प्रचण्ड-नेपाल पक्ष भोलि बिहानै काठमाडौंका १० ठाउँमा भेला हुँदै
काठमाडौं : नेकपा प्रचण्ड-नेपाल पक्ष भोलिको हडताललाई प्रभावकारी बनाउन लागि परेको छ । जसअनुसार काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउन ५ बजे नै सो पक्ष सडकमा आउने बताइएको छ ।
प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ ।
नेता हिमाल शर्माले गोंगबुचोक, बालाजु चोक, नारायण गोपाल चोक, चाबहिल चोक, भोटाहिटी चोक, बल्खु चोक, कोटेश्वर, कलंकी चोक, फर्पिङ चोक र नागाढुंगा नाकामा ५ बजे नै भेला हुनका लागि ठाउँ तोकिएको जानकारी दिए ।
नेकपा प्रचण्ड-नेपाल पक्षले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ५ पुसमा प्रतिनिधिसभा विघटन निर्णय लिएपछि नेकपाको प्रचण्ड(नेपाल पक्ष आन्दोलित छ ।
भाटभटेनीका सञ्चालक गुरुङ दुई कराेड धरौटीमा रिहा
काठमाडौंः काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । विशेष अदालत काठमाडौंका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले सो कुराको जानकारी दिए । व्यवसायी गुरुङ २ करोड रुपैयाँ धरौटी बुझाएर अदालतबाट छुटेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । न्यायाधीश प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जानकारी दिएको हो ।
बागमती प्रदेशभित्रका जिल्लाबाट फागुन १ देखि निजी र साझेदारी फर्म दर्ता
काठमाडौं : वाग्मती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि निजी तथा साझेदारी फर्म दर्ता हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले वाग्मती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयअन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय हुने जनाएको छ । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य हुने विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । पहिलो चरणमा वाग्मती प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरेको विभागले निकासी, पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानून तर्जुमा भएपश्चात् क्रमशः हस्तान्तरण गर्ने जनाएको छ । गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट ‘वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना, २०७७’ को स्वीकृत भएको थियो । उक्त स्वीकृतिपछि वाग्मती प्रदेश सरकारलाई विभिन्न कार्ययोजना हस्तान्तरणको गरिएको उनले जानकारी दिए । पुराना फर्मको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाट नै सञ्चालन हुनेछ । वाग्मती प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापारमूलक (निकासी, पैठारीसँगसम्बन्धी) फर्मको सक्कल फाइलसहित २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाट नै नियमन हुनेछ ।
नेपालमा ८ दिनको अवधिमा १ लाख ४५ हजारले लगाए कोरोना खोप
काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानको आठौं दिन बुधबारसम्म देशभर १ लाख ४५ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ४५ हजार ८४४ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
वडाध्यक्ष रानामगरको भारतमा निधन
मुग्लिनः चितवनको इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो । लामो समयदेखि कलेजो पीडित हुनुभएका अध्यक्ष रानामगरको ३८ वर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताए । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए । रानामगरको श्रीमती र एक छोरी थिइन् । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
२५० केजी गाँजासहित दुई जना पक्राउ
काठमाडौंः सुनसरी सदरमुकाम इनरुवा-१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजासहित पक्राउ परेका २ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका-९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका-१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । धनकुटाबाट को१च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए । पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान शुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
घट्न थाल्यो फलामे डण्डीको मूल्य
काठमाडौं : व्यवसायीले फलामे डण्डीको मूल्य घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो ४/४ रुपैयाँ मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले ८१ (भ्याट बाहेक) लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रूपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । ‘हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन,’ उनले भने । हाल बजारमा कम्पनीअनुसार फलामे डण्डीको बजार मूल्य फरकरफरक रहेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य सुरु हुनै लाग्दा व्यवसायीले आफूखुसी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो । विभागमा आएको गुनासोका आधारमा विभागले केही ठूला उद्योगमा अनुगनमसमेत गरेको थियो । अनुगमनका क्रममा व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा नै निर्माण सामग्रीको मूल्य बढेको बताएका थिए । हाल अन्तर्राष्ट्रिय रूपमा नै बाहिरबाट मूल्य बढेर आउँदा बजारमा डण्डीको मूल्य बढेको तर केही दिनयता मू्ल्य केही घट्दा सामान्य घटाएको व्यवसायीले बताएका छन् ।
अख्तियारका आयुक्त डा. जोशीद्वारा राजीनामा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन् । उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर आफूले काम गर्न नसक्ने कारण देखाउँदै उनले राजीनामा दिएको स्रोतले जनाएको छ । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रूपमा काम गरेका थिए । जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजीनामा दिएका हुन् । अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तहरू जयबहादुर चन्द र किशोरकुमार सिलवालको बुधबार दिउँसा आयोगमा पदभार ग्रहण गरेका छन् ।
संवैधानिक निकायमा नियुक्ति तथा सपथ विवादित, कांग्रेसको पनि विमति
काठमाडौं । संवैधानिक निकायमा गरेको नियुक्ति तथा सपथप्रति नेपाली कांग्रेसले विमति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा ट्वीट गर्दै संवैधानिक परिषद् सम्बन्धि अध्यादेश, त्यसपछिको बैठक र आजको सपथग्रहणमा कांग्रेसको विमति रहेको बताएका छन् । उनले भनेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।’ मंसिर ३० मा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । तर, संवैधानिक आयोगमा नियुक्तिविरुद्धको मुद्दा अदालतमा रहेका बेला सरकारले बुधबार बिहान पदाधिकारीको सपथ गराएको थियो । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका थिए । संवैधानिक परिषदको अवैधानिक बैठकबाट निर्णय गराई संसदीय सुनुवाई बिना बलजफ्ति संवैधानिक अङ्गहरुको पदाधिकारी र सदस्यहरुको शपथग्रहण गराएकोमा नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आम हड्ताल घोषणा गरेको छ ।
अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने
काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको सुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैङ्कको खातामार्फत जरिवाना रकम भुक्तानी हुने गरी प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैङ्कमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताए । यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आई समयको समेत बचत हुनेछ । उद्घाटन कार्यक्रममा सेवा प्रदायक कम्पनी ई–सेवा फोन पे प्रा.ली. र नेपाल क्लियरिङ्ग हाउस लि. (कनेक्ट आइपिएस्) का प्रतिनिधिहरूको उपस्थितिमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको हो । ई–सेवाको तर्फबाट प्रमुख अपरेसन अधिकृत रोशन लामिछाने र कनेक्ट आइपिएस्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे । आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरूसँग समेत जोडिन आवश्यक समन्वय भइरहेको महाशाखाले जनाएको छ । यो प्रविधिबाट तोकिएका बैङ्कको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । यो अनलाइन प्रविधि ट्राफिक प्रहरी महाशाखाको लागि माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहीलाई सहज एव सरल रुपमा सेवा दिन सधैँ तत्पर रहेको महाशाखाले जनाएको छ । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।
नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप
ललितपुर । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताए । उनले भने, ‘सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँच बुथ राखेर दुई दिनभित्र खोप लगाइदिनेछौं, यो खोप छदेखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७०० लाई दिनेछौं ।’ कारागारभित्र रहेका व्यक्तिले जसले कोभिडको खोप लगाउन इच्छा जाहेर गर्नेलाई मात्र लगाइने डा गेलालले जानकारी गराए । प्रजिअ ढुण्डीप्रसाद निरौलाले कारागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिएका डा प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गरे । उनले भने, ‘खोप लगाएको आठदेखि १२ घण्टामा देखिने असरलाई सकारात्मक मान्नुपर्छ, जो व्यक्तिमा खोपको असर देखिन्छ, उहाँहरुलाई खोपले काम गरेको बुझिन्छ ।’ कोभिड खोप लगाउँदा देखिएको असर कम गर्न प्यारासिटामोल प्रयोग गर्न सकिने डा बुढाथोकीले सुझाव दिए ।
भोलिदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार उक्त प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश नं २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार सो प्रणालीको असर गण्डकी, वाग्मती, प्रदेश नं १ र २ मा रहनेछ । यी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १ मा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको औँल्याइएको छ । शनिबार रातिबाट क्रमिकरुपमा मौसममा सुधार हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम नौ दशमलव छ डिग्री सेल्सियस छ ।
बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजविराज । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको भारदहमा बुधबार बिहान बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बलेरोको ठक्करबाट मोटरसाइकल चालक मोरङ जिल्लाको रङगेली नगरपालिका ८ बस्ने धर्मचन्द्र राजवंशीको ३७ वर्षीय छोरा भिमराज राजवंशीको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका १ भारदह स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको को १ ज ३१९९ नम्बरको बलेरोले ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको लास पोष्टमार्टमकको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ भने बलेरो र चालक धनकुट्टा पाख्रिवास नगरपालिका ४ बस्ने वर्ष ३९ को तोर्ण निरौलालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेका प्रहरीले बताइएको छ ।
प्रचण्ड–नेपाल समूहद्वारा भोलि आम हड्ताल गर्ने घोषणा
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीबार भोलि आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । त्यसका लागि बुधबार दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिएका छन् । संवैधानिक आयोगमा नियुक्ति विरुद्धको मुद्दा टुङ्गो नलाग्दै सरकारले बुधबार बिहान पदाधिकारीको सपथ गराएको थियो । मंसिर ३० मा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका थिए । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह तेस्रो चरणको आन्दोलन गरिरहेको छ । जसअन्तर्गत माघ २२ गते काठमाडौंमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन सभा आयोजना गरिँदैछ । यसअघि उक्त समूहले विभिन्न प्रदेश प्रदर्शन तथा विरोध सभा गरिरहेको छ ।
उपराष्ट्रपति र सभामुखद्धारा संवैधानिक निकायका पदाधिकारीहरूको सपथ ग्रहण बहिस्कार
काठमाडौं । संवैधानिक निकायका पदाधिकारीहरूको सपथ ग्रहण भएको छ । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले मंसिर ३० गते नियुक्त भएका सबैको बुधबार सपथ ग्रहण सम्पन्न भएको जानकारी दिए । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका छन् । सरकारले नियुक्ति सिफारिस गरेर घीय संसदमा जानकारी पठाएकोमा संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकोले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति फिर्ता गरेका थिए ।
वडाध्यक्ष नजित्ने व्यक्तिलाई ओलीले राष्ट्रिय सभाकाे अध्यक्ष बनाए: रामकुमारी झाँक्री
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटमा लागेकै कारण कुनै हैसियत नभएको मान्छेलाई राष्ट्रिय सभाको अध्यक्ष बनाएको बताएकी छिन्। सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग वडाध्यक्ष जित्ने हैसियत पनि नभएको बताएकी हुन्। ‘‘धेरै सिनियर नेताहरुलाई पन्छाएर वडाध्यक्ष पनि नजित्ने मान्छेलाई राष्ट्रिय सभाको अध्यक्ष बनाइयो’’ उनले कार्यक्रममा भनिन्। झाँक्रीले प्रधानमन्त्री ओलीले दुई वर्षसम्म बिरामी भएको नाटक गरेको र अन्तिममा संसद विघटन गरेर पाखा लागेको आरोप लगाएकी छन्। राष्ट्रिय युवा संघ बराहक्षेत्र नगर कमिटीले आयोजना गरेको नगरस्तरीय युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउनु नेकपाको सबैभन्दा ठूलो भुल भएको बताइन्। ‘‘ओलीले एकलौटी डिएनए परीक्षण गरेर आफ्नो मान्छेलाई पद दिँदै जानुभयो’’ उनले भनिन्, ‘‘जनकपुर–जयनगर नियुक्तिको फलस्वरूप अहिले रेल त्रिपालमुनी थन्किएको छ।’’ राष्ट्रिय सभामा गणेश तिमिल्सिना केपीको गुटको मान्छे भएकाले नै उनको नियुक्ति भएको झाँक्रीको दाबी छ। ओलीले आजसम्म गरेको कुनै राम्रो भएको भए पनि संसद विघटनले उनको त्यो कामलाई परिपूर्ति गर्न नसक्ने उनको तर्क छ। प्रधानमन्त्री ओलीले पटकपटक काम गर्न नदिइएको बताइरहेको स्मरण गर्दै उनले प्रश्न गरिन्, ‘‘सरकारलाई काम कहाँ गर्न दिइएन ?’’ उनले थपिन्, काम गर्न दिइएन भन्नेले संसद छोडेर जाने हो, विघटन गर्ने होइन।’’ केपी ओलीले आफूमाथि अविश्वासको प्रस्ताव आउँछ भनेर संसद अन्त्य गरेको नेत्री झाँक्रीको तर्क छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कटाक्ष गर्दै उनले भनिन्, ‘‘मदन भण्डारीसँगको सेन्टिमेन्टले आजसम्म पनि विद्यादेवी जनताको सेन्टिमेन्टमा खेलिरहेकी छिन्।’’ सत्ता र पैसाको आडमा आज देशभर केपी ओलीले साइबर सेना, साइबर गुरिल्ला खडा गरेको र केपीको कुतर्कलाई पनि ताली बजाउन लगाइएको उनको भनाइ छ। ‘‘केपी ओलीलाई प्रधानमन्त्री बनाउनु नेकपाको ऐतिहासिक भुल हो, त्यसैले केपी ओलीलाई भोट हाल्नेले माफी माग्नुपर्छ’’ उनले भनिन्। नेत्री झाँक्री पछिल्लोसमय देशभर संसद पुनःस्थापना आफूहरूको एकमात्र माग रहेको बताइन्। झाँक्रीले प्रश्न गरिन्, मुद्दा विचाराधीन छ, निर्वाचनको नाटक छ, मान्छे खरिद गर्न पैसाको चलखेल छ, प्रदेशमा सांसद खरिद गर्न थालिएको छ। यो पैसाको स्रोत के हो ?’’

