नेपाल र अजरबैजानका सभामुखबीच भेटवार्ता

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ ।

अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनको सफल आयोजना गरेकोमा बधाई ज्ञापन गरेका थिए ।

उनले असंलग्न आन्दोलनका आदर्शहरू महत्वपूर्ण भएको बताउँदै यसका आदर्श र एजेन्डाहरूप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गरे। भेटमा सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीहरूको समाधान गर्न सकिने धारणा राखे। अजरबैजानसँग नेपालको लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उनले २०७२ सालको भूकम्प पछिको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

सभामुख सापकोटाले स्वतन्त्रता प्राप्तिपछि अजरबैजानले गरेको विकासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्न सकिने धारणा राखे । भेटका क्रममा उनले नेपाल र अजरबैजानको संसदका बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय मैत्री समूह निर्माणको प्रस्ताव गरे ।


भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुख सहितको प्रतिनिधि मण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरे । यस अघि स्पेनमा भएको अन्तर व्यवस्थापिका संघको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समुह बनाउन अजरबैजानको संसद तयार रहेको बताए।

भेटमा नेपाली प्रतिनिधि मण्डलका सदस्यहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए । बाकुमा जारी सम्मेलनमा सहभागी हुन यहि असार १४ गते त्यसतर्फ प्रस्थान गरेको सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल असार १९ गते नेपाल फर्कने समय तालिका छ ।

काठमाडौंमा जगन्नाथ रथयात्रा राष्ट्रपतिद्धारा रथ रहने स्थान सफाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गरिन् ।

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसैगरी, बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसअघि, आजैको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको थियो । राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा

काठमाडौ । नेपाली सिने जगतका महानायक भनेर चिनिएका राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । भेटका अवसरमा दुबैबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएकाे भेटमा सहभागी संस्कृतिकर्मी चेतन सापकाेटाले जानकारि दिए ।

बलात्कारकाे मुद्दामा हदम्याद हटाउने कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता

काठमाडौं । सत्ताधारी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित कांग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ । ‘मूल ऐनको दफा २२९ मा संशोधन गरी जबरजस्ती करणीजस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको व्यवस्था हटाउनु पर्ने’ कांग्रेस सांसदहरूको संशोधन प्रस्तावमा उल्लेख छ भने यसअघि दर्ता भएको पाण्डे समूहको प्रस्तावमा पनि सोही आशय व्यक्त गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले गत जेठ १६ गते संसद्मा दर्ता गरेको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ माथि संशोधन प्रस्ताव दर्ता गर्दै एमाले र कांग्रेसका सांसदहरूले बलात्कार मुद्दामा हदम्याद नराख्ने व्यवस्थाका लागि प्रस्ताव गरेका हुन् । मन्त्रीद्वारा प्रस्तावित विधेयकमा बलात्कार मुद्दाको हदम्यादबारे केही बोलिएको छैन । मुलुकी अपराध संहिता २०७४ को दफा २२९ मा बलात्कार मुद्दामा नाबालिगको हकमा बालिग ९१८ वर्ष भएपछि० एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने, हाडनातामा करणीमा भने जहिलेसुकै उजुरी लाग्ने, हाडनाता बाहिरको हकमा बलात्कार, यौनजन्य हिंसा र दुव्र्ययवहारमा घटना भएको एक वर्षभित्र उजुरी गर्नुपर्ने व्यवस्था छ । हदम्याद नाघेर दिइएको उजुरीमाथि कारबाही हुँदैन भनिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

एसपीपी अस्वीकार गरेको जानकारी गराउदै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।   नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो । तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकारले नेपाल सहभागी नहुने सार्वजनिक प्रतिवद्धता जनाएको थियो ।

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश (आदेश सहित)

काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भूउपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।   अदालतको यो आदेशसँगै अब जग्गा जमिन धितो बन्धकी राखेर ऋण लिन बाटो खुलेको छ । हेर्नुस् फैसला

वामदेवले बोलाए ‘नेकपा एकता राष्ट्रिय अभियान’को दोस्रो भेला

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका कम्युनिस्ट नेता वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’को दोस्रो भेला बोलाएका छन् । नेकपा विभाजनपछि झण्डै एक वर्षअघि पहिलो भेला गरेका गौतमले आगामी असार ११ गते दोस्रो भेला बेलाएको जानकारी दिए ।   वामपन्थी एकताका लागि पहल गर्दै आएका गौतम तत्कालीन नेकपा विभाजन हुँदा एमाले– माओवादी कतैपनि लागेका थिएनन् । त्यसबेला उनले स्वतन्त्र बस्ने भन्दै नेकपा विभाजनको केही समयपछि ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक भेला डाकेका थिए । राष्ट्रियसभा सदस्य समेत रहेका गौतमले ११ गतेको भेलामा करिव डेढसय जनाको उपस्थिति हुने बताए । भेला ललितपुरको एक पार्टी प्यालेसमा बोलाएको गौतमको भनाइ छ ।

१५ हजार कमिटी, १२ लाख सदस्य बनाउने अखिल क्रान्तिकारीको निर्णय, कार्कीसहितका नेता निलम्बनमा

काठमाडौं। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक सम्पन्न भएको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाएको हो। बैठकमा सहभागि एक पदाधिकारीले दिएको जानकारी अनुसार यस अघि भएका विवाद, विभिन्न प्रस्तावहरु र नेतृत्वको सुझावसमेतलाई आधार मानेर २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लागेको हो। अब यही केन्द्रीय समितिको अनुपातमा सचिवालय टुंगिने ती नेताले बताए। विभागका प्रमुखहरु आन्तरिक तयारीपछि टुंगो लगाउने क्रान्तिकारीले जनाएको छ। केन्द्रीय समितिको बैठकको परिपत्र संगै विभागका नेतृत्वको बारेमा पनि टुंगो लाग्न सक्ने एक पदाधिकारीले जानकारी दिए। क्रान्तिकारीले आन्तरिक जिवनमा हुने कामहरुको बाँडफाँड सहज बनाउन विभिन्न २७ विभागहरु पनि गठन गरेको छ। विभागको नेतृत्व पछि तह हुनेछ। बैठकले नेता पवन कार्कीसहित ९ जनालाई कारबाही समेत गरेको छ। कारबाही पर्नेहरूमा बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, संजिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी रहेका छन्।कार्कीसहितका नेताहरुको निलम्बनको समयावधि भने तोकिएको छैन। कार्कीलाई यसअघि पनि क्रान्तिकारीले कारबाही गर्ने निर्णय गरेको थियो। तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनलाई सहमतिका साथ अघि बढाउनका लागि कारबाही फिर्ता लिन निर्देशन दिएपछि फिर्ता भएको थियो। कार्कीले समानान्तर भेला आयोजना गरेपछि उनीमाथि संगठनले कारबाही गरेको थियो। प्रचण्डको निर्देशन पछि समानान्तर भेला र कारबाहीको निर्णय दुवै रोकिएका थिए। बैठकले माओवादी केन्द्रले जितेका हरेक पालिकामा अभियान चलाउन निर्णय पनि गरेको छ। बैठकपछि संगठनका महासचिव दीपेश पुनले भने, ‘१२ लाख सदस्यता १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित १९ कमाण्डमा अभियान टिम बनाएर ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) मुल नारामा ३ महिने अभियान संचालन गर्ने निर्णय गर्दै संगठनको तेस्रो पुर्ण विस्तारित वैठक सम्पन्न।वैठक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक आभार। संगठन निरन्तर आफ्नो गौरवपूर्ण विरासत कायम गर्दै अगाडी बढ्नेछ। अब हामी सबै फिल्ड मै भेट हुनेछौ।’

अग्नीपथ योजनाविरुद्ध आज भारत बन्दको घोषणा, देशैभरी हाइ अलर्ट जारी

नयाँ दिल्ली । भारत सरकारले सेनामा भर्तीबारे अघि सारेको अग्नीपथ योजनाको विरुद्ध आज भारत बन्दको घोषणा गरिएको छ । अग्नीपथ योजनाको बिरोधमा विगत केही दिनदेखि भारतभरी नै हिंसात्मक प्रदर्शन चर्किँदै आएको थियो । प्रदर्शनकारीहरुले आज भारत बन्दको घोषणा गरेका हुन । विगत केही दिनको प्रदर्शन अत्यन्तै हिंश्रक हुन पुगेको र रेल्वे सेवामा ठूलो क्षति पुगेको थियो । तीनसय बढी रेलसेवा प्रत्यक्ष प्रभावित बनेका छन् कैयन रेलहरुमा आगजनी समेत गरिएकाे छ ।   आजको भारत बन्दमा हिंसा हुनसक्ने भन्दै रेल्वे प्रहरी बललाई हाइ अलर्टमा राखिएको छ । प्रशासनले प्रदर्शनकारीमाथि कडा व्यवहार अपनाउन निर्देशन दिएको छ । भारत सरकारले सेनामा भर्ती हुने बारेमा अग्नीपथ योजना सार्वजनिक गर्दै युवाहरुलाई चार वर्षका लािग मात्रै सैनिक सेवामा भर्ती लिने घोषणा गरेको थियो । यसबाट सेनामा आफ्नो भविष्य देखेर तयारी गर्दै आएका लाखौं युवाहरु आक्रोशित बनेका हुन । सेनामा चार वर्ष मात्रै सेवा गर्न पाइने र त्यसरी भर्ना भएकामध्ये २५ प्रतिशतलाई मात्रै थप सेवामा राखिने सरकारले घोषणा गरेको थियो । उक्त घोषणापछि देशैभरी आन्दोलन चर्किएको थियो । भारतमा सैनिक सेवा आकर्षणको क्षेत्र मानिन्छ । वर्षेनी लाखौं युवाहरुले सेनामा भर्ती हुन तयारी गर्ने प्रचलन रहेको छ । तर अग्नीविर योजनाले भने लामो समयदेखि तयारीमा रहेका युवाहरुलाई निराश बनाएपछि उनीहरु चर्को आन्दोलनमा उत्रिएका हुन । कोरोनाका कारण विगत दुईवर्षदेखि ठप्प रहेको भर्ती प्रक्रिया यसपटक खुलेपनि अग्नीपथ योजनाका नाममा सेनाले अन्याय गरेको भन्दै बिहार, उत्तर प्रदेश, नयाँ दिल्ली, हरियाणा, गुजरात लगायतका कैयन प्रदेशका सहरहरुमा हिंसात्मक प्रदर्शनमा केहीको ज्यान समेत गएको छ ।

इन्धनकाे मूल्यमा भारी वृद्धि, प्रतिलिटर १९९ रुपैयाँ पुग्याे पेट्रोल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ। यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ। खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ।

हरेक आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन्। बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए ।  

काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे।

संसदीय समितिले प्रधानमन्त्रीलाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने भएको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिको बैठकमा बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताउनुभएको थियो भने कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण आउन नसकेको भन्दै बचाउ गरेका थिए । लामो छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरेपछि कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाउँदै प्रधानमन्त्रीलाई फेरि बोलाउन सकिने, तर एक पटक नआउँदैमा लोकतन्त्र प्रतिकुल भन्न नहुने तर्क तर्क गरेका थिए । कांग्रेस सचेतक पुष्पा भुसाल, दिव्यराज भण्डारी लगायतले प्रधानमन्त्री अनुपस्थित हुनुलाई समितिकै अपमान भएको अर्थमा लिन नमिल्ने भन्दै प्रधानमन्त्री देउवाको बचाउ गरे। एमाले सांसद भीम रावलले प्रधानमन्त्री अनुपस्थित भएकोप्रति खेद प्रस्ताव नै पारित गर्न माग गरे । उनले आफूहरुले एसपीपीबारे प्रधानमन्त्रीकै जवाफ माग गरेका बेला अनुपस्थित हुँदा आशंका उब्जिएको बताए। एमालेकै सांसद ईश्वर पोखरेलले एसपीपीलाई राजनीतिक शक्तिबीच जीतहारको विषय नबनाई तथ्यको खोजी गरी अब यसमा सामेल नहुने जानकारी अमेरिकालाई दिँदा हुने बताए । अमेरिकाको आईपीएस रिपोर्ट २०१९ प्रकाशित भएपछि नेपालमा सबै सजग भएको भन्दै उनले सरकारले अब एसपीपी अगाडि नबढाउने भनेर अमेरिकालाई प्रस्ट भनेमा समस्या समाधान हुने बताए।  

आज यी स्थानमा भारी वर्षाकाे सम्भावना

हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।