टेलिकमले अफरमा थप्यो यस्ता सुविधा
काठमाडौं : नेपाल टेलिकमले अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ ।
पहिलाको अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक थियो । सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको हो ।
यस अनुसार उक्त कम्बो प्याकअन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न सकिन्छ । प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ ।
यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल गर्न सकिन्छ । प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ ।
कम्पनीका अनुसार माथि उल्लेख गरिएका सबै दरहरु कर सहितका हुन् ।
परिमार्जन गरिएको अफर शुक्रबार राति १२ बजेपछि लागू हुने कम्पनीले जानकारी दिएको छ।
म्याग्दीमा पहिलो पटक मनाइयो छठ
म्याग्दी : वीरगञ्ज स्थायी घर भएका विजयकुमार साह १५ वर्षदेखि बेनीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । विगत वर्षमा पूर्वीतराईमा बसोबास गर्ने नेपालीले विशेष महत्वका साथ मनाउने छठका लागि साह परिवारसहित तिहारअघि नै जन्मथलो जान्थे । यसपालि कोरोना महामारीका कारण साहले बेनीमै छठ पर्व मनाउँदै छन् । साहलगायत यहाँ बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक छठ पर्व मनाएका हुन् । करिब दुई दशकदेखि बेनीमा व्यवसाय गर्दै आएका भारतको बिहारका सुकन साहले म्याग्दीमा पहिलो पटक छठ मनाइएको बताउनुभयो । म्याग्दीलाई २०७५ माघमा नेपालको २१ औँ हिमाली जिल्लामा सूचीकृत गरिएको थियो । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पूजाआजा र नदीमा वर्तालुले अघ्र्य दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । शुक्रबार साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अघ्र्य दिएकी सीमादेवी साहले शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सकिने बताइन् । पिङ्कीदेवी साहले तीन दिनसम्म पानी पनि नखाई ब्रत बसेर छठ पर्व मनाएको बताइन् । छठको कठोर ब्रत बस्नाले चिताएको पूरा हुने विश्वास छ । शुद्ध बस्त्र लगाएर ब्रत बस्ने चलन छ । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अघ्र्य चढाएका थिए ।
क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई निर्देशन
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । कांग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशित गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ । कांग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नवीकरण) स्वीकृत नहुने भएको छ । कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता सङ्ख्या हाल करिब पाँच लाख रहेका छन् । काँग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।
नेपाल-चीनको निकटता झन् बढ्दैछ : अध्यक्ष तिमिल्सिना
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । स्थानीय एभरेष्ट होटलमा आजदेखि सुरु भएको ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा ‘तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गरे । उनले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच शदियौँ पुरानो सम्बन्ध रहेको र साझा विशेषता रहेको बताए । विनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीचको सम्बन्ध फराकिलो हुँदै गएकामा उनले प्रसन्नता व्यक्त गरे । मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरे । सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो ।
भैँसी बगाउने खोलामा ट्रक दुर्घटना : चालकको मृत्यु, २ जना घाइते
दाङ : दाङमा ट्रक दुर्घटना एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । आइतबार साँझ करिब साढे ८ बजेतिर घोराही-लमही सडक खण्डअन्तर्गत घोराही ३ भैंसी बगाउने खोलामा ट्रक दुर्घटना हुँदा बाँकेका घर भएका ट्रक चालक ३५ वर्षीय प्रकाश परियारको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले जनाएको छ। घोराहीबाट लमही जाँदै गरेको ना ६ ख ६२० नम्बरको ट्रक अचानक दुर्घटना हुँदा ट्रक चालक परियारको घटनास्थलमै मृत्यु भएको हो। अन्य दुईजना घाइते भएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी राज कुमार बैदवारले जानकारी दिए। घाइतेलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही सामान्य उपचारपछि थप उपचारको लागी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको छ। घाइतेमध्ये तुलसीपुर-१४ का नवीन केसी डिस्चार्ज भएका र अर्का करिब ३१ वर्षीय नाम/ठेगाना खुल्न नसकेको व्यक्तिलाई कोहलपुरबाट पनि थप उपचारको लागी बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
चितवनमा काेराेनाबाट थप ५ काे मृत्युु
काठमाडौं । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको उपचारको क्रममा गएराति निधन भएको हो । यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् । कात्तिक १३ गते कोभिड पुष्टि भएका ती पुरुषको पनि उपचारका क्रममा गएराति नै निधन भएको हो । यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै भरतपुर अस्पतालमा एक जना धादिङ र एक जना चितवनका गरी दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कांग्रेसले बोलायो पदाधिकारी बैठक
नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने उहाँले बताउनुभयो । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।
विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ– भीम रावल
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले स्थायी कमिटीको बैठक तुरुन्त बोलाउन माग गरेका छन् । नेकपा विभाजनकाे सघारमा रहेकाे चर्चा चलिरहेकाे बेला नेता रावलले याे माग गरेका हुन । आइतबार महासचिव विष्णु पाैडेलले एक स्टाटस लेख्दै पार्टी गम्भीर सकटमा परेकाे बताएका थिए । यसैबीच आइतबार खुमलटारमा भएकाे एक छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेको प्रचण्डले बताएका थिए । नेता रावलले ट्वीट गर्दै लेखेका छन्,’विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।’ साथै उनले समझदारी,एकता र देशको हित मनमा राखी समस्या समाधान गर्न आग्रह गरेका छन् ।
२१ दिनपछि खुल्यो गाउँपालिकाको ताला
बैतडी । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नु्भयो, “गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएका छन् ।” जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष बिष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो । तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका बिषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुङ्गो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष बिष्टले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गत असोज २८ गते झडपसमेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टसहित १४ जना घाइते भएका थिए । गाउँपालिकाले पबितामा केन्द्र सार्न लागेको भन्दै स्थानीयवासीहरुले सङ्घर्ष समिति बनाएर गाउँपालिकामा तालाबन्दी गरेका थिए । असोज २८ गते ताला खोल्ने क्रममा अध्यक्ष बिष्टसहितका व्यक्तिमाथि ढुङ्गा प्रहार भएको थियो । हाल गाउँपालिकाको वडा नं ५ कठेगौडमा गाउँपालिका कार्यालय रहेको छ । उक्त कार्यालय सोही वडाको पबिता सार्ने निर्णय गाउँपालिकाले गत वर्ष नै गरेको थियो । स्थानीयवासीहरुले केन्द्रका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले केही निर्णय नगर्न माग गरेका छन् । यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पनि भएको सर्वपक्षीय छलफलबाट ताला खोल्ने निष्कर्ष निकालेको थियो । सुर्नया गाउँपालिकाका जनप्रतिनिधि, प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्ट, नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्र थापा, नेकपाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागितामा बसेको बैठकले ताला खोल्ने निर्णय गरेको थियो ।
एउटै जिल्लामा विभिन्न मुद्दाका २६ फरार पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते सात दिन कैद र रु छ लाख ६७ हजार जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माईकल भन्ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ । खंगविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७६ असार ८ गतेको फैसलाले दुई वर्ष दुई दिन कैद, रु २२ हजार ५०० जरिवाना र माईकल भन्ने सन्तोष गौतमउपर दुई वर्ष दुई महिना चार दिन कैद र रु २२ हजार ५०० जरिवना ठहर गरेको थियो । ती दुवै व्यक्ति अदालतबाट फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । त्यसैगरी जारी मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एक÷एक महिना कैद र रु एक हजार जरिवाना तोकिएका भानुनगरपालिका–६ बस्ने बिमल थापा मगर र निजकी श्रीमती सञ्जु थापा मगर पक्राउ परेका छन् । त्यस्तै करकाप मुद्दामा फरार आठ, लिखत बेइज्जती मुद्दामा फरार छ, लागु औषध मुद्दामा फरार एक, गाली बेईज्जती मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र जम्मा रु सात लाख १६ हजार ६२० जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताउनुभयो ।
झापामा एकै दिन ३ कोरोना संक्रमितको मृत्यु
झापा : झापामा आज साँझ फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज साँझ ६ बजे दमक नगरपालिका- ७ की ५५ वर्षीया महिलाको मृत्यु भएसँगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ । नगरपालिका, स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेकी उनको उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु भएको हो । संक्रमणबाट दमकमा एकैदिन तीन जनाको मृत्यु भएको पहिलो हो । यसअघि आज बिहान दुई संक्रमित पुरुषको मृत्यु भएको थियो । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ र जिल्लामा ४७ पुगेको छ ।
गण्डकीमा आज ४२३ जनामा कोरोना, २ संक्रमितको मृत्यु
कास्की : गण्डकी प्रदेशमा आज ४ सय २३ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७ सय ४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । पोखरा महानगरपालिका- १७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा आज बिहान ११ः५५ बजे उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । त्यस्तै, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका–३ निवासी ४७ वर्षीय पुरुषको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
अझै नेपाल-भारतबीच एक महिना हवाई उडान नहुने
काठमाडौं : नेपाल-भारतबीचको हवाई उडान सुरु हुन अझै कम्तीमा एक महिना लाग्ने भएको छ । ११ चैत २०७६ यता रोकिएको हवाई उडान हुन कम्तीमा अझै एक महिला लाग्ने भएको हो । भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो साता एयर बबल स्किममा सहभागी भई भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको थियो । मन्त्रालयले १ कात्तिकबाट उडान सुरु गर्ने गरी प्रस्ताव परेको थियो । सो प्रस्ताव सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि पास भने नभएको मन्त्रालय स्रोतले जनाएको छ ।
कोरोनाबाट सशस्त्र प्रहरीका सईको निधन
अर्घाखाँची : कोरोना भाइरस (कोभिड-१९) संक्रमित सशस्त्र प्रहरीका सईको निधन भएको छ । काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार क्रममा शनिबार उनको निधन भएको हो । सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले अस्पतालको वार्डमा उपचाररत ४२ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको जानकारी दिए । निमोनिया र दमपीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो । पुर्ख्यौली घर दैलेख घर भएका उनी हाल सुर्खेत बस्दै आएका थिए । अर्घाखाँची सन्धिखर्क गुल्ममा २६ महिनादेखि उनी कार्यरत थिए ।
धरौटी नराखी संक्रमितको उपचार गर्न सरकारको निर्देशन
काठमाडौं : चौतर्फ आलोचना भएपछि सरकारले धरौटी नलिएर कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ । धमाधम सरकारी अस्पतालले संक्रमितको उपचारका लागि धरौटी शुल्क लिनथालेपछि सरकारले यस्तो निर्देशन दिएको हो । कोरोना संक्रमितको उपचारका लागि धरौटी माग्ने अस्पताललाई सरकारले स्पष्टीकरण पनि सोधेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षण देखिएर बिरामी परेका संक्रमितको उपचारमा भर्ना गर्नुअघि धमाधम धरौटी माग्न थालेपछि ती अस्पताललाई स्पष्टीकरण सोधिएको हो । मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आइतबार भएको कोभिड-१९ को मिडिया ब्रिफिङका क्रममा यस्तो बताएका हुन् । गौतमले कोभिड संक्रमितलाई अस्पताल भर्ना गर्दा कुनै किसिमको धरौटी नलिन पनि सरकारी अस्पतालहरुलाई निर्देशन दिएका छन् ।
कैलालीमा जीप दुर्घटना, ४ जना घाइते
धनगढी : कैलालीमा जीप दुर्घटना हुँदा कम्तिमा ४ जना घाइते भएका छन् । सुप प्र ०१००१ च २६२३ नम्बरको जीप दुर्घटनामा परेको र ४ जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक विवरण आएको सुदूरपश्चिम प्रदेश ट्रापिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । जिल्लाको मोहन्याल गाउँपालिकाको बासपानीमा आज दिउँसो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थल गएकाले बाँकी विवरण त्यसपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । जीप कैलालीको घोडाघोडीबाट मोहन्यालका लागि छुटेको थियो ।

