अध्यक्ष प्रचण्डद्वारा चितवनका बिभिन्न विकास परियोजनाको उद्घाटन (फोटो फिचर)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन–३ का संघीय सांसद प्रचण्डले माडीका विभिन्न आयोजनाको उद्घाटन गरेका छन् ।
आज बिहान चितवन आइपुगेका प्रचण्डले माडीको वडा नं २ स्थित कालोपत्रे सडक, पुलको उद्घाटन गरे ।

त्यसलगत्तै प्रचण्डले कुसुमखोला नमुना बस्तीको समेत उदघाटन गरे । माडी नगरपालिका–९ को राई डाडामा निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित रकमले नमुना बस्ती निर्माण गरिएको हो ।

जसबाट पछिडिएका जातिको रुपमा रहेका ४१ घर चेपाङ परिवारले आवस प्राप्त गरेका छन् ।

विभिन्न परियोजनाको उद्घान पछि अध्यक्ष प्रचण्डले सहिद परिवासँग बसेर सँगै खाना खाएका थिए । उनले माडी– ७ देवेन्द्रपुर टोलमा सहिद निलकण्ठ सुवेदी “सुवास” का बुवा आमासँग बसेर विदुर, तिलक खाती लगायतका सहिद परिवारकाे घरमा खाना खाएका हुन् ।
प्रचण्डले जनयुद्धका सहिद सुवासको स्मृति दिवस परेको हुनाले सहिद सुवासको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या

एजेन्सी । भारतको पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या गरिएको छ । पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो । मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । हत्या हुनेमा एउटै घरका सात जना रहेको अधिकारीहरुले तबएका छन् । सोमबार राति वीरभुमको बागुटी गाउँका उप–प्रधानपञ्च बडू शेखको हत्या लगत्तै गाउँमा राति नै आगजनी गरिएको थियो । पसलमा बसिरहेका बेला बम प्रहार हुँदा गम्भीर घाइते भएका शेखको अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ । आफ्ना लोकप्रिय नेताको हत्या भएपछि एक भीडले विपक्षी समूहको घरमा हमला गरी आगजनी गरेको थियो । झण्डै एक दर्जन घरमा आगजनी हुँदा ८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगजनीलगत्तै दमकलसहितको टोली घटनास्थलमा पुगेको तर उनीहरूलाई घटनास्थलमा जान दिइएको थिएन । घटनामा परी ज्यान गुमाउनको पहिचान हुन नसकेको पनि समाचारमा उल्लेख छ ।

मन्त्रिपरिषद हेरफेरको सम्भावना छ : प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनमा नै मन्त्रीमण्डल हेरफेरको सम्भावना रहेको खुलासा गरेका छन् । माओवादीले पार्टीको भूमिका अनुसार शक्तिशाली मन्त्रालय माग गरेको आसय व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको बताए। ‘केही केही आउने सम्भावना छ। मैले प्रधानमन्त्रीसँग भनिरहेको छु, ठूलो त्याग माओवादीले गरेको छ गठबन्धनका लागि। जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभएको र माधव नेपालजीले पनि हामी नयाँ छौं सहयोग गर्नुपर्‍यो भन्नुभएको हो। मन्त्रिपरिषद हेरफेरको अवस्था आए हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ। यसमा प्रधानमन्त्री सहमत पनि हुनुहुन्छ।’ प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए। आजको भेटमा प्रचण्डले घाइते तथा अपांग योद्दाहरुका समस्या हल गर्न समेत अनुरोध गरेका थिए । ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’ आज जनकपुर पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ।’ आफ्नै खुट्टामा उभिएर माओवादी चुनावमा जाने तयारीमा रहेको बताउँदै उनले गठबन्धन माओवादीको नेतृत्वदायी भूमिकाले बनेको कुरामा समेत जाेड दिए ।

रुसपछि चीनविरुद्ध अमेरिकाः केही चिनियाँ अधिकारीविरुद्ध प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकाले केही चिनियाँ अधिकारीहरुमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धकाे घोषणा गरेकाे छ । अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो प्रतिबन्ध लगाउने घोषणा गरेको हो । यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीहरुको संख्या र परिचय भने खुलाईएको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले धार्मिक तथा आध्यात्मिक समुदाय, अल्पसंख्यक, मानवअधिकारकर्मी, पत्रकार, ट्रेड युनियन, नागरिक समाज र तथा शान्तिपूर्ण विरोध जनाउनेहरु विरुद्धनीति निर्माण गर्ने तथा दमन गर्नेप्रति निर्णय लक्षित रहेको बताउनुभएको छ । ब्लिंकेनका अनुसार यो संख्या निकै ठूलो हुन सक्ने छ । अमेरिकी अधिकारीहरुले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमहरुलाई बन्दी बनाईएको दावी गर्ने गरेका छन् ।

काँग्रेस बागमतीकाे बैठक: कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन (काे काे परे त?)

नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडामा सोमबार भएको बैठकले कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको छ । बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ । काे काे परे त सदस्यमा? रूमा प्रभात तामाङ सन्तबहादुर प्रजा प्रमोद रिमाल इन्द्रमान महर्जन तारा गुरुङ्ग्कै कैलाश कोइराला गंगा दाहाल अर्जुन उप्रेती नातिकाजी कार्की सरु बानियाँ विवशकुमार वाईबा जितबहादुर मगर चित्रबहादुर कार्की महान अर्याल डा भगवान खड्का लक्ष्मी महर्जन प्रदेश संसदीय समिति जगदिशनरसिं केसी लामा कार्पु तामाङ तिलक रुवाली दीपेन्द्र आचार्य भद्रा भण्डारी कृष्णलाल भँडेल निमा लामा छिरिङ्ग दोर्जे लामा अर्जुन न्यौपाने बैठकले प्रवक्ता, लेखा समिति संयोजक, अनुशासन समिति र विभागहरुको संयोजकहरू समेत गठन गरेको छ । प्रवक्ता तिलक रुवाली लेखा समिति संयोजक ्कृष्णकुमार श्रेष्ठ (सिन्धुली) सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा चम्फुरत्न लामा र तारादेवि दुलाल पन्त सदस्य रहेको प्रदेश अनुशासन समिति गठन गरिएको छ । त्यस्तै हेटौंडामा भएको तेश्रो बैठकले प्रदेश विभाग प्रमूखहरुसमेत तोकेको छ । कानुन तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ, प्रदेश तथा स्थानीय निकाय उपेन्द्र लम्साल, भातृसंस्था समन्वय विभागमा प्रज्वल दवाडी, पेशागत तथा बुद्धिजीवीमा प्रा.डा. केशवभक्त सापकोटा रहेका छन् । भाषा, साहित्य कला संस्कृतिमा धनकुमारी थापा (सरु), शिक्षा विज्ञान तथा प्रविधिमा रमेशकुमार बखती, स्वास्थ्य विभागमा डा। अमित सिं कार्की, गैरसरकारी संस्था तथा सामाजिक सेवामा रुकु अधिकारी, उद्योग व्यापार वाणिज्य तथा आपूर्तिमा निर्मला पण्डित, युवा तथा खेलकुदमा राजिव पौडेल, ट्रेड युनियन तथा श्रमिकमा भगवती कुमारी खड्का र बैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ्ग संयोजक रहनुभएको प्रवक्ता रुवालीले जानकारी दिए । प्रदेश कार्यसमितिका सदस्यहरुलाई भोलि चैत्र ८ गते मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म स्थानीय तह निर्वाचन सम्बन्धि प्रशिक्षण कार्यक्रम रहेको प्रवक्ता रुवालीले बताए ।

पर्यटन बोर्डद्वारा देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बोर्डले आगामी चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने जनाएको हो । बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट’ को आयोजना गरिरहेको बताउनुभयो । बोर्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा यही आगामी चैत्र २५, २६ र २७ गतेमा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो । नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा गत फागुनमा वेष्टर्न ट्राभलमार्ट सम्पन्न गरेको थियो ।

ब्याटिङ अर्डर नचल्दा फेरी नेपालको हार, युइएसँग दोश्रो खेलमा पनि पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईसँग लगातार दोस्रो हार व्यहोरेको छ । दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो । आसिफ शेखको स्थानमा आएका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् । उनी मात्र २ रन बनाएर पेभिलियन फर्किए । यस्तै अर्का ओपनर कुशल भुर्तेल लगातार तेस्रो खेलमा खराब प्रदर्शनलाई निरन्तरता दिँदै ५ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले ३ ओभर नसकिंदै ८ रनमा महत्वपूर्ण ३ विकेट गुमाउन पुगेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । उनले ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए । अघिल्ला दुई खेलमा लयमा देखिएका रोहित पौडेल आज ९ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो । आरिफ शेखले ४० बलमा १५ र जोड्दा बिनोद भण्डारी दुर्भाग्यवस १२ रनमा आउट भए । सोमपाल कामीसँग दोस्रो रनको लागि तालमेल नमिल्दा बिनोद सहज रनआउट भए । सोमपालले १५ रन बनाएर पेभिलियन फर्किए । यूएईका जुनाइद सिद्दिकीले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रनको योगफल खडा गरेको थियो । युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसबाहेक, मुहम्मद वसिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरविन्दले २४ र अलिसन सराफुले २१ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र करण केसीले समान दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । त्यसअघि नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा १८ खेलबाट २२ अंक जोडेको युएई तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

एमाले बैठकमा भूसालले भने वाम गठबन्धन गरौं

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले एमाले पोलिटब्युरो बैठकमा फरक मत राखेका छन् । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेता भूसालले कम्युनिस्ट पार्टीहरूबीच वाम गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका छन् । भूसालले बहुसंख्यक कार्यकर्ता र सदस्यहरूले कम्युनिस्ट एकता चाहेको हुनाले कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको बताएका छन्। भूसालले बैठकमा विभिन्न चार कारण पेस गर्दै कम्युनिस्ट गठबन्धन आवश्यक रहेको बताएका हुन् । बाम गठबन्धनकालागि नेकपा (एमाले)ले नै पहल गर्नुपर्ने पनि उनको भनाइ छ । तत्कालीन नेकपा विघटन सैद्धान्तिक तथा वैचारिक कारणले नभएको भन्दै गठबन्धन सम्भव रहेको उनको तर्क छ। स्थानीय तहको चुनावी माहोल सुरु भइरहँदा नेता भूसालले वाम गठबन्धनको प्रस्ताव अघि सारेका हुन् । उनले गठबन्धन मार्फत् निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्नुपर्ने बताएका थिए । एमालेका अन्य नेताहरूले भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँग तालमेल गर्न नहुने बताउदै आएका छन् ।

पोलिटब्यूरो बैठकमा ओलीको छटपटीः मतपत्रको रङलाई देखे ‘आयोगको षडयन्त्र’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी आफ्नो छटपटी पोखेका छन् । एमसिसी प्रकरणमा गठबन्धन भत्काउन असफल बनेपछि ओलीले गैर राजनीतिक र तर्करहितका अभिव्यक्ति दिन थालेको आलोचनाबीच उनले आज समेत सोही बमाजिमको सम्बोधन गरेका छन् । ओलीले विगत केही समययता निर्वाचन आयोगलाई निशाना बनाइरहेका छन् । काठमाडौंमा आयोजित पोलिट्ब्युरोको प्रथम बैठकमा अध्यक्ष ओलीले मतपत्रको रङमा षडयन्त्र भएको विषयलाई फेरी दोहोर्याए । यसपटक भने उनले आयोग र गठबन्धनकै बीच साँठगाँठ भएको समेत आरोप लगाए । एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ । ‘हामीसँँग छलफल गर्नु पर्दैन ? सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने ?’, उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’ ओलीको आक्रोशलाई अन्य दलहरुले भने छटपटीको संज्ञा दिएका छन् । निर्वाचनमा एक्लो परिने र हार ब्यहोर्नुपर्ने पीडाको अभिव्यक्ति भएकोले ओलीले अनावश्यक आरोप लगाइरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका संयोजक दीपशिखाले बताए । “उनीहरुसँग न एजेण्डा बाँकी छन्, न जनतामाझ जाने कुनै नैतिक आधार नै ।” दिपशिखाले भने, “त्यसैले उनीहरु छटपटाएका छन् । यस्ता आरोप र आलोचनाले अर्थ राख्दैन ।

अखिल क्रान्तिकारीका जिल्ला नेता टेक रावलको दुर्घटनामा मृत्यु

कैलाली । अखिल क्रान्तिकारी कैलालीका निवर्तमान सदस्य टेक रावलको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । घोडाघोडी बहुमुखी क्याम्पसमामा अध्ययनरत २८ वर्षीय रावलाई लम्कीचुहा नगरपालिका–१० मा ट्रकले ठक्कर दिँदा निधन भएको हो । रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् । प्रहरीका अनुसार, आज बिहान सात बजे लु १ ख ८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप ०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकलमा सवार रावल घाइते भएका थिए। रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो। रावलको मृत्युपछि स्थानीय आन्दोलित बनेका हुन्। ट्रक चालक बुद्दीराम सुनारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

जनसभाबाट फर्कदै गरेका एमाले कार्यकर्ताले गरे प्रहरीमाथि हातपात

फिक्कल । नेकपा एमालेका कार्यकर्ताले प्रहरीमाथि हातपात गरेका छन् । फिक्कलमा भएको जनसभाबाट हिजो साँझ फर्किने बेला सूर्योदय नगरपालिकाको बौद्धधाममा हिले घर भएका कार्यकर्ताले प्रहरी जवान शंके राई माथी हातपात गरेका हुन् । कार्यकर्ता बोकेको सवारीले प्रहरी जवान राई सवार मोटरसाईकलाई सवारी ब्याक गर्दा ठक्कर दिए पछि ती कार्यकर्ताले सवारीबाट ओर्लीएर प्रहरी जवान राईलाई हेल्मेटले हिर्काएका थिए । प्रहरीमाथी हातपात गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको छ । नेकपा एमाले सूर्योदय नगर कमिटी अध्यक्ष दुर्गादेबी भट्टराईले आफुलाई आधिकारिक जानकारी नआएको प्रतिक्रिया दिइन् ।

देउवालाई ओलीको कटाक्षः प्रधानमन्त्री नभएको भए लौरो टेकेर एमालेमा आउँथे

“कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो ।” काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । उनले देउवा प्रधानमन्त्री नभएको भए भत्ताकालागि लौरो टेकेर एमाले आउथे भन्ने टिप्पणी गरेका हुन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा ओली गठबन्धन र कांग्रेस प्रति आक्रामक रुपमा पस्तुत भएका हुन् । अध्यक्ष ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने भन्दै एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् ।   ओलीले अहिलेको गठबन्धनलाई जनताको आँगनमा पछारिदिने पनि बताए । उनले भने, “यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको हो । यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । मुद्दा जितेर आएको सरकारलाई मुद्दा लड्न जा भन्दिने हो । यिनीहरू झगिडया हुन् । झगडियाको काम मुद्दा लड्ने हो ।”   त्यस्तै कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । कांग्रेसप्रति आक्रामक हुँदै ओलीले भने, “कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे । कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थे । अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त ।” वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍याउनु आफ्नो सरकारको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने, “शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार भत्ता के गर्नु ? छँदैछ । त्यसकारण छन् नत्र शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस्, अरुले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ । हामीले राम्रा कामहरू गरेका छौं, त्यसलाई जनतामाझ लिएर जानुपर्छ ।

म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत काटियो, आयाेगका कर्मचारीलाई भने चार महिनासम्म भत्ता

काठमाडौँ — निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा पाउँदै छन्, सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती गरिएको छ । आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वाचन मिति घोषणा भएदेखि अन्तिम परिणाम आएको थप ३५ दिनसम्म शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा दिने निर्णय गरेको छ । उनीहरूले दैनिक खाजा/खाना खर्च तथा छुट्टै सञ्चार सुविधाबापतको रकम पाउनेछन् भने कार्यालय सहयोगीले समेत दैनिक एक हजार भत्ता पाउनेछन् । २०७९ वैशाख ३० मा हुने निर्वाचन प्रयोजनका लागि सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई औषधि खरिद, खाना/खाजा, विशेष भत्तालगायत १२ वटा शीर्षकको बजेट शतप्रतिशत कटौती गरिएको छ । विगतका निर्वाचनमा सुरक्षाकर्मीले एक साताका लागि यस्ता भत्ता पाउँथे । निर्वाचन अवधिभर औषधि खरिदका लागि दिइने बजेट पनि यसपालि हटाइएको छ । निर्वाचन भयरहित बनाउन अग्रभागमा खटिने सुरक्षाकर्मीका लागि मागेभन्दा निकै कम बजेट विनियोजन गरेको सरकारले म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत कटौती गरेको छ । यसअघि म्यादीको पोसाक खर्च छुट्टै र लट्ठीबापत छुट्टाछुट्टै बजेट विनियोजन हुने गरेकोमा अहिले लट्ठीको खर्च पोसाककै गाभिएको छ । -कान्तिपुर दैनिकबाट

नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

काठमाडौं । नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो । रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताउनुभएको थियो । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्ने बताइएको छ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसालले नेतृत्व गर्नुहुनेछ । अहिले १ हजार २५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीलाई ल्याउन इच्छुक रहेको बताएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सिसेल्समा अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् । साे भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताउनुभएको थियो ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने, चुनाव उपयोग गर्ने विषयमा चर्को विवाद

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । शुक्रबार अपरान्ह दुई बजेदेखि सुरु भएको बैठकमा महासचिव नेत्रबिक्रम चन्द विप्लवले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यहरुबीच छलफल भइरहेको हो । विप्लवले तत्कालको अवस्थामा स्थानीय तहको निर्वाचन उपयोग गरेर जानुपर्ने आसयको प्रतिवेदन प्रस्तुत गरेको बताइएको छ । यद्यपी अधिकांश केन्द्रीय सदस्यहरु भने चुनाव बहिस्कार गरेर भण्डाफोर अभियानमा जानुपर्ने पक्षमा देखिएका छन् । यसअघि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले चर्को विवादका बीच निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको थियो । हिजोको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिति रहेको बुझिएको छ । प्रतिवेदनमा अन्य कतिपय विषय समेत छलफलका लागि प्रस्तुत गरिएका छन् । तर मुख्य चासो भने निर्वाचनका विषयमा विप्लवले लिने निर्णय नै रहेको छ ।

दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिन मेयर रेनुले

चितवन । भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । २ बर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्र्तगत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका गरी ६० जना छात्रालाई आज साईकल वितरण गरिएको भरतपुर महानगर सामाजिक महाशाखले जनाएको छ ।  महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साईकल प्रदान गरिसकेको छ । विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको मेयर रेनु दाहालले जानकारी दिईन् । महानगरले यो बर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्।एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहसहितको टिमले संयुक्त रुपमा छात्राहरु पश्चिम चितवनको भीमनगर माविबाट साईकल वितरण गरेका थिए । सो अवसर बोल्दै मेयर रेनु दाहालले विकासको गतिले अगाडी बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानिय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण ५ हजार भन्दा बढी विद्याथीृहरु सामुदायिक विद्यालयमा बढेको जानकारी दिईन् ।उनले  महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन्।  उनका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ । यस्तै उपमेयर पार्वती शाहले  विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन्। उनले महानगरले छात्राहरुलाई नै लक्षित गरि निशुल्क रुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी कामहरु गरेको बताईन् । साइकल पाएपछि छात्राहरु खुसी भएका छन् । साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईलाई निरन्तरता दिन सहज हुने छात्राहरुले बताए। कार्यक्रममा बोल्दै छात्रा भरतपुर २० भीमचन्द्र आधारभुत विद्यालय कक्षा दुईमा अध्यनरत मन्जु परियारले साधन नहुँदा विद्यालय पुग्न ढिला हुने र कक्षा छुट्ने समस्याको अन्त्य भएको बताए ।यस्तै भरतपुर १८ भुवनवस्ती स्थित आधारभुत माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत सविना नेपालीले पनि आफुलाई मात्र होइन साइकल नभएका साथीहरुलाई पनि सहयोग गर्न पाउने अवसर प्राप्त भएको बताईन् । उनी मात्रै होईन् भरतपुर १८ गुञ्जनगर मावि कक्षा ११ मा अध्ययनरत सम्झना दुलालेको पनि खुसी उस्तै थियो । उनले साईकल प्रदान गरेकोमा मेयर रेनु दाहाल र  उपमेयर पार्वती शाहलाई धन्यवाद दिदै यस्तै दिनदुखीका लागि विभिन्न काम गर्न सुझाव दिईन् । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए । उनलका अनुसार महानगरले हालसम्म शैक्षिक सुधारका लागि ८० लाख बजेट छुटाउदै सुरु भएको सुधार कार्यक्रममा यो बर्ष मात्रै १७ करोड रुपैया छुटाई काम भएको बताए ।