पछिल्लो २४ घण्टामा २२ सय ९९ जनामा कोरोना संक्रमण, थप ३४ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यो अवधीमा कोरोना संक्रमणबाट थप ३४ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३ सय ९१ जनामा र एन्टिजेन विधिबाट ९ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७ सय ५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप ३४ सय ५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत छ । हाल २६ हजार ३ सय ३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६ सय ३२ जना आइसीयू र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै हालसम्म ९ हजार १ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको  मन्त्रालयले जनाएकाे छ।

 

एमाले केन्द्रीय कमिटी बैठक जारी, नेपाल पक्षलाई सर्वोच्चको निवेदनबाट २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । यसअघि महाधिवेशन आयोजक कमिटीको बैठककै निरन्तरताका रुपमा बोलाइएको बैठक माधव नेपाल पक्षले भने बहिस्कार गरेको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् । माधव नेपाल पक्षले आफ्ना माग पुरा नभएको र सहमतिको सम्भावना भइरहेको बेला बैठक बोलाएको भन्दै आज अनुपस्थिति जनाएको हो । आजको बैठकले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन निवेदनबाट माधव नेपाल पक्षले हस्ताक्षर लिनुपर्ने निर्णय समेत गरेको सार्वजनिक भएको छ । बैठकअघि खनाल–नेपाल समूहका नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । हिजो हाम्रो समूहले जे निर्णय गरेको त्यसले एकतालाई प्राथमिकता दिने भनेको छ । एकताको लागि हामीले सकारात्मक ढंगले प्रयत्न गरिराखेको छौं लगभग निष्कर्षनजिक पुगेका छौं । यस्तो अवस्थामा आज एकपक्षिय बैठक राख्ने कुराले माहोल बिग्रन्छ । बैठक स्थगन गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ बालुवाटार पुगेका एक नेताले भने, ‘कार्यदलको औपचारिक वार्ता गरेर एकाध दिनमा निर्णयमा पुग्ने र माधव नेपालसहित सहमति गरेर पार्टी एकढिक्का बनाउँ भन्ने प्रस्ताव पनि राख्यौं । उहाँले हाम्रा कुरा सुन्नु भयो र साथीहरुसँग सल्लाह गर्छु भन्नु भएको छ ।’ उक्त भेटमा महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि सहभागी रहेको ती नेताले बताए । तर, नेपाल पक्षले स्थगित गर्न आग्रह गरे पनि बैठक जारी छ ।

नेपालमा पनि देखिएको डेल्टा भेरिएन्ट विश्वका ९६ देशमा देखियो, द्वारा चेतावनी जारी

काठमाडौं । नेपालमा पनि भेटिएको कोरोनाका डेल्टा भेरिएन्ट संसारभरी फैलिन थालेको छ । अहिलेसम्म यो भेरिएन्टको संक्रमण ९६ देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले डेल्टा भेरिएन्टले विश्वमा नयाँ खतरा थपेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ । संगठनका अनुसार, आगामी केही महिनामा भाइरसको असर झनै बढ्न सक्छ । बेलायतमा भेटिएको अर्को अल्फा भेरिएन्ट भने अहिले सम्म १७२ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्टले अर्थतन्त्रमा समेत खतरा उत्पन्न गरेको भन्दै रोकथामका लागि स्थानीय उपायमा जोड गर्न अपील गरेको छ । लामो समययसम्म सुरक्षा उपाय अपनाउनुपर्ने संगठनको सुझाव छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज

काठमाडौं । क्रियाशील सदस्यता टुंगो लगाउन नसकेको कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । यसअघि बिहिबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित बनेको थियो । क्रियाशील सदस्यताको काम पुरा गर्न नसक्दा कांग्रेसको महाधिवेशको तयारी प्रभावित भएको छ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति विफ्रिङ गर्न बैठक बोलाइएको हो ।’ महतले भन्नुभयो । बैठकमा क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड बनाउने तयारी पनि छ । हिजो नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका हुन् ।

ओली र नेपालबीच केन्द्रबीच बैठकअघि ​भेट हुनसक्ने, टेलिफोनमा भयो कुराकानी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय कमिटी बैठकअघि भेट हुने सम्भावना बढेको छ । एमालेले आज केन्द्रीय कमिटी बोलाएपनि माधव नेपाल पक्षले भने बैठक बहिस्कार गर्ने बताइसकेको छ । यसअघि बिहिबार ओली र नेता नेपालबीच कुराकानी भएको थियो। बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्। दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राखेका छन्। तर उक्त बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको छ। एमाले नेता शेर बहादुर तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक गरिने उनले जानकारी दिए। नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए। कुराकानीलाई निरन्तरता दिने पनि उनको भनाइ छ। आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आफूहरूले माग गरिएको पनि आचार्यले बताए। ‘बैठक स्थगित गरियो भने पार्टी एकताका लागि राम्रो सन्देश जान्छ। हामीले बैठक सार्न भनेका छौं यदी बैठक सरेन र बस्यो भने त त्यो गुटको बैठक हुन्छ र त्यो बैठकको के अर्थ छ र?,’ उनले भने। आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।

एम्बुलेन्समाथि पहिरो खस्दा एकको मृत्यु, एकजना घाइते

पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

पछिल्लो २४ घण्टामा २७ सय ६० जनामा कोरोना संक्रमण, ३३ को निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै यो अवधीमा कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३० जनामा गरिएको पिसिआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार १७ रहेको छ ।

विद्यार्थी संगठनहरुले जलाए प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत बिभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रतिगमन भाग २ विरुद्ध आन्दोलन अभियानमा जोडिएका अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, माधव नेपाल समूहको अनेरास्ववियू, जसपा निकट विद्यार्थी संगठन र अखिल छैठौंले संयुक्तरुपमा पुत्ला दहनमार्फत बिरोध प्रदर्शन गरेका हुन । राजधानीको रत्नराज्य क्याम्पस अगाडि भएको पुत्ला दहन कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामांगलगायतको उपस्थिति रहेको थियो ।

सवारी लाइसेन्स लिन चाहनेका लागि आयो यस्तो खबर

काठमाडौं । सवारी साधनको इजाजत पत्र लिन पर्खाइमा बसेकाहरुलाई खुसीको खबर छ । कोरोना महामारीका कारण रोकिएको लाइसेन्स लिने प्रक्रिया शुरु हुने भएको छ । यातायात व्यवस्था विभागले निषेधाज्ञाका कारण रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा लिने तयारी गरेको हो । हाल देशभरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या चार लाख भन्दा धेरै छ । यो संख्या गत पुस २९ देखि निषेधाज्ञा अघिसम्म देशभरका यातायात कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो । निषेधाज्ञा पूर्ण रूपमा खुल्नेबित्तिकै सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिनेहरूको परीक्षा लिने तयारी विभागले गरेको महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।

राष्ट्रिय सभामा सरकारले १२ अध्यादेश पेश गर्दै, विपक्षी दलहरुले विवादित अध्यादेशको बिरोध गर्ने

काठमाडौं । राष्ट्रिय सभाको आजदेखि सुरु हुने बैठकमा सरकारले बिभिन्न विषयसँग सम्बन्धित १२ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ । यीमध्ये कतिपय अध्यादेश विवादित रहेका छन् । ् विपक्षी दलहरुले अदालतमा प्रवेश गरेका र अन्य विवादित अध्याधेशहरुको बिरोध गर्ने रणनीति बनाएका छन् । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एमालेका ३२ सांसद छन् । माओवादी केन्द्रका १५ जना सांसद छन् । यस्तै कांग्रेसबाट ७ जना छन् भने जसपाबाट ५ सांसद छन् । एमालेका ३२ सांसदमध्ये २४ सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने ८ सांसद माधव नेपाल पक्षका छन् । सरकारले सभामा प्रस्तुत गर्न लागेका अध्यादेश –संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ –शपथ सम्बन्धी अध्यादेश, २०७८ –नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ –बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ –नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८ –सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ –तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ –फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ –यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ –स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ –कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ –औषधि तेस्रो संशोधन अध्यादेश, २०७८

इजलासमा प्रधानन्यायाधीशको प्रश्नः १ ४९ सांसदको समर्थन लगेर देउवाले के चाहिँ गल्ती गरे ?

काठमाडौँ — प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा चलिरहेको सुनुवाईका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिप्रश्न गरेका छन् । जबराले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले कांग्रेस, माओवादी र अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती भयो भनी प्रश्न गरेका हुन् । ‘प्रतिनिधिसभामा दलको मात्र उपस्थिति हुँदैन, अन्य उपस्थिति पनि संविधानले स्विकारेको छ । त्यस कारण संविधानको धारा ७६ को उपधारा ५ र २ को दल र स्वतन्त्रको समर्थन भनेर व्याख्या भइरहेको छ, अलि प्रस्ट गरिदिनुस् है,’ खरेललाई प्रधानन्यायाधीश जबराले सोधे, ‘दलबाटै चाहियो कि अरूबाट पनि समर्थन हुन सक्छ ? शेरबहादुर देउवाले दाबी गर्दा पार्टी, अन्य सांसदसहित १ सय ४९ जनाको हस्ताक्षर लिएर दाबी गर्न जानुभयो, यसमा शेरबहादुर देउवाले के गल्ती गर्नुभयो ?’ प्रधानमन्त्री केपी शर्मा ‌ओलीका तर्फबाट संवैधानिक इजलासमा बहसका लागि आएका एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले बहस गरिरहेकाे बेला उनले यस्तो प्रश्न गरेका हुन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको व्यवस्थालाई उक्त धाराको उपधारा २ सँग तुलना गर्दा स्वतन्त्र सांसदलाई अवसर नहुने प्रधानन्यायाधीशको भनाइ थियो । ‘देउवाको हकमा दुई पार्टीको समर्थन भयो, अरू स्वतन्त्र रूपमा गए,’ जबराले भने । संविधानको धारा ७६ को उपधारा ५ र २ अनुसार प्रधानमन्त्री दलको समर्थनमा मात्रै हुने भनी विपक्षीले बहस गरिरहेको भन्दै प्रधानन्यायाधीशले खरेललाई ती दुई व्यवस्थामा भिन्नता के हो भनेर व्याख्या गर्न पनि भनेका थिए । देउवाले दाबी गर्दा माओवादीको संसदीय दलको निर्णय चाहिने तर अरुको हकमा त्यो नहुने हो ? भन्ने प्रश्न गर्दै खरेलले दल त्यागसम्बन्धी ऐनको व्यवस्था र संविधानको धारा ७६ को उपधारा २ जस्तै भएको दाबी गरेपछि प्रधानन्यायाधीशले फेरि भने, ‘संविधानका सबै धारा स्वतन्त्र हुन्छन् । धारा ७६ को उपधारा ५ पनि स्वतन्त्र हो । संसारमा नभएको व्यवस्था हो भनेर दुवै पक्षले भनिरहेका छन् । स्वतन्त्र धारा हो भनिरहेका बेला यसमा अन्य ऐन जोडेर हुन्छ ?’ खरेलले धारा ७६ को उपधारा २ मा दलको समर्थन लिनुपर्ने भनेको तर उपधारा ५ मा जो सांसद जता लागे पनि हुन्छ भनेर संविधानमा नलेखिएको बताएपछिइजलासमा जबराले सोधे–‘उपाधार ५ को ब्यवस्था, जस्तो अहिले संसदमा ४ जना स्वतन्त्र हुनुहुन्छ । तर, दलको समर्थन अनिवार्य हुँदा उहाँहरुले अवसर पाउनुभएन ? स्वतन्त्र सांसदको भुमिकामा हुनेहरुको हकमा उपधारा ५ ले स्वतन्त्र रुपमा आउने अवसर दिएको छ की छैन ? शेरबहादुर देउवाको हकमा दुई पार्टीको हकमा समर्थन भयो अरु स्वतन्त्र रुपमा गए, उपधारा ५ र २ को व्यवस्थामा भिन्नता चाहिँ केहो ?’ खरेलले धारा ७६ (३) अनुसारका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइकन ७६ (५) मा जान सक्ने जिकिर गरेका थिए । उनले भने, ‘धारा ७६ (४) अनुसार मत पाउने ग्राउन्ड छ की छैन भनेर टेष्ट गरिराख्नु पर्दैन । दलहरुले मत दिने छाटकाट नदेखाएपछि मत लिन्न भनेर मार्गप्रशस्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई अर्को सरकार गठनका लागी आग्रह गर्नुभएको छ ।’ प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ जनाले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा बिहीबार पनि निरन्तर सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन व्यवसायीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको बचाउमा बहस गरिरहेका छन् ।

राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाएकी छिन् । । प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकतामा सीमित हुने देखिन्छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको थियो । आजबाट हुने आठौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनको सवै तयारी पूरा भएको र अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने बताए । राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको एन्टिजेन परिक्षण गरिएको छ ।

पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु

तनहुँ । पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए । त्यस्तै गरी शुक्लागण्डकी नगरपालिका–९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ । स्थानीय खगिसरा भुजेलको दुई वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यस्तै छाक्दी खोलामा आएको बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि बुद्धसिंह मार्ग अवरुद्ध भएको छ । Photo: Symbolic Only

काठमाडौंलगायत देशका बिभिन्न भागमा भारी वर्षा, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । आज देशभरको मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा ठूलो तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलो र धेरै ठूलो वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुमा भुक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सुरक्षित रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै महाशाखाले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ असार १७ गते (बिहीबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलाे वर्षा तथा थोरै स्थानहरुमा धेरै ठूलाे वर्षाको सम्भावना रहेको छ । २०७८ असार १८ गते (शुक्रबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलाे/ धेरै ठूलाे वर्षाको सम्भावना रहेको छ । २०७८ असार १९ गते (शनिबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलाे/ धेरै ठूलाे वर्षाको सम्भावना रहेको छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यता विवाद हल गर्न नयाँ मापदण्डबारे छलफल हुने

काठमाडौं । क्रियाशील सदस्यताका बारेमा देखिएको विवादबारे सहमतिमा पुग्न कांग्रेस पदाधिकारी बैठक बस्न गइरहेको छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले क्रियाशील सदस्यतामा देखिएको पछिल्लो विवादबारे मापदण्ड निर्माण गर्नसक्ने बताइन्छ । आजको बैठकमा सभापति देउवालगायतका नेताहरुले सदस्यता छानबीन सदस्यसँग छलफल गर्नेछन् । कांग्रेसमा क्रियाशील सदस्यताको विवाद कायमै रहेको कारण आसन्न महाधिवेशनको तयारी प्रभावित बनेको छ । सदस्यता टुंगो नलागेको कारण वडादेखिका सम्मेलनको प्रक्रिया शुरु हुन सकेको छैन । कार्यतालिका अनुसार, कांग्रेसले असार मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउनुपर्ने छ । तर मापदण्ड नहुँदा छानविन समितिले निर्णय लिन सकेको छैन । क्रियाशील सदस्यताको कामले गति नलिँदा बारम्बार सर्दै आएको काँग्रेस महाधिवेशन पछिल्लो समय भदौँ १६ गतेका लागि तय गरिएको छ ।

राष्ट्रपति सी जिनपिङद्वारा चीनलाई दमन गर्न खोज्नेको टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने चेतावनी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई दमन गर्न खोज्नेको ‘टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने’ चेतावनी दिएका छन् । चीनले कसैलाई थिचोमिचो नगर्ने बताउँदै उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले झन्डै एक घण्टासम्म सम्बोधन राखेका हुन् । उनले चीनको विकासमा कम्युनिष्ट पार्टीको मुख्य भूमिका रहेको भन्दै यसलाई जनताबाट अलग गर्न खोज्ने प्रयास असफल हुने बताए । उनले कसैलाई पनि चीनविरुद्ध दमन गर्ने मौका नदिने बताए । बेइजिङको तियानान्मेन स्क्वायरमा झन्डै ७० हजारजना वर्षगाँठ मनाउनका लागि भेला भएका छन्, उनीहरुमध्ये धेरैजनाले मास्क लगाएका छैनन् । चीनमा कोरोना भाइरसको प्रभाव खासै नरहेकाले उनीहरु स्वतन्त्र हिडिंरहेका छन् । बिहीबार बिहानको समारोहमा सैनिक जेट उडाइएको, तोप पड्काइएको र राष्ट्रवादी गीतहरु बजाइएको थियो । १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) गठन भएको थियो । लामो गृहयुद्धपछि १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो । त्यसयता देशमा ठूलो परिवर्तन भइसकेको छ । सोमबार बेइजिङस्थित बर्ड नेस्ट रंगशालामा ‘ग्रेट जर्नी’ नामक नृत्य प्रस्तुती पेश गरिएको थियो, यस प्रस्तुतीले चिनियाँ इतिहास झल्काउथ्यों ।