सगरमाथाको उचाई बढ्यो
काठमाडौं : सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।
स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले कति भन्ने खुलाइएको छैन ।
मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने बताए ।
अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्छ । हाल सगरमाथाको उचाइ ८८४८ मिटर छ ।
बिहीबार रातिदेखि मौसममा सुधार हुने
काठमाडौंः पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिक देखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताए । बिहीबार रातिदेखि मौसममा क्रमिक सुधार हुँदै जाने छ । पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदलीको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ ।
१९४८ संक्रमित थपिए, २८ जनाको मृत्यु
काठमाडौंः नेपालमा थप १९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार काठमाडौंमा ६३५ जनासहित उपत्यकामा ८३५ सङ्क्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा झापामा १९३, मोरङमा ७२, सुनसरीमा ५३, चितवनमा ८२, भक्तपुरमा ८७, ललितपुरमा ११३, कास्कीमा ९० र दाङमा ५१ जनामा कोभिड–१९ पुष्टि भएको हो । विगत २४ घण्टामा देशभर ३१४० संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ छ । बुधबार थप २८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ ।
बैंकका गार्डलाई खुकुरी प्रहार गर्ने पक्राउ
काठमाडौंः नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौं थापागाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बैंकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।
सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छः अर्थमन्त्री
रुपन्देहीः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताएका छन् । सैनामैनामा आज भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए । नगरको विकासका लागि गौरवका आयोजनाको काम धमाधम भइरहेको र त्यसमा बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए । सैनामैना चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, लामीरह उच्चबाँध, कृषिउपज केन्द्र तथा खेल मैदान निर्माणकोे काम भइरहेको र सम्पन्न भएपछि नगरले आधुनिक शहरको रुप लिने विश्वास उनले व्यक्त गरे । लामीरह उच्चबाँध निर्माण आयोजना सैनामैनाको मात्र नभई प्रदेशकै गौरवको आयोजना भएको र यसले सैनामैनामा सिँचाइ र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उनले बताए । मन्त्री पौडेलले भने, ‘तीनै तहका सरकारको संयुक्त प्रयासमा यस क्षेत्रमा रहेका भौतिक पूर्वाधारलगायत अन्य ठूला तथा साना आयोजनाका काम सम्पन्न गरी सैनामैनालाई कङ्क्रिटको नभई व्यवस्थित शहरका रुपमा विकास गर्छाँैं ।’ अर्थमन्त्री पौडेलले सैनामैना–१ स्थित ऐतिहासिकस्थल रानीकुवाको नजीकै विशेष गरी गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक वस्तुको सङ्ग्रह गर्ने आधुनिक व्यवस्थित सङ्ग्रहालयको निर्माण प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए । उनले बुटवल–चन्द्रौटा हुँदै धानखोलासम्मको सडक निर्माणका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउँदै सो आयोजना र सैनामैना चक्रपथ निर्माण पूरा भएपछि नगर थप समृद्ध बन्ने विश्वास व्यक्त गरे ।
गण्डकीमा थपिए ७१ संक्रमित
पोखराः गण्डकी प्रदेशमा ७१ कोरोना भाइरस संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ८ जिल्लाका ७१ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सबै कन्ट्र्याक ट्रेसिङमा परेका थिए । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ हजार ३८५ पुगेको छ ।
आज पनि घट्यो सुनको मूल्य
काठमाडौंः स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु एक हजारले घटेको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु एक हजारले घटेको हो । यस्तै मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो ।
ट्रकले किचेर साहुको मृत्यु
काठमाडौंः नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
कैलालीमा डिएसपी सम्पर्कबिहिन: प्रहरी खोज्नमा व्यस्त, डिएसपी होटलमा मस्त !
धनगढी: मंगलवार राति ९ बजेर ५५ मिनेटमा पूवपश्चिम राजमार्गअन्तरगत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाईलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भिर घाईते भए । दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ईलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरिक्षक भरत चौधरीको खोजी सुरु भयो । सेट मोनिटरिङमा उनी सम्पर्कमा आएनन् । गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरिक्षक चौधरी सम्पर्कमा आएनन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको विभत्स हत्या भएको डेढ महिना नबित्दै प्रहरी नायव उपरिक्षक सम्पर्कविहिन भएपछि कैलाली मात्र नभएर सुदूरपश्चिमका प्रहरी अधिकारी तनावमा थिए । एक जना प्रहरी अधिकारीले भने, ‘डिएसपी साप सम्पर्कविहिन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली रति नै परिचालन गरियो ।’ यता प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले सेट मोनिटरिङमा नभेटिएपछि रातिदेखि नै खोजी भएको र खोजीकै क्रममा डिएसपी चौधरी आज बिहान कैलालीकै पहाडी क्षेत्र बुढितोलमा फेला परेको जानकारी दिए । ‘उनी फेला परेपछि सोधपुछ गर्दा सूचना संकलनको लागि गएको र त्यहाँ फोन नलाग्ने समस्या रहेको जवाफ दिएका छन्,’ डिआईजी सुवेदीले भने, ‘सूचना संकलनकै लागि गएका हुन् वा होईनन् भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको छ ।’ प्रहरी स्रोतका अनुसार डिएसपी चौधरी आज विहान बुढितोलाको एक होटलमा फेला परेका हुन् । उनी सवार मोटरसाईकल होटल अगाडि भेटिएको थियो भने उनी होटलको एक कोठामा एक्लै भेटिएका थिए ।
कांग्रेस प्रवक्ता शर्माका नजरमा नेकपाका तीन नेताः केपी र ट्रम्पको एउटै प्रवृत्ति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केप ीओलीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । अनलाईनखबरमा प्रकाशित अन्तर्वातामा नेता शर्माले नेकपाका तीनवटै नेताहरु बारे आफ्नो धारणा राखेका हुन । केपी ओलीको खुबी र कमजोरी के हो ? भन्ने प्रश्नमा शर्मा भन्छन्, “केपी शर्मा ओली केही गरौं भन्ने प्रशस्त भावना भएको तर केही गर्ने डिजाइन नभएको नेता हो । म उहाँलाई अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि तुलना गर्न रुचाउँछु ।” प्रवक्ता शर्माले ओलीको राष्ट्रवादी छवि प्रधानमन्त्री भएपछि पखालिएको टिप्पणी गरेका छन् । पढ्नुस अन्तर्वार्ताको उक्त अंश कसरी समानता ? उहाँहरुका बीचमा प्रवृत्तिगत समानता धेरै रहेछ क्या १ जस्तो– चुनावमा जाँदै गर्दा ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्दै राष्ट्रवादी नारा उराले । मेक्सिकोको सिमानामा पर्खाल लगाउने, आप्रवासीहरुलाई कडाइ गर्ने उग्रराष्ट्रवादी कुरा गरे । तर, राष्ट्रपति बनेपछि उनको राष्ट्रवाद यत्तिकै सेलायो । ओलीजीको पनि यस्तै देखियो । उहाँको राष्ट्रवादी छवि प्रधानमन्त्री बनेपछि पखालिएको छ । ट्रम्पले अघिल्लो सरकारका महत्वपूर्ण कुराहरुलाई अस्वीकार गर्नुभयो । अन्तर्राष्ट्रिय सम्झौताहरुबाट पछि हट्नुभयो । ओलीले पनि अघिल्लो सरकारले गोविन्द केसीसँग गरेका सम्झौता उल्टाइदिनुभयो । कोरोनाको सम्वन्धमा पनि उस्तै शैली देखियो । ट्रम्पले मास्क नलगाऊ भन्नुभयो । ओलीले हाछ्यूँ गरेर उडाइदेऊ भन्नुभो । काम गराइको शैली उस्तै देखियो । सानो कोर ग्रुपमा भर गर्ने, आफैं वैज्ञानिक, आफैं डाक्टर, आफैं न्यायाधीश बन्न खोज्ने । उताको ट्रम्पवाद गयो, यताको भ्रमवाद के हुन्छ हेरौ । प्रचण्डलाई चाहिँ कसरी बुझ्नुभएको छ ? प्रचण्ड राम्रैसँग जुध्न सक्ने र समझदारीमा अत्यधिक लचक पनि हुन सक्ने नेता हो । उहाँ कठोरमा एकदमै कठोर हो, नत्र माओवादी विद्रोह हुँदैनथ्यो । लचकमा एकदमै लचक हो, नत्र माओवादी युद्धको सेफल्यान्डिङ हुँदैनथ्यो । कमजोरीको कुरा गर्ने हो भने एउटा मात्रै भन्दा अपूरो हुन्छ, अनि धेरैभन्दा पूर्वाग्रही देखिएला। मेरो विचारमा देशमा सबै प्रजातान्त्रिक अधिकारहरु भएको बेलामा बन्दुक उठाएर उहाँले ऐतिहासिक गल्ती गर्नुभयो । अनि अहिले आफ्ना सारा संघर्षका बिरासतलाई तिलाञ्जली दिएर संसदीय व्यवस्थाभित्र गुट्मुटिनुभएको छ । आफ्ना सहयोद्धाहरुलाई बिर्सेर नेकपा एमालेमा समाहित हुनुभएको छ । संसदीय व्यवस्थामा आउँदै गर्दा फरक अस्तित्व कायम राख्न सक्नुभएन । भन्नाले, तपाईंहरुले गरिरहेको बुर्जुवा राजनीतिमै प्रचण्ड पनि मिसिनुभयो ? त्यो त म भन्दिनँ । नेपाली कांग्रेसले नेपालको कम्युनिस्ट आन्दोलनको रुपान्तरणमा सहजीकरणको भूमिका खेलेको छ । त्यसमा हामी गर्व गर्छौं । संसदीय व्यवस्थाको पार्थिव शरीरमा सर्वहाराको अधिनायकत्व स्थापित गर्ने भनेर कम्युनिस्ट नेताहरुको जुँगाको रेखी बसेको हुन्छ । तर, जुँगा फुल्दै गर्दा संसदीय व्यवस्थाको सेवामा समर्पित भइसक्नुहुन्छ । प्रचण्डमा पनि यही प्रवृत्ति देखियो । उहाँ यसरी रुपान्तरित भएर आउँदै गर्दा हामी त स्वागत नै गर्छौं । र, पनि कहिलेकाहीँ आइसकेपछि छलाङ र क्रमभंग जस्ता शब्दोच्चारण गरिरहनुहुन्छ । माधव नेपालको विषयमा पनि दुई शब्द ? उहाँ टेस्टेड एन्ड फेलियर हो कि होइन ? उहाँले हामीसमेत सहभागी सरकारको नेतृत्व गर्नुभएको हो । त्यो सरकारको सफलता–असफलतामा हामी पनि केही हिस्सेदार छौं । माधव नेपालमा टिम संयोजन र व्यवस्थापनको कला ओली र प्रचण्डको भन्दा राम्रो छ । तथापि उहाँ ओली–प्रचण्डजस्तो तिख्खर र विषयवस्तुमा कमाण्ड भएको नेता होइन ।
अटाेमेटिक पेस्ताेलसहित शिक्षक पक्राउ
पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिनुभयो । उहाँले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताउनुभयो । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ ।रासस Pic: Symbolic
बुटवलः अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाउँदै काँग्रेस कार्यकर्ताले गरे प्रदर्शन
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा काँग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् । आज बिहान तिनाउ पुल नजिकै पौडेल सवार गाडीलाई नेपाल विद्यार्थी संघ र तरुण दल रुपन्देहीले कालो झण्डा देखाएका हुन् । उनीहरुले पदसँग प्रदेश राजधानी साटेको भन्दै कालो झण्डा देखाएको बताएका छन् । रुपन्देहीको विभिन्न आयोजनाहरुको अनुगमन गर्न पौडेल त्यसतर्फ पुगेका हुन । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल रहेकाेमा पाैडेलले मन्त्री पदकाे लाेभमा राजधानी सारेकाे भन्दै बिराेध गरिएकाे नेविसंघका नेता छाँया पोखरेलले बताए । यसअघि काँग्रेस कार्यकर्ताले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा हानेका थिए ।
बर्दिबास घटना: प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु
बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो । हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको कान्तिपुर दैनिकले उल्लेख गरेकाे छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए । बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।
अन्योललाई चिर्दै कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहज तरिकाले सञ्चालन
काठमाडौं : कोभिड-१९ कारण वैशाखदेखि रोकिएर हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आजदेखि सुरु भएको कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले होम सेन्टर, घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गर्दै परीक्षामा सामेल हुने विद्यार्थीको अनिवार्य रूपमा ज्वरो नाप्ने, मास्क लगाउने, एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राखेर भौतिक दूरी कायम गराई पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गराएर देशभर सफल रुपमा सञ्चालन भएको पहिलो दिनको परीक्षाले उत्साह थपेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । विद्यालयले हेल्थ सेन्टर राख्नुपर्ने नियम पालना गराए पनि कोभिड सङ्क्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ । आजदेखि आगामी १६ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टा समयको छ । परीक्षामा देशभरका चार हजार १०५ विद्यालयमा चार लाख ३२ हजार ५०० विद्यार्थीले परीक्षा दिएका थिए । कोरोनाका कारण बोर्डले यस वर्ष ४० प्रतिशत अङ्क कक्षा ११, २० प्रतिशत अङ्क कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट र ४० प्रतिशत अङ्कका लागि मात्रै परीक्षा सञ्चालन गरेको हो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको परीक्षामा सहभागी परीक्षार्थीसँगै केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ । बोर्डले हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पुर्याए पनि अन्य जिल्लामा भने विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाएको अर्यालले जानकारी दिए । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्ड पठाएर कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था गरिएको थियो । अनिवार्य विषयका करिब पाँच सेट प्रश्नत्रप तयार पारेको र परीक्षा सञ्चालन कार्यविधि बनाएर बोर्डले परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिएको थियो ।
बजारमा आउने बित्तिकै ‘कोरोना खोप’ ल्याउने तयारी गरिरहेका छौँ : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं : सरकारले कोभिड विरूद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ। विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन्। स्वास्थ्य मन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताए। अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत् कानुन संशोधन गरिएको उनले बताए। उनले भने,‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ। भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानुनी अप्ठ्यारो नपरोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो। भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने बित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ।’ मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधि म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए। उनले तरकारी, फलफूल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानव जीवनमा विभिन्न समस्या देखिने गरेको बताए।
सास फर्ने गाह्रो भएपछि मन्त्री लामालाई हेलिकोप्टरबाट काठमाडौं लगियो
हेटौँडा : बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। कोरोना सङ्क्रमणका करण बिरामी परेका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए। सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सचिवालयले जनाएको छ।

