माघी पर्वको अवसरमा ३ दिन सार्वजनिक बिदा
कैलाली : थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताए ।
पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र तोक्न निर्वाचन आयुक्तको निर्देशन
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रूपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन सुुझाव दिए । प्रमुुख निर्वाचन आयुुक्त थपलियाले भने, ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले यसको पूूर्ण पालना हुुनुुपर्छ ।’ निर्वाचनको घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पूरा मतदाताका सम्बन्धमा द्विविधामा नपर्न तथा मतदाता नामावली निर्वाचन व्यवस्थापनको आधारभूत पक्ष भएकाले शुद्ध र त्रुटिरहित तुुल्याउने पाटोमा हेक्का राख्न उनले आग्रह गरे । मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासँग प्रभावकारी समन्वय गर्न सुुझाव दिँदै उनले जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानुनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन सल्लाह दिए । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदाता दर्ता अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे जानकारी गराएका थिए । सचिव देवकुमारी गुरागाईंको अध्यक्षतामा भएको दुुईदिने प्रशिक्षणमा आयोगका सहसचिव तथा अधिकृतको सहभागिता थियो ।
‘ओलीको प्रतिगमनविरुद्ध पत्रकारहरुको मोर्चाबन्दी आवश्यक’
काठमाडौंः विभिन्न संचार सम्बद्ध संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार÷संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनु पर्ने बताए । आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका लागि तयारी थाल्नु पर्नेमासमेत जोड दिएका थिए । सोमबार राजधानीको संवाद डबलीमा भाएको ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री केपी ओलीले मुलकलाई पछाडि धकेलेकाले उनको अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलित हुनुपर्ने बताए । दाहालले भने, ‘प्रधानमन्त्रीको कदम एकात्मक सामन्ति प्रणालीतर्फ उन्मुख छ, त्यसलाई रोक्न मोर्चाबन्दी कसौं ।’ दाहालले पत्रकार महासंघको भावी नेतृत्व साझा चरित्रको हुनुपर्ने र लोकतन्त्रको रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मुल एजेण्डा बनाएर आन्दोलनमा होमिनु पर्ने सुझाब दिए । नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले लोकतन्त्रको रक्षार्थ पत्रकारहरु जहिलेपनि लडिरहेको इतिहास स्मरण गर्दै अहिलेको संकटबाट मुक्ति पाउन संयुक्त आवाज लिएर आन्दोलित हुनुपर्ने धारणा राखे । उनले अबको महासंघको नेतृत्व साझा चरित्रको बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । ‘मुख्य कुरा गुम्न लागेको लोकतन्त्रको रक्षा गर्नु हो, यो साझा मुद्धामा युनियन सबै पत्रकारहरुसँग हातेमालो गर्न तयार छ’, शिवाकोटीले भने । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले अहिलेको सरकार प्रतिगामी र फासिवादी चरित्रको भएकाले त्यसको विकल्पमा अग्रगामी एजेण्डा लिएर पत्रकारहरु आन्दोलित हुनुपर्ने विचार व्यक्त गरे । प्रेस स्वतन्त्रको रक्षा, जनजिविकाको सुनिश्चितता र जनतामा आधारित गणतन्त्र प्राप्तिका लागि सबै तप्काले संयुक्त संघर्षको उठान गर्नुपर्ने बताए । क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले असफलसिद्ध संसदवादको विकल्प नखोजी पत्रकारहरुका आधारभूत समस्या हल नहुने र जनताका राजनीतिक तथा मौलिक अधिकारको ग्यारेण्टी नहुने भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको पूर्ण जनतान्त्रिक व्यवस्था स्थापनाका लागि पत्रकार, नागरिक समाज, बुद्धिजीवी आम नागरिक मिलेर संयुक्त आन्दोलनको उठान गर्नुपर्ने बताए । पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसीले महासंघ श्रमजीवीहरुको आस्थाको केन्द्र र साझा चरित्रको बनाउन सबै पक्षले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिए । प्रगतिशील पत्रकार संघका निवर्तमना अध्यक्ष नारायण शर्माले संकटको भूमरीमा फसेको मुलुकलाई जोगाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । पछिल्लो राजनीतिक संकट ठूलो डिजाइनबाट उत्पन्न भएको प्रष्ट्याउदै शर्माले संयुक्त दबाब सिर्जना गरेर लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राखे । उनले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न ठूला संगठनहरुले त्याग गर्दै सबैलाई समेटेर लैजाने दृढता देखाउन सुझाए । प्रेस नेपालका अध्यक्ष केशव अर्यालले लोकतान्त्रिक विधिबाट चुनिएको वर्तमान ओली नेतृत्वले त्यही आधारलाई भत्काउदै जनताको स्वतन्त्रतामाथि धाबा बोल्नेतिर मुखरित भएकोले पत्रकार तथा संचार जगतले त्यसविरुद्ध लड्ने बेला आएको बताए । मधेशी पत्रकार मञ्चका अध्यक्ष मोहन सिंहले जनयुद्ध, जन–आन्दोलन तथा मधेश आन्दोलनबाट निर्माण भएको संघीयतालगायतका उपलब्धिहरुलाई उल्टाएर प्रतिगमन लाद्ने ओली सरकारलाई पत्रकार र आम जनसमुदाय मिलेर संयुक्त आन्दोलनको बलमा लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले वर्तमान राजनीतिक संकटलाई सम्पूर्ण लोकतान्त्रिक समुदायले अहिलेको अलोकतान्त्रिक सरकारको जनवीरोधी रबैयाको भण्डाफोर गर्नुपर्ने धारणा राखे ।
मल आयात नगर्ने शैलुङ र मुक्तिनाथको मल ठेक्का रद्द, धरौटी जफत
काठमाडौंः कृषि सामग्री कम्पनी लिमिटेडले धेरै समय पर्खदा पनि रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गर्ने भएको छ । आज बसेको कम्पनीको बैठकले मल ल्याउन नसक्ने उक्त कम्पनीलाई कारवाही गर्न खरिद कार्यालयलाई सिफारिस गरेको हो । मल खरिदको सम्झौता तोड्ने, कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी जफत गर्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । नेपाली कम्पनीलाई धेरै समय पर्खदा पनि मल ल्याउन नसकेपछि उक्त निर्णय गर्न बाध्य भएको उनले बताए ।
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छः भण्डारी
रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनःस्थापना हुने/नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताए । उनले भने, ‘सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।’ रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा नेता भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशले बोल्नु पनि गलत भएको टिप्पणी गरे । विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै संसद् विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका विषयमा बोल्नु गलत भएको उनको भनाइ छ ।
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंः काठमाडौंको कुलेश्वर केन्द्रबिन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार सोमबार दिउसो २ बजेर ३२ मिनेटमा भूकम्प गएको हो । ३ दशमलव १ रेक्टर स्केल मापन गरिएको भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुरमा महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रले यसलाई २०७२ बैशाख १२ मा आएको महाभूकम्पकै पराकम्प भएको जनाएको छ ।
४८८ संक्रमित थपिए, १० जनाको मृत्यु
काठमाडौंः नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ३३७ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ५२७ जना निको भए । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । सोमबार थप १० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको मन्त्रालयले जनाएको छ ।
माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने
नुवाकोटः यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् । यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि सीमित रुपमा गोरु जुधाइने भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । यस वर्ष वरपरका चार हल मात्र गोरु जुधाइने योजना बनाएको क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उनले बताए । बेत्रावतीमा विजेता गोरुधनी किसानलाई रु पाँच हजार, हार्ने गोरुधनी किसानलाई रु चार हजार पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए । विजेता तथा सहभागी गोरुका धनीलाई रु १५, १० र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै शिवपुरी गाउँपालिका–५, शेराबगरमा चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।
नेकपा बझाङ कार्यालयमा कार्यक्रम गर्न प्रशासनको रोक
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भइसकेको छ । नेकपामा अहिले ओली समूह र प्रचण्ड–नेपाल समूह छन् । दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेको छन् । साथै पार्टी कार्यालयमा आ–आफ्नो दाबी गरिरहेका छन् । तर, जिल्ला प्रशासन कार्यालय बझाङले पार्टी कार्यालयमा कुनै पनि कार्यक्रम नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले सोमबार एक सूचना जारी गर्दै जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पार्टी कार्यालयमा कुनै पनि भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्न आदेश जारी गरेका छन् । दुबै पक्षबीच विवाद हुनसक्ने भन्दै उक्त आदेश दिइएको सूचनामा उल्लेख छ ।
कर्णालीका मन्त्री रावललाई कोरोना, उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौंः कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले जानकारी दिए । ‘कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो’, उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौं पठाइएको छ ।’ कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
भारी अल्पमतमा परेपछि ओली समूहले फेरि थप्यो केन्द्रीय कमिटी सदस्य
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले फेरि केन्द्रीय कमिटी सदस्य थप गरेको छ । योसँगै ओली समूहको केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुगेको छ । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजार ५ सय १ सदस्यीय भएको छ’, अपानिमा उल्लेख छ । यसअघि पुस ६ मा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्याएका थिए । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ । २०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा ४ सय ४१ जनाको केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो । त्यसकै आधारमा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो । ४ सय ४१ सदस्यी कमिटीमा ओली भारी अल्पमतमा परेपछि केन्द्रीय कमिटी विस्तार गरेका हुन् । ४ सय ४१ मध्ये प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना रहेका छन् ।
लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित (सूचनासहित)
काठमाडौंः लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । यातायात व्यवस्था विभाग बागमती प्रदेशअन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । सोमबार एक सूचना जारी गर्दै कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो । लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्धारा जारी सूचनामा भनिएको छ ।
पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्घाटन
काठमाडौंः पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा जङ्गी अड्डामा केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको नेपाली सेनाका प्रधान सेनापति पूर्ण चन्द्र थापाले सोमबार बिहान उद्घाटन गरे । सो क्रममा जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरिएको छ ।
निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा
काठमाडौंः निर्वाचन प्रक्रिया रोक्न माग गर्दै नेकपाको प्रचण्ड र माधव कुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ । पार्टीको आधिकारिक पत्र लिएर अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेललगायत केही स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन् । संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए । ‘संसद् विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ । उक्त मुद्दालाई प्रभावित गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर अगाडि बढिराखेको छ’, पोखरेलले भने, ‘मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको छौं ।’ यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ ।
माघीको तयारीमा जुटे थारु समुदाय
कैलालीः थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको धनगढी उपमहानगरपालिका–३ का स्थानीयवासी भगतबहादुर चौधरीेले बताए । ‘माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायतका खानाका पकवानहरू खाने चलन रहिआएकाले दाजुभाइहरू त्यसको खोजीमा जुटेका छन्’, उनले भने । विशेषरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका शहरबजार जान थालेका छन् । रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालेका छन् । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान पकाउन स्थानयवासी व्यस्त देखिन्छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए । ‘माघे सङ्क्रान्तिका दिन विशेषगरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गरिन्छ’, अगुवा चौधरीले भने, ‘आशिर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिजहरू घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।’ पश्चिम नेपालको तराईका थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा मनाइने यो पर्वमा विशेषगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गटोलगायतका स्थानीय खानाका पकवान खाने चलन छ । त्यस्तै माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए पनि यस वर्ष भने कोरोनाको सङक्रमणका कारण खासै मेला महोत्सवको तयारी खासै गरिएको देखिँदैन ।
पाँचथरमा आगलागीबाट ७० लाखको क्षति
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए । यस्तै डिकबहादुर थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको उनले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घण्टापछि आगो निभाएको थियो ।

