प्रदेश १ को अधिवेशन माघ २५ गतेका लागि आह्वान
विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान गरिएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका छन् ।
प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र उनको पक्षको नेकपा सकेसम्म संसद् बैठक छल्ने, त्यो नसके चल्नै नदिने तयारीमा लागेको छ । आफूविरूद्ध प्रदेशससभामा दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने खतरा देखेपछि मुख्यमन्त्री र उनको समूह यस्तो तयारीमा जुटेको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ । चिनियाँ पक्षले समाग्रीमा नेपाली अक्षरमा लेखिएका वस्तुहरुमा भाषाको समस्या देखाएर सुरुमा निर्यातमा रोक लगाएपछि रोकिएको निर्यात डेढ वर्ष वित्दा समेत निर्यातको लागि अझै अनुमति नपाउँदा ब्यापारीहरु मर्कामा परेका छन् । भाषाको समस्याको समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले डेड वर्ष अघि बाट निर्यातमा रोग लगाएको हो । चीनका उच्च भूभागमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यु तथा अन्य स्थानहरूमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो चाउचाउ, बिस्कुट, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको थियो । लामो समयदेखि सामग्री निर्यात रोकिएका कारण भारतको विभिन्न स्थानबाट सामग्री जाने क्रम बढेकोले रसुवागढी नाका बाट पनि निर्यातमा सहजिकरण गरि दिन व्यापारीहरुले सरकार संग अनुरोध गरेका छन् ।
प्रचण्ड–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणका आन्दोलनका कार्यक्रम गरिरहेको उक्त समूहले सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक कार्की ब्यांक्वेटमा बस्नेछ । बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा छलफल हुनेछ । बुटवल, विराटनगर र धनगढीमा विरोध तथा जनप्रदर्शन गरेको उक्त समूहले माघ २८ गते काठमाडौंमा बृहत विरोध तथा प्रशर्दन गर्दैछ । यस्ता छन् तेस्रो चरणका आन्दोलनका कार्यक्रमः माघ २२ गतेः काठमाडौंमा युवा र्याली । माघ २६ गतेः देशव्यापी मसाल जुलुस । माघ २८ गतेः काठमाडौंमा विरोध प्रदर्शन सभा ।
ओली सरकार पाकेको फल हो, केही दिनमा आफैं झर्छः खनाल
काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली सरकार पाकेको फल मात्रै भएको र केही दिनमै आफैं झर्ने टिप्पणी गरेका छन् । संसद् विघटनविरुद्ध तेस्रो चरणअन्तर्गत आइतबार माइतीघर मण्डलामा धर्ना कार्यक्रमपछि पूर्व प्रधानमन्त्री समेत रहेको खनालले सो टिप्पणी गरेका हुन् । ‘जबसम्म पुनःस्थापना हुँदैन, त्यही सडकमा रहन्छौं । अदालतले पनि संसद् पुनःस्थापना गर्ने विश्वास छ । पुनःस्थापना हुन्छ, प्रधानमन्त्री ओली फेल भइसके, उनका दिनगन्ती शुरू भइसकेका छन् । केही दिन मात्रै बाँकी छ’, खनालले भने, ‘ओली सरकार पाकेको फलमात्रै हो, केही दिनमै आफैं झर्छ ।’’ ‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्,’ पाण्डेले भने, ‘उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन् । मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’ ओलीले झ्यालको बाटो छाडी भीरको बाटो हिँडेर प्रतिनिधिसभा विघटन गरेको पाण्डेको टिप्पणी छ । उनले ओली अब कम्युनिष्ट नरहेको र धर्मका कुरा गरेर जनतालाई भुलाउन खोजेको आरोप लगाए । धर्ना कार्यक्रममा नेकपा नेतृ पम्फा भुषालले ओलीको प्रतिगमनको अन्त्य छिट्टै हुने दाबी गरिन् । यसअघि माघ १४ देखि २१ गतेसम्म जारी रहने धर्ना कार्यक्रम आइतबार नै सम्पन्न भएको घोषणा उनले गरिन् । यसपछिका आन्दोलनको तयारी गर्नुपर्ने कारण धर्ना कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिइन् । आइतबारको धर्नामा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल पनि बसेका थिए । यस्ता छन् तेस्रो चरणका आन्दोलनका कार्यक्रमः माघ २२ गतेः काठमाडौंमा युवा र्याली । माघ २६ गतेः देशव्यापी मसाल जुलुस । माघ २८ गतेः काठमाडौंमा विरोध प्रदर्शन सभा । प्रदेशका राजधानीमा विशिष्ट प्रकारका ठोस कार्यक्रम निरन्तरता दिने । समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल माइतीघरमा धर्नामा
संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल माइतीघरमा धर्नामा
काठमाडौं । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहको नेकपाले माइतीघर मण्डलामा धर्ना कार्यक्रमलाई जारी राखेको छ । माघ १४ देखि २१ गतेसम्म जारी रहने धर्ना कार्यक्रममा आइतबार नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल धर्नामा बसेका छन् । आइतबार मध्यान्ह १२ बजे मण्डलामा आयोजित धर्ना कार्यक्रममा प्रचण्ड र नेपाललसँगै नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायतका नेताहरु पनि सहभागी छन् । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् । यस्ता छन् तेस्रो चरणका आन्दोलनका कार्यक्रमः माघ १४ देखि २१ गतेसम्मः माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम । माघ २२ गतेः काठमाडौंमा युवा र्याली । माघ २६ गतेः देशव्यापी मसाल जुलुस । माघ २८ गतेः काठमाडौंमा विरोध प्रदर्शन सभा । प्रदेशका राजधानीमा विशिष्ट प्रकारका ठोस कार्यक्रम निरन्तरता दिने । समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम ।
ओलीलाई रेनुले भनिन्– सुटुक्क आएर पूजा गर्दैमा सिटी हल र सडक निर्माण हुँदैन
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् । चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको विचार व्यक्त गरिन् । उनले यस कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् । एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै उनले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको हो ।’ मेयर दाहालले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरुले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने बताइन् । राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर दाहालले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताइन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक शिलान्यास गरेका थिए ।
संसद् विघटनविरुद्ध माइतीघरमा धर्ना बस्दै प्रचण्ड–नेपाल
काठमाडौं । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहको नेकपाले माइतीघर मण्डलामा धर्ना कार्यक्रमलाई जारी राखेको छ । माघ १४ देखि २१ गतेसम्म जारी रहने धर्ना कार्यक्रममा आइतबार नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल धर्नामा बस्दैछन् । आइतबार मध्यान्ह १२ बजे मण्डलामा आयोजित कार्यक्रममा प्रचण्ड र नेपाल धर्नामा बस्ने केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए । यस्ता छन् तेस्रो चरणका आन्दोलनका कार्यक्रमः माघ १४ देखि २१ गतेसम्मः माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम । माघ २२ गतेः काठमाडौंमा युवा र्याली । माघ २६ गतेः देशव्यापी मसाल जुलुस । माघ २८ गतेः काठमाडौंमा विरोध प्रदर्शन सभा । प्रदेशका राजधानीमा विशिष्ट प्रकारका ठोस कार्यक्रम निरन्तरता दिने । समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम ।
बढ्यो सुनचाँदीको मुल्य
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ । यसअघि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने १०० रुपैयाँ बढेको हो । सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो शुक्रबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आगलागीमा परी दुईको मृत्यु
सोलुखुम्बु । नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बिना कार्वाही खोलिए सील गरिएका १४ वालुवा प्रशोधन उद्योग
नवलपरासी । पूर्वी नवलपरासीमा अनुगमनको क्रममा अवैध सञ्चालनमा रहेको भेटिएर बन्द भएका नवलपुरका १४ वटा बालुवा प्रशोधन उद्योग स्थानीय पालिकाहरुले बिनाकारबाही खोलिदिएका छन् । जिल्ला प्रशासन कार्यालय नवलपुरको नेतृत्वमा स्थानीय पालिका, राजस्व कार्यालय, प्रहरी, साना तथा घरेलु उद्योगलगायतले संयुक्तरुपमा अनुगमन गर्दा अवैध सञ्चालनमा रहेको भनेर सिल गरिएका प्रशोधन उद्योग स्थानीय सरकारले नयाँ दर्ता पक्रियामा लैजाने भन्दै खोलिदिएका हुन् । सिल गरिएका उद्योगलाई कुनै कारबाही पनि नगरीकन नयाँ उद्योग दर्ता प्रक्रियामा लैजाने भन्दै एकसाथ सबै उद्योग खोलिदिएपछि ठूलै आर्थिक चलखेलको आशङ्का गरिएको छ । जिल्ला प्रशासन कार्यालय,साना तथा घरेलु उद्योग कार्यालय ,जिल्ला प्रहरी कार्यालय , जिल्ला समन्वय समिति , सशस्त्र प्रहरी , बन प्राविधिक सहितको टोलीले गरेको अनुगमनमा प्रसोधन उद्योगहरु मापदण्ड अनुसार सञ्चालन रहे नरहेको, भ्याट विल नियमित काटे नकाटेको, नक्कली विल काटे नकाटेको समेत अनुगमन गरिएको थियो । पूर्वी नवलपरासीमा अनुगमनका क्रममा बिनादर्ता सञ्चालनमा रहेको पाइएर बन्द गरिएका यहाँका १४ वटा बालुवा प्रशोधन उद्योग सिल गरिएको दुई महिना नबित्दै पुनः सञ्चालनमा आएको छ । जिल्ला अनुगमन समिति र सम्बन्धित पालिकाले घुमाउरो निर्णय गरेर सिल गरिएका उद्योग खोलिदिएका हुन् । जिल्ला अनुगमन समितिले सिल गरिएका बालुवा उद्योगहरुलाई खोल्नका लागि कुनै निर्णय नगरे पनि सम्बन्धित पालिकालाई नयाँ उद्योग दर्ता प्रक्रिया पूरा गर्न बाटो खुल्ला हुने गरी गरिदिएको निर्णयलाई नै आधार मानेर यहाँका सिल भएका बालुवा उद्योगहरु खुलेका हुन् । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवम् जिल्ला अनुगमन समिति नवलपुरका प्रमुख चेसराम आलेले भने, ‘हामीले सिल गरिएको उद्योगलाई खोल्नुभन्दा पनि नयाँ उद्योग दर्ता प्रक्रिया सुरू गर्नु भनेको हो, तर हाम्रै निर्णयलाई टेकेर खोलिएको भनेर सुन्न आएको छ, आधिकारिक जानकारी भने छैन ।’ उनले आफूले अनुगमन गरी जानकारी मात्र लिने तर कारबाही गर्ने निकाय भनेको सम्बन्धित पालिका नै भएकोले यस्तो भएको बताए । आवश्यक रीत पूरा नगरी सञ्चालन गरिएको भन्दै नवलपुरमा प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले बालुवा प्रशोधन उद्योग सिल गरेको थियो, तथापि उद्योग बालुवा प्रशोधन उद्योग र उद्योग सञ्चालकलाई कुनै कानुनी कारबाही पनि नगरी र रीतसमेत पूरा नगरी स्थानीय सरकारले जिल्ला अनुगमन समितिको निर्णयलाई आधार मान्दै बालुवा उद्योगहरु खोलिदिएका छन् । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले जिल्ला अनुगमन समितिकै निर्णयलाई टेकेर पालिकाको थप निर्णयसहित १ वर्षभित्र नयाँ दर्ता प्रक्रिया पूरा गर्ने गरी सिल भएको बालुवा प्रशोधन उद्योग खोलिएको बताए । उनले भने, ‘एकपटकलाई मौका दिएर १ वर्षभित्र सबै कानुनी प्रक्रिया पूरा गर्नू भनेर निर्देशनसहित खोलिएको हो ।’ जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा सञ्चालित १२ वटा, कावासोती नगरपालिकाको एउटा र हुप्सेकोट गाउँपालिकाको एउटा गरी १४ वटा बालुवा प्रशोधन उद्योग सिल गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा मात्र दर्ता गरेको, तर साना तथा घरेलु उद्योगमा दर्ता नगरेको, स्थानीय पालिकाको इजाजत नलिएको पाइएपछि उद्योग सिल गरिएको थियो । अहिले विनयी त्रिवेणी गाउँपालिकाले १ वर्षभित्र प्रक्रिया पूरा गर्न समय दिने र हुप्सेकोट गाउँपालिकाले ६ महिनाभित्र प्रक्रिया पूरा गर्न समय दिने भन्दै प्रशोधन उद्योगहरु खोलिदिएका हुन् । सिल गरिएका उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरी खोलिँदा स्थानीयस्तरमा ठूलै आर्थिक चलखेल भएको स्थानीयले दाबी गरेका छन् । गाउँपालिका अध्यक्ष डम्बर जिसी भने आर्थिक चलखेल भएको र व्यापारीहरुको दबाब भएको अस्वीकार गर्छन् । यहाँका विनयी त्रिवेणी गाउँपालिकामा रहेको ज्यामिरे बालुवा प्रशोधन प्रालि, महावीर बालुवा प्रशोधन उद्योग, एमके नेचुरल वासिङ प्लान्ट, जय गुरू गणेश कन्स्ट्रक्सन वास प्लान्ट, नमोबुद्ध सप्लायर्स एण्ड स्यान्ट प्रोसेसिङ प्रालि, विनयी सर्दी कन्स्ट्रक्सन एण्ड गिटी बालुवा प्रशोधन प्रालि, दृष्टि कन्स्ट्रक्सन एण्ड गिटी बालुवा प्रशोधन प्रालि, एसजी बालुवा प्रशोधन केन्द्र, सुन टाँडी बालुवा प्रशोधन केन्द्र, विन्दवासिनी बालुवा प्रशोधन तथा निर्माण प्रालि, भैरव बाबा प्रशोधन उद्योग प्रालि, विनयी बालुवा प्रशोधन, हुप्सेकोटको देउराली बालुवा प्रशोधन उद्योग र कावासोतीको बोलेबाबा बालुवा उद्योगलाई सिल गरिएको थियो । सिल गर्दा निकै हौसिएर कानुनी प्रक्रिया पूरा गरेमा सिल भएका उद्योग खोलिने भनेर बताइएको हुँदा यहाँको प्रशासन प्रमुखले भने अहिले यस विषयमा कुनै प्रतिक्रिया नजनाउने बताउँदै आएका छन् । चितवन पोष्टबाट साभार गरिएको
लाइसेन्सः चाप बढेपछि ५–६ महिना कुर्नुपर्ने, लिखितमा ८० अङ्क आवश्यक (के छ त अरु नयाँ नियम ?)
कोरोनाभाइरस महामारीका कारण १० महिनासम्म रोकिएको सवारी साधान चालक अनुमति पत्र पाउन अझै सहज हुन सकेको छैन् । अहिले आवेदन खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले निवेदन दिइसकेका छन्। त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। कतिपय कार्यालयमा भने जेठसम्मकै बुक भइसकेको छ । हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेका छन् । हमालका अनुसार, दुई लाखभन्दा बढीले फारम भरिसकेको अवस्था छ। उनले अहिले भर्नेहरूले ६–७ महिनापछि पालो पाउने बताए । यातायात कार्यालयहरूमा भिडभाड बढेको छ । काठमाण्डू, बुटवल, वीरगञ्ज लगायतका प्रमुख सहरहरूमा अत्यधिक चाप रहेको अधिकारीहरू बताउँछन्। हाल विभाग सङ्घ अन्तर्गत रहेको र यातायात कार्यालयहरू प्रदेश सरकार अन्तर्गत रहेकाले पनि उक्त कार्य चाँडो हुने गरी अघि बढाउन कठिनाइ भइरहेको विभागको भनाइ छ। चाप बढी भएकै कारण विभागले यातायात कार्यालयहरूलाई दुई सत्रमा काम गर्न भनेको हमाल बताउँछन्। के छ नयाँ नियम ? यसैबीच सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी थालेको बताइएको छ। हाल विद्यमान विभिन्न समस्याहरूको समाधान गर्नका लागि भन्दै प्रयोगात्मक परीक्षामा ६० अङ्क ल्याए अनुमति पत्र प्राप्त गर्ने प्रावधान सहितको परीक्षा मापदण्ड तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिसकिएको हमाल बताउँछन्। “मन्त्रालयस्तरीय निर्णय भएपछि यो मापदण्ड लागु गर्न दुईदेखि तीन महिना लाग्ला,” उनले भने। विभिन्न देशहरूका व्यवस्था हेरी हालको मापदण्डलाई थप वैज्ञानिक बनाउने उद्देश्यका साथ प्रक्रिया अघि बढाइएको बताइएको छ। नयाँ व्यवस्थामा मापदण्ड नयाँ नहुने हमाल बताउँछन्। पुरानै मापदण्डहरूमा अङ्क दिने विभागको भनाइ छ। हाल सबै मापदण्ड अनिवार्य पास गर्नुपर्ने व्यवस्था छ। नयाँमा भने प्रत्येक मापदण्डमा अङ्क राख्ने र परीक्षार्थीले उत्तीर्ण गरेका मापदण्डको अङ्क जोड्दा कुल १०० मा ६० अङ्क ल्याउनुपर्ने व्यवस्था प्रस्तावित गरिएको बताइएको छ। ‘त्यस कारण परीक्षामा सहभागी सबै उत्तीर्ण हुन्छन् भन्ने होइन। यसलाई थोरै सहज बनाइएको मात्रै हो”, हमालले भने। ‘विश्वका जुनसुकै देशमा ठूलो र सानो गल्ती हेरिन्छ र यत्तिसम्म भयो भने अनुमति दिने भन्ने हुन्छ। हाम्रोमा चाहिँ कुनै पनि गल्ती हुनै नहुने अवस्था छ। नयाँ व्यवस्थाले जान्दै नजान्ने व्यक्तिले अनुमति प्राप्त गर्छ भन्ने होइन।’ उकालो ओरालो जस्ता अत्यावश्यक मापदण्डमा कुनै पनि किसिमको परिवर्तन नहुने तर सामान्य घेरा छोएको जस्ता विषयमा भने अङ्क दिने योजना विभागको छ। हाल प्रयोगात्मक परीक्षाको सबै मापदण्ड पूरा गरे पनि अन्तिममा एउटा घेरा छोएकै आधारमा अनुत्तीर्ण हुने अवस्था छ। तर नयाँ मापदण्ड कार्यान्वयनमा आए एकपटक त्यस्तो घेरा छोए ५ अङ्क काटिने, दुई पटक छोए १० अङ्क काटिने र तेस्रो पटक छोए अनुत्तीर्ण हुने जस्ता प्रावधान समावेश हुने बताइएको छ। लिखितमा ८० अङ्क चाहिने विभागका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि हुने परीक्षामा नेपाल विश्वमै कम उत्तीर्ण दर भएको देशमा पर्छ। पहिलो पटकको प्रयासमा नेपालमा जम्मा २५ देखि ३० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेको अधिकारीहरू बताउँछन्। त्यस्तो प्रतिशत अन्य देशहरूमा ७० प्रतिशतसम्म रहेको उनीहरूको भनाइ छ। मापदण्ड धेरै कडा बनाउँदा चार(पाँच वर्ष सडकमै सवारी हाँकेका मानिसहरू समेत अनुत्तीर्ण हुने अवस्था देखिएको विभागले जनाएको छ। “त्यसकारण प्रश्न कडा गर्नेभन्दा पनि सडकमा जान्नुपर्ने कुराहरू थाहा दिने गरी वार्षिक सोधिने प्रश्नहरूको सँगालो बनाउने छौँ र त्यसलाई प्रकाशन गर्ने छौँ। जनताले धेरै भन्दा धेरै जानुन् भन्ने हाम्रो उद्देश्य हो। यसरी परीक्षा दिँदा परीक्षार्थीले कम्तीमा ८० अङ्क ल्याउनुपर्ने प्रस्ताव गरिएको छ,” हमालले भने। हाल लिखितमा ५० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ। तीन पटकसम्म परीक्षा दिँदासमेत अनुत्तीर्ण भएपछि सर्वसाधारणहरूले अन्य उपाय अपनाउने गरेको अधिकारीहरू बताउँछन्। ‘यसले व्यवस्थालाई भ्रष्ट बनाउने गतिविधि बढ्छ,’ हमालले भने। नयाँ मापदण्डले यो अवस्थाको अन्त्य गर्ने र यसको प्रभाव समग्रमा राम्रो हुन जाने अनुमान आफूहरूको रहेको उनी बताउँछन्। कतिपयले नयाँ व्यवस्थाको पारदर्शितामाथि प्रश्न उठाइरहेका छन्। त्यसबारे हमालले भने, ‘सीसीटीभी क्यामेराबाट नियाल्नेदेखि अन्य अनुगमनका काम हुनेछन्। परीक्षास्थलमा प्रत्यक्ष अङ्क दिइनेछ र तत्काल पासर–फेल छुट्ट्याइनेछ।’
तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई
काठमाडौं । तल्लो अरुण जलविद्युत् परियोजना निर्माणका लागि एक भारतीय कम्पनी छनौट गरिएको छ । लगानी बोर्डले भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई परियोजना निर्माणका लागि छनौट गरेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको ४६ औं बैठकले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीहरुको मूल्याङ्कन गरी भारतीय कम्पनीलाई छनौट गरेको थियो । कुल क्षमता ६७९ मेगावाट रहेको उक्त परियोजना प्रदेश १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । २०७५ चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा सरकारले उक्त परियोजना लगानीकर्ता समक्ष प्रस्तुत गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बोर्ड बैठक बसेको थियो। बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेललगायत सहभागी थिए।
टी-१० लिगमा कुशलआवद्ध आबुधाबीको लगातार दोस्रो हार
काठमाडौं: यूएईमा जारी टी-१० क्रिकेट लिगअन्तर्गट टिम आबुधाबीविरुद्ध कलन्दर्स ९ विकेटले विजयी भएको छ । आबुधाबीले दिएको १ सय १ रनको लक्ष्य ८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि सरजील खानले अविजित ४०, टम ब्यान्टनले ३० र कप्तान सोहेल अख्तरले अविजित २७ रन बनाए । बलिङमा नवीनउल हकले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको आबुधाबीले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय रन बनायो । उसका लागि जो क्लार्कले ३४, पउल स्टटर्लिङले २९, नजीबुल्लाह जदरानले १२ र बेन डककेटले ११ रन बनाए । टिमका महत्वपूर्ण सदस्य क्रिस गेल भने आज पनि सस्तैमा आउट भए । उनी आज ५ रन बनाएर आउट भएका हुन् । बलिङमा शाहीद अफ्रिदीले उत्कृष्ट प्रदर्शन गरे । उनले २ ओभरमा १६ रन दिएर महत्वपूर्ण २ विकेट लिए । जारी प्रतियोगितामा अफ्रिदीको यो पहिलो म्याच हो । यसअघि उनी पहिलो खेलमा प्लेइङ-११ मा थिएनन् । त्यस्तै, जाहूर खान र क्रिस जोर्डनले एकरएक विकेट हात पारे । आजको खेलमा पनि आबुधाबीमा आवद्ध नेपाली युवा क्रिकेटर कुशल मल्लले मौका पाएनन् । उनी पहिलो खेलमा पनि बेन्चमै सीमित भएका थिए । आजको जितसँगै कलन्दर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समूह ‘बी’मा रहेको कलन्दर्सले दुई म्याच खेल्दा दुवैमा जित हासिल गरेको छ । उसले पहिलो खेलमा शुक्रबार पुणे डेभिल्सलाई हराएको थियो । आबुधाबीको भने यो लगातार दोस्रो हार हो । उसले पहिलो म्याचमा शुक्रबार डेक्कन ग्लाडिटर्सविरुद्ध हारको सामना गरेको थियो । आबुधाबी अंक तालिकाको पुछारमा छ
देश बनाउने अभियानमा सरकार छः मन्त्री गुरुङ
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपाल निर्माणका लागि महान उद्देश्यकासाथ सरकारले काम गरिरहेको बताए । नेकपा दोलखा-काठमाडौं सम्पर्क मञ्चको शनिबार यहाँ आयोजित कार्यकर्ता भेलामा मन्त्री गुरुङले सो कुरा बताए। प्रचण्ड-माधव पक्षले पद प्राप्तीका लागि आन्दोलन गरेको हो भन्ने घटनाक्रमले पुष्टि गरिरहेको उनले चर्चा गरे । ‘प्रतिनिधिसभा विघटन बाध्यकारी अवस्थामा भयो’ मन्त्री गुरुङले भने, ‘सरकार सही दिशामा छ, कोही भ्रममा नपरौं, कसैको बहकाउमा नफँसौं ।’ पार्टीको अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक रहेको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भने, ‘नेकपा हाम्रो हो, सूर्य चिन्ह हामीसँगै छ, कोही कसैले मनमा भ्रम नपालौं ।’ प्रचण्ड-माधव पक्षको आन्दोलन मुलुकलाई अराजकतामा लग्ने आन्दोलन भएकाले सजग रहन उनले सबैमा आग्रह गरे । ‘चुनावमा गएपछि हार या जीत हुन्छ, तर मुलुकलाई सही बाटो दिनुको अहिले अरु विकल्प छैन’ उनले भने । निर्वाचन हुनेमा कुनै आशंका नभएकाले उनले प्रचण्ड-माधव पक्षको भोलिको अवस्थाबारेमा आफूलाई अहिलेदेखि चिन्ता लाग्न लागेको चर्चा गरे । मुलुकलाई सही दिशा दिनका निम्ति चुनावमा जाने निर्णय भएको हो, जनताले त्यसको फैसला गर्ने उनले बताए । मुलुकको राष्ट्रियताको सवालमा सरकारले चट्टानी अडान लिएको उनले बताए । ‘अस्वस्थ शरीर लिएर पनि प्रधानन्त्री ओलीले देश र जनताका लागि अहोरात्र खट्नुभएको छ, देश बनाउने यस महाअभियानमा हामी सबैले उनलाई साथ दिनुपर्छ’ मन्त्री गुरुङ्ले थपे, ‘म कानूनको विद्यार्थी त होइन, तर मलाई विश्वास छ हामी कानुनीरुपमा तल पर्ने काम गरेका छैनौं ।’ यसअघिसम्म मन्त्री पद आज हो कि भोली हो जस्तो भएपनि संसद विघटनपछि सरकारले ढुक्कसाथ काम शुरु गरेको मन्त्री गुरुङले बताए । दोलखा जिल्लालाई स्मार्ट जिल्लाकोरुपमा विकास गर्ने प्रतिवद्धता जनाए । सरकारले स्मार्ट नेपाल बनाउने अभियान सुरु गरिसकेकाले हरेक घरमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्यसाथ सरकारले काम गरिरहेको बताए ।
बलात्कार आरोपमा एक जना पक्राउ
काठमाडौंः बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका-३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेका थिए । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
कोरोना खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीले दिए निर्देशन
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई निर्देशन दिएका छन् । आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उनले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे । उनले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहजरूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए । खोप अभियानका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पनि मन्त्री त्रिपाठीले सुझाव दिए । अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए । शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरीक्षण गरेका मन्त्री त्रिपाठी आज बुटवल आएका थिए । उनले बुटवल र भैरहवामा खोप अभियानको निरीक्षण गरे ।

