रूपान्तरण अभियानले जनतामा नयाँ आशा जगाएको छ : प्रधानमन्त्री प्रचण्ड

धनगढी। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका –१६ स्थित घसिटा गाउँमा आज आयोजित नेकपा (माओवादी) केन्द्रको विशेष रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माओवादी पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि आफूले नै केन्द्रीय समितिमा प्रस्ताव राखेर रुपान्तरण अभियान सञ्चालनका लागि सर्वसम्मत निर्णय गराएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले यो अभियानमा पूर्वका नेतालाई पश्चिम, पश्चिमकालाई पूर्व, हिमालकालाई तराई–मधेस र तराई–मधेसका नेतालाई हिमाल पहाडका वडामा खटाएर अभियान जारी राखेको बताए । “यो अभियान अब अन्तिम चरणमा पुगेको छ । अभियान सकिएपछि विधान सम्मेलन गरेर फेरि अर्को कार्यक्रम गर्ने भनेका छौं ।”

अभियानले जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्नुका साथै जनतामा पनि नयाँ उत्साह थपेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले अभियान सकिएपछि अन्तिम सम्मेलन गर्ने र देशभरिको प्रतिवेदन लिएर फेरि अर्को अभियान अगाडि बढाउने चर्चा गरे । “त्यो अभियानले पार्टीको शक्तिलाई अझ वृद्धि गर्नमा सफलता प्राप्त गर्नेछ” उनले भने ।

यसैगरी, नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीनको भ्रमणपछि अमेरिकाको भ्रमण गरेको बताए। रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) को अध्यक्ष एवम् मुलुकको प्रधानमन्त्रीको हैसियतले आफूले सातै प्रदेशको एक–एक वडामा पुगेर जनताको कुरा सुन्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकाको वडा १६ मा पुगेको प्रचण्डको भनाइ थियो ।

उनले यो आफ्नो छैटौं वडा रहेको उल्लेख गर्दै बाँकी रहेको कोशी प्रदेशको कुनै एक वडामा पनि आफू पुग्ने बताए।

यस्तै, फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने, बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, जाखोर तालमा पिकनिक स्थल बनाउनु पर्ने मागप्रति आफू सकारात्मक रहेको उनले बताए ।

यसैगरी, धनगढी उपमहानगरपालिका –१५ देखि बनकटीसम्म १५ किलोमिटर कालोपत्रे कृषि सडक निर्माण, धुरजन्ना–डुमलिया जोड्ने शिवगंगा नदीमा मोटरेवल पुल निर्माण, कैलारी –९ सिमराना, कोइलही, गदरिया जोड्ने घुरहा नदीमा पुल निर्माणको मागप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । “तपाईहरुको माग पूराका लागि अधिकतम पहल गर्ने विश्वास दिलाउन चाहन्छु” उनले भने ।

यस्ता छन् मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्यो । बैठकले विभिन्न निर्णय गरेको छ । यस्ता छन् मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १.दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने । सदस्यः श्री फणिन्द्र गौतम, सचिव– नेपाल सरकार सदस्यः श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थमन्त्रालय सदस्यः श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सदस्यः श्री सुजनकुमार काफ्ले, अध्यक्ष– २.खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभुषण शर्मालाई नियुक्त गर्ने । ३.विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

राष्ट्रिय र अन्तरास्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक नेतृत्व र ब्युरोक्रेसीबिचमा कहिनकही अझै तादाम्यता मिलेको नमिलेको बताएका छन् । ‘‘नेपालको अर्थतन्त्र र शासकीय सुधार सम्बन्धी अन्तरक्रिया’’ विषयमा अन्तरक्रिया कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफुले राष्ट्रिय र अन्तरास्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको बताए । प्रधानमन्त्रीले भने मैले राष्ट्रिय र अन्तरास्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। तपाईहरु खुलेर छलफल गर्नुस। रणनीतिक र तत्कालीन रूपमा गर्ने कामको ठोस कार्यसुची तयार गर्नोस्। मलाई लाग्छ हाम्रो देशको ब्युरोक्रेसी संसारकै अब्बल छ, व्यवसायीक छ, दक्ष र अनुभवी छ तर परिणाम निकाल्ने कुरामा राजनैतिक नेतृत्व र ब्युरोक्रेसीबिचमा कहिनकही अझै तादाम्यता मिलेको छैन। त्यसलाई कसरी हल गर्ने ब्युरोक्रेसीको पुर्व र वर्तमान नेतृत्वले छलफल गरि निष्कर्ष पेश गर्नुहुनेछ। जनताको सेवा र विकासमा राज्यले ध्यानल दिनुपर्ने प्रधानमन्त्रीले बताए । उनले भने सेवामा सुधार देखेनन भने जनतालाई फिलोसोफी र आइडोलोजीको मतलब हुदैन । सेवा र विकासको आधारमा जनताले सरकारप्रती सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्दछन। त्यही सन्तुष्टि र असन्तुष्टिमा राजनीतिक चलखेल हुने गर्दछ। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लागि पुरै प्रयास जारी राखेको छ। तर जनता पुरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन। अर्थतन्त्र सुधारतर्फ उन्मुख त छ तर दवावमुक्त भैसकेको छैन। हामी १५ औं योजनाको समिक्षा र १६ औं योजनाको तयारीको समयमा छौँ । आगामी बर्षको नितिकार्यक्रम र बजेट निर्माणको समयमा छौँ । यो मौलिक कार्यक्रमले त्यसको लागि सरकारलाई मद्दत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।’ सम्बोधनको पूर्णपाठ आज फेरि म नास्टको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित भएर केही समय वैज्ञानिक अनुभूतिको क्षणको रुपमा समय बिताउन पाउँदा मलाई खुशी लागेको छ। यस अवसरमा नास्टको वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत हुनुभएकोमा सम्पूर्ण वैज्ञानिक प्राविधिज्ञहरूमा हार्दिक बधाइ व्यक्त गर्दछु। मैले तपाईहरूको विज्ञान तथा प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको बारेमा सर्सति हेर्ने मौका पाएँ। मलाई अत्यन्त खुशी लाग्यो। हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आएको रहेछ। भलै नेपाल सरकारले तपाईहरूले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेका छैनौं। सरकारका पनि विभिन्न बाध्यताहरू हुँदा रहेछन्। यसमा तपाईहरूले बुझिदिनुभएकै छ। म आफै पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू म राम्रोसँग बुझ्दछु। भर्खरै मैले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन उद्घाटन गरें। मलाई विश्वास छ यी अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परीक्षणहरू हुने वातावरण सिर्जना हुँदै जानेछन्। विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ। जनताको अपेक्षा नास्टप्रति बढी रहेको छ। यसर्थ यहाँ सञ्चालन हुने कार्यक्रमहरूको स्तरीयताका बारेमा टिकाटिप्पणी हुनु तपाईहरूको लागि पृष्ठपोषण हुने मैले ठान्दछु।   आगामी सोह्रौं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ। देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु। अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो न कि एकांकी भएर गन्तव्य पुग्न कठिन हुने राजनीतिक लगायत अन्य उदाहरणहरू हामीसँग धेरै रहेका छन्। अन्तमा, पुन एकपटक सबै पुरस्कृत महानुभावहरूमा हार्दिक बधाइ व्यक्त गर्दै ४१ औं वार्षिकोत्सवको सफलताको शुभेच्छासहित विदा हुन्छु। धन्यवाद।

प्रधानमन्त्री प्रचण्डद्धारा उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर स्वास्थ्यलाभको कामना

काठमाडौं । छातीमा असहज महसुस भएपछि मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगी भेट गरेका छन् । बुधबार बिहानै अस्पतालमा पुगेका प्रधानमन्त्रीले श्रेष्ठको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका हुन् । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ छातीमा असहज महसुस भएपछि मंगलबार सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । उनको आंशिक अवरोध रहेको भागमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीमा डा.अरुण मास्के सहितको चिकित्सक टोलिले एन्जियोप्लास्टी गरेको छ । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सत्ता गठबन्धनको बैठकमा सहभागी भएपछि अस्पताल गएका हुन् । गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा : मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै महोत्तरी पुगेका छन् । आज बिहान महोत्तरी पुगेका प्रधानमन्त्री प्रचण्ड बर्दिबासमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । त्यहाँ प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिट आयोजीत  ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को क्रममा मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यशालामा पार्टीको ३ महिने रूपान्तरण अभियान अन्तर्गत  मधेश प्रदेशको समीक्षा हुने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । अहिले महोत्तरीको बर्दिबासस्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रीय सदस्यहरूसँग बैठक प्रारम्भ भएको छ । सम्बाेधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने-‘विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको छ। अहिले फेरि NCELL को कुरा आएको छ। मैले सत्यतथ्य छानविन गर्न सम्वन्धि निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कार्बाही गरिन्छ।’

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै महोत्तरी पुगेका छन् । आज बिहान ९ बजे बुद्ध एयरको उडानमार्फत जनकपुर हुँदै उनी महोत्तरीको बर्दिबास पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड बर्दिबासमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी त्यहाँ पुगेका हुन् । कार्यशालामा पार्टीको ३ महिने रूपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समीक्षा हुने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । अहिले महोत्तरीको बर्दिबासस्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रीय सदस्यहरूसँग बैठक प्रारम्भ भएको छ । बैठकबाट नै रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसँग रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य राजु खड्काले जानकारी दिए । यसपछि प्रधानमन्त्री प्रचण्ड महोत्तरीकै गौशाला नगरपालिकामा पुग्ने कार्यक्रम छ । गौशालामा झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । प्रधानमन्त्री आजै ४ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

सिंहदरबारमा सम्पादकहरूसँग प्रधानमन्त्रीको छलफल, के भयो कुरा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रधानमन्त्री कार्यालयमा सम्पादकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सम्पादकहरूसँग राज्य संचालनका क्रममा भएका विषयमा सुझाव सल्लाह लिनुका साथै प्रधानमन्त्रीले आफ्ना विषय राखेका थिए ।छलफलका क्रममा प्रधानमन्त्री र सम्पादकहरूबीच समसामयीक विषयमा खुलेर छलफल भएको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, “विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्को कुनै पनि विकल्प छैन ।” प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा संविधान, लोकतन्त्र र गणतन्त्रमाथि नै प्रश्न उठाउने गरिएको पाइएको प्रसङ्ग उल्लेख गर्दै यस्ता स्वरहरुको कुनै तुक र आधार नभएको र तिनको व्यवस्थापन गरी गणतन्त्रको जग बलियो बनाउने विषयमा सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकमत रहेको बताए । यसै प्रसङ्गमा प्रधानमन्त्रीले भने “पूर्व राजावादीहरुका नाममा अलि बढी नै चलखेल गर्न खोजेको देखिएको छ । नेपाली जनताको बलिदानीबाट प्राप्त भएको वर्तमान संविधानको विरुद्धमा जाने छुट कसैलाई पनि छैन । यदि यसको विरुद्धमा कोही जान खोज्छ भने तिनीहरुलाई कसरी ‘ट्याकल’ गर्ने भन्ने बारेमा नेपालमा गणतन्त्र ल्याउन लागिपरेका सबै राजनीतिक दलहरुले आवश्यक रणनीति बनाएरै बसेका छौँ ।” धर्मका बारेमा पछिल्लो समयमा भएका गतिविधिहरु पनि सरकारको सूचनामा रहेको उल्लेख गर्दै यस विषयमा पनि संविधानमा लेखिएभन्दा यता उता नहुने उनले स्पष्ट गरे । हरेक नेपाली नागरिकको सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको संरक्षण गर्ने तथा राज्य आफैँ धर्म निरपेक्ष रहने विषय स्पष्ट रुपमा संविधानमा व्यवस्था भएकाले सरकार यसबाट कुनै तलमाथि नहुने उनले स्पष्ट गरे । प्रधानमन्त्रीले भने, “यस विषयमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि संविधानमा लेखिएको विषयमा नै प्रतिबद्ध छन् र सरकार पनि स्पष्ट छ । वास्तवमा कुरा के हो भने अहिले आएर धर्मलाई संविधानबाट चलाइयो भने त्यहाँ गणतन्त्र पनि चल्छ र त्यसपछि फेरि राजतन्त्रका बारेमा अनेक थरी कुरा हुन सक्छन् भन्ने बारेमा गणतन्त्रका पक्षधर सबै राजनीतिक दलहरु पनि स्पष्ट नै छन् । त्यसैले अहिले हिन्दू राज्य घोषणा गर्ने रे भनेर ल्याएका नाराहरुको कुनै तुक छैन ।” प्रधानमन्त्री प्रचण्डले विश्वले नै अपनाएको लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक र अग्रगामी शासन व्यवस्था भएकाले अहिले आएर यसको विकल्प खोज्नु सर्वथा गलत हुने बताउँदै कुनै तत्वले यसको विकल्प खोज्दैमा सम्भव नहुने बताए । सत्ता गठबन्धन टुट्दैन यसैगरी, प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरुको सत्ता गठबन्धन नटुट्ने पनि स्पष्ट गरे । उनले भने, “तत्कालै यो सत्ता गठबनधन टुट्दैन र पछि पनि टुट्नेवाला छैन ।” अहिले विभिन्न कोणबाट सत्तारुढ दलहरुको अहिलेको गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न आउने गरेको भए पनि सत्तारुढ दलहरुको यो गठबन्धन कायम रहने प्रधानमन्त्रीले स्पष्ट पारे। प्रधानमन्त्री प्रच(डले संसदमा आफ्नो दलको ३२ सिटमात्र रहेको र तेस्रो दलको नेता भए पनि सरकार सङ्कटमा नरहेको र यही सत्ता गठबन्धन पूरै समय रहने बताए । उनले भने, “मलाई थाहा छ, मेरो ससंदमा ३२ सिट छ र संसदीय अङ्कगणितमा म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुट्दैन र टुटनेवाला पनि छैन ।” टिकटक बन्द होइन नियमन गर्न सकिन्छ प्रधानमन्त्री प्रचण्डलाई टिकटक बन्द गरिएका विषयमा सम्पादकहरुले सोधेको प्रश्नमा उनले भने, “यो बन्द गर्नुपर्‍यो आवाज नै धेरैतिरबाट आएको हो । कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटकपटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुईरतीन महिना नै पर सारेको हो तर हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो । तर यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदैछ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ ।” नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने भन्दै प्रधानमन्त्रीले यसका लागि बरु के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरिएको बताए। टिकटकका विषयमा आफूले प्रदेश प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र जनताले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकामा नै खुसी रहेका बताए । उनले भने, “कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिल्कुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।” आर्थिक सङ्कट समाधान गर्नतर्फ केन्द्रित छौँ प्रधानमन्त्री प्रचण्डले नेपालमा आर्थिक सङ्कट रहेको र यसको समाधान तत्कालै खोज्नुपर्छ भन्ने कुरा सबैतिरबाट आएकाले यसका लागि सरकार केन्द्रित भएको पनि बताए। उनले भने, “एकपटक आर्थिक ‘एजेन्डा’मा धक्का दिएर अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने अब मुुलुक राम्रोसँग अघि बढ्छ भन्ने मेरो आत्मविश्वास छ, यसका लागि निजी क्षेत्र तथा सरोकारवालासँग बारम्बार छलफल गरिरहेका छौँ र अब फेरि अर्को यस्तै राष्ट्रिय स्तरको छलफलको तयारी पनि गरिरहेका छौँ ।” “आर्थिक सूचकाङ्क हेर्दा राम्रै देखिन्छ, पर्यटक आगमन, रेमिट्यान्सको अवस्था एवं वैदेशक मुद्राको सञ्चिति हेर्दा पनि सबै ठिकै देखिन्छ । तर वातावरण छैन भन्ने छ अनि व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन् । त्यसैले अब यो के हो त भन्ने बारेमा पुनः एकपटक गम्भीर रुपमा छलफल गर्नेछौँ,” उनले भने। लघुवित्त तथा सहकारीसम्बन्धी नीति, बैंकको ब्याज तथा व्यवसायीलाई दिने प्याकेज आदि विषयमा सरकारले धेरै निर्णय पनि गरिसकेको तर कता कता यस विषयमा गाँठो नफुकेको पो हो कि भन्ने देखिएकाले सरकार यसको आवश्यक निदानका लागि लाग्ने उनले विश्वास दिलाए। नेपालले ‘क्लाइमेट जस्टिस’ पाउँछ प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबइमा जारी जलवायु सम्मेलन ‘कोप–२८’ नेपालमय भएको सुनाए । आफू संयुक्त राष्ट्रसङ्घीय महासभामा गएका बेला राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आमन्त्रण गरेको र उनी नेपालमा आई चार दिनसम्म बसेकाले अहिले कोप–२८ मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा उनले नै वकालत गर्नु हाम्रा लागि खुसीको कुरा भएको प्रधानमन्त्रीले बताए । यस पटकको विश्व सम्मेलनमा नेपालले आफ्ना कुरा स्पष्टसँग राखेको र महासचिव गुटेरेसले पनि नेपालको नाम पटकपटक लिएर नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने असरबाट जोगाउनुपर्ने बताएकाले नेपालले न्याय पाउने धारणा प्रधानमन्त्रीले राखे। जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा पहिलोपटक नेपालका बारेमा यति धेरै चर्चा भएको भन्दै प्रधानमन्त्रीले नेपालले यसबारेमा पाउनुपर्ने सहयोगका लागि बल मिलेको बताए । उनले भने, “हामीले जलवायु परिवर्तनको असरका कारण प्राप्त गर्न पाउनुपर्ने अधिकारका कुरा राखेका छौँ र राष्ट्रसङ्घले पनि महसुुस गरेको छ । यसबाट अहिले विश्व समुदायलाई पनि जानकारी दिने काम भएको छ । त्यसैले हामीले सहयोग प्राप्त गर्छौं भन्ने मेरो विश्वास छ र यसका लागि नेपालका सम्बद्ध सबै निकायलाई ‘फलो अप’ गर्न पनि भनिसकेको छु ।” विपीन जोशी छुट्छन् भन्ने विश्वास छ अन्तरक्रियाकै क्रममा हमास विद्रोहीहरुको नियन्त्रणमा रहेका नेपाली युवक विपीन जोशीको अवस्था के हो भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको जानकारी पनि दिए । हमास र इजरायलसँग मध्यस्थता गरिरहेको कतारसँग नेपाल सरकारले पनि विपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेको, इजरायल सरकारसँग त सुरुदेखि नै माग गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले विपीनको रिहाइका लागि सबै प्रयासलाई जारी राखेको र हामीले गरेका अपिलका आधारमा उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको बताए। त्यसैगरी, पछिल्लो समयमा रुस र युक्रेनमा पनि नेपाली युवा सेनामा भर्ती भइरहेको भन्ने सूचना पाएपछि सरकारले ती देशलाई नेपालको कुनै पनि नागरिक विदेशी सेनामा भर्ती हुने नीति नरहेको विषयमा जानकारी गराइएको र अब रुस र युक्रेन नजानका लागि पनि युवालाई नेपालमा चेतना जगाउने कामका लागि सम्बद्ध निकायले तयारी थालेको जानकारी उनले दिए । एनसेल बिक्री प्रकरणमा थप अध्ययन हुन्छ नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र आएको समाचारबारे उनले सरकारले थप अध्ययन गर्ने बताए । यसअघि आफूले नै सरकारको नेतृत्व गरेका बेला सो कम्पनीबाट ठूलो मात्रामा कर असुली गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले आएर किन्ने र बेच्नेको मात्र कुरा मिलेर नहुने र त्यसलाई सरकारले थप अध्ययन गर्ने प्रतिक्रिया दिए । उनले भने, “सरकार अध्ययन नगरी अघि बढ्दैन । कम्पनीको करिब एक सय ३० अर्बजतिको सम्पत्तिलाई पाँचरछ अर्बमा बेच्न खोजिएको जस्तो सूचना हामीले पाएका छौँ । यहाँ क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन, त्यो सबै प्रक्रियामा सरकार र यसका सम्बद्ध निकाय पनि संलग्न हुनुपर्छ । अहिलेलाई म यत्ति नै भन्छु आजमात्र मुख्यसचिवसँग मैले यस विषयमा कुरा गरेको छु र अहिलेलाई यो प्रक्रिया रोकिन्छ र थप अध्ययन गरेरमात्र अघि बढिन्छ ।” नेपालको प्रतिष्ठा बढेको छ त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार एक वर्ष नपुग्दै अमेरिका, भारत, चीनलगायत देशको भ्रमणका साथै संयुक्त राष्ट्रसङ्घीय महासभा र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भएको उपस्थितिले नेपालको प्रतिष्ठा बढाएको बताए । भारत र चीनमा भएका औपचारिक भ्रमणमा पनि मुलुकको हितमा महत्वपूर्ण सम्झौता गरेको चर्चा गर्दै प्रधानमन्त्रीले ती सहमतिमा नेपालले पाउने लाभका विषयमा लाग्न नेपाली निकायलाई लागिपर्न निर्देशन दिइरहेको बताए। भारतसँगको जलविद्युत्सम्बन्धी सम्झौताको कार्यान्वयनका लागि होस् या पञ्चेश्वर परियोजनालाई नेपालको हितका पक्षमा कार्यान्वयन गराउन आफू लागिपरेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले एक प्रसङ्गमा नेपालको संसद्ले सर्वसम्मतिबाट पारित गरेको नेपालको चुच्चे नक्साको कार्यान्वयन गरी त्यस बमोजिमको नेपाली भूमि कायम गर्नका लागि भारतसँग कूटनीतिक वार्ता गरिरहेको पनि बताए । उनले भने, “यो विषयको कार्यान्वयन द्विपक्षीय वार्ताबाहेक अरूबाट सम्भव छैन । त्यो विषयमा मेरो भारत भ्रमणका समयमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको हो । वार्ताका माध्यमबाट समाधान गर्नेमा उहाँ पनि सकारात्मक हुनुहुन्छ ।” प्रधानमन्त्री प्रचण्डले अर्को एक प्रसङ्गमा सरकारले सुशासन र जनताका पक्षमा काम गरेको बताए । नागरिकतासम्बन्धी कानुन, मिटरब्याजीलाई कारबाही गर्ने कानुनको निर्माण, भूटानी शरणार्थी प्रकरणको छानबिन र कारबाही, ललिता निवासलगायत अरू भूमाफियाका विरुद्धको कारबाही सबै यही सरकारको पहल र प्रतिबद्धताका कारण भएका पनि स्पष्ट गरे।

टिकटक विस्तारै खोल्न सकिन्छ, एनसेल यही अवस्थामा अघि बढ्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए । उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा सोमबार सिंहदरबारमा भने, “एनसेल जस्ताको त्यस्तैरुपमा अघि बढ्दैन । अध्ययन गर्छौँ, त्यसपछिमात्रै निर्णय हुनेछ । टिकटक नियमनमा राखेर विस्तारै खोल्न सकिन्छ ।”

एनसेलको शेयर बिक्री सम्बन्धी समाचारप्रति प्रधानमन्त्रीद्धारा चासो व्यक्त

काठमाडौं । एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्‍त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गम्भीर चासो व्यक्त गरेका छन्। प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन समेत दिएका छन्।

एनसेलवाला कुरा बुझेको छैन, यात्रु छुटेको थाहा थिएन, मन्त्री परिवर्तन हल्लामात्रै : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मन्त्री परिवर्तनको हल्लामात्रै भएको बताएका छन् । उनले सरकार बनेदेखि नै यस्ता हल्ला भएको र गृहमन्त्री परिवर्तनको कुरा हल्लामात्रै भएको बताएका थिए । कोप सम्मेलनबाट फर्किने बेलामा उनले यस्तो बताएका हुन् । “सरकार गठन भएका बेलादेखि नै मन्त्रिपरिषद् पुनर्गठन भन्ने हल्ला धेरै भयो,” उनले भने, “गठबन्धनभित्र सोचिएको पनि छैन । सरकार गठन भएदेखि नै गृहमन्त्री परिवर्तन भन्ने कुरा भएको थियो, त्यस्तो होइन, मेरो दिमागमै छैन मन्त्री परिवर्तन गर्ने कुरा ।” उनले एनसेल खरिदबिक्रीका सम्बन्धमा आफूले कुरा नबुझेको र बुझेपछि जानकारी गराउने बताए । “एनसेलवाला कुरा बुझेको छैन । बुझेपछि भनौंला,” उनले भने । उनले आफू दुई घण्टाअघि दुवई जाँदा ३१ नेपाली छुटेको सम्बन्धमा दुःख लागेको बताउँदै भने, “छुट्ने जानकारी पाएको भए म दुई घण्टा अघि जाने थिइनँ ।”

जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन्। मङ्सिर १३ गते राति ९ बजे युएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरे । शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताए। उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गरे। सम्मेलनमा उनले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गरे । विमानस्थलमा पत्रकारलाई प्रधानमन्त्रीको २१ बुँदे सम्बोधन जस्ताको तस्तै उपस्थित सञ्चारकर्मी मित्रहरू, १.संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति His Highness Sheikh Mohammed bin Rashid Al Maktoum को निमन्त्रणामा दुबईमा आयोजना भएको United Nations Framework Convention on Climate Change को 28th Conference of the Parties (COP 28) को World Climate Action Summit मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २०८० मंसिर १३ देखि १७ गते (2023 नोभेम्बर २९ देखि डिसेम्बर ३) सम्म भाग लिएर आज स्वदेश फर्किएको छु। २.भ्रमणका क्रममा मैले मंसिर १४ गते (नोभेम्बर ३०) अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका कामकारवाही, कठिनाइ/चुनौतीहरू लगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवाहरू उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवम् प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशन दिएको छु। संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको छु। ३.यसै गरी नेपाली राजदूतावासबाट आयोजित त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरूले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँहरूलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको छु। ४.नेपाल सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्बन गरेका नीति तथा कार्यक्रमहरूले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको धारणा नेपाली समुदायका प्रतिनिधिहरूबीच राखेको छु ।विदेशी भूमिमा दुख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको छु । ५.सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको Nepal-Dubai Business Forum लाई सम्बोधन गरेँ। उक्त कार्यक्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथिमकता प्राप्त क्षेत्रमा लागानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गरेको छु। नेपालमा लगानीका प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र वैदेशिक लगानीको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएको थिएँ।उक्त फोरममा उपस्थित युएई सरकारका उच्च अधिकारीहरूले नेपाल र युएईले व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावनाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेका थिए। कार्यक्रममा उद्योगी, व्यापारी एवम् लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। ६.भ्रमणको तेस्रो दिन मंसिर १५ गते (१ डिसेम्बर २०२३) का दिन जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८ ‍औं सम्मेलन COP28 को औपचारिक उद्‌घाटन समारोहमा सरिक भएँ। ७.उक्त उद्‌घाटन समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूसँग भेटघाट भएको थियो। सम्मेलनमा भाग लिन आउनुभएका भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग समेत उद्‌घाटन कार्यक्रमका दौरानमा भेटघाट भएको थियो। सो भेटमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारे चासो राख्दै प्रधानमन्त्री श्री मोदीले भूकम्प पीडितलाई आवश्क पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको कुरा बताउनुभएको थियो। ८.सोही दिन अपरान्ह सम्मेलन आयोजना स्थलमा रहेको Nepal Pavilion को अवलोकन भ्रमण गरेको थिएँ। सो क्रममा Pavilion मा उपस्थित जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील नेपालीहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपाल सरकारले चालेका कदमहरू र COP28 मा नेपालले उठाउने एजेण्डा र प्राथमिकताका क्षेत्रहरूको बारेमा जानकारी गराएको थिएँ। जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै Pavilion भएको हुँदा यसको विशेष महत्त्व रहेको मैले पाएको छु। ९.सोही दिन Global Stocktake (GST) High-Level Leaders’ Event on Adaptation विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मैले Paris Agreement को प्रतिबद्धता अनुरूप नेपालले दोस्रो Nationally Determined Cointributions (NDC) पेश गरिसकेको एवम् राष्ट्रिय अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराएको छु। जलवायु परिवर्तनको असर विरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिको सीमा १.५ डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेको छु। १०.सम्बोधनका क्रममा मैले जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएको थिएँ। ११.सम्मेलनको साइड लाइनमा मैले G77 and China का अध्यक्ष क्युवाका राष्ट्रपतिसँग भेट गरी द्विपक्षीय सम्बन्धमा कुराकानी गर्नुका अतिरिक्त G77 and China लाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी गरेको थिएँ। १२.भ्रमणको चौथो दिन मंसिर १६ गते (२ डिसेम्बर २०२३) का दिन बिहान नेपालले आयोजना गरेको High-Level Roundtable on Call of the Mountains: Who Saves us from the Climate Crisis? को अध्यक्षता गर्दै जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकहरूमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नु आवश्यक रहेको विषयमा जोड दिएको थिएँ। १३.उक्त High-Level Roundtable लाई प्रमुख वक्ता (Key Note Speaker) का रूपमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेर्रेसले Roundtable आयोजना गरेकोमा नेपाललाई धन्यवाद दिँदै जलवायु परिवर्तनको प्रतिकूल प्रभाव जताततै देखिन थालेकोले प्रभाव न्यूनीकरणको काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो। आफूले हालै गरेको नेपाल भ्रमणको सुखद स्मरण गर्दै महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभाव आफ्नै आँखाले देखेको उल्लेख गर्दै नेपालको सहयोग र हिमालहरूको संरक्षणमा राष्ट्रहरूले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुएको थियो। १४.सो अवसरमा एन्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भूटानका State Secretary र अन्तर्राष्ट्रिय संघ-संस्थाका प्रतिनिधिले Roundtable आयोजना गरेकोमा धन्यवाद दिँदै हिमाल संरक्षणको लागि हिमाली राष्ट्रहरूले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो। १५.कार्यक्रममा जलवायु विज्ञ, सरकारी अधिकारी, व्यवसायी र जलवायु अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। १६.सोही दिन मैले नेपालको तर्फबाट National Statement दिँदै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएकोले यथार्थलाई दृष्टिगत गर्दै जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको थिएँ। साथै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि मैले जानकारी गराएको थिएँ। १७.हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकोले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको थिएँ। १८.त्यसैगरी, मैले दुबईमा रहेको फ्युचर म्युजियमको अवलोकन भ्रमण गरेको थिएँ। १९.आजै बिहान पनि मैले संयुक्त राष्ट्र संघ अन्तर्गतका संघ-संस्थाहरू – WMO, UNDRR, ITU, IFRC ले आयोजना गरेको विपदबाट पर्न सक्ने जोखिमको पूर्व जानकारीमा सबैको पहुँच (Delivering Early Warnings for All) विषयमा नेपालको तर्फबाट मन्तव्य राखेको छु। संयुक्त राष्ट्रसंघका महासचिव समेत सहभागी हुनुभएको उक्त महत्त्वपूर्ण कार्यक्रममा मैले नेपाल लगायत अति कम विकसित मुलुकहरूका विपद र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छु।यस महत्त्वपूर्ण Initiative मा नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराउनु भएकोमा संयुक्त राष्ट्र संघका महासचिवको प्रशंसा गरेको छु। २०.आजै बिहान मसँग बेलायतका विदेश राज्यमन्त्री Andrew Mitchel ले शिष्टाचार भेट गर्नुभएको थियो। भेटका अवसरमा नेपाल-बेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयहरु लगायतमा कुराकानी भएको थियो। २१.अन्त्यमा भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री स्वदेश फर्किने समय साँझ ६ः३० बजे पत्रकारहरूलाई समाचार संकलनका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा निमन्त्रणा गरिएको छ ।

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री प्रचण्डको आह्वान (भिडियोसहित)

नेपालमाथिको अन्याय रोकिनुपर्छ दुबई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔं अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताए । शनिबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय राउण्डटेबल बैठकको अध्यक्षता गर्दै उनले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। प्रधानमन्त्री प्रचण्डले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले भने , ‘‘हाम्रा हिमाल बचाउनुहोस्, आफूलाई बचाउनुहोस्। हामीलाई बचाउन हाम्रो हिमालहरु बचाऔं। हिमाली क्षेत्रका बासिन्दाको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्या बाहिर ल्याउन हिमाल र जलवायु परिवर्तन सम्बन्धी संवादको थालनी गर्न पनि हिमाली मुलुक नेपालको तर्फबाट दृढतापूर्वक सुझाव दिन चाहन्छु।’’ प्रधानमन्त्री प्रचण्डले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्युनिकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने स्पष्ट पारे।

कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी भएपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकमतामा परेको बताए । प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको बताए । जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताए। जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा विस्तारै स्थापित हुने प्रधानमन्त्रीको भनाइ छ । जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवापुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताए । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिक अर्थात भोलि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबखत प्रधानमन्त्री प्रचण्डले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषयलाई बलियो रुपमा उठाउँने छन् । सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सैद्धान्तिक कुराहरु जोडदार रुपमा उठाउने छन्। तर, त्यसको कार्यान्वयनका लागि नेपाली प्रतिनिधिहरुले विभिन्न छुट्टा छुट्टै द्विपक्षीय र बहुपक्षीय बैठकहरुमा कुरा गर्ने छन् । कोप २८ सम्मेलनको उद्घाटन सत्र आज सम्पन्न भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गरे। खासगरी औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन कम गर्ने विषयमा आफ्नो धारणा राखिरहेका छन् भने औद्योगिक राष्ट्रहरुको अत्यधिक कार्बन उत्सर्जनबाट मार खेपिरहेका राष्ट्रहरुले भने क्षतिपुर्तिलाई आफ्नो मुख्य एजेण्डाको रुपमा राखिरहेका छन् । नेपालले यतिबेला जलवायु परिवर्तनमा विश्व समुदायको चुनौतिपूर्ण समस्याका रुपमा रहेको कुरा प्रष्टसँग राख्दैछ । यही कुरा नेपाली प्रतिनिधि मण्डलसंगको छलफलमा प्रधानमन्त्रीले राखेको छ । विश्व यतिबेला जलवायु परिवर्तनबाट प्राणी जगतमा परिरहेको र पर्ने नकारात्मक विषयमा निकै चिन्तनमा छ । संयुक्त अरब इमिरेट्सको दुबईमा भैरहेको कोप २८ को सम्मेलनकमा विश्वका नेताहरु कार्वन उत्सर्जन कम गर्न सकिने उपायका बारेमा मात्रै चिन्तन गरिरहेका छैनन, कार्बन उत्सर्जनबाट पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उपायका बारेमा सैद्धान्तिक छलफल पनि गरिरहेका छन । यसैबीच दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । त्यसबखत दुइ पक्षीय हितका बारेमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेली (Miguel Mario Diaz-Canely ) बीच पनि आजै भेटवार्ता भएको छ । भेटवार्तामा दुइपक्षीय हितका बारेमा कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिक अर्थात भोलि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबखत प्रधानमन्त्री प्रचण्डले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषयलाई बलियो रुपमा उठाउँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर १३ गते दुबइ प्रस्थान गरेको हो । प्रधानमन्त्री १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

अबुधावी । दुबईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। त्यसका साथै भेटमा दुइ पक्षीय हितका बारेमा छलफल भएको बताइएको छ ।