यस्तो छ प्रचण्डको भारत भ्रमण तालिकाः मोदीसँग आइतबार भेट हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज छिमेकी देश भारत भ्रमणमा निस्कँदैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा ३ दिने भारत भ्रमण गर्न लागेका प्रचण्ड आइतबार नेपाल फर्कने तालिका तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले ३ दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहतिका उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई भेट गर्ने तय भएको स्रोतले जनाएको छ । आज शुक्रबार दिउँसो साढे १ बजे दिल्लीका लागि उड्ने प्रचण्डलाई निम्तो दिने भाजपा मुख्यालयमा सवैभन्दा पहिला स्वागत हुने छ। भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसहित सहभागि हुनेछन् ।

अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीचपनि भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा.एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय भएको छ। क्वात्रा केहीसमय अघि नेपालमा भारतीय राजदूतका रुपमा कार्यरत थिए । उनै क्वात्राले अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको बताईएको छ ।

प्रचण्डको सचिवालयका अनुसार करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई अनुकूल समय पारेर भारतका तर्फबाट भ्रमणको निम्तो दिएका थिए। प्रचण्डले जुलाई दोस्रो सातासम्म भारत भ्रमण सम्भव हुने बताएअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष नड्डाले भ्रमणको औपचारिक निम्ता दिएको उनले जानकारी दिएकी छन्।

प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई क्याम्पसमा पढाउन प्रतिबन्ध

प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ । यस्तो कारबाही गरिएका सबै जना करार सेवामा कार्यरत अध्यापक रहेको त्रिविले जनाएको छ । परीक्षासम्बन्धी गोपनीयताका कारण उहाँहरूको नाम त्रिविले गोप्य राखेको छ । त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन बिहेविअर’ विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ । त्यस्तै बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न ‘सोसोलोजी फर बिजनेस’ विषयको सोधिएको थियो । बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले उक्त प्रश्नपत्र डिन कार्यालयको प्रश्नपत्र बैङ्कमै रहेको अवस्थामा नमुना प्रश्न भन्दै आफ्नो पाठ्यपुस्तकमा हुबहु समावेश गरेका थिए । त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षाप्रति गम्भीर खेलबाड गरेकाले यस्तो निर्णय गरिएको जानकारी दिए । त्यस्तै शङ्करदेव क्याम्पसले यसै वर्षको प्रिबोर्ड परीक्षामा मौलिक प्रश्न नसोधी बजारमा पाइने पुस्तकबाट हुबहु सोध्ने प्रश्नकर्तालाई डिन कार्यालयको परीक्षासम्बन्धी सबै गतिविधिमा संलग्न नगराउने निर्णय गरिएको छ । त्रिविका अनुसार व्यवस्थापन सङ्कायको परीक्षा सञ्चालनमा देखिएको समस्या तथा कमजोरीबारे अध्ययन गरेर सुझाव पेस गर्न प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि त्रिविले गरेको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

८४ करोड रुपैयाँको हतियार किन्न दीपक भट्टले ‘डिल’ गरेको भिडियो सार्वजनिक

काठमाडौँ — विदेशी विनिमय सञ्चिती अभाव भई मुलुक आर्थिकरूपमा संकटोन्मुख भइरहेको अवस्थामा ८४ करोड रुपैयाँको हतियार खरिदका पछाडि एक शक्तिशाली बिचौलियाको हात रहेको कान्तिपुर टेलिभिजनले खुलासा गरेकाे छ । यसअघि पनि विवादमा आएका दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारीसमक्ष ‘डिल’ गरेको भिडियो सार्वजनिक भएको हाे । कान्तिपुर टेलिभिजनबाट बिहीबार प्रसारित उक्त भिडियोमा भट्टले हतियार खरिद गराउन सरकार, संसद्, विपक्षी दलका नेता, छिमेकी देश र आवश्यक परे अरू जोकोहीलाई मिलाउने ‘जिम्मा’ लिएका छन् । ‘मेरो त्यो हैसियत छ, म त्यो गर्न सक्छु,’ भन्दै उनले हतियार खरिदको प्रक्रिया अघि बढाउन सरकारी अधिकारीसँग ‘लबिइङ’ गरिरहेको भिडियोमा देखिन्छ । सरकारले अहिले उनकै प्रभावमा इटालीको बेरेटा कम्पनीका एजेन्टमार्फत १,१५० थान सटगन, हजार थान पेस्तोल, २५ हजार थान ग्यास सेलसहित गोलीगट्ठा किन्ने गृहकार्य अगाडि बढाइरहेको छ । त्यसका निम्ति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ८४ करोड रुपैयाँ बजेट रकमान्तर गरिदिएका थिए । ०७१ सालबाट सुरु भएको हतियार खरिदको उक्त डिल अहिले पुन: ब्युँताइएको छ । भट्टले तत्कालीन समयमा गरेको वार्तालापको भिडियो कान्तिपुर टेलिभिजनमार्फत सार्वजनिक भएको हो । कान्तिपुर दैनिकमा नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीले जनाए अनुसार, बिचौलिया र शक्ति केन्द्रको आर्थिक लाभका निम्ति यो हतियार खरिद प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार ०७१ सालमा अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की, सरकारका उच्चपदस्थ अधिकारीदेखि एजेन्टसम्मले जसरी पनि डेढ अर्ब रुपैयाँ बराबरका हतियार किन्न जोडबल गरेका थिए । कान्तिपुर दैनिकले सार्वजनिक गरेकाे भिडियाे

सबैभन्दा कम बेरुजु भएको महानगर भरतपुर

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो ।   उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ० दशमलव ५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौंको पाँच दशमलव ४० प्रतिशत र पोखराको पाँच दशमलव ३५ प्रतिशत रहेको छ । छ महानगरको समग्रमा बेरुजु छ दशमलव १३ प्रतिशत हुन आउँछ । पेश्की बाहेक बेरुजुको प्रतिशत विराटनगरको १५ दशमलव १३ प्रतिशत, वीरगञ्जको नौ दशमलव ६३ प्रतिशत, ललितपुरको चार दशमलव ०३ प्रतिशत, काठमाडौँको चार दशमलव ६४ प्रतिशत, पोखराको पाँच दशमलव १७ प्रतिशत र भरतपुरको ० दशमलव २५ प्रतिशत रहेको छ । बेरुजुमध्ये पेश्की रकममा विराटनगरको रु छ करोड १७ लाख, वीरगञ्जको रु एक करोड ३३ लाख, ललितपुरको रु २७ करोड ७२ लाख, काठमाडौँको रु १५ करोड छ लाख, पोखराको रु एक करोड ७९ लाख र भरतपुरको तीन करोड ५३ लाख रहेको छ । प्रतिवेदनमा म्याद नाघेको पेश्की समेतको बेरुजु विराटनगरको रु ७१ करोड १५ लाख, वीरगञ्जको रु ७६ करोड २८ लाख, ललितपुरको रु ५५ करोड ४० लाख, काठमाडौँको रु एक अर्ब छ करोड ७४ लाख, पोखराको रु ५४ करोड ६१ लाख र भरतपुरको रु छ करोड ४५ लाख रहेको छ । महालेखाले विराटनगरको रु चार अर्ब २९ करोड ५२ लाख, वीरगञ्जको रु सात अर्ब ७८ करोड ४२ लाख, ललितपुरको रु छ अर्ब ८७ करोड ३५ लाख, काठमाडौँको रु १९ अर्ब ७७ करोड ६० लाख, पोखराको रु १० अर्ब २१ करोड ४६ लाख र भरतपुरको रु ११ अर्ब ५५ करोड ७६ लाखको लेखापरीक्षण गरेको थियो । महालेखाले छ महानगरपालिकाको रु ६० अर्ब ५० करोड ११ लाखको लेखापरीक्षण गरेको प्रतिवेदनमा जनाइएको छ । भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बेरुजु तत्काल फर्छ्यौट गर्ने परिपाटीको विकासका कारण बेरुजु कम भएको बताए । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्योटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिका भन्दा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ थियो । महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शितामा यो महानगर अग्रणी रहेको प्रतिवेदनले देखाएको बताइन्। उनले भनिन्, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटोछरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिइन् । महानगरका जनप्रतिनिधिले अतिरिक्त सेवा सुविधा नलिएको र सुशासनमा जोड दिएका थिए । उनले भनिन्, “आम महानगरबासीले काम गर्दा प्रचलित नीति नियमलाई पालना गरिदिन अनुरोध गर्दछु ।” कर्मचारीले भने अनुसारका कागजपत्र तयार गरेर पारदर्शी ढङ्गबाट काम गर्दा बेरुजु नआउने र कामको गुणस्तरीयता बढ्ने उनको भनाइ थियो । देशका छ महानगरमा सङ्घ र प्रदेशको समेत धेरै बजेट ल्याएर भौतिक पूर्वाधारसहितका विकासका काम गर्ने महानगरमा भरतपुर अग्रणी छ ।–रासस

सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत छ : प्रचण्ड (भिडियो सहित )

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलका नेताहरु सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत भएको बताएका छन्।परिर्वतन चाहाने र नचाहनेबीचको संर्घष भैरहने बताउँदै आफुहरु परिर्वतन र विज्ञानको पक्षधर रहेको बताए । अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तनका संवाहकहरुलाई मन नपराउने शक्ति समाजमा रहेको बताए । जनतालाई अधिकार दिन खोज्दा भाउतो ल्याएको भनेर केहि नेताले भनेको स्मरण समेत गरे । अध्यक्ष ओलीले आवश्यकता परेमा संघीयताबारे समेत पुनर्विचार गर्न सकिने धारणा राखेका थिए । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले ओलीको उक्त धारणा अन्ततः निरंकुश राजतन्त्रमा फर्कन चाहना सोचबाट आएको बताएका हुन् । बिहीबार ललितपुरमा आयोजित विज्ञान प्रविधिसँग सम्बन्धीत एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो शक्तिलाई परिवर्तनकारी शक्तिले परास्त गर्ने दावी गरे । उनले लेनिले सोभियत सत्ताकै विरोध किन गर्नुपर्यौ होला भन्ने कुरा निकै मार्मिक भएको बताए । उनले आफुलाई कहिलेकाही लेनिनले आफै लडेर ल्याएको व्यवस्थाको विरोध किन गरे भन्ने महशुस भएको बताए । उनले माओवादी केन्द्रको महाधिवेसनले विज्ञान र प्रविधि र वैज्ञानिक चेतनालाई आधार बनाएर बैज्ञानिक नीति तय गरेका बताए । विज्ञान र प्रविधिको दृष्टिकोणबाट हेर्दा स्वतन्त्र भन्ने कोही पनि नहुने टिप्पणी गरेका अध्यक्ष प्रचण्डले समाजमा एउटा शक्ति अघि जाने र अर्को शक्ति पछि फर्कने हुने विश्लेषण गरे । व्यक्ति भने पनि दलहरु भने पनि यीनै दुई प्रबृतिबाट निर्देशित हुने उनको भनाई थियो । समाजमा जबरजस्ती सबै नेता उस्तै हुन् भन्ने भाष्य बनाउन खोजिएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘जो जनतालाई वास्तविक रुपमा मालिक बनाउनु पर्छ भन्ने एउटा विचार र कार्यशैली भएको नेतृत्व छ, अर्को भएका परिवर्तन उल्ट्याएर अहिले पनि राजतन्त्रको पक्षमा फर्काउन खोज्ने प्रबृति छ । जो तत्व जसले जनताको अधिकार खोस्ने कुरा गर्ने तत्व छ त्यसलाई परास्त गर्न विज्ञान प्रविधिको क्षेत्रमा काम गर्नेहरुले समेत मिलेर एउटा आन्दोलन सृष्टी गर्नु जरुरी छ ।’ अध्यक्ष प्रचण्डले स्वतन्त्र भन्ने कोहि नहुँने हुँदा अगाडि बढ्ने हो कि पछाडि जाने हो भन्ने छुट्टयाउनुपर्ने बताए । समाज परिर्वतनका लागि प्रगतिशिल बिचार राख्नेहरु एक हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् । त्यहाँ राजनीतिक भेटघाट हुने सचिवालयले जनाएको छ ।भेटवार्ताको तालिका भने आइसकेको छैन। शुक्रबार दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। प्रचण्ड दुई दिन भारतमा रहनेछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाजपा मुख्यालय भ्रमण गर्ने बताइएको छ।  

काँग्रेस बैठकमा आज मन्त्रीहरुले जवाफ दिने

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । आजकाे बैठकमा सदस्यहरुले राखेका प्रश्न र जिज्ञासाकाे जवाफ पार्टीका तर्फबाट सरकारमा बसेका मन्त्रीहरुले दिने कार्यक्रम छ । सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल केन्द्रित छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा समूह नेताले सरकारको आलोचना गरिरहेका छन् । केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको छ । भोलि बोल्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेर बैठक समापन गर्ने काँग्रेसको तयारी छ । सोमबारदेखि जारी बैठकमा काँग्रेसका ८३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । केन्द्रीय केन्द्रीय सदस्यले बैठक आफ्नो धारणा राख्दा गठबन्धनको पक्षमा उभ्याएको प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ । उनले भने, ‘अधिकांश साथीहरुले गठबन्धन गरेर जानुपर्ने मत राख्नु भएको छ ।’ सोमबार बोलेका केही नेताले गठबन्धनको विपक्षमा मत राखेपनि मंगलबार र बुधबारको बैठकले गठबन्धनको पक्षमा काँग्रेस उभिने प्रस्ट संकेत देखाइसकेको छ ।

उडिरहेकाे जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ

काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन्। हिजाे उडान नं २५३ बाट धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेपछि उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जनाएका छन्। कर्णका अनुसार धनगढी अवतरण भइसकेपछि ती यात्रुलाई धनगढी प्रहरीको जिम्मा लगाइएको छ। उपाध्यायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नागरिक न्यूजबाट साभार

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएका थिए । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् । २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए ।

पुष्पा भुसाललाई उपसभामुखकाे उम्मेदवार बनाउने गठबन्धन सहमत

काठमाडाै‌ । सत्ता गठबन्धनमा काँग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ। सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको काँग्रेसका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए। यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने उनी तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन्। ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्बाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । ०७६ फागुनमा मन्त्री भएपछि तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त हुँदै आएको छ। प्रतिनिधिसभाको उपसभामुख चयनका यही असार ३१ गते निर्वाचनको मिति तोकिएको छ।

फेरि उकालाे लाग्याे काेराेना स‌क्रमण, एकैदिन थपिए २०६ संक्रमित

काठमाडौं । नेपालमा काेराेना स‌क्रमण दर फेरि उकालाे लागेकाे छ। पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइसोलेसन र १२ जना आईसीयूमा छन् ।  

छानवीन समितिको निश्कर्षः मर्यादा बिर्सेर एकराजको घर पस्नु विमलाको गल्ती

नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीमाथि छानबीन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेकाे छ । वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन समितिकाे छ । जेठ ३१ गते बिहान तत्कालिन लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र साढे तीन वर्षीया छोरीमाथि कुटपिट गरेकाे आराेप विमलामाथि लागेपछि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा संयोजक रहेको तीन सदस्य छानविन समिति बनेको थियो। छानविन समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए। उक्त समितिले तयार पारेको प्रतिवेदन संयोजक शर्माले शनिबार मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका हुन्। प्रतिवेदन बुझाएपछि समितिका संयोजक मन्त्री शर्माले राज्य मन्त्री वली अनाधिकृतरूपमा अरुको घरमा जानू कमजोरी देखिएको जानकारी दिए। ‘राज्य मन्त्री वलीज्यू पदीय मर्यादा बिर्सेर व्यक्तिगत लेनदेनको पैसा उठाउन अरूको घरमा पुगेर झैझगडामा उत्रने गल्ती गरेको छानविन प्रतिवेदनको निष्कर्ष हो,’ शर्माले भने, ‘एकराज र राज्यमन्त्री वलीबीच लेनदेन भएको देखिएपनि त्यसरी उहाँ पुग्नु सही हैन भन्ने हो।’ जेठ ३१ गते बिहान पौने ९ बजेतिर तुलसीपुर–५ आलुमण्डी नजिकैको बस्नेतको घरमा तत्कालिन राज्यमन्त्री वली झण्डावाला गाडी र अंगरक्षकसहित पुगेकी थिइन्। मुख्यमन्त्री केसीले पनि प्रतिबेदन बुझेपछि राज्यमन्त्री वलीबाटै प्रारम्भिक रूपमा कमजोरी भएको देखिएको जानकारी दिए। प्रतिवेदनको अध्ययन पछि मात्रै सरकार र पार्टीले आवस्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए। ‘साँच्चिनै कमजोरी भएको भए संरक्षण हुने छैन,’ मुख्यमन्त्रीले भने, ‘वलीलाई षड्यन्त्रपूर्वक फसाउन पूर्व तयारी वा योजना बुनियो कि ? भन्ने आशंका जिवितै छन्।’ त्यसक्रममा मुख्यमन्त्री केसीले तोकिएको समयसीमा भित्रै प्रतिवेदन तयार पारी बुझाएको भन्दै मन्त्री शर्मा नेतृत्वको छानविन समितिलाई धन्यबाद पनि दिएका थिए। छानविनको क्रममा वली र एकराज बस्नेतबीच साढे ६ लाख जतिको लेनदेन भएको खुलेको थियो।

सत्ता, शक्ति, पद प्राप्तिको बार्गेनिङमा लागेको भन्दै वामदेव गौतम नयाँ पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको छ । शनिबार काठमाडौंको सतुंगलस्थित बसेको चार शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गर्दै सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन पनि गरेको छ । सदस्यतर्फ कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।   यस्तो छ, गौतममाथि लगाइएको आरोप १।सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको । २.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको । ३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको । ४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको । ५. सम्पुर्ण बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।

एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय लगत्तै अमेरिकामा के गर्दै छन् प्रधानसेनापति ?

वासिङ्टन । नेपालका प्रधानसेनापति प्रभुराम शर्माप्रभुराम शर्मा असार १३ देखि अमेरिका भ्रमणमा छन् । उनले अमेरिकामा उच्च त्यहाँका अधिकारीहरूसँग भेटघाट गरेका छन् । भेटमा दुई देशबीचको गहिरो सैनिक सम्बन्धलाई थप अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ। आफ्नो औपचारिक अमेरिका भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी जोइन्ट चिफ अफ स्टाफका भाइस चेअरमेन एडमिरल क्रिस्टोफर डब्ल्यू ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग बिहिवार भेटवार्ता गरेका थिए। ती भेटवार्ताबामा सेनाहरूबीचको लामो समयदेखिको सम्बन्ध तथा नेपाल र अमेरिकाले दुई देशका सैनिकको तह, मानवीय सहयोग तथा विपद् प्रतिकार्य र राष्ट्रसङ्घीय शान्ति कार्य जस्ता क्षेत्रमा मिलेर काम गर्नसक्ने उपायका बारेमा केन्द्रित छलफल भएको काठमाण्डूस्थित अमेरिकी दूतावासका अधिकारीहरुले जनाएका छन् । शर्मा प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक अमेरिका भ्रमणमा निस्केका हुन् । नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक हितका विषयहरूमा छलफल तथा विचार विमर्श भएको नेपाली सेनाले जनाएको छ । अमेरिकामा प्रधानसेनापति दिन प्रधानसेनापतिले बिहीवार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा उच्च रक्षा र सैनिक अधिकारीहरूसँग भेट गरेको नेपाली सेनाले जनाएको छ। यसअघि उनले मङ्गलवार पेन्सलभेनियामा रहेको अमेरिकी सेनाको वार कलेजको भ्रमण गरेका थिए। उनले बुधवार न्याश्नल डिफेन्स युनिभर्सिटीको भ्रमण गरेका थिए भने विभिन्न सैनिक निकायका प्रमुखहरूसँग भेटवार्ता गरेका थिए। अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले प्रधानसेनापतिको सम्मानमा आयोजना गरेको कार्यक्रममा अमेरिकी सरकार र विभिन्न राजदूतावासका प्रतिनिधि सहभागी भएको वाशिङ्टन डीसीस्थित नेपाली राजदूतावासले यसै हप्ता जनाएको थियो। प्रधानसेनापतिले अमेरिकी वार कलेजको पनि भ्रमण गरेका छन् वाशिङ्टन डीसीबाट बिहीवार नै न्यूयोर्क पुगेका शर्माले त्यहाँ राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकाय सहितका उच्च अधिकारीहरूसँग भेटवार्ता गरे । अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा निस्किएका हुन्।

निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्। गठबन्धनका शीर्ष नेतासहित शनिबार निजगढ क्षेत्रको निरीक्षणमा बारा पुगेका प्रधानमन्त्री देउवाले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताए। यसका लागि विज्ञसँग छलफल भइरहेको उनको भनाइ थियो। दुई वटा रनवे सहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले भने, “कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं।” सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सरकारका निर्णय खारेजको छ। अहिलेसम्म भएका निर्णय विधिसम्मत नभएको सर्वोच्चको ठहर छ। प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता बारा पुगेका छन्। उनीहरूले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्ने भएका छन्।

सत्तारुढ दलका शीर्ष नेता निजगढमा

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरू बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षणका लागि निजगढ पुगेका छन् । काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल सहितका शीर्ष नेताहरूको टोली निजगढ पुगेको हो ।   वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरू पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा पुगेका हुन् । सर्वोच्च अदालतले गत बुधवार विमानस्थलसम्बन्धि मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारलाई दिएको थियो । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ । यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमै विमानस्थल निर्माण गरिनुपर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनसन बिहीबारबाट अन्त्य भएको छ । विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनसन अन्त्य गर्ने निर्णय गरेको हो ।