बीपी युवा मञ्च तुलसीपुरका संयोजक कारागार चलान
दाङ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था वीपी युवा मन्च तुलसीपुरका संयोजक केशवराज भुसाल जेल चलान भएका छन् । उनिमाथि २०७० साल मंसिरमा ज्यान मार्ने उदेश्यका साथ तुलसीपुरका कृष्ण सागर वलीलाई आक्रमण गरेर घाइते बनाएको आरोप लागेको छ ।
भुसालले आफू सो घटनामा सलग्न नरहेको दाबी गर्दै आएका छन ।दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै २०७५ मंसिर २२ गते ५ बर्ष जेल सजायको फैसला गरेको थियो । नेकपा छाडेर कांग्रेसमा तुलसिपुरका युबाहरुसहित पार्टी प्रबेश गरेका भुसाललाई केहि समय अगाडि काँग्रेस केन्द्रीय सदस्य तथा पुर्बमन्त्री दिपक गिरीले पार्टी प्रबेश गराएका थिए ।
उनलाई ईप्रका तुलसीपुरले सोमबार पक्राउगरी बुधबार अदालत बुझाएको थियो । अदालतले उनलाई तुलसीपुर कारागार पठाएको छ ।
उच्च अदालतका ८४ न्यायाधीशको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
काठमाडौंः उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा भएको छ । बुधबार न्याय परिषदले एकैपटक ८४ जना न्यायाधीशलाई सरुवा गरेको हो । को कहाँ पुगे ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः
प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडपः डीएसपीसहित ४० बढी घाइते, ३१ राउण्ड अश्रु ग्याँस प्रहार
जनकपुरधामः सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प हुँदा डीएसपीसहित ४० बढी घाइते भएका छन् । झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना र प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएका छन् । भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले बताए । ठुलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको प्रहरीले जनाएको छ । तर, कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन् । उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै प्रदर्शन गरेका थिए ।
धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या
झापाः कनकाई नगरपालिका–३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको छ ।
२६३८ संक्रमित थपिए, उपत्यकाका मात्रै १४०३
काठमाडौंः नेपालमा थप २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । बुधबार काठमाडौं उपत्यकामा १४०३ संक्रमित थपिएका छन् । उपत्यकाकाृ काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ । हाल काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । लकडाउन र निषेधाज्ञा खुलेसँगै देशभरलगायत उपत्यकामा संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा २१७४ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । बुधबार नेपालमा सक्रिय संक्रमित संख्या ३६ हजार ३६७ छ । बुधबार १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । नेपालमा गत माघ ९ गते पहिलो पटक चीन फर्किएका एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा असोज २३ गते २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको थियो । नेपालमा असोज २४ गते शनिबार देशभर हालसम्मकै बढी ५००८ र उपत्यकामा २६७२ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार नेपालमा भदौ २४ गतेपछि दैनिक एक हजार बढी संक्रमित थपिँदै आएका छन् । काठमाडौं उपत्यकामा फेरि कडाइ गरिँदै
हेटौंडा औद्योगिक क्षेत्रका १११ उद्योग सञ्चालनमा, साढे १० हजारले पाए रोजगारी
मकवानपुरः कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ । लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताइएको छ । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार ५०० जनाले रोजगारी पाएका छन् । ‘नयाँ–नयाँ उद्योगको स्थापनाको लागि केही उद्यमीले आवश्यक जग्गा, विद्युत्, पानी उपलब्ध गराई दिनका लागि निवेदन दिएका छन्’, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले भने, ‘सोही निवेदनको आधारमा जग्गा उपलब्ध गराउन नेपाल औद्योगिक विकास निगम काठमाडौँंलाई स्वीकृत प्रदान गर्नका लागि पत्राचार गरिएको छ ।’ उनका अनुसार पुरानो बन्द भएका उद्योगको अनुमतिपत्र रद्द गरी अर्को उद्योग स्थापना गर्ने क्रममा सो उद्योगलाई स्वीकृित प्रदान गर्न पनि हेटौँंडा औद्योगिक क्षेत्रको तर्फबाट पत्राचार गरिसकेको छ । विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको बताइएको छ । सो औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झन्डै रु पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रु ९० करोड रहेको कार्यालयले जनाएको छ । उक्त औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पुर्याइ विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । सो औद्योगिक क्षेत्रमा उद्योग व्यवस्थापनले जग्गाको सम्झौता गरी १३ वटा आफ्नो प्रशासकीय भवनको निर्माणको कार्यलाई तीव्रता दिइएको आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गरी उद्योग सञ्चालनको लागि तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानेले बताए ।
पोखरामा कोरोना सङ्क्रमित महिलाको मृत्यु
कास्कीः पोखरामा एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । यही असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । योसँगै सो अस्पतालमा हालसम्म उपचारका क्रममा १३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । प्रदेशमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का छ जना, तनहुँका दुई जना, स्याङ्जा तथा लमजुङका एक÷एक जना छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १२७ पुगेको छ ।
सङ्घीय सांसद पहाडीको निधन
काठमाडौंः प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन हो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् । उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
ओली–प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बुधबार भएको छलफलमा कर्णाली प्रदेशमा पार्टीभित्रको आन्तरिक समस्या समाधान, साँगठनिक प्रक्रियाको बाँकी एकताको काम लगायतमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । दुई अध्यक्षले जारी गरेको आन्तरिक पार्टी निर्देशनमा असोज मसान्तभित्रै सांगठनिक एकताका बाँकी काम टुङ्गो लगाउने प्रतिबद्धतासहितको निर्देशन पार्टी पङ्तिलाई गरिएको थियो । मसान्त सकिन अब दुई दिन बाँकी रहँदा दुई अध्यक्षबीच सो विषयमा गृहकार्यका लागि छलफल भएको बताइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि देखिएको पार्टीको विवाद व्यवस्थापनमा समेत दुई अध्यक्षबीच छलफल भएको छ । मंगलबार अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहित भएको छलफलमा पार्टीको कर्णाली प्रदेशका पदाधिकारीलाई छलफलका लागि काठमाडौं बोलाइएको पत्र पठाइएको थियो । सोही पत्रका आधारमा कर्णाली प्रदेशका पदाधिकारी काठमाडौं आउनेक्रम जारी रहेको पार्टी स्रोतले जनाएको छ । त्यसको पूर्व तयारीस्वरुप दुई अध्यक्षबीच आज बिहान छलफल भएको हुनसक्ने दलका नेताहरुको बुझाई छ । पार्टी सचिवालय बैठकको कार्यसूचीअनुसार छलफल गर्नुपर्ने र दुई अध्यक्षलाई दिइएको प्रस्ताव बनाउने जिम्मेवारीसमेत हालसम्म पूरा नभएकाले दुई अध्यक्षबीच सो विषयमा समेत नियमित छलफल भइरहेको छ । मन्त्रिपरिषद पुनर्गठन, सांगठनिक एकता प्रक्रियाको टुङ्गो, केन्द्रीय कार्य समितिका सदस्यहरुको भत्ता लगायतका कार्यसूची तय गरिएका छन् तर सो विषयमा ठोस निर्णय हुन बाँकी छ । सबै समस्या समाधानको उपायसहित दुई अध्यक्षले प्रस्ताव तयार गरेपछि त्यसमा केन्द्रित भएर छलफल गर्ने जिम्मेवारी सचिवालय बैठकले अध्यक्षद्वयलाई दिएको थियो । अध्यक्षबीचको छलफलले अझै सो प्रस्ताव तयार गर्ने ठोस तयारी गर्न नसकेकाले सचिवालय बैठक पनि अनिश्चित् बनेको छ । बीचमा कर्णाली प्रदेशको पार्टीको आन्तरिक समस्या बल्झेपछि त्यसमा पनि दुई अध्यक्ष व्यस्त हुनुपर्ने भएपछि सचिवालय बैठकको मिति अझै लम्बिने बुझाई नेताहरुको छ ।
काठमाडौं उपत्यकामा फेरि कडाइ गरिँदै
काठमाडौंः पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरूमा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ छ । तीमध्ये ७८ हजार ७८० निको हुँदा अझैं सक्रिय संक्रमित ३५ हजार ९१५ छन् । हाल काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । लकडाउन र निषेधाज्ञा खुलेसँगै देशभरलगायत उपत्यकामा संक्रमण बढिरहेको छ । मनत्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४६ हजार ८०६ पुगेको छ । तीमध्ये २० हजार ९१७ सक्रिय संक्रमित छन् । उपत्यकाकासक्रिय संक्रमितमध्ये काठमाडौंका मात्रै १६ हजार बढी छन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असाजमा सक्रिय संक्रमित संख्या २५ हजार नाघे फेरि लकडाउन गर्ने निर्णय गरेको थियो । तर, अहिले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित संख्या २५ हजार पुग्न लागेको छ । तर, सरकारले लकडाउनबारे कुनै निर्णय गरिसकेको छैन । सरकारले अब लकडाउन नहुने तर निषेधाज्ञा भए पनि देशभर नहुने बताएको थियो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना नरहेको तर संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्ने बताएका थिए । सोमबार मात्रै मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै उनले नागरिकले सतर्कता नअपनाए सरकार पुनः लकडाउन गर्न बाध्य हुने बताएका थिए । दशैंतिहारमा संक्रमण झनै फैलिन सक्ने भन्दै सरकारले कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा पुनः कडाई गर्ने तयारी गरेको छ । सरकारले अहिले कसरी जाने के गर्ने भन्ने आन्तरिक तयारी गरिरहेको छ । यसका साथै संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा कडाइ गर्ने तयारी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी प्रस्ताव तयार पारी स्वीकृत गराएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कडाई गर्ने सम्बन्धि केही निर्णय गरेको बताइएको छ । त्यसबारे सरकारले सम्भवत बुधबार निर्णय सार्वजनिक गर्ने स्रोतको दाबी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनबारे छलफल नभए पनि उपत्यकामा कडाइ गरिने बताए । उनले चाडपर्वका नाममा कसैलाई छुट नहुने र मापदण्ड नमान्नेलाई थुन्ने चेतावनी दिए । यता, गृह मन्त्रालयका प्रवक्ता चक्र बहादूर बुढाले सरकारको आधिकारिक निर्णय कुर्न आग्रह गरे ।
बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु
धरानः यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधबार बिहान इटहरी–६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मधुमेहको बिमारी भएको बताइएको छ । यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।
महोत्तरी र मोरङका संक्रमितको मृत्यु
काठमाडौंः महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । मिर्गाैला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ युवक सिकिस्त बिरामी भएपछि मङ्गलबार उनको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । युवकको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । यस्तै, मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।
एकै गाउँका दुई शव फेला
महोत्तरीः मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो भने खुश्बुको शव उनको घरदेखि पाँच मिटर उत्तरमा रहेको आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । उनीहरु दुवै के–कति कारणले झुण्डिएको अथवा उनीहरुको मृत्यु कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित
काठमाडौं, असोज २८ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ । नेपाल मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभएको छ । यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने मौका मिलेको हो । गएराति भएको मतदानमा नेपालले १५० भोट प्राप्त गर्यो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ । मन्त्री ज्ञवालीले नेपाललाई सहयोग गर्ने सबै मुलुकप्रति आभार पनि व्यक्त गर्नुभएको छ । एशियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।
लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना
बुटवल — लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले बताए । सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकरलन गरी परीक्षणमा पठाइएको थियो । त्यसमध्ये १० जनाको नतिजा आउन बाँकी छ । संक्रमित कर्मचारीको व्यवस्थापन कहाँ कसरी गर्ने भन्नेबारे तयारी भइरहेको प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए । उपसभामुख कृष्णी थारुले भने आफू र आफ्ना कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको बताइन् । यसअघि असोज १९ र २० गते प्रदेश सभा बैठक बसेको थियो । जहाँ नाम र स्थायी राजधानीका बारेमा नाराबाजी समेत भएको थियो । त्यसयता सभामुखसहित आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने, लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा कोरोना संक्रमण देखिएको छ ।
सर्वोच्चकाे आदेशविपरीत फाेन रेकर्ड गर्न सक्ने प्रावधानसहित विधेयक आउँदै
काठमाडौँ — अदालतको अनुमतिबिनै जुनसुकै व्यक्तिको फोन रेकर्ड मिल्ने प्रावधानसहित सरकारले नयाँ दूरसञ्चार विधेयकको मस्यौदा तयार पारेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा दूरसञ्चार सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच हुने व्यवस्था राखिएको छ । ‘नेपालको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोह अपराध वा संगठित अपराध वा फौजदारी अपराधलगायत क्रियाकलाप गरेको विषयमा सरकारको अधिकार प्राप्त अनुसन्धान गर्ने निकायले जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्नेलगायतका पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरणहरू अनुसन्धानका लागि सेवा प्रदायकबाट संकलन प्राप्त गर्न सक्नेछ,’ विधेयकको दफा ८१ मा भनिएको छ, ‘यो कार्यका लागि उपयुक्त प्रविधिको प्रयोग गरी सेवा प्रदायकहरूको प्रणालीमा सोझै पहुँच पाउने गरी संयन्त्र जडान गर्न र सूचनामा पहुँच पाउने व्यवस्था तोकिएबमोजिम हुनेछ ।’ सेवा प्रदायकको प्रणालीमा सोझै पहुँचबाहेक सरकारी अधिकारीले जोकोहीको टेलिफोन र सञ्चारको विवरण माग गर्न सक्ने प्रावधान पनि विधेयकमा छ । विधेयकको दफा ८६ मा यस्तो व्यवस्था गरिएको छ । ‘कुनै व्यक्तिले कुनै अपराध गर्न टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारको दूरसञ्चार माध्यमको प्रयोग गरेको वा सूचना आदानप्रदान गरेको पाइए मुद्दा हेर्ने अधिकारको अनुमति लिई त्यस्तो अपराधको अनुसन्धान गर्ने अधिकारीले टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यम वा सोबाट भएको दूरसञ्चारसम्बन्धी विवरण वा सूचना उपलब्ध गराइदिन सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकलाई आदेश दिन सक्नेछ,’ विधेयकमा भनिएको छ, ‘त्यस्ता अधिकारी, निकाय वा सेवा प्रदायकले टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यमबाट वा सोबाट भएको सञ्चारसम्बन्धी विवरण वा सूचना उपलब्ध गराउनुपर्नेछ ।’ विधेयकमा सरकारी अधिकारीले चाहेमा जुनसुकै व्यक्तिले प्रयोग गरिरहेको टेलिफोन, मोबाइल फोन वा सञ्चारमाध्यम निष्क्रिय गर्न आदेश दिन सक्ने व्यवस्था पनि राखिएको छ । विधेयकमा भएको यी प्रावधान आपत्तिजनक भएको सूचना प्रविधिसम्बन्धी जानकार अधिवक्ता बाबुराम अर्यालको टिप्पणी छ । ‘प्रशासनिक निकायलाई यस्तो विवरण प्राप्त गर्न सक्ने कानुनी प्रावधान राख्नु संविधानले दिएको गोपनीयताको हकविपरीत हो,’ उनी भन्छन्, ‘अदालतको आदेशबिना यस्ता विवरण प्राप्त हुने व्यवस्था गर्नु अधिकारको दुरुपयोग हो ।’ यस्ता प्रावधानले सरकारी अधिकारीलाई नागरिकको निगरानी गर्ने असीमित अधिकार दिने उनको टिप्पणी छ । विधेयकको मस्यौदामा उल्लेख भएको प्रावधान सर्वोच्च अदालतले केही वर्षअघि जारी गरेको परमादेशविपरीत पनि छ । सर्वोच्चले २०७३ माघ २१ गते गरेको परमादेशमा अदालतको अनुमतिबिना कुनै पनि व्यक्तिको कल डिटेल लिन नपाइने भनिएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले अदालतको आदेशबिना कल डिटेल माग्ने र दिने दुवैलाई कारबाही गर्नुपर्ने आदेश दिएको थियो । ‘कार्यपालिका स्वयं पनि कानुनको अधीनमा मात्रै कार्य गर्न सक्ने हुनाले सूचनामा अनियन्त्रित पहुँच कार्यपालिकाको विशेषाधिकार हुन सक्दैन,’ फैसलामा भनिएको छ, ‘सूचनाहरू संगृहीत रहेको र त्यसको जिम्मा लिएका संस्था वा विभागले त्यसलाई आफ्नो तजबिजको विषय बनाउन सक्दैन ।’ कान्तिपुर दैनिकबाट

