माेदी सरकारविरूद्ध ४८ घण्टे आम हडतालको घोषणा

भारतमा बिभिन्न मजदूर संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

द हिन्दु समाचार पत्रका अनुसार मजदुर, किसान र आमजनताविरोधी नीतिहरूको विरोधमा विभिन्न ट्रेड युनियनहरूले सोमबार र मंगलबार ४८ घन्टे बन्दको घोषणा गरेका हुन्।

बन्दमा बैंकिङ, रेलवे, सडक, ट्रान्सपोर्ट, बिजुलीको क्षेत्रमा काम गर्ने कामदारले पनि साथ दिने बताएका छन्।

यसअघि २२ मार्चमा नयाँदिल्लीमा बसेको ट्रेड युनियनहरूको बैठकले मोदी सरकारका नीतिविरूद्ध भारत बन्द गर्ने निर्णय गरेको थियो।

सत्तारूढ भारतीय जनता पार्टीनिकट ट्रेड युनियनले भने यो बन्द राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै सहभागी नहुने बताएको छ।

बन्दकर्ताहरूले श्रम कानुनमा हुन लागेको परिमार्जन रोक्नुपर्ने, इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायत विभिन्न माग राखेका छन्।

बन्दमा २० करोड कामदारहरू सहभागी ट्रेड युनियनका नेताहरूको दाबी छ।

४ मन्त्रालय दिए लाेसपा सरकारमा सहभागी हुने, कांग्रेसभित्र चर्को बिरोध

काठमाडौं । स्थानीय निकायको निर्वाचन अघि सरकार बिस्तारको कसरतमा रहेका देउवाले लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल चलाएका छन् । प्रतिगमनविरुद्धको संघर्षमा एमालेलाई साथ दिएको लोकतान्त्रिक समाजवादीलाई सरकारमा ल्याउने विषयमा भने गठबन्धनमा एकरुपता छैन । निर्णायक बेला प्रतिगमनलाई सहयोग गर्ने लोकतान्त्रिक समाजवादीलाई सरकारमा ल्याउँदा जनता समाजवादीको भावनामा ठेस पुग्ने भन्दै कांग्रेसभित्रै बिरोध शुरु भएको छ । बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको थियो । भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ। प्रधानमन्त्री देउवाले भने दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ। तर ठाकुरले चाहिँ चार मन्त्रालय दिने शर्तमा सरकारमा आउन खोजेको बताएका छन् । लोसपाको केन्द्रीय समिति बैठक आगामी १४ गते बस्ने भएको छ । उक्त बैठकले सरकारमा जाने या नजाने विषयमा धारणा बनाउने छ । प्रधानमन्त्री देउवा भने मधेसको मतको हिसाब गरेर ठाकुरहरुलाई समेत सरकारमा ल्याउन खोजेको टिपपणी कतिपयले गरेका छन् । तर संविधानमाथि प्रहार भएर व्यवस्था नै उल्टिने खतरा रहेको बेला एमालेलाई साथ दिने लोसपाले कांग्रेसलाई जुनसुकै बेला धोका दिनसक्ने भएकोले सरकारमा ल्याउन नहुने भन्दै पौडेल पक्षले औपचारिकरुपमा नै बिरोध गर्ने समेत श्रोतले बतायो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोली फेरी बस्ने, चुनावी गठबन्धन गर्ने निर्णयको सम्भावना

काठमाडौं, चैत १३ गते। गत शुक्रबारदेखि सुरु भएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुनः बस्नेगरी सम्पन्न भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपामा बसेको बैठकमा आज पनि केन्द्रीय सदस्‍यहरुले बाेल्ने क्रम जारी रहेकाे थियाे । आज काे काेले धारणा राखे त ? आइतबारको बैठकमा केन्द्रीय सदस्य एन.पी. साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार के.सी., अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., सुशीला ढकाल (आचार्य), रुपा वि.क., विद्यादेवी तिमिल्सीना र जीवन रानाले धारणा राखेका थिए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले सम्बाेधन गरेका थिए । शुक्रबार प्रदेश सभापतिहरुले समेत प्रदेशकाे समग्र अवस्थाबारे रिपाेर्ट प्रस्तुत गरेका थिए । उद्धव थापा (प्रदेशन १) कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेकाे पाैडेलले जनाए । बैठकमा बोल्ने सदस्यहरुले सरकारको भूमिका र प्रभावकारिता, संगठनात्मक विषय र आगामी निर्वाचनबारे धारणा राखेका छन् । निर्वाचनमा गठबन्धन गरेर जाने या नजाने विषयमा भने मिश्रित धारणा देखिएको छ । अधिकांश नेताहरुले सैद्धान्तिकरुपमा गठबन्धन जरुरी भएपनि स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्नेमा जोड दिएको एक केन्द्रीय सदस्यले बताए । सभापति देउवाले भने गठबन्धन अनिवार्य भएको धारणा राख्दै आएका छन् ।

धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप

काठमाडौं । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकको पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा तनावको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियोे ।

बिआरई परियोजनाको कुरा गर्दा, एमसिसीबारे चिनियाँ विदेशमन्त्रीलाई जवाफ दिन सकेनन् ओलीले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनिया विदेशमन्त्री वाङ यीबीच भेटवार्ता सम्पन्न भएको छ । आज भएको भेटवार्ताका अवसरमा दुबै नेताबीच बिआरआई परियोजना कार्यान्वयनबारे छलफल भएको थियो । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालमा चिनियाँ सहयोगका परियोजना अघि बढाउन आफ्नो पार्टीले सहयोग गर्ने बताएका थिए । भेटका अवसरमा ओलीले बिआरई परियोजना कार्यान्वयनको कुरा गर्दा एमसिसीबारे भने एमालेको धारणाबारे कुनै कुरा राख्न नसकेको श्रोतले बतायो । एमसिसी परियोजना लागु गर्न ओलीले नै मुख्य तत्परता देखाएका थिए । चीनले भने एमसिसी परियोजनामार्फत नेपाललाई भूराजनीीतिक खेलमा सहभागी गर्न खोजेको भन्दै बिरोध गर्दै आएको छ । चिनियाँ विदेशमन्त्रीले एमसिसीबारे सोझै जिज्ञासा नराखेपनि अन्य सहयोगको प्रसंग आउँदा ओलीले यसबारेमा कुनै जवाफ दिएनन् । यसअघि विदेशमन्त्री वाङले नेपाललाई भू राजनीतिक खेलमा सहभागी गराउने षडयन्त्र भइरहेको भन्दै नेपालको सार्वभौमसत्तामा आँच पुग्ने कुनै पनि हस्तक्षेप सह्य नहुने बताएका थिए । उनको आशय एमालेले विदेशी शक्तिहरुको यो षडयन्त्रलाई साथ दिएको भन्ने थियो । तत्कािलन प्रधानमन्त्री ओलीले आफ्नो पहलमा सम्झौता संशोधन गर्दै एमसिसीलाई सदनमा पुर्याएका थिए । आजको छलफलमा ओलीले भने द्विपक्षयी सहयोगका विषयमा चर्चा गरेका थिए । उनले कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद दिँदै तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि आग्रह गरेका थिए । यसैगरी उनले चीनमा काेराेनाका कारण फसेका नेपालीहरुलाइ फर्काउने वातावरण मिलाउन समेत आग्रह गरेका थिए ।

माधव नेपालको खुलासाः ओलीले बालुवाटारको बंकरभित्र प्रधानसेनापति र राष्ट्रपतिसँग गोप्य वार्ता गरेका थिए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री ओलीले प्रतिगमनलाई संस्थागत गर्न गम्भीर षडयन्त्र गरेको खुलासा गरेका छन् । नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाईएको बंकरभित्र बसेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेको आरोप लगाएका हुन । बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको नेपालको भनाई थियो । पार्टी निकट पत्रकारहरुलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले प्रधानसेनापति र राष्ट्रपतिसँग धेरै गोप्य बैठक गर्दै ओलीले मुलुकलाई बंगलादेश मोडलमा लैजान चाहेको आरोप समेत लगाए । तत्कालीन प्रधानन्यायाधीश राणासँग स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भन्नेसम्मको गृहकार्य गरेको नेपालले खुलासा गरे ।

पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३० बढी घाइते

सर्लाही । सर्लाही पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । मृतक ४ जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाईएको र घाइतेहरुको लालबन्दी र रानीगंजस्थित स्वास्थ्यकेन्द्रमा उपचार भईरहेको छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान ११ बजे पुलबाट तल खसेको हो।तत्काल घाइतेको उद्दारगरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाइतेको एकिन विवरण केही समयपछि मात्र आउने प्रहरीले जनाएको छ । बसको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताईएपनि अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

प्रचण्ड र वाङबीच भेटवार्ता सम्पन्न, के भयो त कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता सम्पन्न भएको छ । नेपालको तीन दिवशीय भ्रमणमा आएका वाङसँग दुई देश तथा पार्टीबीच सम्बन्ध विकासका बारे छलफल भएको बताइएको हो । भेटका अवसरमा चिनियाँ विदेशमन्त्री वाङले चीनले नेपाललाई सहयोग गर्न सधैं तत्पर रहेको दोहोर्याउँदै बिआरई परियोजनालाई कार्यान्वयनमा लैजान जोड दिएका थिए । ‘कोरोना नियन्त्रणमा चिनले गरेको सहयोग, नेपालको विकास आयोजनामा चिनले गरेको सहयोगलगायतको निम्ति धन्यवाद दियौं’ भेटबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतले भने, ‘बिआरआई अन्गर्गतका परियोजना कार्यान्वयनका लागि आवश्यक पहलकदमी लिन हामीले आग्रह गरेका छौं ।’ ‘सुरुमा हाम्रोतर्फबाट दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा भयो,बीआरआई लगायतका परियोजना अघि बढाउनेबारे, व्यपार घाटा कम गर्नेबारे चर्चा भयो । त्यस्तै दुई देशबीचका नाका नियमित र सन्तुलित गर्नेबारेमा चर्चा भयो’, भेटमा सहभागी माओवादी नेता शक्ति बस्नेतल भने, ‘उहाँहरुका तर्फबाट पनि दुई देश र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।’ त्यसक्रममा चिनियाँ पक्षले नेपालका सवै राजनीतिक पार्टीसँगको सम्बन्ध सुदृढ हुँदै गएको बताएका थिए । त्यसक्रममा माओवादी नेतृत्वले आफ्नो तर्फबाट नेपाली भूमी चीन विरोधी गतिविधिमा संलग्न हुन नदिन पहल गर्ने विश्वास दिलाएको थियो । ‘नेपालका सवै पार्टीसँगको सम्बन्ध सुदृढ हुदै गएको चर्चा उहाँहरुले गर्नुभयो । स्वभाविक रुपमा कम्युनिस्ट पार्टीबीच मात्रै सिमित नभएर सबै सँगको सम्बन्ध बढ्दै गएको उहाँहरुको भनाइ रह्यो’, नेता बस्नेतको भनाइ छ । साथै चिनियाँ पक्षले नेपालले विकास प्रयासमा लिने कुनै पनि निर्णयको चीनले सम्मान गर्ने बताएको भेटमा सहभागी नेता बस्नेतले जानकारी दिए । नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो। नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन माओवादीका तर्फबाट चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरिएको थियो। भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, गंगा दाहाल लगायतको सहभागिता थियो।

नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप र भूराजनीतिक खेलमा तान्न खोजिए त्यसको कडा बिरोध गछौं: विदेशमन्त्री वाङ

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्दै भूराजनीतिक खेलमा नेपाललाई सहभागी गराउन खोजिए त्यसको बिरोध गर्ने बताएका छन् । परराष्ट्रमन्त्री नारायण खडकासँगकाे भेटका अवसरमा विदेशमन्त्री वाङले नेपालको आन्तरिक मामिलामा विदेशी शक्तिहरुले हस्तक्षेप गर्ने कुरा सह्य नहुने बताएका हुन । अन्तर्राष्ट्रिय र दुबै देशको राष्ट्रिय परिस्थितिमा जस्तोसुकै फेरबदल भएपनि चीनले जहिल्यै पनि दुई देशका जनताबीचको सम्बन्ध सुदृढ गर्न भूमिका खेलिरहने समेत उनले बताए । ग्लोबल टाइम्समा प्रकाशित समाचार अनुसार, चीनले नेपालले आफ्नो मौलिकतामा आधारित विकासको बाटो खोज्न सहयोग गर्ने समेत बताए । यसका लागि नेपालका सबै राजनीतिक दलहरुले सहभागीतामूलक छलफल अघि बढाउन पनि चीनले आग्रह गरेको छ । नेपालको राजनीति स्थायित्व, आर्थिक विकास तथा जनजीविकाको अवस्थालाई उकास्न नेपाली मौलिकतामा आधारि शासन प्रणालीको खोजी गर्न सबै दलहरुबीच छलफल हुनु जरुरी भएको वाङमा जोड दिए । चीनले विदेशी चासो र हस्तक्षेपबिना स्वतन्त्र आन्तरिक र वैदेशिक नीति अवलम्बन गर्ने कुरालाई चीनले समर्थन गर्ने बताउँदै उनले संसारका सबैदेशहरु भूगोलका दृष्टिले ठूलो सानो भएपनि सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताका दृष्टिले समान भएको समेत बताए । नेपाली भूमि चीन र दक्षिण एशियाबीच सहयोगका लागि उर्वर रहेको बताउँदै वाङले नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा अन्य देशहरुसँग मित्रतातपूर्ण ठूलो भूमिका निर्वाह गरेका देख्न चाहेको बताए । उक्त अवसरमा वाङले बेल्ट एण्ड रोड परियोजनामा नेपालको सहभागिताबारे समेत चर्चा गरेको समाचारमा उल्लेख छ ।

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरे। उनीहरूबीच शितलनिवासमा भेटवार्ता भएको हो। साथै आजै विदेशमन्त्री यीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। विदेशमन्त्री यी आज नै स्वदेश फर्किनेछन्। (रत्न श्रेष्ठ–रासस)

स्थानीय तह निर्वाचन: आयाेगद्वारा निर्वाचन अधिकृतको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक भएकाे छ । निर्वाचन आयाेगले सूचना प्रकाशित गर्दै जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने जनाएकाे हाे । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ । स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ । स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ । निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो । निर्वाचन अधिकृत नामावली

पर्यटन क्षेत्रमा चीनकाे महत्वपूर्ण सहयाेग: चाबी हस्तान्तरणपछि अब जम्मा ७% काम मात्र बाँकी

काठमाडौं, चैत १२ गते। चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण भएसँगै पाेखरा क्षेत्रकाे पर्यटनमा नयाँ आयाम थपिएकाे छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार विमानस्थलको साँचो परारष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरेका थिए । भर्चुअल र प्रत्यक्ष दुवै माध्यमबाट भएको कार्यक्रममा साँचो हस्तान्तरण भए लगत्तै पोखरामा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई कदरपत्र प्रदान गरिएकाे छ । मन्त्रालयले दिएकाे जानकारी अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजनाको ९३ प्रतिशत काम सकिएको छ। विमानस्थल डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी छ। विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको छ। गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको थियो। विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।

७७ वटै जिल्लामा फरक मतपत्र हुने

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । ‘आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ,’ आयोग स्रोतलाइ उदर्त गर्दै राजधानी दैनिकले समाचार प्रकाशन गरेकाे छ । आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो । ‘मतपत्रमा निर्वाचन चिह्नलाई चार खण्डमा राखिनेछ, राष्ट्रिय स्तरका दलका मतपत्र एक खण्डमा, जिल्लामा रहेका दलका र स्वतन्त्र उम्मेदवारका चिह्न फरक फरक खण्डमा रहनेछन्,’ आयोग स्रोतले भन्यो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ओलीकाे पालामा प्रधानमन्त्री रोजगार कार्यक्रमको २० अर्ब दुरुपयोग- प्रवक्ता महत

काठमाडौं, चैत १२ गते । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको टिप्पणी गरेका छन् । शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा बाेल्दै महतले ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएकाे बताए । ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनले भने । प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा “तिमी कुन पार्टीको मान्छे हो” भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र सो रकम दिने गरिएको बताउँदै कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उनले टिप्पणी गरे । ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताउँदै उनले भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको जानकारी दिए ।

नेपाल र चीनबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर, प्रधानमन्त्री देउवा भेट्न वाङ बालुवाटारमा

काठमाडौं । नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् । सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ ।

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ — जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेकाे थियाे । तत्काल देखिएका प्रमाणका आधारमा शाहले बलात्कार गरेकाे देखिन आएकाेले पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएकाे हाे । शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । शाहको पक्षबाट ११ कानुन व्यवसायी र पीडितको पक्षबाट ९ जनाले बहसमा भाग लिएका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो । साेही मुद्दामा पक्राउ परेका कृष्ण जाेशीलाई भने एक लाख धराैटीमा छाेड्न आदेश दिईएकाे छ । paul shah