नेकपा चितवनले भन्यो– नेता पाण्डेमाथि दुर्व्यवहार घटनाको छानबिन होस्
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ ।
पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला तथा दुर्व्यवहार भएको घटनाको छानबिन गर्न माग गरिएको छ ।
पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ ।’
ओली निकट कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार
कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु
दाङ । कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो । उहाँको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताउनुभयो । भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो । उहाँले करिब दुई दशक सत्तामा रहेर काम गरेको डाँगीले बताउनुभयो । साथै उहाँले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गर्नुभएको छ । उहाँका चार छोरा हुनुहुन्छ । रासस
पाण्डेमाथिको दुर्व्यवहार भर्त्सनायोग्य : प्रवक्ता श्रेष्ठ
काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्त नारायणकाजी श्रेष्ठ (प्रकाश) ले नेता सुरेन्द्र पाण्डे सहभागी चितवनको कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् । श्रेष्ठले शनिबार ट्वीट गर्दै पाण्डेमाथि सुनियोजित दुर्ब्यवहारको भएको भन्दै त्यो निन्दनीय एवं भर्त्सनायोग्य रहेको बताए । उनले लेखेका छन्, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ ।’ यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कसैको पनि हित नहुन श्रेष्ठको चेतावनी छ । नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समर्थित कार्यर्काले नाराबाजी गरेका थिए । को-को हुन् सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गर्ने? (नामसहित)
गण्डकीमा आज १०९ जनामा कोरोना संक्रमण
पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका- ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ९ सय ३६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म ६ हजार २ सय १४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ८१ पुगेको छ ।
को-को हुन् सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गर्ने? (नामसहित)
चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् । शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा ओली निकट कार्यकर्ताले पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेमाथि दुर्व्यवहार गरेका हुन् । कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका २० जना बढीको समूह बैठकस्थलमा प्रवेश गरी नाराबाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए । नारबाजीपछि घटनामा संग्लन केही व्यक्तिबारे पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बरालसँगै कार्यक्रममा प्रवेश गरेका ८/१० युवाले कार्यक्रममा हल्ला गरेका थिए । प्रभा बराल राप्ती नगरपालिकाकी मेयर पनि हुन् । को-को थिए पाण्डे उपस्थित कार्यक्रममा नाराबाजी गर्ने व्यक्ति? १. प्रधानमत्री केपी ओलीको जनसम्पर्क सल्लाहकार सिता पौडेलकी भाईबुहारी मेयर प्रभा बरालको प्रमुख नेतृत्व । २. मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार तथा पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा साथै प्रदेशका मन्त्री दावा लामाका ज्वाई सुरज थपलिया । ३. प्रदेशका भूमि ब्यावस्था सहकारी तथा कृषी मन्त्री दावा लामाको पिए प्रकाश कालाखेती । ४. प्रदेश मन्त्री दावा लामाको छोरा । ५. केदार आचार्य लगाएतका ४ जना भर्खरका केटाहरू । पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गर्न झलनाथ खनालको माग
कोरोनाबाट वरिष्ठ सर्जन मुडभरीको निधन
काठमाडौं : ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको निधन भएको छ । उनको कोरोना संक्रमणबाट निधन भएको हो । शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।
विद्यालय पुनः सञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव
काठमाडौं : महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा सरकारी प्रतिनिधि, शिक्षाविज्ञ र शिक्षाकर्मीले शिक्षक नतातेसम्म विद्यार्थीको सिकाइ निरन्तरता सहज नहुने जनाएका हुन् । कोभिड-१९ पछि वैकल्पिक माध्यमको सिकाइ र टोलटोलमा स्वास्थ्य सचेतनामा शिक्षक सक्रिय रहेकाले अब विद्यालय सञ्चालन वा वैकल्पिक विधिको निरन्तरताबारे निर्णय गर्दा स्थानीय तहले शिक्षकको विश्लेषणलाई मुख्य आधार बनाउनुपर्ने उहनीहरूको सुझाव छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय सञ्चालनको निर्णयलाई स्थानीयकरण गर्नुपर्छ भन्ने सुझावका आधारमा कार्यढाँचा जारी गरिएको र यसको कार्यान्वयनका लागि गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तह र विद्यालयमा सर्कुलर भइसकेको जानकारी दिए । उनले कतिपय ठाउँमा जोखिम बढ्दो भएकाले विद्यालय खोल्न दिने आधारको ढाँचा ल्याउन हतार भएको टिप्पणी पाइएको अवस्थामा यसबारे शिक्षकले दिने राय र स्थानीय तहले गर्ने निर्णय नै उचित हुने बताए । उनले हाल सञ्चालित वैकल्पिक माध्यमको सिकाइको मूल्याङ्कन गरी शैक्षिकसत्र व्यवस्थापनबारे थप बोल्न सकिने बताए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले कोभिड-१९ ले सबै क्षेत्रलाई असर पारिरहेको स्थितिमा शिक्षा क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै महासङ्घले गत चैत १८ गतेदेखि नै सबै घटक र शिक्षकलाई परिचालन गर्दै विभिन्न कार्यक्रम र सूचना प्रविधिका माध्यमबाट शैक्षिक क्रियाकलाप गरेको जानकारी गराए । थापाले सरकारले कार्यढाँचा ल्याउन ढिलाइ गरे पनि उक्त कार्यढाँचा र कक्षा ११ को नयाँ पाठ्यक्रमको कार्यान्वयन तथा शैक्षिक गुणस्तर सुधारका लागि आफूहरु अभियानकै रुपमा अघि बढेको बताए । महासङ्घका उपाध्यक्ष तिलक कुँवरले निजी विद्यालयमा कार्यरत सबै शिक्षकले तलब नपाएको र करिब ३०० शिक्षकले रोजगारी गुमाएको अवस्थामा पनि शिक्षक विद्यार्थीलाई सिकाउने कर्तव्यमा निरन्तर सक्रिय रहेको बताए । शैक्षिक संस्थाको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ का अध्यक्ष डिल्लीराम सुवेदीले आफूहरुको अध्ययनमा ७२ प्रतिशत प्रधानाध्यापकहरु वैकल्पिक सिकाइ निर्देशिका र शैक्षिकसत्र व्यवस्थापनबारे झै अन्योलमा रहेको स्थितिमा शिक्षकलाई अभिप्रेरित गर्न सरकार अग्रसर हुनुपर्ने बताए । उनले शैक्षिकसत्र खेर जान नदिन र सिकाइ निरन्तरताको बाटोमा अघि बढ्न ढिलै भए पनि सरकारको कार्यढाँचा सकारात्मक रहेको जनाए । सेभ द चिल्ड्रेनका शिक्षा प्रमुख डा लक्ष्मी पौडेलले शिक्षकले सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजना ढाँचाका आधारमा शैक्षिक योजना तयार गरी सिकाइ निरन्तरता दिन लाग्नुपर्ने बताउँदै विद्यार्थी र अभिभावकलाई जनस्वस्थ्यका मापदण्डमा सचेतना जगाउन पनि शिक्षक सही माध्यम हुने देखिएको धारणा राखे । रासस
नारायणहिटी संग्रहालयको श्रीसदन सर्वसाधरणका लागि खुला
काठमाडौं : तत्कालीन राजा स्व. वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनासपछि उक्त सदन बन्द रहेको थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधरणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको आज आयोजित एक कार्यक्रमकाबीच उद्घाट गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहासको एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए । ‘इतिहास कसैको दुस्मन हुँदैन, त्यो एउटा घटना हो । यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछ,’ उनले भने । आधुनिक नेपालको एकीकरणमा राजतन्त्रको प्रगतिशील भूमिका अविस्मरणीय रहेको भन्दै मन्त्री भट्टराईले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास नारायणहिटी क्षेत्रभित्र रहने उल्लेख गरे ।
पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गर्न झलनाथ खनालको माग
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गरिएको अभद्र व्यवहार तथा नाराबाजी घटनाको भर्त्सना गरेका छन् । नेकपा राप्ती नगर कमिटीको बैठकमा पाण्डेले मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरी गरिएको अभद्र व्यवहार तथा नाराबाजीको नेता खनालले घोर निन्दा तथा भर्त्सना गरेका हुन् । उनले उक्त घटना सुनियोजित रहेको पनि बताए । नेता खनालले पाण्डेमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न सम्बन्धी कमिटीको ध्यानाकर्षण पनि गराए । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।’ पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला यस्ता घटनाहरूले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उनले नेता कार्यकर्तामा आग्रह गरे । खनालले पार्टीमा देखिएको समस्या समाधानको खोजी भइरहेको बेला सबैले संयमता अपनाउन पर्नेमा जोड दिए ।
ओली निकट कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार
चितवनः प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् । शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा ओली निकट कार्यकर्ताहरुले पूर्व अर्थमन्त्री समेत रहेको स्थायी समिति सदस्य पाण्डेमाथि दुर्व्यवहार गरेका हुन् । कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका २० जना बढीको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए । उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याएकोले कार्यक्रम स्थगित गरिएको नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले बताए । उक्त टोली साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएको बताइएको छ । थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकीय हुन् । उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन् । नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले कार्यक्रमको स्थगितपछि कमिटीको बैठक बसेर उक्त क्रियाकलाप्रति खेद समेत प्रकट गरिएको बताए । उनले केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको आरोप लगाए ।
थप १,६७४ जनामा सङ्क्रमण पुष्टि, मृतक संख्या १३०० नाघ्यो
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १,६७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभरि २४,००९ जनामा सक्रिय सङ्क्रमण छ । २४ घण्टाको अवधिमा थप २,३२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म १,९३,३२५ जना निको भइसकेका छ । शनिबार थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।
पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौंः वामदेव गौतम
दाङः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई बलियो बनाउन लाग्नुपर्ने बेला आएको बताएका छन् । शनिबार दाङको तुलसीपुरमा पार्टीका नेता कार्यकर्तासँगको भेटका क्रममा गौतमले भने, ‘पछिल्लो समयमा हाम्रो पार्टीभित्र केही समस्या देखिएका छन् । पार्टीभित्रका समस्या समाधान गर्दै एकतालाई बलियो बनाउन हामी लागिपरेका छौं । एउटा सिंगो र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छ । यसका लागि सबै तयार रहनुहोस् ।’ समाजवादको आधार तयार पार्न लाग्नुपर्ने बेलामा आन्तरिक समस्यामा पार्टी अल्झिनुले कार्यकर्तामा निराशा थपेको महसुस आफूलाई भइरहेको भन्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले विवादलाई व्यवस्थापन गर्नतर्फ लागिपरेको बताए । कम्युनिष्ट पार्टीका बीचको एकता, समृद्ध नेपालदेखि समाजवादसम्मको परिकल्पनामा आफू २०६३ सालदेखि लागिरहेको दावी गर्दै उपाध्यक्ष गौतमले भने, ‘बलियो कम्युनिष्ट पार्टी बनाउने र मुलुकलाई समाजवादसम्म पु¥याउने संकल्पमा म २०६३ सालदेखि लागिपरेको हुँ । लामो छलफलपछि पार्टी एकता सम्भव भएकाले जुटेको पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं । फुटलाई जुटमा बदल्न लागिरहने मेरो संकल्प छ ।’ आफू कुनै गुटबन्दीमा नलागेको दाबी गर्दै उपाध्यक्ष गौतमले सधैँ पार्टी एकताको पक्षमा उभिने बताए । ‘म कहिले पनि गुटको पक्षमा थिइन र आज पनि छैन । म सधैँ एकताको पक्षमा उभिने छु’, गौतमले भने, ‘पार्टी नेतृत्वलाई जुटको यात्रामा लाग्न सबैले अपिल गर्नुपर्दछ ।’
पाँच दिन झुलाघाट नाका खोलिने
बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको होे । कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । यसअघि तीन दिनका लागि नाका खोलिए पनि सबैले निवृत्तिभरण बुझ्न पाएका थिएनन् । नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताए । खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामका लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ । जिल्लामा करीब एक हजार २०० भारतीय निवृत्तिभरणधारी रहेको बताइएको छ । नाकामा निवृत्तिभरणधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने प्रशासनले जनाएको छ । निवृत्तिभरणधारीले दुई महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोलिन लागिएको हो । उनीहरुले निवृत्तिभरणबापतको पैसा भारतीय बैंकमार्फत बुझ्ने गरेका छन् ।
कर्णालीका क्रसर उद्योगमाथि अनुसन्धान
कर्णालीः सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरुआत गरेको छ । प्रशासनले सुर्खेतमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई दर्ता/नवीकरणसँग सम्बन्धित कागजात मागेर अनुसन्धान शुरु गरेको हो । कार्यालयले गत कात्तिक २६ गते तीन दिनको समयावधि दिएर कागजात बुझाउन अनुरोध गरेको थियो । कार्यालयका अनुसार त्रिशक्ति क्रसर, देउती क्रसर, भेरी एग्रीग्रेट एण्ड सेन्ड रिफाइनरी इण्डष्ट्रिज, न्यू देउती बालुवा मोरङ, मनकामना ह्युुमपाइप तथा ब्लक, हिमाल बालुवा प्रशोधन , देउती माता बालुवा प्रशोधन र भेरी बालुवा प्रशोधन उद्योगले कागजातपत्र बुझाएका हुन् । अस्थायीरुपमा सञ्चालित सपना आशिस एण्ड शङ्कर जेभी, मामा राजेन्द्र श्याम एण्ड शङ्कर जेभी र महालक्ष्मी किराँतेश्वर केएसके जेभीले पनि जिल्ला प्रशासनलाई कागजात बुझाएका छन् । क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनको अनुमति उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय (साविकको जिल्ला घरेलु तथा उद्योग विकास समिति) ले दिने हुँदा प्रशासनसँग क्रसर उद्योगको विवरण छैन । उद्योग तथा उपभोक्ता संरक्षण कार्यालयले प्रशासनलाई सुर्खेतमा १३ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगले दर्ता भएको विवरण पठाएको छ । तीमध्ये १० वटाले मात्र प्रशासनसमक्ष कागजात बुझाएका छन् । कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले कागजात बुझाएका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योगको अध्ययन/अनुसन्धान भइरहेको जानकारी दिए । ‘आवश्यक प्रक्रिया अर्थात कागजात नपुगेका भएको पाइए तत्काल उद्योग बन्द गरिनेछ, आवश्यक कागजात पूरा गरेका उद्योगको पनि स्थलगत अध्ययन गरिनेछ’, उनले भने, ‘कानूनीरुपले कागजात पूरा पुगेका उद्योगले अनुमतिविपरीतका अन्य काम गरिरहेको सूचना प्राप्त भएकाले स्थलगत अध्ययन गर्ने भएका हौँ ।’ गत कात्तिक २५ गतेको मन्त्रिपरिषद्ले बैठकले ७७ वटै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । कार्यालयले अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने तयारी गरिरहँदा प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय अनुगमन समितिले प्रदेशभर २५ वटा त्यस्ता उद्योग अवैधरुपले सञ्चालनमा रहेको बताएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठित समितिले कर्णालीका २५ वटा क्रसर उद्योग अवैधानिक रहेको निष्कर्ष निकालेको हो । समितिले सुर्खेत, दैलेख, सल्यान, जुम्ला र हुम्लामा सञ्चालित उद्योगको अनुगमन गरेको थियो । कर्णालीमा अवैधरुपले सञ्चालित क्रसर उद्योगले मापदण्डविपरीत नदी तथा नदीजन्य पदार्थको उत्खनन् र निकासी गरेको जनगुनासो बढेपछि प्रदेश सरकारले गत असोजमा अनुगमन समिति गठन गरेको थियो । समितिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनुगमन प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ ।
शिवम् सिमेन्ट उद्योगमा आगलागी
फाइल फोटो । हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।
सबै स्थानीय तहलाई उछिन्दै छेडागाडमा १५ शैय्याको नगर अस्पताल सञ्चालन
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ श्ययाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरुआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै शुरु हुने प्रमुख महताराले जानकारी दिनुभयो । केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । एक मेडिकल अधिकृत, दुई नर्ससहित १५ जना कार्यरत रहने छन् । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताएको छ । तीन सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम शुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो । १५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिनुभयो । देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ । पन्ध्र श्ययाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिनुभयो । देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि रु २५ करोड बजेट पठाएको समेत उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले निकै काम गरेको तर केही मान्छेले सो काम नदेखेको मन्त्री रावतको भनाइ थियो । कर्णालीका अधिकांश ठाउँमा ५० श्ययाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ । छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् । आवरण तस्वीरः छेडगाड नपाले यसअघि किनेको एम्बुलेन्स

