विश्वराज पोखरेल एआईजीमा सिफारिस
काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको आज बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो ।
डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो।
सोमबार कहाँ कति संक्रमित थपिए ? (सूचीसहित)
काठमाडौंः नेपालमा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९३१ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमित १७ हजार ४२३ छन् । सोमबार मात्रै २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ । कहाँ कति थपिए ? काठमाडौंमा कोरोनाको अवस्था
साथीका घरमा जान्छु भनेर हिँडेका सुजन ५ दिनपछि हत्या गरिएकाे अवस्थामा फेला
इनरुवाः पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो । नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मङ्सिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मङ्सिर ११ गते जाहेरी दिइएको थियो । उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए । घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको जनाइएको छ ।
नेकपा कुनै हालतमा पनि फुट्दैनः वरिष्ठ नेता खनाल
पशुपतिनगरः नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए । ‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न’, इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले भने । उनले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताए । खनालले मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उल्लेख गरे । ‘खास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ’, खनालले भने । उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे । ‘नेकपालाई कसले फुटाउन सक्छ कुन नीतिले फुटाउन सक्छ कुन कानूनले फुट्न सक्छ हामी चुनौती दिन चाहान्छौँ’, उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधानबमोजिम कानूनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानूनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आतिनुपर्ने कुरा छैन ।’
प्रधानमन्त्री ओलीले ल्याए टिकटक एकाउन्ट सञ्चालनमा
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट सञ्चालनमा ल्याएका छन् । प्रधानमन्त्री ओलीले आइतबार खोलेको एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट गरिएको अकाउन्टलाई २६ सय जनाले फलो गरिसकेका छन् । पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् । यसमा १३ हजारभन्दा बढी लाइक्स, ३ सयभन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म २ सय ३२ जनाले सेयर गरेका छन् । टिकट युवापुस्तामा लोकप्रिय बनिरहेको छ ।
मोटरसाइकल दुर्घटनामा नेकपाका नेताको मृत्यु
नुवाकोटः गएराति मोटरसाइकल दुर्घटना हुँदा तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नंं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए । दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टी एकतापश्चात् नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।
कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरतः अर्थमन्त्री पौडेल
काठमाडौंः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ आँैं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताए । सरकारको सामथ्र्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गरे । उनले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माण गर्ने योजनाअनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको जानकारी दिए । सो कार्यका लागि अर्थ मन्त्रालयले रु ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।
४ सातापछि भेट्टियो शव
नुवाकोटः गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् । ८७ वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणका क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए ।
दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार छः पुन
काठमाडौंः उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी सबस्टेशनको उद्घाटन गर्दै पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले भने, ‘दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस्, हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौं । उहाँहरूले भन्न सक्नपर्छ । हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं । तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन । हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ । हामी त्यसका लागि तयार छौं ।’ नेता पुनले नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको बताए । हाल नेकपाभित्रको पछिल्लो बहसले सिंगो देशको राजनीति नै प्रभावित भएको जस्तो देखिएको भन्दै उनले यसबाट पार्टी एकता कमजोर नहुने दाबी गरे । यसले एकतालाई झन् बलियो बनाउने उनको विश्वास छ । ‘पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ । हामी त्यसमा जान दिँदैनौ । संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं । पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ । यसले पार्टीलाई नयाँ ठाउँमा पुर्याउँछ । ठूला विवादको निरूपण महाधिवेशनबाट गर्छौं । साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्छ’, उनले भने ।
नेपाल प्रहरीका फेरिए प्रवक्ता
काठमाडौंः नेपाल प्रहरीका प्रवक्ता फेरिएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरलाई प्रवक्ता तोकेको छ । यसअघि प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायत रहेका प्रवक्ता रहेका थिए । उनको प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरूवा भएको छ ।
त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला
चितवन: इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो । सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । कोभिड महामारीले करिब दश महिनादेखि अबरुद्ध बन्न पुगेको क्रिकेट पुनः लयमा फर्किन लागेको हो । बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएपछि तीनैजना आइसोलेशनमा छन् । प्रशिक्षणमा थप पाँच खेलाडी समावेश गरिएका छन् । अनिल कुमार साह, विक्रम सोब, कुशल भुर्तेल, रित गौम र लोकेश बमलाई बोलाइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा कोभिड विरुद्ध विशेष सतर्कता अपनाएर खेलाडीहरु बन्द प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षकको पदपूर्तिमा ढिलाइ हुँदा जगत बहादुर टमाटाले नै बन्द प्रशिक्षणमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नेछन् । प्रशिक्षणमा पूर्व कप्तान पारस खडकासहित २२ जना खेलाडी सहभागी छन् । शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी र ललित नारायण राजवंशी सहभागी छन् । मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी र सन्दीप जोरा छन् । किशोर महतो र भुवन कार्की समेत बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।
भारतका विदेशसचिव हर्षवर्ध्दन काठमाडौंमा
काठमाडौंः भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत काठमाडौं आइपुगेका छन् । उनी बिहीबार विशेष विमानमार्फत काठमाडौं उत्रिएका हुन् । आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्नेछन् । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्ने जनाइएको छ । विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा बिहीबारै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्नेछन् । यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुनेछ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ । त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माणअन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ । विशेषगरी उनको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ । भ्रमणकै क्रममा उनले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् ।
पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना
काठमाडौंः पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पश्चिमी वायुको प्रभाव आज बेलुकादेखि विस्तारै कमजोर हुँदै जाने मौसमविद् समिर श्रेष्ठले बताए । शुक्रबारदेखि मौसम सुधार हुन्छ । तत्काललाई वर्षाको सम्भावना छैन । हाल वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । देशभर अपराह्न आंशिकदेखि सामान्य बदली भई गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियस छ ।
छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय
छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको मंगलबारको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको हो । नयाँ ऐनअनुसार जन्मकैद २५ वर्ष तोकिएको छ । श्रीमतीले आत्महत्या गरेपछि बाबुले छोरीलाई २०७३ देखि बलात्कार गर्दै आएका थिए । घटनाबारे छिमेकीहरूले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले गत चैत ३० मा उनलाई पक्राउ गरेको थियो । कास्कीमा छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका छन् । १३ वर्षीया छोरीले अधिकारकर्मीलाई फोन गरेर बताएपछि घटना बाहिर आएको हो । बालिकाकी आमाले बुधबार हाडनाता करणी तथा करणीसम्बन्धी कसुरबमोजिम कारबाहीको माग गर्दै जाहेरी दिएकी छन् ।
चितवनमा रहेका पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या
भरतपुर : चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ । स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ । सोमबार दिउँसो भैरहवाबाट आफैँले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए । अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ। डा. रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन् । अहिले इसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए । इसिजी रिपोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए ।

