रुपन्देहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बुटवलः रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्ग रहेका छन् ।

लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा सोमबार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुमबहादुर केसीले बताए ।

प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा

ताप्लेजुङः प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा ६ स्थित घुन्सामा आइपुगेका छन् । प्रधानमन्त्री सोमबार बिहान साढे ११ ११ बजे काठमाडौंबाट सिधै हेलिकोप्टरमा घुन्सामा आइपुगेका हुन् । उनले घुन्साको पर्यटकीय बस्तीको अवलोकन गर्नेछन् । साथै चीनको तिब्बत र नेपालबीच सीमाक्षेत्र निरीक्षणसहितका कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले ताप्लेजुङ जिल्लाको उत्तरतर्फको नेपाल र तिब्बतको सीमाक्षेत्र निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेपको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टरमार्फत निरीक्षण गर्नेछन् । प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले यहाँको पर्यटन विकासमा टेवा पुर्याउने योजनालगायतका माग राखेर घुन्सा, फले र ग्याब्लावासीका तर्फबाट संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ ।

कोरोना परीक्षण गर्ने चार प्रयोगशाललाई स्पष्टीकरण

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) परिक्षण गर्ने चार नीजि प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले तोकिएको समयसम्म परीक्षण गरिएका नमूना भण्डारण गरी राख्नैपर्ने व्यवस्थाको पालना नगरेको भन्दै ती प्रयोगशालाहरुलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परिक्षण गरिएका नमुना भण्डारण गरिएका नमुना राख्नैपर्ने भए पनि ती कम्पनीले नमुना भण्डारण नगरेको जानकारी दिए । मन्त्रालयका प्रवक्ता गौतमले पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएको नमूना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरी राख्नुपर्ने व्यवस्थालाई नीजी प्रयोगशालाले उक्त व्यवस्था पालना नगरेको पाइएको बताए । मन्त्रालयले स्पष्टिकरण सोधिएका प्रयोगशालाहरुमा सेन्टर डायग्नोस्टिक ल्यावरोटरी, सुर्या हेल्थ केयर, ह्याम्स अस्पताल र स्टार अस्पतालका प्रयोगशाला रहेका छन् ।

कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छः नेता महर

तनहुँः स्कूल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने बताएका छन् । महरले सदरमुकाम दमौलीमा स्कूल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक भेटघाटका क्रममा केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको औँल्याए । ‘नेता बदमास नभएको महसुस जनता गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिनेछ’, उनले भने, ‘सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ ।’

सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना, आमा–छोराको मृत्यु

बागलुङ: जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता शर्माको जवाफः सरकारमा जाँदैनौं, कांग्रेसका सांसदको टाउको गन्ने धृष्टता नहोस्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच आइतबार भएको भेटबारे बिभिन्न कोणबाट आशंका चलिरहेको बेला प्रवक्ता शर्माले कांग्रेस पाँच वर्ष सरकारमा नजाने बताएका हुन । कोही कसैलाई भ्रम छ भने त्यसमा स्पष्ट हुन अनुरोध गर्दै शर्माले ट्विटमार्फत नेकपाको आन्तरिक विवादमा कांग्रेसको भूमिका निरपेक्ष हुने समेत स्पष्ट पारेका छन् । “५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई” उनले लेखेका छन्, “अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं ।” प्रवक्ता शर्माले नेकपाभित्र विवाद चलिरहेको बेला संसदमा बहुमत पुर्याउन कांग्रेसका सांसदको समेत जोड घटाउन हुन थालेकातर्फ संकेत गर्दै अगाडि भनेका छन्, “ अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल” आइतबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको भेटबारे दुबैपक्षबाट आधिकारिक धारणा बाहिर आएको छैन । समसामयिक राजनीतिक भेट भनिएपनि कतिपयले नेकपाभित्रको विवादका सन्दर्भमा अध्यक्ष ओलीले देउवालाई भेटेको अडकलबाजी गरेका छन् । पार्टी विभाजनको भएको अवस्थामा सदनमा बहुमत पुर्याउन नेपाली कांग्रेसको साथ खोजेको अर्थमा कतिपयले यो भेटलाई लिएका छन् । <blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>भ्रम ; कोहि कसैलाई केही छ भने !<br><br>५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l<br>अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं l<br>नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं l जय नेपाल ! <a href=”https://t.co/g4GBq1hRdn”>pic.twitter.com/g4GBq1hRdn</a></p>&mdash; Bishwa Prakash शर्मा (@bishwaprakash77) <a href=”https://twitter.com/bishwaprakash77/status/1330466886660874240?ref_src=twsrc%5Etfw”>November 22, 2020</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

संसदीय समितिका निर्देशन : कस्तो छ कार्यान्वयनको अवस्था ?

काठमाडौं । लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गरिरहेका राष्ट्रमा संसदीय समितिको निर्देशन बाध्यात्मक हुने भएकाले त्यस्ता निर्णय गम्भीरताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइएको छ। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘मिनी पार्लियामेन्ट’का रूपमा रहेका संसदीय समितिका निर्देशनले सरकारलाई संसद्प्रति उत्तरदायी र जनताप्रति जवाफदेही बनाउने भएकाले निर्णय पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरिन्। संसद् अधिवेशन सधैँ नचल्ने हुनाले संसद् र सरकारको कामलाई व्यवस्थित र प्रभावकारी तुल्याउन समितिले महत्वपूर्ण योगदान दिने गर्छन्। कानून निर्माणका अतिरिक्त सरकारबाट जनताका हितविपरीत गलत काम एवं निर्णय हुन थाल्यो भने सुझाव, सल्लाह, खबरदारी र निर्देशनमार्फत त्यसलाई रोक्नु समितिको मुख्य जिम्मेवारी हो। उनले भनिन् , ‘समितिका निर्णय केही पनि पालना भएनन्, यस्तो पनि होइन, तर कतिपय प्राथमिकता र महत्वका साथ दिइएको निर्देशन सम्बोधन नहुँदा कार्यान्वयनको अवस्था सन्तोषजनक मान्न सकिन्न। सरकारको ‘नेचर’ सामान्यतया मनमौजी ढङ्गले काम गरौं भन्ने हुँदोरहेछ।’ कतिपय विषयमा लोकप्रियता हासिल गर्ने होडमा कार्यक्षेत्र नाघेर दिने निर्णयले समितिको ओज घटाएको मात्र होइन, निर्देशन कार्यान्वयनमै पनि चुनौती खडा गरेको छ। समिति सदस्यबीचमा स्वार्थ बाझिएकै कारण छलफल नै नगर्नु पर्ने विषयमा निर्देशन भएका तथा निर्णयमा पुग्नुपर्ने महत्वपूर्ण विषय पनि छलफल नै नभई स्थगन भएका उदाहरण प्रशस्त छन्। सभापति श्रेष्ठ भन्छिन्, मुलुक र जनताका हितमा तुरुन्तै काम गर्न दिइएको निर्देशन ढिलो वा पछि मात्र सम्बोधन गर्नु भनेको ‘ढिलो न्याय दिनु वा न्याय नदिनु’ जस्तै हो, कोभिड–१९ सङ्क्रमण रोकथामका सम्बन्धमा सरकारबाट यस्तै भएको छ।’ समितिका निर्देशन कार्यान्वयन गर्नु कर्तव्य भएकाले कतिपय निर्देशयोग्य छैन भन्ने लागेमा सरकार र समितिका पदाधिकारीबीचको परामर्शबाट निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। समिति र सरकार एक–अर्काका दुश्मन नभई पुरक भएकाले जनताप्रति उत्तरदायी बनाउन दिइने निर्देशनले सरकारलाई सफल तुल्याउन योगदान पुग्नेछ तर कतिपय मुद्दामा ‘समितिले असहयोग गर्यो, अङ्कुश लगाउन खोज्यो’ भन्ने सरकारी पदाधिकारीको भनाइ छ। ह्विप लाग्दैन तर पनि दलीय विभाजन देखिन्छ कुनै बेला सरकारलाई बोल्न अप्ठेरो परेको बेलामा समितिले विषय उठाइदिँदा सरकारलाई काम गर्न सजिलो भएको उदाहरण पनि भेटिन्छन। संसद्जस्तो समितिमा ह्विप नलाग्ने भएपनि कतिपय मुद्दामा दलीय विभाजन प्रष्ट देखिने गरेको छ। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलका अनुसार समितिका निर्णय र निर्देशन कार्यान्वयन नभएको पनि होइन, सन्तोषप्रद ढङ्गले भएको पनि नपाइएको बताइन्। उनले भनिन् , ‘समितिले पठाएको सुझाव र निर्देशन एकाधबाहेक लिखित जवाफ आउने गरेको छ, बैठक बस्नुपूर्व सरोकारवालासँग हुने अनौपचारिक छलफलले निर्देशन कार्यान्वयनमा सहजता ल्याउने हुनाले हामीले त्यो अभ्यास गरेका छौं।’ सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन दिइएका निर्देशनमध्ये सरकारले नीतिगत र नयाँ कानून बनाउने सन्दर्भमा समितिको सुझावलाई सम्बोधन गर्दै आए पनि अरु पाटोमा भने सन्तोष मान्ने अवस्था नभएको सभापति रावलले बताइन्। लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी भर्नाका लागि गरेको विज्ञापन संविधानको भावनाअनुसार समावेशी सिद्धान्तलाई नअपनाइएको भनी राज्य व्यवस्था तथा सुशासन समितिले त्यसलाई रोक्न निर्देशन दिए पनि आयोग र सरकारले कार्यान्वयन नगरेको भनी आलोचना भएको थियो। राजनीतिक दबाबका निर्देशन विवादमा केही समितिले विषयको गम्भीर्यतालाई तद्अनुरुप पर्याप्त छलफल नगरी राजनीतिक दबाबका कारणबाट हतारमा निर्देशन दिँदा त्यस्ता निर्णय विवादमा पर्ने गरेको छ। सार्वजनिक लेखा समितिले दिने निर्देशन बेरुजुसँग सम्बन्धित आर्थिक तथा वित्तीय उत्तरदायित्वसँग जोडिएकाले कार्यान्वयनको पक्ष बाध्यातमक हुनुपर्छ भन्ने मान्यता राखिन्छ तर कतिपय नीतिगत निर्देशन पनि साधनस्रोत र जनशक्तिको पाटो देखाएर केही मन्त्रालयले सम्बोधन नगरेको समितिको गुनासो छ। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले निरन्तर जानकारी माग गरिए पनि एकाधबाहेक निर्देशन पालना भएको जवाफ प्राप्त नहुने गरेको प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘समितिमा व्यापक छलफल गरी ठोस आधारसहित दिइएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई कुनै अप्ठेरो छैन तर पनि ९० प्रतिशत निर्देशन कार्यान्वयन भएका छैनन्।’  समितिको निर्देशनकै आधारमा सरकारले राहदानी, मोबाइलको रिचार्ज कार्ड स्वदेश र अन्तःशुल्क स्टिकर छपाइमा नेपालकै कम्पनीको संलग्नता हुने व्यवस्था गरेको थियो। केही संस्था र व्यक्ति विशेषले कतिपय निर्देशन आफ्नो स्वार्थ पूरा गर्न हतियार बनाउने तथा आफ्नो अनुकूल नहुने निर्देशन घर्रामा थन्क्याउने प्रवृत्ति अन्त्य हुन आवश्यक रहेको सार्वजनिक लेखा समितिका सचिव डा। रोजनाथ पाण्डे बताउछन्। ‘हत्तेरी कार्यान्वयन भएन’ भन्ने अवस्था पनि छैन जनताको प्रतिनिधिले अधिकारप्राप्त फोरमबाट गरेको निर्देशन कार्यान्वयन गर्ने पाटोमा भइरहेको आनाकानी र ढिलासुस्ती अन्त्य गर्न सरकार र संसद्का पदाधिकारीबीच निन्तर आवश्यक परामर्श हुन आवश्यक देखिएको छ। हालसम्म मुलुकमा संसदीय निगरानी नीति बनेको छैन, जुन बनाउन आवश्यक छ। प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले समितिले संस्थागतरूपमा दिएका निर्देशन केही कार्यान्वयन भए पनि कतिपय महत्वपूर्ण विषय कार्यान्वयन नभएको बताइन्। उनले भनिन्, ुकार्यान्वयन भए भनेर सन्तुष्ट हुने अवस्था पनि छैन, ‘हत्तेरी कार्यान्वयन केही पनि गरेनन्’ भन्ने परिस्थिति पनि होइन। कार्यान्वयन किन भएन भनेर कतिपय विषयमा ताकेता पनि गरेका छौं तर चिन्त बुझ्दो र सन्तुष्ट हुने खाले अवस्था छैन। शक्तिपृथकीकरणको पाटोमा ध्यान पुर्‍याउनुपर्छ सरकारले कतिपय अवस्थामा शक्तिपृथकीकरणको पाटोबाट नहेरी समितिले आफ्नो शक्तिमाथि नियन्त्रण गर्न र काम गर्न भाँजो हाल्यो कि भन्ने आकलन गरी निर्देशनलाई नजरअन्दाज गर्दै पन्छाउने गरेको समितिका सदस्य बताउछन्। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सचिव सुरजकुमार दुराले समितिका सबै निर्देशन कार्यान्वयन भएको अवस्था नरहेको बताए। उनले भने,‘केही निर्देशन भने ठीक ढङ्गले कार्यान्वयन भएका छन्। ब्रिटिश गोर्खा, तारागाउँ विकास समिति, नेपाल वायुसेवा निगमका सम्बन्धमा समितिले दिएको निर्देशन हालसम्म कार्यान्वयन नभए पनि कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका र सीमा क्षेत्रमा रोकिएका नागरिकलाई स्वदेश ल्याउने काम भएको छ।’ प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभा मातहत चार र सङ्घीय संसद्को संयुक्त समितिका रुपमा दुई वटा विषय समिति छन्। केही फाटफुट घटनाबाहेक पछिल्ला वर्षमा समितिका निर्णय बैठकमा उपस्थित सदस्यको सहमति र सहकार्यकै आधारमा हुँदैआएको निर्देशन र निर्णय कार्यान्वयनले सरकारको लोकप्रियतालाई बढाउने छ। । रासस

मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

रौतहट : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हत्यामा संलग्न मुख्य आरोपी विन्दवासिनी-३ का अखिलेशप्रसाद चौरसिया भनिने अशेसर प्रसाद चौरसिया रहेका छन् । कात्तिक ६ मा विन्दवासिनी-५ मा आयोजित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुईपक्षबीच झड्प हुँदा अशेसरले हानेको बाँसको भाटाले लागेपछि मुकेश ढलेको भिडियो सार्वजनिक भएको थियो । उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्ज स्थित न्यूरो अस्पतालमा मुकेशले ज्यान गुमाएका थिए । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि हानिफ मियाँ गद्दी, देवा सहनी र बिन्दवासिनी गाउँपालिका–४ घर भएका ३२ बर्षिय निरन्जन तिवारी उर्फ उत्तमलाई पक्राउ गरेको थियो । मृतकका आफन्तले पूर्व सभाषद् राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत किटानी जाहेरी जाहेरी दर्ता गरेका छन् ।

यती माउन्टेन होटलमा आगलागी, २ करोड बराबरको क्षति

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-३ को फाग्दिङमा रहेको यती माउन्टेन होम (होटल) मा आगलागी भएको छ । आइतबार बिहान ९ बजे विद्युत शर्ट भइ आगलागी हुँदा होटल पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट होटलको भौतिक संरचनासहित होटलभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए । आगलागीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगो स्थानीय नेपाली सेना र प्रहरीको सक्रियतामा झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको बताइएको छ । यो होटल यती ग्रुपमार्फत झण्डै १२ वर्षअघि सञ्चालनमा आएको हो ।

कोरोनामुक्त भए भट्टराई दम्पती

काठमाडौं : पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पुष्टि भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । ट्वीटरमार्फत् उनले भनेका छन्, ‘एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ। अतः सबैले नियमित सुरक्षा विधि जारी राखौं! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’ बाबुराम र हिसिला गत कात्तिक ८ गते दुवै संक्रमित भएका थिए ।

फेसबुकमार्फत १० लाख ठग्ने युवक पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत १० लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफूलाई ठूलो समस्या परेको, विदेश (ब्राजिल) मा रहेको परिवार गम्भीर बिरामी रहेको भन्दै महिलालाई फेसबुकमार्फत साथी बनाई विश्वास दिलाई तत्काल फिर्ता गर्नु भनि पटकपटक गरी १० लाख २८ हजार ७ सय ठगी गरेको आरोपमा रूपचन्द्र पाण्डे पक्राउ परेका हुन् । उनी बाजुराको हिमाली गाउँपालिका-४ निवासी २७ वर्षका युवक रहेको प्रहरीले जनाएको छ । ठगीको आरोप लागेका पाण्डेलाई प्रहरीले मङ्सिर ५ गते पक्राउ गरेको थियो । उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर मुद्दा लगाइएको छ । जिल्ला अदालत स्याङ्जाबाट दिन ७ को म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं र भक्तपुरका सीडीओको सरुवा, को कहाँ?

काठमाडौं : काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहस्रोतले जनाएको छ । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

प्रधानमन्त्रीलाई भेटेलगत्तै तीन सुरक्षा निकायका प्रमुख गृहमन्त्रीसँगको छलफलमा

काठमाडौं : सुरक्षा निकायका तीन प्रमुख गृह मन्त्रालयमा पुगेका छन् । आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख गृहमन्त्री रामबहादुर थापालाई भेट्न गृह मन्त्रालय पुगेका हुन् । सोअघि आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक छलफल गरेका थिए । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा गणेश अधिकारीसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् । यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन । चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाए पनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

१६६९संक्रमित थपिए, निको भए ५६९९

काठमाडौंः नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आइतबार मात्रै ५६९९ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । हाल सक्रिय संक्रमित संख्या १९ हजार ९६३ छ । आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३२१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

पार्टीमा एक्लिँदा गम्भीर संकटमा ओली, देउवासँग गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौंः पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका माझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको भेटघाटलाई तीव्र बनाएका छन् । नेकपा विभाजन भएको अवस्थामा सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् । त्यसका लागि उनले कांग्रेससँग छलफल अघि बढाएका हुन् । शनिबार दिउँसो ३ घण्टा भएको गोप्य भेटमा नेकपा अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको देउवा निकट स्रोतले बताएको छ । उक्त भेटबारे कांग्रेस नेता रमेश लेखकले पनि पुष्टि गरे । संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै देउवालाई प्रधानमन्त्री ओलीले बोलाएका थिए । तर, पार्टी विवादका कारण एक्लिएका ओलीले पद जानसक्ने चिन्तालाई मध्यजनर गर्दै देउवासँग सत्ता साझेदारीको प्रस्ताव अघि सारेका हुन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटेको भोलिपल्टै देउवाले ओलीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि पार्टीको विवाद उत्कर्षमा पुगेकै वेला प्रधानमन्त्री ओलीले १७ असारमा कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए । त्यसको कांग्रेस नेताहरूले नै विरोध जनाएका थिए । यसपटकको भेटबारे कांग्रेस नेताहरूले केही प्रतिक्रिया दिएका छैनन् ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

कञ्चनपुरः गएराति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । उनले भने, ‘दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ । आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो ।’ दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।