काठमाडौं उपत्यकामा आज १६२२ जनामा कोरोना संक्रमण
काठमाडौं : गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरका ९६ र ललितपुरका १६४ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।
कांग्रेसका महासमिति सदस्यको कोरोना संक्रमणबाट निधन
नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए । वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । File Photo
टेकु अस्पतालको घाेषणा- ५० हजार धरौटी र दैनिक १५ हजार नतिरे बिरामी नलिने
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूले ५० हजार धरौटी र दैनिक १५ हजार नतिरे कोरोना संक्रमित बिरामी नलिने भएको छ । अस्पतालले एक सूचना निकाली सरकारको निर्देशनअनुरुप भर्ना लिनुपूर्व बिरामीले धरौटी अनिवार्य जम्मा गर्नुपर्ने जनाएको हो । कात्तिक १४ गतेदेखि लागू हुने गरी विरामीको अवस्था हेरेर शुल्क निर्धारण गरेको सूचनामा उल्लेख गरिएको छ । अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकेको छ भने ५० हजार धरौटी रकम जम्मा गर्नुपर्ने जनाएको छ। आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक खर्च सात हजार पाँच सय लाग्ने र धरौटी ३० हजार रुपैयाँ राख्नुपर्ने उल्लेख गरेको छ । क्याबिन आइसोलेसनमा बस्नेले दैनिक सात हजार पाँच सय खर्च र ३० हजार धरौटी जम्मा गर्नुपर्ने छ । त्यस्तै गास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक तीन हजार पाँच र २० हजार धरौटी जम्मा गर्न भनिएको छ । अस्पतालले प्रमुख वरिष्ठ कन्सल्टेण्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था, औचित्यता र आवश्यकताका आधारमा उपचार खर्चमा १० देखि शतप्रतिशतसम्म छुट दिन सकिने पनि जनाइएको छ। ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएका, अशक्तता र एकल महिलाको प्रमाणपत्र भएमा भने उपचार शुल्कमा १० प्रतिशतदेखि शत प्रतिशत छुट हुने उल्लेख छ । केहि समयअघि सरकार ९स्वास्थ्य तथा जनसंख्या मन्त्रालय० ले निश्चित वर्गबाहेक अरु कोभिड–१९ का बिरामीको निःशुल्क उपचार नगर्ने निर्णय गरेको थियो । टेकू अस्पतालले नै धरौटी नराखी कोभिडको उपचार नगर्ने, दैनिक खर्च १५ हजार तोकियो । निर्णयसँगै निजी अस्पतालहरुले कोभिडका बिरामीका लागि शुल्क निर्धारण गर्दा चौतर्फी बिरोध भएको थियो। सरकारी अस्पतालले अहिलेसम्म रकम तोकेका थिएनन् । तर आमसर्वसाधारणको उपचार गर्ने टेकू अस्पतालले नै यसरी रकम तोकेपछि उनीहरु मारमा पर्ने भएका छन् ।
पूर्व राज्यमन्त्री रायसहित १० जना जुवाखालबाट पक्राउ, डेढ लाख बरामद
काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । यस्तै ललितपुरबाट पनि गएराति १८ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद बरामद भएको प्रहरीले जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका चाङ्गाथलीका शंकर बस्नेतको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । यता, दाङको घोराहीमा पनि पाँच जना जुवाडे साढे ३ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ परेकाहरुको ठेगाना नखुलेको प्रहरीले जानकारी गराएको छ ।
काभ्रेकाे जङ्गलमा एक पुरुषको शव फेला
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो । शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।
आज अधिकांश स्थानमा मौसम सफा रहने, यस्तो छ मौसम विज्ञानको पूर्वानुमान
काठमाडौं, १६ कात्तिक । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । दिउँसो : प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यो वर्ष तिहारमा भारतबाट फूल नल्याइने
काठमाडौं : बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गतवर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए । अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । ग वर्ष ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ । विगतका वर्षमा तिहारमा मात्रै १५ करोड फूलको कारोवार हुने गरेको थियो । श्रेष्ठले भने, ‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ ।’ अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।
कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित
पोखराः पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखी महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए । त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए । महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ ।
विराटनगरमा एकैदिन तीन संक्रमितको मृत्यु
काठमाडौंः कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए । यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी रहेको केन्द्रले जनाएको छ । यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ललितपुरका संक्रमितको किस्ट अस्पतालमा मृत्यु
निःशुल्क पीसीआर परीक्षणमा नयाँ मापदण्ड
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण हुने बताए । अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना परीक्षण हुनेछ । निःशुल्क परीक्षण गर्ने दायराभित्र परेका व्यक्तिका बीमा कम्पनीमा बीमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बीमा रकमबाट बेहोरिने निर्णय गरेको बताए । असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । समूहगत आवासमा बस्ने व्यक्ति, ब्यारेक, जेल, छात्रबास, वृद्धाश्रम लगायतमा ‘मास स्क्रिनिङ’का लागि एन्टिजेन परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
ललितपुरका संक्रमितको किस्ट अस्पतालमा मृत्यु
काठमाडौंः ललितपुरमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको बिहीबार बिहान किस्ट अस्पतालमा मृत्यु भएको हो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार असोज २० गते भर्ना गरिएको उनको उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो । मृतकको छातीमा पानी जमेको समस्या थियो ।
भेन्टिलेटर र आइसियुका लागि देशैभरिका अस्पतालमा पठाइयो करोडौं रकम, ६४९ स्थानीय तहमा ५ बेडको अस्पतालका लागि ६५ करोड
काठमाडौं । सरकारले कोरोनालगायतका महामारीसँग जुध्न देशैभरिका अस्पतालाई सुदृढ बनाउन करोडौं रकम विनियोजन गरेको छ । आपतकालिन अवस्थामा अत्यन्तै जरुरी मानिने भेन्टिलेटर र आइसियु सेवा प्रदान गर्न करोडौं रकम पठाइएको हो । सरकारी अस्पतालमा आइसियु र भेन्टिलेटरको पर्याप्त व्यवस्था नहुँदा सर्वसाधारणले निकै चर्को मूल्यमा नीजि अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा ५ वटा भेन्टिलेटरसहित १५ वटा आइसियुको व्यवस्थापनका लागि प्रति अस्पताल ३ करोड रुपैयाँ बजेट पठाइएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वटा भेन्टिलेटर र १० वटा आइसियुका लागि दुई करोड र ३४ भेन्टिलेटर र १०० आइसियुका लागि २० करोड बजेट विभिन्न अस्पतालमा पठाइएको छ । मन्त्रालयको गत भदौ २१ गतेको कोभिड कोष निर्णयका आधारमा त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर र १४ आइसियुका लागि लागि ५ करोड ७५ लाख रुपैयाँ बजेट पठाइएको छ। धुलिखेल अस्पतालमा ५ भेन्टिलेटर र १४ आइसियुका लागि २ करोड ८५ लाख रुपैयाँ पठाइएको छ। त्यसैगरी, प्रहरी अस्पतालमा भेन्टिलेटरसहित २० आइसियुका लागि ८ करोड ४० लाख रुपैयाँ पठाइएको छ। प्रदेश अन्र्तगतका धनकुटा अस्पताल, पाँचथर अस्पताल, सर्लाही अस्पताल, गौर अस्पताल, नुवाकोट अस्पताल, धादिङ अस्पताल, दमौली अस्पताल, कपिलवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल, कालिकोट अस्पताल र सल्यान अस्पतालमा ४ वटा भेन्टिलेटर र १० वटा आइसियुका लागि दुई÷दुई करोड रुपैयाँका दरले २८ करोड रुपैयाँ पठाइएको छ। अन्य व्यवस्थापनका लागि जाजरकोट र दैलेख अस्पतालका लागि उपकरण खरिदका लागि ५० लाखका दरले एक करोड रुपैयाँ पठाइएको छ। त्यसैगरि, सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कोभिड(१९ सँग सम्बिन्ध उपकरण खरीदका लागि १ करोड रुपैयाँ, राष्ट्रिय अनुसन्धान परिषदुलाई अनुसन्धानका लागि २ करोड रुपैयाँ पठाइएको जनाएको छ। अस्पताल निर्माण भइनसकेका स्थानीय तहमा पाँच बेडको अस्पताल निर्माणका लागि ६४९ स्थानीय तहमा १० लाखको दर ६४ करोड ९० लाख रुपैयाँ निकासा दिइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
११ थान बन्दुकसहित ११ जना पक्राउ
अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्विर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो । प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिईका बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकिछिपी राखेको आशंकमा खानतलासी गरिरहेको छ । बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरुको मुचुल्काको काम नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । “मुचुल्का हुँदैछ नाम आइसकेको छैन्, भेटिएको ठाउँमा फोन लाग्दैन्”, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भन्नुभयो, “सङ्ख्या बढ्न सक्छ, अहिलेलाई अनौपचारिक रुपमा ११ जना नियन्त्रणमा आएको खबर छ ।” बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ । यसैबीच, इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको उहाँको भनाइ छ । रासस
लोकेसवाले खाेल्याे ६३८ सीटका लागि विज्ञापन (सूचनासहित), परीक्षा हलमा कोरोना रिपोर्ट अनिवार्य
काठमाडौँ — लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ । अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ । ‘बिहान र दिउँदो दुई सिफ्टमा परीक्षा चलाउँदा पनि माघ अन्तिमसम्म जाँचको रुटिन बनेको छ,’ आयोगका अध्यक्ष उमेश मैनालीले भने । यसपछि क्रमश: शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीहरूको विज्ञापन गरिने उनले उल्लेख गरे । आयोगले परीक्षामा कोभिड–१९ संक्रमितले परीक्षामा बस्न नपाउने गरी मापदण्ड तयार पारेको छ । कोभिड संक्रमितका लागि वैकल्पिक व्यवस्था नगरिएकामा विरोध पनि भइरहेको छ । परीक्षा हलमा प्रवेशपूर्व विद्यार्थी स्वयंले आफूलाई कोभिड संक्रमण भए/नभएको घोषणा गर्नुपर्ने मापदण्डमा भनिएको छ । संक्रमित विद्यार्थीका लागि अर्को मितिमा वा छुट्टै हल व्यवस्थापन गरेर परीक्षा लिन सम्भव नदेखिएको अध्यक्ष मैनालीले बताए । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई तोकेर परीक्षाको तयारी गरिएको बताए । एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । एउटा बेन्चमा एक जना परीक्षार्थी मात्रै हुनेछन् । परीक्षार्थी तथा परीक्षा गराउन खटिने जनशक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने परीक्षा व्यवस्थापन मापदण्डमा उल्लेख छ ।
मापदण्ड नबन्दै मन्त्रीपरिषद पुनर्गठन भएको भन्दै नेकपामा चर्को असन्तुष्टि, के थियो स्थायी कमिटिको निर्णय ?
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषदमा हेरफेर गरेपछि पार्टीभित्र चर्को असन्तुष्टि देखिएको छ । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्दा पार्टीले यसअघि गरेको निर्णय उल्लंघन गरेको भन्दै माधव नेपाल र प्रचण्ड निकट नेता तथा कार्यकर्ताहरुले आलोचना गरेका हुन । गत भदौ २६ गते नेकपा स्थायी कमिटिको बैठकले १५ बुँदे निर्णय पारित गर्दै ‘देशलाई विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ अघि बढाउन आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अघि बढ्न मन्त्रिपरिषद् पुनर्गठन’ गर्ने प्रस्ताव पारित ग रेको थियो । सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन हुँदा अपनाइने मापदण्डबारे पनि नेकपा स्थायी कमिटी बैठकले सैद्धान्तिक आधार तय गरेको थियो । अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् पुनर्गठन गर्ने आधार छ । मन्त्रिपरिषद् पुनर्गठनमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने स्थायी कमिटीबाट पारित प्रस्तावमा छ । तर बुधबार पारित प्रस्तावमा भने यी विषय समेटिएका छैनन् । यो बीचमा मन्त्रीपरिषद पुनर्गठनका लागि दुबै अध्यक्षबीच भएका छलफलमा समेत मापदण्डको खाका बन्न सकेको थिएन । पटकपटकको छलफलमा पनि कुनै निष्कर्श ननिस्केपछि मन्त्रीपरिषदको पुनर्गठनमा ढिलाई भएको थियो । यसैबीच कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सो विषयमा समेत दुबै अध्यक्षबीच छलफल भएको थियो । कर्णालीको विवाद साम्य गरेर दशैंपछि मन्त्रीपरिषद पुनर्गठन गर्ने विषयमा दुबै अध्यक्षबीच छलफल चलेको श्रँेतको दावी छ । तर प्रधानमन्त्री ओलीले आकस्मिकरुपमा रिक्त मन्त्रालयमा केही नयाँ मन्त्री र जिम्मेवारी हेरफेर गरेपछि यसको पार्टीमा आलोचना भएको हो । बृहतरुपमा पुनर्गठनको मापदण्डमा सहमति नभएपछि ओली र प्रचण्डबीच अर्थ मन्त्रालयमा महासचिव पौडेललाई पठाउने विषयमा मात्र सहमति भएको श्रोत बताउँछ । स्थायी समितिको बैठकले भने मन्त्रिपरिषद् पुनर्गठन गरेर सरकारको कामलाई कोभिड– १९ महामारीले सिर्जना गरेको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता विषयमा केन्द्रित गर्ने निर्णय गरेको थियो । यही मनसायका आधारमा प्रतिनिधिसभाको यो कार्यकालभरि ओलीले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने तथा प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीका बैठक सञ्चालन, निर्णयहरू कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने गरी दुई अध्यक्षको कार्यविभाजनसमेत समेत गरिएको थियो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा ४ असोजमा भएको केन्द्रीय सचिवालय बैठकको छलफलमा नेताहरूबीच प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई राजीनामा गराएर पुनर्गठन, दुईवर्षे कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई बिदा दिएर पुनर्गठन गर्ने वा रिक्त मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने विकल्पमा केन्द्रित रहेर छलफल भएको थियो । यो विषयमा गृहकार्य गर्ने जिम्मेवारी अध्यक्षद्वय ओली र प्रचण्डलाई दिइएको थियो । प्रचण्डले दुई वर्ष पूरा गरेका मन्त्रीहरूलाई बिदा दिएर अधिकांश मन्त्री हेरफेर गर्नुपर्ने अडान राखेका थिए भने प्रधानमन्त्री ओलीले अहिलेलाई रिक्त मन्त्रालयमा मात्र पदपूर्ति गरेर जाने योजना राख्दै आएका थिए । प्रधानमन्त्री ओलीले पार्टी सचिवालयलाई कुनै पनि जानकारी नदिई मन्त्रिपरिषद् पुनर्गठन गठन गरेकोमा वरिष्ठ नेता नेपालले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर माधव नेपाल निकट एक नेताका अनुसार, यो विषयमा कुनै पनि सल्लाह भने नेपालसँग समेत गरिएको थिएन । ‘यो स्थायी कमिटी र सचिवालयको म्यान्डेडविपरीत भयो,’ नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन भयो भनेर मिडियाबाट थाह भयो । व्यक्तिगत रुपमा पनि कुनै सल्लाह पनि गरिएन ।’ प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्दा माधव नेपाल समूहका एकजना पनि राखेका छैनन् । अर्कोतर्फ उनले यसअघि पूर्व एमाले समूहले पाएका मन्त्रालयमा मात्रै नियुक्त गरेका छन् ।
नेकपाका वरिष्ठ नेता खनाल अस्पताल भर्ना
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । प्रेसर र स्वासप्रस्वास सम्बन्धी समस्या आएपछि उनी मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना भएका हुन् । थप विवरण आउन बाँकी छ । सम्भवतः खनाल भोलि नै डिस्चार्ज हुने सक्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

