ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाइयो
काठमाडौं : काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाइएको छ ।
आज बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओलीलाई साधारण सदस्यबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
संसद् विघटनपछि प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो । त्यसपछि साधारण सदस्यबाट किन नहटाउने भन्दै ओलीलाई तीन दिने स्पष्टिकरण सोधिएको थिए । स्पष्टिकरण नदिएपछि उक्त समूहले ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाएको हो ।
बैठकले माघ ९ गते संसद् विघटनविरुद्ध भएको प्रदर्शन सफलता पूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
भोलि सोमबार संसद् विघटनविरुद्ध आन्दोलनकाथप कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बताए ।
बालिका बलात्कार गरी फरार रहेका भारतीय पक्राउ
वीरगंज । वीरगंजमा शनिवार बालिकालाई बलात्कार गरी फरार रहेका भारतीय नागरिकलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ । भारत विहार थाना पलनवा ग्राम पञ्चायत लौकरिया वडा नं.५ स्थायी घर भई वीरगंजमा साथीको घरमा डेरा खोज्ने बहानामा आइपुगेका ३५ वर्षीय नेहाल मियाँलाई शनिवार राति बालिकालाई बलात्कार गरी फरार रहेकोमा पर्सा प्रहरीले अभियुक्तलाई आज बिहान बीरगंजबाट पक्राउ गरेको छ । पक्राउ परेका मियाँविरुद्ध आज पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मनोजित कुँवरले जानकारी दिए । साथीका घरमा आएका अभियुक्त मियाँले रातको समयमा बालिकालाई बलात्कार गर्दा उनी चिच्याएपछि घर परिवारले थाहा पाएको र घटनापछि अभियुक्त फरार भएको कुँवरले जानकारी दिए । बालिकाका बुवा र अभियुक्त नेहाल मियाँ साथी भएको र उनी कोठा खोज्न भन्दै साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार राति बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएको प्रवक्ता कुँवरले बताए ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर कराइरहेकाहरू संविधान विरोधी हुन्ः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेकाहरू संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी भएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूसँग आज राजधानीमा भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोड जामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानुपरेको बताए । प्रधानमन्त्री ओलीले निर्वाचनमा जाने निर्णय गरेकाले कसरी मेरो कदम तानाशाही हुन्छ, सांसद खरिद बिक्रीमा लागेर पदमा बसिरहन खोजेको हो र तानाशाही हुने भनी उल्टै प्रश्न गरे । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरूलाई जनताले ठेगान लगाउने बताए । प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरूको साथमा सरकार रहेकाले उच्च मनोबलका साथ आ–आफ्नो क्षेत्रमा अगाडि बढ्न आग्रह गरे ।
संसद् विघटनको सूचना राजपत्रमा किर्ते, आधिकारिकता जाँच्न माग गर्दै निवेदन
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले आइतबार संवैधानिक इजलासमा निवेदन दिएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । तर त्यसको सूचना राजपत्रमा प्रकाशित गरिएको थिएन । सरकारले सर्वोच्च अदालतमा कुरा उठेपछिमात्र शुक्रबार प्रतिनिधि सभा विघटन भएको सूचना छापिएको राजपत्र इजलासमा पठाएको थियो । उक्त राजपत्रमा प्रकाशित मिति पुस ५ गते नै राखिएको छ । तर वेबसाइटमा भने शुक्रबारमात्रै अपलोड गरिएको छ । राजपत्रमा के भएको थियो ? पढ्नुस् यो समाचारः संसद् विघटनमा अर्को किर्तेः पुस ५ गतेको मिति राखेर शुक्रबार राजपत्रमा प्रकाशन
तथ्यांक विभागले माग्यो ४७ हजार कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । केन्द्रीय तथ्यांक विभाग जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा कर्मचारी भर्नाका लागि विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक भर्ना (अनलाइन) दरखास्त फाराम सम्बन्धी जानकारी। सुपरिवेक्षक राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ काे दफा १३ बमाेजिमकाे देहाय बमाेजिमकाे याेग्यता पुगेकाे नेपाली नागरिकले सुपरिवेक्षकका लागि आवेदन दिन सक्नेछन्। न्यूनतम शैक्षिक याेग्यता: स्नातक तह वा साेसरह उत्तीर्ण गरेकाे । उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पूरा भई ४० (चालिस) वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ (पैँतालिस्) वर्ष ननाघेकाे । स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक। गणक राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ काे दफा १३ बमाेजिमकाे देहाय बमाेजिमकाे याेग्यता पुगेकाे नेपाली नागरिकले गणकका लागि आवेदन दिन सक्नेछन्। न्यूनतम शैक्षिक याेग्यता: १०+२ (दश जाेड दुई) वा साेसरह उत्तीर्ण गरेकाे। उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पूरा भई ४० (चालिस) वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ (पैँतालिस्) वर्ष ननाघेकाे । स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक। अनलाईन मार्फत दरखास्त दिँदा अपलाेड गर्नुपर्ने कागजात र प्रमाणपत्र हालसालै खिचेकाे पासपाेर्ट साईजकाे फाेटाेकाे स्क्यान/डिजिटल कपी, नेपाली नागरिकताकाे प्रमाण पत्रकाे स्क्यान/डिजिटल कपी (दुवै साईड), न्यूनतम शैक्षिक याेग्यताकाे लब्धाङ्क प्रमाणपत्र (Transcript) काे स्क्यान/डिजिटल कपी, यदि उम्मेदवारले तथ्यांक संकलनसम्बन्धी कुनै तालीम लिएकाे वा तथ्यांक सकंलनकाे अनुभव भएकाे कुरा उल्लेख गर्न चाहेमा साे कुरा पुष्टी हुने कागजातकाे स्क्यान/डिजिटल कपी समेत अपलाेड गर्नुपर्नेछ। उम्मेदवारले दरखास्तसाथ अपलाेड गर्नुपर्ने कागजातकाे स्क्यान/डिजिटल कपी बढीमा २ एमबी (2 MB) सम्म र १०२४ पिक्सेल (1024px) सम्म हुनुपर्नेछ, उम्मेदवारले नयाँ फाराम सुरु गरेकाे ७ (सात) दिनसम्म त्यस्ताे फाराममा आवश्यक जानकारी फेरबदल गरी अन्तिममा पेश गरी सब्मिसन् नम्बर (Submission Number) प्राप्त गर्न सक्नेछ। यसका लागि फारामकाे तल पट्टी रहेकाे “सेभ गर्नुहाेस्” बटनमा थिच्नुपर्नेछ र सम्पादन गर्नका लागि दिइएकाे प्रक्रियाकाे पालना गरी जानकारी सम्पादन गर्न सकिनेछ। तर, उम्मेदवारले एकपटक फाराममा अनिवार्य रहेका विवरण भरी पेश गरी सब्मिसन् नम्बर (Submission Number) लिईसकेकाेमा त्यस्ताे फाराम सम्पादन गरी पुनः पेश गर्न सकिने छैन।
आज सात वटै प्रदेशहरुमा कोभिड–१९ विरुद्धको खोप पुग्दै
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सबै प्रदेशहरुमा पुग्दैछ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार प्रदेशहरुबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । अस्पताललाई नै खोप केन्द्र बनाएर पहिलो चरणको खोप लगाइनेछ । खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड(१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ । सातै प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय अस्पतालबाट खोप लगाइने बताइएको छ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने तयारी भएको मन्त्रालयले जनाएको छ । भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।
प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आइतबार मध्याह्न १२ बजे पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त बैठकमा संसद् विघटनविरुद्ध माघ ९ गते गरेको प्रदर्शनको समिक्षा र थप आन्दोलनका कार्यक्रमबारे छलफल हुनेछ । साथै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्थालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
संविधानसभाका अध्यक्ष नेम्वाङ भन्छन्– मैले बोलेको कुरामा प्रष्ट छु, त्यो मेरो अविचिलित अडान हो
काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार नरहेको भन्ने आफूले बोलेका कुरामा अहिले पनि उत्तिकै अडिग रहेको बताएका छन् । हाल ओली पक्षधर नेकपाका नेता समेत रहेका नेम्वाङले अनौपचारिक छलफलका क्रममा आफ्नो मतका बारेमा प्रधानमन्त्री र सर्वोच्च अदालतमा रिट निवेदन दिने पक्षसँग समेत छलफल गरेका बताएका छन् । ब्रेकलिंक अनलाइनमा प्रकाशित अन्तर्वार्तामा नेता नेम्वाङले नेपालको संविधानले प्रधानमन्त्रीलाई यसअघिजस्तो चाहेको बेला संसद विघटनगर्ने अधिकार नदिएको भन्ने बारे धुलिखेलाम आयोजित कार्यक्रममा बोलेको कुरा साँचो भएको बताएका हुन । “ त्यो सन्दर्भमा ०७६ श्रावण ४ गते, मलाई त्यो पनि याद छ, किनभने हामीले संसद्को तर्फबाट महत्वपूर्ण कार्यक्रम काभ्रेको धुलिखेलमा राखेका थियौँ । त्यसमा ‘संसदीय मामिला पत्रकार समाज’ का साथीहरुको बीचमा एउटा छलफल भनौँ वा एउटा प्रशिक्षण भनौँ, त्यस्तो कार्यक्रम आयोजना भएको थियो । मैले त्यहाँ भाग लिएको थिएँ । त्यसै गरी, संसद्सँग संविधान दर्पणसम्बन्धी अन्तर्वार्ता जस्तो पनि भएको छ ।” उनले भनेका छन्, “ यसै गरी, विभिन्न ठाउँमा मैले स्वाभाविक रुपमा यी विषयहरुमा बोलेको छु । बोल्दा यो जुन अहिले केन्द्रबिन्दुमा रहेको विषय छ, त्यो पनि रहने नै भयो । त्यसमा मैले आफ्ना कुराहरु राखेको छु । ती मैले बोलेका कुराहरुमा म प्रष्ट छु । र, मेरो त्यो अविचलित अडान हो ।” प्रधानमन्त्रीले आफ्ना कुरा राखेर संसद विघटन गरेपनि आफ्नो असहमति रहेको कुरा उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले उक्त निर्णय लिँदा समेत आफूले छलफल गरेको उनले स्पष्ट पारेका छन् । “अनौपचारिक रुपमा मेरा आफ्ना कुराहरु प्रधानमन्त्रीलगायत थुप्रै साथीभाइहरुलाई भनेको छु । रिट निवेदन पक्षका नेताहरुलाई पनि मैले भनेको छु ।” उनले भनेका छन्, “मलाई थाहा छ । तर अहिले म त्यसबारेमा बोल्दिनँ तर म मौन रहेको होइन । यो कुरा म भनिरहेको छु ।” अहिले अदालतमा सोही विषयमा सुनुवाई भइरहेकोले आफूले कुनै कुरा नराख्ने उनले बताएका छन् । तर सर्वोच्च अदालतले सही ढंगले संविधानको व्याख्या गर्नेमा भने उनले आशा देखाएका छन् । विषय अदालतमा प्रवेश गरेकोले आफूलाई बोल्न बाधा परेको उनले बताएका छन् । “अदालतमा यो विषय प्रवेश ग¥यो । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछाडि यसलाई लिएर ११ वटाभन्दा बढी ९१३ वटा० रिट–निवेदनहरु सर्वोच्च अदालतमा दायर भएका छन् । र, सर्वोच्च अदालतमा यी निवेदनमार्फत् मुद्दाको रुपमा विचाराधीन छ ।” उनको भनाई छ । अदालतको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिँदै नेम्वाङले अदालतको निर्णय पर्खिन समेत आग्रह गरेका छन् । “सर्वोच्च अदालत यो गम्भीर विषयमा लागिरहेको छ । सर्वोच्च अदालतको निर्णय पर्खौं ।” उनको भनाई छ । अन्तर्वार्तामा संसद विघटनको निर्णय खारेज हुनेतर्फ नेम्वाङले संकेत गर्दै भनेका छन्– “सर्वोच्च अदालतले निर्णय गरिसकेपछाडि त्यसैलाई मानेर यो देशका प्रधानमन्त्रीदेखि सामान्य नागरिकहरुसम्म सबै राजनीतिक दलहरु त्यसै बमोजिम अगाडि बढौँला । मलाई लाग्छ– त्यो सबैभन्दा उपयुक्त बाटो हो ।”
आज नेकपाको बृहत मोटरसाइकल र्याली, यस्तो छ रुट र भेला हुन स्थान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले संसद विघट्नविरुद्ध आज बृहत मोटर साइकल र्याली गर्ने भएको छ । संसद विघट्नलाई प्रतिगमन बताउँदै आएको नेकपाले चरणबद्ध आन्दोलन अन्तर्गत आज मोटरसाइकल र्याली गर्न लागेको जनाएको छ । मोटरसाइकल र्यालीको तयारीका लागि पार्टीसम्बद्ध सबै संगठनहरुले आवश्यक तयारी गरेका छन् । पार्टी निकट युवा, विद्यार्थी, मजदूर, महिला, सम्पर्क कमिटीहरुलगायत सबैले बैठक गरेर मोटरसाइकल ¥यालीका लागि सम्पर्क स्थान र अन्य आवश्यक छलफल गरेका हुन । मोटरसाइकल र्याली आज दिउँसो २ बजे भृकुटीमण्डबाट शुरु हुने भएको छ । पार्टीले दिएको जानकारी अनुसार, प्रदर्शनी मार्ग जम्मा भएर पुतली सड़क, वागवजार , रत्नपार्क, भद्रकाली, हिदगेट,त्रिपुरेस्वर,थापथाली,पुलचोक,जाउलाखेल, लगनखेल , सातदोवाटो, कोटेश्वरहुँदै तिनकुनेमा समापन हुनेछ । र्यालीलाई व्यवस्थित गर्न मजदूरहरु लाजिम्पाटमा, विद्यार्थीहरु शंकरदेवमा, सम्पर्क कमिटीहरु रत्नराज्य क्याम्पस अगाडि सम्पर्क भएर भृकुटीमण्डपतर्फ लाग्नेछन् । यसैगरी युवा संघले भने भृकुटीमण्डमा सम्पर्क स्थान तोकेको छ । आजको मोटरसाइकल र्यालीपछि माघ ९ गते १२ बजे रत्नपार्कबाट बृहत जनप्रदर्शन गरिनेछ ।
काठमाडौं र नेपालगञ्जका केही स्थानमा ७ देखि ३० घण्टासम्म बत्ती नआउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र नेपालगञ्जका केही स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा ७ देखि ३० घण्टासम्म विद्युत आपुर्ति बन्द गर्ने जनाएको हो । प्राधिकरणका अनुसार काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ सवस्टेशनबाट विद्युत आपूर्ति हुने स्थानमा विद्युत काटिने छ । चुनिखेल फिडर अन्तर्गत वितरण गरिएको भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारीमा विद्युत आपुर्ति बन्द हुने भएको छ । आवश्यक मर्मतका लागि भन्दै प्राधिकरणले बिहान १० बजेदेखि ५ बजेसम्म ७ घण्टा विद्युत आपुर्ति बन्द गर्न लागेको हो । यसैगरी प्राधिकरणले नेपालगञ्ज विरतण केन्द्रको खजुरा फिडर अन्तर्गत खजुरा गाउँपालिका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । खजुरा गाउँपालिकामा सडकमा रहेको विद्युतको पोल सार्ने काम गर्नुपर्ने भएकाले बिहीबार बिहान ११ बजेदेखि शुक्रबार साँझ ५ बजेसम्म विद्युत बन्द हुने छ । सो क्षेत्रमा ३० घण्टासम्म विद्युत बन्द हुने जनाइएको छ ।
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस
काठमाडौंः एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मङ्गलबार बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । सिम अपग्रेड गर्न एनसेलका ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत आफ्नो सिम कार्ड सजिलै विना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् । यो योजनाअन्तर्गतको बोनस फोरजी डाटा सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ । फोरजीमा सिम अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डाटा प्याक खरिदमा बोनस डाटा, राम्रो डाटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदि रहेका छन् । फोरजी सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । आफूले प्रयोग गरेको सिम फोरजी हो कि होइन भनेर (३२४) डायल गरी वा अङ्ग्रेजीमा अक्षर ठूलो क्यू’ लेखि ३२४ मा एसएमएस पठाइ थाहा पाउन सकिन्छ ।
संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गरे । प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उनले यसलाई हरहालतमा रोक्नुपर्ने बताए । ‘कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पुर्याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो,’ उनले भने । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सञ्चारकर्मीले सङ्घीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताए । परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न पनि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । ‘जनताको प्रतिनिधिद्वारा लिखित संविधान बचाउनु छ, परिवर्तनलाई जोगाउनु छ, प्राप्त उपलब्धिको रक्षा गर्न सञ्चार जगतको भूमिका बढेर गएको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले पार्टी कमिटीको बहुमतको निर्णयलाई सहजै स्वीकार नगर्दा पार्टीभित्र समस्या देखिएको बताउँदै अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिएको आरोप लगाए । ‘मैले भनेको छु, तपाईंले बाजी हारिसक्नुभयो । लडाइँ हारिसक्नुभयो । संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सार्वभौम नेपाली जनताकाविरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो । तपाईंले लडाइँ हार्नुभयो । जनताले लडाइँ जित्यो,’ उनले भने । नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्रैबाट नेतृत्वमा पुगेको व्यक्तिबाट जनप्रतिनिधिमूलक संस्था विघटन गरिनु नेपाली राजनीतिक इतिहासमा बिडम्वना भएको बताए । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगत्को उल्लेख्य भूमिका रहेको स्मरण गर्दै उनले सरकारको कदमका विरुद्ध जनतालाई जागृत बनाएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सञ्चारकर्मीलाई आह्वान गरे । ‘प्रतिनिधिसभा विघटनबाट सङ्घीयता र परिवर्तन सङ्कटमा परेको छ । यो बेला सही र गलत छुट्याउन सक्नुपर्छ, सत्यको पक्षमा उभिने नै असली नेता हुन्छ, परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको छ,’ उनले भने । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन सुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उनको भनाइ थियो । पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जनताको आन्दोलनको बलमा समाज र व्यवस्था बदले पनि पार्टीभित्रको प्रवृत्ति बदल्न नसक्दा मुलुक आजको अवस्थामा प्रवेश गरेको बताए । उनले संसद् विघटनबाट सात दशक लामो जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयतालगायत उपलब्धि खतरामा परेको बताए । केन्द्रीय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सरकार संसद् विघटन गरेर असंवैधानिक ढङ्गबाट अगाडि बढेकाले प्रेस स्वतन्त्रता पनि खतरामा परेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको महासङ्घको ठहर रहेको गरेको जानकारी दिए । उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सञ्चार जगतले एकता प्रदर्शन गर्नुपर्ने बताए ।
सुनसरीमा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु
विराटनगरः सुनसरीको दुहबी-इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका-१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा-३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज-१ का २२ वर्षीय शंकर यादव रहेका छन् । अर्का मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा दश जना सामन्य घाइते भएका छन् । घाइतेको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको छ ।
मृगलाई ताकेको बन्दुककाे गाेली लागेर एक जना घाइते
रोल्पाः मृगलाई ताकेको बन्दुकको गोली लागेर रोल्पामा एक महिला गम्भीर घाइते भएकी छिन् । रोल्पा नगरपालिका-९ फाल्जाका ३७ वर्षीय हस्तबहादुर पुनले चलाएको बन्दुकको गोली लागेर त्यही ठाउँकी ४५ वर्षीया बरु पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बाख्रा चराएर घरतिर फर्कँदै गर्दा हस्तबहादुरले चलाएको गोली टाउकोमा लाग्दा गम्भीर घाइते भएकी महिलाको रोल्पा अस्पताल रेउघामा उपचार हुन नसक्दा मङ्गलवार बिहान भैरहवा मेडिकल कलेज रिफर गरिएको रोल्पाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले जानकारी दिए । गोली टाउकोमा लागेकाले ती महिलाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्ति पक्राउ परिसकेको र उनीमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजनासम्बन्धी २ वटा मुद्दा लाग्ने सुवेदीले बताउनुभयो ।
सिन्धुलीमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु
सिन्धुलीः सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका-४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका-११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा दुधौली नगरपालिका-४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका-३ कालापानी बस्ने ५३ वर्षीय पृथ्वीनारायण श्रेष्ठ, दुधौली-६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका-१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए । घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । घाइते उपचारपश्चात फर्किएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए । दुधौली नगरपालिका-४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
परीक्षा दिन छात्रालाई होटेल पुर्याउने ३ शिक्षक पक्राउ
पोखरा : प्रहरीले एक छात्रालाई होटेलमा पुर्याएर परीक्षा गराउने तीन जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका-१८ घर भएका ४८ वर्षीय सुर्य तिवारी, रूपा गाउँपालिका घर भएका ४१ वर्षीय धनश्याम रेग्मी र ४० वर्षीय शिरिषकुमार बस्ताकोटीलाई पक्राउ गरेको हो । राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकले सोही बिद्यालयकी एक छात्रालाई कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रूपमा परीक्षा लिएको जानकारी पाएपछि नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

