यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ६ निर्णय (सूचीसहित)
काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।
यसअघि सरकारले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने निर्णय गरेको थियो । साथै ५० प्रतिशत भाडा बढाइएको थियो । सोमबारको निर्णयले सार्वजनिक यातायातमा एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय उल्टिएको छ । सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।
बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ ।
बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।
बैठकले दुई सचिवले दिएका राजीनामासमेत स्वीकृत गरेको छ ।
यस्तै प्रहरीको गोली लागेर घाइते भएका एकजना सुनसरीका नागरिकको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ । उनको उपचार खर्च ४ लाख रहेको बताइएको छ ।
त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।
दशैँतिहारमा उपत्यकाको नाका सिल गर्न संसदीय उपसमितिले दियो सुझाव
काटमाठौं : संसदीय उपसमितिले दशैँतिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड-१९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना महामारी थप भयावह हुने चेतावनी दिएको हो । सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै संयोजक जीवनराम श्रेष्ठले यस्तो बताएका हुन् । गत ९ भदौमा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले श्रेष्ठको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा पुगेर कोरोना महामारी रोकथाममा सरकारले गरेको कामको अनुगमन गरी प्रतिवेदन तयार पारेको छ ।
नेप्सेमा झिनो सुधार
काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज १.७४ बिन्दुले बढेर एक हजार ५७८.०१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.३७ बिन्दुले घटेर ३१३.१० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १८९ कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता शेयर रु एक अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ २.३९, व्यापार २.१६, होटल ६.९४, विकास बैंक ७९.१२ र लघुवित्त ३.९३ बिन्दुले बढेको छ । यस्तै जलविद्युत् ७.१२, वित्त ११.६६, निर्जीबन बीमा १२.२१, उत्पादन १५.५२, अन्य १.८३, जीवन बीमा २८.३७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १६ करोड ५० लाख आठ हजार ८२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु सात करोड ७१ लाख ९२ हजार ८७९, कामना सेवा विकास बैंक रु छ करोड ८८ लाख ८१ हजार ३५, नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड ३२ लाख ७६ हजार ४३२, एनआइसि एशिया बैंक रु पाँच करोड आठ लाख ११ हजार ६२८, नेशनल हाइड्रोपावर रु चार करोड ५६ लाख ४३ हजार ७५ र अपि पावर कम्पनीको रु चार करोड ३६ लाख ८५ हजार २५७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा मुक्तिनाथ विकास बैंक ९.८५, कर्पोरेट डेभलपमेन्ट बैंक ५, आइसिएफसी फाइनान्स ४.८८, कामना सेवा बैंक ४.५७, तिनाउ मिसन बैंक ४.४८ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ४.४७ प्रतिशतले कमाए । त्यस्तै, सबैको लघुवित्त ६.०५ , रिडी हाइड्रोपावर ५.८३, सेन्ट्रल फाइनान्स ४.९७, गुह्यश्वरी मर्चेन्ट बैंक ४.८१, मल्टीपर्पोज फाइनान्स ४.५८ र साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाए ।
प्रदेश-२ मा आज ४३ जनामा कोरोना संक्रमण
जनकपुरधामः प्रदेश नं.२ मा शुक्रबार ४३ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । ११ महिला र ३२ जना पुरुष गरी ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए । योसँगै प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार २३२ पुगेकोे छ । त्यसैगरी संक्रमित हुने भन्दा निको हुनेहरुको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेर एक हजार ९११ मा झरेको छ । धनुषामा १४ जना, सिरहामा १ जना, बारामा ६ जना, पर्सामा १० जना, रौतहटमा ८ जना, सर्लाहीमा १ जना, अन्य १ जना र सप्तरीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनले आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा २ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेहरुमा रौतहटको गुजरा नगरपालिका वडा नं.१ घर भएकी ९५ वर्षकी महिला र पर्साको वीरगंज महानगरपालिका वडा नं. २० का १ ६८ वर्षीय पुरुष रहेका छन् । योसँगै प्रदेश नं. २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । उनले प्रदेश नं. २ मा गत २४ घण्टामा ८ महिला र ११८ जना पुरुष गरी १२६ जना कोरोनाको संक्रमणबाट संक्रमण मुक्त भएर घर फर्केको जानकारी गराए। योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर घर फर्किनेको संख्या १२ हजार १७२ जना पुगेको छ ।
काभ्रेमा ९ सैनिकसहित थपिए ३७ नयाँ संक्रमित
बनेपाः काभ्रेमा सोमबार ९ सैनिकसहित ३७ नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार जिल्लाबाट ३७ नयाँ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३८ पुगेको छ । सोमबार जिल्लाको नमोबुद्ध नगरपालिकाबाट १ सर्वसाधारणसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमोबुद्धबाट थपिएका १० मध्ये ९ जना भकुण्डेस्थित नेपाली सेनाको २६ नम्बर बाहिनीमा कार्यरत सैनिक हुन् । यसैगरी, धुलिखेल नगरपालिकाबाट ५ जना, पनौती नगरपालिकाबाट ३ जना, मण्डनदेउपुर नगरपालिकाबाट ३ जना नयाँ संक्रमित थपिएका हुन् । ययस्तै रोशी गाउँपालिकाबाट १ जना, बनेपा नगरपालिकाबाट १५ जना नयाँ संक्रमित थपिएका हुन् । कार्यालयका अनुसार सोमबार थपिनेमा २५ पुरुष र १२ महिला छन् । सोमबार जिल्लाबाट १६ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लाका १२ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । हालसम्म जिल्लाको बनेपा नगरपालिकामा १ सय ५३ जना, धुलिखेल नगरपालिकामा १ सय २३ जना, पनौती नगरपालिकामा ३४ जना, पाँचखाल नगरपालिकामा ३० जना संक्रिय संक्रमित रहेका छन् । यस्तै नमोबुद्ध नगरपालिकामा ३७ जना, मण्डनदेउपुर नगरपालिकामा १२ जना, भुम्लु गाउँपालिकामा ३ जना, रोशी गाउँपालिकामा ११ जना, महाभारत गाउँपालिकामा ३ जना र चौरीदेउराली गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । जिल्लाका ११ स्थानीय तहका ४ सय ७ जना र काभ्रेबाहिरका १३ जना गरी कुल ४ सय २० सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २६१ पुरुष र १५९ महिला छन् । काभ्रेमा सोमबारसम्म कोरोनाबाट ५ पुरुष र ४ महिला गरी ९ जनाको मृत्यु भएको छ ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सुचीसहित)
काठमाडौंः नेपालमा आइतबार थप २०७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना संक्रमित डिस्चार्ज हुँदा थप २२ जनाको मृत्यु भएको छ । सम्बन्धित समाचारः आइतबार २०७१ संक्रमित थपिए, उपत्यकामा मात्रै १४१६ नेपालमा गत माघ ९ गते पहिलो पटक चीन फर्किएका एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा असोज २३ गते २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको थियो । नेपालमा असोज २४ गते शनिबार देशभर हालसम्मकै बढी ५००८ र उपत्यकामा २६७२ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार नेपालमा भदौ २४ गतेपछि दैनिक एक हजार बढी संक्रमित थपिँदै आएका छन् । आइतबार ५७ जिल्लामा संक्रमित थपिएका छन् ।
‘डा.केसीसँग भएको सहमति उल्लङ्घन नहोस्’
काठमाडौंः नेपाली कांग्रेसले डा.गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै कांग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् । उनले कांग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा.केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् ।
चिकित्सक सङ्घद्वारा आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौंः नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा.गोविन्द केसीका बीच गएराति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ । सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।
गण्डकीमा थपिए ६२ संक्रमित
गण्डकीः गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष तामाङको मृत्युप्रति दुःख व्यक्त
चितवनः भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्युप्रति भरतपुर महानगरपालिकाले दुःख व्यक्त गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक व्यक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । कोरोना संक्रमणबाट मृत्यु भएका वडाध्यक्ष तामाङको सम्मानमा भरतपुर महानगरपालिका र मातहतका कार्यलय सोमबार एकदिन बन्द रहने शोक वक्तव्यमा उल्लेख छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको थियो ।
कोरोनाबाट वडाध्यक्षको मृत्यु
चितवनः कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो । मधुमेह, उच्च रक्तचापको समस्या रहेका ६९ वर्षीय तामाङको भ्यान्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।
संक्रमित कैलालीका एसपीलाई थप उपचारका लागि काठमाडौं लगियो
धनगढीः कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी एसपी अनुपम शम्शेर राणालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । केही दिनअघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि आइतबार बिहान एम्बुलेन्समार्फत काठमाडौं पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लकडाउनपछि ठिमी क्षेत्रका गेष्ट हाउसमा अनैतिक गतिविधि बढ्यो, १४ जना पक्राउ
भक्तपुरः महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिलालगायतलाई पक्राउ गरिएको जानकारी दिए ।
धरानमा कोरोनाले थप तीनको मृत्यु
धरानः यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गाैलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो । तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे मृत्यु भएको थियो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । तीनै जनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।
जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
पोखराः पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
कोरोनाबाट निको भएका व्यक्तिबाट जुस खाएर १९ औं अनसन तोडे डा. केसीले
काठमाडौँ — डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले अनशन तोडेका हुन् । उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् । शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो । त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । तर डा. केसीले आफू त्रिवि शिक्षण अस्पताल नै जाने अडान राखेपछि उनलाई त्यहाँ लगिएको थियो ।

