प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने सचिवालयको कार्यसूचीमा उल्लेख छ ।

१५ लाख धरौटीमा छुटे सुन प्रकरणमा पक्राउ परेका गुरूङ
काठमाडौं । १४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ सल्लाहकार जीवनकुमार गुरूङलाई धरौटीमा छाडिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरूङलाई १५ लाख धरौटी माग गरेको थियो। उक्त धरौटी बुझाएर गुरूङ छुटेका हुन् । उनी विरूद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । अनुसन्धानका लागि पक्राउ गरिदिन भन्दै भन्सार कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको थियो। त्यसपछि सिआइबीले उनलाई फागुन १४ गते पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी अनुसन्धानका लागि भन्सार कार्यालयमै बुझाइएको थियो । अदालतमा पेश हुँदा उनी १५ लाख धरौटीमा छुटेका हुन् । उनी प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो। भन्सार कार्यालयले मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो । यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने तथा मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको थियो ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थ मन्त्रीबाट जवाफ दिने कार्यसूची रहेको छ ।
पर्यटकीय राजधानीको विकासमा सरकारले प्राथमिकतापूर्वक सहयोग गर्छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए। “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित घोषणासभा समारोहमा प्रधानमन्त्री प्रचण्डको मन्तव्य प्राकृतिक, सांस्कृतिक र साहसिक वैभवताको सङ्गमका रूपमा आफनो विशिष्ट पहिचान दिन सफल मुलुककै प्रमुख पर्यटकीय नगरी पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्न आयोजित यस घोषणासभामा सहभागी हुन पाउँदा मलाई गर्व र खुसीको अनुभूति भएको छ । सर्वप्रथम गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत आसपासका अन्य स्थानीय तहहरू, उद्यमी व्यवसायी र सम्बद्व संघ÷संस्थाहरूको संयुक्त पहलमा गरिएको यस महत्वपूर्ण कार्यको सम्मान एवं प्रशंसा गर्दछु। यस अभियानले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु । यस अवसरमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत सम्बन्धित सबै स्थानीय तह, संघरसंस्था र यहाँ उपस्थित आदरणीय जनसमुदायलाई हार्दिक अभिवादन, बधाइ तथा शुभकामना व्यक्त गर्दछु। पोखरा नेपालका मुख्य शहरहरूमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त शहर पनि हो । यहाँका नदीहरू, सुन्दर हिमश्रृङ्खलाहरू, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, छहरा र गल्छीहरूले पोखराको सुन्दरतामा अनुपमता मात्र थपेका छैनन्, यहाँको आर्थिक विकास, आत्मनिर्भरता, सांस्कृतिक वैभव, राष्ट्रिय संस्कृति एवं ऐतिहासिक पहिचान र जनसम्बन्धमा समेत गुरूत्वपूर्ण योगदान पु¥याएका छन् । राजनीतिक, सांस्कृतिक एवं प्रशासनिक क्षेत्रमा नेतृत्व प्रदान गर्दै आएको गण्डकी प्रदेश नेपालको राजनीति, सभ्यता र प्रशासनिक विकासक्रमका दृष्टिले जति गौरवशाली छ, त्यति नै सम्भावनायुक्त समेत छ। सेती नदी, फेवाताल, पाताले छाँगो ९डेभिड फल०, महेन्द्रगुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, धर्मशीला वुद्घ विहार, विश्वशान्ति स्तुपा, हरिहर गुफा, नारायणस्थान मन्दिर, सदाशिव मन्दिर, ढुंगेसाँघु, लक्ष्मीनारायण मन्दिर, तालवाराही मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती, सराङकोट, वेगनास ताल, रूपा ताल, खाष्टे ताल, दिपाङ ताल, गुदे ताल, न्यूरेनी ताल, मैदी ताल, क्षेत्रीय संग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गोर्खा स्मृति संग्रहालय, अन्नपूर्ण संग्रहालय, माछापुच्छ्रे लगायतका मनमोहक हिम श्रृङ्खलाहरू, इन्द्र गुफा, खारपानी तातोपानी, कृष्ती ९मट्टीखान०, पुम्दीभुम्दी, स्याक्लुङकोट, घान्द्रुक, धम्पुस तथा लान्द्रुक, सिकलेस, भदौरे देउराली, पञ्चासे क्षेत्र, मादी नदी, विभिन्न गुम्बाहरू लगायत सयौँ प्राकृतिक, धार्मिक एवं सांस्कृतिक गन्तव्यहरू पोखरा र यस क्षेत्र आसपास रहेका छन् । नेपाली समाजको भाषिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक विविधतालाई एकै ठाउँमा संकेन्द्रित गर्ने यस क्षेत्रका पर्यटकीय गन्तव्यहरू हाम्रा मूल्यवान् निधि हुन् । यिनीहरूको संरक्षण, प्रवर्धन, व्यवस्थित प्रचारप्रसारका माध्यमबाट पर्यटन प्रवर्धनमा गुणात्मक सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ। पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित तथा स्थापित मान्यता, सिद्वान्त तथा अभ्यासलाई समेत मध्यनजर गरी गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने यस निर्णयले विश्व पर्यटन बजारमा पोखराको व्राण्डिङ गर्न, पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्ताहरूलाई अनुकूल वातावरण सिर्जना गर्न र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरेको छु। पर्यटकीय राजधानी घोषणापश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार, रणनीतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिबृद्वि, जवाफदेहिता तथा क्षमता विकासलाई योजनावद्व रूपमा अघि बढाउन गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रूपमा कार्यान्वयन हुँदै जाने विश्वास लिएको छु। पर्यटकीय राजधानी घोषणापश्चात प्रदेश सरकार, महानगरपालिका, निजी क्षेत्र र नागरिक समाजले निर्वाह गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीबारे यहाँहरू जानकार नै हुनुहुन्छ। २१ औँ शताब्दीको आधुनिक युगमा भौतिक र मानवीय विकासलाई सँगसँगै अगाडि बढाउनुपर्दछ। तर, यसबारे बुझाइमा वैज्ञानिकता कायम हुन नसक्दा कतिपय सरकारहरूले भौतिक विकासलाई मात्रै विकासका रूपमा परिभाषित गर्ने, मानवीय विकासको पक्ष अवमूल्यन गर्ने, विकासका नाममा सीमान्तकृत वर्ग र समुदायको अभिभावकत्व ग्रहण नगर्नेजस्ता समस्या देखिएका छन्। तसर्थ, आम नागरिकको चाहना र भावना मुखरित हुने गरी विकासको वैज्ञानिक अवधारणा लागू गर्न यहाँहरूले अग्रसरता लिने विश्वास व्यक्त गर्दछु। तालैतालको शहरको रूपमा परिचित पोखरा र आसपासमा रहेका प्रकृतिप्रदत्त अनुपम सम्पदा, जैविक विविधता र सांस्कृतिक धरोहरहरूको संरक्षण, सम्बर्धन, दिगो विकास र प्रवर्धनमा सबैको ध्यान जाने नै छ । यसका निम्ति सङ्घीय सरकारले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिकाका निम्ति आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दै स्थानीयस्तरमा कुशल व्यवस्थापनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरूमा प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यान जाने विश्वास व्यक्त गर्दछु। पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास दिलाउँछु। पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिनेछ । साथै पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ। पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने नै छ। आगामी महिना आयोजना गरिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्वपूर्ण सहयोग पु¥याउनेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यवसायिक उडानको लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्वता व्यक्त गर्दछु। प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ। गण्डकी प्रदेशको विकासमा दुरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, मनास्लु संरक्षण क्षेत्र परियोजनाको प्रचलित कानुनमा संशोधन गरी स्थानीय नागरिकको स्वामित्व कायम हुनुपर्ने प्रदेशबासीको मागबारे म जानकार छु । यो समस्या सम्बोधन गर्न मैले पहल गर्दै आएको स्मरण गराउँदै यसलाई छिट्टै निष्कर्षमा पु¥याउने विश्वास दिलाउन चाहन्छु । फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरि निष्कर्षमा पु¥याउन पहल गरिनेछ । पोखराको पर्यटन प्रवर्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अबलम्वन गर्नुपर्ने यहाँहरूको चासोलाई समेत मैले गम्भीरतापूर्वक लिएको छु। यसै घोषणा सभामार्फत सम्पूर्ण नेपालीहरूमा अपील गर्दछु– पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ । आन्तरिक पर्यटन प्रवर्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ । लक्ष्यअनुसार पर्यटक भित्राउन हामीले खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गरौँ । यसका निम्ति सम्पूर्ण पोखरेली जनसमुदायमा विशेष अपील गर्दछु । अन्त्यमा, पर्यटकीय राजधानी घोषणासभामा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी आफ्ना विचारहरू राख्ने अवसरका निम्ति हार्दिक धन्यवादसहित पर्यटकीय राजधानीको निर्दिष्ट लक्ष्य प्राप्तिको दिशामा पूर्ण सफलताको कामना गर्दछु र विदा हुन्छु । धन्यवाद ।
प्रधानमन्त्रीद्धारा पोखरालाई पर्यटनको राजधानी घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत्र ४ गते आइतबार (आज) पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले रिमोर्ट थिचेर पर्यटन समारोहको उद्घाटन गरी पोखरा पर्यटनको राजधानी लेखिएको लोगो अनावरण गर्नुको साथै पोखरा पर्यटनको राजधानी लेखिएको स्मृति स्तम्भको अनावरण पनि गरेका थिए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको हो।फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे। पोखरा अब २४सै घन्टा खुला हुने भएको छ । जसअनुसार किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म खोल्न दिइनेछ ।डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुल्नेछन्।यसका लागि व्यवसायीहरूले ध्वनि प्रदूषण हटाउनुपर्ने, आन्तरिक सुरक्षाको व्यवस्था, सिसिक्यामेरा, स्मोकिङ जोन छुट्याउनेलगायतका स्थान व्यवस्था गर्नुपर्नेछ । पहिलो चरणमा ड्यामसाइट हुँदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइटलगायतका स्थान २४सै घन्टा खुला हुनेछन् ।
जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन
काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा उनको निधन भएको हो । जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते रहमानको स्थानमा प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् । सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर अन्सारीको निधनप्रति शोक प्रकट गरेका छन् । २०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
रंगेलीको वस्तीमा २० घर जल्दा २३ परिवारको बिचल्ली
विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा रहेको गरिब वस्तीमा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको जानकारी दिए । डिएसपी दाहालका अनुसार शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले बताए । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो । पश्चिमबाट चलेको हावाका कारण आगो निभाउन कठिन भएको र टोलमा रहेका सबै घर जलेको प्रहरीले जानकारी दिएको छ । अधिकांश आगलागी पीडितले शरीरमा लगाएका कपडा बाहेक अन्य सामान जोगाउन नसकेको वडा अध्यक्ष भरत प्रसाईंले बताए । बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर भएको यस वस्तीमा बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ । पीडित परिवारहरु घर जलेकै स्थान नजिक त्रिपाल टाँगेर बसेका छन् । वडा अध्यक्ष प्रसाईंले आगलागी पीडितहरुलाई पालिकाले घर बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्ः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । उनले लगानी कर्ताको पैसा नडुब्ने गरी लगानी गर्न आग्रह गरे । आज नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । विगतमा ठुला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरूलाई भविष्यमा नदोहोर्याउने प्रतिविद्धतासहित अघि बढ्न सुझाव पनि दिए । अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरूमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान आर्थिक समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । अर्थमन्त्री पुनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरूलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्नेमा जोड दिए । पूर्ववर्ती अर्थमन्त्रीहरूले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने उनले बताए । अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको पनि बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताए ।
पोखरा एयरपोर्टको ऋणलाई अनुदानमा बदल्न लागिरहेको छु : प्रधानमन्त्री प्रचण्ड
पोखरा ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास भइरहेको बताएका छन्। नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण गर्ने कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल गर्दा लिइएको सबै ऋणलाई अनुदानमा बदल्ने गरी लागेको बताए। '२५ प्रतिशत मात्र होइन सम्पूर्ण ऋणलाई अनुदानमा परिमार्जन गर्न मेरो ध्यान छ। त्यो सम्भावना देखेको छु ' उनले भने, 'अहिलेलाई यत्ति भनेँ ।' उनले पोखराबाट नियमित उडानका लागि पनि विशेष पहल गरिरहेको सुनाए। 'चीन भ्रमणमा समझदारी बनेको छ । यहाँबाट छिटै नियमित उडान हुनेछ,' उनले भने ।
सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो तीन छत्रे चीर
काठमाडौं । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको हो। फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ। रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो। चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएका थिए । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ । पूर्णिमा चैत्र ११ गते परेको छ । त्यसदिन देशभर होलीको रङ्गमा रमेर होलीलाई बिदाई गर्ने परम्परा रहेको छ ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिँदै
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै छ । जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम समितिको सभापति रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भइ आएका नयाँ सदस्यको स्वागत गर्नेलगायतका कार्यक्रम रहेको छ । यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा समितिका सभापतिको निर्वाचनलगायत कार्यक्रमको कार्यसूची रहेको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कांग्रेसका कमला पन्तको उम्मेदवारी परेको छ । शेर्पालाई माओवादीका गोपीबहादुर सार्की अछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङको समर्थन छ भने पन्तलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टको समर्थन छ। एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले दुवै समितिका सभापति निर्विरोध चयन भएको घोषणा हुनेछ। यी दुई सभापतिमा सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेका हुन् ।
सरकारको गति बढाउन नयाँ समिकरण बनाएका हौँ : प्रधानमन्त्री
पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको स्पष्ट पारेका छन् ।आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, -'कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।' प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए।उनले भने, -'राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई(मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।' गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए ।प्रधानमन्त्रीले भने, 'गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।' केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए।उनले भने, 'कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ।'
आगलागीबाट हुने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन प्रधानमन्त्रीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागीबाट हुने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन अनुरोध गरेका छन् । भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले आफुलाई मर्माहत बनाएको बताउदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले हिजो साँझ सामाजिक सञ्जालमार्फत आगलागीबाट धनजनको क्षति भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायलाई अनुरोध समेत गरेका छन् । उनले समाजिक सञ्जालमार्फत भनेका छन् -'भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ। घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु।' भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। पछिल्लो दुई दिनमा उदयपुर, काठमाडौँ, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायत जिल्लामा आगलागी र डढेलोका घटना भएका छन्। केही ठाउँमा मानव बस्ती नै विस्थापित भएको छ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूची के छ ?
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डबाट 'पर्यटनको राजधानी घोषणा' गर्ने खबरले पोखराका व्यवसायी उत्साहित
पोखरा। गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिदै छ ।गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका यस वरपरका पालिकाहरू र सम्पूर्ण संघसंस्थाहरूको संयुक्त पहलकदमीमा आयोजनामा हुने कार्यक्रममा पोखरालाई पर्यटनको राजधानी घोषणा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे गर्ने छन् ।पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने छ। शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले २४ घण्टा खोल्ने अनुमति पाए पनि अरु बजार राति १० बजेपछि बन्द हुने गरेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले केही मापदण्ड पूरा भएका मुख्य सहरी क्षेत्र २४ घण्टा खुला राख्ने निर्णय भएको जानकारी दिए। “अहिले मापदण्ड पूरा भएका मुख्य बजार क्षेत्र खुला गर्ने र विस्तारै पूरै पोखरालाई नै २४ सै घण्टा खुला गर्दै जाने निर्णय भएको छ,” उनले भने। आइतबारबाट महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, राष्ट्र बैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ घण्टा खुला हुने छन्। व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले केही मापदण्ड भने पूरा गर्नुपर्ने सर्त राखिएको छ।गृह मन्त्रालयले नै २४ सै घण्टा खुला राख्नका लागि तोकेका शर्त उनीहरुले पूरा गर्नुपर्ने छ। ती मापदण्ड पर्यटकीय राजधानी घोषणा कार्यक्रममा आइतबार सार्वजनिक गरिने क्षेत्रीले जानकारी दिए । सरकारको यो निर्णयबाट पर्यटन व्यवसायीले आफुहरुलाई उत्साहित बनाएको बताएका छन्। एकातिर पर्यटकीय राजधानी घोषणा, अर्कातिर पर्यटकीय क्षेत्र २४ सै घण्टा खोल्ने निर्णयले पर्यटन व्यवसायमा उत्साहको सञ्चार हुने र अर्थतन्त्र चलायमान हुने उनीहरुको भनाई छ ।
भोजपुरको हतुवागढीमा आगलागी, एकै घरका तीन बालबालिका जले
विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी भएको छ । आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको ज्यान गएको छ। शनिवार साँझ गाई गोठमा अचानक आगलागी हुँदा एक परिवारका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको हाे। आगलागीमा परि केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की र रमेश कार्कीको ५ बर्षीया छोरी दिप्सिका कार्की र निजको भाइ ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको हो । घटनाको थप जानकारी आउन बाँकी रहेको र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम शाहको टोली घटनास्थल तर्फ गएको छ ।

