भक्तपुरमा दुर्घटना, चालकको मृत्यु

गएराति अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकीराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो । भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि सवार ७ वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।

कालापानी र लिम्पियाधुराबारे सरकारले जुटायाे ऐतिहासिक प्रमाण

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो । विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जुटाउन विज्ञ टोली गठन गरेको थियो । गत जेठमा गठित सीमा विज्ञ समूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा समेटिएको भूभागको थप प्रमाण र आधारसहित विज्ञ समूहले प्रतिवेदन बुझाएको हो । विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज युद्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको हो । त्यस्तै, जग्गाको स्वामित्वका प्रमाण, राजस्व, मालपोत, भूमिकर, तिरो भारो आदि तिरेका रसिद, भर्पाई, पत्र, रोक्का, सदन आदि अभिलेखसमेतलाई आधारको बलियो प्रमाण नेपालले बनाएको छ । नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक डा. विष्णुराज उप्रेतीको संयोजकत्वमा बनेको ९ सदस्यीय समितिले नेपालको ऐतिहासिक प्रमाणसहितको प्रतिवेदन बुझाएको हो ।राजधानी दैनिकबाट

कर्णालीमा थप ११६ जनामा कोरोना सङ्क्रमण

कर्णाली: पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसीआर परीक्षणमा शनिबार ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । ‘कर्णालीमा कोरोना सङ्क्रमण पुष्टि हुने यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो’, उनले भने, ‘पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ ।’ यस भन्दा अघिका दिनहरुमा ११४ जनाभन्दा बढी सङ्क्रमितको सङ्ख्या ननाघेको उनले बताए । उनले भने, ‘जिल्लागत रुपमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सुर्खेतमा सबैभन्दा बढी ७९ जना रहेका छन् । त्यस्तै, दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई/दुई, डोल्पा र मुगुका एक/एक र अन्य प्रदेशका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।’ योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २६८ पुगेको छ । जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका ५ जनाको पोजेटिभ रिपोर्टलाई कर्णालीमा समावेश नगरिएको अधिकृत कंडेलले बताए । कर्णालीमा अहिलेसम्म ७९ हजार २५७ जनाको पिसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाले जनाएको छ ।

आन्दोलन चर्काउने चिकित्सक संघको निर्णय, भोलि देशभरका अस्पतालमा सेवा बन्द गर्ने

काठमाण्डौंः र्नेपाल चिकित्सक संघले सरकारले डाक्टर गोविन्द केसीसँगको वार्तालाई गम्भीर रुपमा नलिइ खेलाँची गरेको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको छ । यसअघि घोषणा गरिएका आन्दोलन सरकारले वार्ता टोली गठन गरेपछि स्थगित गरिएकोमा अहिले सरकार वार्ताबाट पछि हटेकोले फेरि आन्दोलन गर्नुपरेको संघले जनाएको छ । संघले २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोरोनाका सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने जनाएको छ । २५ गते आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा अझ कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुन संघले चेतावनी दिएको छ । संघद्वारा घोषणा गरिएका बिरोधका कार्यक्रमबाट उत्पन्न हुन सक्ने जुनसुकै परिस्थिति प्रति नेपाल सरकार नै जिम्मेवार हुने चिकित्सक संघले जनाएको छ ।

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुका हल्का ज्वरो आएपछि पीसीआर गरेका उनलाई परीक्षण गर्दा आज कोरोना पुष्टि भएको हो । उनले नै सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । ‘गत सोमबार कोरोना परीक्षाण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ,’ उनले फेसबुकमा लेखका छन्, ‘शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भरखरै जानकारी पाएको छु ।’ मन्त्री भट्टराईले केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।

कञ्चनपुरकी २२ वर्षीया बेलुली धामीलाई ब्लड क्यान्सर, सहयोग गर्न अपिल

काठमाडौं : निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) नयाँ बानेश्वरको २४० नम्बर शय्या ४० दिनदेखि बुकिङ गरेजस्तै छ । त्यसै शय्याको छेउमा रातदिन धर्ना बसेजस्तै कुरूवा कञ्चनपुरका हरिश बोहरा । भीमदत्त नगरपालिका ६ सुकाचालका बोहराको त्यो शय्यामा यसरी धर्नाजस्तै बस्नु रहर नभइ बाध्यता हो । शय्यामा ४० दिनदेखि श्रीमती बेलुलीकुमारी धामी बोहरा जीवनमरणको दोसाँधमा छट्पटाइरहेकी छन् । करिब तीन महिनाअघि बेलुलीलाई असार पहिलो हप्ता लगातार टाउको दुखेपछि उनीहरू उपचारमा जुटेका थिए । सुरूमा नजिकै रहेको महाकाली अस्पतालले दुई दिन राखेर सामान्य बिराम भएको भन्दै औषधि दिएर पठायो र ठीक नभए धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि जान सल्लाह दियो । महाकाली अस्पतालकै सल्लाहमा उनीहरू सेती अस्पतालमा उपचारका लागि गए । उपचार गर्दा चिकित्सकले स्वास्थ्यमा कमजोरी भएको देखायो । Classic Tech 300×300१० दिनसम्म अस्पतालमा बसेकी बेलुलीलाई धनगढीमै ४ युनिट रगत चढाइयो । त्यसपछि सञ्चो हुन लागेको भन्दै अस्पतालले डिस्चार्ज पनि गर्‍यो । केही दिन आराम पनि भयो । हरिश सम्झन्छन्, ‘कमजोरी नै भएको रहेछ भनेर अस्पतालको सल्लाहअनुसार औषधी गर्‍याैं तर, त्यो औषधीले धेरै काम गरेन ।’ सेती अस्पतालले डिस्चार्ज गरेको एक महिनापछि फेरि बिरामले च्याप्दै गयो । ‘उपचारका लागि फेरि सेती अस्पताल गयौं, अस्पतालले नेपालगञ्ज शिक्षण अस्पताल रिफर गर्‍यो,’ हरिश भन्छन् । नेपालगञ्ज आउँदासम्म हरिशको करिब सात लाख रूपैयाँ खर्च भइसकेको थियो । आर्थिक अवस्था निम्न भएका बोहरा परिवारलाई कैलालीमा गरिएको उपचारमा पनि चारैतिर हात थाप्नुपरेको थियो । हरिश भन्छन्, ‘कैलालीमा गरिएको उपचारका लागि पनि धेरै ठाउँमा सहयोग, ऋण माग्नुपर्‍यो । त्यो बेलाकै उपचारले ठीक होला सोचेका थियौं तर, भएन ।’ नेपालगञ्ज शिक्षण अस्पतालमा पुग्नसम्म बिरामी बेलुलीको स्वास्थ्य अवस्था चिन्ताजनक भइसकेको रहेछ । अस्पताल पुग्नेबित्तिकै उपचार सुरु भएकोले उनी गम्भीर अवस्थाबाट सामान्य अवस्थामा फर्किइन् । ‘डाक्टरले २४ घण्टा ढिला पुगेको भए बिरामीको ज्यानै जान सक्ने बताएका थिए । अलि चाँडै अस्पताल पुगेको हुँदा गम्भीर अवस्थाबाट सामान्य अवस्थामा फर्किने सजिलो भयो,’ श्रीमान हरिश भन्छन् । नेपालगञ्जमा बेलुलीको दुई दिनसम्म उपचार भयो । शरीरमा रगतको मात्रा सकिएको भन्दै डाक्टरले तीन युनिट रगत चढाए । त्यसपछि फेरि काठमाडौंमा रहेको सिभिल अस्पतालमा रिफर गर्‍यो । त्यो बेलामा पनि बिरामी बेलुलीको साथमा एक्लै थिए श्रीमान हरिश । अस्पतालले काठमाडौं रिफर गरेपछि उनलाई झन् समस्या भयो । न उनले काठमाडौं नै देखेका थिए, न काठमाडौंबारे जानकारी थियो न साथमा पैसा नै । चार वर्षअघि बिहे गरेका हरिश परिवार पाल्नकै लागि भारतमा मजदूरी गर्थे । घरमा श्रीमती बेलुली गर्भवती थिइन् । सुत्केरी हुने बेलामा अप्ठेरो पर्न सक्छ भन्दै उनी फागुनको महिना नै घरमा आए । त्यसपछि बेलुलीले छोरी जन्माइन् । अहिले बोहरा दम्पतीकी छोरी सात महिनाकी भइन् । उनीहरुले करिब तीन महिनादेखि छोरीलाई राम्रोसँग काखमा राख्न पाएका छैनन् । बाजे, बज्यैले सात महिनाकी छोरीलाई हुर्काइरहेका छन् । नेपालगञ्ज शिक्षण अस्पतालले सिभिल हस्पिटल रिफर गरेपछि थाहा भयो बेलुलीलाई ‘ब्लड क्यान्सर’ भएको रहेछ । त्यो सुनेपछि हरिश छाँगाबाट खसैझैं भए । त्यसपछि पनि मुटु बलियो बनाउँदै जसरी भए पनि श्रीमतीको उपचार गरेरै छोड्ने अठोट गरे । तर, आर्थिक अवस्था कमजोर भएका उनीहरुका लागि All Acute lymphobhahtic limphoma नामक ब्लड क्यान्सरको उपचार गर्न उनको सबै सम्पति बेचे पनि नपुग्ने अवस्था थियो । फेरि अलिकति ऋण खोजेर उनी उपचारका लागि काठमाडौं आए । भदौ ११ गते राति १० बजे काठमाडौं पुगेका उनी अहिले सिभिल अस्पतालमै छन् । ‘अहिलेसम्म त जसोतसो चलाएको थिएँ, अब त मुस्किल नै भइसक्यो । खातामा पनि एक हजारभन्दा बढी पैसा छैन । डाक्टरहरुले पैसा जम्मा गर भनिरहेका छन्,’ उनले समस्याको बेलिबिस्तार लगाए । अहिले हरिशले श्रीमतीको उपचारको लागि सहयोगको अपिल गरिरहेका छन् । सामाजिक सञ्जालदेखि आफन्तहरु सबैलाई सहयोगको याचना गरिरहेका छन् । सहयोग गर्न चाहनेका लागि सम्पर्क गर्न उनले माेबाइल नम्बर ९८६५९१७८८९ दिएका छन् । त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा रहेको एसबीआई बैंकको खाता नं २२११५२४१४१६४०७ मा सक्दो रकम जम्मा गरी सहयाेग गरिदिन अनुराेध गरेका छन् । त्यस्तै भारतका लागि सम्पर्क फोन नं ९६२०७४९७४८ यो नम्बरमा पनि सम्पर्क गरेर सहयोग गर्न सकिने उनले बताए ।

प्रदेश ५ः नाम र राजधानी तोक्न आजै मतदान हुने

बुटवलः प्रदेश ५ प्रदेश सभाको बैठक आज दिउँसो प्रदेश सभा भवन बुटवलमा बस्दैछ । आजको बैठकले प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको प्रस्ताव उपर मतदान गर्ने कार्यतालिका छ । प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि आज बोलाइएको प्रदेश सभा बैठकमा मतदान गर्ने तालिका रहेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । आज बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने तालिका समेत छ । सोमवार सभामुख पूर्णवहादुर घर्तीले मंगलवार दिउँसो १२ बजेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको ३२ औं बैठक ताकेका थिए । तर, अहिलेसम्म बैठक शुरू हुन सकेको छैन । उता प्रदेश सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा दुईवटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार नाम लुम्बिनी फेर्ने सम्बन्धमा एक संशोधन प्रस्ताव पेश भएको छ ।

बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ

कैलाली । बझाङमा बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए। सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा संलग्न भनिएको यो घटना गाउँमै गुपचुप पारिएको थियो।

प्रदेश राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध मतदान गर्न कांग्रेसको ह्विप

बुटवल-नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो। प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए। उनले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको बताए। नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए। कांग्रेसले निर्णय गरेपनि कांग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना छ। दाङ, बाँकेका नेताहरुले दाङकै पक्षमा मतदान गर्ने ेतयारी गरेका छन्। प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेश गरेका छन्। उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो। मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसकेका छन्। प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ। नेकपाका ६१ सांसद छन्। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ। दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ। प्रदेस सभामा ८७ जना सांसद छन्। संविधानले प्रदेश सभाका कुल सदस्यको २ तिहाइ मतले प्रदेश राजधानी र नामाकरण गर्न सकिने उल्लेख गरेको छ। यस हिसाबले प्रस्ताव दुईतिहाइले पारित हुन ५८ मत चाहिन्छ। प्रदेश सभामा सत्तारुढ नेकपाका ६१ सांसद छन्। कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। सरकारको प्रस्तावअनुसार सत्तारुढ नेकपाका सांसदले मात्रै समर्थन जनाएमा दाङको देउखुरी उपत्यकालाई स्थायी राजधानी बनाउने प्रस्ताव सजिलै पारित हुन सक्छ। तर, रुपन्देही र आसपासका जिल्लाका सांसदलाई राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न दबाब छ। त्यसैले १४ जनाले संसदीय दलको बैठकमा फरक मत राखेका हुन्। दबाब र जनभावनालाई मनन् गर्दै र पार्टीको कारवाही भोग्नतयार भएर १४ जनाले विपक्षमा मतदान गरेमा नेकपासँग ४७ मत मात्र रहन्छ। नेकपालाई सदनबाट राजधानी सार्ने प्रस्ताव पास गराउन अरु पार्टीको ११ मत चाहिन्छ। नेपाली कांग्रेसका १९ जनामध्ये १३ जना साविक लुम्बिनी अञ्चलका छन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलका हुन्। कांग्रेसका ६ जना सांसद थपिँदा प्रस्तावको पक्षमा ५३ मत हुन्छ। यसरी नेकपालाई दुई तिहाइ पुग्दैन। समाजबादी जनता पार्टीको तर्फबाट बाँके र बर्दियाका गरी २ सांसद र राष्ट्रिय जनमोर्चाको प्युठानका एक सांसद थपिएमा ५६ मत हुन्छ। राजधानी सार्ने प्रस्तावको पक्षमा दुइतिहाइ पुर्‍याउन २ मत पुग्दैन। कपिलवस्तुका तर्फबाट कांग्रेसका ५ जना सांसद मध्ये २ जनाले पक्षमा मतदान गरेमा राजधानी सार्ने प्रस्ताव पारित हुनसक्छ। यदि साविक लुम्बिनीका कांग्रेसका सबै सांसद विपक्षमा मतदान गरेमा, र १४ सांसदले पार्टीको निर्देशन उल्लंघन गरेमा र अन्य साना दलले आफ्नै भूगोलको स्वार्थ हेरेमा राजधानी दाङ सार्ने प्रस्ताव रोकिन सक्छ। तर असहमति जनाएका १४ जनामध्ये प्रदेश सरकारले २ जनालाई आफ्नो पक्षमा पारेमा पनि प्रस्ताव पारित हुने देखिन्छ। किनभने कांग्रेसका केही सांसदहरुले पनि दाङकै पक्षमा मत राख्नसक्छन्। प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका मात्र ५१ सांसद छन्। साबिक राप्ती र भेरीका ३६ सांसद छन्। त्यसैले १४ जनाबाहेक हाल मन्त्री भएका र अन्य प्रदेश सभा सदस्यहरु आआफ्नै भूगोलको पक्षमा अडान लिने हो भने बुटवलबाट राजधानी सर्न धेरै गाह्रो हुने छ। -लुम्बिनीटाइम्सबाट साभार

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । उहाँकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

बेवारिसे शिशुको १२ घण्टापछि उद्धार, आमासहित २ जना पक्राउ

सल्यान : जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका-३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा-३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ । श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शिशु अस्पताल पुर्‍याएर उपचार सुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए । प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फाल्ने महिला र अवैध सम्बन्ध राख्ने भनिएका शारदा- २ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ । करिब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अवैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले जङ्गलमा फालेर घर गएको भनी परियारले बयान दिएको प्रहरीले जनाएको छ ।

प्रदेशसभामा तोडफोड गर्ने ३ सांसदलाई कांग्रेसले कारबाही गर्ने

काठमाडौं : प्रदेश-५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीन प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले कारबाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारबाही गर्ने भएको हो । सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए । स्रोतका अनुसार सानेपामा सोमबार नै बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कोरोनाका कारण बस्न नसकिरहेका बेला देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेको छ ।

छाङरू जोड्ने घोडेटो हस्तान्तरण, अब स्थानीयले आफ्नै भूमिबाट गाउँ जान पाउने

दार्चुला : नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो हस्तान्तरण गरेको छ । सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गरेका हुन् । नेपाली सेनाले झण्डै चार महिनाको अविरल प्रयासपछि व्यास गाउँपालिका- १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो भीर फोरेर उक्त बाटो निर्माण गरेको हो । एक करोड आठ लाख खर्च गरेर महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले चट्टानी भीर फोरेर दुई मिटर चौडाइ भएको ५ सय ५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । बाटो निर्माण गर्न चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो । घाँटीबगर क्षेत्रमा बाटो निर्माण सम्पन्न भए पनि तम्बाकु भीरमा अझै पनि अप्ठ्यारो बाटो भएकोले सहज आवागमनका लागि तम्बाकु भिर फुटाएर बाटो निर्माण गरिदिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् । घाँटीबगर ईलाकाको घोडेटो बाटोको स्थलगत निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले थप बजेट विनियोजन नगरे प्रदेश सरकारबाट बजेट विनियोजन गरेर तम्बाकु भीरमा बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री भट्टले अत्यन्तै कठिन भीरमा सफलतापूर्वक बाटो निर्माण सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यबाद व्यक्त गरे । झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनि हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा यहाँका बासिन्दा दुई दशकदेखि खलंगापारीको भारतीय क्षेत्र धारचुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए । उक्त क्षेत्रमा पैदल बाटोसमेत नहुँदा खलंगादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका १२० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ७० परिवारलाई कुञ्चा (बसाई) सर्न समस्या हुँदै आएको थियो ।

‘अमृत ‘सूर्यमुखी’ तेल बिक्रीवितरणमा रोक

सिन्धुपाल्चोकः सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी गु्रपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो । तेलको प्याकेटमा कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका लागि बिक्रीमा रोक लगाएको उपप्रमुख भगवती नेपालले जानकारी दिए ।

८१ वर्षीय वृद्धले जिते कोरोना

ताप्लेजुङः ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई घर फर्काइएको अस्पतालका प्रमुख डा सोनिङ लामाले जानकारी दिनुभयो । दमको रोगबाट पीडित ती वृद्धलाई कोरोना पुष्टि भएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना रोग निको भएर घर फर्कनेमा ताप्लेजुङका फक्ताङलुङ निवासी रहेको बताइएको छ ।

दशैँ मनाउन घर जाने व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

तनहुँ : तनहुँमा स्वदेश तथा विदेशबाट चाडपर्व मनाउन घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै दशैं तिहार जस्ता चाडपर्व मनाउन आउने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले जानकारी दिए । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ लिएर आउने व्यक्तिहरु भने क्वारेन्टाइनमा बस्नु नपर्ने सहायक प्रजिअ बरालले बताए ।