वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छः निधि
पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे ।
कांग्रेस बुथ कमिटी बगहीले वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे ।
प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधिसभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पारे ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए ।
विवादास्पद नियुक्ति पाएका निर्वाचन आयुक्तलाई नेकपा विवादबारे निर्णय गर्ने जिम्मेवारी
काठमाडौं । निर्वाचन आयोगले दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ। नवनियुक्त आयुक्त भण्डारीले जिम्मेवारी पाएलगत्तै राजनीतिक रुपमा विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् । अध्ययनका लागि आयोगले आयुक्त भण्डारीलाई तीन दिनको समय दिएको छ। दुई आयुक्त थपिएपछि आयेगले शुक्रवार जिम्मेवारी बाँडफाँड गरेको थियो । त्यसैअनुसार कानुनी पृष्ठभूमीका भण्डारीलाई दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी दिएको हो । भण्डारीसँगै डा. जानकीकुमारी तुलाधरले बुधबार शपथ लिएकी थिइन् । भण्डारी र तुलाधर आयुक्त हुनुपूर्व आयोगमा दिनेश थपलिया प्रमुख आयुक्त तथा नरेन्द्र दाहाल र ईश्वरी पौड्याल आयुक्त थिए । नेकपा विवाद चाँडो नसल्ट्याए वैशाखका लागि तोकिएको निर्वाचन सम्भव नहुने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले बताउँदै आएका छन् । नेकपा विवाद टुंग्याउन कम्तीमा ४५ दिन लाग्ने अनुमान गरिएको छ । नयाँ पत्रिका
उत्तराखण्डमा हिमनदी विष्फोट हुँदा १ नेपालीसहित ८ जनाको मृत्यु
नयाँदिल्ली — भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । भारतको उत्तराखण्ड चमोलीको तपोवन क्षेत्रमा आइतबार हिमनदी फुटेरआएको बाढीमा पुरिएकालाई उद्धार गरिएपछि खुसी हुँदै (पन्जा लगाएका) । तस्बिर : एपी चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले कान्तिपुरलाई बताए । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । ‘आठ जनाको शव फेला परेकामा एक जना नेपाली रहेको खुलेको छ, १२ जनाको जीवितै उद्धार गरिएको छ,’ सिंहले भने । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ५४ जना हराइरहेको उनले बताए । दुई दिनअघि उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको र त्यही कारणले आइतबार बिहान करिब १० बजे आसपासमा हिमनदी फुटेको बताइएको छ । हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्याएको छ । हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बाढीले जोशीमठमा एउटा पुल पनि बगाएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसमा पनि रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा बढी क्षति भएको छ । परियोजनाको त बाँध नै भत्किएको छ । हराइरहेकामध्ये अधिकांश यही परियोजनामा काम गर्ने मजदुर भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तपोवन क्षेत्रमा सञ्चालनमा रहेको विष्णुगाढ जलविद्युत् परियोजनामा पनि क्षति पुगेको छ । परियोजनाको सुरुङमा फसेका १६ जनालाई इन्डो–तिब्बत बोर्डर पुलिसले उद्धार गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले आइतबारै चमोली जिल्लाको रैनी, तपोवनलगायत बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । उद्धारका लागि केन्द्र सरकारले सेनाको दुईवटा विशेष विमानमा उद्धार टोली दिल्लीबाट पठाएको थियो । यसैबीच उत्तराखण्ड राज्य सरकारले मृतकका परिवारलाई चार लाख भारु दिने घोषणा गरेको छ । प्रदेश सरकारले गंगा नदीका सबै तटीय क्षेत्रमा हाई अलर्ट जारी गरेको छ । उत्तरप्रदेश सरकारले पनि गंगाका तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको थियो । उत्तराखण्ड सरकारले गंगा नदीमा पानीको बहावलाई सामान्य बनाउन भागीरथी नदीमा बनाइएको तेहरी बाँध बन्द गरेको छ । उत्तराखण्डकै देवप्रयागमा भागीरथी र अलकनन्दा मिसिएपछि गंगाका नामले चिनिन्छ । पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपाली रोजगारीका लागि उत्तराखण्ड जाने गर्छन् । तिनीहरूमध्ये अधिकांशले भारी बोक्ने र सडक एवं विद्युत् परियोजनामा काम गर्ने गरेको भेटिन्छ । त्यही भएर पनि पछिल्लो घटनामा थप नेपाली परेको हुन सक्ने आशंका गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले नेपालीको सम्बन्धमा जानकारी लिने प्रयास भइरहेको बताएको छ । दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले नेपालीका अवस्था बुझ्न दूतावासको पूरै टिम लागेको बताए । ‘दूतावासको पूरै टिम नेपालीको पछिल्लो अवस्था बुझ्न लागिपरेका छौं, स्थानीय प्रशासनसँग सम्पर्क गरिरहेका छौं,’ सुवेदीले भने । यसअघि, २०७० जेठ ३० मा बद्री–केदारनाथ क्षेत्रमा आएको बाढीपहिरोमा परेर ५ हजार ७ सय तीर्थयात्री र स्थानीय श्रमिकको ज्यान गएकामा झन्डै ५ सयजति नेपाली रहेको अनुमान रहँदै आएको छ । उक्त विपत्तिमा परेर हराउने १ सय ७० नेपालीको ‘प्रमाणित बेपत्ता सूची’ दिल्लीस्थित नेपाली दूतावासको अभिलेखमा राखिएको छ । ‘आइतबारको हिमपहिरोको मुख्य स्थान जोशीमठ भनेकै नेपाली श्रमिकको चहलपहल रहने क्षेत्र हो,’ उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजका समन्वय गरिरहेका पुष्पराज पाण्डेयले कान्तिपुरसँग फोनमा भने, ‘जोशीमठ, बद्रीनाथ रोड आसपास सम्पर्कमा रहँदै आएका नेपाली कामदार, ठेकेदार तथा स्थानीयवासी पनि सम्पर्कबाट बाहिर छन्, सबैभन्दा ठूलो क्षति नेपाली श्रमिकमाझ परेको देखिन्छ ।’ उत्तराखण्डको बद्री–केदारनाथ, जोशीमठ क्षेत्रमा अधिकांशजसो सल्यान, रुकुम, रोल्पा, दाङ, कालीकोट, जाजरकोट, बझाङ, बाजुरा आदि जिल्लाबाट आएका श्रमिकहरू भेटिने गर्छन् । आवतजावतमा कहींकतै रेकर्ड राख्ने पद्धति नहुँदा र कामदारको स्थानीय अभिलेखीकरणसमेत नहुँदा आइतबारको प्राकृतिक विपत्तिमा कति नेपाली परेका छन् भन्ने निर्क्योल गर्न मुस्किल हुने पाण्डेयले बताए । काठमाडौंमा परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै उत्तराखण्डमा आएको प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउने र बेपत्ता हुने नागरिकका परिवारजनमा शोक र सहानुभूति व्यक्त गरेको छ । कान्तिपुर दैनिकबाट
लाइसेन्सका लागि आवेदन दिनेले अब असारपछि मात्र पालो पाउने
काठमाडौंः राजधानी दैनिकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएको खबर छापेको छ । कोरोना महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झण्डै ३ लाखले आवेदन दिएको समाचारमा उल्लेख छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने बताए ।
सोलुखुम्बुमा चिसोले कठ्याङ्ग्रिएर एक कर्मचारीको ज्यान गयो
काठमाडौंः सोलुखुम्बु जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका एक कर्मचारीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको छ । हुलाकीका रूपमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका ५ नयाँबजारका राम श्रेष्ठको शनिबार राति लमजुरा जङ्गलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शनिबार हिमपातका कारण ज्यान गएका मृतक श्रेष्ठ र उनका ज्वाई प्रकाश राई ओडरमा बास बसेका थिए । ओडारमा चिसोका कारण कठ्याङ्ग्रिएर गम्भिर विरामी परेका श्रेष्ठको आईतबार मृत्यु भएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । लिखुपिके गाउँपालिकामा चिठी पुर्याएर फर्कने क्रममा श्रेष्ठको ज्यान गएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले जानकारी दिए । उनका अनुसार शनिबार हिमपातका कारण मृतक श्रेष्ठ र उनका ज्वाईँ प्रकाश राई ओडारमा बास बसेका थिए । ओडारमा चिसोका कारण कठ्याङ्ग्रिएर गम्भीर बिरामी परेका श्रेष्ठको आइतबार ज्यान गएको हो शवलाई पोस्टमार्टमका लागि फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच शनिबार साँझ पानीसँगै परेको चट्याङ लागेर मोलुङ गाउँपालिका ९ नयाँवनकी २४ वर्षीया छम्जी शेर्पाको ज्यान गएको प्रहरी चौकी श्रीचौरका इञ्चार्ज मन्दीप लुईँटेलले जानकारी दिए ।
सवारी लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने
काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार सूचना प्रकाशित गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि-ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी दिएको हो । यसअघि ९० दिनभित्र तीनपटक मात्र रि-ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको विभागका निर्देशक डा. लोकनाथ भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि-ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विद्यालय चुनाव : ओली र कांग्रेसको प्यानललाई हराउँदै प्रचण्ड-माधव पक्षका गिरी विजयी
दाङ : जिल्लाको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई हराउँदै नेकपाको प्रचण्ड-नेपाल समूह विजयी भएको छ । राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड-माधव समूहका अमरराज गिरीको प्यानल विजयी भएको हो । ७ सय २५ अभिभावकमध्ये ६ सय ५८ जनाले मतदान गरेकामा प्रचण्ड माधव समूहका उम्मेदवार गिरीले ३ सय ३६ मत प्राप्त गरेका थिए भने र ओली समूह र कांग्रेसको गठबन्धनका उम्मेदवार ओमप्रकाश यादवले २ सय ९७ मत पाएका थिए । यस्तै, व्यवस्थापन समिति सदस्यहरुमा पनि प्रचण्ड-माधव पक्षका रामप्रसाद यादवले ३ सय २३ मत, सीमा विकले ३ सय २१ मत र सीमा चौधरीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन् । ओली समूह र कांग्रेसको संयुक्त प्यानलका उमेदवार मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय ९३ मत प्राप्त गरेका निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
सत्तापक्षकै सांसदका कारण प्रदेश-१ को प्रदेशसभा बैठक स्थगित
मोरङ : प्रदेश-१ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि स्थगित भएको छ । बैठक सुरु हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आउँदो फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आफूहरूले निलम्बन गरेका १६ जना सांसदलाई प्रदेश सभामा प्रवेश गराएकोले बैठकमा अवरोध गरेको नेकपा प्रदेश १ का मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । बैठकमा अवरोध भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन पाएन । आइतवार झण्डै साढे ४ घण्टा बसेको कार्य व्यवस्था समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची तयार पारेको थियो ।
कोरोनाका कारण विदेशमा थप तीन जना नेपालीको ज्यान गयो
काठमाडौंः कोरोनाको सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता बेलायतमा २ र अल्जेरियामा १ जना नेपालीको सङ्क्रमणका कारण ज्यान गएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ३ सय ३३ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५६ हजार २ सय ४७ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । समितिका अनुसार यो हप्ता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
भोलिबाट सञ्चारकर्मीलाई खोप लगाउने तयारी
काठमाडौंः सरकारले सञ्चारकर्मीलाई सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलिदेखि ५ दिनका लागि अग्रपंक्रिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो । यसैबीच आइतबार काठमाडौंमा आयोजित आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढी पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको बताए । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताए ।
सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौंं: सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ घर भएका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका संचालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमूना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।
माघ २८ गतेको जनप्रदर्शन सफल बनाउन प्रचण्ड-नेपालको अपील
काठमाडौं : नेकपा प्रचण्ड-माधव पक्षले माघ २८ गते काठमाडौंमा गर्ने जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न सम्पूर्ण जनसमुदायलाई अपील गरेको छ । नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत उक्त दिन प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सहभागी बन्न अपील गरेका हुन् । अपीलमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको बताएका छन् । ‘म यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनसमुदायहरुसँग हामी सबैले लडेर प्राप्त उपलब्धिको रक्षा गर्नका निम्ति माघ २८ गते काठमाडौंको विरोध प्रदर्शनमा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्न चाहान्छु,’अध्यक्ष प्रचण्डले भिडियोमार्फत भनेका छन् । त्यस्तै, अर्का अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध सशक्त आवाज गुञ्जाउन सभाको आयोजना गरेको बताएका छन् । उनले विगतमा भएका कमिकमजोरीको आत्मसमीक्षा गर्ने पनि बताएका छन् । केन्द्रीय संघर्ष समितिको आयोजनामा सो पक्षले २८ गते विशाल जनप्रदर्शन गर्ने तयारी गरेको छ ।
भागरथी हत्या प्रकरण : घटनास्थल पुगे डीआईजी सुवेदी
बैतडी : भागरथी हत्या प्रकरणको अध्ययनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडी पुगेका छन् । उनी आइतबार दिउँसो बैतडी पुगेका हुन् । घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय र जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण अधिकारीको छुट्टाछुट्टै टीम सक्रिय छ। माघ २४ गते विद्यालयबाट फर्किने क्रममा दोगडाकेदार गाउँपालिका-७ कतोलाकी भागरथी भट्टको हत्या गरेर फालेको अवस्थामा शव जंगलमा भेटिएको थियो । हत्यामा संग्लनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
बुटवलः प्रदर्शनकारीलाई ‘तर्साउन’ सेनाले घुमायो बख्तरबन्द गाडी, बन्दको व्यापक असर
बुटवल । संवैधानिक निकायमा नियुक्ति तथा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरिएको बन्दको बुटवलमा पनि व्यापक असर देखिएको छ । बिहानै देखि ठूलो संख्यामा चोकचोकमा नेकपा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । आम हडतालका कारण सबै क्षेत्र ठप्प बनेका छन् । यसैबीच नेपाली सेनाले सुनसान रहेको सडकमा बख्तरबन्द गाडी घुमाएको छ । बन्द आयोजकहरुले आन्दोलनकारीलाई तर्साउन सेना परिचालन भएको जनाएका छन् । बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो । सेनाले गाडी परिचालन हुने विषयमा प्रहरीलाई भने जानकारी गराएको बुझिएको छ । एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु भने रोकिएका छैनन् । बुटवलको राजमार्ग चौराहमा टायर बालेर प्रदर्शन भएको छ । यसैगरी पूर्वदेखि आएका सवारी साधन बुटवलमा नै रोकिएका छन् । मिलनचोकमा पनि ठूलो संख्यामा गाडिहरु रोकेर राखिएको छ । मुख्य राजमार्ग बाहेक बुटवलका भित्रि सडकहरुका पसल व्यवसाय भने आँशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरुलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन । तस्वीरः लुम्बिनी टाइम्सबाट
हडतालले ठप्प भयो चितवन, व्यापक सुरक्षाकर्मी परिचालन, चोकचोकमा प्रदर्शन
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आव्हान गरेको बन्दको प्रभाव चितवन सहित देशभर परेको छ । प्रशासनले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु स्वतस्फुर्त रुपमा कम चलेका छन् । कार्यकर्ताले पुल्चेकमा अन्य जिल्लाबाट आएका सवारीसाधनलाई रोकेका छन । जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हड्ताल सफल बनाउन बिहानैदेखि चितवनका विभिन्न चोक चौराहामा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । यता बन्दमा कुनै अप्रिय घटना हुन नदिन नगरको विभिन्न स्थानमा स्थानिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरूमा असंवैधानिक रुपमा नियुक्तिलगायतका काम गरेको भन्दै दाहाल–नेपाल समूहले बन्द आज आव्हान गरेका हुन् ।
आम हडताल सफल पार्न प्रचण्ड पनि सडकमा
काठमाडौं । संवैधानिक निकायमा नियुक्ति तथा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरिएको बन्द सफल पार्न पार्टी अध्यक्ष प्रचण्ड समेत सडकमा उत्रिएका छन् । आज बिहानै सातदोबाटो आर्कमा निर्धारित गरिएको प्रदर्शनस्थलमा अध्यक्ष प्रचण्ड आएका हुन । ठूलो संख्यामा रहेका कार्यकर्तासँगै प्रचण्डले असंवैधानिक कदमविरुद्ध नारा लगाएका थिए । सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्डसहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि साथमै छन् । देशैभरी बन्दको व्यापक असर छ । हजारौं कार्यकर्ता प्रदर्शनमा ओर्लिएपछि व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात ठप्प भएका छन् ।


>
>