संवैधानिक आयोगमा नियुक्त पदाधिकारीले लिए सपथ
काठमाडौं । संवैधानिक निकायका पदाधिकारीहरूको सपथ ग्रहण भएको छ । बुधबार बिहान ९ बजेको लागि तय गरिएको सपथ ग्रहण कार्यक्रम केही समय ढिला गरी राष्ट्रपति कार्यालय शितल निवासमा सुरु भएको हो ।
राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले मंसिर ३० गते नियुक्त भएका सबैको बुधबार सपथ ग्रहण सम्पन्न भएको जानकारी दिए । सरकारले नियुक्ति सिफारिस गरेर घीय संसदमा जानकारी पठाएकोमा संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकोले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति फिर्ता गरेका थिए ।
एक महिना पछि डोल्पामा विद्यालय सञ्चालन
डोल्पाः हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् । माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको विद्यालय गत बिहीबारदेखि खुलाएर पठनपाठन क्रियाकलाप शुरु गरिएको त्रिपुरा मावि त्रिपुराकोटका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । माघ लागे पनि चिसो अझै नघटेकाले पठनपाठनमा समस्या भएको बताउँदै घाम लागेको मौका छोपी खुला चौरमा लगेर भए पनि पढाउने गरिएको उपाध्यायको भनाइ छ । वर्षकै जाडो हुने महिनाका रुपमा रहेका पुस माघमध्ये माघ महिना अझै बाँकी रहेकाले चिसो अत्यधिक रहेको र कक्षाकोठामै बसेर पढ्न समस्या हुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा सुष्मा परियारले बताए । विद्यार्थीलाई चिसो लागेको अवस्थामा कक्षाकोठा बाहिर घाममा लगेर शिक्षकले पढाउने गरेको उनको भनाइ छ । अघिल्लो वर्ष पुस १५ मा बन्द भएका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने भए पनि यस वर्ष लामो लकडाउनका कारण बालबालिकाको पढाइ बिग्रेको भन्दै १५ दिनअघिनै विद्यालय खुलाउने निर्णय गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । विद्यालय खुले पनि विद्यार्थीको उपस्थिति न्यून रहनुका साथै जिल्ला बाहिर घर भएका शिक्षक विद्यालय पुग्नेक्रम जारी रहेको आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीले बताए । जिल्ला दुई वटा स्थानीय तहमा विद्यालय खुले पनि काइके, जगदुल्ला, मुड्केचुला गाउँपालिकाका विद्यालय भने अझै खुलेका छैनन् । पुस १५ देखि बन्द भएका तीनवटै स्थानीय तहका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने गाउँपालिकाले जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट प्रधानाध्यापकको मृत्यु
कपिलवस्तु : कोरोना संक्रमणबाट कपिलवस्तुमा एक प्रधानाध्यापकको मृत्यु भएको छ । रूपन्देहीको कन्चन गाउँपालिका गरगरे घर भई बाणगंगा नगरपालिका-१० बनकट्टीस्थित एक आधारभूत विद्यालयका प्रधानाध्यापक केशवराज काफ्लेको मृत्यु भएको हो । उनमा माघ ३ गते कोरोना सङ्क्रमण भएको थियो । दीर्घ रोगका बिरामीसमेत रहेका काफ्लेको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । उपचार क्रममा बुधबार मृत्यु भएको वाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिमबहादुर जिसीले बताएका छन् । उनको मृत्युपछि नेपाल शिक्षक महासंघ बाणगंगा नगरपालिकाले बिहीबार शोक बिदा दिन आग्रहसमेत गरेको छ ।
ग्लोबल आइएमई बैंकद्धारा तीन नयाँ शाखा सञ्चालनमा
काठमाडौंः ग्लोबल आइएमई बैंकले मंगलबार थप ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्कामा, दाङको लमही नगरपालिका ५ लमहीमा र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६ प्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । ३ वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय ६७ पुगेको छ ।
नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक भोलि, विषयमा हुनेछ छलफल
काठमाडौं : नेकपा प्रचण्ड र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीकातर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो । यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो । धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
राष्ट्रपति भण्डारीद्वारा पोर्चुगलका राष्ट्रपतिलाई बधाई
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिमा पुनः निर्वाचित भएका मार्केलो रिबेलो डि सौसालाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले पोर्चुगलका राष्ट्रपतिलाई आज बधाई सन्देश पठाएर पोर्चुगलको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेकी छन् । नेपाल र पोर्चुगलबीच विद्यमान जनस्तरको निकट सम्बन्धमा जोड दिँदै उनले भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग अझ विस्तार हुने विश्वास सन्देशमा व्यक्त गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा पोर्चुगलसँग निकटमा रहेर नेपाल सरकारले सहकार्य गर्न चाहेको सूचना पनि राष्ट्रपति भण्डारीले सन्देशमार्फत दिएकी छन् ।
आजपनि २३ हजार ५ सय ८५ जनाले लगाए कोरानाविरुद्धको खोप
काठमाडौंः कोभिडविरुद्धको खोप अभियानअन्तगर्गत आज (पाँचौं दिन) मुलुकभर ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रबाट २३ हजार ५ सय ८५ जनाले खोप लगाएका छन्। आजसम्म कुल ८८ हजार ७ जनाले खोप लगाइसकेका छन्। पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५ र चौथो दिन १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका थिए। प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११,लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिममा ६ हजार ८ सय ७७ ले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतको सिरम इन्स्टिच्युटबाट निर्मित कोभिसिल्डु खोप गत १४ गते देखि खोप लगाउन सुरु गरिएको थियो।
पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने
काठमाडौंः पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए । ‘कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ, रु ६५ करोड कोषसँग छ, रु ३० करोड सरकारले दिने भएको छ’, सदस्यसचिव ढकालले भने । सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । कम्तीमा सात पुस्तासम्म पुग्ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ । कानूनी एवं धार्मिक विधि पुर्याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको छ । सुनको काम गर्ने कालीगढ कोषमै राखेर काम गरिनेछ । यससम्बन्धी विस्तृत विवरण महाशिवरात्रिअघि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कोषको प्रतिबद्धता छ । १०८ ब्राह्मणबाट धार्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ । प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो । विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो । चाँदीको जलहरि भने त्यसअघि नै राखिएको जनाइएको छ । गत सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं सवालाख दीप प्रज्वलन गर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई रु ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै बुधबार कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरि र जलपसम्बन्धी निर्णय गरेको छ । कोषको संरक्षक प्रधानमन्त्री र सञ्चालक परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने कानून व्यवस्था छ ।
बागमती प्रदेशसभा बैठक भोलि, अविश्वास प्रस्तावमाथि छलफल हुने
काठमाडौंः बागमती प्रदेश सभाको सातौँ अधिवेशन सोमबार दिउँसो २ बजे बस्ने भएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसेर मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफलमात्र भएर स्थगीत भएको थियो । प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र एक गरी ११० जना सदस्य छन् ।
अटो रिक्साको ठक्करबाट पैदल यात्रुको मृत्यु
राजविराजः पूर्व-पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० स्थित अटो रिक्साले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । अटो रिक्साको ठक्करबाट पैदलयात्री जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १२ बस्ने छुदी अलिको छोरा वर्ष ३६ को ईसराफिल अलीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । पूर्व–पश्चिम लोकराजमार्गमा उत्तरबाट दक्षिणतर्फ कञ्चनरुप नगरपालिका वडा नम्बर १० वस्ने वर्ष २१ को ब्रहमदेव पासवानले चलाई लगेको स. १ ह. ८३८ नम्बरको अटो रिक्साले पैदल यात्रीलाई गएराति ठक्कर दिएका थिए । मृतक ईसराफिल अलीको लास कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरले अटो रिक्सा र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
कर्णालीमा कोरोनाबाट थप एक सङ्क्रमितको मृत्यु
सुर्खेतः कर्णालीमा कोरोना भाइरस बाट थप एक व्यक्तिको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नं. ५ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यही माघ ७ गते ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या भएपछि प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचापको समस्या रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आवश्यक उपचार गरिएको भएपनि सुधार नभई मृत्यु भएको बताए । मृतकको शव व्यवस्थापन भइसकेको छ । योसहित कर्णालीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा १६, दैलेखमा ७, सल्यान, रुकुम पश्चिम, कालिकोट र डोल्पाका १/१ जना र अन्य प्रदेशका तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय १३ पुगेको छ ।
त्रिभुवन विमानस्थल १८ घण्टा मात्रै चलाउने तयारी
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय १८ घण्टामा झार्ने तयारी भएको छ । विमान र यात्रुको सङ्ख्या कम भए पनि अहिले २१ घण्टा सञ्चालनमा रहेको विमास्थल अब १८ घण्टा मात्रै सञ्चालनको तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । यस विषयमा केही दिनभित्रै निर्णय हुने क्षेत्रीको भनाइ छ । कोरोना महामारीका कारण विमानस्थलको आम्दानी घटेको र २१ घण्टा सञ्चालन गर्दा खर्च धेरै बढ्ने भएकाले सञ्चालनको समय १८ घण्टामा झार्न लागिएको उनले बताए । अहिले बिहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको छ । अहिले नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरि चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् । तर यी एअरलाइन्सको नियमित उडान नभएकाले रातभरि विमानस्थल सञ्चालन गर्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा ३ दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । नेपाल एअरलाइन्सले हप्तामा ३ दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ । कतार र एअर अरेबियाको उडान भने राति सवा २ बजे हुँदै आएको छ । विमानस्थल जम्मा १८ घण्टा सञ्चालन गर्ने निर्णयको ४ वटा एअरलाइन्सले विरोध गर्दै आएका छन् । आफूहरूको तालिका नमिल्ने र पटक-पटक परिवर्तन गर्न सम्भव नभएको भन्दै उनीहरूले १२ बजेपछि पनि उडान हुनुपर्ने माग गर्दै आएको उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पालामा २०७५ सालको जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुँदै आएको छ ।
धनुषामा ६ मोटरसाइकलसहित ५ जना पक्राउ
जनकपुरः जिल्ला प्रहरी कार्यालय धनुषाले मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई सार्वजनिक गरेको छ । विभिन्न ठाउँबाट ६ वटा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । धनुषाको सशस्त्र प्रहरी बल नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेशकुमार राउतको पार्किङ गरि राखिएको मोटरसाइकल चोरी भएपछि धनुषा प्रहरीले चोरी भएको मोटरसाइकल पत्ता लगाउने क्रममा चोरहरुको गिरोहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पक्राउ पर्नेहरुमा सिरहा विष्णुपुर गाउँपालिका ३ स्थित रौजाखोरका रोहितकुमार यादव, विष्णुपुर गाउँपालिका २ स्थित राजपुरका प्रमोदकुमार यादव, विष्णुपुर-२ कै मनोजकुमार यादव, धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ स्थित पटेर्वाका अमरेन्द्रकुमार यादव रहेका छन् । चोरीको मोटरसाइकल खरिद गर्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादवलाई समेत प्रहरीले पक्राउ गरेको प्रवक्ता मिश्रले बताए । पक्राउ पर्ने सबै २५ वर्ष मुनिका रहेको उनले बताए । उनीहरुबाट प्रहरीले ६ वटा चोरीका मोटरसाइकलहरु पनि बरामद गरेको छ। धनुषा प्रहरीले उनीहरुबाट ज८प ८७७५ नम्बरको अपाचे, ज१२प ६१११८ नम्बरको २२० सीसीको पल्सर, स७प ५२०३ नम्बरको डिस्कभर, को३८प ७६४ नम्बरको सुपर स्प्लेण्डर, स४प ५७४६ नम्बरको २२० सीसीको पल्सर र ना३९प ६३८२ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको हो । मोटरसाइकल चोरी गर्न प्रयोग भएका केही थान पेच्कस, रिन्च र बैट्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्लाको खजुरा गाउँपालिका–८, स्थायी घर भई वीरेन्द्रनगरमा डेरा गरी बस्ने २८÷२८ वर्षीय सदाम खाँ र सब्बीर खाँ रहेका छन् । भारतीयमुलका दुई नेपालीले वीरेन्द्रनगर–४, एकता टोलमा लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीले उनीहरूका साथबाट ४७० मिलिग्राम लागु औषध ब्राउन सुगर, १७ ट्याब्लेट नाईट्राभेटाम, १७ हजार ८ सय ५० रुपैयाँसहित १ थान मोबाइल बरामद गरेको जनाएको छ ।
देवघाटमा ९८ वर्षीयालाई लगाइयो कोरोना खोप
दमौली । तनहुँको देवघाट गाउँपालिकामा ९८ बर्षीया बृद्धालाई कोभिड विरुद्धको खोप लगाइएको छ । देवघाट क्षेत्र विकास समितिअन्तर्गतको समाजकल्याण केन्द्र ज्येषठ नागरिक आश्रममा बस्दै आएकी ९८ बर्षीया अगमकुमारी उपाध्यायलाई आइतबार कोभिड विरुद्धको खोप लगाई देवघाट गाउँपालिकामा खोप अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदिपकुमार बुढाथोकीले जानकारी दिए । बृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिक अधिकांश ८० वर्ष माथिका छन् । बृद्धबृद्धाहरु दैनिक विभिन्न व्यक्तिले उपलब्ध गराउने भोजन ग्रहण गर्ने र कोभिडको निकै जोखिममा पर्ने भएको कारण सबैभन्दा पहिला बृद्धबृद्धालाई कोभिड खोप लगाईएको बुढाथोकीले बताए । आइतबार बृद्धाश्रममा बस्ने ३४ जना बृद्धबृद्धा, १३ जना आश्रमका कर्मचारी, ५० जना महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मी, ३ जना सरसफाई कर्मी, ३ जना नगर प्रहरी १ जना एम्बुलेन्स चालक गरि १०४ जनालाई कोभिड विरुद्धको खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।
१०५ संक्रमित थपिँदा २८८ जना निको, २ को मृत्यु
काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये सक्रिय संक्रमित संख्या २ हजार ५९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २८८ जना निको भए । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । आइतबार थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ ।

