मापदण्डमा नपरेका व्यक्तिको पीसीआर परीक्षण नगर्न निजी प्रयोगशालालाई निर्देशन
काठमाण्डौंः सरकारले कोरोना परीक्षण मापदण्डभन्दा बाहिरका मानिसको कोरोना परीक्षण नगर्न निजी प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । निजी प्रयोगशालाहरुले शुल्क लिएर जोसुकैको परिक्षण गर्दा त्यसले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको काममा अप्ठ्यारो पर्ने भन्दै जथाभाबी परीक्षण नगर्न निर्देशन दिइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षणका लागि सरकारले बनाएको मापदण्डमा नपरेका मानिसको कोरोना परीक्षण गर्नु अवैधानिक काम भन्दै त्यस्तो नगर्न आग्रह गरेका हुन् । सरकारले बनाएको पछिल्लो मापदण्डअनुसार ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, पखालाजस्ता कोरोनाको लक्षण भएका व्यक्तिले पीसीआर परीक्षण गराउन सक्ने छन् ।
यस्तै सङ्क्रमित व्यक्तिको नजिक सम्पर्कमा आएका व्यक्तिको ५ दिनपछि परीक्षण गर्न सकिनेछ । त्यसैगरी अकस्मात् श्वासप्रश्वासमा समस्या देखिएका व्यक्ति, विदेशबाट आइ क्वरेण्टीनमा बसिसकेका व्यक्ति, अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले पीसीआर परीक्षण गर्न सक्नेछन् ।
‘पीसीआर पोजेटिभ आएको रिपोर्ट प्रयोगशाला आफैले दिनू’
यस्तै सरकारले पीसीआर परीक्षण गर्दा पोजेटिभ वा नेगेटिभ जे नतिजा आए पनि सिधै सम्बन्धित व्यक्तिलाई दिन भनेको छ । यसअघि पोजेटिभ नतिजा आएमा प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई नदिइ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउने गरेको थियो । तर पछिल्लो समय होम आइसोलेशनमा पनि बस्न पाउने व्यवस्था भएकोले प्रयोगशालाले सिधै सम्बन्धित व्यक्तिलाई नतिजा दिन पाउने भएका हुन् ।
यसैबीच निजी मेडिकल कलेजले पीसीआर परीक्षण गरेर मात्र परीक्षामा सहभागी गराउने भनि गरेको निर्णयमा वैज्ञानिक आधार नभएको भन्दै सरकारले खारेज गरिदिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले लक्षण नदेखिएका व्यक्तिलाई परीक्षामा सामेल हुनकै लागि पीसीआर परिक्षण गर्नु आवश्यक नभएकोले त्यो निर्णय कार्यान्वयन नगर्न भनेको बताए ।
सकियो आकस्मिक मन्त्रिपरिषद् बैठक, के–के भए निर्णय ?
काठमाडौंः आइतबार दिउँसो १ बजे बसेको मन्त्रिपरिषद् सकिएको छ । बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्यितारी दिएको छ । बैठकले अन्य केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु पनि गरेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा कार्यकारी अध्यक्ष प्रचण्डबीच आइतबार बिहान बालुवाटारमा भेटर्वार्ता भएलगत्तै आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बसेको थियो । सो क्रममा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको थियो । मन्त्रिपरिषद्को बैठक नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ । तर, आकस्मिक रुपमा प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएपछि मन्त्रिपरिषद्को चर्चा चलेको थियो । जसका कारण बैठकलाई चासोपूर्वक लिइएको थियो । तर, आइतबार दिउँसो बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै कुरा नउठेको एक मन्त्रीले बताए ।
केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौंः पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । आज बेलुकाबाट यी प्रणाली पूर्णरुपमा हटेर जानेछ । यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ । यस अवधिमा कुनै नयाँ प्रणाली विकसित नभए झरी तथा भारी वर्षा हुने सम्भावना नरहेको बताइएको छ । हाल प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
गण्डकी प्रदेशमा थपिए ७१ संक्रमित
काठमाडौंः गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परिक्षणमा चार जिल्लाका ५८ जना पुरुष र १३ जना महिलामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङका ३१ जना, कास्कीका २१ जना, लमजुङका १६ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन हजार सात सय ७४ पुगेको छ ।
बलात्कारीलाई हदैसम्मको कारवाही गर्न माग
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु ।’ गएका केही महिनायता देशभरि नै दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका छ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटना भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । नेत्री सङ्गौलाले अगाडि भनेकी छन्, ‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख÷जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो ।’
अब सातै प्रदेशमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन
काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ । आधिकारिक बिक्रेता छनोटका लागि विसं २०७७ साउन २२ गते प्रथम पटक र भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेकामा थियो । निर्धारित सर्तका अधीनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन् । प्रा उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायत विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकालाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पुर्याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गरे । मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशन सम्झौता बमोजिम नै देशका सबै भागमा र विदेशमा पुर्याउने प्रतिबद्धता जाहेर गरे ।
निषेधाज्ञा खुलेपछि उपत्यका छाड्ने भन्दा भित्रिने बढी
काठमाडौंः काठमाडौं उपत्यकाको निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा बढी देखिएको छ । दशैं लगायतका महत्वपूर्ण चाडबाड आउनुअघि खुला भएको उपत्यकाको आवागमनमा उपत्यका छाडेर जानेभन्दा भित्रिनेको संख्या बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । १० दिनको अवधिमा कूल ४१ हजार ६ सय १७ वटा सवारीसाधन उपत्यकामा भित्रिँदा १ लाख ७४ हजार ८ सय ४४ जना यात्रु उपत्यकामा प्रवेश गरेको महाशाखाको तथ्याङ्क छ । त्यस्तै, यो अवधिमा ४१ हजार २ सय ५ सवारी साधन बाहिरिँदा १ लाख ६५ हजार २ सय ४६ जना यात्रुले उपत्यका छाडेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवले जानकारी दिए । चाडवाडको सिजन सुरु भएपनि पहिल्यै धेरै व्यक्तिहरु उपत्यका बाहिर गइसकेकोले अहिले यात्रु बाहिरिने चाप नदेखिएको उनको भनाई छ ।
गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
ताप्लेजुङः गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका-७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो । डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । ट्याक्टरका चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोनाबाट कर्मचारीको मृत्यु
राँझा: कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मधुमेहको समस्या रहेका ती पुरुषको गत भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो । भदौ ३१ गते उहाँमा कोरोना पुष्टि भएको थियो । दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनीलाई भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । –––
कोरोना सङ्क्रमणबाट झापामा थप एकको मृत्यु, कनकाईमा छुट्टै चितास्थल
झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उहाँको मृत्यु भएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत हुनुहुन्थ्यो । आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उहाँले बताउनुभयो । हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ । कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उहाँले बताउनुभयो । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।
सिन्धुपाल्चोकका जोखिमयुक्त तीन सय बस्ती स्थानान्तरण गर्न नेकपा कार्यदलको माग
सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिमसम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदनसमेत निर्माण गरेको छ। सोही प्रतिवेदनमा पार्टीका शीर्ष नेता, जिल्ला तहका नेता तथा जनप्रतिनिधिबीच शनिबार सुकुटेमा अन्तक्रिया कार्यक्रम गरिएको छ। सरकारले सिन्धुपाल्चोकलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनिधिबीच छलफल गरेको छ। नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरणका लागि जिल्लास्तरीय कार्यदल नै गठन गरी नेताहरुलाई बाढीपहिरोग्रस्त क्षेत्रमा खटाएको थियो। सात सदस्यीय कार्यदलले बाढीपहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तक्र्रिया गरी सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भएको छ। जिल्लाका जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरणका लागि वैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए। शनिबारको कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, प्रतिनिधिसभा ससदस्य एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका मन्त्री अरुण नेपाल, युवराज दुलाल, प्रदेशसभा सदस्य सरेश नेपाललगायत नेकपाका स्थानीय जनप्रतिनिधि र पार्टी नेता सहभागी थिए। जिल्लाभर ३०० भन्दा बढी बस्ती जोखिममा रहेको र ती बस्ती स्थानान्तरणका लागि नेकपाले कार्यदल नै बनाएर राजनीतिक तहबाट पहल थालेको नेकपाका केन्द्रीय सदस्य एवं कार्यदलका संयोजक माधव सापकोटाले बताए।
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो । डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।
जनताले हामीलाई अर्को चुनावमा दण्ड वा पुरस्कारको व्यवस्था गर्छन् : मन्त्री नेम्वाङ
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड-१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरू जारी रहेको बताए । ‘ठूला पूर्वाधारका आयोजना द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न सरकार लागि परेको छ,’ मन्त्री नेम्वाङले भने । जनताका आकांक्षालाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै मन्त्री नेम्वाङले जनता निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । उनले महामारी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माण गर्ने यात्रामा सरकार हात्तीजस्तै लम्किरहेको दाबी गरे । ‘भएका समस्या सुल्झिन्छन् तर बहना बनाएर न सरकारी निकायले छुट पाउँछ न त निर्माण वयवसायीले नै,’ मन्त्री नेम्वाङले भने, ‘हामी जनप्रतिनिधिलाई पनि जनताले हेरिरहेका छन् र अर्को चुनावमा दण्ड वा पुरस्कारको व्यवस्था गर्छन् ।’ धेरै विकास आयोजना अलपत्र भइरहेको आफूले सुनेको बताउँदै मन्त्री नेम्वाङले अब कुनै पनि निर्माण व्यवसायी र तालुकदार निकायले छुट नपाउने बताए ।
बबई बहुमुखी क्याम्पसका प्रमुखको निधन
बर्दिया : कोरोना भाइरस (कोभिड-१९) बाट बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद कुमार अग्रवालको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार गुलरिया नगरपालिका-५ का ५२ वर्षीय क्याम्पस प्रमुख अग्रवालको शनिबार दिउँसो मृत्यु भएको हो । होम क्वारेन्टाइनमा बसिरहेका उनलाई स्वास्थ्यमा जटिल समस्या आएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुन नपाउँदै मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । क्याम्पस प्रमुख अग्रवाल फोक्सो क्यान्सरबाट पीडित थिए । योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
अब सशस्त्र प्रहरी बाह्रै महिना कालापानी नजिक छांगरुमा बस्ने
काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका-१ छांगरुमै बस्ने भएको छ । स्थायीरूपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, ‘हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’ शुक्रबार गृहमन्त्री रामबहादुर थापा (बादल) र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उहाँले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो । सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए । सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ । बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताउनुभयो । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक
दार्चुला : नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो । चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । ‘भिर फुटाएर ट्र्याक खुलाइएको छ,’ उनले भने, ‘सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ ।’ यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । चट्टानी भूगोलले केहि ढिलाइ भए पनि स्थानीयका लागि सहजरूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताए ।घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उनले बताए । घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिए । तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन् । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन् । यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने उनको भनाइ छ । यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ । सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उहाँले बताउनुभयो । तम्बाकु भन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन् । घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताए । सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उनले जानकारी दिए । सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् । रासस

