प्रधानमन्त्री प्रचण्डले लिए उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।
पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन्। सो अवसरमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर आज स्वदेश फर्किएका हुन् ।
चाडपर्वमा कृतिम अभाव र महंगी नहोस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वमा महंगी, कृतिम अभाव हुन नहुने तर्फ राज्यका निकायहरू सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दसैंको पूर्वसन्ध्यामा आयोजित शुभकामना कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । दसैंको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले कालोबजारी नियन्त्रण गर्न , जनतालाई सहजरुपमा चाडपर्व जनताले सहज महशुस गर्ने वातावारण बनाउँन राज्यका सबै निकायले भुमिका खेल्नुपर्ने बताए। चाड पर्वको समयमा जनता तनाव रहित ढंगले पर्वमा रमाउने वातावरण बनाउँनुपर्ने उनको भनाई थियो । उनले चाडपर्वको समयमा महंगी, कृतिम अभाव नहोस् भनेर सौलियत पसललाई प्रभावकारी बनाउँने तथा अनुगनम प्रभावकारी बनाउँने कोशिस गरिएको बताएका छन् । सबै सांस्कृतक पर्वहरूलाई ध्यान दिएर आफु मुख्यसचिव लगाएत जनतालाई चाडपर्व सहज ढंगले मनाउँने वातावरण बनाउन लागिएको बताए । आज देखि चीनीको अभाव नहुने उनले बताएका छन् ।
गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो । उनलाई हृदयाघात भएको तर स्थिति खतरामुक्त रहेको प्रधानमन्त्री प्रचण्डले दसैंको शुभकामना दिने क्रममा जानकारी दिए । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले गृहमन्त्री श्रेष्ठको अपरेसन गरिएको र बोल्न सक्ने अवस्थामा रहेको बताएकी थिइन् । “गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गए राति हृदयाघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ,” सञ्चारमन्त्री शर्माले भनिन्, “उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनुहुनेछ । बोल्न सक्ने स्थितिमा आउनुभएको छ ।” गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार उनको मुटुको एउटा भल्ब ‘ब्लक’ भएको थियो । त्यसको अपरेसन गरेर स्टेन राखिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको बताइन् । उनले नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन् । मन्त्रिपरिषद् बैठकका निर्णयहरु आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने । २०८० असोज २६ देखि कात्तिक २ गतेसम्म भारतमा हुने प्रधानमन्त्री गतिशक्ति गुरूयोजनाको अवलोकन भ्रमणमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने । आर्थिक वर्ष २०८०/८१ औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने । थाइल्याण्डको बैंककमा २०८० कात्तिक २ देखि ३ गतेसम्म आयोजनामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने । दुग्ध विकास संस्थानको सञ्चालक समितिका सदस्य डा. वेदबहादुर क्षेत्रीलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष तोक्ने । २०८० असोज २९ देखि कात्तिक ३ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिने । रेल्वे सेवा सञ्चालन र मर्मत संभारको लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार तथा सरकारी प्रक्रियाबाट सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति दिने । रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृतस्तरका १४ अस्थायी दरबन्दी स्वीकृत गर्ने । २०८० असोज ३० देखि कात्तिक २ सम्म भारतको मुम्बईमा हुने कार्यक्रममा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सहभागी हुन स्वीकृति दिने । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापक (अफिसियल)लाई पुरस्कार प्रदान गर्ने । २०८० मंसिर १९ र २० गते मित्रराष्ट्र घानामा संयुक्त राष्ट्रसंघद्वारा आयोजना हुने २०२३ कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सहभागी हुन स्वीकृति दिने । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकालाई १५ शैय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिकाको वडा नं. ३ स्थित ७.२ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने । माथिल्लो सितखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माणका लागि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ४ र ५ स्थित १.८४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने । अवकाशप्राप्त गैरनेपाली नागरिक अस्थायी शिक्षकहरूलाई सुविधा प्रदान गर्ने । अवकाशप्राप्त गैरनेपाली नागरिक अस्थायी शिक्षकहरूलाई सुविधा प्रदान गर्ने । नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री अर्जुन जंग थापालाई बढुवा गर्ने । न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानून समूहतर्फका ६ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरूवा गर्ने । दशैं, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने । राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को लागि आवश्यक १०७.९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने । अन्तर्राष्ट्रिय स्तरको बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन २०२४, २०८०, ११, २७ देखि २९ सम्म आयोजना गर्न लुम्विनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिने । बङ्गलादेशको ढाकामा कात्तिक ११ देखि १३, २०८० मा हुने सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनसम्शेर जबराको भ्रमण स्वीकृत गर्ने । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको यही मिति २०८० कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने । परराष्ट्रमन्त्रीको यही २०८० कात्तिक ८ देखि १६ गते सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने । नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ समझदारीपत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने । वन पैदावार विकास समितिलाई ८ करोड पचासी लाख रुपैयाँ ऋण सहायता दिने । २०८० कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने युनेस्कोको ४२ औं महासभामा निम्नबमोजिम भ्रमणको लागि देहायबमोजिम स्वीकृति दिने । प्रथम चरण २०८० कात्तिक २१ देखि २७ गतेसम्म मन्त्री अशोककुमार राईको नेतृत्वमा, दोस्रो चरणमा कात्तिक २९ देखि मंसिर ५ गतेसम्म सचिव सूचना (शिक्षा) सुरेश अधिकारीको नेतृत्वमा । मिति २०८० असार १२ गते नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार मनाङ एअरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम गठन भएको समितिलाई मनाङ एअरको २०८०, ६ र २७ मा भएको दुर्घटनाको समेत जाँचबुझ गर्न कार्यादेश दिने । नेपाल सरकार र कतार सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नेपाल सरकारको तर्फबाट उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी दिने । आगामी २०८० कात्तिक २९ देखि मंसिर १ गतेसम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा माननीय स्वास्थ्य तथा जनसङ्खयामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईंलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । आगामी २०८० कात्तिक १३ देखि १६ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, सचिव डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने । सरकारले आगामी २०८० कात्तिक १३ देखि १६ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, सचिव डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।
सरकारको पेट्रोल पम्पमा छड्के : हिजो भ्यालीबाबा र आज श्यामा पम्प सिल
काठमाडौं । सरकारले काठमाडौंका पेट्रोल पम्पमा छड्के अनुगमनलाई आज पनि निरन्तरता दिएको छ । हेलो सरकारमा काठमाडौंका केही पम्पले सरकारले दसैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसललगायतका गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबारदेखि छड्के अनुगमन गरिएको हो। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए । वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको टोलीले पम्पहरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा हिजो तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको थियो । भने आज सशस्त्र प्रहरीको हलचोकस्थित पम्प र कलंकीको श्यामा पम्प सिल गरेको छ । ती पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको हो।
हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री (भिडियोसहित)
जोमसोम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए। प्रधानमन्त्रीले भने, ‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु।’ ‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन्। जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो’, प्रधानमन्त्रीले भने, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’ प्रधानमन्त्रीले भने, ‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो। स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन्। कोरला नाकाको विशेष रणनीतिक महत्व छ। तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ।’ प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरे ।
प्रहरी दिवस : थप जिम्मेवारी बोधका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्रीको अपिल (सम्बोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६८ औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा सहभागी भई प्रधानमन्त्री प्रचण्डले प्रहरी कौशल र प्रहरीको इतिहासबारे प्रस्तुत गरिएका प्रस्तुतिहरुको अवलोकन समेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रहरी दिवस, नेपाल प्रहरीको मात्र नभई हामी सम्पूर्ण देशवासीहरूको समेत साझा उत्सव र दिवस भएको बताएका छन् । प्रहरी दिवसलाई नेपाल प्रहरीले हाम्रो समाजमा पुर्याएको योगदान, अहोरात्र प्रदान गरेको सुरक्षा, आम नागरिकलाई समस्याको समयमा दिएको काँध र मातृभूमिको लागि तर्पण गरेको बलिदान, चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रपतिको स्वयंसेवी भावनाद्वारा प्रेरित भई गरेको कर्तव्यनिष्ठताप्रति सम्मान प्रकट गर्ने राष्ट्रिय अवसरको रुपमा लिएको उनले बताए । नेपाल प्रहरीको गौरवशाली इतिहासमा यस गरिमामय संगठनले धेरै बाधा, अवरोध र चुनौतीहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको उनले बताए । गौरवमय इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारीबोध र कार्यसम्पादन गर्न अपील समेत गरेका छन् । यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ सबैभन्दा पहिला नेपाल प्रहरीका सम्पूर्ण प्रहरी कर्मचारीहरूमा ६८औँ प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस संगठनमा हाल आबद्ध र कार्यरत तथा यस संगठनबाट सेवा निवृत्त हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई देश र नागरिक सुरक्षाका खातिर यहाँहरूले बगाउनुभएको पसिना, रगत र तिलाञ्जलि दिनुभएको व्यक्तिगत तथा पारिवारिक समयका लागि नेपाल सरकारका तर्फबाट आभारसहित धन्यवाद व्यक्त गर्दछु। प्रहरी दिवस, नेपाल प्रहरीको मात्र नभई हामी सम्पूर्ण देशबासीहरूको समेत साझा उत्सव र दिवस हो। आजको दिन नेपाल प्रहरीले हाम्रो समाजमा पुर्याएको योगदान, अहोरात्र प्रदान गरेको सुरक्षा, आम नागरिकलाई समस्याको समयमा दिएको काँध र मातृभूमिको लागि तर्पण गरेको बलिदान, चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रपतिको स्वयंसेवी भावनाद्वारा प्रेरित भई गरेको कर्तव्यनिष्ठताप्रति सम्मान प्रकट गर्ने राष्ट्रिय अवसरसमेत हो। प्रहरी दिवसको उपलक्ष्यमा यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भई नेपाल प्रहरी परिवारमाझ यहाँहरूका विचार र भावना सुन्ने/बुझ्ने तथा आफ्ना विचारहरू राख्ने अवसर पाउँदा मलाई खुशी लागेको छ। नेपाल प्रहरीको गौरवशाली इतिहासमा यस गरिमामय संगठनले धेरै बाधा, अवरोध र चुनौतीहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको हो। यस अवसरमा गौरवमय इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारीबोध र कार्यसम्पादनका निम्तिसमेत सिंगो संगठन परिवारमा हार्दिक अपील गर्दछु। प्रहरी दिवसको यसै अवसरमा म वीर अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्यपालनका क्रममा घाइते हुनुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गर्दछु। आम नागरिकका हरेक सरोकार र राज्यका हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर ती सरोकार र समस्याको सम्बोधन र समाधान गरेको छ। आम नागरिकले दुखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैमा महत्वपूर्ण कुरा हो। प्रहरी समाजको एउटा यस्तो अंग हो, जो समाज सँगसँगै समयसापेक्ष परिवर्तन हुँदै जान्छ र जानु पनि पर्दछ। नेपाल प्रहरीले पनि आफू र आफ्नो सेवा प्रवाहलाई समय सापेक्ष आधुनिकीकरण गर्दै अहिलेको अवस्थामा एउटा आधुनिक, दक्ष, जिम्मेवार अनि राष्ट्रिय साथै अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको छ। सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याती प्राप्त गरेको छ, यो हाम्रा लागि महत्वपूर्ण पुँजीसमेत हो। यो संगठनको क्षमता र दक्षतामा हुने अभिवृद्धिसँग सरकारको सफलता पनि समेटिने हुनाले यस संगठनको समय सापेक्ष आधुनिकीकरणका लागि म र मेरो नेतृत्वमा रहेको सरकार अत्यन्त गम्भीर छ। यसै यथार्थलाई मध्यनजर गर्दै नेपाल प्रहरीको वृत्ति विकास, परिचालन र समन्वयमा नेपाल सरकारले वैज्ञानिक विधि र पद्धतिको पालना गरेको र यसले संगठनभित्र सबैले समान न्याय एवं आत्मसम्मानको प्रत्याभूत गरेको कुरा सिंगो देशले अनुभूत गरेको छ। नेपाल सरकार नेपाल प्रहरीका विभिन्न श्रेणीका अधिृकतदेखि जवानसम्म सबैको साझा अभिभावक हो, सबैलाई समान र न्यायपूर्ण व्यवहार गर्दछ भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिएको छ। यसले संगठनमा सुदृढ एकता कायम गर्न, प्रहरी कर्मचारीको मनोबल उकास्न तथा संगठनभित्र सबैले आफ्नो जीवन देख्ने संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। तसर्थ, सरकारले लिएको यस नीतिको गम्भीरतालाई ग्रहण गरी सोहीअनुरूप सिंगो संगठनको वृत्ति विकास र परिचालन व्यवस्थित तुल्याउनसमेत यसै कार्यक्रममार्फत् महानिरीक्षकज्यूलाई निर्देशित गर्दछु। समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनता सबै पक्षलाई मध्यनजर गरी नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोहीअनुकूल विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व र खुशी लागेको छ। यस सन्दर्भमा सूचना-प्रविधिको घातांकीय विकाससँगै अपराधका नयाँ-नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपूर उपयोग गर्ने मैले विश्वास लिएको छु। बदलिएको परिस्थितिअनुरूप आफूलाई रूपान्तरित र परिमार्जन गरेर मात्र हरेक संस्था, नेतृत्व र व्यक्तिले आफ्नो नेतृत्व क्षमता राम्रोसँग प्रमाणित गर्न सक्छ भन्ने एउटा जीवन्त उदाहरण नेपाल प्रहरी हो। हरेक क्रान्तिपछिको बदलिएको राजनीतिक परिवेशमा नेपाल प्रहरीले परिवर्तनलाई अँगाल्न सक्ने क्षमता प्रदर्शन गरेको प्रत्यक्ष हेर्न र अनुभूत गर्न पाउँदा मैले गौरवको महशुस गरेको छु। साथै नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने विश्वास लिएको छु। नेपालको संविधान बमोजिम, नेपाल प्रहरीले संघीय संरचनामा जान रूपान्तरणको तयारी गरेको कार्यहरू समेत महत्वपूर्ण छन्। भविष्यमा संघीय संरचनामा आउन सक्ने अवसर, चुनौती र संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले सबै प्रदेशहरूमा प्रदेश प्रहरी कार्यालयहरूसँग सहज, सुमधुर र प्रभावकारी सुपरीवेक्षण र समन्वयको कार्य गर्नेछ भन्ने विश्वाससमेत लिएको छु। नेपाल प्रहरीले मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्न, लैंगिक हिंसा न्युनिकरण गर्न, वाक् तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न, महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सेवा एवं सुरक्षा गर्न र सामुदायिक समन्वय गरी आधुनिक प्रहरीका सिद्धान्तहरू अवलम्बन गर्न कुनै कसरत बाँकी राखेको छैन, भविष्यमा समेत राख्ने छैन। एउटा व्यावसायिक र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न नेपाल प्रहरीले चालेका कदमहरू र यसमा साथ दिने मन्त्रालयहरू, अन्तर्राष्ट्रिय संघसंस्थाहरू, नागरिक समाज र बुद्धिजीवीहरूप्रति समेत आभार प्रकट गर्दछु। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघमार्फत् प्रहरी कर्मचारीहरू पठाएर विश्व शान्तिमा समेत ठूलो योगदान पुर्याएको छ। आगामी दिनमा विश्वशान्तिका निम्ति नेपाल प्रहरी लगायतका देशका सुरक्षा अंगहरूको उपस्थिति र भूमिका बढाउने सन्दर्भमा सरकारले आवश्यक कुटनीतिक पहल लिनेसमेत यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यस अवसरमा विश्व प्रहरी संगठनको रूपमा रहेको INTERPOL को १००औँ सदस्यको रूपमा नेपाल प्रहरीले गरेको उल्लेखनीय कार्यहरू र अन्तर्राष्ट्रिय प्रहरीहरूसँग गर्दै आएको समन्वयको प्रशंसा गर्दछु। आजको यस समारोहमा नेपाल प्रहरीबाट प्रदर्शन भएका कवाज, झाँकी तथा डेमोन्स्ट्रेशनहरूसमेत रोचक र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने किसिमको पाएँ। विविधताबीचको एकता हाम्रो राष्ट्रको गौरव हो। यसको सम्मान, संरक्षण अनि सम्बर्धन गर्दै ठूलो र लामो राजनीतिक परिवर्तनपश्चात् प्राप्त उपलब्धीहरूको जगेर्ना, आम नागरिकका संविधानप्रदत्त मौलिक हक तथा अधिकारहरूको प्रचलनको निर्धक्क वातावरण सिर्जना गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई निडर रही कार्यक्षेत्रमा खटिरहनसमेत निर्देशित गर्दछु। अन्त्यमा, ६८औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारप्रति फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु। कर्तव्यपालनको सिलसिलामा जीवन गुमाउनुभएका सम्पूर्ण ‘अमर प्रहरी’हरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। साथै नेपालीहरूमा महान् पर्वहरू बडादशैं, दीपावली, नेपाल संवत्, छठ लगायतका अवसरमा नेपाल प्रहरी परिवारका साथै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं समृद्धिको शुभकामना व्यक्त गर्दै विदा हुन्छु। धन्यवाद।
गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्दै प्रधानमन्त्रीले भने -‘यो ठुलो संघर्ष र पहलबाट सम्भव भएको हो’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका छन् । आज बालुवाटारमा आयोजित कार्यक्रममा नागरिकता हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहनुेका लाखौं गैरआवासीय नेपालीहरूलाई नागरिकता दिन आफुले धेरै मिहनेत , संघर्ष र पहल गरेको बताए । साथै, उनले लाखौं गैरआवासीय नेपालीहरूले कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्ने विश्वास समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भने मैले भर्खरै संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु । यस अवसरमा कुलजी लगायत तपाईं सबै साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ । यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दशैं, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन समयमा सम्पन्न हुन नसकी संघभित्र केही विवाद र असहमतिहरू रहे । विमतिहरूमाथि गम्भीर समीक्षा गरी संघलाई एकतावद्ध बनाउन प्रधानमन्त्री हुँदा होस् वा पार्टी अध्यक्षको हैसियतले, मैले महत्वपूर्ण भूमिका खेलेको छु, त्यसको यहाँ स्मरण गर्न चाहन्छु । नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु । त्यसकै बलमा तपाईहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुप¥यो । निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं । पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो । मेरो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले सम्माननीय राष्ट्रपतिज्यूलाई नागरिकता विद्येयक सदर गर्न आग्रह ग¥यो । सम्मानीय राष्ट्रपतिज्यूबाट सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको छ, नियमावली बनेको छ । मैले भर्खरै संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु । यस अवसरमा कुलजी लगायत तपाईं सबै साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ । गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेका छौं । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रू. ५ करोडबाट घटाएर रू.२ करोड कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो संख्या अरु बढ्ने हाम्रो विश्वास छ । यसमा संस्थागत रूपमा सहयोग गर्न पनि म गैरआवासीय नेपाली संघलाई आग्रह गर्दछु । तपाईंहरूले देखाउनुभएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् । संसारभरि रहेका नेपालीहरू नेपालका गैरआवासीय दूतहरू हुनुहुन्छ । नेपालले तपाईंहरूबाट धेरै अपेक्षा गरेको छ । नेपाल सरकारले संघको स्थापनाकालदेखि नै संघसँग सहकार्य गर्दै आएको छ । तपाईंहरूले नीति तथा वक्तव्यमा समावेश गरियोस् भनेर विभिन्न सुझावहरू दिनुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ । अन्त्यमा गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकतावद्ध संघ र बलियो नेतृत्व छनोट गर्नेछ, तपाईहरू थप एकतावद्ध भएर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आउँदै गरेका पर्वहरू विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायतको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता
काठमाडौं। गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गर्ने कार्यक्रम तय भएको छ । आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् । उनले लेखेका छन् “एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई मूल मन्त्र मानेर दुई दशकदेखि संघर्ष गर्दै आएको प्रतिफलस्वरूप नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान स्थापित गर्न सफल भएका थियौं । यो हामी सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण हो । संविधानको यही प्रावधानअनुसार अहिले बिहान ७ः०० बजे सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पहिलो गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्दै हुनुहुन्छ र मैले ग्रहण गर्दै छु । यो क्षण हामी सम्पूर्ण गैरआवासीय नेपाली समुदायका लागि हर्ष र गौरवको क्षण हो ।
गैरआवासीय नेपाली नागरिकता दिन सुरुवात प्रधानमन्त्रीले गर्ने
काठमाडौं ।आज गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट सुरु गर्ने भएका छन् । बिहान ८ बजेबाट उक्त कार्यक्रम सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “हिजो साँझको खराब मौसमका कारण धनगढीवाट काठमाडौं आउने प्लेन उड्न नसकेकाले प्रधानमन्त्री आज बिहान धनगढीबाट काठमाडौं आएपछि उक्त कार्यक्रम सुरु हुनेछ,” प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नयाँ कानुनअनुसार गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपाली नागरिकता पाउने भएपछि नागरिकता वितरण गरेर प्रधानमन्त्रीले उक्त कार्यक्रम सुरुआत गर्न लागेका हुन् ।
एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने, प्रधानमन्त्रीले समापन
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि कत्तिक ३ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने सङ्घले जनाएको छ । एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए । उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । अध्यक्षमा चार प्रतिस्पर्धी एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दैछन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएको एनआरएनए सचिवालयले जनाएको छ । समितिका अनुसार उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो । संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करिब एक खर्ब लगानी नेपाल भित्रिएको सङ्घको अनुमान छ । आर्थिक लगानीसँँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संस्थाले उल्लेख गरेको छ ।
समाजवादी मोर्चाको सुदुरपश्चिम सभा सम्पन्न
काठमाडौं । समाजवादी मोर्चाको सन्देश सभा आज सुदुरपश्चिमको धनगढिमा सम्पन्न भएको छ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज अन्तिम सभा सुदुपश्चिममा गरेको हो । सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायत शीर्ष नेताले सम्बोधन गरेका छन् । मोर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।
सरकारले सुदूरपश्चिमलाई विशेष प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड
घोडाघोडी । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले काम गरेको बताएका छन् । सोमबार गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको भावनालाई सम्मान गर्दै सुदूरपश्चिममलाई विशेष प्राथमिकतामा राख्दै आएको बताए । उनले गेटा अस्पताललाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणमा सहमति, महाकालीमा पुल अनुदानमा बनाउने, राजमार्ग निर्माण लगायतका आयोजनामा सरकारले गम्भीर चासोका साथ काम गरेको बताए । प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारले सुविधासम्पन्न भवन निर्माणसँगै त्यस्तै खालको सेवासुविधा जनतालाई दिनुपर्ने बताए । उनले भने “जसरी सुविधा सम्पन्न भवन बनेको छ त्यसैगरी जनताले सेवासुविधा पाउनुपर्छ ।” यसैगरी, प्रधानमन्त्री प्रचण्डले आजै कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको छ । नेपाल सरकार योजना आयोगको चालु आर्थिक वर्षमा एक करोड पचास लाख अनुदान सहयोगमा उक्त भवन निर्माण हुने भएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने प्रक्रिया अगाडि बढेको बताए । दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ सालमा सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको बताउनुहुँदै तेस्रो पटक आफू प्रधानमन्त्री भएपछि कार्यान्वयन प्रक्रियामा रहेको बताए । उनले चालु आर्थिक वर्षमा छ वटा क्याम्पसका लागि नौ करोड विनियोजित रकममध्ये प्रत्येक क्याम्पसलाई डेढ करोड रकम विनियोजन गरिएको जनाउँदै दरबन्दीका विषयमा समेत आवश्यक निर्णय गरिसकेको बताए । २०७३ सालमा मन्त्रिपरिषदबाट निर्णय भएता पनि ढिलासुस्तीका कारण अन्यौलता परेको भन्नुहुँदै शीघ्र निर्णयका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । कार्यक्रममा घोडाघोडी नगरपालिकाको विकासका सन्दर्भमा नगर प्रमुख खडकबहादुर रावतले ज्ञापन पत्र बुझाए । विश्व सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको संरक्षण र पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाई काम थालेको आफूलाई अवगत भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले बिहान लम्कीमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्णबहादुर बडूवाल (महेश)को श्रद्धाञ्जली सभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले इजरायल आक्रमणमा ज्यान गुमाएका घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने लगायत १० जना मृतकको परिवारलाई समवेदना व्यक्त गर्दै यथाशीघ्र मृतकको लास ल्याउन सरकार गम्भीर भएर लागेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको पहलमा पाँच जनाको शव प्राप्त भएको र बाँकी पाँच जनाको समेत प्राप्त गर्ने प्रक्रियामा लागेको बताए । उनले मृतकको खोजी कार्यलाई सरकारले तीव्रता दिएको प्रष्ट पारे । समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी जनाएका हुन् ।
समाजवादी मोर्चाको सुदुरपश्चिम सन्देश सभा आज
धनगढी । समाजवादी मोर्चाको सुदुरपश्चिम सन्देश सभा आज हुँदै छ । भेला सुदुरपश्चिमको धनगढीमा २ बजे हुनेछ । सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी प्रस्थान गरेका छन्। भेला एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण स्थगित भएको थियो।
सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा काम गरिहेको छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा काम गरिहेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाइ आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइँदैन कि भनेर एकथरि विक्षिप्त भएको उनले बताए । कोसीमा गठबन्धनलाइ नै विभाजन गर्ने कोसिस निस्तेज पारिएको बताउँदै अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए । वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनसँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । देशबाहिर रहने नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभएर नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उनले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डद्धारा भरतपुरका ३ वटा खानेपानी आयोजनाको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बीच जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गरका ।

