भोट हाल्ने दिन पानी पर्ने भएकाले छाता बोकेर जान मौसमविद्को आग्रह
काठमाडौं । स्थानीय तहको निर्वाचनको मुख्य दिन आउन अब २ दिन मात्रै बाँकी छ । यहि ३० गते शुक्रबार देशभर एकैसाथ निर्वाचन हुँदैछ । निर्वाचनका लागि गएरातीदेखि देशभर मौन अवधि समेत सुरु भइसकेको छ । निर्वाचन (भोट हाल्ने दिन) मा देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले यस अघिनै जानकारी गराइसकेको छ । पानी पर्ने भएपछि निर्वाचन आयोगले चिन्ता पनि व्यक्त गरेको छ ।
विभागले चुनावलक्षित विशेष बुलेटिन निकाल्दै आयोग र गृह मन्त्रालयलाई अपडेट दिइरहेको छ । महाशाखाले यसअघि वैशाख २५ गते मौसम पूर्वानुमान विशेष बुलेटिन निकालेको थियो ।
आज पुन ३० गतेका लागि अर्को बुलेटिन निकालेको छ । महाशाखाको बुलेटिनमा चुनावको दिन दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने उल्लेख छ ।
चुनावको दिन प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । पहाडी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, कास्की, बाग्लुङ, पर्वत, तनहँ, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पानी पर्ने देखिएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल भन्छन्, ‘‘मनुसन सिजन सुरु भइसकेको छैन । यस्तो अवस्थामा विहानदेखि बेलुकासम्म पानी पर्ने भन्ने हुँदैन । यद्यपि, चुनावको दिनमा पहाडी र तराईका जिल्लाहरूमा पानी पर्ने सम्भावना देखिएको छ । आधा घण्टा एक घण्टामै रोकिने प्रकृतिको पानी पर्ने अनुमान गरेका छौँ ।”
दक्षिण बंगालको खाडीमा ‘आसानी’ नामक चक्रवात विकसित भइरहेको छ । यही चक्रवातको प्रभावले केही ठाउँमा पानी पर्ने देखिएको महाशाखाले जनाएको छ । यद्यपि, यो चक्रवात भोलिदेखि कमजोर हुँदै जाने अनुमान गरिएको मौसमविद पौडेल बताउँछन् । ‘‘आज–भोलिको अवस्था हेर्ने हो भने पहाडी जिल्लाहरूमा बादल लागिरहेको छ । तराईका जिल्लामा घाम लागिरहेको छ । यीमध्ये केही जिल्लामा फाट्टफुट्ट पानी परिरहेको छ,” उनले भने ।
तत्काल ठूलो क्षति पुर्याउने खालको वर्षाको सम्भावना नरहेको पौडेलले बताए । ‘‘दैनिक वर्षा र चट्याङको मनिटरिङ गरिरहेका छौँ । अहिले दिनभर पानी पर्ने अवस्था देखिएको छैन्,” पौडेलले भने ।
कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा अरु प्रदेशको तुलनामा कम पानी पर्ने सम्भावना देखिएको छ । स्थानीय तह चुनावको राति प्रदेश–१ मा सामान्य बादल लाग्ने देखिएको छ । त्यस्तै अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बादल लाग्ने अनुमान महाशाखाको छ ।
राति प्रदेश–१ का केही स्थानमा र वाग्मती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशभरका स्थानीय तहका विपद व्यवस्थापन कोष र विभागहरूलाई पानी परेको खण्डमा मतपेटीकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न त्रिपाललगायत सामाग्रीहरू उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसका लागि आयोेगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई भनिसकेको छ । निर्वाचन सामग्री पानीबाट सुरक्षित राख्न खुला ठाउँमा राखिएका मतदान केन्द्रमा अनिवार्य त्रिपालको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ । यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रहरूलाई बजेट पठाइसकेको जनाएको छ ।
विभागले महाशाखाले आम मतदातालाई छाता बोकेर भोट हाल्न जान आग्रह गरेको छ । मौसमविद् पौडेल भन्छन्, ‘‘अहिले छोटो समयमा भिजाइहाल्ने पानी परिरहेको छ । कुन पालिकामा कतिबेला कति पानी पर्छ भन्ने ठेगान हुँदैन । जतिबेला पनि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ ।”
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
“पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?” आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञासा आउने गरेका छन् । यस पटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन । त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ । आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरूलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गरेको छ । जोगीले फेरि लगाउने शैलीमा मनोज गजुरेल, पुराणवाचक दीनबन्धु पोखरेलको पुराण वाचनको क्यारिकेचरमा कलाकार सुवोध गौतमले मतदातालाई स्थानीय तह निर्वाचनबारे सरलरुपमा बुझाउने सन्देश पस्किएका छन् । यस्तै वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकारहरु सीताराम कट्टेल र कुञ्जना घिमिरे, (धुर्मुस—सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपकराज गिरी, दिपाश्री निरौलालगायत, दमन रुपाखेतीका प्रस्तुतिका साथै गायकहरू पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरी पनि मतदाता शिक्षा सन्देशका रुपमा प्रयोग गरिएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले ती सन्देशलाई १६ राष्ट्रिय दैनिक र २८ टेलिभिजन (रेडियो नेपाल, नेपाल टेलिभिजनसहित) बाट पनि प्रसारण भइरहेको छ । निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् । उनले आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाई गरेर वितरण पनि गरिसकेको र कसरी मतदाता गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरिसकेको बताइन् । “हामी कागजी प्रकारको शिक्षाभन्दा यस पटक भर्चुअल माध्यमको शिक्षामा केन्द्रित भएका छौँ । यसमा दल, उम्मेदवार र नागरिक समाजको पनि सक्रिय भूमिका हुन आवश्यक छ ।” आयोगमा मतदाता शिक्षासमेत हेर्ने आयुक्त डा तुलाधरले भनिन्, “कुनै पनि मतदाता सचेतनापूवैक मतदान गर्न पाउने अधिकारबाट वञ्चित नहोस् भन्ने आयोगको मनसाय रहेको छ । हरेक रुचिका मतदातालाई सम्बोधन गर्ने गरी विविध सामग्री तयार गरेर प्रवाह गरेका छौँ । “आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरुमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ । निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रुपमा जानकारी दिने, मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्हको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७:०० देखि अपरान्ह ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिन्हमा मतसङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, छैठौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरूको निर्वाचन चिन्हहरुमध्ये कुनै दुई निर्वाचन चिन्हमा छुट्टाछुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्, भने छ वडा अध्यक्षसहित ३५ स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो । उहाँले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने बताउनुभयो । प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताउनुभयो । उहाँले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रश्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गर्नुभयो । जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताउनुभयो । जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रश्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताउनुभयो । प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताउनुभयो । पाण्डेका अनुसार प्रतिनीधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि शुरु हुने बताउनुभयो ।
एमाले कार्यकर्ताको अपहरणपछि हत्या, तीन जना पक्राउ
बुटवल । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरिएकाे छ । एमाले कार्यकर्ता डोटी बुढा जुनमायालाई घरदैलोका क्रममा २३ वैशाखमा अपहरण गरी हत्या गरिएको हो । गाउँपालिकाको ११ नम्बर वडा टक्सेरामा माओवादीले एमाले–कांग्रेस गठबन्धनको घरदैलोका क्रममा आक्रमण गरी जुनमायाको अपहरण गरेको आराेप छ। सो क्रममा झडप पनि भएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको र पोष्टमार्टममा हत्या गरिएको पुष्टि भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृतकको पोष्टमार्टम गरिएको छ । एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेको बताएका छन् । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा रहेका छन् ।
धनगढी उडेको श्री एअरलाइन्सको इन्जिनमा समस्या देखिएपछि फर्कियो, अर्को जहाजबाट यात्रु पठाइँदै
काठमाडौं । काठमण्डौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ । काठमाण्डौबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको थियो । त्यसपछि पाइलटले जहाजलाई काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराएका हुन् । जहाजमा यात्रु र चालक दलका सदस्य गरी ८७ जना व्यक्ति सवार थिए । अहिले जहाजलाई प्राविधिक टोलीले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । ‘जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको रहेछ, त्यसैले पाइलटहरूले काठमाण्डौ फर्काउनुभएको हो’, मानन्धरले भन्नुभयो । एउटा इन्जिनले काम नगर्दा पनि अर्को इन्जिनले पूर्ण क्षमतामा काम गर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको र सुरक्षित अवतरण गराइएको मानन्धरले बताउनुभयो ।
आफ्ना उम्मेदवारसहित कार्यकर्तालाई आक्रमण गर्नेमाथि समाजवादी बेलौरीले गर्यो कारवाहीको माग
कञ्चनपुर । नेकपा एकीकृत समाजवादी पार्टी बेलौरीले आफ्नो पार्टीका उपमेयर पदका उम्मेदवार नन्द कुमार राना र पार्टीका प्रदेश सदस्य तिलक भट्टमाथी साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्तालाई कारवाहीको माग गरेको छ । आज बुधबार समाजवादी बेलौरी नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै समाजवादीका उप प्रमुख राना र प्रदेश सदस्य भट्टमाथि भएको सांघातिक हमला गर्ने एमाले नेता कार्यकर्तामाथि कारवाहीको माग अघि सारेको हो । समाजवादीले जारी गरेको विज्ञप्तीमा एमाले ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालको निर्देशमा हमला गरिएको जनाईरहेको छ । वडाध्यक्ष ढकालकी श्रीमती र हिमाल श्रेष्ठ २५/३० मोटरसाईकलमा रहेका एमाले अपराधिक जत्थाले सांघातिक हमला गरेको दाबी समाजवादी बेलौरीले गरेको छ । समाजवादी बेलौरीका उपाध्यक्ष मायाराम शर्माले हस्ताक्षर गरेको विज्ञप्तीमा दोषि उपर कारवाही नभए आन्दोलनको चेतावनी दिएका छन । गरेको विज्ञप्तीमा समाजवादीको बुटाबारीदेखि बेलौरी बजारतर्फ आइरहेको बेला भौतिक अभक्रमण गरेको जनाएको छ । २७ गते (हिजो) दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्रमण गरेको जनाएको छ । समाजवादी सुप प्रदेशका सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेताकार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।
सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल, एमाले उपाध्यक्ष उम्मेदवारले दिइन राजीनामा
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। एमालेले अध्यक्ष लिने र माओवादीलाई उपाध्यक्ष छाड्ने गरी चुनावी तालमेल भएपछि एमालेभित्र विरोध भएको छ। एमाले र माओवादीका तर्फबाट अध्यक्ष र उपाध्यक्षमा भिन्नाभिन्नै उम्मेदवारी दर्ता भइसकेपछि चुनावी तालमेल भएको थियो। माओवादीलाई उपाध्यक्ष दिने गरी तालमेल गरिएपछि एमालेबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेकी मञ्जु नेपाल भण्डारीले पार्टी नै परित्याग गरेकी छन्। यहाँ एमालेबाट टपिन्द्रप्रसाद तिमिल्सिना र उपाध्यक्षमा भण्डारीले उम्मेदवारी दिएका थिए। तर पार्टीले भण्डारीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। यस्तै माओवादीबाट अध्यक्षमा कृष्णकुमारी कुँवर र उपाध्यक्षमा दुर्गा थापाले उम्मेदवारी दर्ता गरेका थिए। एमालेसँग चुनावी तालमेलपछि माओवादीबाट अध्यक्ष उठेकी कुँवरले उम्मेदवारी फिर्ता लिएकी छन्। ‘२४ वर्ष मेहनत गरेको पार्टी एमालेको सबै जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको छु,’ भण्डारीले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘मेरो सल्लाह र सहमतिबेगर उम्मदेवारी खारेज भएको छ। गठबन्धनको तानाबाना बुनेर मलाई अन्यायमा पारिएको छ।’
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कांग्रेसका ६२३ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । प्रमुख सात्ता साझेदार दल नेपाली कांग्रेसका ६२३ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबै भन्दा धेरै वडा सदस्यहरू छन् । सबै भन्दा धेरै वडा सदस्यहरूमा मनोनयन दर्ता गराएकाहरूले उम्मेदवारी फिर्ता लिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतका अनुसार तीनजना नगर प्रमुखका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् भने नगर उपप्रमु १७, गाउँपालिका अध्यक्षतर्फ १० तथा उपाध्यक्ष १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वडाध्यक्षतर्फ ८९, महिला सदस्यतर्फ ९९ तथा दलित महिला सदस्यतर्फ ११२ जनाले उम्मेदवारी फिर्ता लिएछन् भने दुई खुला सदस्यतर्फ २७४ जनाले उमेदवारी फिर्ता लिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
इलाममा एक महिलाको शव गाडिएको अवस्थामा फेला
इलाम । इलामको सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव स्थानीय विनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । दुई दिनदेखि हराएको भन्ने सुचनाका आधारमा खोजीमा जुटेको प्रहरीले शव गाडेको अवस्थामा फेला पारेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
सरकारले औषधी किन्न लागेकोमा ओलीको आपत्ती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओलीले सरकारले औषधी खरिद गर्न लागेको विषयमा आपत्ती जनाएका छन् । स्वास्थ्य सामग्री जस्तो अति सवेदनशील कुरामा समेत पूर्व प्रधानमन्त्री रहेका ओलीले आपत्ती जनाएका हुन । मई दिवसका अवसरमा हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । यद्यपी के कुरामा कसरी कमिशन भन्ने कुरा भने उनले बताएनन् । सहभागीहरुका अनुसार, ओलीको आसय जनतामा लोकप्रियता हासिल गर्न सरकारले औषधी खरिद गर्न लागेको कुरालाई ओलीले कमिशनसँग जोडेका थिए । “अर्बौंको औषधि, सिटी स्क्यान, एक्सरे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’ उनले भने । गैर राजनीतिक सस्ता टिप्पणी गर्ने बानी भएका ओलीले सत्तारुढ गठबन्धन विकास गर्न नभएर देशलाई कंगाल पार्न जन्मिएको आरोप समेत लगाए । ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन,’ ओलीले भने । सरकारले निर्वाचन सफल पार्न हरेक किसिमले तत्परता देखाएर देश नै निर्वाचनमा होमिएको कुरालाई समेत ओलीले ढाकछोप गरे । उनले सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको बताए । “सरकार अझै पनि चुनाव विथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ ।’
वर्षमान पुनको प्रश्न– दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पछिल्लो अभिव्यक्ति र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको धारणामा तालमेल मिलेको प्रति उनको आपत्ति छ । मे दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे । निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा रहेको भन्दै उनले भने, ‘रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न लाग्यो, गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ? म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, मतदाताले देख्ने गरी रेफ्रीको भूमिकामा बसिदिनुस् ।’ प्रमुख आयुक्त थपलियाले ‘मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन’ भनेको भन्दै नेता पुनले भनेका छन्, ‘केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ?यसमा हाम्रो आपत्ति छ ।’ उनले अघि भने, ‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन ।’
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
काठमाडौं । सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सिंहलाई आईजीपीमा बढुवा गरेको हो । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन् । आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् । २०७८ चैत १७ मा धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको बरियताअनुसार विश्वराज अरु प्रतिस्पर्धीभन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुरा भएको छ । आईजीपीमा नियुक्त सिंहले २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचन गराउने छन् । बरियताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए । २०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यतिवेला धिरज सिंह महाशाखाको प्रमुख थिए । प्रहरी उपरीक्षक हुँदा सिंहले दाङ जिल्लाको कमाण्ड गरेका थिए । डीआईजी भएर सिंहले मधेश प्रदेश कार्यालय र केन्द्रीय अुनसन्धान व्यूरोको कमाण्ड गरेका छन् ।
केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडाैं । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा पनि मौसम आंशिक बदली रहेको छ । देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार राती भने प्रदेश-१, बागमती प्रदेश ,गण्डकी प्रदेश र पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु
जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए । आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए । आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले जनाए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घनश्याम भुसाल लेख्छन्: कित्ता बिनाको अर्को कित्ताका हामी अनौठो अवस्थामा छौं
आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस हो। मुलुकमा सबभन्दा ठूलो, तेश्रो ठूलो, चौथो ठूलो, सातौं र आठौं ठूलो पार्टी सबै कम्युनिस्ट पार्टी हुन्। ती सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल कम्युनिस्ट बन्छ। स्थानीय तहको चुनावको छिनाझपटी र गाली-गलौजपूर्ण चहलपहलभन्दा माथि उठेर कमरेड पुष्पलालको आँखाले समाजको वर्ग विश्लेषण गरेझैं त्यस पार्टीको प्रवृत्ति विश्लेषण गर्ने हो भने हामी यस्तो पो देखिन्छौं कि: १. पद र पैसाका पेशेवर खोजीकर्ता हामीहरू अहिले कम्युनिस्ट पार्टीमा एउटा कित्ता नै हौं। यो पार्टीले राज्य शक्तिको अभ्यास गर्न थालेपछि हामी पुराना पार्टीबाट क्रमशः यतातिर बसाइ सर्न थालेका हौं। अब त हाम्रो संख्या ठूलै भएको छ र वंशजकै रूपमा नयाँ खाइलाग्दा नौजवान सदस्यहरू पनि थपिँदैछौं। फेरि हामीसँग केही खास खुबीहरू छन् जसले हामी एक्लैदुक्लै हुँदा पनि अरू धेरै जनाले गर्ने काम, कहिलेकाहीँ पूरै संसद वा पूरै पार्टीले गर्ने काम पनि फत्ते गराउन सक्छौं। त्यसैले हामी एउटा शक्ति भइसकेका छौं। कामले त कैयन मुद्दामा हामी निर्णायक छौं तर पार्टीको नामको कारणले हाम्रो औपचारिक पहिचान भने अझै कमजोर नै छ। हामी आफ्नो उद्देश्यमा अरू सबैभन्दा स्पष्ट छौं। जहिलेसम्म यो पार्टीले राज्यशक्तिको अभ्यास गर्छ, त्यस दिनसम्म हामी यहाँ रहन्छौं भन्ने कुरामा कसैले हामीमाथि शंका गर्नु व्यर्थ छ। कहीँ जान नपाएर हामी यहाँ आएका होइनौं भन्ने कुरा पनि सबैलाई थाहा होस्। हामीले सजिलै औपचारिक हैसियत पाउन सक्ने कैयन पार्टी यो मुलुकमा छन्। त्यस अर्थमा हामी यो पार्टीका बफादार सेवक हौं। Euro २. कम्युनिस्ट पार्टी निर्माण गर्न समर्पित भएर लागेका, सत्ताको दमनमा संयोगले बाँचेका तर आफ्नो बुद्धिको करामतले अहिले समाज, राज्य र पार्टीमा चुनौतीहीन हैसियत बनाएका हामीहरू यो पार्टीको निर्णायक कित्ता हौं। हामी क्रान्तिमा लागेर हुर्कियौं र आधुनिक राज्य, पार्टी र समाज कसरी चल्छ भन्ने सबै कुरा हामीलाई थाहा छ। हाम्रो सबैभन्दा ठूलो सामर्थ्य के हो भने हामीलाई पार्टी के हो, क्रान्ति के हो, मार्क्सवाद, लेनिनवाद, माओवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद, समाजवादजस्ता पारिभाषिक शब्दावलीको व्याख्या कसरी गर्नु पर्छ भन्ने सबै थाहा छ। अर्कातिर मुद्रा, प्रविधि र व्यवस्थापनमा पारंगतहरूको संगतले हामी पनि आधुनिक बजार व्यवस्थापक जत्तिकै ज्ञान राख्छौं। यही क्षमताले गर्दा हामीलाई अनगिन्ती क्रान्तिकारीहरूले आफूजस्तै ठान्छन्। त्यो उनीहरूको अज्ञानता होइन बरू पार्टीप्रतिको अटल आस्था हो। अर्कातर्फ क्रान्तिमा लाग्दै गर्दा हामीले आधुनिक जीवन कसरी बाँच्नु पर्छ भन्ने थाहा पायौं। यस क्रममा हामीसँगको हिमचिमले हाम्रो वरिपरि ठूलो संख्यामा मुद्रा, प्रविधि र व्यवस्थापनमा पारंगतहरूको पंक्ति तयार भएको छ। यसरी ती क्रान्तिकारी कमरेडहरूले हाम्रा लागि पार्टीमा सहमति तयार गर्छन् र नयाँ व्यवस्थापकहरूले त्यसको चाँजोपाँजो मिलाउँछन्, त्यस सहमतिको उपयोग कसरी गर्नु पर्छ भन्ने ध्यान दिन्छन्। अर्थात् सबैलाई मिलाएर लैजान सक्ने हुनका कारणले हामीले कम्युनिस्ट पार्टीको रक्षा गरेका छौं। समृद्धि र समाजवाद बचाएका छौं। क्रान्तिले हाम्रो हैसियत नखोसोस् भन्ने मात्रै हाम्रो सर्त हो। ३. कित्ता बिनाको अर्को कित्ताका हामी अनौठो अवस्थामा छौं। हामी क्रान्तिकै पक्षमा दृढ छौं। तर आजको क्रान्तिको बाटो के हो, कसरी अगाडि बढ्छ, कसले गर्छ, त्यसका चुनौती के हुन्, त्यसका लागि अवसरहरू के के हुन् जस्ता अनेकौं प्रश्नमा हामीलाई दुबिधा हुन्छ। किनकि ती विषयमा आजकल कुनै छलफल नै हुँदैन, कसैले पढाउँदैन। हामी चुनाव देखेर हुर्कियौं, चुनाव जित्दा क्रान्ति नजिक छ जस्तो लाग्छ। तर चुनावदेखि चुनावसम्म नै हो त क्रान्ति भन्ने पनि लाग्छ। तर हामीलाई जनवादी केन्द्रियताबारे सबैभन्दा बढी थाहा छः बहुमतको निर्णय सबैले मान्नु पर्छ, माथिको निर्णय सबैले मान्नु पर्छ। फेरि यस्तो अकाट्य ठानिएको सूत्रले पनि क्रान्तिको समस्या समाधान नगरेको, मुलुक र पार्टीमा कचिंगल भइरहेको, गुटहरू लडिरहेको, ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ। पार्टीलाई अप्ठ्यारो परेको बेला सडकमा निस्कने, पार्टीको निर्णय हो भनेपछि जे पनि गर्न तयार हुने हाम्रो कित्ता सबैभन्दा ठूलो छ। ४. हिजो जनता, श्रमजीवि वर्ग, मार्क्सवाद, क्रान्ति, जनवाद, समाजवादजस्ता शब्दहरूमा जीवनको मूल्य देखेर, तिनकै सपनाले आन्दोलनमा लागेका तर व्यक्ति, सत्ताभोग, अवसर, चाकरीको चकचकीबाट पनि ब्युँझिन नसकेका हामीहरूको पनि एउटा कित्ता छ। मार्क्सवादका पुराना सिद्धान्तको रट लगाउने, आधुनिक प्रविधिको कखरा नै नबुझ्ने, युग कहाँ पुगिसक्यो विचारको गफ गर्ने, काम नगर्ने बरू छलफल मात्रै गर्न खोज्ने, राजनीति भनेको कार्यकर्ता संरक्षण हो भन्नेजस्तो सामान्य तथ्यबाट पनि वेखबर अव्यावहारिक भनेर हामीलाई विरोध गरिन्छ। हुन पनि आफ्नो पार्टी सदस्यताको सपथ-पत्रलाई अवसरका प्रतिमाअगाडि समर्पित गर्दा शान र शक्तिको आकासमा पुगेका कैयन उदाहरण देख्दादेख्दै त्यसो गर्न नसकेकाहरू यस कित्तामा पर्छौं। क्रान्तिबारे हामीलाई सबै कुरा थाहा छैन तर त्यो कसरी थाहा हुन्छ भन्ने चाहिँ थाहा छ। तर इतिहास र सिद्धान्तका आधारमा हामीले निकालेको निष्कर्ष र संकल्प के छ भने लोभ र डरले क्रान्तिकारी कित्ताको आफ्नो ठाउँ छोड्नु हुँदैन। पुनश्चः को कुन कित्तामा छ भन्ने हामी सबैलाई थाहा छ तर हामी त्यसबारे चर्चा गर्दैनौं।

