माओवादीले टुंग्यायो सल्यानका ७ स्थानीय तहमा उम्मेदवार (नामावलीसहित)

सल्यान, स्थानीय तहको निर्वाचनमा तालमेलको सम्भावना कम हुँदै गएपछि माओवादीले उम्मेदवार सार्वजनिक गरेको छ ।

माओवादी केन्द्र सल्यानका संयोजक किर्तीबहादुर पुनका अनुसार शारदा नगरपालिकामा प्रमुखमा प्रमोदकुमार श्रेष्ठ, बन्गाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी, कालिमाटीमा पुरुषोत्तम भट्टराई, कपुरकोटमा प्रकाश भण्डारी, त्रिवेणीमा राजेन्द्र थापा, सिद्धकुमाख गाउँपालिकामा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकामा नीमबहादुर केसीको सर्वसम्मत नाम सिफारिस छ ।

बाग्चौर नगरपालिकामा, कुमाखमा र छत्रेश्वरी गाउँपालिकामा आकांक्षीहरु धेरै भएकाले टुंगो लगाउन कठिनाई भइरहेको उनले बताए । उनका अनुसार शनिबारसम्म सबै पालिकाका उम्मेदवारको टुंगो लाग्नेछ । सहमती नभएका पालिकाको टुंगो प्रदेश कमिटीलाई जिम्मा दिइनेछ ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन हुने सम्भावना टर्दै गएकोले उम्मेदवार टुंग्याएर निर्वाचनमा होमिने उनले बताए ।

मेयर बनेर देवचुलीको मुहार फेर्छु भन्दै उपसचिवबाट राजिनामा

पूर्वीनवलपरासी । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन् । हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार राजिनामा दिएका हुन्। देवचुलीलाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने अथक प्रयास गर्ने बताउदै राजिनामा दिएका भुसालले देवचुलीका सबै साथीभाईहरुको अग्रहमा आफु तस्तो निर्णयमा पुगेको बताए ।उनले करिब २५ वर्षको जागिरे जीवनको अनुभवबाट देवचुलीको काँचुली फेर्न इमान्दार प्रयास गर्ने बताएका छन् । देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार हुने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । उनी कुशल प्रशासक र राम्रो छवि भएका मानिन्छन् । स्थानीय मतदाताको आग्रहअनुसार आफूले राजीनामा दिएर पार्टी राजनीतिमा आएको सुनाए । उनलाई जिल्ला पार्टी सभापति महेन्द्रध्वज जीसी र कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने र अर्का नेता डा.शशांक कोइरालाले राजनीतिमा आउन ग्रिन सिग्लन दिएका कारण राजनीतिमा होमिएको गाउँमा चर्चा छ । देवचुली नगरपालिकामा यसअघिको निर्वाचनमा पनि मेयरसहित बहुमत कांग्रेसले जितेको हो । ५५ सालअघि उनी साविकको देवचुली गाउँ कमिटीको कांग्रेस सभापति थिए । पछि लोकसेवा पास गरेर निजामतीमा प्रवेश गरेका थिए ।

प्रतिगमनलाई परास्त गर्न संकल्प गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुभव र ठक्करका बीच माओवादी आन्दोलनमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन् । शुक्रबार कम्युनिस्ट स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सवै माओवादी क्रान्तिकारीहरु एकता प्रक्रियामा लागिसकेको पनि बताए ।   माओवादीहरू एकढिक्का भएर आगामी निर्वाचनमा लाग्न सके मात्रै प्रतिक्रियावादी र प्रतिगमनकारीहरूलाई परास्त गर्न सकिने भएकाले सबै क्रान्तिकारीहरुले सोच्ने बेला भएको प्रचण्डको भनाइ छ । ‘हामीले हार्दा प्रतिक्रियावादीले जित्ने, प्रतिगमनले जित्ने खतरा हुन्छ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण पनि आजको दिन प्रतिगमनका विरुद्ध एउटा नयाँ संकल्प लिने दिनको रुपमा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधर जनताको ऐतिहासिक जिम्मेवारी हो भन्ने हामी ठान्छौ ।’ अध्यक्ष प्रचण्डले विभिन्न अनुभव र ठक्कर बीचबाट फेरि एकचोटी माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको पनि बताए । ‘दिनदिनै जसो एकाध वयाक्तिका रुपमा मात्रै होइन, संस्थागत रुपमा मुल नेतृत्वमा जोडिने निकै ठुलो प्रक्रिया सुरु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले यसअघि आफुले नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भनेर एकता प्रस्ताव गरेर नेकपा बनाइएपनि नेतृत्वमा देखिएको वैचारिक र सांस्कृतिक विचलनका कारण पार्टी एकता टिक्न नसकेको बताए । ‘उन्माद र गैर कम्युनिस्ट चिन्तनका कारण पार्टी एकता टिक्न सकेन’, प्रचण्डको भनाइ छ । उनले नेकपा फुटाउन कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी र अवसरवादी मात्रै नभई देश बाहिरका शक्तिहरु पनि लागेको बताए ।

युक्रेनलाई समर्थन जुटाउन चार अमेरिकी सिनेटर र एक सांसद काठमाडौं आउदै

काठमाडौं । चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आउने भएका छन्। काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स नेपाल आउँदैछन्। अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्नेछ। यो सिनेटरको टोली नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो। रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएको बताइएको छ। भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन्। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम छ। नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ। यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो। केही दिनअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी उपसहायक विदेश मन्त्री केली केइडरलिङले पनि नेपाल भ्रमण गरेकी थिइन्। अमेरिकी सहयोग परियोजना एमसिसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउँदा केली पनि सँगै आएकी थिइन्। उनले गत सोमबार परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गरेकी थिइन्।

लेनिन दिवसमा प्रचण्डको शुभकामना सन्देश ‘लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धनलाई जिताउँ’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन्। शुक्रबार अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन भएको बताएका हुन्। अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनु पर्ने बताएका छन्। यस्तो छ शुभकामना सन्देशको पूर्णपाठ सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जनसमुदाय एवं विश्वभरिका सर्वहारा र श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु। महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको संघर्षमा बलिदानी गर्नुहुने महान् शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो। रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको छ। कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको छ, देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा छ। यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो। शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो। वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन। तसर्थ, दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको छ। प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ। यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ। तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपील गर्दछु, धन्यवाद १ ९ वैशाख, २०७९ ९२२ अप्रिल २०२२० ………………………………………. पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष

आइलाग्नेमाथि जाइलाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन माओवादीहरू एकजुट हुनुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘हामीले हाम्रो भूमिकालाई ०६४ को अवस्थामा फर्काउनु पर्छ। अब लाग्न त ०७९ साल नै लागिसक्यो। तर, हामी माओवादी एकता गराएर ०६४ कै अवस्थामा फर्काउन सबै माओवादी एकजुट भएर लाग्नुपर्छ।’ प्रचण्डले अहिलेसम्मको परिवर्तन माओवादी आन्दोलनबाटै आएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरूकै भएको बताए। देशका जतिबेला संकट आए पनि संकट मोचनको लागि माओवादी नै अग्रसर हुनुपर्ने उनको भनाई छ। प्रचण्डले भने, ‘हामीमाथि कसैले आइलाग्छ भने इटको जवाफ पत्थरले दिनुस्। माओवादी आन्दोलन र संघर्षका मैदानमा हारेको छैन। पछिल्लो समय माओवादी कमजोर भएजस्तो बेलामा जाली फटाहाहरूले टाउको उठाउन खोजेका छन्। माओवादीलाई नम्बर एक पार्टी बनाउनु पर्छ।’ उनले विप्लव, बाबुराम, वैद्यहरूसँग भएका साथीहरू कतै नअल्मलिएर माओवादीमा फर्किन आग्रह गरे। ‘ढिलो नगरी वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु’ प्रचण्डले भने, ‘तपाईहरूलाई अन्याय गरिने छैन। माओवादीले विजय भएन भने देशले दुख पाउँछ भन्नेमा सबै लाग्नुस्। महान एकताको प्रक्रियामा सहभागी हुनुस्। मैले गरेको आग्रहलाई सामान्य रुपमा नलिनुस्।’ उनले देशको राजनीतिको केन्द्र अहिले पनि माओवादी नै भएको बताए । ‘गाली गरे पनि ताली गरे पनि प्रचण्ड व्यक्ति होइन। प्रचण्ड यो देशको सबै क्षेत्रको मुक्तिको झण्डा हो। सबै प्रचण्ड हो र तपाईंहरूले नै प्रचण्ड जन्माएको हो। अब फेरि नयाँ अभियानको थालनी गर्नुपर्छ’ प्रचण्डले भने। पाँच दलीय गठबन्धन टुटाउन ठूलो षड्यन्त्र भए पनि फेरि एकपटक असफल भएको प्रचण्डले बताए। गठबन्धनका दलहरूले आफ्नो क्षमता हेरेर बोल्न मात्रै आग्रह गरे। ‘कसैले पनि मेरै गोरुको बाह्रै टक्का नगरौं। हिजो बेलुकासम्म गठबन्धन टुटाउन र तालमेल नहोस् महानगर र उपमहानगरमा सहमति नहोस् भन्ने षड्यन्त्र भइसकेको थियो’ प्रचण्डले भने, ‘तालमेललाई सफल पार्न धेरै मेहनत गरेको थिएँ। अस्ति राति ३ बजेसम्म बसियो। हिजो दिनभर बसेर सर्वसम्मत ढंगले निर्णय गरेर संविधान उल्याउन लाग्नेहरू अहिले विक्षिप्त भएका छन्।’ प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर ठूलो गल्ती भएको समेत स्मरण गरेका छन्। एमसीसी ओलीले जस्ताको तस्तै पास गराउन चाहेको भए पनि माओवादीकै अडानको कारणले व्याख्यात्मक घोषणासहित पारित गरेको बताए। गठबन्धनदेखि सभामुखसम्म जाने भएपछि बाध्य भएर एमसीसीको पक्षमा उभिएको उनको भनाई थियो ।

एमालेले महानगर/उपमहानगरका उम्मेदवार १० गतेमात्रै छान्ने

काठमाडौं । नेकपा एमालेले वैशाख १० गते बैठकबाट महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।   ‘आजको बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यौ’, बैठकपछि गुरुङले भने, ‘बैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय गर्छ । ’ उनले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा एकएक जना सिफारिस भएपनि अन्य तीन महानगरमा मेयरका उम्मेदवार धेरै रहेको बताए । नेता गुरुङका अनुसार चितवनको भरतपुरमा विजय, सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकार सिफारिस भएका छन् ।

ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास, २५ लाख घरधुरीले यसरी पाए प्रत्यक्ष राहत

काठमाडौं । जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्। नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ। अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सामाजिक र आर्थिक रुपमा कलङ्कको रुपमा लोडसेडिङ अन्त्य भयो। प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्रीका रुपमा जनार्दन शर्माले खेल्नुभएको भूमिका नेपालको इतिहासमा महत्वपूर्ण परिघटनाको रुपमा स्थापित छ। यस्तै, अघिल्लो पटक ऊर्जामन्त्रीको रुपमा वर्षमान पुनले ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा देशभरका २५ लाख उपभोक्ताले प्रत्यक्ष रुपमा राहत पाउने गरी १० यूनिट बराबरको बिजुली निःशुल्क दिने व्यवस्था गरियो। यस्तै, पछिल्लो पटक ऊर्जामन्त्रीका रुपमा पम्फा भुसालले ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेपछि २५ लाख नागरिकले प्रत्यक्ष रुपमा लाभ हासिल गर्ने गरी २० युनिट बिजुली निःशुल्क पाउने बन्दोबस्ती गरियो। ग्रामीण क्षेत्रमा अधिकांश नागरिकले यसबाट प्रत्यक्ष लाभ हासिल गरेका छन्। यो माओवादीका तर्फबाट जनतालाई उपलब्ध गराइएको सबैभन्दा महत्वपूर्ण उपहारको रुपमा ऊर्जा क्षेत्रका जानकारहरुले लिएका छन्। आगामी आवमा कम्तीमा पनि ५० युनिटसम्म बिजुली निःशुल्क दिन सकिने वातावरण बन्दै गएको छ। किनकि, लगातार ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेको माओवादीकै पहलमा केही ठूला परियोजना सम्पन्न भएका छन्। माथिल्लो तामाकोशी त्यसको प्रत्यक्ष उदाहरण हो। कूल ४५६ मेगावाट क्षमताको आयोजनालाई प्रत्यक्ष रुपमा निर्माण सम्पन्न गराउन माओवादीका तर्फबाट मन्त्रालयको नेतृत्व गरेका मन्त्रीले गरेको योगदान आफैमा महत्वपूर्ण देखिएको छ। कृषि उपजमा बढ्दै गएको परनिर्भरता हटाउन माओवादी नेतृत्वको विशेष जोडबलमा नै सिँचाइमा प्रयोग हुने बिजुलीको महशुलमा ५० प्रतिशत छुट दिइएको छ। आगामी दिनमा सिँचाइमा प्रयोग हुने बिजुली निःशुल्क बनाउन सकिने वातावरण बन्दै गएको छ। भेरी बबई बहुउद्देश्यीय आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना, सिक्टा सिँचाइ आयोजनाले सिँचाइ मात्रै नभई बिजुली समेत उत्पादन गर्ने भएकाले सोही बिजुली सिँचाइ प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउन सकिने वातावरण बनेको ऊर्जामन्त्री पम्फा भुसालको भनाइ छ। यसबाट विशेष गरी तराई मधेशका हजारौं किसानले प्रत्यक्ष रुपमा लाभ प्राप्त गर्नेछन्। सुनकोशी मरिन डाइभर्सन आयोजना माओवादी अध्यक्ष प्रचण्डको ड्रिम प्रोजेक्ट हो। प्रचण्डको कार्यकालमा सो आयोजनाको आवश्यक प्रक्रिया अगाडि बढेको हो। अघिल्ला ऊर्जामन्त्री पुनको कार्यकालमा सो आयोजनाले मूर्त रुप लिएको हो। वर्तमान ऊर्जामन्त्री भुसालको कार्यकालमा सो आयोजनाको सुरुङ खन्ने काम शुरु हुन लागेको छ। आगामी असारदेखि सुरुङ खन्ने काम शुरु गर्ने तयारी छ। सुरुङ निर्माणका लागि टनेल बोरिङ मेशिन ९टिबीएम० नेपाल आइपुग्ने प्रक्रियामा छ। कोलकाता बन्दरगाहमा टिबीएम आइपुगेको छ। सो आयोजना सम्पन्न भएपछि मधेश प्रदेशको ६ जिल्ला १२ महिना नै हराभरा हुनेछ। खड्ग ओलीहरुले केवल हवाई सपनाको व्यापार गरिरहेको बेला माओवादी नेतृत्वले सुझबुझपूर्ण तरिकाले तराई मधेशको समृद्धिका लागि योजना मात्रै बनाएको छैन, त्यसको कार्यान्वयन पनि शुरु गरेको जल तथा ऊर्जा क्षेत्रका जानकारहरुको भनाइ छ। भेरी बबई डाइभर्सन आयोजना पनि माओवादी नेतृत्वको सरकारको कार्यकालमा नै शुरु भएको हो। सो आयोजना सम्पन्न भएपछि बाँके तथा बर्दियाका झण्डै ५४ हजार हेक्टरमा १२ महिना नै सिँचाइ सुविधा उपलब्ध हुनेछ। यसले पश्चिम तराईमा वास्तविक अर्थमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ। आगामी आवमा सो आयोजना सम्पन्न हुनेछ। सही नीति, योजना र नेतृत्व भयो भने आर्थिक विकासका लागि कुनै आइतबार कुर्नु पर्दैन भन्ने तथ्य यी र यस्ता केही परियोजनाले स्थापित गरेको छ। त्यस्तै, प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा शुरु भएको ग्रामीण विद्युतीकरण कार्यक्रमले सार्थक रुप लिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशभर ९२ प्रतिशत घरधुरीमा बिजुली सेवा पुगेको छ। यो कामका पछाडि माओवादी नेतृत्वले गरेको अथक प्रयासले सार्थकता पाएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी जिल्लामा भरपर्दो बिजुली उपलब्ध गराउनका लागि २५ अर्ब बराबरको स्रोत सुनिश्चित भएको छ। सो रकमले आगामी २ वर्षभित्र नेपालका सबैजसो घरधुरीमा बिजुलीको सेवा पुग्नेछ। सन् २०३० सम्मका लागि तय भएको दिगो विकास लक्ष्यको सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा रहेको ऊर्जा क्षेत्रमा भएको प्रगति अरुका कारण सम्भव भएको होइन। लोडसेडिङ कसले हटाएको भन्ने प्रश्नको उत्तर आम मानिसले दिन सक्छन् । त्यस्तै, ग्रामीण क्षेत्रमा बिजुली कसले पु¥याएको भन्ने उत्तर पनि अब माओवादीको नाममा नै लेखिने भएको छ। समाजवादको आधार तयार पार्ने महत्वपूर्ण कडीको रुपमा रहेको ऊर्जा क्षेत्रमा भएको यो प्रगतिले पनि माओवादी भाषणमा होइन, काममा मात्रै विश्वास गर्छ र जनतालाई प्रत्यक्ष रुपमा सेवा गर्छ भन्ने स्थापित भएको छ। ग्याँसबाट बिजुली चुल्होको यात्रातर्फ निगमको पछिल्लो विवरणलाई आधार मान्दा चालु आवको हालसम्म झण्डै रु। दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। व्यापार घाटा बढाउने एउटा प्रमुख कारकका रूपमा पेट्रोलियम पदार्थ पनि देखिएको छ। चालु आवको फागुन मसान्तसम्म व्यापार घाटा मात्रै रु। ११ खर्ब ६० अर्ब ९९ करोड बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिका कारण गत फागुन मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७।१४ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७।५१ प्रतिशत पुगेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण अर्थतन्त्रमा चाप परेको स्वीकार गर्नुभएको छ किनकि, त्यसको प्रभाव चौतर्फी पर्न जान्छ। उपभोग्य वस्तुको मूल्यवृद्धिदेखि अन्य दैनिक जनजीवनमा समेत त्यसले थप जटिलता निम्त्याउँछ। देशभित्र पेट्रोलियम पदार्थ उत्पादन नहुने तथा ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर आयात गर्नुपर्दा सरकारको ढुकुटीमा समेत दबाव पर्न जान्छ। यस्तो विषम परिस्थितिले विकल्पको माग गरिरहेको छ। के छ त विकल्प रु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालका अनुसार अब देशव्यापी रूपमा हरेक क्षेत्रलाई विद्युतीकरण अर्थात् विद्युतीय सामग्रीको अत्यधिक प्रयोग एवम् स्वदेशी बिजुली खपतमा बढोत्तरी गराउनु। त्यसो त सरकारले ‘विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली उपभोग गरौँ’ भन्ने अभियान नै चलाएको छ। खाना पकाउनका लागि अब प्रतिसिलिण्डर रु। एक हजार ६०० तिरेर ग्याँस खरिद गर्नेतर्फ भन्दा पनि न्यूनतम मूल्यमा विद्युतीय चुल्होको प्रयोग बढाउने विषय नै अत्यावश्यक बनिसकेको छ। विदेशी मुद्राको सञ्चितीमा दबाव परिरहेको बेला हरेक नागरिकका तर्फबाट पनि योगदान हुनु आवश्यक छ। नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कनअनुसार पनि ग्यासमा भन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म सस्तो पर्न जान्छ। यस क्षेत्रमा अध्ययन गरिरहनुभएका ऊर्जा विज्ञ अमृतमान नकर्मीले शहरी क्षेत्रमा सरकारले अभियानात्मक रूपमा नै विद्युतीय चुल्होमा काम गर्नुपर्छ। विशेष गरी ऊर्जामन्त्रीको ध्यान, घर घरमा इन्डक्सन, सार्वजनिक सवारी साधन विद्युतीय बनाउने भन्नेमा केन्द्रीत छ। सोही अनुसार काम पनि भइरहेको छ। यसबाट देशभित्रको बिजुली देशमै खपत गराउने योजनाले समेत मूर्त रूप पाउँदैछ। ऊर्जा मन्त्रालय सम्हालेदेखि नै मन्त्री भुसालले सबैभन्दा बढी जोड दिएको विषय नै विद्युतीय सामग्रीको प्रयोग र विस्तार हो। सरकारका महत्वपूर्ण सुरक्षा निकायहरू, काठमाडौँ उपत्यकाका सबै ढावा तन्दुरी होटलहरू, तारे तथा गैरतारे होटलमा समेत विद्युतीय चुल्होको प्रयोग बढ्न थालेको छ। आवश्यकता नै आविस्कारको जननी हो भनेझैं हरेक मानिसको चासोमा विद्युतीय सवारी र इन्डक्सन चुल्हो पर्न सफल भएको छ। जब मानिसले विद्युतीय सामग्रीको उपयोग गर्न थाल्छ, त्यतिबेला सरल र सहज भएको समेत अनुभव गर्न थालेको छ। त्यसपछाडि कही तथ्य र कारण पनि छ। गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो। प्राधिकरणले आफ्ना विद्युत् गृह बन्द गरेरै भए पनि निजी क्षेत्रका आयोजनाको बिजुली खरिद गर्नुप¥यो। मूल्यमा हिसाब गर्दा झण्डै रु पाँच अर्ब बराबरको नोक्सानी भयो। यस वर्ष मात्रै प्रणालीमा थप ७१० मेगावाट बिजुली थप भयो। यससँगै देशको केन्द्रीय प्रणालीमा कूल जडित क्षमता दुई हजार १५० मेगावाट बराबर पुगेको छ। प्रसारण प्रणालीको सहजता भएको खण्डमा आगामी असारसम्म झण्डै १५० मेगावाट बिजुली थप हुन जान्छ। त्यो भनेको प्रणालीमा दुई हजार ३०० मेगावाट बराबरको बिजुली हो। बिजुली खेर पालेर विदेशी इन्धन र ग्यास खरिद गरेर ल्याउने भन्ने प्रश्न रहन सक्दैन अब। वर्ष, २०७८ ले नेपालीलाई दिएको अर्को महत्वपूर्ण सन्देश हो यो। विशेष गरी शहरी तथा शहरोन्मुख क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग क्रमशः वृद्धि हुन थालेको छ। सरकारले भन्सार महशुलमा दिएको छुटका कारण बजारमा रु तीन हजारको हाराहारीमा त्यस्ता चुल्हो उपलब्ध हुन थालेको छ। काभ्रेपलाञ्चोकको तेमालमा मात्रै झण्डै दुई हजार इन्डक्सन वितरण गरिसकिएको छ। त्यसको नेतृत्व त्यहाँको स्थानीय पार्टी समितिले गरेको छ। ललितपुर महानगरपालिकाको एक वडाले पनि आफ्ना वडावासीलाई इन्डक्सन चुल्हो वितरण गरेको छ। त्यसमा पनि मन्त्री भुसालको प्रत्यक्ष सहयोग छ। यसलाई युद्धस्तरमा अगाडि बढाउनका लागि प्राधिकरणले आफ्नो वितरण प्रणालीमा थप सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। त्यसो त वर्ष २०७८ भरि नै प्राधिकरणले वितरण र प्रसारण प्रणालीको क्षमता वृद्धिमा गरेको मेहनतले पनि त्यही आवश्यकता बोध गराइदिएको छ। विद्युतीय सवारीतर्फको यात्रा ऊर्जामन्त्री भुसालले वर्षभरि नै हरेक कार्यक्रममा विद्युतीय चुल्हो, बिजुलीको खपत र विद्युतीय सवारीको प्रयोग बढाउन गर्नुभएको जबर्जस्त हस्तक्षेपले पनि क्रमशः वातावरण बन्दै गएको छ। प्राधिकरणले ५० वटा चार्जिङ स्टेशनको काम अगाडि बढाएको छ। निजी क्षेत्रबाट हुण्डाई कम्पनीले देशका विभिन्न स्थानमा ४० चार्जिङ स्टेशन निर्माण गरेको छ। निजी क्षेत्रका अन्य सङ्घ, संस्थाले पनि चार्जिङ स्टेशन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका छन्। त्यस्तै, ऊर्जा मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुर्गम जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ। इभीमा प्राधिकरणको हस्तक्षेप प्राधिकरणको अध्यक्षका रुपमा ऊर्जामन्त्री भुसालको प्रत्यक्ष निर्देशनमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेश गर्ने उद्देश्यका साथ २० वटा टाटा नेक्सन इभी खरिद गरेको छ। निजी क्षेत्रमा सवारी साधन बिक्री गर्ने अटोमोबाइल कम्पनीले विद्युतीय सवारी साधनलाई नै प्रमुख प्राथमिकतामा राखेका छन्। पछिल्ला तयारी अनुसार साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। केही बस राजधानी भित्रिइसकेका छन्। चालु आर्थिक वर्षको ६ महिनामा मात्रै एक हजार १०३ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। पछिल्लो दुई वर्षको तुलनामा चालु आवको ६ महिनामा दोब्बरभन्दा बढी विद्युतीय सवारी साधन भित्रिएका छन्। सरकारले सन् २०२५ भित्रमा २५ प्रतिशत र २०३० भित्र ९० प्रतिशत निजी र ६० प्रतिशत विद्युतीय सवारी साधन प्रयोग गर्ने लक्ष्य राखेको छ। दिगो विकास लक्ष्यले पनि सन् २०१५ मा एक प्रतिशतको हाराहारीमा रहेको विद्युतीय सवारी साधनको सङ्ख्या सन् २०१९ मा ५ प्रतिशत पु¥याउने लक्ष्य राखेको भए पनि त्यो सफल नभए पनि त्यसतर्फको यात्रा मुखर हुँदै गएको छ। ऊर्जामन्त्रीको पहलमा नै सरकारले पछिल्ला दिनमा सबैसम्म पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधन खरिद नगर्ने नीति लिएको छ। सोही नीतिअन्तर्गत नै प्राधिकरणले विद्युतीय सवारी साधन खरिद गरी बजारमा हस्तक्षेप गरेको हो। नागरिक स्तरमा पनि विद्युतीय सवारी साधनको प्रयोगका सम्बन्धमा सचेतना विस्तार भएको छ। सरकारले विद्युतीय सवारी साधनको आयातमा कर सहुलियत दिएको छ। खड्ग ओलीका अर्थमन्त्रीले विद्युतीय सवारीमा कर बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेका थिए। वर्तमान अर्थमन्त्रीले भन्सार शुल्कमा छुट दिने तथा अन्य प्रक्रिया सरलीकृत गरेपछि थप सहज भएको छ। त्यस्ता सवारी आयातमा लाग्दै आएको कर मात्रै नभई नगद मार्जिनसमेत विद्युतीय सवारीमा नलाग्ने नीतिगत प्रबन्धले सकारात्मक प्रभाव परेको छ। सरकारले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधनलाई हाइब्रिड वा विद्युतीय बनाउन सकिने नीतिगत प्रबन्ध समेत गरेको छ। राजत्रपमा सूचना प्रकाशित नै गरेर समयको मागलाई सरकारले सम्बोधन गरेको छ। हरेक घरबाट ग्याँस विस्थापन गर्ने हो भने प्राधिकरणले आफ्नो वितरण प्रणालीको सुधार र क्षमता वृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। प्रणाली सुधार गरेर मात्रै नहुने भएकाले फ्यूजको क्षमता बृद्धि, वाइरिङमा समेत ध्यान दिनुपर्नेछ। यस्तै, विद्युतीय चुल्होको प्रयोग गर्दा हुने फाइदाबारे सचेतनामूलक सामग्रीको प्रवद्र्धन गर्न आवश्यक छ। बजारमा सुफथ मूल्यमा विद्युतीय चुल्हो उपलब्ध हुने वातावरण सिर्जना हुनुपर्छ। विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिनका लागि करमा थप छुट, विशेष प्रोत्साहनको प्रबन्ध गर्न जरुरी छ। नीतिगत रूपमा हरेक नागरिकलाई पनि चार्जिङ स्टेशन निर्माण गर्न दिन मार्ग प्रशस्त गर्नुपर्छ। त्यसको तयारीमा ऊर्जा मन्त्रालय लागिपरेको देखिएको छ। त्यसो त निजी क्षेत्रले समेत सरकारको कामलाई सहयोग गरिरहेको छ। भरतपुरले दिएको अर्को सन्देश आन्तरिक रूपमा नै विद्युत् खपत बढाउन र उज्यालो नेपालको सपना सकार पार्न जसरी चितवनको भरतपुर महानगरपालिकाले काम गरिरहेको छ, त्यस्तै, काम अन्य स्थानीय तहले समेत गर्नुपर्नेछ। भरतपुर महानगर प्रमुख रेणु दाहालका अनुसार उज्यालो शहर अभियानअन्तर्गत प्राधिकरण र महानगरको साझेदारीमा स्मार्ट सडक बत्ती जडान भइरहेको छ। कूल रु ११ करोड ४९ लाख ८९ हजार ३०० बराबरको लगानमिा ७८।१ किलोमिटरमा कूल एक हजार ९३३ सडक बत्ती जडान हुनेछ। जिल्ला प्रशासन कार्यालय चोक, चौविस कोठी, विरेन्द्रचाक, शहिदगेट, पुल्चोक, पोखरा बसपार्क, दियालो बङ्गलाचोक र मालपोत चोकमा हाइ मास्ट जडान हुनेछ। त्यसो त सन् २०४५ शून्य कार्बन उत्सर्जन गर्ने मुलुकका रूपमा नेपाललाई पु¥याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नका लागि पनि माओवादी नेतृत्वले लिएको दीर्घकालीन नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ।

जसपा, विप्लव नेकपा र एमाले परित्याग गर्दै हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा प्रवेश(तस्बिर)

कैलाली । बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्केका छन् । आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा फर्केका हुन् । चुनावको निकटतासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको व्यस्तता निकै बढेको छ । पार्टी प्रवेश गराउने,भेला सम्मेलनलाई सम्बोधन गर्ने नेताकार्यकर्तालाई प्रशिक्षित गर्ने र गठबन्धनका भागबन्डा मिलाउनेमा प्रचण्डलाई भ्याई नभ्याई हुने गरेको छ । उनले माओवादी केन्द्र २०६४ सालकै अवस्थामा फर्कन लागेको भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरेर माओवादी प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा गोलबन्ध हुने क्रम तिब्र हुने बताउने गरेका छन् । आज कैलालीमा प्रचण्डले भने झै भएको छ मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टीबाट १७ सय बढी नेता तथा कार्यकर्ता, विप्लव नेतृत्वको नेकपाबाट दुइ सयजना तथा नेकपा एमालेबाट तीनसय नेता तथा समर्थक  प्रवेश  गरेका छन् । जनता समाजवादीका प्रदेश अध्यक्ष कृष्ण चौधरि यसअघि नै माओवादीमा प्रवेश गरेका थिए । जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरुको ठुलो संख्या माओवादी केन्द्रमा धुब्रिकृत भएका हुन् । उनीहरुलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्न कैलाली र कञ्चनपुर जिल्लाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । कैलाली जिल्लाको मसुरियामा आयोजना गरिएको कार्यक्रममा दस हजार बढी जनताको उपस्थिति रहेको छ । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड रहेका छन् । माओवादी प्रदेश इन्चार्ज , अध्यक्ष, पदाधिकारि, केन्द्रीय सदस्य लगायत प्रदेश समिति सदस्य, वाइसिएलहरुको समेत उपस्थिति छ । हेर्नुस् तस्वीरमा    

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार नेपालमा रहँदा उनलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि अप्‍नाएका उपायहरुका बारेमा जानकारी दिइने छ भने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि भ्रमण गर्ने छन् । उनले नेपाल रहदाँ राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेट गर्ने छन् । यस्तै कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्नुहुने छ । नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि उनले जानाकारी लिने छन् । महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा छिन् । उनीहरु भारतको भ्रमण गरेर नेपाल आउन  लागकी हुन् । डा. ट्रेडोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य स‌ंगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिएका छन् । इथियोपियाका नागरिक टेड्रोस महानिर्देशक चयन हुनु अघि त्यहाँका परराष्ट्र मन्त्री थिए । उनलाई दोस्रो कार्यकालका लागि यूरोपियन राष्ट्रहरु र केही अफ्रिकी राष्ट्रले समर्थन गरेपनि आफ्नै देशले भने समर्थन गरेको छैन । महानिर्देशक पदका लागि टेड्रोस बाहेक अन्यले मनोनयन पनि दिएका छैनन् ।

देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।   बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा.शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ । बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् । काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताएकी छन् । चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उनले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने बताइन् । नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उनले यो अघिल्लो समयको भन्दा ६३ प्रतिशतले बढी रहेको बताए । उनले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइन् । तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको चिनियाँ राजदूत होउ यान्छीको भनाई थियो।

निर्वाचन चिह्न अंकित प्रचार सामाग्री प्रयोग गरे १ लाख जरिवाना

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ । आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ । आयोगले साङ्केतिक सामाग्री लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्रि वितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकोले त्यस्ता सामाग्रीको उत्पादन तथा विक्रिवितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आग्रह गरेको छ ।

बझाङमा गठबन्धनबीच भागबण्डा, माओवादी भन्दा एकीकृतलाई बढी स्थानीय तह

बझाङ, सत्तारूढ गठबन्धनबीच बझाङमा निर्वाचन तालमेलकाे सहमति जुटेकाे छ । बुधबार बसेको गठबन्धनकाे बैठकले जिल्लाका १२ स्थानीय तहमध्ये ७ नेपाली काँग्रेसलाई, ३ ओटा नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रको भाग लगाउने निर्णय गरेको छ। माओवादीका कतिपय नेता तथा कार्यकर्ताले भने यने सहमतिकाे बिराेध गरेका छन् । जिल्लामा माओवादीकाे संगठन बलियाे भएपनि दावी छाेडेकाे भन्दै विवाद बढेकाे हाे । सहमति अनुसार, नेपाली काँग्रेसको भागमा २ नगरपालिकासहित ५ गाउँपालिका परेका छन्। जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ । नेकपा एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ। माओवादी केन्द्रले भने दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ। यस्तै उपप्रमुखमा नेपाली काँगेसले ६, समाजवादीले २ र माओवादी केन्दले ४ पाएको छ।

दार्चुलाका सबै तहमा गठबन्धन गर्ने सहमति, ९ मध्ये ४ मा माओवादी केन्द्र

काठमाडौं । दार्चुलाका सबै स्थानीय तहहरुमा चुनावी तालमेल गर्ने गरि सत्ता गठवन्धनका दलहरुबीच सहमति भएको छ । सत्ता गठवन्धन दलहरुको बैठकले नौ स्थानीय तहमध्ये पाँचमा नेपाली कांग्रेस र चारमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने गरि सहमति भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक मानवहादुर धामीले दिएको जानकारी अनुसार जिल्लाका दुबै नगरपालिका महाकाली र शैल्यशिखरको प्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने छ । यस्तै, कांग्रेसले तीन गाउँपालिकाहरु मालिकार्जुन, दुँहु र ब्यास गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने सहमति भएको छ । माओवादी केन्द्रले अपि हिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ । माओवादीले व्यास र मालिकार्जुन गाउँपालिकाको उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेद्वारी दिने छ । गठबन्धनभित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले पालिकामा दावी गरेको छैन । गठबन्धनको बैठकमा एकीकृत समाजवादी अनुपस्थित रहेको थियो । आफूहरुको पालिकास्तरमा दावी नरहेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वीरबहादुर ठगुन्नाले बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ । मधेसमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो । प्रहरीले मधेशमा स्थानीय तहको निर्वाचनमा सुरक्षा थ्रेटभन्दा पनि सुरक्षा चुनौति रहेको बताएको छ । विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, स–साना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहे पनि अहिले राजनीतिकको मूल प्रवाहमा आइसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको प्रहरीको मुल्याँकन छ । खुला सीमाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रुपमा बोर्डर बन्द गरिने जनाएको छ । मधेस प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ । मधेसमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरेकोमा सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको छ ।

केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना

काठमाडौं । देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना रहेकाे छ । आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार राती भने देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ। प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।