पहिरोले बुटवल तानसेन सडक अवरुद्ध

बुटवलः रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बुटवल तानसेन सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ।

कार्यालयका अनुसार रातीदेखी नै तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको छ ।

प्रहरीले पहिरो हटाउन पहल भईरहेको जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पा,गुल्मी, स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र९सिसीएमसी० का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् । स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ । फर्कने मध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

लिबिया, सिरिया र यमनको मानवीय अवस्था बिग्रिदै गएकोमा नेपाल गम्भीर चिन्तित छ : प्रधानमन्त्री ओली

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याएका छन् । ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्र सङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड-१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा न्युयोर्कमा जारी राष्ट्र सङ्घको ७५ औँ महासभामा काठमाडौंबाट अप्रत्यक्षरूपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्दै उनले एकतर्फी प्रवृत्ति र संरक्षणवादी नीतिका बीचमा बहुपक्षीय सहयोग प्रताडित भइरहेका बेला उक्त विषयमा भएको बहसले वर्तमान परिस्थितिलाई प्रतिविम्बित गरेको बताए । अन्तरराष्ट्रिय एकता र सहयोग अभिवृद्धि तथा थप सुरक्षित, अझ निष्पक्ष र न्यायोचित भविष्यको परिकल्पना साकार तुल्याउन दृढ राजनीतिक इच्छाशक्ति राष्ट्रसङ्घको ऐतिहासिक ७५ औँ वार्षिकोत्सवका बेला एकत्र गर्न जरुरी भएको विचार उनले व्यक्त गरे । भविष्यका कठिन क्षणहरुको सामना गर्न सहयोगपूर्ण, लोकतान्त्रिक र विज्ञानमा आधारित समन्वयात्मक विश्वव्यापी साझेदारी मात्र सहायक हुने बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम कार्यान्वयन र विकासको प्रतिफल लक्षित वर्गमा पुर्‍याउने दशकमा प्रवेश गरेका बेला उत्पन्न वर्तमान सङ्कटले प्राप्त उपलब्धि गुम्ने परिस्थितिमा पुर्‍याएको यथार्थ सुनाए । मुख्यरूपमा विकासोन्मुख देशमा बितेका २० वर्षमा पहिलो पटक गरीबी बढेको तथा वर्तमान सङ्कटका कारण कष्टका साथ प्रमुख क्षेत्रमा हासिल भएका उपलब्धि तथा अल्प विकसित राष्ट्रबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने योजनालाई जोखिममा पारेको उनले बताए । असमानतालाई बढ्न नदिन दिगो विकासका लक्ष्य समयमै हासिल गर्नेतर्फ नै क्रियाशील हुनुपर्ने तथा ती लक्ष्य नै हाम्रा आकाङ्क्षा र गुमेका उपलब्धि पुनप्र्राप्तिको प्रयासका दिशानिर्देशक हुनुपर्ने धारणा प्रधानमन्त्रीले व्यक्त गरे । महासचिवको उद्घाटन वक्तव्यले विश्वले सामना गर्नुपरेको वर्तमान चुनौतीलाई सहीरुपमा चित्रण गरेको र त्यसले भविष्यको बाटो पनि पहिल्याएको बताउँदै उनले भने, “लिबिया, सिरिया र यमनको मानवीय अवस्था बिग्रिदै गएकामा नेपाल गम्भीर रूपमा चिन्तित छ, सम्बन्धित देश र जनताले नै नेतृत्व एवम् स्वीकार गरेको माध्यमबाट नै सबै द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न नेपाल आह्वान गर्दछ ।” सैन्य र प्रहरी योगदान गर्ने प्रमुख राष्ट्र तथा शान्ति निर्माण आयोगको सदस्य नेपालले आनाकानी नगरी सधैँझैँ राष्ट्र सङ्घको आह्वानमा शान्ति प्रहरी तथा सैनिक परिचालन गरिरहेको उनले बताए । प्रधानमन्त्रीले सन् २०१९ मा मात्रै झण्डै १.९ ट्रिलियन डलर रक्षामा खर्च भएको तथ्य पेश गर्दै त्यसका कारण सयकडौँ नागरिक गरिबी, भोक र मानवीय नोक्सानीमा परेको बताए । शक्तिको दौड, हतियारको होडबाजी र साइबर युद्ध जस्ता पीडाका कारण ठूलो मात्रामा मानवीयताको नोक्सानी भएको उल्लेख गर्दै उहाँले यतिबेलाको प्रमुख आवश्यकता भनेको आणविक हतियार नभई सहज रुपमा कोभिड-१९ विरुद्धको खोप पाउनु नै भएको बताए ।

रोकिएन रेमिट्यान्स बढ्ने क्रम, साउनमा मात्रै भित्रियो ९२ अर्ब

काठमाडौं : रेमिट्यान्सको आप्रवाह साउनमा समेत अत्यधिक देखिएको छ । जेठ महिनामा ९४ अर्ब ३ करोड र असारमा १ खर्ब १६ करोड रुपैंया भित्रिएको रेमिट्यान्सको आप्रवाह साउन महिनामा समेत उस्तै देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै बैधानिक च्यानलबाट ९२ अर्ब ७१ करोड रुपैंया रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा २३ प्रतिशत बढी हो । असार महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको असार महिनाको तुलनामा १० प्रतिशत मात्रै बढी थियो । आर्थिक वर्षको अन्तिम महिना भएकोले असारमा रेमिट्यान्स आप्रवाह तुलनात्मक रुपमा धेरै हुने भए पनि साउन भने तुलनात्मक रुपमा कम रेमिट्यान्स आउँथ्यो । अघिल्लो वर्ष करिब ७५ अर्ब ४० करोड मात्रै नेपाल आएको थियो । सो वर्ष रेमिट्यान्स २ प्रतिशत मात्रैले बढेको थियो । डलरमा आएको रेमिट्यान्स यो महिनामा १४ प्रतिशतले बढेको छ ।

काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित ३ जनाविरुद्ध ठगी मुद्दा

काभ्रे : बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाविरुद्ध साताअघि ठगी मुद्धा दायर गरिएको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्धा दर्ता गरेका हुन् । इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, ब्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । ‘पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ,’ इप्रका बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भने । उनका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पूर्जी आदेश ल्याएपछि इप्रकाद्वारा पूर्जी जारीपछि आरोपितको खोजी भइरहेको हो । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलवाड गरेको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले क्याप्पस प्रमुखको राजिनामा मुख्य शर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो । प्रहरी अनुसन्धानका लागि सात महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियूका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताए पराजुलीका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः आज नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज हुँदा १६ जनाको मृत्यु भएको छ । नेपालमा आज ४५ जिल्लामा संक्रमित थपिए ।  

११५४ संक्रमित थपिए, १००५ जना डिस्चार्ज

काठमाडौंः नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ४२७ पुगेको छ ।

कैद सजाय छुट हुने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी कारागार नियमावली, २०२० को नियम २९ बमोजिम सर्वोच्च अदालतले दिएको आदेशको विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरे । आयोगले कैदीबन्दीको स्वास्थ्यलगायत समग्र मानव अधिकार अवस्थाका सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयबाट कारागार व्यवस्थापन विभागलाई पत्राचार गरेको जनाएको छ । कोभिड–१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा आयोगले आजदेखि अनुगमन शुरु गरेको छ । अनुगमन टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतको सहभागिता रहेको छ । टोलीलाई आवश्यक सहयोग पु¥याइ मानव अधिकारको सम्मान र संरक्षणमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आयोगले आग्रह गरेको छ । यसअघि आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली गत भदौ ५ गतेदेखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमनका लागि खटिएको थियो ।

कोरोना सङ्क्रमित महिलाको मृत्यु

विराटनगरः कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए । उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौंः विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’ को निधन भएको छ । आज बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए । सोलुखुम्बुको थामेमा जन्मेका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए । आरोहण यात्रा सन् १९४८ मा जन्मेका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए । आरोहणका क्रममै रहेका उनी बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ’, भनेका थिए । त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ । त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले ‘दरबार आउनू’ भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए । दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् । यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै छन् । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन् र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन् । छोरी डोमा जोरपाटीमा छन् । आङरिता उनै छोरीसँग बस्दै आएको थिए । उनकी पत्नीको ७ वर्षअघि निधन भएको थियो । रासस

दाईको मृत्युको दोस्रो दिन बेपत्ता भाईको शव फेला

बुटवलः चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए । नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत थिए । नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित एक होटलबाट लु२०प ४०६७ नं को मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए । नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो । नेपालका श्रीमती र एक छोरा छन् । उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

नेकपा सचिवालय बैठक स्थगित

आइतबार पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक । काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बसने भनिएको बैठकनेताहरूको व्यस्तताका कारण स्थगित गरिएको हो । सचिवालयकाे अर्काे बैठक मंगलबार मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । हाम्रो पार्टी ने क पा को आज अपरान्ह १ बजे पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको छ । — NKShresthaPrakash (@nksthaprakash) September 21, 2020 पार्टी एकतापछिको परम्परा तोड्दै आइतबार सचिवालय बैठक पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको थियो । पार्टी एकतापछिका अधिकांश बैठकहरु प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर बालुवाटारमा नै हुने गरेका थिए । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको थियो । त्यस्तै, बैठकले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने, संवैधानिक निकायमा बाँकी नियुक्तिका विषयमा छलफल गर्ने, एकता महाधिवेशन तयारीको काम गर्ने कार्यसूची तय गरेको थियो । मन्त्रिपरिषद् पुनर्गठन हुँदै, यस्तो बन्दैछ मापदण्ड

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको माग

काठमाडौंः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका छन् । राउतले संघीय सरकारलाई पत्राचार गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका हुन् । मुख्यमन्त्री राउतले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा कोरोना संक्रमण, थ्रेसहोल्डको विवाद र सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई ध्यानमा राख्दै निर्वाचन स्थगित गर्न माग गरेका छन् । सरकारले असोज २४ गते निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन निर्वाचन गर्ने तयारी गरेको छ । मनोनयनको दिनसम्म एकता हुनेमा आशावादी छौ– राजेन्द्र राना (राजु)

कोरोनाबाट कैदीबन्दीको मृत्यु

बाँकेः कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक कैदीबन्दीको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत सुर्खेतको गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतकमा दम र श्वास प्रश्वासको गम्भिर समस्या थियो । सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका हुन् ।

खुर्पा प्रहार गरी ससुराको हत्या

कावासोतीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गएराति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएका थिए । घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मे.टन युरिया मल

काठमाडौं, कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया मल आयात गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएको हो । कर्पोरेसनले ३२ हजार मेट्रिक टन युरिया आयात गरिरहेको छ । यसमध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाह र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनका वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए । वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने उनले बताए । २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्‍याकमा लोड भइसकेको सूचना आएको लामिछानेको भनाइ छ । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा क्रमशः आइरहेको छ । वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको उनले जानकारी दिए । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्रायः जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने उनले बताए । कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।