हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नवलपुर: हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो ।

रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।

२४४० संक्रमित थपिए, उपत्यकामा मात्रै १५३१

काठमाडौंः नेपालमा थप २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सोमबार देशभर १३ हजार ७८१ वटा नमुना परीक्षण गर्दा २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । सोमबार काठमाडौं उपत्यकामा मात्रै १५३१ जना संक्रमित थपिएका छन् । उपत्यकाको काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ११३३ जना निको भएका छन् । योसँगै हालसम्म ६५ हजार २०२ जना निको भएका छन् । सोमबार देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५०७ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै संकेत गरिसकेको छ । पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

ओली–प्रचण्ड भेटपछि मंगलबार बोलाइयो नेकपा सचिवालय बैठक

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । यसअघि आइतबार ४ बजेका लागि बोलाइएका बैठक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिएको थियो । सोमबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटपछि सचिवालय बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले बताए । बैठकमा राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, एकता प्रक्रियाका बाँकी काम, एकता महाधिवेशनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रदेश ५ को प्रदेश सभामा कांग्रेस सांसदको कुर्सी फोडाफोड (भिडियो)

काठमाडौंः प्रदेश ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न सभामुखले समय दिएपछि कांग्रेस सांसदले विरोध गर्दै कुर्सी तोडफोड गरेका हुन् । कांग्रेसले प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार दोस्रो पटक बसेको बैठकमा पनि विरोध गरिरहेको छ । सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेराउ गरिरहेका छन् । प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै YOU

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या

काठमाडौंः एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर आजदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले दुवै पक्षको नक्कली फेसबुक एकाउन्ट बनाई च्याट गरी त्यसको स्क्रिनसट प्रयोग गरेर भ्रामक समाचार प्रकाशन गरेको पत्ता लागेको छ । उनी खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा दर्ता गरी ठेक्कापट्टा पनि गर्ने गरेको पाइएको छ । शुभलक्ष्मी अस्पतालको अध्यक्ष बनेको तथा संविधान कलेज पनि हालसालै दर्ता गरेको पाइएको छ । त्यसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनी प्रचार गरेको पाइएको परिसरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । नर्समा नाम निकालिदिन्छु भनी यौन दुव्र्यवहार तथा ब्ल्याकमेल गर्ने गरेको भन्दै यसअघि उनीविरुद्ध पटकपटक साइबर अपराध तथा ठगी मुद्धा चलेको पत्ता लागेको छ । नर्सिङ काउन्सिलको परीक्षामा उत्तीर्ण गराई दिन्छु भनी एक जनाबाट रु ७० हजार माग गरेको र पैसा प्राप्त नभएपछि नक्कली फेसबुक बनाएर चरित्रहत्या गरेको विषयमा परिसरमा विद्युतीय अपराध शीर्षकमा उजुरीसमेत परेको छ । उनले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिको नाम र फोटो प्रयोग गरी उक्त आइडीबाट जागिर लगाइदिन्छु, लोकसेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको मोलतोलसमेत गर्ने गरेको खुल्न आएको छ । उनले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिबाट रु छ लाखसमेत ठगी गरेको खुल्न आएकाले अनुसन्धान जारी रहेको जनाइएको छ । उनले ‘कालीकोटमा इन्जिनीयरका रुपमा जागिर खाई करोडाँै रुपैँया भ्रष्टाचार गरी कालोमोसो दलेर निकाला गरिएको छ, हेर्नुहोस’ भन्दै पीडितको फोटो इडिट गरी कालोमोसो लगाएको जस्तो बनाई झुटो समाचार बनाएको भन्दै प्रहरीमा पीडितको उजुरी परेको जनाइएको छ । उनले विभिन्न व्यक्तिसँग रकम माग गर्ने र रकम नदिएपछि उक्त व्यक्तिका विषयमा गलत र भ्रमपूर्ण समाचार तयार गरी आफँैले वाचन गरी फोटो जोडेर भ्रामक समाचार प्रकाशन गर्ने गरेका थिए ।

छोराको कुटपिटबाट घाइते बुबाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

गुल्मीः आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो । आइतबार साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए । घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो । मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्यो तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । अस्पताल डुलाउँदा डुलाउँदै आज बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त अनिल फरार छन् ।

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

बुटवलः प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनेछन् । सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ । सोमबार र मङ्गलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी सदनको छ । प्रदेशसभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ । कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुनेछ । राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामकरण टुङ्ग्याउने छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुई तिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुने छ । मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ । यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश न ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ । सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घण्टाको मात्रै समय दिएका छन् । प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ । ६१ सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । स्वागत र विरोध प्रदेश ५ को अस्थायी राजधानी सार्ने प्रस्ताव सभामा पेश भएपछि रुपन्देहीमा आन्दोलन चर्किएको छ । दाङलगायत बाँके र बर्दियामा भने राजधानी सार्ने प्रस्तावको स्वागत भएको छ । दाङ, बाँके, बर्दियामा सत्तारुढ र प्रतिपक्षी दलले नै स्वागत गर्दा रुपन्देही, गुल्मी, पाल्पामा भने विरोध भएको छ । स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली काङ्ग्रेस सडक आन्दोलनमा छ । संयुक्त सङ्घर्ष समिति र काङ्ग्रेसले आज प्रदेशसभा भवन घेराउको कार्यक्रम राखेका छन् । प्रदेशसभा घेराउ हुने भएपछि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।

८३ वर्षीय फरार प्रतिवादी पक्राउ

प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फरार सूचीमा रहेका थिए । उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन् । बागलुङ –९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन् । यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो । फैसला कार्यान्वयनका लागि उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको उहाँको भनाइ छ । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये न्यूनतम रु १०० देखि बढीमा सात हजारसम्म जरिवानाको सजाय पाएका छन् । कैद सजाय तोकिएकामा पाध्यासहित जैमिनी नगरपालिका–१० का श्रीस र बरेङ गाउँपालिका–१ का थापा छन् । श्रीसलाई विसं २०६७ जेठ २७ गते अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो । थापाको मुद्दामा अदालतले विसं २०७४ चैत १५ गते रु १०० जरिवानासहित रु ९०० जरिवाना तोकेको थियो । अदालतले कैद÷जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको प्रनाउ रेग्मीले जानकारी दिनुभयो । प्रहरीले पछिल्लो समय ९२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादी सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेका छन् । त्रियासी वर्षीया प्रतिवादी पाध्याको उमेरका कारण ७५ प्रतिशत कैद स्वतः छुट हुने कानूनी व्यवस्था छ । एक वर्षभन्दा कम कैद सजाय तोकिएका प्रतिवादीलाई शुल्क तिराएर छोड्न सक्ने प्रावधान ल्याइएको भए पनि त्यो अदातलले निर्णय गर्ने विषय भएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । पाको उमेरको व्यक्ति भएका कारण पाध्यालाई कोरोनाका बेला धेरै दिन कारागार राख्न असजिलो हुने देखिएको छ ।

१६ वर्षीय किशोरद्वारा १२ वर्षीया बालिकाकाे हत्या

सुनसरी — चटपटे किनबेचको विषयमा वादविवाद हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईको हत्या भएको छ । हत्या आरोपमा छिमेकी १६ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले बताए । प्रहरीका अनुसार शनिबार अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेका थिए । ‘बालिकाले राति चटपटे नभएको बताएपछि बालिकाको टाउकोमा बोतलले हानेको र त्यसपछि भेस्ट र रुमालले घाँटी कसेर हत्या गरी आफ्नै घरमा गएर सुतेको बयान ती किशोरले दिएका छन्,’ डीएसपी कार्कीले भने । प्रहरीका अनुसार मीनाका अभिभावकले आइतबार बिहान २ बजे घर आएपछि मात्र छोरीलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाइ कार्यालय धरानबाट लैला नामको कुकुरसहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । आइतबार बिहान घरमै पक्राउ परेका किशोरलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए ।

आइपीएल : पञ्जाबमाथि राजस्थानको कीर्तिमानी जित

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध राजस्थान रोयल्स ४ विकेटले विजयी भएको छ । पञ्जाबले दिएको २२४ रनको विशाल लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसका लागि सञ्जु स्यामसमले ८५, स्टिभ स्मिथले ५०, राहुल तेबटियाले ५३, रोबिन उथप्पाले ९ र जोफ्रा आर्चरले अविजित १३ रन बनाए । बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले सर्वाधिक २ विकेट लिए । योजितसँगै राजस्थानले नयाँ कीर्तिमान बनाएको छ । हालसम्म आइपीएलमा २२४ रनको लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेको थिएन । यसअघि आज टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो । उसका लागि मंयक अग्रवालले शतक बनाए । उनले ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रन बनाए । आइपीएलमा अग्रवालको यो पहिलो शतक हो । त्यस्तै, पञ्जाबका कप्तान केएल राहुलले ५४ बलमा ७ चौका र एक छक्का हिर्काउँदै ६९ रनको योगदान दिए । अघिल्लो खेलमा राहुलले अविजित १३२ रन बनाएका थिए । आज राहुल र मयंकबीच पहिलो विकेटका लागि १८३ रनको विशाल साझेदारी बन्यो । उनी दुईबीचको यो साझेदारी आइपीएल इतिहासको तेस्रो ठूलो साझेदारी हो । त्यस्तै, आज पञ्जाबका लागि आज ग्लेन म्याक्सवेलले अविजित १३ र निकोल पूरनले नटआउट २५ रनको योगदान दिए । बलिङमा राजस्थान रोयल्सका टम कुरान र अंकित राजपूतले एक/एक विकेट लिए ।

पीसीआर परीक्षणपछि मात्र परीक्षामा बस्न पाउने निर्णय रोक्न निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा दिने विद्यार्थीलाई पीसीआर परीक्षणपछि मात्रै परीक्षामा बस्न दिने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । पीसीआर परीक्षण गरेपछि मात्र रिपोर्टको आधारमा परीक्षामा सामेल गराउने निर्णय अवैज्ञानिक भएको भन्दै लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण गर्नु कुनै पनि दृष्टिकोणबाट वैज्ञानिक नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको अभियानमा समेत यसले खलल पुर्‍याउने भन्दै विभिन्न पेशा, व्यवसायमा संलग्न कोही पनि व्यक्ति, फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिमा लक्षण देखिएकालाई परीक्षामा सामेल गराउन निर्देशन दिए । उनले कन्ट्याक्ट ट्रेसिङमा परेका र आइसीयूमा भर्ना भएका व्यक्तिहरुको मात्र पीसीआर गर्नुपर्ने दायरा सरकारले निर्धारित गरेको भन्दै त्यसबाहेकका व्यक्तिको पीसीआर गराउनु पूर्णतः अवैधानिक हुने बताए । लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, विराट मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजलगायतले विद्यार्थीलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी हुनुपर्ने पत्र पठाएपछि केही विद्यार्थीले आइतबार पत्र लिएर मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

बसको ठक्करबाट श्रीमान्-श्रीमतीसहित दुधे बालकको मृत्यु

बारा : महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुलीबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका-१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो घटना भएको हो । घटनामा निजगढ नगरपालिका-१० लाल टोल बस्ने श्रीमान्, श्रीमती र दश महिने छोराको मृत्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताए । मृत्यु हुनेमा निजगढ नगरपालिका-१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उनका १० महिने छोरा आहान स्याङ्गतानको रहेको उनले जानकारी दिए । ठक्कर दिने बसका चालक फरार रहेका छन् भने दुर्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताए । दुबै सवारी तीव्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दुर्घटना हुन गएको खुलेकोमा यसबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए ।

माथिल्लो चमेलियामा ५ अर्ब १८ करोड लगानी

काठमाडौं : दार्चुलामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने रु दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ । आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन् । कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगडगाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो । यस्तै, कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो । दुवै आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिने छ । आयोजनाबाट वार्षिक रु २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

सम्झना हत्याकाण्ड : न्याय माग्दै चैनपुरमा प्रदर्शन

बझाङ : जिल्लाको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आज पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका छन् । उनीहरूले ‘न्याय कहिले पाउने र’ भन्दै प्रश्न गरेका छन् । बुधबार साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटामै मृत्यु भएको थियो । घटनामा संलग्न भएको आशंकामा अन्दाजी २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ । सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । बझाङको मष्टा-२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सबै तथ्य प्रमाण हेर्दा बोहरा नै दोषी रहेको बताए ।

प्रदेश-१ मा एकैदिन थपिए १८१ संक्रमित

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १ सय ६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४ सय ३६ पुगेको छ भने इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन, मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना गरी ३६ जनासहित अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन् । गएको सो अवधिमा ९ सय ६७ जनासहित अहिलेसम्ममा एक लाख २० हजार ९ सय ९० जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

खुल्यो पाल्पा–बुटवल सडक

पाल्पाः गएको शुक्रबारदेखि बन्द रहेको पाल्पा-बुटवल सडक ३ दिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकका दर्जनौँ स्थानमा झरेका पहिरो हटाएपछि आइतबार दिउँसो सवा ३ बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ठूला ढुङ्गासहितको पहिरो झरेकाले बाटो सञ्चालनमा ल्याउन समय लागेको प्रहरीको भनाइ छ । तीन दिनसम्म बाटो बन्द हुँदा दर्जनौँ सवारी र सयौँ यात्रु अलपत्र परेका थिए । दुईतर्फी बाटो सञ्चालनमा आउन समय लाग्ने र जोखिमपूर्ण रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।