काठमाडौं । आइसीसी टि–२० विश्वकपअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले वेस्टइन्डिज ‘ए’ सँग पाँच टि–२० खेल खेल्ने तालिका रहेको छ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ ।


वेस्ट इन्डिजको क्रिकेट टोलीले इतिहासमै पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

यसअघि एकपटक मात्र सन् २०२३ मा जिम्बाबेमा नेपाल र वेस्ट इन्डिजबीच सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा  वेस्ट इन्डिज एक सय एक रनले विजयी भएको थियो।

कोशी सरकारबाट माओवादी केन्द्र फिर्ता

विराटनगर। कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवतः सोमबारै  मन्त्रीहरूले पदबाट राजीनामा गर्ने तयारी छ । केन्द्रमा दलहरूबिच नयाँ गठबन्धन बनेपछि परिवर्तित राजनीतिक परिवेश अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। सोमबार नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्तरूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर विशेष अधिवेशन बोलाउन संसद् सचिवालयमा निवेदन दिएका छन् ।  

पूर्वमन्त्री खान सवार गाडि दुर्घटना, उपचार हुँदै

काठमाडौँ । पूर्व खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परी घाइते भएका छन् । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्षसमेत रहेका खान काठमाडौँदेखि बर्दिया जाने क्रममा आज बिहान धादिङको रोराङ गाउँपालिका ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको स्वकीय सचिव ई अतिउल्लाह मुसलमानले बताए। खानलाई दुर्घटना स्थलबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

अवैधरुपमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ ।  विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौँको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।  पक्राउपर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् ।  एसपी रेग्मीले पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए। यसअघि पनि यसैगरी शंकास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो।  पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ।

अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन (तस्बिरहरु)

काठमाडौं। चितवनमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु भएको छ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट व्यवस्था गर्छौं :  प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन्। बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए। “गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।” क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोट्र्स् हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए। खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयमिक महत्त्व रहने बताए। चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच हजारभन्दा बढी खेलकर्मीले यस प्रतियोगितामा प्रत्यक्ष सहभागी हुने भएकाले चितवनका कला संस्कृतिको समेत प्रवर्द्धन हुने बताए।  

कांग्रेसको संसद् अवरोधबारे रास्वपाले दलमा गर्‍यो छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरिरहेको संसद् अवरोधका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारमा बसेको दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री तथा सो पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसले संसद् अवरोध गर्दै आएको विषयमा छलफल गरिएको रास्वापका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रमुख सचेतक परियारले प्रमुख प्रतिपक्ष दलले आन्दोलन गरिरहँदा संसद् पेचिलो बन्दै गएका विषयमा बैठकमा छलफल भएको बताए । उनले आफू कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको जानकारी गराए । सभामुख देवराज घिमिरेले सोमबार (भोलि) प्रमुख सचेतक र नेताहरूको बैठकमा बोलाएका छन्। सो बैठकबाट मंगलबारको संसद् निर्बाध सञ्चालन हुने अपेक्षा राखिएको उनले बताए । उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइ राखेको र रास्वपाका तर्फबाट सरकारमा गएका मन्त्रीहरूले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकारी गराएको पनि जानकारी दिए । सरकारले गरेका कामलाई सम्प्रेषण गर्ने, संसद्‌मा प्रभावकारी रूपमा प्रस्तुत हुनेबारेमा पनि छलफल गरिएको उनले जानकारी गराए।  

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन्। भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे। “भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।” उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर  अस्पताल निर्माण भएको स्मरण गरे । यस क्षेत्रकै आम जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताए । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सेवामार्फत् नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संरक्षित वनजङ्गल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाइ र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबैखाले दुर्घटना, डेङ्गु, इन्फ््ल्युञ्जा, क्षयरोग, कुष्ठरोगलगायत आदिबाट प्रभावित बिरामीहरूको रोग निदान, उपचार र नियन्त्रणका लागि आवश्यक उपचार र परामर्श लगायतका सेवालाई उच्च प्राथमिकता दिइरहेको छ ।”   मुख्यतः अस्पतालको भौतिक पूर्वाधार विकास, शैया क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यक पर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यसका निम्ति सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाए। प्रधानमन्त्री प्रचण्डले भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आङ्गिक कलेज भइरहेको सन्दर्भमा आगामी शैक्षिक सत्रबाट नै एमबिबिएस कक्षा सञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको मागप्रति आफू सहमत रहेको बताए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सो बैठकले गरेका निर्णयबारे जानकारी गराएकी हुन्।  यस्ता छन् निर्णय 

प्रहरीमा प्राविधिक तर्फ २ डीआईजीको दरबन्दी स्वीकृत

काठमाडौं ।मन्त्रिपरिषद्ले नेपाल प्रहरीको प्राविधिक तर्फ दुई जना डीआईजीको दरबन्दी स्वीकृत गरेको छ। बिहिबारको मन्त्रिपरिषद् बैठकले साइबर ब्यूरो र प्रहरी केनाईन महाशाखामा डीआईजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव स्वीकृत गरेको हो। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआइजी राख्न प्रस्ताव गरेको थियो। नेपाल प्रहरी केनाईन महाशाखा हाल वरिष्ठ उपरीक्षक प्रमुख हुने व्यवस्था छ।

लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका महरासहित तीन जना सांसदले विना विभागीय मन्त्रीको रुपमा आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्। आज अर्घाखाँची १(१)बाट निर्वाचित सांसद् एमालेका चेतनारायण आचार्य, रोल्पा १(२)बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का भण्डारी लाल अहिरले सपथ लिए। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।  कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमत आउने नदेखिएपछि राजीनामा दिएका थिए। नयाँ सत्ता समिकरणबाट  मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद्ले साथ दिएका छन्। 

लुम्बिनी विकास कोषका योजना प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेआइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको जिकिर छ। अख्तियारले उनीविरुद्ध ८० लाख रुपैयाँ बिगो दाबी गरेको छ । यस्तो छ आरोपपत्र

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज विष्टले आइतबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ ।

स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्।   आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्।   “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधै प्रतिबद्ध छ ।” यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमालाई ध्यान निर्देशन दिए। उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसहरूमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमकोे मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको बताए। बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारिता बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए। उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे।  

चितवन आउँदै प्रधानमन्त्री, अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गरिने

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउँदै छन् । उनी दिउँसो १ बजे चितवन आउँने कार्यक्रम रहेको  राष्ट्रिय खेलकुद परिषद् (राखेप) बागमति प्रदेशले जनाएको छ । चितवनमा प्रधानमन्त्री प्रचण्डले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० काे समुद्घाटन गर्ने छन् । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८०को समुद्घाटन  साँझ ४ः०० बजे राखिएको छ । खेल भरतपुरको  गौतम बुद्ध क्रीकेट रङ्गशालामा हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गरेर राष्ट्रिय खेलकुद परिषद् बागमति प्रदेशको आयोजनामा सो गर्न लागिएको  हो ।   

उपनिर्वाचन : आज दिनभर उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने छ ।  उम्मेदवारी  बदर गर्नुपर्ने कारणसहित बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । उपनिर्वाचनका लागि इलाम –२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन् । उता, बझाङ प्रदेशसभा– मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।