प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाले ह्वीप जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
संसदीय दलको बैठक बसेर संसद बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए। रास्वपा उपप्रधान एवम् गृहमन्त्रीसहित ४ मन्त्रालय लिएर सरकारमा सहभागी छ ।
तीन प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ । तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले कांग्रेसबाट प्रदेश प्रमुख बनेका गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै एमालेबाट नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सरकारले सुमित्रा भण्डारीलाई मधेश प्रदेश, डिल्लीराज भट्टलाई गण्डकी प्रदेश र नजिर मियाँलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
स्वाथ्यको कारण देखाउँदै रञ्जिताद्धारा नाउपाको बैठक स्थगित
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै आफैले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेकी छिन् । पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकी थिइन् । आफ्नो सहमति विना काङ्ग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी हुन् । पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएर सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही गर्ने उनले चेतावनी दिएकी थिइन् । स्रोतका अनुसार श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाए पनि कारवाही तर्फजाँदा पार्टीमा थप समस्या आउने भएपछि आफ्नो पक्षका सांसदलाई पनि सरकारमा पठाएर पार्टी फुट जोगाउने तिर उनी लागेको स्रोतको दावी छ । पार्टीबाट धेरै मन्त्री पाएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेको स्रोतको दावी छ । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् । नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्याउने प्रयासलाई निरन्तरता दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल कांग्रेसका १८ र नााउपाका ७ सांसद छन् । राप्रपा र स्वतन्त्र १/१ सांसदको समर्थन जुटाउन सके शाह नेतृत्वको सरकारको पक्षमा २७ सांसद सहित टुप्लुक्क बहुमत पुग्छ । सरकारमा सहभागी हुने र नहुने विषयमा पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग चर्को विवाद कायम रहेको नागरिक उन्मुक्ति पार्टीमा फुटको संकट टरिनसकेको जानकारहरु बताउँछन् ।
यो सत्तासमीकरण बाह्य शक्तिको दौडधुपबिनै गुपचुप ढंगले निर्माण भयो : प्रदीप ज्ञवाली
काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्तासमीकरण बाह्य हस्तक्षेप बिना बनेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले नयाँ सत्तासमीकरण कुनै खालको बाह्य शक्तिको दौडधुपबिना नै गुपचुप ढंगले स्वदेशकै प्लेयरहरूले निर्माण गरेको बताएका हुन् । “विगतमा भन्दा तपाईंहरूले देख्नुहुन्छ, यो सहकार्यका निम्ति कुनै बाह्य शक्तिहरूको दौडधुप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो,” उनले भने, “भन्नुको तात्पर्यचाहिँ यो स्वदेशकै पात्रहरूले, स्वदेशकै प्लेयरहरूले निर्माण गरेको एउटा सहकार्य हो ।” संकट र निराशालाई चिर्दै अगाडि बढ्ने विषयलाई नयाँ गठबन्धनले केन्द्रविन्दुमा राखेर काम गर्ने उनले बताए । “अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ । किनभने, देशको परिस्थिति धेरै नै गम्भीर छ,” उनले भने । नेपाली कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँगको सहकार्यका निम्ति तयार भएको उनको भनाइ थियो ।
राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उमेदवारी दर्ता
काठमाडौं । राष्ट्रियसभाको अध्यक्षका लागि दुईजनाको उमेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी छन् । समर्थकमा नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देबेन्द्र दाहाल र नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मोहम्मद खालिद रहेका छन् । नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना र समर्थकमा किरणबाबु श्रेष्ठ छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शेखर कुमार सिंह समर्थक रहेका छन् । राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दर्ताका लागि आज दिउँसो १ बजेसम्मको समय तोकिएको छ । अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । अध्यक्षका लागि दुईजना प्रतिष्पर्धी रहने भएका छन् । सत्ता गठबन्धनका नारायण दाहालसँग प्रष्ट बहुमत देखिन्छ ।
अर्थले भन्यो -'सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने कार्ययोजना तत्काल पेश गर्नू'
काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने गरी सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशनात्क आग्रह गरेको छ । अर्थमन्त्री वर्षमान पुन नियुक्त भए लगत्तै पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तार र लगानीकर्ताको अधिकारको निमित्त काम गर्ने बताएका थिए । सोही अनुरुप अर्थमन्त्रीको निर्देशनमा अर्थ मन्त्रालयका अधिकृत शारदा पौडेलले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सो निर्देशनात्मक आग्रह गरेकी हुन् पत्रमा भनिएको छ -'देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नुहुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ।'
कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने
काठमाडौं । नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ । संसदीय दल कार्यसमितिको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । सोमबार उमेदवारी मनोनयको कार्यतालिका छ । अरू दललाई पनि शर्माको पक्षमा मतदान गर्न आह्वान गर्ने निर्णय भएको रमेश लेखकले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उमेदवार बनाउने माओवादीको निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उमेदवार चयन गरेको छ । बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य नारायण दाहाललाई उमेदवार बनाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए । दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् । दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका हुन्। उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ । सोही अनुसार माओवादीले अध्यक्ष उमेदवार टुंग्याएको हो । राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता हुँदै छ । मंगलबार निर्वाचन हुँदै छ ।
विदेशी मुद्रा सञ्चिति वृद्धि, यस्तो छ देशको आर्थिक स्थिति
काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति वृद्धि हुँदै गइरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको जनाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो । चालू आर्थिक वर्षको सात महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महंगी ५.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । माघ महिनासम्ममा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५=६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४ प्रतिशतले घटेको छ । २०८० माघ महिनामा व्यापारको शर्त ९=९ प्रतिशतले बढेको छ । त्यसैगरी, चालू आर्थिक वर्षको माघ महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।
साइबर सुरक्षासम्बन्धी कानुन ल्याउँदै सरकार, रायसुझाव दिन आह्वान
काठमाडौं । सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विषयमा नयाँ कानुन ल्याउने तयारी गरेको छ। यसका निम्ति तयार गरिएको विधेयकको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गर्दै आवश्यक सुझाब समेत मागेको छ। मस्यौदामा राष्ट्रिय परिचयपत्रलाई विद्युतीय पहिचान (ई–केवाईसी)का रूपमा विकास गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारी निकायले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सक्ने विधेयकमा उल्लेख छ। त्यस्ता सेवा लिन ‘सेवाग्राहीले एउटै विवरण विभिन्न निकायमा पटक–पटक पेस गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी राष्ट्रिय परिचयपत्रलाई विद्युतीय पहिचान (ई–केवाईसी)का रूपमा विकास गर्नुपर्ने’ मस्यौदामा व्यवस्था छ। यस्तै, कसैले कसैको विद्युतीय प्रणालीमा अवरोध गर्न नहुने व्यवस्था गरिएको छ। “कसैले दुराशय राखी कुनै विद्युतीय प्रणालीको कार्य सञ्चालनमा बाधा पुर्याउन वा कार्य गर्न नसक्ने र असक्षम बनाउन वा हस्तक्षेप गर्न वा विद्युतीय प्रणालीको सञ्चालनकर्ता वा प्रयोगकर्तालाई प्रणालीको सञ्चालन वा प्रयोगमा बाधा पुर्याउन, रोक लगाउन वा हस्तक्षेप गर्न हुँदैन,” विधेयकको मस्यौदामा उल्लेख छ। मन्त्रालयले विधेयकका विषयमा १५ दिनभित्र रायसुझाव दिन आग्रह गरेको छ। रायसुझाव [email protected] इमेलमार्फत दिन सकिनेछ। विधेयकको मस्यौदा पढ्नोस्
कार्यसम्पादनमा कम्तिमा ८० प्रतिशत प्रगति हुनुपर्यो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयलाई आफ्ना कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यसम्म पुग्दा कम्तिमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्। सो क्रममा प्रधानमन्त्री प्रचण्डले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्। “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोहीअनुसार काम गर्नुपर्नेछ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए। सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारे। “तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो कार्यालय अनुगमनसमेत गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील भएर लिन जरुरी छ।” आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिती विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए।
अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता सम्पन्न भएको छ । भेटमा अर्थमन्त्री पुनले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री पुनको सचिवालयका अनुसार बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा उनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे ।नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानूनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए । पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा आईटी राम्रो सम्भावनाको क्षेत्र भएको बताए । लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको उल्लेख गरे । जवाफमा राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जनताको सेवा गर्न वरीयता चाहिदैन : उपप्रधानमन्त्री यादव
काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्नका लागि वरीयताले फरक नपर्ने बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईंले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताए । उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए । उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् ।
राष्ट्रियसभा अध्यक्ष निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनको मिति परिवर्तन गर्न राखेको प्रस्ताव गरेका समितिको बैठकले अस्वीकृत गरेको हो । उनले बिदा भएर गएका सांसद र राष्ट्रियसभा अध्यक्ष मिलेर बनाइएको ‘क्यालेन्डर’अनुसार निर्वाचनको मिति तय हुन नहुनेमा तर्क गरेका थिए ।तर उनको प्रयास अफल भएको हो । बैठकबाट यही फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति तोकिएको छ ।यद्यपी आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको दिन तोक्ने र आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल गर्ने समितिको बैठकबाट निर्णय गरिएको हाे ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन मन्त्री साहले लिए शपथ, यस्तो छ वरीयताक्रम
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका छन्। साथै जसपा सांसद नवलकिशोर साह वन मन्त्री बनेका छन्। उनले पनि राष्ट्रपति पौडेलबाट शपथ लिइसकेका छन्। यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।यससँगै सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन्। उनीहरू मन्त्री बनेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । सरकारमा चार उपप्रधानमन्त्री छन् । पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले पाँचौँ वरीयताक्रममा छन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा नेकपा (एमाले)का सचिव समेत रहेका रघुवीर महासेठ छन् । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् । तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् । चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन् । मन्त्रिपरिषद्को वरीयताक्रम हेर्नोस्
‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् । नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आज सिंहदरबारमा भएको भेटममा उनले एकअर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गरे। “मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबीच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ” प्रधानमन्त्री प्रचण्डले भने, “यसले समग्र विश्व एक अन्तरआवद्ध समुदाय हो भन्ने कुराको सशक्त सन्देश प्रवाह गर्नेछ ।” यस्ता कार्यक्रमले विभिन्न क्षेत्रका युवाहरूलाई देशप्रति समर्पित, अनुशासित जिम्मेवार भावी नेतृत्व र नागरिकका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रचण्डले राष्ट्रियता, नेतृत्व, आत्मविश्वास र देशका लागि स्वयंसेवा गर्ने प्रतिबद्धता गर्ने बताए। कार्यक्रमले युवामा आत्मसम्मानको विकासमा मात्र नभई सामुदायिक विकास र आवश्यक परेका समयमा स्वयंसेवा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसले ऊर्जाशील युवामा वहुआयामिक ज्ञानको विकास हुने बताए। युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान माल्दिभ्सलगायतका ‘नेसनल क्याडेट कप्र्स’को सहभागिता रहेको थियो।

