भरतपुरमा ३७,८६७ मतगणना, ठूलो मतान्तरले रेनु अगाडि
चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् ।
आज बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन् । दाहालले २ हजार ९४६ मतले अग्रता कायम गरेकी छिन् ।
उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।
डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी
डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छिन् । एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन् । वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ ।
८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक, को कति पालिकामा विजयी भए त ?
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ । कांग्रेसले २७ वटा स्थानीय तहमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले २१ पालिकामा जित हात पारेको छ । मतगणना सुरु भएपछि एउटा पनि स्थानीय तह नजिते पनि एकीकृत समाजवादीसँग पहिले नै निर्विरोध निर्वाचित भएका दुई वटा स्थानीय तह रहेको छ । देशभर अहिले मतगणना जारी रहेको ठाउँहरुमा नेपाली कांग्रेसले सबै भन्दा बढी २ सय ६५ ठाउँमा अग्रता लिएको छ । यसैगरि नेकपा एमालेले १ सय ६५ ठाउँमा अग्रता बनाउँदा ९५ वटा पालिकामा माओवादीका उम्मेदवारहरू अगाडि छन् । जनता समाजवादी पार्टी नेपाल २९ ठाउँमा अगाडि रहेको छ भने नेकपा एकिकृत समाजवादी १७ ठाउँमा अगाडि रहेकाे छ । लोकतान्त्रिक समाजवादी पार्टी भने ११ ठाउँमा अग्र स्थानमा रहेको छ ।
भारतीय प्रम मोदी आज लुम्बिनी आउँदै, यस्तो छ कार्यक्रम
लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउने कार्यक्रम छ । आवश्यक तयारीका लागि प्रधानमन्त्री देउवा हिजो नै लुम्बिनी पुगेका छन् । उनीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्ति आइपुगेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ । भारतका प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा यहाँ उत्रिनेछन् । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन आईबीसीको नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । दुवै मुलुकका प्रधानमन्त्री समारोहमा सहभागी हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यहाँ आएका सबै सुरक्षा निकाय प्रमुखले आइतबार कार्यक्रम स्थल र आसपासको तयारी अवलोकन गरेका थिए । प्रधानमन्त्री मोदीको भ्रमण र सुरक्षा व्यवस्थापनका लागि भारतबाट ‘स्पेसल प्रोटेक्सन गार्ड’ ९एसपीजी० एक साता अघि आएका थिए । सुरक्षालाई ध्यान दिएर बुद्ध जयन्ती समारोहमा पाहुनाको प्रवेशलाई कडाइ गरिएको छ । सुरुमा तीन हजारलाई सहभागी गराउने भनिएकामा अहिले संख्या घटाइएको लुम्बिनी विकास कोषले जनाएको छ । समारोह भने पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा हुनेछ ।
कांग्रेस-एमाले गठबन्धन परास्त गर्दै सिस्नेमा माओवादी विजयी
सिस्ने गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कृष्ण रेग्मी निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित माओवादीका रेग्मीले कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई ७९ मतले पराजित गरेका हुन् । रेग्मीले ३ हजार ७ सय ७९ मत ल्याए भने बस्नेतका पक्षमा ३ हजार ७ सय मत आएको थियो । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार गोपाल रेउले निर्वाचित भएका छन् । माओवादी केन्द्रकी आस्था विकलाई हराउँदै रेउलेले जित निकालेका हुन् । रेउलेको ३ हजार ७ सय ६१ मत आयो भने विकले ३ हजार ४ सय ७४ मत मात्रै प्राप्त गरिन् । गाउँपालिकामा ४ वडा माओवादी केन्द्रले जितेको छ भने ३ वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ ।
लालझाडी गाउँपालिका अध्यक्षमा एमालेका निर्मल राना विजयी
कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्षमा एमालेका निर्मल राना निर्वाचित भएका छन् । राना ४ हजार ५ सय १६ मत ल्याएर निर्वाचित भएका हुन् । रानाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मतान्तरले पराजित गरेका हुन् । पराजित वडायकले २ हजार ८ सय ५८ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी राधा रानाले ३ हजार ४ सय ९३ मत प्राप्त गरेकी थिइन् ।
कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा २० जना भन्दा बढी घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते भएका छन्। झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उन टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै झडपमा अन्य २० बढी घाइते भएको प्रहरीको भनाइ छ। घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा गरिरहेको अवस्थामा झडप भएको स्थानीय बताउँछ। चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको उनको भनाइ छ। नेपाली कांग्रेस भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जादा उनीहरुले पुनः आक्रमण गरेको बताएका छन्। झडप भैसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष दिइरहेका छन्। नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा शुरु भएको माओवादीका एक कार्यकर्ताले बताए। धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी विच तालमेल गरिएको छ। नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको हो। तर दलहरुले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन्।
मौन अवधिको अवज्ञा गरेको भन्दै बाबुराम भट्टराईविरुद्ध उजुरी
पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उनले मौन समयमासमेत चुनाव प्रचार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो । भट्टराईले मौन अवधिको अनुशासन उल्लंघन गरेका थिए । सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो वा कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको आचार संहिता नाघ्दै उनले बुधबार पनि नागरिकसँग भेटघाट गर्ने र भोट माग्ने काम गरेको बताइएको छ । बुधबार बिहान पालुङ्टार नगरपालिका वडा नम्बर १ का बेलबास, भैसेपानी, खुर्पाजुङ, कोलकाटे, जोर्ती चौतारामा चुनावी कोणसभा गरेका थिए । भट्टराईले घरदैलो गरेको र चुनावी सभालाई सम्बोधन गरिरहेको तस्बिर आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनले आचार संहिता उल्लंघन गरेको भन्दै लिखित र मौखिक उजुरी पटक पटक दर्ता गरिएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले जानकारी दिए । ‘२८ गते निर्वाचन सम्बन्धी कार्यक्रम गरेको भनेर लिखित उजुरी आएको छ । उहाँ विरुद्ध धेरै जुरी छन्,’, उनले भने, ‘यसलाई हामी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगमा फर्वाड गर्छौँ ।’ बाबुराम जसरी पनि पालुङटार आफ्नो पार्टीलाई जिताउन चाहन्छन् । त्यसैले गठबन्धनको मर्म विपरीत एमालेसँग तालमेल गरेका थिए ।
कांग्रेसका पूर्वसांसद श्रेष्ठसहित ५ जना निलम्बनमा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जना निलम्बनमा परेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा.केशव पौडेल रहेका छन् । उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले यसअघि पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पनि निष्कासन गरेको थियो ।
मौन अवधिमा मतदातासमक्ष केपी ओलीको अपिल
काठमाडौँ । स्थानीय तहको निर्वाचन भोलि शुक्रबार देशभर एकैसाथ हुँदै छ । निर्वाचनको मौन अवधिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातासमक्ष अपील जारी गरेका छन् । ओलीले मौन अवधिमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्न अनुरोध गरेका छन् । ‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भनेका छन् । उनले सबैलाई मतदान पक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् । ‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागि हुनुहोला,’ ओलीले भनेका छन् ।
लमजुङमा पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परे एमाले वडाध्यक्ष उम्मेदवार
लमजुङ । लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई पैसा बाँड्दै गरेको अवस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरेका छन् । लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक बेसीको वस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाईको समुहले जोशीलाई बुधबार राती साढे १० बजेको समयमा फेला पारेको हो । उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर अथवा अन्य प्रलोभनमा पारेर भोट मागेको थाहा पाएपछि जोशीको साथबाट एक लाख ३५ हजार नगद पैसासहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाडेको नामवली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा राखिएको स्थानीयले बताएका छन् । २७ गते राती १२ बजेदेखि स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको जान्दाजान्दै जोशीले पैसा बाँड्दै भोट माग्दै गरेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीलाई बुधबार राती नै घटनास्थलमा खटाइएकाले यस विषय प्रमाणित भए कानुन अनुसार कारबाही हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री लुुम्बिनी आउँदै, तयारी तीव्र
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री मोदी आगामी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने तय भएको छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) भने लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले हेलिप्याड, मर्मतसम्भार, सरसफाइलगायतका काम अन्तिम चरणमा पुर्याइएको बताउनुभएको छ ।
नेकपा बहुमतका संयोजक बास्तोलालाई प्रहरीले ६ घण्टापछि छाड्यो
काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङले बास्तोला नियन्त्रणबाट मुक्त भएको जनाएको छ । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको इप्रका भालुबाङले जनाएको छ । बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको जानकारी दिएका थिए ।
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ
दाङ – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे। उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे। स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन्। चुनाव शुक्रबार हुँदैछ।
मौन अवधिको अवज्ञा गर्दै एमालेको प्रचारप्रसार, माओवादी कार्यकर्तामाथि कुटपिट, प्रहरी मुखदर्शक
काठमाडौं । यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनअन्तर्गत मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । आज बुधबारदेखि यस्ता प्रचारप्रसारलगायका कार्यक्रमहरु पूर्ण रुपमा बन्द भएका छन् तर हरिवन नगरपालिका ८ मा भने नेकपा एमालेका कार्यकर्ताले मौन अवधिको अवज्ञा गर्दै झण्डासहित जुलुससहित चुनावी प्रचारप्रसार गरेका छन् । एमाले जिल्ला अध्यक्ष राजनारायणफसाह र पुर्व मेयर गणेश प्रसाईसहितको टोलि मदिरासेवन गरि प्रचारप्रसारमा देखिएका छन् । उनीहरुको प्रचारलाई माओवादी कार्यकर्ता फणिन्द्र अधिकारिसहितका कार्यकर्ताले विरोध गरेका छन् । आफूहरुको जुलुसलाई विरोध गरेको भन्दै एमालेका कार्यकर्ताले माओवादी र नेकपा एसका कार्यकर्तामाथि फलामे रडसहितका हतियारले कुटपिट गरेका छन् । एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादी र नेकपा एसका दर्जनौ कार्यकता घाइते भएका छन् । माओवादी कार्यकर्ता फणिन्द्र अधिकारिका अनुसार, उनीहरुले कुटपीट गर्नुका साथै साथमा रहेको सुनको सिक्रि, औँठी र नगद २० हजार पनि लगेका छन् । घटना लगत्तै प्रहरीलाई खबर गरिएपनि सशस्त्र र जनपद प्रहरी घटनास्थलमा पुगेर मुखदर्शक बनेर बसेको अधिकारीले बताए । अधिकारी भन्छन्,‘ मेरो मुखमा रडले हाने, टाउकोमा हाने, प्रहरी अगाडि थियो तर कसैले केही गरेनन् । प्रसाईंले सबैलाई किनेको रहेछ, मिलेमतो रहेछ ।’
परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाइने
काठमाडौं । निर्वाचन आयोगले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो। आयोगको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाढका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ।’

