सङ्घीय संसदमा महासचिव गुटेरेसको सम्बोधन (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । मङ्गलबार अपराह्न ४ बजेबाट सुरु भएको संयुक्त बैठकलाई संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि आइतबार बिहान १ बजे यहाँ आएका थिए। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौंबाट प्रस्थान गर्नेछन् ।उनी नेपाल भ्रमणमा आउँने छैटौं महासचिव भएपनि संसदमा संबोधन गर्ने प्रथम महासचिव हुन् ।

महासचिव गुटेरेसको नेपाल भ्रमण पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । आइतबार यहाँ आइपुगेका गुटेरेसले काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेतालगायतसँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पगे। उनले आजै अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविरको अवलोकन भ्रमण गरे भने त्यहाँबाट आजै लुम्बिनी पुगे । उनले लुम्बिनीमा करिब डेढ घण्टा बिताएका छन् । सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा पोखरा र लुम्बिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् । पोखरा आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य मानिन्छ भने सगरमाथा र अन्नपूर्ण क्षेत्र पर्वतारोहण र पदयात्राका लागि विश्वभर चर्चित छन् । साथै लुम्बिनी धार्मिक पर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा यी महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्नु र पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्दै हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेको बताए । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिरहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरे । संयुक्त राष्ट्रसङ्घका महासचिव ‘कहाँ जानुहुन्छ ?’ भन्ने विषय संसारभरका सञ्चारमाध्यमका लागि ‘बिग न्युज’ हुन्छ । त्यसैले महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी हुने पर्यटन व्यवसायीको विश्वास छ । वि.सं.२०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणयता लुम्बिनीमा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । त्यसैगरी, २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रूपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनले पनि ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । विश्वका प्रभावशाली व्यक्तिहरूको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको पाइन्छ । कोराना महामारीलगायत कारण शिथिल बनेको मुलुकको पर्यटन यतिबेला कोरोना महामारी अघिको अवस्थामा फर्कने क्रममा छ । सम्भवतः नेपालमा विदेशी पर्यटक आगमन सन् २०२३ को अन्त्यसम्ममा कोरोना महामारी सुरु हुनुअघिको अवस्थामा आइपुग्छ । कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा नेपालमा करिब १२ लाख विदेशी पर्यटक आएका थिए भने सन् २०२३ को आठ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल आइपुगेका छन् । यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा साबित हुने पर्यटन व्यवसायीको बुझाइ छ । उहाँको नेपाल भ्रमणले विश्वका अन्य पर्यटकलाई नेपाल आउने वातावरण बन्नेमा व्यवसायी ढुक्क देखिन्छन् । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह महासचिव गुटेरेसको नेपाल भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “संयुक्त राष्ट्रसङ्घका महासचिव कहाँ जानुहुन्छ, के गर्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने विषय संसारका मिडियाका लागि चासो हुन्छ र बिग न्युज बन्छ”, उनले भन्नुभयो, “विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथालगायतका पर्यटकीय गन्तव्यको भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुन्छ, जसले नेपालप्रति विश्व समुदायको चासो बढ्छ ।” महासचिव गुटेरेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्त्वपूर्ण हुनेमा उनको विश्वास छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पूर्ववत् लयमा फर्कन लागेको नेपालको पर्यटन क्षेत्र महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा थप चलायमान हुनेमा विश्वास व्यक्त गरे । उनले भन “महासचिव गुटेरेसको सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, पोखरा र पाटन दरबार क्षेत्रलगायतका गन्तव्यको भ्रमणले नेपालको पर्यटनको विश्वभर प्रवर्द्धन भएको छ । महासचिवले गर्ने ‘ट्राभल’ संसारभरका सञ्चारमाध्यममा समाचार बन्छ, त्यसैले उहाँको यस भ्रमणबाट ठुलो प्रचारप्रसार भएको छ ।” महासचिव गुटेरेसको खुम्बु क्षेत्रको भ्रमणले जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव न्यूनीकरण गर्दै दिगो पर्यटन विकासमा यसले विश्वव्यापी रूपमा बहस हुने निर्देशक लामिछानेको भनाइ छ । गुटेरेसले खुम्बु क्षेत्रको भ्रमणका साथै ‘एभरेष्ट भ्यु’ होटलमा ‘लञ्च’ गर्नुले विश्वभरका ‘हाई इन्ड टुरिस्ट’लाई आकर्षण गर्ने पर्यटन बोर्डको विश्वास छ । छोटो समयमा संसारका अग्ला र उत्कृष्ट हिमाल पनि भ्रमण गर्न सकिने रहेछ भन्ने सन्देश पनि प्रवाह हुने भएकाले नेपालको पर्यटनका लागि महासचिव गुटेरेसको भ्रमण ऐतिहासिक उपलब्धि हुने निर्देशक लामिछानेको बुझाइ छ । जलवायु परिवर्तन र दिगो पर्यटन विकासको विषय विश्वव्यापी रूपमा उठिरहेको सन्दर्भमा महासचिव गुटेरेसको भ्रमणबाट विश्वको ध्यानाकर्षण भएको हानका अध्यक्ष शाहको बुझाइ छ । “नेपालको कूटनीतिक सम्बन्ध, संयुक्त राष्ट्रसङ्घको सदस्यको हिसाबले नेपालले गरेको प्रतिबद्धता त छँदैछ तर, यसले पर्यटन क्षेत्रलाई पनि नयाँ उचाइमा पुर्‍याउँछ । पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।” नेपालमा यतिबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । दसैँ सकिएर, तिहार र छठ पर्वको माहौल छ । पदयात्रा र पर्वतारोहणका लागि विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आइरहेका छन् । आन्तरिक पर्यटन पनि चलायमान भएको छ । महासचिव गुटेरेसको भ्रमणले पर्यटक बढाउन मद्दत पुग्नेमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले विश्वास व्यक्त गर्नुभयो । साहसिक पर्यटनको आकर्षक गन्तव्यसमेत रहेको नेपालको पर्वतीय पर्यटन, धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा गुटेरेसको भ्रमणले विशेष अर्थ राख्ने उहाँले बताउनुभयो । पाटन दरबार क्षेत्र अवलोकन नेपालको औपचारिक भ्रमणमा रहेएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवम् पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गरे। सो अवसरमा महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सम्पदाबारे जानकारी गराए । महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । महासचिव गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै नेपालका ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सम्पदाको संरक्षणमा जोड दिएका छन् । उनले पुरातात्त्विक महत्वका सम्पदाको वास्तविक स्वरूप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्ने बताए ।उनले भने, “भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले नेपालको भविष्य उज्ज्वल हुनेछ ।” सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको उनले प्रतिक्रिया दिए । महासचिव गुटेरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको उल्लेख गर्दै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए । जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव गुटेरेसले सोमबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरेका थिए। सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए । महासचिव एन्टोनियो गुटेरेस आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। भ्रमणले लुम्बिनी र गौतमबद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित भएका छन् । रासस

लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डले भने – ‘हाम्रो शान्ति प्रक्रिया अन्य देश र विश्व समुदायका लागि राम्रो उदाहरण हुनसक्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको नेपालको शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित बुद्धको जन्म स्थल लुम्बिनी पुगेका प्रधानमन्त्री प्रचण्डले बुद्धको जन्म स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने -‘नेपाली जनताले शान्तिको खोजीमा उदाहरणीय लचकता प्रदर्शन गरेका छन् । नेपालकै माटोमा विकसित, राष्ट्रिय स्वामित्व र नेतृत्वमा अगाडि बढेको शान्ति प्रक्रियाले मुलुकलाई स्थायित्व र शान्तिको राज्यमा सफलतापूर्वक संक्रमण गरेको छ ।हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ। हामी अद्वितीय रूपमा सफल शान्ति प्रक्रियाको अनुभवहरू साझा गरेर द्वन्द्व व्यवस्थापनको विश्वव्यापी ज्ञानवेस निर्माण गर्न योगदान गर्न पाउँदा खुसी हुनेछौं। हाम्रो यो विश्वास छ कि समावेशीकरण, सशक्तिकरण, आर्थिक समृद्धि र न्यायमा आधारित शान्ति लामो समयसम्म टिक्ने छ।’ देशको परिवर्तन र रूपान्तरणका लागि निर्णायक सङ्घर्षको नेतृत्व गर्ने नेता र सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा परिणत गर्ने प्रक्रियालाई सफलतापूर्वक अगुवाइ गर्ने प्रमुख पात्रको हिसाबले आफुले युद्ध र शान्तिको मूल्य राम्रोसँग बुझेको बताए । प्रधानमन्त्री प्रचण्डले भने-‘शान्तिको खोज सधैं मानवताको सर्वोच्च आकांक्षा भएको छ। देशको परिवर्तन र रूपान्तरणका लागि निर्णायक सङ्घर्षको नेतृत्व गर्ने नेता र सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा परिणत गर्ने प्रक्रियालाई सफलतापूर्वक अगुवाइ गर्ने प्रमुख पात्रका रूपमा मैले शान्तिको मूल्य र द्वन्द्वको मूल्य बुझेको छु ।’ अहिले नेपाल शान्ति प्रक्रिया–संक्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङ्ग्याउनमा व्यस्त रहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘अहिले हामी शान्ति प्रक्रिया–संक्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङ्ग्याउनमा व्यस्त छौं । हाम्रो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नु हो। यस उद्देश्यले यस कार्यलाई पूरा गर्नका लागि हाम्रा सबै प्रयासहरूलाई मार्गदर्शन गर्न जारी राख्नेछ। हामी यस सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव र समझदारीमा भरोसा गर्छौं। शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुणहरू हुन् जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौं। विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्व हो । हामी ववतु सर्व मंगलम् र वसुधैव कुटुम्बकम (संसार एक परिवार हो) मा विश्वास गर्छौं। पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको छ । सौहार्दता, सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन्। हामी संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौँ। बहुपक्षीयताप्रतिको हाम्रो बलियो प्रतिबद्धताको आधारमा, हामी विश्वास निर्माण गर्न, साझेदारी र सहकार्यलाई प्रवर्द्धन गर्न र विश्वले सामना गर्ने अभूतपूर्व मात्रा र प्रकृतिका चुनौतीहरूलाई पार गर्न एकतामा काम गर्न आह्वान गर्छौं। महासचिव महोदय, बहुपक्षीयतालाई सुदृढ गर्न र तपाईंको जनादेश पूरा गर्नमा हामी तपाईंलाई हाम्रो समर्थन प्रदान गर्दछौं। संयुक्त राष्ट्र शान्ति अभियानमा हाम्रो लामो समयदेखिको सहभागिता र पर्याप्त योगदानले विश्वव्यापी शान्ति र सुरक्षा प्रवर्द्धन गर्ने हाम्रो जन्मजात इच्छालाई स्पष्ट रूपमा प्रकट गर्दछ।’

जलवायु संकट समाधान गर्ने कदम चाल्न आवश्यक भैसक्यो : महासचिव गुटेरेस (भिडियो)

काठमाडौं ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकट समाधानका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् । आज उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गरेका उनले सो कुरा बताएका हुन् । जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उनी सोलुखुम्बुको स्याङ्बोचे गएका थिए । त्यहाँ उनले स्थानीय बासिन्दासँग पनि छलफल गरे । त्यहाँ उनले भनेका छन् -‘आज सगरमाथाको आधारबाट, हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखे। तापक्रम बढ्दै जाँदा, हिउ पग्लने क्रम बढ्दै जान्छ , त्यसले सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरा पैदा गरेको छ।यससंकटका विरुद्ध छिट्टै कदम लिन आवश्यक छ ।’ Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas. As temperatures rise, glacier melt increases – threatening the lives and livelihoods of entire communities.#ClimateAction can’t wait. pic.twitter.com/Ih12Qb8roi — António Guterres (@antonioguterres) October 30, 2023

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।” सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गरे । उनले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गरेका हुन् । शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पारे । उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराए । महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन् गरेर काम गर्नुपर्ने बताए । नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे । संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो । कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गरेकी थिइन् । समारोहपश्चात् महासचिव गुटेरेसले राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गरे । चारदिने भ्रमणमा लागि महासचिव गुटेरेस यही कात्तिक १२ गते नेपाल आएका हुन् । रासस

आगामी तीन दिन देशभर मौसम सामान्यतया सफा रहने

काठमाडौँ । सोमवारदेखि आगामी तीन दिन देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार तीन दिन नै रातको समयमा देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने दिनमा भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्मानुमानः २०८० कार्तिक १३ गते (सोमबार) दिउँसो ː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीः देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। २०८० कार्तिक १४ गते (मंगलबार) दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती स् देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। २०८० कार्तिक १५ गते (बुधबार) दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

जलवायु परिवर्तनको असरबारे बुझ्न हिमाली क्षेत्रको भ्रमण गर्दै महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्दै छन् । आइतबार राजनीतिक भेटघाट गरिसकेका उनले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लागेका हुन् । गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भू–भागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् । आइतबार उनले नेताहरूसँगको भेटमा जलवायु परिवर्तनले तल्लो भू–भागमा पारेको असरहरू धेरै सुनिए पनि उच्च भू–भागमा पारेको असर कम सुनिएका बताएका थिए । यही कारण नेपालजस्ता उच्च भू–भाग भएका देशमा जलवायु परिवर्तनले नागरिकको दैनिक जीवनमा कस्तो असर गरेका छ भन्ने बारे बुझ्न नेपाल आएको उनले बताएका थिए । “जलवायु परिवर्तनले असर गरेको नेपालको दिगो विकासमा सहयोग गर्न म अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्छु,” महासचिव गुटरेसले नेताहरूसँग भनेका छन् । गुटेरेस चार दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार बिहान नेपाल आएका थिए ।

महासचिव गुटेरेसको स्वागत तथा सम्मानमा रात्रीभोज(तस्बिर)

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड)को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत तथा सम्मानमा रात्रीभोज आयोजना गरिएको छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका महासचिव गुटेरेस रात्रिभोजमा सहभागी भए । सो अवसरमा महासचिवको कार्यदलका सदस्यहरु, नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । चार दिनको नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले उच्चस्तरको राजनीतिक भेटघाट गरे । सोमबार उनले पोखरा, कपिलवस्तु लगायतको ठाउँको भ्रमण गर्ने कार्यालिका रहेको छ । रात्रीभोजमा प्रधानमन्त्री,सभामुख, पूर्वप्रधानमन्त्रीहरू लगायतका शिर्ष नेताहरूको सहभागीता रहेको छ । तस्बिरमा सहभागिहरू

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतवार राष्ट्रपतिभवन शीतलनिवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए। यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए। चारदिने नेपाल भ्रमणका क्रममा रहेका उनले सोमवार र मंगलवार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा आधारशिविर, अन्नपूर्ण आधारशिविरको भ्रमण गर्ने र मंगलवार संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्न लागेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा असत्य : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा असत्य भएको बताएका छन्। दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सभापति देउवाले सो कुरा बताएका हुन् । उनले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए । सभापति देउवाले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको समेत बताए। उनले सभापति देउवाले ठूला दल बिस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि दोहोर्‍याए।

प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृति निस्तेज पार्छौः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृतिलाई निस्तेज पार्ने बताएका छन् । गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरुलाई एकतावद्ध गर्नमा केन्द्रित छ ।’ नेपाली काँग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ ।’ उनले चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्ने, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशा तिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीति दलहरुका बीचमा सहमति बनाउने प्रयत्न भएको स्पष्ट गरे । उनले अन्तर्राष्ट्रिय रुपमा पनि सरकारबाट लिइएका कुटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघको महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको बताए । प्रधानमन्त्रीले यी भ्रमणहरु सरकारले लिएको कुटनीतिक सफलताको परिणाम भएको बताए।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आगामी आइतबार नेपाल भ्रमणमा आउँने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । सन् २०१७ जनवरीमा पदभार ग्रहण गरेका उनी पहिलो पटक नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा महासचिव गुटेरेसले कात्तिक १४ गते (आइतबार) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण भ्रमण गर्ने कार्यतालिका रहेको छ । महासचिव गुटेरेशका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्र संघको टोली पनि सहभागी हुने छ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्ने छन् । महासचिव गुटेरेस कात्तिक १५ गते नेपालबाट फिर्ता हुने कार्यतालिका रहेको छ ।यसैबीच प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेशको भ्रमणमा नेपालको शान्ति प्रक्रियाका विषयमा साझा धारणा बनाउने प्रयास स्वरुप एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

राजनीतिक स्थायित्वका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्छ : प्रधानमन्त्री

रूकुम पश्चिम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्ने बताएका छन्। बिहीबार दिउँसो बाफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्ता सम्बन्धि विधेयक टुंगाउन सरकारले पहल गरिरहेको बताए। प्रधानमन्त्रीले भने, “गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ। महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ, यो परिवर्तनको हकदार तपाईहरू हुनुहुन्छ।” “यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेका छौं। यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार हो। फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईहरूमाझ आएको छु।” प्रधानमन्त्रीले भने। प्रधानमन्त्री प्रचण्डले भने, “फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो। यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ। यो सहिदहरूप्रति उच्च सम्मान हो।” “शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ। यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन्। सहिद पार्कहरू, स्तम्भहरू बन्छन्। यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ।” कार्यक्रममा घाइते योद्धा, सहिद परिवार र बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूले प्रतिनिधिमूलक धारणा र सुझावहरू राखेका थिए ।

महाधिवेशनमार्फत नयाँ विचार संश्लेषण गर्छौं : प्रधानमन्त्री प्रचण्ड

रूकुम पश्चिम। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनुभएको छ। बिहीबार रूकुमको बाफिकोटमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हिजो जनयुद्धको बेला हामीले विचार संश्लेषण गर्यौं, त्यसले पार्टीलाई केन्द्रीकृत गर्यो, विचारमा एकरूपता कायम भयो, संगठनमा एकतासहित गति हासिल भयो। पछिल्लोसमय हामीले विचार संश्लेषणलाई महत्त्व दिन सकेनौं, त्यसले पार्टी विकेन्द्रितजस्तो, विचार र संगठनमा अनेकताजस्तो भएको छ। आगामी विशेष महाधिवेशनमा यो त्रुटिपूर्ण हामी सच्चाउँछौं। नयाँ आधारमा विचार संश्लेषण गर्छौं।” अभियानको सान्दर्भिकताबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “हामी रूपान्तरणको प्रक्रियामा छौं। जनताले माओवादी फेरि सच्चिन थालेको जनअभिमत छ। यो नै पार्टी रूपान्तरणको आधार हो। यसकै बलमा सुदृढ पार्टी बनाउँछौं।” माओवादी बलियो भएन भने परिवर्तनका मुद्दा नै अप्ठ्यारोमा पर्न सक्छ, राजनीतिक प्रणाली र देश नै अप्ठ्यारोमा पर्न सक्छ” प्रधानमन्त्रीले भन्नुभयो, “हामीले नयाँ ढंगले सोच्ने ठाउँमा छौं। सरकार र पार्टी दुवैतर्फबाट नयाँ काम गरिएको छ। एकपछि अर्को अभियानसहित हामी अघि बढ्छौं। हामी जुर्मुराएनौं भने देश नै खतरामा छ। तसर्थ, बलियो पार्टी बनाएर देशलाई निकास दिनेेतर्फ गम्भीर रूपले सोचौं।” “हामी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि एक हो। हामी कमजोर हुँदै जाँदा प्रतिक्रियावादीहरू बलियाजस्ता देखिए। उनीहरू यो परिवर्तन उल्टाउन अनेक षड्यन्त्र गरेका छन्। माओवादी पार्टी र आन्दोलनमाथि आक्रमण केन्द्रित छ” प्रधानमन्त्रीले भन्नुभयो, “पार्टी कमजोर हुँदा परिवर्तन कमजोर हुन्छ, परिवर्तन कमजोर हुँदा देश कमजोर हुन्छ, देश अस्तव्यस्त हुन्छ। तसर्थ, परिवर्तनको रक्षा र समृद्धिका लागि हामीले नै अगुवाइ गर्नुपर्दछ।” “दुनियाँमा ठूलाठूला ध्रुवीकरण देखिएको छ। रूस-युक्रेन, इजरायल-हमास युद्धले तेस्रो विश्वयुद्ध हुनसक्ने खतरा छ। यसलाई हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ र नेपालले कुटनीतिक सन्तुलन र असंलग्नतामा जोड दिनुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दुुखसुखमा ध्यान दिनुहोला। विकास निर्माणका काममा प्राथमिकता दिनुहोला। यो अभियान सकिएपछि हामी अर्को अभियानमा गएर महाधिवेशनमा जान्छौं। यो सामान्य काम होइन, महान् कामको सुरूवात हो। यो अभियान राष्ट्रको एकताका निम्ति, स्वाधीनताका निम्ति, देशको समृद्धिका लागि, नयाँ विचार संश्लेषणका लागि हो।” “नेता सच्चिएर मात्रै देशलाई सही गति दिन सकिन्छ। यसको थालनी गरिएको छ। भ्रष्टाचारविरोधी अभियान, अर्थतन्त्रमा सुधार, सामाजिक समृद्धिका काम त्यसको सुरूवात हो” प्रधानमन्त्रीले भन्नुभयो, “फेरि अर्को क्रान्तिको सुरूवात, समाजवादी आन्दोलनको सुरूवातका लागि पनि अभियान हो। फेरि जनतालाई जागृत र संगठित गर्नुपर्छ। समाजवादी आन्दोलनको नेतृत्व हामीले बाहेक अरूले गर्न सक्दैन। तसर्थ, हामी नै यसको नेतृत्व गर्नुपर्छ, हामी जनतासँग सुदृढ सम्बन्ध गाँस्नुपर्छ।” “रूकुम जिल्लामा उदाहरणीय काम भएका छन्। यसले देशभरिको पार्टीलाई उर्जा दिएको छ। यसलाई बचाउँदै थप उपलब्धि हासिल गर्न लाग्नुपर्दछ” प्रधानमन्त्रीले भन्नुभयो। “जति दिन प्रधानमन्त्रीको कुर्सीमा रहन्छु, त्यति दिन राम्रो मात्रै गर्छु। जनताको हित र स्वार्थका लागि मात्रै काम गर्छु” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पार्टीलाई क्रमशः एक्लै चुनाव लड्ने पार्टी बनाउनुपर्छ। त्यसका लागि संगठनमा जोड दिएर जानुपर्छ। अर्को निर्वाचनसम्म अरू पार्टीहरू हामीसँग मिल्नुपर्ने परिस्थिति निर्माण गर्नुपर्छ।”

रूकुम पश्चिममा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रूकुम पश्चिम गएका छन् । पार्टीको जनतासँग विशेष रुपान्तरण अभियान र अन्य विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री रूकुम गएका हुन् । प्रधानमन्त्री प्रचण्डले रूकुम पश्चिमको बाँफिकोट मग्मामा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गरेका छन् । सो मेलालाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन समेत गरेका छन् । रूकुमममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिम बाफिकोट गा.पा. वडा नं. ६ र ७ को विस्तारित बैठक तथा सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट सम्पन्न गरेका छन् ।