मोटरसाइकल दुर्घटनामा मृत्यु

रसुवाः मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् ।

लारच्याङबाट पारच्याङतर्फ जाने क्रममा बा.४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँकेका दुई संक्रमितको मृत्यु

नेपालगञ्जः उपचारका लागि ल्याइएका दाङ र रोल्पाका २ जना कोरोना संक्रमित महिलाको बाँकेमा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएर उपचार गराइरहेका २ संक्रमित महिलाको आइतवार बिहान तीन घण्टाको फरकमा मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार गत पुस १० गते भेरी अस्पतालमा भर्ना भएकी दाङ बबई ६ की ८० वर्षीया संक्रमित महिलाको उपचारकै क्रममा आइतवार बिहान ६ः३० बजे मृत्यु भएको थियो भने रोल्पा लिवाङ ४ बाट पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकी ४२ वर्षीया महिलाको आइतवार बिहान ३ः३० बजे मृत्यु भएको थियो । कोभिड १९ उपचारका क्रममा गरिने सबै उपचार बिधि अपनाउँदा समेत उनीहरुलाई बचाउन नसकिएको अस्पतालहरुले जानकारी गराएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । उनका अनुसार आइतवार बिहान मृत्यु भएका दुईजनासँगै बाँकेमा उपचार गर्न बाहिरी जिल्लाबाट आएर मृत्यु हुने संक्रमितको संख्या ८२ पुगेको छ ।

पाँच महिनादेखि विद्युत् अवरुद्ध

बाजुराः लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड लघु जलविद्युत् भदौ महिनाको २५ गते राति आएको अविरल वर्षाका कारण गएको पहिराले नहर भत्काएपछि विद्युत् अवरोध भएको चार महिना बितिसक्दा मर्मत नहुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् । पहिराले विद्युत्को नहर बगाएको पाँच महिना बितिसक्दा पनि नगरपालिका र विद्युत् सञ्चालक समितिले कुनै चासो नदेखाएको सेवाग्राहीले गुनासो गरेका छन् । विद्युत् सेवा उपयोग गर्दै आएका स्थानीयवासी अध्यारोबाट छुटकारा कहिले पाउने भन्ने बारेमा अन्योलमा छन् । अहिले पहिराले नहर नै बगाएको लामो समय भइसक्दा पनि निर्माण नगर्नु विद्युत् सञ्चालक समिति गैरजिम्मेवार बनेको वडा नं ३ का शुकवीर खड्काले बताए । विद्युत्को नहर भन्दामाथि नगरपालिकाले काटेको सडकका कारण पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत् सेवा नहरमा माटो जमेर बगाएपछि हालसम्म नहर निर्माण नगर्नु सञ्चालकको लापरवाही भएको खड्काको भनाइ छ । सडकले गर्दा अहिले हामीले विद्युत् बाल्न नपाएको विद्युत् सञ्चालक समितिले जनाएको छ । पहिराले नहर नै बगाएपछि कुनै सम्भावना नभएपछि विद्युत् सेवा सुचारु गर्न नसकेको बड्डीगाड लघु जलविद्युत्का व्यवस्थापक ध्रुव रेग्मीले बताए । आर्थिक अभावका कारणले विद्युत्को नहर बनाउन समस्या भएको व्यवस्थापक रेग्मीले जानकारी दिए ।

हेटौँडामा पुरुष मृत फेला, भएन पहिचान

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

संसद् विघटनविरूद्व अनेरास्ववियूले गर्‍यो देशैभर बयलगाडा प्रदर्शन

काठमाडौंः नेकपा निकट अनेरास्ववियूले देशैभर बयलगाडा प्रदर्शन गरेको छ । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत अनेरास्ववियूले असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आइतबार देशैभर बयलगाडा प्रदर्शन गरेको हो । २०६२/०६३ सालको जनआन्दोलनताका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए । सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो । उक्त संगठनले संसद् विघटनविरुद्ध पुष २९ गतेसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ । यस्ता छन् संसद् विघटनविरुद्ध अनेरास्ववियूका आगामी आन्दोलनका कार्यक्रमः पुष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने । पुष २८ गते सडक नाटक र सडक आर्ट ९ स्ट्रिट वाल पेन्टिङ । पुष २९ गते सडकमा प्ले कार्डसहित कार्टून प्रदर्शन । तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ ।

फेसबुक ह्याक गरी ३० हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सप्तरी : फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् । उनीहरुले फेसबुक अकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लील तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाउने गरेका थिए । उक्त रकम माग गरेको भन्ने जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने एक महिलाले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका-६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौंः कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिए । उनले भने, ‘उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।’ सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौं–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ । प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ । अन्य गन्तव्यमा उडान भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।  

१३०४ संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौंः नेपालमा थप १३०४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३० जना संक्रमित थपिएका छन् । सङ्क्रमितमध्ये काठमाडौंका ४०९, ललितपुरका ८५ र भक्तपुरका ३६ रहेका छन् । मन्त्रालयका अनुसार आज देशभर २०७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । आज देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ ।  

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरः मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङ रहेका छन् । सानोठिमीबाट काठमाडौंंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

नमूना सङ्कलन सुस्त

धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गर्ने काममा कमी आएको छ । गत एक हप्तामा प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शङ्कास्पद दुई हजार ३५१ जनाको नमूनामात्र सङ्कलन हुन सकेको छ । नयाँ सङ्कलित नमूनासमेत गएको हप्तामा दुई हजार ३८८ नमूनाको परीक्षण हुँदा ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा यो अवधिमा थप ३९२ जनामा सङ्क्रमण देखिँदा ४१३ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । अहिलेसम्म नौ हजार ४६० घरफर्किएका छन् । सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ । सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताए । ‘जाडो मौसममा ‘भाइरल इम्फेक्सन’को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ’, उनले भने, ‘पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ ।’ स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा नमूना सङ्कलन गर्ने काममा कमी आएको जानकारी दिए । लक्षण देखिएका र यस्ता व्यक्तिको सम्पर्कमा आएका, अन्यत्र ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने उनले बताए । सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । आजसम्म कैलालीमा १९, कञ्चनपुरमा पाँच, डडेल्धुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई र डोटी तथा बैतडीमा एक÷एक गरी जम्मा ३८ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधाणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

नेकपाको एकता बलियो भयो भने ५० बर्षसम्म निर्वाचनमा विजयी हुन्छौंः मन्त्री भट्टराई

हुम्लाः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको बिबादले नेकपा कहिल्यै नफुट्ने बताएका छन् । सोमबार सिमकोट विमानस्थलको अनुगमन गर्न आएका मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुसँगको भेटका अवसरमा सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा ठुलो पार्टी भएको कारण केही समस्या देखिनु स्वभाविक भएपनि अहिलेको यो समस्या कै कारण पार्टी कुनै पनि हालतमा नफुट्ने बताए । उनले दुई अध्यक्षबिचको आरोप प्रत्यारोपले समाधान चाँडै पाउने र पाटी बलियो भएर अगाडी बढ्ने आस्वासन कार्यकर्ताहरुलाई दिए । बेला बेलामा नेकपामा आउने यस्ता केही व्यवधानले समाधान पाउने गरेको बताउँदै अहिलेको समस्या पनि चाँडै टुङ्गिने बताए । दुई विशाल पार्टी मिलेर नेकपा बन्दा नेताहरु धेरै भएको र सबैमा आकांक्षा देखा पर्नु स्वभाबिक भएको उनले बताए र मन्त्री भट्टराईले अहिले दुई अध्यक्षबिच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने पनि बताए । नेताहरु फुट भन्दा पनि एकता बलियो बनाउने प्रयासमा लागेकोले यसले चाँडै मुर्त रुप पाउने विस्वास उनले व्यक्त गरे । उनले मुलुकको सम्बृद्धि नेकपाको मिलनले मात्र सम्भव हुने बताउँदै त्यसलाई पुरा गर्न नेकपाको मिलन अनिवार्य रहेको बताए । नेकपाको एकता बलियो भयो भने मुलुकमा ५० बर्षसम्म निर्वाचनमा विजयी हुने ठोकुवा गर्दै उनले त्यसका लागि सबैमा सुझबुझ हुनु जरुरी रहेको बताए ।

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

सप्तरीः सप्तरीबाट विरामी बोकेर उपचारको लागि विराटनगर लेजाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँबाट बिरामी बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । मृतक मण्डलका ३० वर्षीय छोरा जितेन्द्र मण्डल, ५० वर्षीय भाई रामसुन्दर मण्डल र ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल घाइते छन् । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स र ट्रली चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उच्च रक्तस्रावले सुत्केरीको मृत्यु

अछामः उच्च रक्तस्रावले तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको गएराति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ । ‘रक्तस्राव निकै बढी भएको रहेछ’, डा भारद्वाजले भने, ‘ढिलो गरी अस्पताल ल्याउँदा उहाँको मृत्यु भयो ।’ उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ ।

आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक पक्राउ

सर्लाही । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँट्टा उद्योगमा काम गर्दै आएका थिए । परिवारजनका अनुसार करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए । त्यसपछि गत मङ्सिर १२ गते राति पुनःबलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो । पीडित बालिका र उनका बुबाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गरिएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौं : संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याएको हो । समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो । समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गरे ।

दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ : मन्त्री पुन

रोल्पा : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताएका छन् । रोल्पा नगरपालिका-३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भने, ‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’ उनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताए । ऊर्जामन्त्री पुनले भने, ‘दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।’ वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उनले सो सबस्टेसन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुने बताए । मन्त्री पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।