राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयमा मंगलबार सरुवा भएका तिवारीलाई आन्तरिक राजस्व विभागमा पठाइएको हो । यसअघि उनी ठूला करदाता कार्यालयका प्रमुखको रुपमा काम गरिसकेका छन्।

अहिले अर्थ मन्त्रालय आउनुअघि भने उनी वातावरण विभागका महानिर्देशकको रुपमा कार्यरत थिए। 

आन्तरिक राजस्व विभागको महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभागमा महानिर्देशक पद खाली थियो ।

त्यसैगरी अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरेको छ । मन्त्रालयले विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाएको हो ।

तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा ल्याइएको छ । 

अर्थ मन्त्रालयले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुख शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको हो ।

यस्तै, धनीराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुखका रुपमा सरुवा गरिएको छ । बजेट महाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ ।

परराष्ट्र मन्त्री श्रेष्ठको चिनियाँ समकक्षी वाङ यीसँग भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको छ । साथै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि दुवै नेताले प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

अमेरिकामा पानीजहाज पुलमा ठोक्किदा पुल भत्किएर गाडी र मान्छे खसे(भिडियोसहित)

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा एक मालवाहक पानीजहाजले पुललाई ठक्कर दिएपछि कयौँ मान्छे तथा सवारीहरु खसेका छन् । बीबीसीका अनुसार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको पातास्प्को नदीको पुलमा मालवाहक पानीजहाजले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो । दुर्घटनामा २० मान्छे र कयौँ सवारीहरु खसेको बताइएको छ । तर, कतिको हताहती भएको भन्नेमा भने कुनै सार्वजनिक तथ्यांक आएको छैन । मेरिल्याण्ड राज्यले दुर्घटनापछि संकटकाल घोषणा गरेको छ । तीन किलोमिटर लम्बाइको उक्त पुल बाल्टिमोरको प्रमुख राजमार्गको हिस्सा हो। सीएनएनका अनुसार ज्यादै चिसो मौसमको कारणले उद्दारमा कठिनाइ भइरहेको छ ।

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए। उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए। “आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।” उनले तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन दिर्नेशन दिए।  “मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।” उनले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए। सोह्रौं योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्‍याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।”

राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा बोल्दै उनले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होइन, धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मति दुवै भएको मान्छे चाहियो । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठीक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठीक गर्नैपर्छ ।’ महामन्त्री थापाले कांग्रेसभित्र पनि मति बिग्रेका नेताहरू भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने आवशयकता औंल्याए ।

लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्का भ्रष्टाचारी ठहर

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद सजाय सुनाएको हो । खड्कालाई विशेष अदालतले १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि तिराउने फैसला पनि गरे‍को छ। यस्तै, अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवाना सुनाएको छ। त्यसैगरि लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना गर्ने फैसला भएको छ। अदालतले सामान ल्याउने ठेकेदार कम्पनी सञ्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवानाको फैसला भएको छ। पालिकामा विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमध्ये पाँच जना दोषी ठहर भएका हुन्। अरु २२ जनाले भने सफाइ पाएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनअगाडि खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि नेपाली कांग्रेसका प्रवेश गरेका थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।  बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

गैरहाजिर यी २३ प्रहरीलाई खोज्दै प्रहरी प्रधान कार्यालय

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ ।  आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।  गैरहाजिर हुनेमा प्रहरी सहायक निरिक्षकदेखि कार्यालयसहायसम्म छन् । तोकिएको समयसीमाभित्र हाजिर नभए सेवाबाट हाइने सूचनामा उल्लेख छ । 

गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित, अमेरिका अनुपस्थित

ऐजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले अमेरिकाको उपस्थिति बिना नै रमजानको समयमा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ।   संयुक्त राष्ट्र सुरक्षा परिषद्को सोमबार (मार्च २५)मा बसेको बैठकले इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्ध रमजानको महिनामा भरका लागि रोक्ने र युद्धमा बन्धक बनेका सबैको बिनाशर्त रिहाइ गर्ने गरी तत्काल युद्धविराम गर्न आह्वान गरिएको प्रस्ताव पारित गरेको हाे।  यूएनएससीकाे प्रस्ताव १४ काउन्सिल सदस्य राष्ट्रहरूले पक्षमा मतदान गरेसँगै पारित भएको छ । जसमा  संयुक्त राज्य अमेरिका अनुपस्थित थियो। यसअघि अमेरिकि प्रस्ताव रूस र चीनले भीटो लगाएपछि अस्वीकृत भएको थियो । त्यसपछि रूस, चीन, अल्बानिया लगायत दस वटा देशले वेकल्पिक प्रस्ताव तयार गरे । उक्त प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषद् बैठकले पारित गरेको हो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले प्रस्ताव तत्काल लागू गर्न अपील गर्दै पालना नगरे अक्षम्य हुुने बताएका छन् ।

अब नेपाल संवत् सफ्टवेयर र एपबाट पनि हेर्न सकिने

काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका हुन् ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल संवत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ।”  सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।  उनले यो सफ्टवेयरबाट नेपाल संवत्सँगै विक्रम संवत् र इस्वी संवत्को सयौं वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवं तिथी हेर्न सकिने जानकारी दिए । वर्तमान सकारले नेपाल संवत्लाई अनिवार्य रुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।

प्रदेश सरकार र उपनिर्वाचनबारे शीर्ष तीन नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच प्रदेश सरकारको समीकरण र आगामी बैशाख १५ मा हुने उपनिर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको अनौपचारिक भेटमा १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको बताइएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा दुई सदस्यको पद अझै खाली छ । नेताहरूको भेटवार्तापछि सोमबार नै प्रधानमन्त्री प्रचण्डले जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइसकेका छन् । मन्त्रिपरिषद् अब २३ सदस्यीय बनेको छ । अब सरकारमा दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ । शीर्ष नेताहरुबीचको छलफलमा आगामी १५ वैशाखमा इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका विषयमा पनि छलफल भएको छ । नेकपा एमालेले दुवै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारबारे निर्णय लिन बाँकी छ । नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्नेबारे पनि शीर्ष तीन नेताको अनौपचारिक छलफल भएको छ ।

दुर्गा प्रसाईंको बीएण्डसी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डाक्टर कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । सर्वोच्च अदालत प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ ।’  आदेशको प्रति पाइनसकेको भन्दै उनले निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिने बताए ।  विस्तृत विवरण आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा हुने उनको भनाई छ ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अविजित ३७ रन जोडे। उनले ३२ बलमा चार चौका प्रहार गरेका थिए । ३७–३ को अवस्थाबाट भुर्तेलले सन्दीप जोरासँग ५४ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पु¥याएका थिए ।  ७.२ ओभरमा व्यक्तिगत एक रनमा क्याच हुनबाट बचेका सन्दीपले ३५ बलमा तीन चौका र दुई छक्कासहित ३६ रन बनाए । यसबाहेक, दीपेन्द्रसिंह ऐरीले अविजित २० रन थप्दा ओपनर आसिफ सेखले १६ रन जोडे । कप्तान रोहितकुमार पौडेल भने ‘डक’ भए । गुल्सनकुमार झाले टिमको खातामा चार रन थपे।  आयरल्यान्ड वुल्भ्सका ग्यारेथ म्याकार्थीले दुई विकेट लिए । बेन ह्वाइट र थोमस मायेसले समान एक विकेट लिए ।  त्यसअघि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रनको योगफल खडा गरेको थियो । आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले ४६ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । लियम म्याकार्थीले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए । थोमस मायेसले १६ र फियोन ह्यान्डले ११ रन थप्दा आयरल्यान्ड वुल्भ्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  नेपालका ललितनारायण राजवंशी, गुल्सन र कुशल भुर्तेलले समान दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।  नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ । आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन्।  प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका हुन्।  “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्री प्रचण्डले भने, “असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कही कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।” नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए। “राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,” प्रधानमन्त्रीले भने, “हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।”   जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए। तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आईपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भईसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सन्तोषजनका भएको बताए । उनले  पूँजीगत खर्चमा ध्यान दिन पनि आग्रह गरे ।

सेवा निवृत्त १२ सचिवको बिदाइ

काठमाडौं । सेवा निवृत्त सचिवहरूको आज बिदाइ गरिएको छ ।सिंहरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त भएका १२ सचिवलाई दोसल्ल ओडाएर सम्मान गरेका हुन् । सेवा निवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा.दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ, केवलप्रसाद भण्डारीलगायत रहेका छन्।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने बताए ।सेवा निवृत्त सचिव गुरागाइँले आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरीकन निरन्तर राष्ट्रको सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गरे। उनले आगामी दिनमा पनि प्रत्यक्ष र अप्रत्यक्षरूमा देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। 

टिआरसी विधेयक अन्तिम चरणमा :  मन्त्री गिरी

पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी)विधेयक अन्तिम चरणमा पुगेको बताएका छन्। महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै  टुङ्गो लगाइने बताए। उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिए। मन्त्री गिरीले भने, “विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ।” खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरु सहमत भएको उनले बताए। अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने उनले बताए। विधेयक पास भैसकेपछि कतैबाट विरोधका स्वरहरु ननिस्किुन भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने समेत मन्त्री गिरीले बताए । त्यस अवसरमा उनले कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा समेत राखे । कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको उनको भनाइ छ । कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश सङ्घीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे ।उनले बदलिँदो परिवेश अनुसार कानुन बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको बताए। सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने धारणा राखे । मन्त्री गिरी आइतबारदेखि दक्षिण पर्वतको पैँयू, विहादी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा जनसंवादमा सरिक भएका छन् ।