भोलि ५ सय बढी उप र सहसचिवको विज्ञापन हुँदै

काठमाडौं : लोक सेवा आयोगले बुधबार उपसचिव र सहसचिवको विज्ञापन गर्ने भएको छ । आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार बुधवार विभिन्न सेवाका गरी पाँच सयभन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गर्ने भएको हो ।

स्वास्थ्य सेवाका एक सय ५० जना उपसचिव र ७० जना सहसचिव, संसद् सेवाबाट उपसचिव र सहसचिव गरी २१ जना र निजामतीतर्फ प्राविधिक र अप्राविधिक गरी तीन सय उपसचिव र एक सय सहसचिवको विज्ञापन हुन लागेको प्रशासन सिंहदरबार स्रोतले जानकारी दिएको छ ।

जसमध्ये सबै सेवाका गरी करिब ९० जति पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुनेछ भने बाँकी फाइल बढुवा र आन्तरिक प्रतियोगिता पदपूर्ति हुनेछ । उपसचिव र सहसचिवमा कुल पदको १० पदको मात्रै खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्ने व्यवस्था रही आएको छ ।

पाटाको सचिव/कोषाध्यक्षमा सुमन पाण्डे निर्वाचित

काठमाडौं : एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रा.लि.का अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यहि १२ नोभेम्बर २०२० मा भएको अनलाईन चुनावमा श्री पाण्डेले मलेशियन प्रतिद्वन्दी फईज फधीलिल्लाहलाई पराजित गरेका हुन् । त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा. सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् भने, वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्ने छन् ।

लुम्बिनी प्रदेशकी उपसभामुख थारूलाई कोरोना पुष्टि

बुटवलः लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख थारुले मंगलबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् । थारुले आफूलाई कोरोना संक्रमण देखिएकाले सम्पर्कमा आएकाहरुलाई सतर्क रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन् । यसअघि सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण देखिएको थियो । यस्तै प्रदेशसभा लेखा सभापति डिल्लीबहादुर चौधरीलाई पनि कोरोना संक्रमण भएको छ ।

जिल्ला प्रशासन काठमाडौंद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै सो कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको हो । ‘संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । कार्यालयले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउने जानकारी दिएको छ । बाँकी सेवा भने तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । स्थगित भएका सेवाहरुमा नागरिकता वितरण, हातहतियार दर्ता र नविकरण, संस्था, पत्रपत्रिका दर्ता र नविकरण लगायत रहेका छन् ।

कर्णालीका पदाधिकारीलाई ओली-प्रचण्डले बोलाए काठमाडौं

काठमाडौं : नेकपाले विवाद चर्किएपछि समाधानका लागि कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड बीचको मंगलबार भएको भेटवार्ताले कर्णाली प्रदेशको पदाधिकारीलाई काठमाडौं बोलाएर छलफल गर्ने सहमति बनेको हो। कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन। भने सह इन्चार्ज मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेल हुन्। उनी प्रधानमन्त्री ओलीनिकट मानिन्छन्। कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा रहेका छन्। आइतबार मुख्यमन्त्री शाही विरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले मुख्यमन्त्रीको साथ दिएपछि उनको कुर्सी जोगिएको छ।

ग्यास सिलिण्डरको धरौटी मूल्य तोकियो

काठमाडौंः नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि उनले बताए । एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको उनले बताए । संघले तोकेकोभन्दा बढी रकम लिएमा गैह्रकानूनी हुने पनि उनले बताए । अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरक फरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको बताए । तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए । अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने तिमिल्सिनाले बताए । संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन । यसबाट उद्योगको सम्पत्तिको रुपमा रहने सिलिण्डरको विभिन्न दायित्व आम उपभोक्ताले नै बेहोर्नुपर्ने स्थिति आउने सम्भावना देखिन्छ ।

हुम्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट: हुम्लाको उत्तरी क्षेत्रमा रहेका २ गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट- ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण ५ दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् । धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट बमबहादुर थापाले जानकारी दिए । ५ दिनदेखि टेलिफोन सेवाले काम नगर्दा स्थानीय सञ्चारबाट विच्छेद हुनाका साथै टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको नुर्बु बुढाको भनाइ छ । मर्मतका लागि नेपाल टेलिकम सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरिएको स्थानीयवासीले आरोप लगाएका छन् । नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा स्थानीयवासीले बारम्बार समस्या भोग्दै आउनुपरेको छ । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको थापाले बताए ।

अब एन्टिजेन किटमार्फत १ हजारमै कोरोना परीक्षण गर्न सकिने

काठमाण्डौंः सरकारले कोरोना भाइरस पहिचान गर्नको लागि एन्टिजेन किटमार्फत परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क १ हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम १ हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए । उनले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताए । यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताए। यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नरगराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेप्से पुनः ओरालो यात्रामा

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ । कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ताले नाफा बुक गर्न थालेका कारण बजार पुनः ओरालो लाग्न थालेको छ । त्यसको प्रभावस्वरुप आज कारोवार रकममा समेत गिरावट आएको छ । आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १.४९, उत्पादन १०.८४ र सामूहिक लगानी कोष ०.०५ ले बढेको छ । यस्तै, बैंकिङ ७.७, होटल १०.०६, विकास बैंक ८.५६, जलविद्युत् २७.८४, वित्त १६.३, निर्जीवन बीमा ४८.४१, अन्य १.५१, लघुवित्त १३.६३ र जीवन बीमा ३८.९४ ले ओरोलो लागेको छ । कारोवारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड २६ लाख २१ हजार ४७३ बराबरको कारोवार भयो । यस्तै, ज्योति विकास बैंक रु ११ करोड सात लाख एक हजार ४०४, मुक्तिनाथ विकास बैंक रु आठ करोड ५३ लाख ७० हजार १६७, नेपाल पुनरबीमा कम्पनी रु छ करोड ३२ लाख ८९ हजार ४००, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ४६ लाख ७४ लाख ७४ र नेपाल बैंकको रु पाँच करोड २४ लाख ७१ हजार ४५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । कारोवारका आधारमा आज ज्योति विकास बैंक ४.८३, लक्ष्मी उन्नति कोष, ३.३३, युनिलिभर नेपाल ३.०९, एनआइबिएल प्रगति फण्ड २.३६, सिटिजन म्युचअल फण्ड १.७६ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले १.५५ प्रतिशतले कमाए । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ८.७२, दिव्यश्वरी हाइड्रोपावर ७.५०, खानीखोला हाइड्रोपावर ७.२६, रिडी हाइड्रोपावर ७.२२, घलेम्दी हाइड्रो ६.७७, समृद्धि फाइनान्स ६.५४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३५ प्रतिशतले गुमाएका छन् ।

३५५६ संक्रमित थपिए, उपत्यकामा मात्रै २१२९

काठमाडौंः नेपालमा थप ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर गर्दा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा २१२९ संक्रमित थपिएका छन् । हाल काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । लकडाउन र निषेधाज्ञा खुलेसँगै देशभरलगायत उपत्यकामा संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा १५०३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । मंगलबार नेपालमा संक्रमित संक्रमित ३५ हजार ९१५ संख्या छ । सोमबार १८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ । नेपालमा गत माघ ९ गते पहिलो पटक चीन फर्किएका एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा असोज २३ गते २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको थियो । नेपालमा असोज २४ गते शनिबार देशभर हालसम्मकै बढी ५००८ र उपत्यकामा २६७२ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार नेपालमा भदौ २४ गतेपछि दैनिक एक हजार बढी संक्रमित थपिँदै आएका छन् ।

कर्णालीमा देखिएको अराजनीतिक गतिविधि असफल भयोः प्रचण्ड सचिवालय

काठमाडौंः कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको प्रसंगलाई संकेत गर्दै प्रचण्डका स्वकीय सचिव गंगा दाहालले मंगलबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छन्, ‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ ।’ दाहालले पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पुर्णलाई बधाई ज्ञापन गरेकी छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार उनकै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शाही पूर्व माओवादीको तर्फबाट मुख्यमन्त्री बनेका थिए । तर, मंगलबार भएको छलफलमा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरूबीच मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिने, मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने, नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको थियो । सहमतिअनुसार मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् । नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाइसकेको छ । सहमति लगत्तै मुख्यमन्त्री शाहीले संसदीय दलको सचेतकमा नेपाल समूहका सांसद कर्मराज शाहीलाई नियुक्त गरिसकेका छन् । मुख्यमन्त्री शाहीले सोमबार मात्रै प्रमुख सचेतक रहेका कँडेल पक्षका गुलाबजंग शाहीलाई पदमुक्त गरी उक्त स्थानमा सीता नेपालीलाई जिम्मेवारी दिएका थिए । नेपाली यसअघि सचेतक थिइन् । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यको नेतृत्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली समूहका प्रदेश सभा सदस्य यामलाल कँडेलले गरेका थिए । शाहीलाई हटाएर आफू मुख्यमन्त्री बन्ने योजना कँडेलको थियो । तर, उनको योजना तुहिएको छ । सम्बन्धित सामाग्रीः कर्णाली विवादमा नयाँ मोडः मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री शाही, नेपाल पक्षका ३ मन्त्री थपिँदै अविश्वासको प्रस्तावबाट पछि हट्यो नेपाल समूह, मुख्यमन्त्री शाही फेरि बहुमतमा कर्णाली विवादः अविश्वासको प्रस्ताव रोक्न प्रचण्ड र नेपाल समूहका नेताहरू सहमति नजिक कर्णाली प्रकरणः गम्भीर संकटमा पनि किन बस्दैन नेकपा सचिवालय बैठक ? कर्णाली विवादले नेकपाभित्र नयाँ ध्रुवीकरणको संकेत, मुख्यमन्त्री ‘पदमुक्त’ नहुने कर्णालीका मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव अनिष्टको संकेतः भीम रावल कर्णाली विवादबारे प्रचण्डको असन्तुष्टि, ओली र नेपालसँग गम्भीर छलफल कर्णाली विवादः मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक शाह कर्णालीमा पार्टी अनुशासनको गम्भीर उल्लंघन, विधान र स्थायी समितिको निर्णयको धज्जी उड्यो कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव, क–कसले गरे हस्ताक्षर ? (सूचीसहित)

कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु

तनहुँः कोरोना भाइरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षिय धर्मकुमार श्रेष्ठ, उनका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णु कुमारको मृत्यु भएको हो । धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । यस अघि शनिबार उनको माईलो छोरा कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । र साईलो छोरो विष्णु कुमारको सोमबार निधन भएको हो । एकै परिवारको तीन जनाको मृत्यु भएपछि भिमाद बजार शोकमा डुबेको छ । उनीहरु तीनै जनाको कोराना सङक्रमणबाट मृत्यु भएको र जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भइराखेको मृतक धर्मकुमारका ज्वाई तथा नेकपा गण्डकी प्रदेशका सदस्य शङ्कनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार धर्मकुमारका ९ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो । बुबा धर्मकुमारलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनीहरुलाई सङक्रमण भएको हो ।

मन्त्री त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख

काठमाडौंः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो । मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको थियो । मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा प्रवीणविक्रम थापा, डा धीरेश महर्जन, डा रोशन घिमिरे र डा सन्तोष श्रेष्ठ खटिएका थिए ।

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

काठमाडौंः महानगरीय अपराध महाशाखा काठमाडौंले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई काठमाडौंको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल कामपा–७ बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोवी गाउँपालिका–५ स्थायी घर भई हाल कामपा–७ बौद्ध बस्ने २७ वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई सोमबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । यही असोज २१ गते अपराह्न १६ः३० बजे मृतक योञ्जनले सञ्चालन गरेको पसलमा आई उनीहरुले मादक पदार्थ सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई जग्गा हेर्न भनी पसलभन्दा एक किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटेर लगेका थिए । निज योञ्जनको उपचारका क्रममा ग्रीनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको थियो । अनुसन्धानका क्रममा शेर्पा भन्ने कामी लामाले मृतकसँग रकम लिन बाँकी रहेको र मृतककले रकम दिन आनाकानी गरेको कारण निजलाई कुटपिट गरेर रकम असुल्न अन्य दुई सहयोगी बोलाएको खुलेको छ । एकान्तमा रहेको धानखेतमा उनीहरुले मृतकलाई अनुहार, छाती र पेटको भागमा हात र खुट्टाले कुटपिट गरी घाइते बनाई निजको साथमा रहेको सुनको ब्रासलेट (दुई तोला दुई लाल) तथा मोबाइल लुटी फरार रहेको महाशाखाले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल, मृतकको सुन बिक्रीबाट प्राप्त रु एक लाख ५५ हजारमध्ये रु ५४ हजार ६०० र गालेको सुन (एक तोला एक लाल) बरामद गरेको छ ।

अविश्वासको प्रस्तावबाट पछि हट्यो नेपाल समूह, मुख्यमन्त्री शाही फेरि बहुमतमा

काठमाडौंः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरूबीच सहमति भएको छ । सहमतिअनुसार नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हटेको छ । साथै मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन् । नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको स्रोतको दाबी छ । त्यसअनुसार नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । त्यस्तै, संसदीय दलको सचेतकमा कर्मराज शाहीको नाम पठाएको छ । मंगलबार भएको छलफलमा प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट थिए । त्यस्तै, नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार उनकै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ४० सदस्यीय प्रदेशसभामा नेकपासँग ३३ सांसद छन् । ३३ मध्ये पूर्व माओवादीका १३, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली खेमाका १२ र नेता नेपाल खेमाका ८ सांसद छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका ८, नेता नेपाल तर्फका ७ सांसद र पूर्व माओवादीका तीन सांसद छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् । नेपाल पक्ष अविश्वासको प्रस्तावबाट पछि हटेसँगै मुख्यमन्त्री शाही फेरि बहुमतमा पुगेका छन् । मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकोप्रति नेकपा अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेपाललाई भेटेर असन्तुष्टि व्यक्त गर्दै उक्त प्रस्ताव रोक्न आग्रह गरेका थिए । उक्त आग्रहपछि नेता नेपालले प्रदेशका आफू पक्षका सांसदलाई फोन गरेर हस्ताक्षर फिर्ता लिन दवाव दिएका थिए । सम्बन्धित सामाग्रीः कर्णाली विवादः अविश्वासको प्रस्ताव रोक्न प्रचण्ड र नेपाल समूहका नेताहरू सहमति नजिक कर्णाली प्रकरणः गम्भीर संकटमा पनि किन बस्दैन नेकपा सचिवालय बैठक ? कर्णाली विवादले नेकपाभित्र नयाँ ध्रुवीकरणको संकेत, मुख्यमन्त्री ‘पदमुक्त’ नहुने कर्णालीका मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव अनिष्टको संकेतः भीम रावल कर्णाली विवादबारे प्रचण्डको असन्तुष्टि, ओली र नेपालसँग गम्भीर छलफल कर्णाली विवादः मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक शाह कर्णालीमा पार्टी अनुशासनको गम्भीर उल्लंघन, विधान र स्थायी समितिको निर्णयको धज्जी उड्यो कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव, क–कसले गरे हस्ताक्षर ? (सूचीसहित)

मोरङमा थप दुई सङ्क्रमितको मृत्यु

मोरङः कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।