राष्ट्रिय हितका लागि सबै दल एक हुनुपर्छः ओली
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ नं वडा कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए ।
सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी रहेको उनले बताए । विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी रहेको उनको भनाई छ ।
अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहज रूपमा सेवा पाउनुपर्ने बताए ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गरे ।
आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेका छन् ।
उदयपुरमा बोलेरो दुर्घटनाः ६ जनाको मृत्यु, ८ घाइते
काठमाडौं । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते पनि भएका छन्। धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बोलेरोमा १४ जना सवार रहेका थिए। ति मध्ये ६ जनाको मृत्यु भएको खबर आएको र उद्वारको काम भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एम्बुलेन्ससहित प्रहरी पुगेको छ। दुर्घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ।
सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी)नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आश्विन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ । आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको छ । विभागीय कारबाही, सीडीआर डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समेटिएको छ । प्रतिवेद बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने उनले बताए । कमजोरी गर्ने जुनसुकै निकाय र व्यक्तिविरुद्ध कारबाही हुने गृहमन्त्री लामिछानेले बताएको उनको सचिवालयले जनाएको छ । विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने गृहमन्त्री लामिछानेको भनाइ छ । आयोगमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्ष, पूर्वएआईजी सहकुल थापा र पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य थिए । आयोगलाई पुस १६ सम्म काम सक्न समय तोकिएको थियो । सुरुवातमा तीन महिनाको कार्यावधि दिइएको आयोगका लागि सरकारले गत पुसमा दुई महिना म्याद थप गरेको थियो । थपिएको दुई महिनामा समेत काम पूरा नभएपछि फागुन १४ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः फागुन मसान्तसम्म म्याद थप गरेको थियो । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान दायरामा ल्याएका ३३ जनासँग बयान, विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग रायरपरामर्श एवं केही भन्सार क्षेत्रको निरीक्षण र कागजात अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो । भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको पुष्टि सीआईबीले गरिसकेको छ । त्यसकै आधारमा दायर मुद्दा यतिबेला जिल्ला अदालतमा विचाराधीन छ। भेप र ब्रेक सु प्रकरणमा शक्तिशाली आयोग गठन गरी संलग्नमाथि कारबाही गर्नुपर्ने अडान एमालेसहितका विपक्षी दलहरूले राखेपछि प्रहरीले अनुसन्धान जारी राखेकै बेला आयोग बनेको थियो । त्यसबीच सीआईबीले साढे ३ क्विन्टल बढी सुन तस्करीको तथ्य बाहिर ल्याउनुका साथै ब्रेक सु र भेप प्रकरणमा २१ नेपाली र ९ विदेशीलाई अनुसन्धानको दायरामा ल्याएको थियो । आयोगले सुन तस्करी प्रकरणमै भन्सारका कामकारबाही र संरचनाबारे केही ठूला नाकामा पुगेर स्थलगत निरीक्षण गरेकोमा अधिकांशमा यान्त्रिक उपकरण बिग्रिएको अवस्थामा भेटिएका छन् । विमानस्थल भन्सारमा जडान गर्न २० वर्षअघि ल्याइएको स्क्यानर जडान नै नगरी खिया लागेर बिग्रेको अवस्थामा फेला परेको छ । रसुवागढी नाकामा एक्सरे मेसिन बिग्रेको अवस्थामा भेटिएको छ । सिन्धुपाल्चोकको तातोपानी नाकामा कुनै पनि उपकरण नै नराखेको भेटिएको छ । विराटनगर भन्सारबाट बाहिरिने मानिस र सवारीसाधन कसैलाई पनि सामान्य जाँच र सोधपुछ पनि नहुने गरेको पाइएको छ भने वीरगन्ज सुक्खा बन्दरगाहमा पनि चीनले २० वर्षअघि अनुदानमा दिएको भेहिकल एक्सरे मेसिन बिगारेर थन्क्याएको भेटिएको छ । विमानस्थलसहित रसुवागढी र तातोपानी नाकाबाट भित्रिने अवैध सुनको ठूलो हिस्सा गिरोहले स्थलनाका हुँदै भारतसम्म पुर्याउने गरेको भेटिएको थियो ।
जलवायु परिवर्तनका असर सम्बोधन गर्न बृहत् रणनीति आवश्यक : प्रधानमन्त्री
'प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि बृहत् रणनीतिको आवश्यकता औंल्याएका छन।'
विश्व मिर्गौला दिवस : दुई पटक मिर्गौला प्रत्यारोपण गरेका केपी ओलीको यस्तो छ सुझाव
काठमाडौं। आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका सामाजिक सञ्जाल फेस्बुक मार्फत केही सुझाव दिएका छन् । दुई पटक मिर्गौला प्रत्यारोपण गरेका उनले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्– 'मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ। मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !'
तीन प्रदेश प्रमुखद्धारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुख नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मधेस प्रदेशको प्रमुखमा झापाकी सुमित्रा सुवेदी, भण्डारी गण्डकी प्रदेशको प्रमुखमा कैलालीका डिल्लिराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा अर्घाखाँचीका नाजिर मियालाई नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को फागुन २८ को निर्णयबाट सिफारिस भएका तीनै जनालाई नियुक्तिसँगै राष्ट्रपति पौडेलले शपथ गराएका छन् । नेपाली कांग्रेस सरकारमा हुँदा नियुक्त भएका मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई हटाएर सरकारले नयाँ नियुक्ति सिफारिस गरेको थियो ।
नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा लाग्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्ण रूपले खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन्।विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सत्तासहयात्री दललगायत सम्पूर्ण राजनीतिक दलमा आबद्ध र स्वतन्त्र रूपमा क्रियाशील सांसदप्रति आभार प्रकट गर्दै सो प्रतिबद्धता जनाएका हुन्। ‘प्रतिनिधिसभाबाट विश्वासको मत दिनुहुने सत्तासहयात्री दलगायत सम्पूर्ण राजनीतिक दलमा आबद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमा सबैप्रति आभार प्रकट गर्दै लेखेका छन्, ‘तपाईंहरूबाट प्राप्त यो विश्वास संसदमा विश्वासको मत लिनुपूर्व मैले वाचा गरेअनुरूप नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्ण रूपले खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु।’ बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँचदलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्रीको पक्षमा एक सय ५७ मत पर्यो भने विपक्षमा एक सय १० मत परेको थियो।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
आजको प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ जना मध्ये प्रधानमन्त्री प्रचण्डले पक्षमा १५७ मत प्राप्त गरे भने ११० सांसदहरुले विपक्षमा मत हाले । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।
विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका छन्। विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरेका हुन्। “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।” राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताए । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताउनुभयो । उहाँले ‘सबै पक्षबाट व्यक्त विचार र भावनालाई सम्मान गर्छु’ प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमाले मिल्दैमा आफ्नो दल नडराउने र स्वभाविक रुपमा प्रतिपक्ष दलमा बस्ने बताए । उनले भने,‘हामी ठुला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजोपनि आजपनि भनियो, मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ । तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ ? नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईँहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? त्यस्तो हुँदैन ।’ उनले को राजनीतिक दल कोसँग मिल्ने भन्नका लागि स्वतन्त्र रहेको बताउँदै समर्थन विरोध गरी गरी समर्थन नगर्न आग्रह गरे । समर्थन गर्ने भए पुरै समर्थन र विरोध गर्ने भए पुरै विरोध गर्न उनको आग्रह थियो ।
उपाधी भिडन्तमा पीएनजीसँग नेपालको लज्जास्पद हार
काठमाडौं। नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन जोड्दा अन्य कुनै पनि ब्याट्स्मेनले दोहोरो अंक जोड्न सकेनन् ।
कांग्रेसले प्रधानमन्त्री, उपप्रधानमन्त्रीको अफर गर्दै हिडिरहेको छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कांग्रेसले प्रधानमन्त्री, उपप्रधानमन्त्रीको अफर गर्दै हिडेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताए। उपाध्यक्ष वाग्लेले कांग्रेसले रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए । उनले कांग्रेसलक्षित गर्दै उनले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् कि भन्ने डरले हिँडिरहनुपरेको बताए। उपाध्यक्ष वाग्लेले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको जानकारी दिए। उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वाभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए। उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । उनले नेपाली कांग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न समेत गरे ।
अहिलेको गठबन्धनमा गोत्र मिलेको छ : महिन्द्रराय यादव
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले नेपाली कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको बताएका छन् । उनले धेरै लामो समयसम्म उक्त गठबन्धनमा बसेको भए माओवादी क्षयीकरणको बाटोमा जाने खतरा समेत समेत रहेको उनले बताए । बुधबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रममा उभिएर बोल्दै उनले अहिलेको गठबन्धनको गोत्र पनि मिलेको दाबी गरे । कांग्रेस यथास्थितिवादी पार्टी भएको र माओवादी अग्रगामी परिवर्तनकारी पार्टी भएको भन्दै उनले कांग्रेसका कारण माओवादीलाई नोक्सान भएको जिकिर गरे । “विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,” उनले भने । अहिलेको गठबन्धन संविधान संशोधन र देशमा भएका तमाम समस्या समाधान गर्न बनेको पनि उनले दाबी गरे । “गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ,” उनले भने । कांग्रेससँग माओवादी नमिलेको भए ५२ सिट जित्ने दाबी उनले गरे ।
प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्यौं भने मात्रै उहाँलाई न्याय गर्छौं : स्वर्णिम वाग्ले
काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँमाथि न्याय हुने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् । उनले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लिगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ । त्यसैले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँलाई न्याय हुन्छ ।’ उनले सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झिरहने बताए । ‘सशस्त्र द्वन्द्वको विधिप्रति मेरो विमति थियो र छ । तर, यो देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झनेछ,’ उनले भने । प्रधानमन्त्री जीवनको उत्तरार्धमा आफ्नो ‘लिगेसी’बारे बढी चिन्तित रहेको पनि चर्चा गरे । ‘एउटा औसत नेताले त छविको चिन्ता गर्छ, म केका लागि चिनिन चाहन्छु भन्ने राजनीतिको अहं प्रश्न हुन्छ । संघर्षपूर्ण राजनीतिबाट उदाएको नेताले त जीवनको उत्तरार्धमा आफ्नो लिगेसीबारे खोजी गर्छ, विचार पुर्याउँछ । प्रधानमन्त्री त्यसैमा बढी चिन्तित देखिनुभएकोले हामीले साथ दिएका हौँ ।’ देशमा केही राम्रो गरौं भन्ने कुराले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको पद मात्रै जोगाएर मात्रै बस्न नचाहेर अर्थतन्त्र सवल बनाउन गरेका बारम्बारका छलफल र बेचैनीलाई देखेर केही राम्रो गरौं भन्ने उदेश्यले गठबन्धन गरिएको बताए ।
सरकारको गियर बढाउन गठबन्धन परिवर्तन गरे : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गर्ने कामको गियर बढाउन गठबन्धन परिवर्तन गरेंको बताएका छन् । संसद बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश विकासको लागि सरकारको टिम परिवर्तन गर्न आवश्यक रहेकोबारे धेरैपटक गठबन्धनमा छलफल भएको तर त्यसप्रति चासो नदिइएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ । टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । र सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनः गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’
पिएनजी विरुद्व नेपाललाई १७२ रनको लक्ष
काठमाडौं । पपुवा न्यु गिनीविरुद्ध हङकङमा त्रिकोणात्मक शृंखलाको फाइनल खेलिरहेको नेपालले जीतका लागि एक सय ७२ रनको लक्ष पाएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि निर्धारित २० ओभरमा पपुवा न्यु गिनीले आठ विकेट गुमाएर एक सय ७१ रन बनाएपछि नेपालले जितका लागि एक सय ७२ रनको लक्ष पाएको हो । राम्रो सुरुवात गरेको नेपालले पछिल्ला क्रममा विकेट लिन नसक्दा मध्यम लक्ष पाएको छ । नेपालले पहिलो चार ओभरमै तीन विकेट लिएको थियो । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए । करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।
यो देशमा केहि नभएको होइन, ढिलो भैरहेको चाँहि हो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशमा केही नभएको नभइ काम ढिलो भएको बताएका छन् । देशमा केही नभएको भन्दै मिसन ८४ को नारा दिएर हिडेका दलहरु बन्दै गरेका सडकमा पैदल यात्रा गरेको स्मण गराउँदै उनले देशमा केही भैरहेको तर ढिलो भैरहेको नयाँ दलहरुले थाहा पाएको बताएका हुन् । उनले नेपाली काग्रेस पार्टीले संसदको प्रतिपक्षको भुमिकाम रहने बताउँदै पहिले जस्तो ढोक्सा नथाप्ने समेत बताए । साथै, प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणन्त्रलाई जोगाएर जाने सवालमा सधै प्रतिबद्ध रहने समेत जानकारी दिए । यो देशमा केही भएको छैन, केही हुँदन भन्ने भाष्य परिर्वतन गरेर यो देशमा केही गर्न सकिन्छ भन्ने स्थापित गर्न लाग्ने समेत बताए ।

