निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानकाे पक्षमा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानको पक्षमा हुने बताए ।

शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामामा बोल्दै निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा नटेकेको आफूलाई अहिले निरंकुशको संज्ञा दिएको बताए। प्रधानमन्त्री ओलीले आफू सँधै नागरिक सर्वोच्चता र स्वाभिमानका पक्षमा रहेको बताए।

प्रधानमन्त्री ओलीले घोषणा गरिएकै मितिमा चुनाव हुने दाबी पनि गरेका छन् । नयाँ जनादेशका लागि चुनाव घोषणा गरेको भन्दै चुनावको मितिमा कुनै तलमाथि नहुने बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताए । उनले चुनावमार्फत् यसको जवाफ पाउने भन्दै अहिले पार्टीमा शुद्धिकरणको काम भइरहेको दाबी गरे ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

काठमाडौंः हरेक दिन नयाँ-नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर रु आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल रु ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । आज कारोबार भएका कुल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २४.२२, व्यापार ९०.७७, निर्जीवन बीमा ७९.३४, अन्य ३१.६, सामूहिक लगानी कोष ०.०५ ले उकालो लाग्दा होटल २४.०७, विकास बैंक २०.७७, जलविद्युत् ३.५६, वित्त ६.७८, उत्पादन ४९.६ र जीवन बीमा ८८.५८ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६० करोड ३७ लाख ४० हजार ७१९ बराबरको कारोबार भयो । यसैगरी नबिल बैंक रु ३३ करोड १७ लाख तीन हजार ५७९, एनसीसि बैंक रु ३१ करोड ३५ लाख ६१ हजार ९७१, एनआइसी एशिया बैंक रु २९ करोड ७६ लाख ४१ हजार ५३३, नेपाल बैंक लिमिटेड रु २८ करोड ६० लाख ८९ हजार ७४६, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड सात लाख ५० हजार २८५, कुमारी बैंक रु २२ करोड ४३ लाख ९१ हजार ५४, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ४२ लाख ५४ हजार ७३१ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु १७ करोड ५५ लाख तीन हजार ६७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको शेयर उकालो लाग्दा १०७ कम्पनीको ओरालो लाग्यो भने पाँच कम्पनीको कुनै परिवर्तन भएन । कारोबारका आधारमा आज नागरिक लगानी कोषको शेयरमा सकारात्मक सर्किट लाग्यो । सो कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । गुराँस लघुवित्त ९.९५, प्रभु लाइफ इन्स्योरेन्स ९.८७, माउण्टेन इनर्जी ९.८१, नेशनल हाइड्रो पावर ९.४०, हिमालयन पावर पार्टनर ९.३८, गुर्खाज फाइनान्स ८.९६, राष्ट्रिय बीमा कम्पनी ७.८१ र एनआरएन इन्फास्चरका लगानीकर्ताले ७.५९ प्रतिशतले कमाए । यसैगरी श्री इन्भेस्टमेन्ट फाइनान्स ६.९८, सिन्धु विकास बैंक ५.४७, प्रागेसिभ फाइनान्स ५.४१, गरिमा विकास बैंक ५.०४, नेपाल फाइनान्स ४.८१, सामुदायिक लघुवित्त ४.५५, सपोर्ट माइक्रोफाइनान्स ४.४३, सबैको लघुवित्त ४.३९ र वेस्ट फाइनान्सका लगानीकर्ताले ३.८९ प्रतिशतले गमुाए ।  

प्रचण्डले शिलान्यास गरेको पुलको ओलीद्वारा उद्घाटन, सर्वसाधारणलाई निषेध !

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका छन् । प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरे । कार्यक्रममा सर्वसाधारणलाई निषेध गरिएको थियो । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए । त्यसो त महदेवा र सिसहनिया गाउँका कांग्रेस तथा पूर्वमाओवादी समर्थक गाउँलेले यसअघि नै ओलीले पुल उदघाटन गर्ने कार्यक्रममा नजाने निर्णय गरेका थिए । प्रधानमन्त्रीको आगमनको विरोध जनाउन शनिबार साँझ प्रचण्ड–माधव समूहले देउखुरी क्षेत्रमा मशाल जुलुस निकालेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते पुल शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्ड सो पुलको शिलान्यास गर्न जाँदा तत्कालीन एमाले कार्यकर्ताहरुले दाङ बन्द आह्वान गरेका थिए । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो । पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुनेछ । पुल उद्घाटनपछि ओलीले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गर्ने २६ जना अधिकारकर्मी पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्ने २६ जना अधिकारकर्मी पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजले ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको थियो । सो क्रममा २६ जना अधिकारकर्मीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यलगायत रहेका छन् । उनीहरुले नेपाल पुलिस क्लबमा राखिएको छ। प्रदर्शनमा सहभागीहरूले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकारः कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

उच्च अदालतमा तीन मुख्य न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषदको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । निरौला मुख्य न्यायाधीशमा नियुक्त भएसँगै सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त भएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिए । कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ । यस्तै, उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीशमा कार्यरत प्रकाशचन्द्र गजुरेललाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । गजुरलेललाई जकनपुरमै पदस्थापन गरिएको छ । उच्च अदालत तुल्सीपुरमा कायम मुकायम मुख्य न्यायाधीश रहेकी नीता गौतम दीक्षितलाई मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । दीक्षितलाई पनि तुल्सीपुरमै पदस्थापन गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

१० महिनापछि काठमाडौंका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

काठमाडौं । १० महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए । गत मङ्सिरको पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय छन् ।

टिपरले ठक्कर दिँदा दुईको घटनास्थलमै मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो । घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।

‘सामान्तीका एजेण्ड’ को दुस्साहसलाई पराजित गर्नैपर्छः प्रचण्ड

काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले संसद् विघटनको कदम प्रतिगामी भएको बताएका छन् । प्रदेश २ का नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनलाई हर हालतमा परास्त पार्नैपर्ने बताए । उनले संसद् विघटनविरुद्धको संघर्ष जीवन मरणको संघर्ष रहेको बताए । उनले कामचलाउ सरकारका प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई ‘सामान्तीका एजेण्ड’ को संज्ञा दिए । ‘सामान्तीका एजेण्ड’ को दुस्साहसलाई पराजित गर्नुपर्ने प्रचण्डको भनाई थियो । उनले अब हुने आन्दोलन थप प्रभावकारी बनाइने बताए । ओली समूहले गर्ने भनिएको सभा पञ्च र्‍यालीभन्दा फरक नहुने प्रचण्डले बताए ।

प्रचण्ड–नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा (सूचीसहित)

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले तेस्रो चरणकाे आन्दोलन घोषणा गरेको छ । उक्त समूहले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस निकालेर तेस्रो चरणकाे आन्दाेलन शुरू गरिनेछ । सार्वजनिक आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन र विरोध सभा गरिने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । त्यसअघि माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध सभा र प्रदर्शन गरिनेछ । यस्ता छन् अन्य आन्दोलनका कार्यक्रमः            

काठमाडौंमा सबै विद्यालयलाई पूर्णरुपमा सञ्चालन गर्न अनुमति

दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । गत मङ्सिरको पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । बैठकले वडा १२ बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नं ३ महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इञ्जिनीयरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इञ्जिनीयरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ देखि १२ को कार्यक्रम हो । अनुमति दिइएका विद्यालयलाई कामपाले रु ५० लाख अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी वडा नं २६ सामाखुशीमा रहेको हार्मोनी मन्टेश्वरी इलिमेन्ट्री स्कूललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेशन फाउन्डेशन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कूल कायम गर्ने निणय पनि गरेको छ । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।

विप्लव नेकपाका नेता अनिल विरही रिहा

काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् । जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए । त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चलेको थियो । शुक्रबार काभ्रे जिल्ला अदालतबाट साधारण तारेखमा रिहा गरेपछि उनलाई दोस्रोपटक मोरङ पुर्‍याइएको थियो ।

संघर्षका कार्यक्रम थप प्रभावकारी बनाउने नेकपाको निर्णय, कार्यालय सचिवमा तुलाधर नियुक्त

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले संविधान विपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै राजनीतिक दल, नागरिक समाजलगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका कार्यक्रम र विशेष गरी यही माघ ९ गते काठमाडौंमा आयोजित जनसभा सफल भएको निष्कर्ष निकालेको छ । बैठकमा संयुक्त आन्दोलनका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग भएको छलफलका बारेमा पार्टी अध्यक्ष एवम् सो कामका लागि जिम्मेवारी पाउनुभएका नेताले जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटीको बैठकमा सम्बन्धित प्रदेशका प्रमुख एवम् स्थायी कमिटी सदस्यले आ-आफ्ना प्रदेशको समग्र पार्टी, जनवर्गीय सङ्गठन एवम् पछिल्ला जनसङ्घर्षका कार्यक्रमका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले केन्द्रीय कार्यालय सचिवमा नेता गङ्गालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्का एक उपसचिवसमेत नियुक्त गरिने जनाइएको छ । बैठकले सोमबार नै थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने अख्तियारी सङ्घर्ष समितिलाई दिएको छ । त्यस्तै, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीसहित साङ्गठनिक एकीकरणका बाँकी काम एकाध दिनभित्रै सम्पन्न गर्ने र रिक्त पदमा तत्काल पदपूर्ति गरिने भएको छ । सो कार्यका लागि पार्टी स्थायी कमिटीका सदस्यहरुको परामर्शमा सचिवालयले आवश्यक निर्णय गर्ने अख्तियारीसमेत बैठकले दिएको छ । पार्टीको अनुशासन तथा विधिलाई समेत प्रभावकारीरुपमा कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ । नेकपाले यही माघ ३ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी, देश र जनताविरुद्ध गतिविधि गरेको पाइएकाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी आजको बैठकले कारवाही गरेको छ ।’

नेकपा आधिकारिकता विवादको टुंगो लगाउन निर्वाचन आयोगको बैठक जारी

काठमाडौं : निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको टुंगो लगाउने तयारी गरेको छ । नेकपाको आधिकारिकता टुंगा लगाउन कान्तिपस्थित आयोगको कार्यालयमा बैठक जारी रहेको निर्वाचन आयोगका उच्च एक अधिकारीले जानकारी दिए । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । प्रचण्ड-नेपाल समूहले आधिकारिकता र चुनाव चिह्नको दाबी गर्दै आएको छ । ओलीलेसमेत आफ्नो हस्ताक्षर बिनाका कुनै पनि निर्णय आधिकारिक नभएको दाबी गर्दै आएका छन् । प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड-नेपाल समूहले आयोगमा पार्टीका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफ्नो आधिकारिकता दाबी गरेका छन् । ओलीले भने आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको भन्दै कतै दाबी नै गर्नु नपर्ने बताउँदै आएका छन् । ओलीमाथि अनुशासनको कारबाही गर्दै आएको प्रचण्ड-नेपाल समूहले आइतबार मात्र पार्टीको साधारण सदस्यबाट हटाएको छ। आइतबार बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

मेलम्ची खानेपानीः दोस्रो र तेस्रो चरणको पहुँच मार्गको निर्माण सुरु

काठमाडौंः राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको दोस्रो र तेस्रो चरणका लागि पहुँच मार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । मेलम्ची पुल बजारदेखि दोस्रो चरणको लार्के हुँदै याङ्ग्रीसम्म पुग्ने २५ किलोमिटर पहुँच मार्गको निर्माण कार्य भइरहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद पन्तले बताए । कूल २५ किलोमिटर सडकमध्ये सडक विभागद्वारा १५ र १० किलोमिटर खानेपानी आयोजनाद्वारा निर्माण भइरहेको हो । कालोपत्रसहित २ लेनको सडक निर्माणका लागि जग्गाधनीहरुलाई क्षतिपूर्ति रकम वितरण भइरहेको बताइएको छ । गत डिसेम्बरमा सकिनुपर्ने उक्त सडकको काम क्षतिपूर्तिमा कुरा नमिल्दा स्थानीयवासीले अवरोध गरेपछि तोकिएको समयभित्र काम पूरा हुन नसक्दा पछि धकेलिएको आयोजनाले जनाएको छ । दोस्रो चरणको लार्के खोलाबाट दैनिक १७ करोड लिटर पानी थप गरिने र यसका लागि मुहानबाट अम्बाथान मुहानको हेडवक्र्स (बाँध) सम्म नौ किलोमिटर सुरुङ निर्माण गरिनेछ । यसैगरी तेस्रो चरणको याङ्ग्री खोलाबाट थप दैनिक १७ करोड लिटर पानी ल्याई दोस्रो मुहानसम्म जोड्न एकदेखि दुई किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अनुमान गरिएकाले जम्मा ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने सूचना अधिकारी पन्तले जानकारी दिए ।

कतार प्रहरीमा पठाउने नाममा ठगी गर्ने गिरोह खोज्दै विभाग

काठमाडौंः कतारको रोजगारीको लागि अवैधानिक रुपमा भारतीय बाटो प्रयोग गर्दै नेपाली युवा पठाउने गरिएको पाइएको छ । कतारमा विश्वकप फुटबल तयारी भईरहेको छ त्यसको लागि सुरक्षा गार्ड लगायत भौतिक पूर्वाधारको निर्माणको लागि धेरै कामदार कतारलाई आवश्यक छ । वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार त्यसरी कतारमा १६० भन्दा बढी युवा पुगेका छन् । कतार प्रहरीको लागि काम गर्न तीन देखि पाँच हजारको हाराहारीमा नेपाली युवाको माग रहेको अनौपचारिक रुपमा जानकारी आएको विभागको भनाइ छ । उक्त कामको लागि कतार पठाउने बहानामा प्रति व्यक्ति आठ देखि १० लाख सम्म असुलेर ठगी धन्दा चलाउने गिरोह सक्रिय रहेको विभागको ठहर छ । राम्रो तलव सुविधा भएको कारण उक्त कामको लागि नेपाली युवा धेरै पैसा तिरेर जाने भएकाले दलालहरु जोखिम मोलेरै युवा कतार पठाउँदै आएका छन् । उक्त काममा मासिक एक लाख ८० हजार नेपाली रुपैयाँ तलव भएको विभागले बताएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले कतार प्रहरीमा भारतीय एअरपोर्ट प्रयोग गर्दैै पुगेको कतारस्थित नेपाली राजदूतावासले जानकारी गराएको उनले बताए। अवैधानिक रुपमा भारतको बाटो हुँदै कसरी कुन माध्यमबाट पुगेका छन् भन्ने विषयमा राजदूतावाससँग छलफल समेत भएको विभागका महानिर्देशक दहाल बताउनुहुन्छ । कतारको लागि वैदेशिक रोजगारीमा पठाउनको लागि सबै प्रक्रिया खुला भएको अवस्थामा पनि गिरोह सक्रिय भएकाले उनीहरुलाई खोज्ने काम सुरु भइसकेको उनले बताए। महानिर्देशक दहालका अनुसार केही दिनदेखि कतारको प्रहरीमा पठाउने भन्दै गौशाला लगायत क्षेत्रमा आठ देखि १० लाख रुपियाँको ‘बार्गेनिङ’ भएको सुन्नमा आएसँगै आइतबार विहान भिसाको कपि नै प्राप्त भएको छ । एक महिना अगाडि कतार प्रहरीमा नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति विना नै केही वैदेशिक रोजगार कम्पनीले विदेश पठाउने भन्दै सयौँ युवाको अन्तर्वार्ता लिएको अवस्थामा वैदेशिक रोजगार विभागको अनुगमन टोलीले फेला पारेको थियो । विभागको टोलीले धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालिमा र रानीबारीस्थित होप इन्टरनेसनल म्यानपावरमा अनुगमन गर्ने क्रममा कतारमा सुरक्षा गार्डका लागि मागको पूर्वस्वीकृति विना अन्तर्वार्ता लिएको अवस्थामा फेला पारेको थियो । ती कम्पनीले सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोली आकस्मिक अनुगमनमा पुगेको थियो । अनुगमनपछि विभागको टोलीले आवश्यक कागजातसहित वैदेशिक रोजगार कम्पनीका सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटेर उनीहरुको कारोवार समेत रोक्का गरेको थियो । विदेशबाट नेपाली श्रमिकको मागपछि विभागबाट पूर्वस्वीकृति लिएर मात्र कामदार छनोट गर्ने कानुनी प्रावधान छ । कतार पुलिसमा रोजगारीमा जान निःशुल्क भिसा र टिकट दिने भने पनि म्यानपावरले १० लाखसम्म असुली गर्ने गरेको गुनासो आएको छ ।  

विदेशी लगानी भित्र्याउने निर्णय संशोधन गर्न माग

काठमाडौंः कृषि प्राथमिक विभिन्न क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयप्रति असहमति जनाउँदै नेपालका विभिन्न पेशागत कृषि क्षेत्रमा संलग्न व्यवसायीको छाता सङ्घ सङ्गठनले सो निर्णय संशोधन गर्न सरकारसँग माग गरेका छन् । दुग्धजन्य सामग्रीको कारोबार गर्ने व्यवसायीको छाता सङ्गठन नेपाल डेरी एसोसिएशन केन्द्रीय कार्यसमितिद्वारा आज वाग्मती प्रदेशको राजधानी हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग निर्णय सच्चाउन माग गरेका हुन् । नेपालको सन्दर्भमा हाल स्वदेशी पूँजी नै प्रर्याप्त भएको कृषि प्राथमिक क्षेत्रमा विदेशी लगानी खुल्ला गरिनुले राष्ट्रिय मूल्य शृङ्खलामा नै ठूलो असर पुग्ने हुँदा यस क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुने व्यवसायीको निष्कर्ष छ । सो निर्णयबाट नेपाली बजारमा समग्र कृषि क्षेत्रसहित (दूधजन्य सामग्री उत्पादन, पशुपक्षीपालन व्यवसाय, कृषि बीउ तथा तरकारी सम्बन्धी व्यवसाय, मौरीपालक व्यवसाय, मत्स्यपालन व्यवसायी, कुखुरापालक तथा अण्डा उत्पादन गर्ने व्यवसाय र केरा उत्पादक व्यवसाय) प्रत्यक्ष मारमा पर्ने व्यवसायीको निष्कर्ष छ । नेपालमा वर्तमान परिप्रेक्षमा कृषि प्राथमिक विभिन्न क्षेत्रमा हालसम्म निजी डेरी उद्योगमा ३० अर्बभन्दा बढी लगानी, पोल्ट्री व्यवसायमा करीब रु ४० अर्बको लगानी, मत्स्यपालनमा रु ११ अर्बको लगानी र मौरीपालनमा करीब रु चार अर्बको लगानी रही कृषिका मुख्य यी ४ वटा क्षेत्रका मात्र करीब रु ८५ अर्बको लगानी भएको दाबी गरिएको छ । यी व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १५ लाखभन्दा बढी मानिस संलग्न रहिआएकामा यी स्वदेशी पूँजीसमेत धारासायी हुनसक्ने भन्दै सो निर्णय सच्चाउन सरकारसँग माग गरिएको नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए। कृषिको प्राथमिक तहमा कुनै पनि शर्तमा वैदेशिक लगानी आउँदा ठूलो जनसङ्ख्याको आयस्रोत गुम्ने खतरा भएकाले कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय अविलम्ब फिर्ता लिन व्यसायीले माग गरेका हुन् । नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रिपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्तसहित डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथामिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णय नेपाली किसानको विपक्षमा रहेको व्यसायीको ठम्याइ छ । कुनै पनि क्षेत्रमा विदेशी लगानी खुल्ला गर्दा त्यस क्षेत्रमा स्वदेशी पूँजी नै पर्याप्त भई समयसापेक्ष प्रवद्र्धन र विकसित रुपमा सञ्चालन गर्न सरकारले निजी क्षेत्रलाई पर्याप्त सहयोग गर्नुपर्ने उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं महासङ्घअन्तर्गतको कृषि उपज केन्द्रका संयोजकसमेत रहनुभएको अरुणराज सुमार्गीले बताए। डेरी उद्योगमा करीब ३० हजारले प्रत्यक्ष रुपमा रोजगारसमेत पाएकाले यस क्षेत्रमा विदेशी लगानी ल्याउँदा उक्त पूँजी डुब्न गई व्यवसायीलाई नै मजदूर बनाउने काम हुन्छ र रोजगारीसमेत गुम्न गई नेपाली युवा शक्ति विदेश पलायन भई देश परनिर्भरतातिर धकेलिने व्यवसायीको बुझाइ छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक २०७५ को दफा ३ उपदफा २० अनसूचीमा वैदेशिक लगानी खुल्ला नगरिएका उद्योग व्यवसायमा स्वदेशमै फस्टाउँदै गरेका मत्स्यपालन, बुग्ध उत्पावनर प्रशोधन, पशुपक्षी तथा माहुरीपालन, पोल्टी उद्योगलगायत कृषिका प्राथमिक उत्पादनका अन्य क्षेत्रलाई साविकअनुसार कुनै संशोधन नगरी यथावत् राख्न माग गरिएको छ । निजी क्षेत्रको अर्बौंको लगानी भएको अवस्थामा प्रमुख सरोकारवालासँग आवश्यक र सल्लाहबिना राष्ट्र र किसानको हित विपरीत गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर दीर्घकालीन असर पर्ने भएकोले सो निर्णय खारेज गर्नुपर्ने नेपाल डेरी एशोसिएशनका पूर्व अध्यक्ष सुमित केडियाले बताए। यी पेशामा आवद्ध व्यवसायीलाई मजदूर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने, स्वदेशी व्यवसायीको उद्यमशीलता विकासमा घाटा पुग्ने भएकाले किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटोसमेत अवरुद्ध भई देश चरम गरीबीमा धकेलिनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने व्यवसायीको तर्क छ । कृषिका प्राथमिक क्षेत्रमा विदेशी लगानी भित्राउँदा विद्यमान् उद्योग कलकारखाना एवं किसान वर्गमा प्रत्येक्ष असर पुग्ने व्यवसायीको दाबी छ । नेपालमा करीब ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् । प्रायः सबै निर्वाहमुखी कृषि गरेर स्वरोजगार रहेका छन् । स–साना लगानी गरेर आफ्ना परिवार पाल्ने औषधि उपचार गर्न पढाइ खर्च गर्ने गरिरहेकामा अब यस्तो विदेशी लगानी आएमा पेशा धरासायी बन्न सक्ने व्यवसायीको गुनासो छ । स्वदेशीमै लगानी गर्न नसकिने वा सम्भावना नभएको व्यवसायमा मात्र वैदेशिक लगानी ल्याउनु उपयुक्त भएपनि आफैँ आत्मनिर्भर रहने, जनताले लगानी गर्न इच्छुक रहेका क्षेत्रमा विदेशी लगानी बन्द गरिनुपर्ने व्यवसायीको माग छ । नेपाली किसान र उद्योगीको हित चाहेको भए वैदेशिक लगानी गर्न आउँदा सरकारले भनेको आवश्यक पूर्वाधार बिजुली बत्ती, सडक, पानी र जमीन स्वदेशी उद्योगलाई उपलब्ध गराउनु पर्ने हुुँदा यद्यपि सो सहयोग नेपाल किसान र व्यवसायीलाई गरेमा स्वदेशी उद्योगले अहिलेको भन्दा तेब्बर थप लगानी लगाउने अवस्था सिर्जना हुने भएकाले सरकारले यसप्रति ध्यान दिन व्यवसायीले आग्रह गरेका छन् । व्यवसायीको सो मागप्रति नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय किसान समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड डेरी उद्योग सङ्घ, कृषि बीउ तथा तरकारी सहकारी सङ्घ नेपाल, दुग्ध उत्पादक सहकारी सङ्घ, बाख्रा व्यवसायी महासङ्घ मौरीपालक महासङ्घ नेपाल मत्स्य व्यवसायी सङ्घ नेपाल कुखुरापालक किसान सङ्घ, आइपिएम किसान सङ्घ, केरा उत्पादक सङ्घ र राष्ट्रिय किसान समूह महासङ्घको ऐक्यबद्धता रहेको छ । गोरखापत्रबाट साभार