चीनले बुझायो झण्डै ४० करोडको राहत सामाग्री(तस्बिरहरू)

पोखरा। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन्।

आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे।

नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुस्खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदुत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो  दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा  समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधैं साथ सहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर संवेदना जाहेर गरेको उनले जानकारी दिए ।

दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लाङ्केट र छ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। आज बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा  पठाउने तयारी छ।

 

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्त्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले विपदपछिको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “भूकम्पपछि सबै दल, सङ्घीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु । हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपथ्र्यो, हामीले त्यो काम मूलभूत रुपमा पुरा गरेका छौं । अब राहत र पुनस्र्थापनातर्फ केन्द्रित हुनुपर्छ ।”   “जाडोको मौसम छ । त्यसैले न्यानो कपडाको बढी आवश्यक छ । उपचार प्रक्रिया अझ प्रभावकारी बनाउनुपर्दछ” प्रधानमन्त्रीले भने, “नेपाल प्राकृतिक विपदको जोखिममा रहेको देश हो । तर सरकारले जति पहल गर्नुपर्ने हो, जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो, त्यो पुगेको छैन । पूर्वतयारी पुगेको छैन । यसमा गम्भीर रुपमा सोच्न जरुरी छ ।” “३ दिन हामी राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरौं। पुनस्र्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ। भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ । आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं ।” प्रधानमन्त्रीले भने। “२०७२ मा पनि कुरा त भयो, तर प्रभावकारी भएन, त्यो हो– भूगोलको अध्ययन गर्ने । कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुन कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन चाहिन्छ । त्यससम्बन्धी विज्ञता र जनचेतना पनि चाहिन्छ।” प्रधानमन्त्रीले भने, “यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतिर सोच्नुपर्छ । विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामा राख्ने गरी काम गरौं । अहिलेदेखि नै ती सामग्री स्टोर गरेर राखौं ।” प्रधानमन्त्रीले भने, “यसपटक एकद्वार प्रणालीबाट जान्छौं । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन। राहतमा हुने दुरुपयोग रोक्छौं । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं । कहिलेकाहिँ सरकार निरिह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं । यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौं ।” प्रधानमन्त्रीको कमाण्डमा उद्धार चुस्त भयो, उहाँप्रति उच्च सम्मान छ । बैठकमा सहभागी मन्त्रीहरु, सुरक्षा अङ्गका प्रमुखहरु र कर्मचारीहरुले भूकम्प गएलगत्तै प्रधानमन्त्री आफैँ फिल्डमा खटेकाले राज्यका सबै अङ्गहरु प्रभावकारी रुपमा परिचालित भएको भन्दै त्यसका लागि प्रधानमन्त्रीप्रति आफूहरुको उच्च सम्मान रहेको बताए । बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जामन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपन्छी मन्त्री डा। बेदुराम भुसाल, शिक्षामन्त्री अशोककुमार राई, सहरी विकासमन्त्री सीता गुरुङ, भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले प्रधानमन्त्रीको सक्रियता र खटाइ सबैलाई आश्चर्यचकित पार्ने खालको भएको बताउँदै त्यसबाट सबैमा उर्जा मिलेको बताए । बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्री आफैँले उद्धारको पहल लिए, अति राम्रो काम गर्नुभयो। उद्दारको काम लगभग पूरा भएको छ । बेपत्ताहरु छैनन्, कि मृतक छन्, कि घाइते छन् । तत्कालको राहतमा अब हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।” पूर्वमन्त्री गंगाधर तुलाधरले भने, “सरकार कति गम्भीर छ भन्ने कुरा प्रष्ट भएको छ, प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गर्दछु ।” त्यस्तै उर्जामन्त्री शक्ति बस्नेतले “प्रधानमन्त्री स्वयम् पहल लिएका कारण राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालित भएको बताउँदै पीडितहरुको घाउमा मल्हम लगाउन सरकार सफल भएको” बताए । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले देशमा सरकार छ भन्ने राम्रो सन्देश दिनुभयो । उद्धार, राहत र उपचारमा प्रधानमन्त्री स्वयंले नेतृत्व गर्नुभयो, यो निकै राम्रो कुरा हो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले भने, “प्रधानमन्त्रीको तदारुकता प्रशंसायोग्य छ । राति २ बजे प्रधानमन्त्रीबाट फोन आयो, तपाईहरु खट्नुस् भन्नुभयो । धेरै महत्त्वपूर्ण काम गर्नुभयो । यति जिम्मेवार र सक्रिय प्रधानमन्त्री पाएकोमा खुसी महसुस हुन्छ ।” नेपाल सेनाका प्रधानसेनापति प्रभुराम शर्माले “प्रधानमन्त्री स्वयं आफै खट्दा सिङ्गो राज्ययन्त्र परिचालित भएको” बताए । त्यस्तै मन्त्रीहरु डा.महत, राई, गुरुङ, लगायतले प्रधानमन्त्रीको सक्रियता र समस्या समाधानमा लिएको पहलकदमीप्रति उच्च सम्मान रहेको बताए ।

भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने

काठमाडौं । सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ । बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ । “सम्पूर्ण घाइतेको उपचार निःशुल्क गर्ने निर्णय भएको छ,” बैठकपछि उनले भने, “हामी व्यवस्थापन गर्छौँ । जति महंगो उपचार गर्नुपर्ने अवस्थामा पनि सरकारले खर्चको व्यवस्थापन गर्नेछ ।” काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको बताउँदै अब ‘रेस्क्यु’ गर्नुपर्ने अवस्थाका बिरामी बाँकी नभएको बताए । “घर बनाउनेदेखि लिएर खाद्यान्न, त्रिपाललगायतका व्यवस्थाका बारेमा पनि छलफल भएको छ,” उनले भने, “राहतको कुरा पहिले भन्दा बढाउने भन्ने भएको छ तर सबैको छुट्टाछुट्टै प्रस्ताव रहेकाले निर्णय भएको छैन । खाद्यान्न पनि आजैदेखि पठाउछौँ । तीन दिन भित्रमा कुनै पनि कुराको कमजोरी हुन नदिने र बसोबासको व्यवस्था मिलाउने तयारी गरेका छौँ ।

प्रधानमन्त्री प्रचण्डद्वारा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आव्हान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्दको बैठक आव्हान गरेका छन्। बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हुनेछन्। आज आइतबार बिहान ९ः३० मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा, प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सम्पन्न हुने उक्त बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने छ।

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित जिल्ला जाजरकोट र रूकुम प्रस्थान गरेका छन् । प्रचण्डसँगै उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गरेको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ चारपटक क्रमशः ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

भूकम्पको क्षतिबाट प्रधानमन्त्री मर्माहत, राहत तथा उद्धारमा जुट्न अपील

काठमाडौं । प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले आफु मर्माहित भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएको बताएका छन् । साथै, उनले उद्धार एवं राहतमा जुट्न सबैमा अपील समेत गरेका छन् । यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन्। स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ बिहान जाजरकोट रूकुम लागेका हुन् ।

स्वास्थ्यकर्मीको टोलीलिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएका छन् । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ बिहान जाजरकोट जान लागेका हुन् । “बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा तीनवटा हेलिकोप्टर परिचालन हुनेछन्,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “सुर्खेतलगायत छिमेकी जिल्लाहरूवाट खोज तथा उद्वारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको अवस्था छ ।” जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ चारपटक क्रमशः ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । केही सडकहरू बन्द भएका छन् । प्रधानमन्त्रीको सचिवालयले घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवा परिचालित भएर काम गरिरहेको बताएको छ । “यस्तो परिस्थितिमा सबै खोज तथा उद्धार, उपचार एवं राहतमा जुट्न आवश्यक देखिन्छ,” सचिवालयले भनेको छ ।

झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर , यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । सरकारले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुईजनाको नागरिकता बदर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बदर गरेको बताएको छ । काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो । तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू

प्रधानमन्त्री प्रचण्डद्धारा टि–२० विश्वकपमा छनोट क्रिकेट टिमलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुग्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक संजाल फेस्बुक मार्फत भनेका छन् -‘टी–२० विश्वकप प्रतियोगितामा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’ आज मुलपानी रंगशालामा भएको खेलमा नेपालले युएईलाई ८ विकेट पराजित गरेको हो । नेपालले १० वर्षपछि टि–२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि–२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । नेपालले २०१४ मा पहिलो टि–२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन ।

गणतन्त्रविरोधी प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री

बुटवल। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताएका छन् । बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताएका हुन् । प्रधानमन्त्रीले भने,‘‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ। त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं।’’ पार्टी स्कुल कार्यक्रममा प्रधानमन्त्रीले भने,‘‘हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थिय‍ो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो। तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ। विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ। त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन ख‍ोज्दैछन्। तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ।’ ‘पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो। त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको बिकल्प छैन। रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन,’ उनले भने, ‘गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन। माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ।’ पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन। गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ। यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ।’ परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं, राजनीतिक दलहरूबीच यसबारे छलफल चलिरहेको जानकारी पनि प्रधानमन्त्रीले दिए । उनले केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्ने बताए । ‘‘भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दवावमा हामी छौं। हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ। रूस युक्रेन, इजरायल हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ। तसर्थ, नेपालले सन्तुलित र परिपक्व कूटनीतिक बाटो लिनुपर्छ। त्यसमा सरकारले सकारात्मक पहल लिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ’’ प्रधानमन्त्रीले भने। प्रधानमन्त्री प्रचण्डले भने, ‘‘कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ। म पनि परीक्षामा छु, तपाईहरू पनि परीक्षामा हुनुहुन्छ। यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कार्वाही, कूटनीतिक सन्तुलनलगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ। अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो। हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन्।’’

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो । आजको बैठकमा चाल्र अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची छ । यसैगरी, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो। मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

माओवादी केन्द्रले विरोध प्रदर्शन गर्छ भनेको होइन, भ्रम नरहोस् : देव गुरुङ

काठमाडौं । माओवादी केन्द्रले सडक संघर्षमा जाने भन्दै निर्णय गरेको भन्ने समाचार सत्य नभएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ- ‘हालै केही मेडियाहरुमा यही मंसिर २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनको विषयलाई लिएर सरकारमा रहेको दल सडक संघर्षमा भनी टिका टिप्पणीहरु गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । उक्त जनप्रदर्शनको कार्यक्रम कुनै विरोध प्रदर्शनको कार्यक्रम होइन । उक्त प्रदर्शन पूर्व घोषित तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गतकै जनपरिचालनमुलक कार्यक्रम मात्र रहेको व्यहोरा अवगत गराउदै त्यसमा कुनै प्रकारको भ्रम नरहोस् भनी स्पष्ट गर्न चाहान्छौं ।’

राष्ट्रसंघका महासचिव गुटेरेस आज स्वदेश फर्किंदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज स्वदेश फर्किंदै छन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए ।त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए ।

शान्तिप्रक्रियाबारे केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको बताएका छन् । मंगलबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तर्राष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाउनु दुर्भाग्य भएको बताए । यसअघि, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भएको भेटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहे पनि सरकारले शान्ति प्रक्रियालाई टुंगोमा लैजान ढिलाइ गरिरहेको जिकिर गरेका थिए । त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै, उनले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारत्मक रहेको जिकिर गरे । जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्नेलगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए । आफ्नो निमन्त्रणमा आएका गुटेरेसको भ्रमण नेपालका लागि राम्रो भएको उनको जिकिर थियो ।

२० वर्षयता नेपालको यात्रा हेर्नलायक छ : गुटेरेस(सम्बोधनको पूर्णपाठ )

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको बताएका छन् । मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “नेपालको पछिल्लो २० वर्षको यात्रा हेर्नलायक छ,” उनले भने । नेपालले गणतन्त्र र नयाँ संविधान जारी गरेर उल्लेख्य प्रगति गरेको उनले बताए । दिगो विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको समेत उनले उल्लेख गरेका छन् । साथै उनले प्रत्येक पटक नेपाल आउँदा छक्क परेको बताए।पहिलो पटक सन् १९७० को दशकमा नेपाल आएको स्मरण गर्दै उनले मनमोहक नेपालमा फर्कन पाउनु सौभाग्य भएको पनि बताए । ‘मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो,’ उनले सम्बोधनको क्रममा भने, ‘म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ।’ महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम रहेको पनि उनले सम्बोधनको क्रममा बताएका छन्।   गुटेरेसले संसद्‌को संयुक्त बैठकमा गरेको सम्बोधनको पूर्णपाठ महासचिव मन्तव्य – नेपाली संसद काठमाडौँ, २०८० कात्तिक १४   महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवम् मित्रहरू आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ । र यो यात्रा पनि कुनै अपवाद होइन । विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैं रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको । अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्य र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु । महामहिमहरू, हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्देछौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिन्दैछ । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ । परिवारहरू होस् वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दैछन् । महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ । हिंसा र द्वन्द्व चुलिएका छन् । मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए । मृत्यु भएका दश नेपाली विद्यार्र्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता श्री विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु । माननीय मन्त्रीज्यू तथा सांसदज्यूहरू, भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन् । साना मुलुकहरू ठूला शक्तिहरूबीचको प्रतिस्पर्धामा सम्पाश्र्विक क्षति हुन डराउँछन् । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र भइरहेको छ । यी सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक हो । दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैले बनाउनुभएको छ । विगत बीस वर्षको तपाईहरूंको यात्रा हेर्नलायकको छ, अद्भुत छ । नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ । तपाईँहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नु भयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ । तपाईको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ । यो यस्तो प्रक्रिया हो जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ । महानुभावहरु, माननीय सांसदज्यूहरू, नेपाल परिवर्तशील छ । तपाईँहरूंको प्रगतिको गतिशील कथा आज पनि निरन्तर छ । अल्पविकसित देशको स्थितिबाट तपाईँहरू अगाडि बढ्दै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ । र तपाईँहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ । प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन । स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो । हामीलाई के कुरा थाहा छ भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन् । जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन् । नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु । तपाईँहरू एक्लो हुनुहुन्न । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईँको सर्वोच अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसंघ तपाईँहरूलाई सहयोग गर्न तयार छ । संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र हुन् । हाम्रो सहकार्य गहन छ । नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघ परिवारको प्रिय सदस्य र हालैमा अति कम विकसित मुलुकहरूको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशहरूका लागि प्रभावशाली आवाज भएको छ । र यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो । नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु । हाम्रो नीलो झण्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई सम्मान गर्न म एक क्षण लिन चाहन्छु । बिराम महामहिमहरू, जलवायु सम्बन्धी कार्यमा नेपाल अग्रपङ्कतिमा छ । तपाईँहरू सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने लक्ष्यतिर बढिरहनुभएको छ । असाधारण वनजङ्गलको पुनस्र्थापनका प्रयासहरूका लागि धन्यवाद, वनले अब देशको लगभग आधा भाग ओगटेका छन् । र तपाईँहरू सबै पहलका लागि हाम्रो पुर्वचेतावनी प्रणालीका अग्रगामीहरूमध्ये एक हुनुहुन्छ, जसको लक्ष्य २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई सुरक्षित राख्नु हो । वैश्विक सङ्कटहरूले नेपाललाई अझै नराम्ररी प्रहार गरिरहेका छन् किनकि नेपाल विश्वका विकासोन्मुख देशहरूमध्ये एक हो । कोभिड–१९ को महामारीका दीर्घकालीन प्रभाव, मुद्रास्फीति र जलवायु संकटले विकासका प्राप्त लाभलाई चुनौती दिइरहेका छन् र लगानीका लागि उपलब्ध हुने रकमको मात्रा खुम्चिरहेको छ । वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश हो । तर मनसुन, आँधीबेहरी र पहिरो तीव्रता र भीषणताको हिसाबले बढ्दैछन् । बाली, पशुधन र सम्पूर्ण गाउँहरू नष्ट गर्दै अर्थव्यवस्थालाई ध्वस्त पार्दैछन् र मानव जीवनलाई बर्बाद गर्दैछन् । अगस्टमा भएको भारी वर्षाले ल्याएको पहिरोले विनाश निम्त्यायो र सयौँ मानिसहरूको मृत्यु भयो । र हिमनदीहरू असामान्य गतिमा पग्लिरहेका छन् । नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको छ । प्रभाव विनाशकारी छ – पानीले भरिएका ताल फुट्दैछन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । र पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ । चुनौतीहरू बढ्ने क्रम जारी रहनेछ । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गर्दछन् । जसरी तिनीहरू सङ्कुचित हुन्छन् त्यसरी नै नदीहरू बग्छन् । भविष्यमा सिन्धु, गङ्गा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ । नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ । यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन् । लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयङ्कर प्रतिस्पर्धा हुनेछ । महामहिमहरू, जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा के भइरहेको छ त्यो डरलाग्दो अन्याय हो र जीवाश्म इन्धन युगको गम्भीर आरोप हो । जलवायु सङ्कटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु । संयुक्त राष्ट्रसंघ उनीहरुको साथमा छ । विश्वले पनि यस्तै गर्नुपर्छ । नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायु सम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ । मैले दिगो विकास लक्ष्य स्टिमुलस र जलवायु कार्यको लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा ५ खर्ब प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको छु । सदस्य राष्ट्रहरूले गत महिनाको महासभामा प्रस्तावलाई स्वागत गरे र यसलाई अगाडि बढाउन प्रतिबद्ध भए । म उनीहरूलाई यी प्रतिबद्धताहरूलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि अब कार्य गर्न आह्वान गर्दछु । र म नेताहरूलाई ढिलाइ नगरी जलवायुमा काम गर्न आग्रह गर्दछु — सबैभन्दा ठूला उत्सर्जनकर्ताहरूले नेतृत्व लिनुपर्दछ । विश्वको तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले मैले प्रस्ताव गरेको एक्सलरेसन एजेन्डालाई प्रभावकारी बनाउनु पर्छ । र तिनीहरूले ग्लोबल स्टकटेकमा बलियो परिणामका साथ कोप २८ लाई अर्थपूर्ण बनाउनुपर्छ । हामीले जलवायु न्याय प्रदान गर्न पनि आवश्यक छ । विकसित देशहरूले वार्षिक १ खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ र दोहोरो अनुकूलन वित्त, अनुकूलनमा जलवायु वित्तपोषणको आधा खर्च गर्ने पहिलो चरणको रूपमा । जलवायु उत्थानशीलता निर्माण गर्ने प्रयासको केन्द्रमा सबैभन्दा सङ्कटासन्न समुदाय हुनुपर्दछ । र यस वर्षको कोप २८ मा सबै पक्षहरूले कोषेढुंगा नोक्सान र क्षति कोषलाई परिचालन गर्नुपर्छ । हामीलाई कोषमा नयाँ र समयमै वाचा चाहिन्छ । नेपाली जनता त्यसैमा निर्भर छन् । आँधीबेहरीमा आफ्ना घर गुमाएका परिवारहरूका लागि र उर्लंदो नदीहरूले आफ्ना गाउँ छोड्न बाध्य भएका समुदायहरूका लागि हानि र क्षति कुनै वार्ताको बिन्दु वा कर्मचारीतन्त्र अमूर्तता होइन । यो एक जीवन रेखा हो । माननीय मन्त्रीज्यूहरू तथा सांसदज्यूहरु, नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको मित्रका रूपमा रहेको छ । र आज त्यो प्रणालीलाई पुनर्ताजगी, पुनरुत्थान र सुधारको निकै आवश्यकता छ । संसार परिवर्तनको अवस्थामा छ । यो बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो । बहुध्रुवीय विश्वले वैश्विक मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ । तर शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्थाहरू चाहिन्छन् । इतिहासले हामीलाई त्यो प्रमाणित गरेको छ। बीसौं शताब्दीको सुरुमा युरोप बहुधुवीय थियो, तर बलिया बहुपक्षीय संस्थाहरू थिएनन् । यो युद्धमा पर्यो जसले विश्वलाई आफ्नो चपेटमा लियो । त्यो हामीले लिन सक्ने जोखिम होइन । हामीलाई आजको वास्तविकतालाई प्रतिबिम्बित गर्ने बलिया अन्तर्राष्ट्रिय संस्थाहरू चाहिन्छन् । तर संसार हाम्रोे ऐना हो जहाँ तिनीहरू स्थापना भएका थिए – लगभग ८० वर्ष पहिले । त्यो परिवर्तन हुनुपर्छ । विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ । मैले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई सुधार गर्न आह्वान गरेको छु । र मैले विश्वव्यापी वित्तीय संरचनालाई सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु जसले गर्दा यसले विकासशील देशहरूलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र तिनीहरूका आवश्यकताको प्रतिकार्य गर्दछ । र यी प्रस्तावहरूले यस वर्षको संयुक्त राष्ट्र संघ महासभामा र त्यसपछि वास्तविक ध्यान प्राप्त गर्दैछन् । आगामी वर्षको भावी राष्ट्रसंघीय शिखर सम्मेलन थप प्रगतिलाई अघि बढाउने महत्वपूर्ण अवसर हो । र हामीले परिवर्तनलाई वास्तविकतामा परिणत गर्नका लागि मद्दत गर्न नेपालले सहयोग गर्ने कुरामा म भरोसा गर्छु । महामहिमहरू, बहुपक्षवादले संसारलाई प्रतिबिम्बित गर्नुपर्छ र त्यसलाई प्रतिकार्य गर्नुपर्छ । यसको अर्थ हामीले नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न र नयाँ अवसरहरू प्रयोग गर्न आवश्यक संस्थाहरू र उपकरणहरू सिर्जना गर्नु हो । आजको सन्दर्भमा प्रविधि दुवैको उदाहरण हो । यसले समस्याहरू समाधान गर्न र विकासलाई प्रोत्साहित गर्न सक्छ । वा यसले विभाजनलाई निम्त्याउन सक्छ र असमानतालाई बढाउन सक्छ । आज यसले पहिलेको धेरै थोरै गर्दैछ र पछिको धेरै गर्दैछ । विश्वलाई आश्चर्यजनक गतिमा परिवर्तन गर्ने प्रविधिहरूका लागि हामीलाई वैश्विक प्रतिकार्य चाहिन्छ । मानवताको भलाइको लागि तिनीहरूलाई प्रयोग गर्न । र सबै देशहरूले आफ्नो भनाइ राख्न पाउनुपर्छ । मेरो उच्च स्तरीय आर्टिफिसियल इन्टेलिजेन्स निकायमा जी७७ देशका विज्ञहरू समावेश छन् । यसले यस वर्षको रिपोर्ट गर्नेछ । तसर्थ सदस्य राष्ट्रहरूले आर्टिफिसियल इन्टेलिजेन्सका लागि वैश्विक शासन विकल्पहरू विचार गर्न सक्छन् । हामीले टेक्नोलोजीका फाइदा पनि सबैमा र्पुयाउनुपर्दछ र नयाँ प्राविधिक युगमा कसैलाई पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्नुपर्दछ । संयुक्त राष्ट्र संघले प्रस्ताव गरेको ग्लोबल डिजिटल कम्प्याक्टको उद्देश्य यही हो । प्रविधिले सबैका लागि काम गर्छ भन्ने सुनिश्चित गर्न सरकार र उद्योगहरूलाई एकसाथ ल्याउने र दिगो विकास लक्ष्यहरूलाई गति दिने लक्ष्य राखेको छ । फेरि, भावी शिखर सम्मेलन प्रगतिलाई अगाडि बढाउने एक उत्कृष्ट अवसर हो । र बहुपक्षीयता, शान्ति र विकासोन्मुख देशहरूको हितको अटल पक्षधरका रूपमा नेपाल शिखर सम्मेलनमा महत्वपूर्ण सहयोगी हुनेछ । महामहिमहरू, पछिल्ला केही दिनमा यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ । संयुक्त राष्ट्र संघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न छाड्ने छैन । यहाँहरू सबैलाई मेरो हार्दिक धन्यवाद छ ।