यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ आयल निगमलाई अनुदान दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदान दिने र पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई भुक्तानी दिन अपुग सात अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ भने माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद मन्त्रिपरिषद्बाट निर्णय भएको मितिले २ वर्ष थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै, विभिन्न १० वस्तुको पैंठारीमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने, बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत प्रदान गर्ने र सो रोग नियन्त्रणमा खटाइएकालाई प्रोत्साहनस्वरुप सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गर्ने, निर्णय गरेको छ ।
त्यस्तै, सरकारले मेलम्ची खोनपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परी दिवंगत भएका इन्जिनियर सतिशकुमार गोहित र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरुप ५–५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने र लुम्बिनी गार्डेन फाउण्डेशनले उपलब्ध गराउन प्रस्ताव गरेको जियोडेट स्टोनको बुद्ध मूर्ति उपहारस्वरुप स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रचण्डले दिल्लीमा भने– १९५० को सन्धि पुनरवलोकन,बोर्डर समस्या समाधान गर्नुपर्छ
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।उनले भारत र नेपालको सम्बन्ध प्रगाढ बनाउन इतिहासले छोडेर गएका केही समस्या समाधान गर्नैपर्ने बताए । १९५० को सन्धि पुनरवलोकन ,बोर्डर समस्या र इपीजि रिर्पाट लगायतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष प्रचण्डले सबै समस्या समाधान गरेर नेपाल भारत सम्बन्ध समस्या रहित बनाउनुपर्ने बताए। शनिबार नयाँ दिल्लीमा फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरवलोकन गर्न ढिलाइ गर्न नहुने बताएका हुन् । त्यस अवसरमा उनले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए । नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै उनले त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए । उनले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे । सत्तारूढ भारतीय जनता पार्टीको नियन्त्रणमा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका हुन् । भ्रमण क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।
भारत–नेपाल सम्बन्ध विशिष्ट छ , केही सन्धिका अस्पष्टता समझदारीमा समाधान गर्नुपर्छ : प्रचण्ड
काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतसँगको सम्बन्ध परापूर्वकालदेखि रहेकोले यो विशिष्ट रहेको बताएका छन्। दिल्लीस्थित सुष्मा स्वराज स्मृति भवनमा ‘फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलेसी’ नामक संस्थाले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त विचार राखेका हुन्। त्यहाँस्थित (भाजपा) सत्तारुढ दलका अध्यक्षको निम्तामा दिल्ली उत्रेका प्रचण्डले नेपाल–भारत सम्बन्ध जनस्तरमा रहेकोले यो कहिले नटुट्ने पनि बताएका छन्। ‘नेपाल–भारतको सम्बन्ध परापूर्वसमयदेखि रहेको छ। यो सम्बन्ध ऐतिहासिक रुपमा सामाजिक, सांस्कृतिक र जनस्तरमा रहेको छ’, प्रचण्डले भने, ‘हामी जमिन, भाषा, साहित्य, धर्म र नदिले जोडिएका छौं।’ त्यस्तै, प्रचण्डले नेपालले छिमेकी मुलुकका विरुद्ध आफ्नो देश प्रयोग हुन नदिने पनि बताएका छन्। ‘नेपाल र भारत एकअर्काको चासो र हितमा प्रतिबद्ध रहेका छौं। नेपाल आफ्नो भूमि छिमेकीको विरूद्ध प्रयोग हुन दिनेछैन र भारतबाट पनि त्यही प्रतिवद्धता चाहन्छ’, उनले भने, ‘जनस्तरबीच रहेको सम्बन्ध, खुल्ला सिमाना र अपार सद्भावना लगायतका विषयले नेपाल भारतको विशिष्ट सम्बन्ध रहेको छ।’ पछिल्लो समय नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई देशको सम्बन्ध विशिष्ट तहमा पुगेको बताए। ‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले हाम्रो सम्बन्ध अझै विशिष्टकृत तहमा पुगेको छ’, प्रचण्डले थपे। प्रचण्डले व्यापार र विकासका लागि भारत महत्त्वपूर्ण साझेदार मुलुक रहेकोले भारतले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद पनि दिए। ‘नेपालका लगि भारत महत्त्वपूर्ण साझेदार मुलुक हो। कोभिडको बेला भारतले गरेको स्वास्थ्य सहयोगप्रति धन्यवाद दिन्छु। त्यस्तै, भूकम्पका बेला र भूकम्पपछिको पुनर्निमार्णका बेला गरेको सहयोगप्रति आभार प्रकट गर्दछु’, प्रचण्डले भने, ‘विकास र समृद्धका लागि, कृषि, पूर्वधार, रेल्वे सेवामा भारतले गरेको सहयोग अतुलिनिय छ। भरतबाट आगामी दिनमा पनि यो सहयोग र प्रतिबद्धताको निरन्तरता चाहान्छौं।’ त्यस्तै, जलविद्युतमा भारतसँग थप काम गर्न चाहेको प्रचण्डले बताएका छन्। ‘जलविद्युतको क्षेत्रमा पनि भारतसँग काम गर्न चाहान्छौं। भारतसँग विद्युत व्यापार गर्न चाहान्छौं र त्यसको सुरुवात पनि गरिसकेका छौं’, उनले भने, ‘साथै यो क्षेत्रमा भारतको नीजि क्षेत्रलाई लगानीका लागि आग्रह गर्दछु।’ प्रचण्डले १९५० लगायतका सन्धिले दुई देशबीचको सम्बन्धमा केही अस्पष्टता रहेकोले त्यस्ता विषयलाई आपसी समझदारीले समाधान खोजिनुपर्ने बताएका छन्। तीनदिने भ्रमणमा शुक्रबार दिल्ली पुगेका प्रचण्ड आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
दिल्लीमा प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेट, आर्थिक सहकार्यमा केन्द्रित छलफल
काठमाडौं। भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्। अध्यक्ष प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताए। शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुेरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन्। प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ पदाधिकारीले आज दिने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा शीर्ष नेता एवं पदाधिकारीहरूले जवाफ दिने कार्यतालिका रहेको जनाइएको छ । यसअघि बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीकै नेतामाथि प्रश्न उठाएर जवाफ माग गरेका थिए । उनीहरुले समसामयिक राजनीतिक विषयमा आफ्नो मत राख् राखेका थिए । पार्टीभित्रै केही नेता लोकप्रिय हुनका लागि पार्टी नेतृत्वकै आलोचना गर्ने गरेको र गुटको भेलामा सहभागी भएको केन्द्रीय सदस्यहरुले अलोचना गरेका थिए । खासगरी पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका अभिव्यक्तिहरु सरकारमा सहभागी कांग्रेस मन्त्रीहरुको भूमिका तथा काम–कारबाहीबारे प्रश्न उठाएका थिए । अघिल्लो बैठकमा उठेका प्रश्नको जवाफसहित आजको बैठकमा पदाधिकारीहरुले आफ्ना धारणा राख्नेछन् ।
अर्थ मन्त्रालयले रोक्यो ८४ करोडको हतियार खरिद प्रक्रिया
काठमाडौँ, नेपाल प्रहरीका लागि ८४ करोड बराबरको हतियार खरिदमा विचौलिया संलग्न भएको समाचार सार्वजनिक भएपछि अर्थमन्त्रालयल हस्तक्षेप गर्दै आफैंले रकमान्तर गरेको ८४ करोड रुपैयाँको निकासा रोकेको छ। प्रहरीले हतियार र गोलीगट्ठा खरिद गर्न २०७९ असार मसान्तभित्र एलसी खोल्ने गरी नेपाली बिचौलिया दीपक भट्टमार्फत चीन र हङकङका तीन कम्पनीसँग सम्झौता गरेको समाचार कान्तिपुर दैनिकले प्रकाशन गरेको थियो । भिडियोसहित प्रकाशित उक्त समाचारपछि मन्त्रालयले शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिलाई पत्र पठाएर हतियार खरिदको रकम प्रहरीलाई निकासा रोकेको जानकारी गराएको छ । यसअघि समितिले हतियार खरिदसम्बन्धी सम्पूर्ण कागजात छानबिनका लागि प्रहरी प्रधान कार्यालयबाट झिकाएको थियो ।
राष्ट्रपतिद्धारा १३ विधेयक प्रमाणीकरण
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । विधेयकको नाम र प्रमाणीकरण मिति -लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक२०७९/३/३१, -आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१, -ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१, -राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१, -नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९/३/३१, -तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७९/३/३१, -यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक२०७९/३/३१, -फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकक २०७९/३/३१, -नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१, -सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१, -औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१, -स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१ र -रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१ रहेको छ ।
टिचिङमा राष्ट्रपतिको भ्रमण: आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न उर्दी
काठमाडौँ, राष्ट्र्रपति विद्यादेवी भण्डारी सार्वजनिक कार्यक्रममा जाने बेला सर्वसाधारणले दु:ख पाउने विषय बेलाबखत चर्चामा आइरहने बेला यसपटक भने अस्पतालकै सेवा प्रभावित हुनेगरी भ्रमणकाे तयारी भएकाे छ । यसपटक उनी शिक्षण अस्पताल जाने कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न उर्दी जारी गरेको छ । यससम्बन्धमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा आईओएमकी डिन दिव्या सिंह शाहले शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई पत्र काट्दै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको एक प्राध्यापकले बताएकाे उल्लेख छ । समाचार अनुसार आईओएमको ५० औं वार्षिकोत्सव समारोह आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुँदै छ । राष्ट्रपति आउने कार्यक्रमका कारण सेवा बन्द गर्ने निर्णयलाई लिएर अस्पतालकै चिकित्सकले नै असन्तुष्टि जनाएका छन् । दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा लिने अस्पताल वार्षिकोत्सवको बहानामा बन्द गर्न नहुने उनीहरूको भनाइ छ । ‘वार्षिकोत्सव सार्वजनिक बिदा होइन, अस्पतालको सेवा किन बन्द गर्ने ?,’ एक कर्मचारीले भने । त्रिवि शिक्षण अस्पतालको ४० औं वार्षिकोत्सव भने शुक्रबार त्रिवि उपकुलपतिसहित पदाधिकारीको उपस्थितिमा मनाइएको छ । आईओएमको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रपतिको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो । अस्पतालजस्तो संवेदनशील संस्था बन्द गर्न डिन शाहले आफूखुसी निर्णय लिएको प्राध्यापकहरू बताउँछन् । ‘मेची–महाकालीदेखि आउने बिरामी अस्पताल बन्द हुँदा मर्कामा पर्छन्, यसमा ध्यान पुग्न सकेन,’ एक चिकित्सकले भने । अस्पतालमा सातामा ६ दिन ओपीडी सेवा सञ्चालन हुन्छ । सार्वजनिक बिदाको दिनमा समेत बिहान ओपीडी चल्दै आएको छ । बिहान र दिउँसो दुई सिफ्टमा सेवा दिने गरिएको छ । कान्तिपुर दैनिककाे समाचारमा अगाडि उल्लेख गरिएकाे छ: त्रिविका पूर्वउपकुपति केदारभक्त माथेमाले कुनै पनि बहानामा शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत संवेदनशील क्षेत्रका सेवा बन्द गर्न नहुने बताए । ‘बिरामी छाडेर डाक्टर औपचारिक कार्यक्रममा जानु हुँदैन,’ उनले भने, ‘प्रशासनिक पदका मान्छे गए हुन्छ, सेवा बन्द गर्ने कुरा ठीक होइन ।’ सेवा बन्द गर्ने आईओएमको निर्णय अनुचित भएको माथेमाले बताए । ‘नेपाल वायु सेवा निगमको कार्यक्रम भयो भने पाइलटलाई उडान बन्द गरेर आउनु भन्न मिल्छ ?’ उनले भने, ‘पाइलटहरूको मुख्य काम यात्रुलाई गन्तव्यमा पुर्याउनु हो । कसैलाई पनि आफ्नो प्रमुख ड्युटी छाडेर, सभा/समारोहमा जानु पदीय जिम्मेवारीले दिँदैन ।’ आईओएमका पूर्वप्राध्यापक डा. गोविन्द केसीले वार्षिकोत्सव मनाउने नाममा उपचार सेवा नै बन्द गर्नु गलत गरेको टिप्पणी गरे । ‘यो त राष्ट्रपतिले पनि बुझ्नुपर्ने हो, अस्पताल बन्द भए बिरामीले दुःख पाउँछन्,’ उनले भने, ‘निर्णय सच्याउन त्रिवि पदाधिकारीलाई म आग्रह गर्छु ।’ २/३ घण्टा हुने कार्यक्रमका लागि सेवा नै बन्द गर्नु उचित नभएको उनले बताए । शिक्षण अस्पतालकै एक वरिष्ठ चिकित्सकले राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अस्पताल, शिक्षण संस्था बन्द गर्ने गलत संस्कार परिवर्तन हुन नसक्दा पटकपटक बिदा दिने घोषणा दोहोरिने गरेको बताए । ‘लोकतान्त्रिक गणतन्त्र आए पनि संस्कार परिवर्तन हुन सकेन, पहिले राष्ट्रपति सडकमा निस्कनासाथ गाडी बन्द गरिन्थ्यो, अहिले यो हट्दै गएको छ,’ उनले थपे, ‘नागरिकले पाउने सेवा अवरुद्ध हुनुलाई सकारात्मक रूपमा लिन सकिन्न, यस्तो मानसिकता रूपान्तरण हुन आवश्यक छ ।’ आकस्मिक सेवामा आएका बिरामीलाई कतिपय अवस्थामा ओपीडीमा लैजानुपर्ने हुन सक्ने उनले सुनाए । डिन शाहले भने उक्त दिन बिहानको सिफ्टमा सेवा सञ्चालन गर्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिइसकेको बताइन् । ‘पत्र तयार पार्दा राष्ट्रपतिको समय कुन बेला भन्ने मिलिसकेको थिएन, अब दिउँसोमा कार्यक्रम हुने भयो, बिहान ओपीडी चल्छ, दिउँसो मात्रै बन्द हुन्छ,’ उनले भनिन् । अस्पतालका प्रशासकीय प्रमुख वैकुण्ठ थपलियाले आधा सेवा मात्रै बन्द हुने दाबी गरे । ‘सबै सेवा बन्द हुँदैन, पत्र बनाउँदा अलिकति गल्ती भएछ, साढे १२ बजेसम्म सेवा सञ्चालन हुन्छ, त्यसपछि बन्द गरिन्छ,’ उनले भने, ‘बिरामीलाई डाक्टरले भेट्ने समय दिएको हुन्छ, जाँच गर्न समय लिएर बसेका बिरामी हुन्छन्, एक्कासि सबै सेवा बन्द गर्न हुँदैन भनेर निर्णय पुनर्विचार गरिएको हो ।’
सबैभन्दा बढी आर्थिक अनियमितता पूर्वाधार निर्माण कार्यमा
काठमाडौं । सबैभन्दा बढी आर्थिक अनियमितता पूर्वाधार निर्माण कार्यमा भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको अधिकांश पूर्वाधार निर्माण तथा विकासे आयोजनाका काममा ‘धेरै आर्थिक अनियमितता हुने गरेको’ देखिएको छ । जसमध्ये सडक, पुल, भवनलगायत भौतिक संरचना निर्माणमा व्यापक आर्थिक अनियमितता र बढी भुक्तानी गरिएको पाइएको छ । आयोजना ठेक्कामा शतप्रतिशत म्याद थप्दा पनि निर्माण कार्यमा न्यून प्रगति रहेको पाइएको भन्दै महालेखाले सरकारले निर्माण व्यवसायीको पक्षमा तीन वर्षमा सात-सातपटक सार्वजनिक खरिद नियमावली संशोधन गर्दा यस्ता निर्माण आयोजनामा कुनै सुधार आउन नसकेको देखिएको जनाएको छ । चरम आर्थिक अनियमितता र सरकारी कानुनलाई नै लत्याउने प्रवृत्ति हाबी भएका कारण ठेक्का अलपत्र पार्ने, समयमै काम नगर्ने र गुणस्तरहीन काम गर्ने समस्या विगतका वर्षजस्तो कायमै रहेको प्रतिवेदनले औंल्याएको छ । त्यस्तै, ११ अर्ब ४४ करोड ७८ लाख ४८ हजार रुपैयाँबराबरका १ सय ६२ ठेक्कामा सम्झौताबमोजिम काम नभए पनि प्रचलित ऐन-कानुनबमोजिम कारबाही नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ । सडक विभागले शप्रतिशतभन्दा बढी म्याद थप्दासमेत ४९ करोड ४३ लाख ५० हजारमा सम्झौता भएका २२ निर्माण आयोजनाका ठेक्काको प्रगति शून्य रहेको महालेखाले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त, आइतबार माेदीसँग वार्ता
काठमाडौं । तीनदिने भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । आइतबार बिहान उहाँले मोदीसँग ब्रेकफाष्ट वार्ता गर्ने तालिका सार्वजनिक भएको छ । शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएका उहाँलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गर्नुभएको थियो । भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि उहाँले बताउनुभएकाे थियो । उहाँले शुक्रबारै चौथाईवालेसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट गर्नुभयो । अध्यक्ष प्रचण्डले शनिबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्ने उहाँको सचिवालयले जनाएको छ । त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग उहाँले कुराकानी गर्नुहुने जनाइएकाे छ । भर्खरै काठमाडौँबाट फर्किएका विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उहाँले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । शनिबारै उहाँको सम्मानमा भारतीय विदेश मन्त्री जयशंकरले रात्रिभोज दिने बताइएको छ । प्रधानमन्त्री मोदीसँग भेट गरेपछि उहाँले आइतबार नै भाजपा मुख्यालको भ्रमण गर्नुहुने भएकाे छ । त्यहाँ उहाँले भाजपा अध्यक्ष जेपी नड्डासँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ आइतबार नै नेपाल फर्कने कार्यक्रम तय भएकाे जनाइएकाे छ ।
एमसिसीबारे अमेरिकी अभिव्यक्तिकाे चिनियाँ दूतावासद्वारा बिराेध
काठमाडौं । अमेरिकाका प्रस्तावित राजदूतले एमसीसीबारे आफ्नो देशलाई जोडेर दिएको अभिव्यक्तिप्रति नेपालस्थिति चिनियाँ दूतावासले आपत्ति जनाएको छ । दूतावास प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइ चीनले नोटमा लिएको बताए । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ भन्ने समाचार आएकोबारे प्रवक्ताले प्रतिक्रिया दिएका हुन । थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएको भन्दै चीनले नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको र घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख भएको जनाएको छ । नेपाल अमेरिकाको कुनै सैन्य रणनीतिको अंग नहुने स्पष्ट पारेको भन्दै यो नेपाल सरकार र जनताले सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम भएको चीनको तर्क छ । अमेरिकी पक्षबाट आएको प्रतिक्रिया आधारहीन रहेको भन्दै यसले चीनलाई मात्र आरोपित गरेको नभई नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको उसको भनाइ छ । चीनले यसलाई दृढतापूर्वक अस्वीकार गर्ने बताइएको छ । निकट छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षामा निरन्तर सघाउने तथा नेपाली जनतालाई उनीहरूको आफ्नो विकासको मार्ग स्वतन्त्रतापूर्वक पहिल्याउन सहयोग गर्ने चिनियाँ दुतावासले जनाएको छ ।
गठबन्धनको समर्थनमा उपसभामुख बनिन् पुष्पा भुसाल
काठमाडौं । कांग्रेस सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएकी छन् । आज भएको प्रतिनिधि सभा उपसभामुखमा उनी निर्वाचित भएकी हुन् । आज भएको निर्वाचनमा २४२ जना सांसदले संसदमा उपस्थित भएर निर्वाचन प्रक्रियामा भाग लिएका थिए । जसमा काग्रेस सांसद पुष्पा भुसालको पक्षमा १४८ जना सांसद रहे भने एमाले सांसद विद्या भट्टराईको पक्षमा ९३ जना सांसद मात्रै रहे । नेमोकिपाका सांसद प्रेम सुवालले भने मतदान प्रक्रियामा मत दिन्न भनेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम–लोकतान्त्रिक गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ । कांग्रेसको सचेतक रहेर संसदीय गतिविधिमा संलग्न रहेकी भुसाल २०१७ साल फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । उनका बुबा काशीनाथ गौतम राजनीतिमा सक्रिय थिए । पञ्चायतविरुद्ध कांग्रेसमा रहेर राजनीति गर्ने काशीनाथ सपरिवार १४ वर्ष भारतमा निर्वासित हुँदा पुष्पा पनि साथमै थिइन् । काशीनाथ २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री थिए । राजनीतिक परिवारमा जन्मिएका भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी थिइन् । भुसालले नेपाली कांग्रेसको महिला र कानुन विभागका विभिन्न पदमा रहेर काम गरेकी थिइन् । कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भुसालले कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय गरिसकेकी छन् । उनी नेपाल महिला संघको महासचिवका रुपमा पनि रहिसकेकी छन् । भुसाल वरिष्ठ अधिवक्ता पनि हुन् । उनी प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक(पटक राज्यद्वारा गिरफ्तारमा परेकी थिइन्। उनले विगतमा नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य रहेर पनि काम गरेकी थिइन् ।
अर्थमन्त्रीमाथि छानविनः सीसीटिभी फुटेज डिलिट हुनै सक्दैन – सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणका क्रममा असम्बन्धीत व्यक्तिलाई संलग्न गराएको भन्ने आरोपका विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अर्थमन्त्रालयका साथै सिंहदरबार परिसरका सीसीटीभी फुटेजका डेटा डिलिट भएको अनुमानसमेत गर्न नसकिने बताएको हो। अधिवक्ता बाबुराम अर्यालले दायर गरेको रिटमा शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकले इजलासले अग्राधिकार दिने फैसला गरेको हो। अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसर भित्रको सुरक्षा संवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डेटाहरु नमेटिने गरी सुरक्षित तबरले सञ्चय गरी राख्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो। उक्त मागमा भनिएको छ, “सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसर भित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबार भित्रको अर्थ मन्त्रालय लगायत अन्य मन्त्रालयहरुको सीसीटीभी क्यामेराले कैद गरेका डेटाहरु सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन।” यसैगरी रिट निवेदन राष्ट्रिय बजेट निर्माणको गोपनियता र संवेदनशीलतासँग जोडिएको सार्वजनिक महत्वको विषय रहेको हुँदा चाँडो निर्णय हुन आवश्यक रहेको उक्त फैसलामा उल्लेख छ। सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिएको आदेशमा बताइएको छ। रिट निवेदकहरु सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले अर्थ मन्त्रालय र अन्य मन्त्रालय समेत सीसीटीभी फुटेज सुरक्षित राख्न माग राखी रिट निवेदन पेश गरेका थिए । सर्वोच्चले सिंहदरवारको सुरक्षा संवेदनशीलताका कारण पनि यी दृश्य मेटिए होलान भनी अनुमान गर्न नसकिने भन्दै अन्तरिम आदेश आवश्यक नभएको औल्याएको हो । सर्वोच्च अदालतले बजेट निर्माणको गोपनियता र संवेदनशिलता जोडिएको विषयसँग सम्बन्धित निवेदन भएकाले चाडो टुंगोमा पुर्याउनुपर्ने भन्दै प्राथमिकता दिन अग्राधिकारको आदेश दिएको हो ।
सीपीसीका नेता यहाँ आउनु र म भारत जानु संयोगमात्र हो : प्रचण्ड
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल आउने कुरा र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् ।चिनबाट पनि भ्रमणको निम्तो आएको भन्दै चिनियाँ नेताहरुलाई अनुकुल समय मिलाएर आउँछु भनेको बताए। तीन दिने भारत भ्रमणका लागि शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हु्न । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, प्रचण्डको भनाइ छ । उनले आफ्नो भ्रमण राजनीतिक भ्रमणका रुपमा रहेको भन्दै सद्भावना भ्रमणका रुपमा लिनुपर्ने बताए । भारत भ्रमणका क्रममा आफुले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर कुराकानी हुने पनि बताए । भारत र चिन दुबै छिमेकी मुलुक र त्यहाका राष्ट्र प्रमुख नेपालको लागि उस्तै भएको भन्दै मोदी र सी सँगको भेटमा त्रीपक्षीय हितका बिषयमा कुरा गरेको समेत स्मरण गरे । ‘नेपाल भारत सम्बन्ध अझ राम्रो कसरी बनाउने भन्नेमा भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुनेछ’, प्रचण्डले भ्रमण आकस्मिक जस्तो देखिएपनि पूर्व निर्धारित नै भएको बताए । ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो तर मेरा लागि आकस्मिक होइन । दुई महिनाअघि राजदूत क्वात्राकै समयमा मिलिाइएको हो’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘उहाँ राजदूत भएर विदेश सचिव भएपछि पनि उहाँले मलाई भ्रमणको समय कुन बेला उपयुक्त हुन्छ भनेर सोध्नुभएको थियो । त्यसबेला मैले जुलाईको तेस्रो हप्ता हुनसक्छ भनेको थिएँ ।’ प्रचण्डले परराष्ट्र मन्त्रालय, सरकार र गठबन्धनमा समेत छलफल गरेर देशको हितमा केके विषय हुन सक्छन् भन्ने सुझाब सहित भ्रमणमा निस्केको बताए । उनले विगतमा झै यसपाली पनि नेपालको समग्र विकास दुई पक्षीय व्यापार सन्तुलन, सीमा समस्या लगायतका विषयमा भारतीय पक्षसँग कुराकानी हुने प्रचण्डको भनाइ छ ।
भारत भ्रमणमा निस्कदै माओवादी अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज दिउँसो एक बजे भारत भारत भ्रमणका लागि नयाँदिल्ली निस्कदै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् । भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना मात्रै जाने प्रचण्डको सचिवालयले जनाएको छ । जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् । भारत भम्रणमा निस्कदै गर्दा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरु अध्यक्ष प्रचण्डलाई विदाइृ गर्न एयरपोर्टमा पुगेका छन् । प्रचण्ड साउन एक गते स्वदेश फर्किने कार्यतालिका छ ।
सत्ता गठबन्धन बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ । पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले शुक्रबार बिहान बसेको गठबन्धन बैठकमा उक्त सहमति जुटेको जानकारी दिए। ‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ ।,’’ उनले भने, ‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानुन आजै बस्ने संसद बैठकमा पेश हुन्छ ।’’ यता, गठबन्धन बैठक सकेलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।




