दुई वर्षभित्र पाइपलाइनबाट पेट्रोल
काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल आयल निगमले सरकारको छविलाई उच्च राख्नुपर्ने बताएका छन् ।
निगमको ५१औँ साधारणसभामा पछिल्लो समय निगमले विभिन्न प्रविधि भित्र्याउन सफल भएको भन्दै उनले पेट्रोलियम पदार्थको गुणस्तर र शुद्धतामा ध्यान दिन आग्रह गरे ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अबको दुई वर्षभित्रमा पाइपलाइनबाट पेट्रोल ढुवानी हुने बताए । उनले पेट्रोलियम पाइपलाइनमार्फत हाल डिजेलमात्र आयात भइरहेकामा पेट्रोलसमेत ल्याउने तयारी भएको जानकारी दिए ।
उनले मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन क्षमताको विस्तार गरेर डिजेलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइनमार्फत मात्रै गर्ने व्यवस्था गर्न लागिएको बताए । खाना पकाउने एलपी ग्यासको ढुवानीका लागि इन्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सीमा नजिकको ‘लोकेशन’बाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरेको उनले जानकारी दिए ।
उनले पूर्वाधारमा तीव्ररूपमा भएको विकासले पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङ्कको दरले वृद्धि हुँदा माग र आपूर्तिबीच तालमेल कायम गर्न सञ्चयका लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गरिएको बताए । महाप्रबन्धक पौडेलले निगमको वार्षिक नीति तथा कार्यक्रमस्वरुप चालु आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारणगृहको निर्माण र विस्तारको काम शुरु भएको बताए।
यसैगरी झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन विस्तार, सिलगुढी-झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारणगृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति गरेर पूर्वाधार विकासको काम भएको उनले जानकारी दिए ।
उनले मेकानिकल लकिङबाट डिजिटल लकिङ, टैंक-ट्रकहरुको नियमित अनुगमन, डिलरहरुको डिजिटल नक्साङ्कन गर्ने कार्यको शुरुआत गरिएको उल्लेख गर्दै निगमको सबै कार्यलाई व्यवस्थित बनाउन उद्यम संसाधन योजना सफ्टवेयरअनुसार तयार गर्ने, निगमको केन्द्रीय प्रयोगशालालगायत अन्य प्रयोगशालाहरुलाई आइएसओ, एलइसी १७०२५ मान्यता गराई अन्तर्राष्ट्रियस्तर बमोजिम कायम गर्ने गरी आवश्यक कार्यको प्रारम्भ गरिएको बताए ।
निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले पछिल्लो समय निगमले पूर्वाधार निर्माणमा फड्को मारेको बताए । विसं २०२७ मा स्थापना भई पेट्रोलियम पदार्थको ढुवानीको एकलौटी अधिकार पाएको निगम पछिल्लो समय नाफामा गएको छ ।
गत आर्थिक वर्ष २०७६र७७ मा निगमले रु १२ अर्ब ८७ करोड नाफा कमाएको थियो । लामो समयदेखि घाटामा रहेको निगम पछिल्लो समय नाफामा गएको हो । निगमले गत आव २०७२/७३ मा रु. १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रु. ९ अर्ब ४५ करोड, २०७४/७५ मा रु ३ अर्ब ५८ करोड, २०७५/७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रु. १२ अर्ब ८७ करोड नाफा कमाएको जनाइएको छ ।
गत वर्षको भदौ (२०७६ साल भदौ २४ गते) देखि सञ्चालनमा ल्याइएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत १० महिनाको अवधिमा निगमले ढुवानीमार्फत रु. १ अर्ब ४७ करोड बचत गरेको छ ।
मस्र्याङ्दी नदीमा खस्यो ट्रक
लमजुङः डुम्रे-बेँसीशहर -चामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४ जगत्बाट मस्र्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ । बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक बे्रक फेल हुँदा नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको जानकारी दिए । उनका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ ।
यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह
काठमाडौंः संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । विशेषगरि युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरुप पछिल्लो समय यूएईमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार गएको जनवरी ९ तारिखमा एकै दिन दुई हजार ९ सय ९८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन यूएईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । यूएईका स्वास्थ्य निकाएका अनुसार पछिल्लो समयमा देखा परेको कोरोनाको नयाँ स्वरुप बढी सङ्क्रामक रहेको छ । यूएई सरकारले कोरोना विरुद्धको भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा उपलब्ध छ । यूएईमा रहेका नेपाली नागरिकले पनि ती केन्द्रमा गएर भ्याक्सिन लगाउन सक्ने दूतावासले जनाएको छ ।
चार पूर्व प्रधान्यायाधीसलाई ईतिहासले सम्मान गर्नेछः योगेश भट्टराई
काठमाडौंः नेकपा नेता योगेश भट्टराईले संसद् विघटनविरूद्व विज्ञप्ति जारी गर्ने चार पूर्व प्रधान्यायाधीसलाई ईतिहासले सम्मान गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले चार पूर्व प्रधान्यायाधीसको साहस र इमानको ईतिहासले सम्मान गर्ने बताएका हन् । उक्त विज्ञप्तिको प्रसंशा गर्दै उनले भनेका छन्, ‘सक्ता र शक्तिका बलमा नैतिकतामाथि धावा नबोल । ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरुनै हुन् । सलाम श्रीमानहरु तपाईंहरुको साहस र इमानको ईतिहासले सम्मान गर्नेछ ।’ भट्टराईले पूर्वप्रधानन्यायाधीशको आलोचना गर्नेमाथि व्यङ्ग गर्दै भनेका छन्, ‘लामो समय सर्वोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बलसहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संविधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समिक्षामा राय दिनुपर्ने हो ?’ पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूको शनिबार र आइतबार आलोचना गरेका थिए । आज पेरिसडाँडामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पनि संसद् विघटनविरूद्व बोल्नेलाई धम्क्याउने कार्य तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ । संसद् विघटनविरूद्व बोल्नेलाई धम्क्याउने कार्य तत्काल बन्द गर्न ओलीलाई चेतावनी चार पूर्वप्रधानन्यायाधीशले भने, ‘संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन’
कोरोना भाइरसका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु
काठमाडौंः कोरोनाको सङ्क्रमणका कारण विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता बेलायतमा २ जना र मलेसियामा १ जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २० देशमा ३ सय १७ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार एक सय १६ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो हप्ता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताए । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उनले स्पष्ट पारे ।
सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा
काठमाडौंः ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’सञ्चालनमा ल्याएको छ । यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ । ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्माट) बाट बैंकको काउण्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाखसम्मको रकम निकाल्न सक्नेछन् ।
वर्तमान सरकार स्थायित्वको सरकार होः प्रधानमन्त्री ओली
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट गरे । ‘निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने स्थिति स्थायित्व र स्थिरताको होइन, अहिले चाहिँ हो’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन ।’ केही व्यक्तिले प्रधानमन्त्रीबाट राजीनामा दिएको भए हुने भन्ने सुझावलाई प्रधानमन्त्रीले भने, ‘कतिपयलाई केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने ? कसलाई छाड्ने ? यो प्रधानमन्त्रीको जिम्मेवारी हो । यो जनताले सुम्पिएको अभिभारा हो । जस्तोसुकै अवस्थामा जस्तासुकैलाई पनि सुम्पिन मिल्दैन ।’ उनले बहुमत कसैको आएन भने, दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सकेन भने, प्रधानमन्त्रीले एक महिनामा विश्वासको मत ल्याउन सकेन भने प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट निर्वाचनको नयाँ मिति तोक्ने सक्ने व्यवस्था भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले थपे, ‘चुनाव हुनु अस्थिरता होइन, संविधानको सही तरिकाले कार्यान्वयन नहुनु अस्थिरता हो, संवैधानिक बाटोबाट जाँदा अस्थिरता हँुदैन ।’ प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई न्याय प्रदान गर्न बाधा पुर्याउने उद्देश्यले हुने काम रोक्नुपर्नेमा जोड दिए । ‘पूर्वन्यायाधीशहरुले कस्तो न्याय दिनुभयो होला, स्वतन्त्र न्यायलयमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर दवाव दिनुभएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले राजनीतिक पक्षधरता लिएर काम गर्नुभएको छ, आफ्नौ हैसियतको दुरुपयोग गरेर न्यायालयलाई दुरुपयोग गर्नुभएको छ, न्यायालयलाई दबाबमा पार्नुहुँदैन ।’ उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अदालतको स्वतन्त्रता र शक्तिपृथकीकरणको सिद्धान्तलाई मानेर अघि बढेको पनि स्पष्ट पारे । देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कर्तव्यबोध र जिम्मेवारीका साथ निर्वाचनमा जान सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध तथा दुई छिमेकीबीचको सम्बन्ध सुमधुर भएको पनि बताए । वर्तमान सरकार कोभिड– १९ का बेलामा दूरी कायम गरी चेतना जगाएर अघि बढेको र छिट्टै खोप ल्याएर समस्या समाधान गर्ने तयारी गरेको उनले जानकारी दिए । ‘सरकारलाई सबैभन्दा ठूलो महत्व नेपाली जनताको ज्यान हो, जनताको जीवन रक्षा गर्न सरकार सदा तयार छ’, प्रधानमन्त्री ओलीले भने, ‘एकैदिन हामीले ३९६ अस्पतालको शिलान्यास गर्ने तयारी गरेका थियौँ, ३०९ स्थानमा अस्पतालको शिलान्यास भयो, अरु पछि भयो, यस्तो कुनै वर्ष भएको थियो ? कुनै सरकारले गरेको थियो ।’
संसद् विघटनविरूद्व बोल्नेलाई धम्क्याउने कार्य तत्काल बन्द गर्न ओलीलाई चेतावनी
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संसद् विघटनविरूद्व बोल्नेलाई धम्क्याउने कार्य तत्काल बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । आज पेरिसडाँडामा बसेको उक्त समूहको बैठकले ओलीलाई त्यस्तो चेतावनी दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘चार पूर्व प्रधानन्यायाधीसले संसद् विघटन असंवैधानिक भनेर विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्री ओलीले धम्क्याउने, अपमानित गर्ने कार्य गर्नुभएको छ । त्यो आपत्तिजनक छ । कडा शब्दमा त्यसको भत्र्सना गर्दछौं । त्यस्ता कार्य तत्काल बन्द गर्न ओलीलाई चेतावनी दिने निर्णय बैठकले गरेको छ ।’ असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी संसद् विघटनविरूद्व सबैको बोल्न पाउने अधिकारको रक्षा हुनुपर्ने उनले बताए । उनले सचेत नागरिकलाई हमलाको विरुद्ध एकजुट हुन पनि आग्रह गरे । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न बैठकले आग्रह गरेको छ । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले उनीहरूको शनिबार र आइतबार आलोचना गरेका थिए । सरकारी सञ्चारमाध्यम एक गुटको रुपमा दुरुपयोग भएको भन्दै गुटको सेवा गर्ने काम बन्द गर्न आग्रह गर्ने निर्णय गरेको छ । संसद् विघटनविरूद्व आन्दालेन प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । श्रेष्ठले भने, ‘आन्दोलनको सफलता सुनिश्चित छ । संसद् विघटन गर्ने सरकारको निर्णण खारेज भएर संसद पुनस्थापना हुन्छ ।’
स्रोत नखुलेको झण्डै ३२ लाख नगदसहित पक्राउ
सिरहाः स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो । कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।
सरकारी जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरूद्व २ करोड बढीको मुद्दा
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी/सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्दा दायर गरेको हो । यसैगरी अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कामचलाउ प्रधानमन्त्रीको सम्बोधन प्रचण्ड–माधव समूहका सांसदहरूद्धारा बहिस्कार
काठमाडौंः राष्ट्रिय सभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा प्रचण्ड–माधव नेपाल पक्षका सांसदले बहिस्कार गरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओली प्रवेश गरेपछि नेकपा प्रचण्ड–माधव समूहका सांसदहरूले राष्ट्रियसभा बैठक बहिष्कार गरेको सांसद बेदुराम भुसालले बताए । उनले भने, ‘हामी हस्ताक्षर गरेर फर्कियौं । हामी निस्कने र उहाँ प्रवेश गर्ने एकैपटक भयो ।’ संसद् विघटन गर्ने प्रधानमन्त्री बैठकमा प्रवेश गरेपछि त्यहाँ बस्नुको औचित्य नरहेकाले बहिष्कार गरेको उनले बताए ।
२५९ संक्रमित थपिँदा ५१३ निको, ५ जनाको मृत्यु
काठमाडौंः नेपालमा आइतबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये सक्रिय संक्रमित संख्या ४ हजार ४२२ छ । आइतबार काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिए । पछिल्लो २४ घण्टामा ५१३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । आइतबार थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ ।
पाण्डे र पहाडी भन्छन्– ओलीको कृत्य प्रतिगमनको औजार (विज्ञप्तिसहित)
काठमाडौंः नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटन प्रतिगमनको औजार भएको टिप्पणी गरेका छन् । पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको बताएका हुन् । संसद् विघटन गैरराजनीतिक, गैरसवैधानिक, जनआकांक्षा विरोधी कदम भएको भन्दै विज्ञप्तिमा निएको छ, ‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरीत छ । प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ । यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न आहृवान गर्दछौं ।’ उनीहरूले आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
राष्ट्रिय सभाको रोष्टमबाटै प्रधानमन्त्री ओलीले थुकेपछि…(भिडियोसहित)
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दा गर्दै रोष्टमबाटै थुकेका छन् । सम्वोधनका क्रममा उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् । भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा प्रधानमन्त्री ओलीले रोष्टममा थुकेका हुन् । ओलीले राष्ट्रिय सभामा सम्वोधनका क्रममा थुकेपछि त्यसको आलोचना सुरु भएको छ । उनले बोल्नेक्रममा थुकेपछि त्यसलाई अशिष्ट भन्दै आलोचना सुरु भएको हो । भिडियो स्रोतः एभिन्यूज खबर https://everestdainik.com/wp-content/uploads/2021/01/137354767_4934183519986069_6308451883663415309_n.mp4
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने आइतबार बसेको बैठकमा जानकारी दिए । राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । चारवटा बैठक ७ घण्टा मात्रै बसेका थिए ।
प्रधानमन्त्रीलाई राष्ट्रिय सभा सदस्यको सुझावः संविधान पढ्नुस्, गेस पेपर पढेर हुँदैन
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सभाका सदस्यले संविधान पढ्न सुझाव दिएका छन् । राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधनपछि राष्ट्रिय सभा सदस्यले संविधान पढ्न सुझाव दिएका हुन् । उनीहरूले संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको भन्दै आलोचना गरे । राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले ओलीलाइ संविधान पढ्न सुझाव दिए । उनले भने, ‘संसद् विघटन गर्ने अधिकार संविधानमा छैन । संविधान पढ्नुस राम्रोसँग । गेस पेपर पढेर हुँदैन ।’ उनले चुनाव त राजाले पनि गर्छु भनेको भन्दै चुनाव हुनेमा पनि आशंका व्यक्त गरे । उनले प्रश्न गर्दै भने, ‘संसद् विघटन गरेर चुनाव गराउने कुरा नहर भत्काएर रोपाईँ गर्न जाँ भनेजस्तो भएन र ? राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको दाबी गरे । उनले ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधनमा पूर्ण असहमति प्रकट गरे । राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले संसद् विघटनले सम्पूर्ण उपलब्धमाथि तरबार झुण्ड्याएको भन्दै चिन्ता व्यक्ति गर्नि । उनले संसद् पुनःस्थापना हुनुपर्ने माग गरिन् । राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले संविधानको गलत धारा प्रयोग गरेर संसद् विघटन गरिएको आरोप लगाए । उनले सरकार गठन गर्ने विकल्प हुँदाहुँदै किन असंवैधानिक कदम चालेको भनेर प्रश्न गरे । राष्ट्रिय सभाका सदस्य अनिता देवकोटाले सत्ता यात्रा टुङ्गिने भएपछि संसद्को घाँटी रेट्ने प्रधानमन्त्री ओलीले कसरी चुनाव गराउँलान् भनेर प्रश्न गरिन् ।

