नाउपाका गण्डकी र बागमतीका अध्यक्ष पार्टीबाट निश्काशित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का गण्डकी र बाग्मतीका अध्यक्षहरु पार्टीबाट निश्कासनमा परेका छन् । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी हुन् ।
अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी छन् ।
पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको जनाइएको छ ।
सत्ता समीकरण नयाँ बनेसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति संस्थापक रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक चल्दै गर्दा रेशम पक्षका नेताहरुले रन्जिता पक्षका नेताहरुमाथि कुटपिट गरेका थिए ।
कुटिएका मध्ये एक रमेशले सोमबार नै पत्रकार सम्मेलन गरी आफूहरुमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए । रेशमले भने रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगिसकेको भावनात्मक प्रतिक्रिया दिएका थिए ।
कर्मचारी प्रशासनले काम गर्दा देश र जनताको हितलाई ध्यान दिनुपर्छ : मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देश र जनताको हितलाई केन्द्रमा राखेर कर्मचारी प्रशासनले काम गर्नुपर्ने बताएका छन्। मन्त्रालयमा आज आयोजित ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारी स्थायी सरकार भएकाले कर्तव्य, जिम्मेवारी निर्वाह गर्दा देश र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताए। विषयवस्तुमाथिको ज्ञान, क्रियाशीलता तथा तत्परताले जटिल कामलाई सम्पन्न गर्न सकिने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । विषयविज्ञताको हिसाबले केही अब्बल सचिवमध्ये सचिव सिग्देलको भूमिका मन्त्रालयमा महत्वपूर्ण रहेको मन्त्री बस्नेतले स्मरण गरे। विसं २०७९ फागुनमा जलस्रोत तथा सिँचाइ सचिवका रुपमा कार्यभार सम्हाल्नुभएका सिग्देल पछिल्लो तीन महिनादेखि ऊर्जा सचिवको भूमिकामा रहेका थिए। सरकारको पछिल्लो निर्णयअनुसार, उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सो कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले नयाँ जिम्मेवारी सफलतापूर्वक कार्यान्वयन गर्न सचिव सिग्देल सफल हुने विश्वास व्यक्त गरे।
वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकारलाई ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन्। सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् । उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।
प्रतिनिधिसभाबाट विद्युतीय व्यापार विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले विद्युतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरी बहुमतले पारित गरेको छ । सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई सोमबारको बैठकले पारित गरेको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले आ–आफ्नो राय राखेका थिए ।सो पश्चात विधयेक बहुमतले पारित गरेका हुन् ।
रेशम चौधरीको धम्की -'सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या हुन सक्छ!'
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पार्टीका संस्थापक रेशमलाल चौधरीले सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या समेत हुन सक्ने धम्कि दिएको उनकै पार्टीका केन्द्रीय सदस्यले बताएका छन् ।सो पार्टीका केन्द्रीय सदस्य समेत रहेका रमेश विश्वकर्माले चौधरीले आफूमाथि आक्रमण गरेको बताउँदै सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर–५ का वडाध्यक्ष बलवीर चौधरी समेत सहभागी थिए । “अनौपचारिक कुरा हुने क्रममा एउटा ढोकामा मात्रै चुकुल लगाइएको थिएन । त्यो घरबाट बाहिर निस्कने मेन ढोकामा बाहिरबाट बन्द गरेर ममाथि भौतिक आक्रमण भयो,” उनले पत्रकार सम्मेलनमा भने। सोमबार बिहान ८ बजे अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले संस्थापक केन्द्रीय समितिको बैठक बोलाएकी थिइन् । बैठकअघि अनौपचारिक कुराकानीका क्रममा विवाद हुँदा आक्रमण गरिएको विश्वकर्माले बताए । सरकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूहरू बालुवाटार जाने भनेपछि रेशमलालले पिट्ने चेतावनी दिएको उनले सुनाए । “आज प्रधानमन्त्रीलाई भेट्न जाने हो भन्दा यदि तिमीहरु बालुवाटार गयौ भने बालुवाटारबाहिरै पिट्छौँ भन्नुभयो । त्यसो भन्दा हामीले विरोध गर्यौँ,” उनले भने । सोही क्रममा रेशमलालले प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बनाएको विषय उठाउँदा कुटपिट गरिएको उनको भनाइ छ । “यहाँभन्दा पहिले २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ । तर, निर्वाचन आयोगमा अद्यावधिक गर्न जानु भएन । त्यहाँ पार्टी चुक्यो कि चुकेन भन्ने जवाफ कसले दिने भन्ने प्रश्न उठाएपछि ममाथि, केही केटा कसरी आए थाहा भएन । भौतिक आक्रमण गरे,” उनले भने । विश्वकर्माले लालवीर र बलवीरले आफूलाई जोगाएको बताए ।हिजो (आइतबार)पनि रेशमलालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढले हत्या गर्ने चेतावनी दिएकाले आफूले असुरक्षित महसुस गरेको उनले उल्लेख गरे । “हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा म, टीकापुर नगरपालिकाका मेयर साप, वडा नम्बर–४ र वडा–५ का अध्यक्षज्यू संयुक्त रूपले बसेका थियौँ । उहाँ (रेशमलाल चौधरी)ले सिधै के भन्नुभयो भने– यदि, सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरु चारैजनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज भौतिक आक्रमण हुँदा असुरक्षित छु कि भन्ने फिल गरेर पत्रकार सम्मेलन गर्न आइपुगेको हुँ,” विश्वकर्माले भने । त्यस विषयमा रेशमलालले सोमबार माफी भने मागेको उनले बताए। अध्यक्षसहित २० केन्द्रीय सदस्यमाथि कुटपिट, दुर्घटना वा केही भएमा त्यसको जिम्मेवारी चौधरीले लिनुपर्ने उनले बताए । हत्याको विषयलाई गम्भीर रूपमा लिन उनले पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए ।
भोलि समाजवादी मोर्चाले काठमाडौंमा अन्तरक्रिया
काठमाडौं । समाजवादी मोर्चाले भोलि वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणबारे वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो। कार्यक्रम मङ्गलवार दिनको एक बजे सुरु हुनेछ। समाजवादी मोर्चाको हिजो बसेको बैठकमा कार्यक्रमबारे छलफल भएको नेकपा प्रवक्ता प्रकाण्डले जानकारी दिए । मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन्।
नागरिक उन्मुक्तिको कार्यालयमा कुटाकुट
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटाकुट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो । टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण गरिएको बताए। पार्टीका अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले बोलाएपछि टीकापुरबाट काठमाडौं मिटिङमा आएका पाँचजना संस्थापन सदस्य उपस्थित हुँदै गर्दा रेशमलाल कै उपस्थितिमा कुटपिट भएको रामलाल डगौरा थारुले जानकारी दिए । नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् । सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ । रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् । रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन् । यस्तो छ लफ्डाको कारण बैठकमा टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत अध्यक्ष रञ्जिता श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप रेशम चौधरीले लगाएका थिए । सो आरोपपछि अध्यक्ष श्रेष्ठ आक्रोशित बन्न पुगेकी थिइन् । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको हो। अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका एक नेताले भने, ‘रेशमजी र उहाँका बुवाले अध्यक्ष रञ्जितामाथि आरोप लगाउन थालेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो, त्यसपछि दीप तामाङ र राजन गुरुङले झम्टिएर रमेश विक र रामलाल डगौरामाथि हातपात गर्नुभयो ।’ दीप तामाङ नाउपा बागमती प्रदेशका प्रमुख हुन् भने राजन गुरुङ केन्द्रीय पदाधिकारी तथा गण्डकी प्रदेशका नेता हुन् । उनीहरू रेशम चौधरी पक्षका नेता हुन् । रञ्जिता पक्षका रामलाल डगौरा टिकापुर नगरपालिकाका मेयर हुन् भने रमेश विक रञ्जिता श्रेष्ठका स्वकीय सचिव हुन् ।
संसदीय छानविन समिति बनाउन कांग्रेसको माग कायमै
काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी समस्या छानवीनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहो¥याएकी छन्। संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उनले आग्रह गरिन् । सोमबार प्रतिनिधि सभा बैठकमा समय माग गेर उनले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको आरोप समेत लगाइन् । उनले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताइन । उनले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको आरोप लगाइन्। उनले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालय पनि आफैँ भएर प्रस्तुत भएको टिप्पणी गरिन्। सांसद गौतमले गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको व्यङ्गय गरिन् । उनले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ भनेर त्रासमा रहेको आरोप लगाउँदै सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उनको भनाइ छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
चीनबाट फर्किए नारायणकाजी, भ्रमणको सकारात्मक परिणाम छिट्टै आउँने भनाई
काठमाडौं ।उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए। नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए। उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे। आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ।उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।
संसदका तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यतालिका
काठमाडौँ । सङ्घीय संसद् अन्तरगत तीन समितिको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ । संवैधानिक परिषद्बाट सिफारिस भएका रायाका विषयमा आजको बैठकले संसदीय सुनुवाइ अघि बढाउने छ । यस्तै, नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि आज बिहानका लागि बोलाइएको छ । बैठक ८ बजे सुरु भएको छ । यस्तै, राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजनाबारे छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौ । बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्।जम्कट्टेलले पुनः विश्वासको मत लिनै लाग्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफुले कम्तिमा एक मुख्यमन्त्री पाउनुपर्ने लगायतका नियुक्तिमा आफ्नो हिस्सा बलियो बनाउने गरी छलफल चलाएको छ । विभिन्न माग राखेर पुरा नभए बाग्मती प्रदेश सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको भएपनि विश्वासको मत दिने एक नेताले जानकारी दिए ।माधव नेपालका माग र विश्वासको मतबारे केन्द्रमा आज पनि छलफल हुने नेताहरुले बताएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ ।११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।
लिटरमै ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, आइतबार मध्यरातिदेखि लागू हुने
काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेलरमट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी लगानी रहेको कम्पनीलाई हालसम्मकै बढि मागदाबीसहित मुद्दा दायर
काठमाडौं । राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको हो। विभागले सो कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको हो।विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय मागदाबी गरी अभियोग दायर गरिएको यो पहिलोपटक हो। यो कम्पनीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नै नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ। कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको कम्पनी हो । अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ। आफूमा निहीत रहेको शेयर स्वामित्व परिवर्तन र सो बाट कम्पनीको नियन्त्रण परिवर्तन भएको विषय सम्बन्धित निकायमा जानकारी नदिई सो बमोजिम सिर्जना हुने कर दायित्व पूरा नगरेको विभागको दाबी छ। यसका साथै, नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको पनि विभागको आरोप छ । सोहीकारण साजयसहित बिगो र जरिवानासहित साढे १० अर्ब रुपैयाँ बराबरको भएको विभागको भनाइ छ ।
नेपाल ८ विकेटले विजयी
काठमाडौं। नेपालले भारतको स्टेट टोली गुजरातलाई ८ विकेटले पराजित गरेको छ । त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको हो । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो । ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे । नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १–१ विकेट लिए । त्यसअघि नेपालका तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा गुजरात सस्तैमा समेटिएको थियो । गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।
वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानको रकम सीमा तय
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानका रुपमा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने रकमको सीमा तय गरेको छ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अर्थसचिव कृष्णहरि पुष्करले सङ्घ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण तथा राजस्व र प्राकृतिक स्रोत उपयोग एवं बाँडफाँटको अवस्थाबारे समितिलाई जानकारी गराएका हुन् । उनका अनुसार वित्तीय समानीकरण अनुदानको कूल रु एक खर्ब ४८ अर्बमध्ये प्रदेशको लागि रु ६० अर्ब र स्थानीय तहको लागि रु ८८ अर्ब बाँडफाँट गर्ने निर्णय मन्त्रिपरिषद्ले गत बिहीबार गरिसकेको छ । त्यस्तै, प्रदेश र स्थानीय तहको लागि विशेष अनुदानतर्फ रु १२ अर्ब ९० करोड र समपुरक अनुदानको लागि रु १३ अर्ब २० करोड गरी कूल रु २६ अर्ब १० करोड छुट्टाइने भएको छ । प्रदेशका लागि विशेष अनुदानतर्फ रु चार अर्ब ४० करोड र समपूरक अनुदानतर्फ रु छ अर्ब २० करोड रहने अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै स्थानीय तहका लागि विशेष अनुदानतर्फ रु आठ अर्ब ५० करोड र समपूरक अनुदानतर्फ रु सात अर्ब विनियोजन गरिने भएको छ । समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजना छनौटको लागि प्रस्ताव आह्वान भई राष्ट्रिय योजना आयोगबाट छनौटको प्रक्रिया अघि बढिरहेको अर्थसचिव पुष्करले समितिमा बताए। सशर्त अनुदान भने सङ्घीय बजेट पेश भएपछि यकिन हुने जनाइएको छ । चालु आवको फागुन मसान्तसम्म प्रदेशतर्फ विनियोजन भएको सबै अनुदानको कूल रकम रु एक खर्ब अर्बमध्ये रकम रू ५४ अर्ब २० करोड अर्थात् ५१ दशमलव ५८ प्रतिशत हस्तान्तरण भइसकेको छ । त्यसैगरी, स्थानीय तहमा बिनियोजन भएको कुल अनुदान रकम रु दुई खर्ब ९५ अर्बमध्ये एक खर्ब ७७ अर्ब ३५ करोड अर्थात् ६० दशमलव ११ प्रतिशत हस्तान्तरण भइसकेको छ । चालु आवको फागुन मसान्तसम्म प्रदेशमा रु ३८ अर्ब र स्थानीय तहमा रु ३८ अर्ब गरी कूल रु ७६ अर्ब राजश्व बाँडफाँट भएको अर्थ मन्त्रालयले जनाएको छ । प्राकृतिक स्रोतबाट प्राप्त रकमको बाँडफाँटका लागि मन्त्रिपरिषद्ले गत फागुन ६ गते निर्णय गरिसकेको छ । जसअनुसार सङ्घीय सरकारले कूल रु तीन अर्ब १७ करोड ४२ लाख ३७ हजार रोयल्टी पाउनेछ । त्यस्तै, रोयल्टी बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई समान रु एक अर्ब ४५ करोड ३२ लाख ९७ हजार प्राप्त हुने जनाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको आधारमा अर्थ मन्त्रालयले आगामी आवको लागि निर्धारण गरेको कुल राजस्व रकम रु एक खर्व ५५ अर्ब मध्ये प्रदेश र स्थानीय तहका लागि समान रु ७७ अर्ब ५० करोड र स्थानीय तहको लागि रु ७७ अर्ब ५० करोड रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सुझाव सरकारले कार्यान्वयन गरेको अर्थसचिव पुष्करले बताए। रेडियो फ्रिक्वेन्सीबाट प्राप्त रकम वित्त आयोगबाट निर्णय भइ आइसकेको भए पनि त्यसको बाँडफाँट भने नभएको सचिव पुस्करले जानकारी दिए। “वित्तीय समनीकरण अनुदानको हिस्सा क्रमशः बढाउने तथा सशर्त अनुदानको हिस्सा घटाउदै लगिने र स्वीकृत वित्तीय समानीकरण अनुदानको हिस्सा विशेष परिस्थितिमा बाहेक नघटाउने नीति लिइएको छ”, अर्थसचिव पुष्करले भन्नुभयो, “वित्तीय सङ्घीयताको अनुभवको आधारमा पाँच वर्षे रणनीति बनाउने, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को परिमार्जन गर्ने र तीन तहका सरकारका बीच सार्वजनिक वित्त व्यवस्थापनमा तादाम्यता कायम गर्नेगरी मन्त्रालयले काम गरिरहेको छ ।”

